किन हुन्छ नेपालको
गरिबी अति पीडादायी?
नेपालमा, कुराकानीको
क्रममा, लगभग सम्पूर्ण जनताले नै घुसखोरी वा भ्रष्टाचारको विरोध गरेको पाइन्छ तर
व्यवहारद्वारा भने केवल पाँच प्रतिशत (अनुमान) मात्रले यो कुरुति वा अपराधको विरोध
गरेको देखिन्छ। अर्थात वहुसंख्यक नागरिकहरु पाए भने दाउ हात पार्ने (भ्रष्टाचार
गर्ने) मौकाको पर्खाइमा बसेका हुन्छन्। यसरी वहुसंख्यक नागरिकमा बोली र व्यवहारमा
ठूलो अन्तर छ, भ्रष्टाचारको सन्दर्भमा। केवल कुराद्वारा मात्र भ्रष्टाचारको बिरोधी
भएर वहुसंख्यकले आफू इमान्दार भएको तर्क
पेश त गर्छन् तर भ्रष्टाचार गर्ने औसर आउने वित्तिकै, त्यसरी कुरा गर्नेहरु ठोस
मैन बत्ति पग्लिए झै घुसको अगाडि पग्लिन पुग्छन्। स्थिति यस्तो विडम्वनापूर्ण
किनभएको होला? यो बुझ्नका लागि नेपाली समाजको चरित्रको अध्ययन गर्न आवश्यक छ।
अहिले, नेपालमा
भारतले गरेको नाकाबन्दी सम्बन्धी समाचारले संचार माध्यमहरुमा प्रमुखता पाएत पनि
“मैच फिक्सिंगमा नेपाली खेलडिहरुको संलग्नता” भन्ने बारेको समाचारले पनि कम चर्चा
पाएको छैन। नेपालको राष्ट्रिय फुटबल टिमका केही खलाडीहरुले मैच फिक्स गरेर लाखौ
रुपैया कमाएको, घुस खाएको र नेपालको प्रचलित
कानून अनुसार ठूलो अपराध गरेको समाचारहरु प्रकाशमा आएका छन्। फुटबल खेलमा मैच फिक्सिग गरेको
आरोपमा नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापा र अन्य तीन खेलाडीहरु-
विकाससिंह क्षेत्री, रितेश थापा र सन्दीप राई र साथै प्रशिक्षक अञ्जन केसी पनि
पक्राउ परेका छन्। महानगरीय परिसर काठमाडौले प्रकाउ परेकाहरु विरुद्ध जिल्ला
प्रशासन कार्यालयमा “राज्यविरुद्धको अपराध” गरेको मुद्दा चलाएको छ।
पैसाका लागि,
“राष्ट्रिय प्रतिष्ठा” सँग गाँस्सिएको, आम जनताले गर्व गर्ने विषयमा खेलाडीहरु
यसरी बिकेको स्थितिलाई आम नेपालीहरुले ठूलो राष्ट्रिय अपमान र बेइज्जति स्थितिको
रुपमा लिएका त छन् नै, साथै खेलाडीहरु माथि क्रोधित पनि भएका छन्। यो समचारले
धेरैलाई खिन्न पारेको छ पनि। भोलिका दिनहरुमा उनीहरु माथि लगाइएको आरोपले कस्तो
आकार ग्रहण गर्ने हो? सम्मानित अदालतले उनीहरुलाई दोषी डहर गर्ने हो वा होइन? यी
कुराहरु आउने दिनहरुमा नै थाहा होलान। तर हालका लागि चर्चा के गरौ भने वर्तमानमा उनीहरुले पैसाको लागि गरेको अपराधका लागि के
उनीहरु मात्र दोषी छन्? खेलाडीले घुस खान सक्ने कहि कतै सम्भावना समेत पनि नभएको
स्थितिमा उनीहरुलाई घुस खाने अवस्थामा पुर्याउने नेपाली समाजको के कुनै कसुर
छैन्? के वर्तमान समाजको मनोविज्ञानले
उनीहरुलाई त्यस्तो गर्न बाध्य पारेको होइन र? यो विषमा पनि छोटो चर्चा गर्न आवश्यक
छ। र यसका लागि पनि नेपाली समाजको मनोविज्ञानको
अध्ययन गर्न आवश्यक छ।
नेपाली समाज तडक
भडक, सान सौकत, इज्जत रवाफ, धाक धक्कू प्रदर्शनमा अति बढी विश्वास गर्दछ। अरुहरुले
यस किसिमको प्रदर्शन गरेको मन नराएता पनि, आफूले पाएका भने तीन हात माथि उठेर
गर्छ। यस्ता क्रियाकलापहरुमा अनावश्यक रुपमा बढी पैसा र समय खर्च गर्छ नै साथै बढी
भन्दा बढी खर्च गर्न प्रतिस्पर्धा समेत गर्दछ। र यसरी अनावश्य खर्च गर्नुलाई जयाज
समेत पनि देख्दछ। यसरी खर्च नगर्न सक्नेलाई उल्टो अपमानित भएको महसुस गर्ने
वातावरण समेत सृजना गरिदिन्छ। त्यसकारण, नेपाली समाजमा गरिब हुनेहरुले केवल भौतिक
अभाव वा पीडा मात्र भोग्न पर्दैन, साथै मानसिक आघात एवं पीडा समेत पनि भोग्नु पर्दछ।
समाजमा अपमानित भएर बाँच्नु परेको महसुस पनि गर्नु पर्दछ। यस कारण नेपाली समाजमा
गरिब भएर बाँच्नु अभिषप्त एवं पीडादायी हुन पुगेको छ। नेपाली सामजलाई, सकी नसकी,
अपराध गरेर भए पनि, झूठ बोलेर नै पनि, अपराध गरेर नै भए पनि, यो स्थितिले धनी हुन
बाध्य पार्दछ। हुन पनि, शारिरीक श्रम गर्ने, कम आएका भएका, मजदूर वा समाजले
तथाकथित रुपमा तल्लो काम भनेर वर्गिकरण गरिदिएको काम गर्नेहरुलाई नेपाली समाजले
सम्मान वा इज्जत दिएको देखिंदैन। एक मजदूर वा रिक्सा चालकलाई, उनीहरुको सेवा उपभोग
गर्नेहरुले, आदरपूर्व उनीहरुलाई श्रीमान् वा महाशय भनेको वा उनीहरुका लागि
आदरार्थी शब्द “तपाइँ” प्रयोग गरेको देख्न वा सुन्न पाइँदैन। तर त्येही व्यक्तिले कुनै धनी वा उच्च सरकारी
ओहदाको व्यक्तिलाई उसँग कुनै सरोकार नभए पनि अति मर्यादा दिन्छ। उसको जी, हजूरी
गर्छ। एउटै समाजमा विभिन्न व्यक्तिहरुलाई व्यवहार गर्दा किन उनीहरुको आर्थिक
हैसियतको अनुसार व्यवहार गरिएको होला?
समाजमा देखिएको यो दुष्ट परम्पराले गर्दा नै आम नागरिकहरुलाई गलत वा सही, जस्तो
किसिमको पनि काम गरेर, वा ठूलो अपराध नै गरेर पनि, धनी हुन प्रेरित गर्दछ। अर्कोतिर,
गरिब भएर बाँच्नुलाई नारकीय जीवन बाँचेको हरपल बोध गराउँछ।
गरिबहरु युरोप एवं
अमेरिकातिर नभएका होइन, धेरै नै छन्। तर अमेरिका वा यूरोपतिर गरिबहरुले नेपालमा जति
र जस्तो मानसिक आघात र पीडा भोग्नु पर्दैन। यहाँ प्रचलित सामाजिक बनाबटले एक
अर्काको गोपनीयतालाई सम्मान गर्ने भएकोले गरिबहरु नेपाल, भारतमा जस्तो अपहेलित हुन
पाउँदैनन्। त्यो कसरि हुन्छ भने अमेरिका एवं युरोपीय देशहरुमा व्यक्तिहरुले
जीवनलाई बाहरी र भित्री गरी दुई भागमा बाडेका छन्। भित्री जीवन घर भित्र सीमित हुन्छ भने बाहिरी
जीवन कार्यस्थल, चर्च, पार्क, लाइब्रेरी, क्लब, रेष्टुरेन्ट, मल आदिमा बाँडिएको
हुन्छ। घरमा खाने, सुत्ने एवं नितातन्त निजी कुराहरु मात्र गरिन्छन्। विवाह
(चर्चमा), सामाजिक भेटघाट (प्राय: आइतवार चर्चामा), पारिवारिक भेटघाट
(रेष्टुरेन्टमा, पार्कमा), मृत्यमा शोक, मलामी जाने कार्य (चर्चमा), सामानय भेटघाट
(सपिंग मल) बाहिर गरिन्छ। यसरी कुनै पनि व्यक्ति वा परिवारले आफ्नो घर भित्रको
निजी जीवन र त्यसका क्रियाकलापहरु लाई अति नै गोपनीय राखेको हुन्छ। कुनै व्यक्तले
कसैको घरभित्र पस्न वा पाहुने बनेर जान समेत पनि घरधनीसँग अनिवार्य रुपमा अनुमति
लिनु पर्ने हुन्छ। अनुमति नलिएर कसैको घर, आँगन वा सम्पत्तिमा प्रवेशग गरेमा कसैको
सम्पत्ति रक्षाको कानूनी व्यवस्था (trespassing) र सामाजिक नियम (social rules) उलंघन गरेको मानिन्छ। यस किसिमको कानूनी व्यवस्था रहेकोले नेपाल वा
भारतमा जस्तो कुनै व्यक्ति, बेला न कुबेला कसैको घरमा पस्ने र त्यो घरका
सदस्यहरुले खानाको रुपमा केवल फर्सी उसिनेर खाएको देख्ने, र देख्नेले बाहरि आएर मैले फलानाहरुले फर्सी उसिनेर खाएको देंखे
भन्ने र यसरी भनिएको आधारमा त्यो गरिब परिवारले आफ्नो बेइज्जति भएको महसुस गर्ने
स्थिति अमेरिका वा युरोपका देशमा हुँदैन। प्रत्येक व्यक्ति एवं परिवारको
गोपनीयताको सम्मान गरिने हुनाले गरिबहरुले यसरी बेइज्ज भएको अनुभव गर्नु पर्दैन।
अमेरिका वा युरोपतिर व्यक्तिहरुको नीजी जीवन गोप्य रहने र समाज एवं सरकारले पनि
गोपनीयताको रक्षा गर्ने भएको हुनाले गरिबले अपहेलित हुनु पर्दैन। नेपाल, भारतमा
व्यक्तिगत एवं पारिवारिक गोपनीयता सामाजिक व्यवस्थाले नै भंग गर्ने हुनाले
व्यक्तिहरुले गरिब भएर बाँच्दा अपमानित भएको महसुस गर्नुपर्ने हुन्छ। नेपाली
समाजमा नागरिकहरुलाई ओहदा, शक्ति, बुद्धि, धन आदिको आधारमा विभेद गरिन्छ र सोही
अनुसार व्यवहार गरिन्छ। मदेसमा आन्दोलनरत नेताज्युहरु, आउनुस पहिले समाजमा रहेको
यो विभेद हटाऔ। नागरिकहरु चेतनशील, शिक्षित भएमा, अनि राज्यको नक्सा कोरौला। पहिले
त उनीहरुलाई नागरिक सम्मान के हो, सीमा भनेको के हो जस्ता कुराहरु अवगत गराऔ।
यहाँ, अमेरिकामा कुनै व्यक्ति गरिव होस वा धनी
उसलाई सम्मानपूर्व उसको नाम वा सर एवं मौडम भनेर सम्बोधन गरिन्छ। र कोहि गरिब भयो
भन्दैमा उसलाई होच्याउन पाइँदैन। होच्याइने किसिमको व्यवहार प्रत्यक्ष वा अप्रत्यक्ष
रुपमा पनि गर्न पाइँदैन। हरेक किसिमको काम गर्नेले उत्तिकै सम्मान पाउँछ। यो काम
ठूलो र यो काम सानो भन्ने पनि छैन्।
अब सन्दर्भ जोडौ,
नेपालको फुटबल टिमका खेलाडीहरुको जो माथि “मैच फिक्सिंग” गरेर, ठूलो रकम घुस लिएर,
राज्य विरुद्धको अपराध गरेको आरोप लगाइएको छ। मेरो विचारमा, यी अज्ञानीहरु पनि नेपाली
समाजमा प्रचलित- जसरी पनि धनी हुनु पर्दछ भन्ने रोगका सिकार भएका हुन। यिनीहरुले
पनि समाजले गरिबहरुलाई हेला गर्न हुनाले त्यस्तोबाट बच्न घुसको सहारा लिएका हुन। त्यसकारण
यिनीहरुमा माथिको आरोप ठहर भएमा यिनीहरु अपराधी हुने छन् र हुनु पनि पर्दछ। तर यी
खेलाडीहरुलाई यस्तो पार्ने हाम्रो समाज हो भन्ने कुरा पनि हामीले बिर्सिनु हुन्न।
सर्वप्रथम त घुस लिन अभिप्रेरित गर्न यो समाजलाई अपराधी भनौ। त्यसकारण आउनुस,
भष्टाचार नियन्त्रण गर्ने थप कानूनहरु निर्माणको माग गर्नुको साटो पहिले नेपाली
समाजको मनोविज्ञानमा देखिएके यो गंभिर
त्रुटी हटाऔ।
जाँदा जाँदै, एउटा
अनुभव सुनाइ हालौ। मैले बीरगंजमा, त्यहाँका एक प्रख्यात साहित्यकारसँग उनको
सम्मानमा उनीसँग हात मिलाउन खोज्दा उनले बडो गार्होगरि कोटबाट हात झिकेर अनिक्षाका
साथ आफ्नो हात मतिर बढाएका थिए। म भने उनको हात बलपूर्वक तान्ने स्थितिमा पुगेको
थिए। जे होस उनले हात त मिलाए, तर बडो गार्हो गरि। अहिले क्यानाडामा, नव निवार्चित
(हुनेवाल) प्रधान मंत्री जस्टिन त्रुदोले क्यानाडाको सडकमा हिंड्ने जोसुकै संग पनि
विना भेदभाव, धनी, गरिब, पद, पैसा आदिको आधारमा विभेद नगरी, खुलेर, स्वेच्छले हात
मिलाउँदै छन्।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशसित Wednesday, October 28, 2015