Friday, May 15, 2015

Weak Role of Diplomatic Missions-Article-170

बलियो बन्न नसको कूटनैतिक नियोगहरुको भूमिका

नेपाली र इजराइलीहरु बीच धेरै कुराहरुमा निकै समानता छ। तर एउटा कुरामा भने निकै बढी समानता छ र त्यो समानता हो- यी दुबै राष्ट्रका नागरिकहरुले आ-आफ्नो राष्ट्रियता खतरामा रहेको प्रतिपल महसुस गर्नु। आफ्नो मुलुक असुरक्षित रहेको ठान्नु।
निकटका केही राष्ट्रहरुले इजराइल भन्ने मुलुक विश्व मान चित्र मा नै छैन भन्नुले इजराइलको राष्ट्रियताप्रतिको चिन्ता झनै बढेर गएको छ। निकटका धेरै छिमेकी राष्ट्रहरुप्रति पनि इजराइल विश्वस्त हुन सकेको छैन। इजराइल भन्ने देशको स्थापन कसरी भयो त्यो पनि इतिहासको एक चाँखलाग्दो अध्यायको रुपमा रहेको छ। यसको चर्चा कुनै बेला आगामी लेखहरुमा गरौला।
नेपालको स्थिति पनि इजराइल भन्दा धेरै पृथक छैन, छिमेकीहरुसँगको सम्बन्धको सबालमा। सिक्किमलाई भारतले आफूमा बिलय गराएदेखि नै भारतप्रति धेरै नेपालीहरुको विश्वास स्थिर हुन सकेको छैन। नेपालमा एकथरि, चीनले नेपालको राजनीतिमा चाहिने भन्दा बढी हस्तक्षेप गर्यो भनी चीनलाई शंकाको नजरले हरपल हेर्दछन भने अर्को  थरिले, भारतले नेपालको मामिलामा बाहिरबाट सद्भाव तर भित्रबाट बिस्तारबाद रबैया राख्यो भन्दै भारतप्रति विश्वस्त नरहेको अभिव्यक्ति दिन्छन। नेपालमा ‘माइक्रो मेनेजमेन्ट’ गर्न सम्म भ्याएको भन्ने आरोप भारतले खेपिरहेको छ भने अति भएपछि खति हुने किसिमबाट नेपाललाई पछिल्लो समयमा संकास्पद माया देखाएको आरोप चीनले खेपिरहेको छ। सरल शब्दमा भन्ने हो भने नेपालको आफ्ना अति निकटका यी दुई राष्ट्रहरुसँगको सम्बन्ध बाहिरबाट हेर्दा अग्लिएर आकास छुने गगनचुम्बी महल जस्तो देखिए पनि त्यो महलको जग भने नहल्लिने गरि मजबुत हुन सकेको छैन। अमेरिकाको निकट छिमेकि क्यानाडासँग, बेलायतको फ्रान्ससँग जस्तो विश्वासिलो सम्बन्ध हुन सकेको छैन।   
राष्ट्रियताप्रति नेपाली र इजराइली हरुको उस्तै किसिमको मनोविज्ञान भएकोले यी दुई राष्टका नागरिकहरु बीच एउटा अर्को तर ज्यादै महत्वपूर्ण किसिमको समानता देखकिएको छ। र त्यो हो दुवै देशका नागरिकहरुमा, देश भित्र वा बाहिर रहेका नागरिकहरु बीच लगाब (Cohesiveness)  ज्यादै नै बढी देखिनु हो। अर्थात, जस्तै, अन्य विभिन्न मुद्दाहरुका कारण नेपालीहरु बीच अनेक किसिमका मतमतान्तर रहे पनि राष्ट्रियताकको सबालमा भने नेपालीहरु बीच अति नै घनिष्ट एकता हुन्छ। राष्ट्रियताको मजबुति र सुरक्षाको  मुद्दाले फेबिकोलको काम गरेर नेपालीहरुलाई नछुट्टिन गरि जोड्दछ। दुरुस्त यस्तै स्थिति इजराइलीहरुमा पनि छ। यी दुई देशका नागरिकहरु देश भित्र वा बाहिर रहे पनि राष्ट्रियताको विषयमा अति नै घनिष्ट किसिमबाट एकजुट हुन्छन। राष्ट्रियताको सबालमा स्वरमा स्वर मिलाएर गर्जन गर्छन।
तर यस आलेखमा मैले नेपाली र इजराइलीहरुको अति राष्ट्रियता बोध प्रति ज्यादै शुक्ष्म विश्लेषण प्रस्तुत गर्न थालेको भने होइन। यो प्रसंगलाई मैले केवल नेपालका विदेश स्थित कुटनीतिक नियोगहरुले नेपालीहरु बीच रहेको अति घनिष्टता- भाव, जुन मैले माथि चर्चा गरे, को सदुपयोग गर्न नसकेको स्थितिसँग जोड्न खोजेको हो। स्वदेशमा रहेका स्वदेशबासीहरुलाई विदेशमा रहेका नेपालीहरुले सहयोग गर्न बढाएका हातहरुलाई नेपालसम्म कुशलतापूर्व पुर्याउनु नसक्नु बारे दूतावासहरुको सिथिलता छलफल गर्न खोजेको हो। भूकम्प पीडितहरुलाई सहयोग गर्न अति तत्पर रहेका विदेशस्थित नेपालीहरुको त्यो तत्परतालाई विदेशस्थित नेपालका दुतावासहरुले कुशलतापूर्वक उपयोग गर्न नसकेको बारे चर्चा गर्न खोजेको हो।
यो आलेख तयार परिरहँदा नै पनि नेपालमा पुन: (मंगलबार, बैशाख २९, २०७२)  दोस्रो सक्तिशाली भूकम्प गएको छ। धन जनको क्षतिको विस्तृत विवरण आइ नसके पनि केवल अनुमानको मात्र उपयोगको गर्ने हो भने पनि यो दोस्रो ठूलो भूकम्पले निकै ठूलो क्षति गरेको आभास हुन्छ। यसै महिनाको दोस्रो हप्ता (बैशाष १२ गतेको भूकम्प) आएको महा बिपत्तिमा यो अर्को नया महाविपत्ति थपिएको छ। नेपालमा विपत्ति आउने सिलसिला जारि छ। रोकिन सकिरहेको छैन्। त्यस्तो छांटकांट पनि देखिएको छैन। तर यो संकटलाई रोक्न नसके पनि यसका पीडादायी असरहरुको भने उचित किसिमले व्यवस्थापन गर्न सकिन्छ। र त्यो गर्न जरुरी छ पनि किनभने बारम्बार आइरहेका भूकम्पहरुले घरहरुमात्र भत्काएका, हल्लाएका छैनन् नेपालीहरुको मनलाई पनि नराम्रो गरी भत्काएका छन्, हल्लाएका छन। अत्तालिएका मनहरु स्थिर हुन सकिरहेका छैनन्। र स्थिर हुन दसकौं सम्म पनि लाग्न सक्छ।
यसरी, एकै महिनामा गएका दुई ठूला ठूला भूकम्पहरुले राष्ट्रिय क्षतिको मात्रालाई झनै बढाइ दिएका छन। भूकम्पको महा विनाशलिला दृष्टिगत गर्दा नेपालको पुन: निर्माण नै गर्नु पर्नै देखिन्छ,  खास गरी काठमाडौ उपत्यका लाई। यी दुई भुकम्पहरुको क्षतिलाई जोड्ने हो भने पुनर्निमाणमा नेपालले ठूलो कोष जुटाउनु पर्ने हुन्छ। यसरी कोषहरु जुटाउने सन्दर्भमा विदेशमा रहेका नेपालीहरुले गर्ने आर्थिक सहयोगहरुलाई जोडेर राष्ट्र निर्माणका लागि एउटा बलियो र भरपर्दो कोष निर्माण गर्न सकिन्छ। तर यो कोष निर्माणका लागि विदेशस्थित नेपालका दूताबासहरुले अति प्रबन्धकीय कुशलता देखाउनु पर्ने हुन्छ। उच्चस्तरको सक्रियता र तत्परता देखाउनु पर्ने हुन्छ। तर अपेक्षित सक्रियता र तत्परता, यी दुबै, ती निकाएहरुबाट भएको महसुस हुन सकिरहेको छैन। विदेशमा बसोबास गरिरहेका धेरै नेपालीहरुले अनुभव गरेको कुरा हो यो।
नेपालले अहिले २९ मुलुकहरुमा रहेका आफ्ना दूतावास, दुई स्थानहरुमा रहेका राष्ट्रसंघीय नियोग र चार स्थानमा रहेका महावाणिज्य दूतावासहरुलाई भूकम्प पीडितहरुको सहयोगार्थ आवश्यक पर्ने कोष निर्माणका लागि प्रभावकारी किसिमले उपयोग गर्न सक्छ। तर यी निकाएहरु मध्ये दुई चार बाहेक अन्यले प्रभावकारी भूमिका निर्वाह गर्न सकेका छैनन्। यहाँसम्म कि विदेशमा बसोबास गरिरहेका नेपालीहरुले सम्बन्धित दूताबास मार्फत सहयोगस्वरुप उठेका रकमहरु नेपाल पठाउन खोज्दा गर्नु पर्ने आवश्यक कार्यहरुको समन्वयसम्म पनि ती दूतावासहरुले प्रभावकारी किसिमले गर्ने सकिरहेका छैनन्। यो अवस्था वा कमजोरीलाई सरकर स्वंले नै पनि स्वीकार गरिसेको छ। विदेशस्थित नेपाली दूतावासहरुको यस किसिमको कार्य सिथिलता देखेर नै होला केही दिन पहिले प्रधानमन्त्री सुशील कोइरालाले सराकारी निकाएहरुको माध्यमबाट सहयोग जुटाउन कूटनीतिक नियोगहरु सक्षम हुन नसको अभिव्यक्ति दिएका थिए र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई दूतावासहरुलाई परम्परावादी होइन वर्तमान परिस्थितिसँग जुध्न सक्ने किसिमले सक्रिय बनाउन निर्देशन समेत पनि दिएका थिए। हुन पनि भूकम्प पीडितहरुको सहयोगमा विदेशमा रहेका नेपालीहरु निजी वा व्यक्तिगत किसिमले बढी सक्रिए देखिएका थिए र छन, तर त्यस किसिमको सक्रियता विदेशस्थित नेपाली दूतावासहरुले देखाउन सकिरहेका छैनन्।
माथि उल्लेख गरिएको नेपाली नेपाली बीच बढी “लगाब” को स्थित र खास गरि विदेश स्थित नेपालीहरुमा देखिएको अझै बढी लगाबको स्थितिलाई नेपालका विदेश स्थित दूतावास एवं कुटनैतिक नियोगहरुले प्रभावकारी किसिमले उपयोग गर्ने हो नेपालका भूकम्प पीडितहरुलाई अझै बढी, प्रभावकारी र सजिलो किसिमले राहत उलब्ध गराउन सकिन्छ। राहत उपलब्ध गराउन आवश्यक पर्ने ठूलो कोषको निर्माण गर्न सकिन्छ। देशबासीहरुलाई आर्थिक सहयोग गर्न विदेशहरुमा रहेका सम्पूर्ण नेपालीहरु हरदम तत्पर छन्। मन, वचन र कर्मले सहयोग गर्न संकल्पकृत छन। केवल दुतावास एवं नियोगहरुले मात्र एक राम्रो माध्यम र विश्वासको वातावरण निर्माण गरि दिनु पर्यो। यस्तो गर्न सकेकमा भूकम्प पीडितहरुलाई आर्थिक सहयोग मात्र होइन, नेपाल नव निर्माण गर्न सकिने किसिमले कोष खडा गर्न सकिन्छ।
भूकम्प अति पीडित नेपाललाई सहयोग जुटाउन विदेश स्थित नेपाली दूतावास एवं कूटनीतिक नियोगका कार्यालयहरुले आज भोलि व्यापक प्रयोगमा रहेको तथा विश्वको जुन सुकै भागबाट पनि ठूलो संख्याम व्यक्तिहरु संलग्न रहने “फेसबुक”, युट्युब, ट्विटर आदिको प्रभावकारी किसिमले उपयोग गर्न सक्छन। यस्तो गर्न आवश्यक छ र यस किसिका कार्यहरु गर्न अब ढिलो भने गर्नु हुँदैन।


विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, May 15, 2015

No comments:

Post a Comment