Wikipedia

Search results

Friday, October 30, 2015

Why Is A Poverty In Nepal So Painful? -Article-186

किन हुन्छ नेपालको गरिबी अति पीडादायी?

नेपालमा, कुराकानीको क्रममा, लगभग सम्पूर्ण जनताले नै घुसखोरी वा भ्रष्टाचारको विरोध गरेको पाइन्छ तर व्यवहारद्वारा भने केवल पाँच प्रतिशत (अनुमान) मात्रले यो कुरुति वा अपराधको विरोध गरेको देखिन्छ। अर्थात वहुसंख्यक नागरिकहरु पाए भने दाउ हात पार्ने (भ्रष्टाचार गर्ने) मौकाको पर्खाइमा बसेका हुन्छन्। यसरी वहुसंख्यक नागरिकमा बोली र व्यवहारमा ठूलो अन्तर छ, भ्रष्टाचारको सन्दर्भमा। केवल कुराद्वारा मात्र भ्रष्टाचारको बिरोधी भएर वहुसंख्यकले आफू इमान्दार भएको  तर्क पेश त गर्छन् तर भ्रष्टाचार गर्ने औसर आउने वित्तिकै, त्यसरी कुरा गर्नेहरु ठोस मैन बत्ति पग्लिए झै घुसको अगाडि पग्लिन पुग्छन्। स्थिति यस्तो विडम्वनापूर्ण किनभएको होला? यो बुझ्नका लागि नेपाली समाजको चरित्रको अध्ययन गर्न आवश्यक छ।
अहिले, नेपालमा भारतले गरेको नाकाबन्दी सम्बन्धी समाचारले संचार माध्यमहरुमा प्रमुखता पाएत पनि “मैच फिक्सिंगमा नेपाली खेलडिहरुको संलग्नता” भन्ने बारेको समाचारले पनि कम चर्चा पाएको छैन। नेपालको राष्ट्रिय फुटबल टिमका केही खलाडीहरुले मैच फिक्स गरेर लाखौ रुपैया कमाएको, घुस खाएको  र नेपालको प्रचलित कानून अनुसार ठूलो अपराध गरेको समाचारहरु प्रकाशमा  आएका छन्। फुटबल खेलमा मैच फिक्सिग गरेको आरोपमा नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापा र अन्य तीन खेलाडीहरु- विकाससिंह क्षेत्री, रितेश थापा र सन्दीप राई र साथै प्रशिक्षक अञ्जन केसी पनि पक्राउ परेका छन्। महानगरीय परिसर काठमाडौले प्रकाउ परेकाहरु विरुद्ध जिल्ला प्रशासन कार्यालयमा “राज्यविरुद्धको अपराध” गरेको मुद्दा चलाएको छ।  
पैसाका लागि, “राष्ट्रिय प्रतिष्ठा” सँग गाँस्सिएको, आम जनताले गर्व गर्ने विषयमा खेलाडीहरु यसरी बिकेको स्थितिलाई आम नेपालीहरुले ठूलो राष्ट्रिय अपमान र बेइज्जति स्थितिको रुपमा लिएका त छन् नै, साथै खेलाडीहरु माथि क्रोधित पनि भएका छन्। यो समचारले धेरैलाई खिन्न पारेको छ पनि। भोलिका दिनहरुमा उनीहरु माथि लगाइएको आरोपले कस्तो आकार ग्रहण गर्ने हो? सम्मानित अदालतले उनीहरुलाई दोषी डहर गर्ने हो वा होइन? यी कुराहरु आउने दिनहरुमा नै थाहा होलान। तर हालका लागि चर्चा के गरौ भने वर्तमानमा  उनीहरुले पैसाको लागि गरेको अपराधका लागि के उनीहरु मात्र दोषी छन्? खेलाडीले घुस खान सक्ने कहि कतै सम्भावना समेत पनि नभएको स्थितिमा उनीहरुलाई घुस खाने अवस्थामा पुर्याउने नेपाली समाजको के कुनै कसुर छैन्?  के वर्तमान समाजको मनोविज्ञानले उनीहरुलाई त्यस्तो गर्न बाध्य पारेको होइन र? यो विषमा पनि छोटो चर्चा गर्न आवश्यक छ।  र यसका लागि पनि नेपाली समाजको मनोविज्ञानको अध्ययन गर्न आवश्यक छ।
नेपाली समाज तडक भडक, सान सौकत, इज्जत रवाफ, धाक धक्कू प्रदर्शनमा अति बढी विश्वास गर्दछ। अरुहरुले यस किसिमको प्रदर्शन गरेको मन नराएता पनि, आफूले पाएका भने तीन हात माथि उठेर गर्छ। यस्ता क्रियाकलापहरुमा अनावश्यक रुपमा बढी पैसा र समय खर्च गर्छ नै साथै बढी भन्दा बढी खर्च गर्न प्रतिस्पर्धा समेत गर्दछ। र यसरी अनावश्य खर्च गर्नुलाई जयाज समेत पनि देख्दछ। यसरी खर्च नगर्न सक्नेलाई उल्टो अपमानित भएको महसुस गर्ने वातावरण समेत सृजना गरिदिन्छ। त्यसकारण, नेपाली समाजमा गरिब हुनेहरुले केवल भौतिक अभाव वा पीडा मात्र भोग्न पर्दैन, साथै मानसिक आघात एवं पीडा समेत पनि भोग्नु पर्दछ। समाजमा अपमानित भएर बाँच्नु परेको महसुस पनि गर्नु पर्दछ। यस कारण नेपाली समाजमा गरिब भएर बाँच्नु अभिषप्त एवं पीडादायी हुन पुगेको छ। नेपाली सामजलाई, सकी नसकी, अपराध गरेर भए पनि, झूठ बोलेर नै पनि, अपराध गरेर नै भए पनि, यो स्थितिले धनी हुन बाध्य पार्दछ। हुन पनि, शारिरीक श्रम गर्ने, कम आएका भएका, मजदूर वा समाजले तथाकथित रुपमा तल्लो काम भनेर वर्गिकरण गरिदिएको काम गर्नेहरुलाई नेपाली समाजले सम्मान वा इज्जत दिएको देखिंदैन। एक मजदूर वा रिक्सा चालकलाई, उनीहरुको सेवा उपभोग गर्नेहरुले, आदरपूर्व उनीहरुलाई श्रीमान् वा महाशय भनेको वा उनीहरुका लागि आदरार्थी शब्द “तपाइँ” प्रयोग गरेको देख्न वा सुन्न पाइँदैन। तर त्येही व्यक्तिले कुनै धनी वा उच्च सरकारी ओहदाको व्यक्तिलाई उसँग कुनै सरोकार नभए पनि अति मर्यादा दिन्छ। उसको जी, हजूरी गर्छ। एउटै समाजमा विभिन्न व्यक्तिहरुलाई व्यवहार गर्दा किन उनीहरुको आर्थिक हैसियतको अनुसार व्यवहार  गरिएको होला? समाजमा देखिएको यो दुष्ट परम्पराले गर्दा नै आम नागरिकहरुलाई गलत वा सही, जस्तो किसिमको पनि काम गरेर, वा ठूलो अपराध नै गरेर पनि, धनी हुन प्रेरित गर्दछ। अर्कोतिर, गरिब भएर बाँच्नुलाई नारकीय जीवन बाँचेको हरपल बोध गराउँछ।
गरिबहरु युरोप एवं अमेरिकातिर नभएका होइन, धेरै नै छन्। तर अमेरिका वा यूरोपतिर गरिबहरुले नेपालमा जति र जस्तो मानसिक आघात र पीडा भोग्नु पर्दैन। यहाँ प्रचलित सामाजिक बनाबटले एक अर्काको गोपनीयतालाई सम्मान गर्ने भएकोले गरिबहरु नेपाल, भारतमा जस्तो अपहेलित हुन पाउँदैनन्। त्यो कसरि हुन्छ भने अमेरिका एवं युरोपीय देशहरुमा व्यक्तिहरुले जीवनलाई बाहरी र भित्री गरी दुई भागमा बाडेका छन्।  भित्री जीवन घर भित्र सीमित हुन्छ भने बाहिरी जीवन कार्यस्थल, चर्च, पार्क, लाइब्रेरी, क्लब, रेष्टुरेन्ट, मल आदिमा बाँडिएको हुन्छ। घरमा खाने, सुत्ने एवं नितातन्त निजी कुराहरु मात्र गरिन्छन्। विवाह (चर्चमा), सामाजिक भेटघाट (प्राय: आइतवार चर्चामा), पारिवारिक भेटघाट (रेष्टुरेन्टमा, पार्कमा), मृत्यमा शोक, मलामी जाने कार्य (चर्चमा), सामानय भेटघाट (सपिंग मल) बाहिर गरिन्छ। यसरी कुनै पनि व्यक्ति वा परिवारले आफ्नो घर भित्रको निजी जीवन र त्यसका क्रियाकलापहरु लाई अति नै गोपनीय राखेको हुन्छ। कुनै व्यक्तले कसैको घरभित्र पस्न वा पाहुने बनेर जान समेत पनि घरधनीसँग अनिवार्य रुपमा अनुमति लिनु पर्ने हुन्छ। अनुमति नलिएर कसैको घर, आँगन वा सम्पत्तिमा प्रवेशग गरेमा कसैको सम्पत्ति रक्षाको कानूनी व्यवस्था (trespassing)  र सामाजिक नियम (social rules) उलंघन गरेको मानिन्छ। यस किसिमको कानूनी व्यवस्था रहेकोले नेपाल वा भारतमा जस्तो कुनै व्यक्ति, बेला न कुबेला कसैको घरमा पस्ने र त्यो घरका सदस्यहरुले खानाको रुपमा केवल फर्सी उसिनेर खाएको देख्ने, र देख्नेले बाहरि  आएर मैले फलानाहरुले फर्सी उसिनेर खाएको देंखे भन्ने र यसरी भनिएको आधारमा त्यो गरिब परिवारले आफ्नो बेइज्जति भएको महसुस गर्ने स्थिति अमेरिका वा युरोपका देशमा हुँदैन। प्रत्येक व्यक्ति एवं परिवारको गोपनीयताको सम्मान गरिने हुनाले गरिबहरुले यसरी बेइज्ज भएको अनुभव गर्नु पर्दैन। अमेरिका वा युरोपतिर व्यक्तिहरुको नीजी जीवन गोप्य रहने र समाज एवं सरकारले पनि गोपनीयताको रक्षा गर्ने भएको हुनाले गरिबले अपहेलित हुनु पर्दैन। नेपाल, भारतमा व्यक्तिगत एवं पारिवारिक गोपनीयता सामाजिक व्यवस्थाले नै भंग गर्ने हुनाले व्यक्तिहरुले गरिब भएर बाँच्दा अपमानित भएको महसुस गर्नुपर्ने हुन्छ। नेपाली समाजमा नागरिकहरुलाई ओहदा, शक्ति, बुद्धि, धन आदिको आधारमा विभेद गरिन्छ र सोही अनुसार व्यवहार गरिन्छ। मदेसमा आन्दोलनरत नेताज्युहरु, आउनुस पहिले समाजमा रहेको यो विभेद हटाऔ। नागरिकहरु चेतनशील, शिक्षित भएमा, अनि राज्यको नक्सा कोरौला। पहिले त उनीहरुलाई नागरिक सम्मान के हो, सीमा भनेको के हो जस्ता कुराहरु अवगत गराऔ।
 यहाँ, अमेरिकामा कुनै व्यक्ति गरिव होस वा धनी उसलाई सम्मानपूर्व उसको नाम वा सर एवं मौडम भनेर सम्बोधन गरिन्छ। र कोहि गरिब भयो भन्दैमा उसलाई होच्याउन पाइँदैन। होच्याइने किसिमको व्यवहार प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पनि गर्न पाइँदैन। हरेक किसिमको काम गर्नेले उत्तिकै सम्मान पाउँछ। यो काम ठूलो र यो काम सानो भन्ने पनि छैन्।
अब सन्दर्भ जोडौ, नेपालको फुटबल टिमका खेलाडीहरुको जो माथि “मैच फिक्सिंग” गरेर, ठूलो रकम घुस लिएर, राज्य विरुद्धको अपराध गरेको आरोप लगाइएको छ। मेरो विचारमा, यी अज्ञानीहरु पनि नेपाली समाजमा प्रचलित- जसरी पनि धनी हुनु पर्दछ भन्ने रोगका सिकार भएका हुन। यिनीहरुले पनि समाजले गरिबहरुलाई हेला गर्न हुनाले त्यस्तोबाट बच्न घुसको सहारा लिएका हुन। त्यसकारण यिनीहरुमा माथिको आरोप ठहर भएमा यिनीहरु अपराधी हुने छन् र हुनु पनि पर्दछ। तर यी खेलाडीहरुलाई यस्तो पार्ने हाम्रो समाज हो भन्ने कुरा पनि हामीले बिर्सिनु हुन्न। सर्वप्रथम त घुस लिन अभिप्रेरित गर्न यो समाजलाई अपराधी भनौ। त्यसकारण आउनुस, भष्टाचार नियन्त्रण गर्ने थप कानूनहरु निर्माणको माग गर्नुको साटो पहिले नेपाली समाजको मनोविज्ञानमा  देखिएके यो गंभिर त्रुटी हटाऔ।   

जाँदा जाँदै, एउटा अनुभव सुनाइ हालौ। मैले बीरगंजमा, त्यहाँका एक प्रख्यात साहित्यकारसँग उनको सम्मानमा उनीसँग हात मिलाउन खोज्दा उनले बडो गार्होगरि कोटबाट हात झिकेर अनिक्षाका साथ आफ्नो हात मतिर बढाएका थिए। म भने उनको हात बलपूर्वक तान्ने स्थितिमा पुगेको थिए। जे होस उनले हात त मिलाए, तर बडो गार्हो गरि। अहिले क्यानाडामा, नव निवार्चित (हुनेवाल) प्रधान मंत्री जस्टिन त्रुदोले क्यानाडाको सडकमा हिंड्ने जोसुकै संग पनि विना भेदभाव, धनी, गरिब, पद, पैसा आदिको आधारमा विभेद नगरी, खुलेर, स्वेच्छले हात मिलाउँदै छन्।


विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशसित Wednesday, October 28, 2015

Friday, October 23, 2015

Special Notes 2

राजनैतिक दलहरुको असफलता- अर्को शक्तिको उदय

नेपालमा राजनैतिक दलहरुको असफलताले एकातिर सत्ता संचालनमा घोर अनिश्चितता बढेर गएको छ भने अर्कोतिर सेना आउने सम्भावना बढेर गएको छ। 

Friday, October 16, 2015

The Myopia Of Delhi Administration-Article-185



कहाँ चुक्यो भारतीय राजनीतिले?


नेपाल-भारत सम्बन्धको सन्दर्भमा भारतको केन्द्रिय राजनीति अपेक्षाकृत रुपमा वर्षौंदेखि असफल हुँदै आएको छ।  भारतले विगत र वर्तमानमा आफू प्रति गरेको व्यवहारले गर्दा भरोसामन्द रुपमा रहेको एउटा छिमेकी नेपालले पनि उत्तरदिर मुन्टो बटार्न थालेको छ। यो नया परिस्थितिमा, नेपालीको राष्ट्रवाद भारत-विरोधी हुनुमा परिणत हुन थालेको छ, जस्तो कि इजरायली राष्ट्रवाद अरब बिरोधी हुनुमा रहेको छ। यसैगरी, भनिन्छ, एउटा फिलिस्तिनीले जन्मजात इजराइलको बिरोध गर्नुमा राष्ट्रवादी भएको ठान्दछ। फिलिस्तिनीहरुले त जन्मलिना साथ इजराइलीहरु माथि ढुंगाप्रहार गर्न सिकेको हुन्छ रे। हामी आशा गरौं नेपाल-भारत सम्बन्ध त्यस्तो नहोस। भारत पुत्र रामचन्द्रकी पत्नी सीताको माइती नेपाल रहेको परिचय र वैवाहिक सम्बन्धमा दुवै देशका नागरिकहरुले गर्व गरुन। र आउने पिढीहरुले भविष्यमा पनि गर्न पाउन।
इन्दिरा गाँधी मात्र होइन, पछिल्लो समयमा, राजीव गाँधीको कार्यकालदेखि चिसो भएको नेपाल – भारत सम्बन्ध अझै न्यानो हुन सकेको छैन्। यो सम्बन्धलाई न्यानो पार्न उठेका कदमहरुलाई साउथ ब्लक (भारतको परराष्ट्र मंत्रालय) का अदूरदर्शी नीतिहरुले सुस्त पारिदिएका छन्। प्रधान मंत्रीहरु आइ के गुजरालदेखि मोदीसम्मका व्यवहारिक उदारवादी नेताहरुको पनि साउथ ब्लकको अगाडि केही जोर चल्न सकेको छैन्। भारत कै एउटा सक्ति, छिमेकी राष्ट्रहरुको मामिलामा उदारवादी मोदी असफल भएको देखाउन चाहन्छ।  
झन अहिले मदेसी दलहरुको जारी आन्दोलनले गर्दा नेपाल-भारत सम्बन्ध चिसो भएर बरफ हुने स्थितिमा पुगेको छ। काठमाडौ लगायत नाकाबन्दीबाट प्रभावित नेपालका विभिन्न सहरहरुमा अहिले भारत बिरोधी भावना तिब्र किसिमले बढेको छ। तराइ बाहेक, आम नेपालीहरुले अहिले नेपालमा देखिएको अस्तव्यस्तताका लागि भारतलाई मात्र दोषी दिइरहेका छन। भारतको विदेश मन्त्रालयले यो समस्या मदेसी दलहरुको धर्ना र बन्दले उत्पन्न भएको हो भनी हालै गरिएको एक प्रेस सम्मेलनमा सार्वजनिक रुपमा बताए पनि।
अर्कोतिर, मदेसी दलहरु भने "हम तो डुबेंगे सनम तुम्हें भी ले डुबेंगे" को स्थितिमा छन्। उनीहरुको क्रियाकलाप र दिल्लीको नेपाल प्रतिको रबैयाले गर्दा आम नेपालीहरुको भारत प्रतिको बिरोध भावना ह्वातै बढेर गएको छ र त्यो भावनालाई विस्थापित गर्न भारतलाई वर्षौ त लाग्ने छ नै, साथै त्यो भावनाको भारत-विरोधी अन्तरार्ष्ट्रिय शक्तिहरुले उपयोग गर्ने सम्भावना बढेर जानेछ। खास गरि चीन र पाकिस्तानले।
यो नया पीढिको टिन जेनेरेशन (Age-Thirteen to Nineteen) ले अहिलेको यो स्थितिमा, भारतले नेपालतर्फ पेट्रोलियम पर्दाथको निर्यात गर्न बन्द गरेको आफ्नै आँखाले देखेको छ। बजारमा तेल नभएको कारणले गर्दा स्कूल, कलेज, रेष्टुरेन्ट जान नपाएको समस्या समेत भोगेको छ। बजारमा खानेकुराहरुको अभाव, जीवन अस्त व्यस्त मात्र होइन दुष्कर समेत भएको स्वयंले अनुभूत गरेको छ। यी सबै परिस्थितिहरुका लागि यो जनेरेसनका नया उमेरकाहरुले केवल भारतलाई मात्र दोषी देखिरहेका छन्। उनीहरुको कलिलो मष्तिष्कबाट नेपालका राजनैतिक दलहरुको भूमिका र विशेष गरी मदेसी दलहरुको भूमिका कालान्तरमा हराएर जानेछ। तर भारत बिरोधी उग्र विचार भने स्थिर रहने छ। उनीहरुको कलिलो दिमागमा परेको भारत बिरोधी भावनाले उनीहरुलाई पछि सम्म पछ्याइ रहने छ, जस्तो कि धार्मिक अतिवादी मुस्लिम युवाहरुमा रहेको पश्चिम राष्ट्रहरु विरोधी भावना। यो स्थिति भारतको लागि अति घातक हुनेछ किन भने भारतको, नेपाल बाहेक अन्य संवै निकट छिमेकी राष्ट्रहरु, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, सँग कटुतापूर्ण सम्बन्ध रहि आएको छ। कस्मिरको समस्याले त भारतलाई झनै चैनसँग बस्न दिएको छैन।
परम्परागत रुपमा, बी पी को पालादेखि नै  चिसो भएको नेपाल-भारत सम्बन्ध, प्रधान मंत्री नरेद्र मोदिको समयमा भने अति नै सुमधुर हुने अपेक्षा गरिएको थियो। एक ऐतिहासिक घटनामा, प्रम इन्दिरा गाँधीले भारतमा प्रवासित बी पी कोइराला माथि नियन्त्र कायम गरी नेपालको राजनीतिमा हस्तक्षेप गर्न खोजेकोले भारता बस्नु भन्दा नेपाल फर्किनु ठीक भन्दै बी पी राजासँग सहकार्य गर्न भनेर, राष्ट्रिय मेलमिलापको नीति लिएर, भारतबाट नेपाल फर्केका थिए। उनले राजा मेरो घाँटी जोडिएको छ भनेका थिए। जुन त्यो बेलाको नेपाली राजनीतिमा धेरैले बुझ्न सकेका थिएनन्।
अर्को प्रसंगमा, सन् २०१४ को अगष्ट महिनामा प्र म नरेन्द्र मोदी नेपाल आउँदा उनको भव्य स्वागत राष्ट्रिय, राजनैतिक, र जनस्तरमा समेत गरिएको थियो। नेपालको तत्कालिन संविधान सभालाई मोदीले सम्बोधन गर्दा उनले संसद भित्र यति माया र सम्मान पाएका थिए, त्येती सम्मान नेपालको इतिहासमा नै भारतको कुनै पनि सरकार प्रमुखले पाउन सकेको थिएन। मोदीको भाषणमा नेपालका नेताहरुले नेपाल र भारत बीच अति सौहार्द पूर्ण सम्बनधका सुकिला तस्वीरहरु देखेका थिए। विश्वासको वातावरण ह्वात्तै बढेर दुवै देश बीच आर्थिक विकासका मुद्दाहरुमा तिब्र गतिमा सहकार्यहरु हुने अपेक्षा समेत गरेका थिए। यति मात्र होइन, नेपालले बनाउने नया संविधानलाई मोदी सरकारले सहर्ष स्वीकार गर्ने विश्वास गरेका थिए। यो विश्वास जनस्तरमा समेत उत्पन्न भएको थियो। तर स्थिति भने ठ्याकै विपरित भएर गयो। मोदीका सदा सयताहरुले साउथ ब्लकको निर्धारित घेरालाई तोड्न सकेनन्। परम्परागत रुपमा कांग्रेसको पालादेखिको निर्माण भएको छिमेकी राष्ट्रहरुलाई हेर्ने साउथ बल्कको दृष्टिकोणमा कुनै किसिमको परिवर्तन आउन सकेन। मोदीले चाहेर पनि नेपालसँगको सम्बन्धलाई एकातिर न्यानो पार्न सकेनन् भने अर्कोतिर उनको पालमा नै, इतिहासमा नै, नेपाल-भारत सम्बन्ध सर्वाधिक खराब स्थितिमा पुग्यो।
भारतले जुन किसिमको नाकाबन्दी नेपालमा अहिले लगायो त्यस्तो केवल युद्धको समयमा मात्र गर्ने गरिन्छ। तर विडम्बना! मोदी जसले नेपाललाई सर्वाधिक महत्वको सूचीमा राखेर सम्बन्ध सुधार गर्न खोजेका थिए, जसले १७ वर्षदेखि भारतबाट नभएको उच्चस्तरिय नेपालको भ्रमण गरेका थिए, जसले प्रधान मंत्री हुने बित्तिके भ्रमण गर्ने मुलुकको सूचीमा पहिले नेपाललाई राखेर नेपालको भ्रमण गरेका थिए, जसले नेपालका नेताहरुलाई नेपाल बौद्धिक (बुद्धको देश भएको र माओवादी समस्या समाधान गरेको) र आर्थिक (अनेक स्रोत र साधनहरु ) रुपमा धनी भएको स्मरण गराएका थिए, जसले नेपालमा हिन्दु धर्मको विकास गर्नमा सहयोग गर्ने अप्रत्यक्ष रुपमा वचन दिएका थिए, उनै मोदीको अहिले काठमाडौका गल्लीहरुमा व्यापक विरोध भइरेको छ। उनको पुतला दहन समेत भइरहेको छ। यो अति विचारणीय तथ्य हुन पुगेको छ। के साउथ बल्कले यस्तो चाहेको हो?
नेपाली जनताले पनि एक असल मित्र मोदीलाई पराइ घोषित गर्नमा यति हतार नगर्नु पर्ने थियो। तर मोदीलाई अलोकप्रियताको यो स्थितिमा ल्याउने कार्य भने भारतको ब्युरोकेसीले, साउथब्लके, दिल्लीले गरेको हो। मोदीले उनीहरुद्वारा बनाइएको बलियो घेरा तोड्न सकेनन्, यसमा उनको आफ्नै वाध्यताहरु होलान। तर एउटा कुरा के छर्लंग भएको छ भने मोदीलाई छिमेकी राष्ट्रहरुको नजरमा यो स्थिमा पुर्याउनमा साउथ बल्लको भने विशेष भूमिका छ। यो कुरा नेपाली जनताले पनि बुझ्न आवश्यक छ। र दिल्ली र मोदीलाई अलग अलग किसिमले हेर्न आवश्यक छ। काठमाडौंमा मोदीका भाषणहरु कुटनैतिक शिष्टाचार नभइ मनबाट निष्केका हुन भने।
अर्कोतिर, साउथ ब्लकलाई भने अहिलेको, यो स्थिति (भारतीय राजनीति नेपालमा अति नै अलोकप्रिय  हुनु) मा पुर्याउने काम भने नेपालका मदेसी दलहरुले गरे। मदेसी दलहरुले अनेक किसिमका कारणहरु देखाएर भारतका प्रान्तीय एवं केन्द्रिय सरकारलाई नेपालको राजनीतिमा हस्तक्षेप गर्न उक्साए, र सोही अनुरुप भारत सरकार नेपालको राजनीतिमा प्रत्यक्ष हस्तक्षेप गर्न राजी भयो। मदेसीहरुले गरेको आमहडताल र नाकाबन्दीलाई दिल्ली प्रशासनले अप्रत्यक्ष र प्रत्यक्ष रुपमा समर्थन त गरौ नै साथै नेपालमा मदेसी -पहाडी बीच रहेको बलियो सम्बन्ध खराब पार्न भारतका संचार माध्यमहरुले गरेका दुष्प्रचारहरुलाई आधारहीन देखाउन सरकारी स्तरमा कुनै किसिमको वक्तव्य पनि दिएन। यो आलेख तयार पार्दसम्म मदेसमा कामय रहेको आमहडताल र धर्ना (आमहडताल भएको ५३ दिन र धर्ना जारी रहेको १४ दिन) मा पनि भारत सरकारको सहयोग जारि नै छ, भारतले भने यस कुराको खण्डन गरेता पनि। जबकि दिल्लीले नेपालका सबै दलहरुसँग समदूरीमा रहेर कार्य गर्नु उपयुक्त थियो। भारतको तर्फबाट हेर्ने हो भने दिल्लीले यो पनि बिचार गर्नु पर्ने देखिन्छ कि उसले जुन जुन मदेसी नेताहरुको पिठ्युंमा हात हालेको छ के तिनेल भारतको गुन फर्काउलान त? दिल्ली प्रशासनका दिग्गजहरुलाई यो उल्लेख गरि रहन आवश्यक छैन कि मदेस राजनीतिका नेताहरु सामान्य समयमा जहिले पनि ३६ को स्थितिमा रहने गर्दछन् र केवल स्वार्थ पूर्तिको समयमा मात्र ६३ को स्थितिमा पुग्ने गर्दछन्। विजय गच्छेदार, उपेन्द्र यादव, राजेन्द्र महतो, हृदेश त्रिपाठी बारे दिल्लीको मूल्यांकन अवश्य पनि होला।
अबको समयमा भारत सरकारले नेपाललाई अविलम्ब र बिनासर्त सहयोग गर्नु पर्छ। नेपालमा, यहाँको नागरिकहरुको जीवन सामान्य पार्नका लागि प्रम मोदी नै सक्रिय हुनु पर्दछ। यो कार्य गर्नमा जति ढिलो गर्यो नेपाल र भारत बीच रहेको सदियौं पुरानो सम्बन्ध त्यति नै खराब भएर जानेछ। तर अचम्म! नेपाल-भारत बीच ज-जसले (मदेसी दलहरुले) बेटी रोटीको सम्बन्ध छ भनिरहेका छन् उनीहरुले नै यी दुई देश बीच सम्बन्ध खराब पार्न आफ्ना अदूर्शि क्रियाकलापहरु द्वारा सहयोग पुर्याइ रहेका छन्।
राजनीतिमा दुई शक्तिहरुको प्रयोग हुन्छ। कुटनैतिक शक्ति र भौतिक (बल) शक्ति। मदेसी दलहरुले आफ्ना मागहरु पूरा गराउन भौतिक शक्ति ( ५३ दिन आम हडताल, १४ दिन धर्ना) प्रचुर मात्रामा प्रयोग गरिसके। यो भन्दा बढी प्रयोग गरे भने त्यो प्रतित्पादक मात्र हुँदैन मदेसी मागहरु प्रति मदेसी जनताको नै वितृष्णा बढेर जान्छ किनभने मदेसी जनताको पहिलो आवश्यकता भनेको शान्तिपूर्ण किसिमले दुई छाक ढुक्क संग खान पाउनु हो। यो आवश्यकता पूरा भए भने मात्र पहिचानको आवश्यकता पर्दछ। अबको समयमा मदेसी नेताहरुले माग पुरा गराउनका लागि कुटनितिको प्रयोग गर्नु पर्दछ। र कुटनीतिद्वारा आफ्नो माग परा गर्न सिंहदरबार घेर्नु पर्छ, सिहंदरबारलाई बाध्य पार्नु पर्दछ। भारतको सीमानाम धर्ना दिनु हुँदैन।
अबको यो अति ताजा स्थितिमा, भरतीय प्रम मोदीले नव निर्वाचित प्रम ओलीलाई प्रममा नियुक्त हुनासाथ बधाइ दिएका छन्, भारत भ्रमणका लागि आमन्त्रित समेत गरिसकेका छन्। पचासौंले प्राण दिएर, करिब दुई महिनासम्म आन्दोलन गरेर, एउटा उचाइमा पुगेको आन्दोलनलाई बीचमा नै चट्क्कै छाडेर विजय गच्छेदार उपप्रधानमंत्री भएका छन। नेपालको संविधान मान्दिन भनेर संविधान जलाउने, संसदबाट राजिनामा दिने  मदेसी नेताहरु प्रधान मंत्रीको निर्वाचनमा मतदान गर्न सिहंदार छिरेका छन्। बांकी घटनाक्रमको मूल्यांकन पाठकहरुको जिम्मामा। दिल्ली प्रशासनले नेपालको राजनीतिमा, मदेस राजनीतिका केही नेताहरुलाई पत्याएर, नेपालमा नाकाबन्दी गरेर, सही गर्यो या गलत? मुल्यांकन गर्ने जिम्मा साउथ ब्लकको।


विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, October 16, 2015

Friday, October 9, 2015

Pied Pipers of Nepalese Politics-Article-184

नेपाली राजनीतिका पाइड पाइपरहरु

मध्य युगिन युरोपमा एउटा कथा “पाइड पाइपर अफ हेमलिन” अति नै प्रचलित थियो। त्यो कथा अहिले पनि त्येति नै प्रचलित छ। त्यो कथाको सान्दर्भिकता यो समयमा झनै बढेर गएको छ। नेपालको सन्दर्भमा त त्यो कथाले नेपालको विगत र वर्तमानको राजनीति बुझ्न निकै सहयोग पुर्याउँछ पनि।
त्यो कथाको लोकप्रियता सँगै त्यसको अर्थ पनि समय अनुसार फरक फरक किसिमले लगाउने क्रम अहिले पनि जारि नै छ। विभिन्न कवि एवं लेखकहरुले अनेक किसिमले अर्थ लगाएका छन्।
कथा हो मध्य कालिन युरोपको, सन् १३०० तिरको, जर्मनीको एक सहर हेमलिनमा भएको एक अनौठो घटनाको। जुन समयमा त्यो कथा “पाइड पाइपर अफ हेमलिन” को जन्म भएर त्यो कथा लोककथामा परिणत भयो, त्यो समयमा हेमलिन सहरलाई मुसाहरुले अति नै सताएका थिए। भनिन्थ्यो, नागरिकहरुको होइन, त्यो सहरमा मुसाहरुको शासन हुन पुगेको थियो। खेतहरुमा मुसा, सडकमा मुसा, घरमा मुसा, बैठकमा मुसा, सुत्ने कोठामा मुसा, भान्सामा मुसा। अर्थात चारैतिर मुसा। जता हेर्यो उतै मुसै मुसा। मुसाहरुको लस्कर। यहाँसम्म कि काम गर्ने कर्मचारीहरुले सप्ताहन्तमा कोट झुन्ड्याएर सोमबार काममा जानेबेलामा कोट लगाउन जाँदा समेत पनि मुसाहरुले कोटको खल्तिमा बच्चाहरु जन्माइ सकेका हुन्थ्ये। कोट लगाएर खल्तिमा हात हाल्दा हातमा मुसाका बच्चाहरु समातिन्थ्ये। अनि च्याँ च्याँ चुँ चुँ को आवाज पनि उत्तिकै सुनिन्थ्यो। मुसाहरुले त्यस सहरका नागरिकहरुलाई अति नै सताएका थिए। तर्साएका थिए।
एक दिन अनेक रंगका कपडाका टुक्राहरुले बनेको पोशाक (Pied) लगाएको एक बाँसुरी बजाउने व्यक्ति (Piper)  त्यो  हेमलिन सहरमा आयो अनि उसले त्यस सरहको मेयर (प्रमुख) लाई आफूले यदि राम्रो पारिश्रमिक पाउने हो भने हेमलिन सहरलाई मुसाहरुबाट सदाको लागि छुटकारा गराइ दिने प्रस्ताव राख्यो।  मेयरले प्रस्ताब माने। पाइड पाइपरले आफूसँग रहेको विचित्रको पाइप (बाँसुरी) बजाउन आरम्भ गर्यो। कस्तो अचम्म! सहरका सम्पूर्ण मुसाहरु त्यस बाँसुरी बजाउने व्यक्तिको अगाडि पछाडि आए। अब बाँसुरी बजाउने व्यक्ति जता जता जान थाल्यो मुसाहरुले पनि उसलाई पछ्याउँदै उतै जान थाले। बाँसुरी बजाउनेले आफ्नो बाँसुरीको जादू वा विशेषताको प्रयोग गर्दै मुसाहरुलाई आफ्नो पछि मात्र लगाएन, साथै आफूले चाहेको दिशामा हिंड्यायो पनि। त्यो बाँसुरी बजाउनेले मुसाहरुको त्यो ठूलो बथानलाई त्यस गाउँदेखि धेरै पर लग्यो। पर पर अझ पर लग्यो। निकै पर लगेपछि त्यो बाँसुरी बजाउनेले मुसाहरुको त्यो समूहलाई एक ठूलो पहाडको पछितिर पुर्यायो तर आफू भने त्यो पहाडको अर्को पट्टि नदेखिने ठाउँमा पुगेर लुक्यो। मुसाहरुलाई झुक्याएर, त्यहाँ अलपत्र पारेर, पाइड पाइपर आफू आएको सहरतिर नै फर्क्यो।
आफ्नो परिश्रमिक लिन त्यो बाँसुरी बजाउने व्यक्ति त्यो सहरमा आएर सहरको मेयर समक्ष उपस्थित भयो। उता मुसाहरुले भने त्यस सहरमा आउने बाटो देख्न सकेनन किन भने ठूलो पहाडले उनीहरुलाई सहरतिर फर्किने बाटो देख्न स्थिति रहन दिएन, पूर्णतया छेकिदियो, छोपिदियो। सहर फर्किने बाटो नदेखेर ती मुसाहरु त्येही पहाडको कुनै कुनमा रुमलिएर बसे। उता, त्यो पाइपरले भने ठूलो रकम हात पार्यो। 
“पाइड पाइपर अफ हेमलिन” कथा यत्ति हो। तर यो कथालाई फरक फरक किसिमले बुझ्ने र भन्ने क्रम भने समाप्त भएको छैन। कोहीले त्यो पाइपर कुनै चमत्कारी व्यक्ति थियो जसले आफ्नो सेनामा भर्ना गर्न हेमलिन सहरका सम्पूर्ण बेरोजगार युवाहरुलाई आफ्नो पछि लगाएर लग्यो भन्छन्। त्यसबेला पश्चिम युरोपबाट लडाकुहरु पूर्व यूरोप जान्थ्ये र युद्ध जितेर विभिन्न स्थानहरुमा आफ्नो उपनिवेश खडा गर्थ्ये रे।
पछिल्लो समयमा नेपालियन र हिटलरलाई पनि “पाइड पाइपर अफ हेमलिन” कथासँग जोडियो र उनीहरुलाई त्येही चमत्कारी पाइड पाइपरको रुपमा हेरियो। नेपोलियन र हिटलरले पनि मुसा (युवा लगायत अन्य विभिन्न व्यक्ति) हरुलाई आफ्नो आकर्षक भाषणहरु द्वारा पछि लगाएर हिंडेका थिए। आफ्नो उद्देश्य पूर्तिका लागि उनीहरुको चरम उपयोग गरेका थिए। उनीहरुलाई गन्तव्यहीन पारेर आफ्नो उद्देश्य पूरा गरेका थिए।
अब सन्दर्भ जोडौ नेपालको राजनीतिसँग। नेपालको राजनीतिमा पनि अनेक किसिमका “पाइड पाइपर” हरु आए। २०४६/४७ को आन्दोलन, एक दलीय पंचायतको बिरुध्दमा मात्र तर जनताद्वारा संचालित आन्दोलन थियो भनेर मान्ने हो भने त्यसपछिका जति पनि आन्दोलन र संघर्षहरु भए ती सबै पाइड पाइपरहरु द्वारा संचालित र निर्देशित थिए भनि मान्न कर लाग्छ, आन्दोलनहरुका उपलब्धिहरुलाई हेर्दा, नेताहरुको स्वार्थ सिद्धिको लेखाजोखा गर्दा। २०५२ सालमा थालिएको माओवादी संघर्ष पनि “पाइड पाइपर” हरुद्वारा संचालित र निर्दैशित संघर्ष थियो। प्रचण्डले पाइड पाइपरको रुप धारण गरेर, हजारौं युवाहरुलाई आफ्नो सेनामा भर्ना गरेर, राज्यको विरुद्धमा लड्न लगाएर, देशलाई धेरै पछि पुर्याए। अस्थिरता र राज्य विखण्डनका बिउहरु रोपेर राष्ट्रलाई कमजोर पारे। युवाहरुले पनि त्यस संघर्षमा केवल प्रचण्डका लागि पसिना र रगत समेत बगाए। अकलामा ज्यान दिए। तर जब प्रचण्डको उद्देश्य पूरा भयो, माथि बर्णित कथामा जस्तै उनले मुसा (योद्दा युवा) हरुलाई पहाडमा छाडेर (अलपत्र पारेर) हिंडे। प्रचण्ड आफ्नो उद्देश्य पूर्तिका लागि अर्को दिशातिर लागे। मुसाहरुलाई अलपत्र पारेर हेमलिन (सिंहदरबार) तर हिंडे।  
अहिले, मदेश आन्दोलनलाई उचाइमा पुर्याउने नेताहरु मध्ये एक दुई जनालाई छाडेर बाँकि सबै नेताहरु त्येही पाइड पाइपरको रुपमा प्रकट भएका छन्। ती नेताहरु विचित्रको एवं आकर्षक (अनेक किसिमका जातीय, क्षेत्रीय, साम्प्रदायिक नाराहरु बोकेर) लुगाहरु लगाएर, अनौठो किसिमले बाँसुरी बजाएर (आफ्ना भाषणहरु द्वारा जनतालाई मुग्ध पारेर), केवल आफ्नो स्वार्थ सिद्धिका लागि मुसा (सोझा साझा मदेसी नागरिक) हरुलाई आफ्नो पछि लगाइ रहेका छन्। सिंहदरवारमा बसेका सत्ताका चतुर खेलाडीहरुसँग मदेसका पाइड पाइपरहरुको कुरा मिल्ने बित्तिकै मदेसको आन्दोलनलाई बीचमा नै चटक्क छाडेर यी पाइड पाइपर (मदेसी नेता) हरु पारिश्रमिक लिन हेमलिन सहर (सिंहदरबार) तिर दौडिने छन्। अनि सत्तामा आसिन भएको भोलि पल्ट नै टाइ सुट लगाएर विदेशको यात्रामा निस्किने छन्। यता, मदेसमा मुसा (आन्दोलनकारी) हरु अलमलमा पर्नेछन्। यदि यस्तो होइन भने, मदेसी नेताहरुलाई सक्ति र सत्ता चाहिएको होइन, उनीहरु केवल मदेसी जनताको शोषण, विभेदको बिरुद्ध संघर्षमा उत्रेको हो भने मदेसी नेताहरुले मदर टेरेसा, महात्मा गाँधी जस्तो गरी पदमा नबसेर पनि जनताको सेवा गर्न सक्छन्। तर त्यस्तो होइन। उपेन्द यादव हुन वा राजेन्द्र महतो वा विजय गच्छेदार सबै पाइड पाइपर नै हुने। उनीहरुको पार्टीमा भएको टुट, जुट, फुटले त्येही भन्छ। अहिले मदेस आन्दोलनका लागि यी नेताहरु मिल्नु भनेको मिलेर भाग खोस्नु हो।
नेपालको राजनीतिमा जनताको राजनैतिक चेतनाको स्तर अति कमजोर र गरिबीले जरा बलियो गरि गाडेसम्म पाइड पाइपरहरु आउने क्रम रोकिने छैन। किसिम किसिमका पाइड पाइपरहरु नेपाली राजनीतिमा देखा परि नै रहने छन्। नेपाली राजनीतिले पाइड पाइपरहरुबाट छुटकारा पाउन अझै वर्षौ लाग्न सक्छ।
अहिले पछिल्लो समयमा, नेपालको राजनीति ज्यादै नै तरल भएको अवस्थामा, डा बाबुराम भट्टराई अर्को मोडिफाइड भर्सन (संसोधित स्वरुप) को पाइड पाइपर भएर नेपाली राजनीतिमा देखा परेका छन्।  उनको उच्च महत्वाकांक्षाले उनलाई “एउटा म्यानमा दुई तलबार?” (दलको सर्वोच्च पदमा पुष्पकमल दहाल वा बाबुराम?) को स्थितिले पार्टीबाट बहिर्गमन गराएर सडक सकड, जिल्ला जिल्ल, नेताहरुको दैलो दैलो को स्थितिमा पुर्याएको छ। अहिले उनलाई आफ्नो उच्च महत्वाकांक्षा पूरा गर्ने क-कसलाई भर्यांग बनाउने भन्ने चिंताले सताएको छ। बाबुराम आजभोलि कहिले जनकपुर कहिले बुटबल, कहिले नवलपरासी, कहिले पाल्पा पुगिरहेका छन्। उनी दाङसम्म पुग्न पनि पछि परेका छैनन्। यसै गरी बाबुरामले कुनै बेला “नेपालले भारतलाई धेरै चिढाउन नहुने” भन्दै छन् भने कुनै बेला भने “भारतले सानो चित्त देखायो” भन्दै छन्। कहिले भने “एमाओवादीलाई नराम्रो भनेको छैन”, “दहालसँग पनि सहकार्य गर्छु” पनि भन्दै छन्। कहिले फेरि “तीन दलले चाहे मदेस क्षणभरमै शान्त हुने” भन्दै छन्। यसै गरी बाबुराम कहिले, कतै, कुर्ता र गम्छामा देखिएका छन् भने कतै पैट सर्टमा, अर्थात थरि थरिको पोसाकमा। अहिले बाबुराम आफ्नो उच्च महत्वकांक्षाका कारण मदेसी दलहरुसँग नया साइनो जोडन पुगेका छन्।
बाबुराम यो समय विन्दुमा, नया सक्ति निर्माणको सन्दर्भमा, उनको पछि लाग्ने पुन: नया मुसाहरुको खोजिमा लागेका छन्, हिंडेका छन्। र उदेक लाग्दो कुरा! उनको पाइपको धुनमा लठ्ठिएर, उचालिएर, हर्षिएर नया नया मुसाहरु उनको पछि पछि हिड्न सडकमा उत्रिने क्रम सुरु भएको छ। अर्कोतिर भने उनका पुराना मुसाहरु जो २०५२ सालको संघर्षमा रोल्पा, रुकुम, गोर्खा आदि स्थानहरुमा उनको पछि लागेका थिए अहिले भने कता हो कता भएर हराउन पुगेका छन्। अलमलिएका छन्। दिशाहीन हुन पुगेका  छन्। यी आफै हराएका मुसाहरुले हराएका पुरानो बाबुरामलाई कसरी खोज्ने? हराएका मुसाहरु मध्ये केही अझै हराएर अरबको तातो बालुबामा पोलिन पुगेका छन्। सुन्दर भविष्यको चम्किलो अनुहार उराठ लाग्दो तातो बालुबामा खोज्न बाध्य भएका छन्। बालुवाको तापमा जल्दैछन। र नेपाल फर्किंदा धेरै बाक्सामा बन्द भएर फर्किंदै छन्।
कामना गरौ मदेसका नेताहरुले भने आफ्नो पछि लगाएका मुसाहरुलाई बिचमा नै अलपत्र पारेर अन्यत्र लुक्न जाने छैनन्। उनीहरुको  पछि लागेका मुसाहरुलाई झुक्याउने छैनन्। यसै गरी कामना गरौ, नेपाली जनताले पाइड पाइपहरुलाई चिन्न सकुन र उनीहरुको पछि यसरी नलागुन। नेपाल र नेपालीको जय होस।


विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, October 09, 2015

Sunday, October 4, 2015

The Leader- A Bajjika song-2



न परु नेता के फेर मे

इ नेता उ नेता सब नेता सत्ता के बडका बेपारी
जनता मरे भुख से नेता के भन्सा मे सोना के थारी


इ नेता उ नेता सब नेता कुर्सी के फेर मे
जनता सुते कादो मे नेता सोना चानी के ढेंड मे


ओझरागेल जनता नेता के भाषण के जाल मे
गीर गेल मुह के बले मर गेल अकाल मे


एक दिन त खडा होइ अपन अपन पैर मे यी जनता
अपन जिन्गी के एक दुन खुद होइ कुसल अभियन्ता





 विश्वराज अधिकारी

Friday, October 2, 2015

Why Madesi Agendas Are Getting Flimsy?-Article-183

किन फितलो हुँदैछन् मदेसी ऐजेन्डाहरु?

खास गरी मदेसका जनतालाई यो सुन्दा अचम्म र अपत्यारिलो लाग्न सक्छ कि मदेसका कहलिएका शिर्ष नेताहरुमा धैर्यता, दूरदर्शिता राजनीतिक सुझबुझको अभावको कारणले गर्दा नै मदेशका मुद्दाहरु या त सिंहदरबारको कानसम्म पुगिरहेका छैनन् या सिंहदरबारको कान भित्र पसे पनि सिंहदरबारले दिनु पर्ने जति महत्व दिइरहेको छैन। मदेसी नेताहरुका कमजोरीहरुका दुई प्रमुख उदाहरणहरु छन्। पहिलो हो, मदेसको मागहरु पूरा गराउन यहाँका नेताहरु एक जुट हुन नसक्नु र एकजुट भए पनि त्यस्तो बेलामा हुनु जुन बेलामा मदेसको होइन, आफ्नो हित पूरा हुने अवस्था सृजना भएको होस। अर्थात यी नेताहरुबाट मदेसको मागको केवल उपयोग हुनु। उदाहरणका लागि, संविधान सभाको चुनावको बेलामा यी नेताहरु एकजुट भएर अगाडि बढेको भए, चुनाव लडेको भए, जस्तो कि एमाले वा क्रांग्रेसीहरुले गरे, संविधान निर्माणको समयमा मदेस मैत्री संविधान बनाउन संस्थापन पक्षलाई दबाब दिन सडक तताउने आवश्यकता पर्ने थिएन। मदेसी विधायकहरुको पनि संविधानसभामा बाक्लो उपस्थिति हुन सक्दथ्यो र माग सहज किसिमले पूरा हुने अवस्था सृजना हुन्थ्यो। दोस्रो हो, मदेसी नेताहरुले आफूलाई राष्ट्रिय स्तरको नेताबाट झारेर क्षेत्रीय स्तरकोमा पुर्याउनु, आफ्नो साख  आफैले कम पार्नु। राष्ट्रिय राजनीतिमा आफ्नो वजन आफैले हल्का तुल्याउनु। अर्थात आफ्नो भूमिकालाई आफैले संकुचित तुल्याउँदै जानु। उदाहरणका लागि, महन्त ठाकुर, विजय गच्छेदार, हृदयेश त्रिपाठी, उपेन्द्र यादव यस्ता नेताहरु हुन जसलाई आम नेपालीहरुले राष्ट्रिय नेताको रुपमा अनुभूत गरेका थिए। २०४६।४७ सालको आन्दोलन पछि मदेसका आवाजलाई राष्ट्रिय स्तरमा पुर्याउने क्षमता यी नेताहरुमा देखेका थिए। तर यी नेताहरुले आफूलाई केवल एक जातीय वा क्षेत्रीय नेताको रुपमा आफ्नै क्रियाकलापहरु द्वारा परिणत गर्दै लगे। नेताहरुको यस किसिमको लघु दृष्टि (myopia ) ले गर्दा नै मदेसी जनताको माग बेवारिस हुन त पुगेको छ नै साथै मदेसीको यो माग मदेस जनताको हित गर्ने भन्दा पनि अन्तरार्ष्ट्रिय सक्तिहरुको सक्तिको खेल खेल्ने भकुण्डो हुन पुगेको छ।
अहिले, मदेसीहरुको माग सक्ति राष्ट्रहरुको भकुण्डो बनेर भारत र चीनको शक्ति पर्दशन गर्ने माध्यम हुन पुगेको छ। भय त अब यो छ कि, यो प्रतिस्पर्धामा विश्वका राष्ट्रहरु मध्ये कुन कुन राष्ट्र चीन र कुन कुन राष्ट्र भारतको पक्षमा उभिने हुन।
तथाकथित पहाडे र मदेसी नेताहरुको हठ, अहम् र अदूरदर्शिताले गर्दा कुनै बेला शान्ति क्षेत्रको रुपमा ११२ राष्ट्रहरुबाट मान्यता पाएको नेपाल अब गृह युद्धको चपेटामा फँस्ने हो कि भन्ने चिंता गर्न थालिएको छ। मदेसी नेताहरुद्वारा संचालित यी रक्तपातपूर्ण आन्दोलनहरुले सृजना गरेका राष्ट्रिय अन्यौलको स्थितिको फाइदा उठाउँदै भारतले नेपालका दक्षिणतिरका हरुलाई उचालिरहेको छ भने चीनले उत्तरतिरका हरुलाई। उचालिनेहरु पनि भोलिको परिणामलाई बिर्सेर भारत र चीन माथि गालिको वर्षा गरिरहेका छन्। अदूरदर्शिता प्रदर्शन गर्दै कसैले चीनको त कसैले भारतको झण्डा जलाई रहेका छन्। भारतसँग नेपालको ‘बेटी रोटी’ को सम्बन्ध मात्र छैन, हाम्रा पित्रीहरुको श्राद्ध गर्न हामी गया जाने परम्परा समेत पनि छ। हाम्रा धेरै तिर्थ स्थलहरु भारतमा नै छन्। नेपालमा हिन्दु संस्कृति रहेसम्म यो परम्परा समाप्त हुनेछैन्। यसै गरी नेपालमा उद्योगको पूर्वाधारको स्थापना चीनले गरिदिएको हो। कपडा कारखाना, सिमेन्ट कारखाना लगायत अन्य विभिन्न कारखानाहरु चीनले नै नेपालमा स्थापना गरि दिएको हो। यस्ता तथ्यहरु अहिले बिर्सेर एकथरिले भारत र अर्कोथरिले चीनलाई गाली गर्नुमा नै राष्ट्रवादीता देखिरहेको छन्।
अर्को किसिमले हेर्दा र वर्तमान परिप्रेक्ष्मया मनन गर्दा, मदेस र पहाडको बीचमा विभाजन रेखा नकोरेर आम नेपालीहरुले बुझ्नु पर्ने कुरा के हो भने न त चीन, न त भारत, दुबैले आफ्नो मुल स्वार्थ र हित बिर्सेर नेपाललाई सहयोग गर्ने उदारता देखाउने टाढा टाढा सम्म पनि कुनै सम्भावना देखिंदैन्। दुबै राष्ट्रका आ-आफ्ना निहित स्वार्थहरु छन्। अहिले चीन एक पक्का व्यापारी देश हो। उसले नेपाललाई आर्थिक लाभहानीको दृष्टिकोणले हर्ने छ। अर्कोतिर, तिब्वतको मामलामा उसलाई वर्तमान स्थितिमा कुनै पनि शक्ति राष्ट्रले हल्लाउन सक्ने क्षमता छैन। तिब्वतको लागि उसले नेपालमा निकै पैसा खर्च गर्ने स्थिति छैन। त्यसकारण, नेपालमा भारतको बिरुद्ध सैन्य सक्ति प्रयोग गर्दा चीनले खर्चको सम्बन्धमा दस पटक सोंच विचार गर्नेछ। यसै गरी भारत, एशियामा आफू महाशक्ति भएको व्यवहारद्वारा पुष्टि गर्न चाहन्छ र त्यस कारणले मदेसको मागको निंहुमा नेपालको आन्तरिक मामिलामा हस्तक्षेत गरेर, नेपाललाई माध्यम बनाएर छिमेकी राष्ट्रहरु- पाकिस्तान, बंगलादेश, श्रीलंका आदिलाई तर्साउन चाहिरहेको छ। धेरै मेदेसी नेताहरुले यो रहस्य बुझ्न सकेका छैनन्। बुझेका केही थोरैले आफ्नो स्वार्थको कारण ‘त पनि चुप म पनि चुप’ को स्थितिमा छन्। आम तराइबासीहरुले त झन पटक्कै बुझेका छैनन् जस्तो छ। त्यसैले गर्दा यी नेताहरुको भनाइमा लागेर, तराइ बन्द गरेर, आफ्नै क्षेत्रको विकासको गति उल्टो दिशामा दौडाएर, तराइको प्रगति देखिरहेका छन। सन्तुष्ट देखिएका छन्। काठमाडौका केही अल्प बुद्धि भएकाहरुले गरेको अपमान जनक व्यवहार (धोती, मर्ष्य, भैया आदि भनेको) बदला लिएको ठानेका छन्। तर भारतले नेपालमा केवल आफ्नो स्वार्थ बाहेक केही पनि देखेको छैन्। भारतको ‘ब्युरोक्रेसी’ ले त झन नेपाल आफ्नो मुलुकको एक भाग हो झै व्यवहार गर्न चाहन्छ, भारत सरकारको दृष्टिकोणलाई अर्कोतिर पन्छ्याएर भए पनि।
अर्को उदेक लाग्दो कुरा त के छ भने आम शोषित, पीडीत र गरिब मदेसीहरुको माग एकातिर छ भने मदेसी नेताहरुको माग अर्कोतिर। आम मदेसीहरुको माग र मदेसी नेताहरुको माग एउटै वृत भित्र रहेको जस्तो  अहिलेको यो स्थितिमा देखिए पनि दुवै थरिको मागको अवस्थिति भने ३६ जस्तो छ। दुबै थरिको माग दुई तिर मुख फर्काएर बसेका छन्। सर्लाहीका दिपक मलिकको पीडा (डोम भएको कारणले इनारमा पानी लिन बंचित गरिएको छ), जसले सिंगो तराइको शोषणको प्रतिनिधित्व गर्छ एकातिर मुख फर्काएर बसेको छ भने मदेसी नेताहरुका माग, जुन उनीहरुको निहित स्वार्थमा डुबेको छ, ले अर्कोतिर मुख फर्काएको छ। यो तथ्यको पुष्टि गर्न थप व्याखाहरु आवश्यक नभएको म देख्दछु। हुन पनि तराइका अधिकार विहीन, आवाज विहिन, शोषित पीडित एवं काठमाडौबाट अपमानित जनताले समान अधिकार, न्याय र इज्जत खोजेको हो, भूमिको विभाजन खोजेको होइन। उदाहरणका लागि, सिरहा, सर्लाही, चन्द्रनिगाहपुर लाई दुई चिरमा, नारायणघाटलाई तीन चिरमा, कैलालीलाई चार चिरमा टुक्रा परिदेउ भनी खोजेका होइन, माग गरेका होइन। क्षेत्रको चिरफार वा यो विषयसँग गाँसिएका अनेका झमेलाहरु मदेसी नेताहरुले खोजेका हुन वा सिर्जेका हुन।
त्यस बेलाको, संयुक्त सुडानको स्थिति पनि करिब करिब नेपालको जस्तो थियो, अहिले तथाकथित रुपमा मदेस र पहाड मनोवैज्ञानिक रुपमा विभाजित भए झै। त्यसबेलाको संयुक्त सुडानको उत्तरी क्षेत्रमा अरब मुलका एवं मुस्लिमहरुको वाहुल्यता थियो भने दक्षिण क्षेत्रमा विभिन्न जातिय समूहरुको वाहुल्यता थियो। उत्तरमा इस्लाम धर्म मान्नेहरुको संख्या बढी थियो भने दक्षिणमा क्रिस्चियन धर्मको। उतरमा तेल (पेट्रोलियम पदार्थ) का प्रसोधन केन्द्रहरु थिए भने दक्षिणमा तेलका खानीहरु। उत्तर सुडान र दक्षिण सुडान बीच कलहका कारणहरु धेरै भएता पनि प्रमुख कारण भने धर्मनै थियो। यी दुई क्षेत्रहरु बीचमा कहिले मेल हुन सकेन। दुईतिरका नेताहरुले त्यहाँका नागरिकहरुलाई निकै उक्साए र गृह युद्ध पनि निकै समयसम्म मच्याए। यी दुई क्षेत्रका नागरिकहरु मिलेर बस्न सक्ने स्थितिको समाप्ति भएपछि सन् २०११ को जुलाई मा सुडान औपचारिक रुपमा विभाजित भयो। उत्तरी क्षेत्र, ‘सुडान’ कै नाममा रहेयो भने दक्षिणी क्षेत्रले ‘दक्षिणी सुडान’ को नाम पायो र विश्वमा एउटा अर्को देशको जन्म भयो। यसको नामाकरण गरियो, दक्षिणी सुडान। विभाजन पछि दुबै सुडानमा शान्ति र स्थिरता कायम हुने कामना गरिएको थियो तर त्यस्तो हुन सकेन। दक्षिणी सुडान र उत्तरी सुडान बीच युद्ध हुन क्रम अहिले पनि रोकिएको छैन। मुख्य गरी तेलको विषयलाई लिएर दुई सुडान बीच अनेक पटक साना ठूला युद्धहरु भइसके र अहिले पनि युद्ध हुने क्रम जारी छ। अर्कोतिर दक्षिणी सुडान, जुन सुडानबाट छुट्टिएर अर्को राष्ट्र बन्यो, मा रातोरात प्रगति होला भन्ने सोचिएको थियो। त्यस्तो केही पनि भएन। दक्षिणी सुडानमा गरिबी र हिंसा व्यापक रुपमा बढ्यो। आफ्नो मुलुक छाडेर विदेशमा सर्णार्थी हुन पुग्नेहरुको भीडमा दक्षिण सुडानीहरुको लर्को लामो नै छ। लाखौका संख्यामा सुडानीहरु नित्यको कलह र गरिबीले गर्दा मुलुक छाडेर हिंडेका छन्। धेरैले त अबैध रुपमा लिबियाको नाका प्रयोग गर्दै इटली भएर युरोपका अन्य मुलुकहरु प्रवेश गर्ने क्रममा बाटोमा नै ज्यान गुमाएका छन्। ‘मेडिटेरेनियन सि’ भएर त्यसरी ज्यान जोखिममा राखेर यूरोप पुग्न खोज्दा मेडिटेरेनियन सि उनीहरुका लागि ‘चिहान’ बन्न पुगेको छ। यसरी के देखियो भने,  देश टुक्र्याएर अलग भएर जाने र नया राष्ट्र निर्माण हुने राष्ट्रमा प्रगति जादुगरी किसिमले हुने रहेन्छ। शान्ति पनि हुने रहेनछ। केवल केही नेताहरुको अहंम मात्र पूरा हुने रहेछ। विकास र शान्ति हुन्छ भनी सोच्नु भूल हुने रहेछ। नेपालमा देश टुक्रयाउँछु भन्नेहरुले यो कुराको हेक्का राखे हुन्छ। विशेषगरी नेताहरुले।
अनि जाँदा जाँदै, मदेसी नेताहरुमा दुरदर्शिताको अभाव रहेको एक अर्को र यसलेखको अन्तिम उदाहरण; आफ्नो माग पूरा गराउन मदेसी नेताहरुले भारतको सीमा क्षेत्रमा बसेर, भारतको अन्न पात खाएर यो आन्दोलन चर्काउनुको साटो काठमाडौलाई घरेर, सिंहदरबारलाई छेकेर आन्दोलन चर्काएको भए, भोलिका दिनहरुमा मागहरु पुरा भएको अवस्था माग पुरा हुनुको स्वामित्व पूर्ण रुपमा मदेशका नेताहरुमा जाने थियो। भारतलाई सारथी बनाएको अपजसको भारि बोक्नु पर्ने थिएन। यसैगरी मदेसका नेताहरुलाई लगाइने ‘भारत परस्त’ को बिल्ला पनि उछिट्टिएर भारत तिर जाने  थियो, नेपालतिर आउन पाउने थिएन। बाँकि के भन्ने?  शोषित, पीडित, र विभेदमा परेका मदेसीहरुको जय होस।


विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, October 02, 2015