Tuesday, March 24, 2015

Geeta Chapter 16


भागवत गीता अध्याय १६

श्रीभगवानुवाच
अभयं सत्त्वसंशुद्धिर्ज्ञानयोव्यवस्थित:।
दानं दमश्च यज्ञश्च स्वाध्यायस्तप आर्जवम्।।१।।

अहिंसा सत्यक्रोधस्त्याग: शान्तिरपैशुनम्।
दया भूतेष्वलोलुप्त्वं मार्दवं ह्रीरचापलम्।।२।।

तेज: क्षमा धृति: शौचमद्रोहो नातिमानिता।
भवन्ति सम्पदं दैवीमभिजातस्य भारत।।३।।
१-३
भगवान श्रीकृष्णले आज्ञा गर्नु भयो
(अभयता, चित्तको प्रशन्नता, ज्ञानप्रतिका लागि निष्ठा, दान, बाह्य इन्द्रियहरु माथि नियन्त्रण, यज्ञ, स्वअध्ययन, तप, अन्त:करणको सरलता, अहिंसा, सत्यवादिता, अक्रोध, स्त्री, पुत्र आदिमा ममताको त्याग, शान्ति, अरुको निन्दा नगर्नु, सम्पूर्ण प्राणीहरुमा दया भाव, लोभ नहुनु, मृदुता, लाज, चंचलताहीन, तेज, क्षमाशील, धीरता, भित्र र बाहिरको शुद्धता, द्रोहभावहीन, अअभिमानी, हे भारत यी गुणहरु त्यो व्यक्तिले पाउँछ जो दैवी सम्पत्तिका साथ जन्मेको हुन्छ। अर्थात शुभ क्षणमा जन्मेकाहरुलाई यी गुणहरु प्राप्त हुन्छ।)

दम्भो दर्पोSभिमानश्च क्रोध: पारुष्यमेव च।
अज्ञानं चाभिजातस्य पार्थ सम्पदमासुरीम्।।४।।
(हे पार्थ, दम्भ, गर्व, अभिमान, क्रोध, निष्ठुरता, र अज्ञानता आसुरी सम्प्तिका साथ जन्मेका व्यक्तिहरुलाई प्राप्त हुन्छ।)

दैवी सम्पद् विमोक्षाय निबन्धायासुरी मता।
मा शुच: सम्पदं दैवीमभिजातोSसि पाण्डव।।५।।
(हे पाण्डव, दैवीसम्पत्ति मोक्षलाई र आसुरी सम्पत्ति बन्धनलाई भनिएको छ तर तिमीले दैवीसम्पत्तिमा जन्म लिएको हुनाले तिमीले शोक गर्ने कारण छैन्।)

द्वौ भूतसगौं लोकेSस्मिन् दैव आसुर एव च।
दैवो विस्तरश: प्रोक्त आसुरं पार्थ मे शृणु।।६।।
(हे पार्थ, यस जगतमा दैवी र आसुरी गरी प्राणीहरुको स्वभावलाई दुई वर्गमा विभाजन गरिएको छ। यस मध्ये दैवी स्वभाव बारे मैले विस्तारमा भने अब मबाट आसुरी स्वभाव बारे सुन।)

प्रवृत्तिं च निवृत्तिचं च जना विदुरासुरा:।
न शौचं नापि चाचारो न सत्यं तेषु विद्यते।।७।।
(आसुरी स्वभावका व्यक्तिहरुमा धर्मप्रति लगाब राख्ने र अधर्म परित्याग गर्ने प्रवृति हुँदैन।  उनीहरुमा शुद्धता, आचार र सत्यता पनि हुँदैन।)
नोट: कुन काम गर्नु उचित र कुन गर्नु अनुचित छ भन्ने ज्ञान असुरहरुमा हुँदैन।

असत्यमप्रतिष्ठं ते जगदाहुरनीश्वरम्।
अपरस्परसम्भूततं किमन्यत् कामहैतुकम्।।८।।
(उनीहरु यस जगत् लाई असत्य, आश्रयहीन, इश्वर नभएको, एक अर्काको संसर्ग द्वारा वा स्वत: उत्पन्न भएको भन्दछन्। यति मात्र होइन, उनीहरु यो जगत् मात्र काममूलक रहेको मान्दछन्।)

एतां दृष्टिमवष्टभ्य नष्टात्मानोSल्पबुद्धय:।
प्रभवन्त्युग्रकर्माण: क्षयाय जगतोSहिता:।।९।।
(यस किसिमको आसुरी दृष्टिकोण राखेर नष्टात्मा, अल्पबुद्धि, अरुको अहित गर्ने, क्रुर तथा दुष्टहरु यो जगत् को क्षय गर्नका लागि जन्मेका हुन्छन्।)

काममाश्रित्य दुष्पूरं दम्भमानमदान्विता:।
मोहाद गृहीत्वासद्ग्राहान् प्रवर्तन्तेSशुचिव्रता:।।१०।।
(यिनीहरु कहिलै पनि पूरा हुननसक्ने काम वासनाहरुको पछि लागेर, घमण्ड, मान, मदले युक्त भइ मोहमा परेर असत्य सिद्धान्त लिन पुगेका हुन्छन् र यसकारणबाट खराब काम गर्नमा उत्प्रेरित रहन्छन।)

चिन्तामपरिमेयां च प्रलयान्तामुपाश्रिता:।
कामोपभोगपरमा एतावदिति निश्चिता:।।११।।
(यिनीहरु मृत्यु नहुनजेलसम्म पनि गणना गर्न नसकिने एवं सीमाहीन चिंताहरुको बोझले थिचिएका हुन्छन् र विषयहरुको भोग र सम्पत्ति सृजनालाई नै जीवनको उद्देश्य ठान्दछन।)

आशापाशशतैर्बुद्धा: कामक्रोधपरायणा:।
ईहन्ते कामभोगार्थमन्यायेनार्थसञ्चयान्।।१२।।
(असंख्य कामनाहरुको बन्धक भएका तथा काम एवं क्रोधले युक्त यी आसुरी प्रवृतिक व्यक्तिहरु इन्दिय सुख-भोग विलासका लागि अवैध तरिकाबाट धन कमाउन उद्धत रहन्छन्।) 

इदमद्य मया लब्धमिमं प्राप्स्ये मनोरथम्।
इदमस्तीदमपि मे भविष्यति पुनर्धनम्।।१३।।

असौ मया हत: शत्रुर्हनिष्ये चापरानपि।
ईश्वरोSहमहं भोगी सिद्धोSहं बलवान् सुखी।।१४।।

आढ्योSभिजनवानस्मि कोSन्योSस्ति सदृशो मया।
यक्ष्ये दास्यामि मोदिष्य इत्यज्ञानविमोहिता:।।१५।।
१३-१५
(उनीहरु के सोच्छन् भने आज मसँग यति सम्पत्ति छ मेरो चतुराइले यो भन्दा अझ बढी कमाउने छु। अहिले मसँग यति सम्पत्ति छ पछि अझै बढी कमाउने छु। ऊ मेरो सत्रु हो, मैले उसलाई मारेको छु र मेरा अन्य सत्रुहरु पनि मदवारा मारिने छन। म हरेक कुराको स्वामी हुँ र म सर्वाधिक सुखी छु। म पूर्ण छु, शक्तिमान छु र म सुखी छु। म अत्यधिक धनी छु र वरिपरिका मेरा बन्धु बान्धवहरु पनि वैभवशाली छन्। म जत्तिको शक्तिशाली र खुसी कोही पनि छैन। म यज्ञ गर्नेछु र यसरी मैले आनन्द प्राप्त गर्नेछु। तर उनीहरु (आसुरी प्रवृतिक) ले अज्ञानबाट भ्रमित भएर यस्तो भन्ने गर्दछन्।)

अनेकचित्तविभ्रान्ता मोहजालसमावृता:।
प्रसक्ता: कामभोगेषु पतन्ति नरकेSशुचौ।।१६।।
(अनेक किसिमका कामनाहरुबाट चित्त भ्रमित भएका, मोहको पासोमा बेरिएका र भोग विलासमा लिप्त रहने यस्ता अपवित्रहरु नरकमा पतीत हुन्छन्।)

आत्मसम्भाविता स्तब्धा धनमानमदान्विता:।
यज्ञन्ते नामयज्ञैस्ते दम्भेनाविधिपूर्वकम्।।१७।।
(असुरहरु आफैले आफ्नो प्रशंसा गर्ने एवं अविनम्र-घमण्डी हुन्छन्। धन र मानको मादलेयुक्त हुन्छन्। शास्त्र र यसका विधिहरु थाहा हुँदैन। नाम मात्रको लागि, अविधिपूर्वक यज्ञ गर्दछन् जुन घमण्डले गरिएको हुन्छ।)

अहंकारं बलं दर्पं कामं क्रोधं च संश्रिता:।
मामात्मपरदेहेषु प्रद्विषन्तोSभ्यसूयका:।।१८।।
(अहंकार, बल, मूर्खता, काम र क्रोध जस्ता तत्वहरुले गर्दा अन्धा भएका असुरहरु तिनीहरुकै शरीरमा र अरुहरुको शरीरमा रहेको मेरो उपस्थितिको द्वेष-निन्दा गर्दछन्।)

तानहं द्विषत: क्रूरान् संसारेषु नराधमान्।
क्षिपाम्यजस्रमशुभानासुरीष्वेव योनिषु।।१९।।
(साधुहरुको द्वेष गर्ने ती पापाचारी र क्रुर नराधमहरुलाई म यो भौतिक संसारमा पटक पटक आसुरी योनीमा उत्पन्न गराउँछु।)

आसुरीं योनिमापन्ना मूढा जन्मनि जन्मनि।
मामप्राप्यैव कौन्तेय ततो यान्त्यधमां गतिम्।।२०।।
(हे कौन्तेय, ती मूढहरुले हरेक जन्ममा आसुरी योनीमा जन्म लिन्छन र मलाई प्राप्त गर्न असफल भएर त्यो भन्दा पनि खराब गति पाउँछन्।)

त्रिविधं नरकस्येदं द्वारं नाशनमात्मन:।
काम: क्रोधस्तथा लोभस्तस्मादेतत्रयं त्यजेत्।।२१।।
(काम, क्रोध र मोह गरी तीन द्वारहरु छन् जसले व्यक्तिलाई स्वयंले नै आत्मा नष्ट गर्नका नरकतिर लैजान्छन्। त्यसकारण सबैले काम, क्रोध र मोह परित्याग गर्नुपर्दछ।)

एतैर्विमुक्त: कौन्तेय तमोद्वारैस्त्रिभिर्नर:।
आचरत्यात्मन: श्रेयस्ततो यति परां गतिम्।।२२।।
(हे कौन्तेय, जब त्यक्तिले यी तिनै नरकका द्वारहरुबाट आफूलाई मुक्त पार्दछ तब उसले आफ्नो कल्याण गर्दछ र उसले उत्तम गति पनि प्राप्त गर्दछ।)

य: शास्त्रविधिमुत्सृज्य वर्तते कामकारत:।
न स सिद्धिमवाप्नोति न सुखं न परां गतिम्।।२३।।
(तर जो व्यक्तिले आफूखुसी आचरण गर्दछ र शास्त्रमा बताइएका विधिहरुको अवज्ञा गर्दछ उसले सुख र सिद्धि पाउँदैन। उसले परागति-उत्तम गति पनि प्राप्त गर्दैन।)

तस्माच्छास्त्रं प्रमाणं ते कार्याकार्यव्यवस्थितौ।
ज्ञात्वा शस्त्रविधानोक्तं कर्म कर्तुमिहार्हसि।।२४।।

(त्यसकारण तिमीले के कार्य गर्नु पर्ने हो र के नगर्नु पर्ने हो भन्ने कुराको निर्धारक शास्त्रहरुलाई हुन देऊ। तसर्थ तिमीले शास्त्रका आदेश र शिक्षाहरुको मनन गर अनि सोही अनुसार कार्यहरु गर पनि।)

सोर्हौं अध्यायको व्याख्या

व्यक्तिको प्रवृति वा स्वभाव अध्ययनको एउटा विषय हो भने बानी वा व्यवहार अध्ययनको अर्को विषय हो। व्यक्तिको प्रवृति वा स्वभावको निर्माण ऊ गर्भमा हुँदा नै भएको हुन्छ तर व्यक्तिको बानी वा व्यवहारको निर्माण ऊ कस्तो समाजमा जन्मेको, हुर्केको, शिक्षा, दिक्षा पाएको हो ती द्वारा भएको हुन्छ। मानिसको स्वभावमा परिवर्तन ल्याउन सकिन्छ तर मूल प्रवृतिमा परिवर्तन ल्याउन गार्हो हुन्छ। तर विभिन्न यत्नहरू एवं स्वयं व्यक्तिको दृढ निश्चयद्वारा प्रवृतिमा पनि परिवर्तन ल्याउन सकिन्छ। यस अध्यायमा व्यक्तिको प्रवृतिको निर्माण कसरी हुन्छ, स्वभावको निर्माण कसरी हुन्छ, यी कुराहरूले स्वयं व्यक्तिलाई के असर पर्दछ एवं समाज तथा राष्ट्रलाई के कस्तो असर पर्दछ त्यसबारे प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा वर्णनन् गरिएको छ। यसमा उल्लेख भएका कतिपय कुराहरूको अर्थ बुझ्नका लागि त्यस बेला (महाभारत युग) को समाजलाई पनि मध्य नजर राख्नु पर्ने हुन्छ।

यस अध्यायको सारांश के हो भने व्यक्तिले आफ्नो प्रवृति एवं स्वभाव अनुसार व्यवहार गर्दछ र उसको प्रवृतिबाट जन्मेको व्यवहारले नै उसलाई असल वा खराब व्यक्तिको दर्जा प्राप्त हुन्छ। तर यो समाजमा असल र खराब दबै थरीका व्यक्तिहरू हुन्छन। साथै यो अध्यायले चरित्र असल पार्न, समाजउपयोगी कार्य गर्न उत्प्रेरित पनि गर्दछ। हुन त गीताका सम्पूर्ण अध्यायहरूले नै असल चरित्र पर्दशन गर्न, समाजको लागि उपयोगी हुन मार्ग दर्शन गराउँछ। 

यस अध्यायको प्रारम्भमा नै भगवान् श्रीकृष्ण भन्नु हुन्छ, “अभयता, चित्तको प्रशन्नता, ज्ञानप्रतिका लागि निष्ठा, दान, बाह्य इन्द्रियहरू माथि नियन्त्रण, यज्ञ, स्वअध्ययन, तप, अन्त:करणको सरलता, अहिंसा, सत्यवादिता, अक्रोध, स्त्री, पुत्र आदिमा ममताको त्याग, शान्ति, अरुको निन्दा नगर्नु, सम्पूर्ण प्राणीहरूमा दया भाव, लोभ नहुनु, मृदुता, लाज, चञ्चलताहीन, तेज, क्षमाशील, धीरता, भित्र र बाहिरको शुद्धता, द्रोहभावहीन, अअभिमानी, हे भारत यी गुणहरू त्यो व्यक्तिले पाउँछ जो दैवी सम्पत्तिका साथ जन्मेको हुन्छ। अर्थात शुभ क्षणमा जन्मेकाहरूलाई यी गुणहरू प्राप्त हुन्छ।” माथिको भनाइको आशय के हो भने कतिपय व्यक्तिहरूले जन्मजात नै माथि उल्लेख गरिएका गुणहरू लिएर आएका हुन्छन्। हुन त जन्मजात प्राप्त हुने कतिपय गुणहरूमा व्यक्तिको माथिल्लो पुस्ताहरू (आमा र बाबु गरि दुबै तिरका सातपुस्तासम्म) का गुण वा स्वभावहरू  समाबेस भएर आएको हुन्छ। त्यसकारण कतिपय व्यक्तिहरूको स्वभावमा उसका मथिल्ला पुस्ताहरूका स्वभावहरू पनि देखा पर्दछन्। तर पनि केही व्यक्तिहरूले केवल असल स्वभावहरू मात्र जन्मजात प्राप्त गरेका हुन्छन। महात्मा गाँधी, मदर टेरेसा, गौतम बुध्द जस्ता महान व्यक्तिहरू दैवी सम्पत्तिका साथ जन्मेका थिए।

व्यक्तिमा खराब (समाजलाई दु:ख दिने) स्वभाव कसरी निर्माण हुन्छ त्यसबारे भगवान भन्नु हुन्छ, “हे पार्थ, दम्भ, गर्व, अभिमान, क्रोध, निष्ठुरता, र अज्ञानता आसुरी सम्पत्तिका साथ जन्मेका व्यक्तिहरूलाई प्राप्त हुन्छ। आसुरी स्वभावका व्यक्तिहरूमा धर्मप्रति लगाब राख्ने र अधर्म परित्याग गर्ने प्रवृति हुँदैन। उनीहरूमा शुद्धता, असल आचारण र सत्यता पनि हुँदैन। उनीहरू यस जगत् लाई असत्य, आश्रयहीन, ईश्वर नभएको, एक अर्काको संसर्ग द्वारा वा स्वत: उत्पन्न भएको भन्दछन्। यति मात्र होइन, उनीहरु यो जगत् मात्र काममूलक रहेको मान्दछन्।”

यहाँ बुझ्नु पर्ने के हो भने आसुरी प्रवृति भन्नाले मानवता विरोधीकार्य गर्ने प्रवृति हो। यस्ता प्रवृति भएका व्यक्तिहरू हत्या, युद्ध, लुट जस्ता कार्यहरू गरेर मानव समुदायलाई शान्तिपूर्वक बस्न दिंदैनन्। आफ्नो गौरव, घमण्ड, क्रोध, लोभ आदिको अधीनमा परेर लाखौ मानिसहरूको हत्या गर्न पनि पछि हट्दैनन। यस्ताहरूको प्रवृति परपीडक हुन्छ।   हिटरल यस्तै प्रवृतिका व्यक्ति थिए। मुसोलिनी पनि यस्तै प्रवृतिका थिए। सभ्य समाजले यस किसिमका अपराधीहरूलाई सजाय दिन भनेर नै “अन्तरार्ष्ट्रिय न्याय अदालत” को व्यवस्था गरेको हो। यो अदालतको मुख्य कार्यालय निदरलैण्डको हेग भन्ने सहरमा छ। मानवता विरोधी कार्य गरेको आरोपमा नै यो अदालतले सर्वियाका भूतपूर्व राष्ट्रपति सोलोबोदान मेलोसोभिच माथि मुद्दा चलाएको थियो। यिनले जातीय नरसंहार गरेको आरोप खेपेका थिए। यिनको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नतामा हजारौं निर्दोष व्यक्तिहरूको ज्यान गएको थियो। ११ मार्च २००६ मा, हेग स्थित संयुक्त राष्ट्र संघको, युद्ध अपराध ट्रिव्युनलको डिटेन्सन सेन्टरमा हृदयघातबाट  यिनको मृत्यु भएको थियो। मेलोसोभिच अहिले पनि विभिन्न समूहहरूमा “बाल्कनहरूका हत्यारा” (Butcher of the Balkans) भनि कुख्यात छन्। सन् २०१० मा, एक अमेरिकी पत्रिका “लाइफ” ले यिनलाई “विश्वका खराब तानाशाहहरु” को लिस्टमा राखेको थियो।

अफ्रिकाका विभिन्न देशहरू तथा मध्यपूर्व लगायत एशियाका केही राष्ट्रहरूमा यस्तै आसुरी प्रवृति भएका व्यक्तिहरूले धर्मको नाममा लाखौं निर्दोष नागरिकहरूको हत्या गरिसकेका छन्। पाशविक किसिमले निर्दोष नागरिकहरूको हत्या गर्ने क्रम त्यस्ता मतिभ्रष्टहरूले जारि नै राखेका छन्।

यी आसुरी प्रवृतिका व्यक्तिहरूको व्यवहारबारे भगवान् श्रीकृष्ण भन्नु हुन्छ, “यस किसिमको आसुरी दृष्टिकोण राखेर नष्टात्मा, अल्पबुद्धि, अरुको अहित गर्ने, क्रूर तथा दुष्टहरू यो जगत् को क्षय गर्नका लागि जन्मेका हुन्छन्। यिनीहरू कहिलै पनि पूरा हुननसक्ने काम वासनाहरूको पछि लागेर, घमण्ड, मान, मदले युक्त भइ मोहमा परेर असत्य सिद्धान्त लिन पुगेका हुन्छन् र यसकारणबाट खराब काम गर्नमा उत्प्रेरित रहन्छन।”

भगवान्का यी भनाईहरूलाई भौतिकवादीहरूले पनि काट्न सक्तैन् किनभने उनीहरू पनि यो मान्दछन् कि केही व्यक्तिहरूको जन्म मानव समुदायलाई ध्वस गर्नका लागि नै भएको हुन्छ। आसुरी सम्पत्तिमा जन्मेका व्यक्तिहरू जस्तै हिटलर, मुसोलिनी, चार्लस टेलर, इदि अमिन, बसर अल-असद, रोबर्ट मुगाबे आदिले मानव अधिकारको उलंघन गर्न र हत्या एवं हिंसा मच्चाउनमा नै आफ्नो जीवन बिताए। 

आसुरी प्रवृत्तिबारे भगवान्ले विस्तारमा यस प्रकार उल्लेख गर्नु भएको छ, “यिनीहरू मृत्यु नहुन्जेलसम्म पनि गणना गर्न नसकिने एवं सीमाहीन चिन्ताहरूको बोझले थिचिएका हुन्छन् र विषयहरूको भोग र सम्पत्ति सृजनालाई नै जीवनको मुख्य उद्देश्य ठान्दछन। असङ्ख्य कामनाहरूको बन्धक भएका तथा काम एवं क्रोधले युक्त यी आसुरी प्रवृतिक व्यक्तिहरू इन्द्रिय सुख (भोग विलास) का लागि अवैध तरिकाबाट धन कमाउन उद्धत रहन्छन्। यिनीहरू के सोच्छन् भने आज मसँग यति सम्पत्ति छ, मेरो चतुराइँले यो भन्दा अझ बढी कमाउने छु। मसँग अहिले यति सम्पत्ति छ पछि अति नै बढी कमाउने छु। ऊ मेरो शत्रु हो, मैले उसलाई मारेको छु र मेरा अन्य शत्रुहरु पनि मद्वारा मारिने छन्। म हरेक कुराको स्वामी हुँ र म सर्वाधिक सुखी छु। म पूर्ण छु, शक्तिमान छु र म सुखी छु। म अत्यधिक धनी छु र वरिपरिका मेरा बन्धु बान्धवहरू पनि वैभवशाली छन्। म जत्तिको शक्तिशाली र खुसी कोही पनि छैन्। म यज्ञ गर्नेछु र यज्ञ गरेको हुनाले मैले आनन्द प्राप्त गर्नेछु। तर उनी (आसुरी प्रवृतिका) हरूले अज्ञानताबाट भ्रमित भएर यस्तो भन्ने गर्दछन्। असुरहरू आफैले आफ्नो प्रशंसा गर्ने एवं अविनम्र (घमण्डी) हुन्छन्। धन र मानको मातले युक्त हुन्छन्। शास्त्र र यसका विधिहरू थाहा हुँदैन। नाम मात्रको लागि, अविधिपूर्वक यज्ञहरू गर्दछन् जुन श्रद्धाले नभइ घमण्डले गरिएको हुन्छ।”  

आसुरी प्रवृत्ति भएकाहरूलाई सल्लाह वा चेतावनी स्वरुप भगवान् भन्नु हुन्छ, “साधुहरूको द्वेष गर्ने ती पापाचारी र क्रूर नराधमहरूलाई म यो भौतिक संसारमा पटक पटक आसुरी योनीमा उत्पन्न गराउँछु।” यस भनाइको आशय के हो भने त्यस किसिमका आसुरी प्रवृति हुनेहरूले मानसिक रुपमा कहिले पनि सन्तुष्टि पाउँदैनन्।  उनीहरूको जीवन यति बढि दु:खदायी हुन्छ कि उनीहरूले सात जन्ममा पनि दु:ख पीडा पाए सरह हुन्छ।

सबैलाई असल एवं जनउपयोगी कार्य गर्न र जनविरोधी कार्य गर्नबाट रोक्न भगवान् भन्नु हुन्छ, “काम, क्रोध र मोह गरी तिन त्यस्ता द्वारहरू छन् जसले व्यक्तिलाई स्वयंले नै आत्मा नष्ट गर्नका नरकतिर लैजान्छन्। त्यसकारण सबैले काम, क्रोध र मोह परित्याग गर्नु पर्दछ। जब त्यक्तिले आफूलाई नरकका यी तिन द्वारहरूबाट टाढा पार्दछ तब उसले आफ्नो कल्याण गर्दछ र उसले उत्तम गति पनि प्राप्त गर्दछ।



सोरहौ अध्याय समाप्त


No comments:

Post a Comment