Wikipedia

Search results

Friday, July 26, 2024

What Political System is Appropriate for Economic Development? -Article-562

आर्थिक विकासका लागि कस्तो व्यवस्था उपयुक्त हुन्छ?

राजनीतिक व्यवस्था र आर्थिक विकासबीच सम्बन्ध छ कि छैन? यसैगरी कुनै पनि राष्ट्रको आर्थिक विकासका लागि त्यस देशमा कुन किसिमको राजनीतिक व्यवस्था आवश्यक पर्छ? प्रजातान्त्रिक राजनीतिक प्रणाली भएको देशले तीव्र गतिमा आर्थिक विकास गर्छ वा साम्यवादी राजनीतिक प्रणाली भएको देशले ? कुनै पनि देशको आर्थिक विकासको सन्दर्भमा यी प्रश्नहरू अति महत्वपूर्ण छन्। यी प्रश्नहरूमाथि अहिले अमेरिका एवं युरोपका धनी राष्ट्रका अर्थशास्त्रीहरूले समेत चिन्तन–मनन गर्न थालेका छन्।

माथिका प्रश्नहरूको उत्तर खोज्नु पूर्व केही राष्ट्रको चर्चा गरौं जहाँको राजनीतिक प्रणाली प्रजातान्त्रिक छ। यसैगरी केही यस्ता राष्ट्रको पनि चर्चा गरौं जहाँ राजनीतिक प्रणाली साम्यवादी वा समाजवादी छ।

ग्रीसका एथेन्सका नागरिकहरूले प्रजातन्त्रको परापूर्वकालमा नै प्रयोग गरेको पाइन्छ। एथेन्सलाई विश्वको पहिलो प्रजातन्त्रको अभ्यास गर्ने स्थलको रूपमा लिने गरिन्छ। यसैगरी रोमनहरूले पनि सयौं वर्ष पहिले प्रजातन्त्रको अभ्यास गरेको पाइन्छ। बेलायतको प्रजातन्त्रलाई पनि प्रचीन प्रजातन्त्र मान्ने गरिन्छ। संयुक्त राज्य अमेरिकाको प्रजातन्त्रलाई आधुनिक युगको पुरोनो र राम्ररी कार्य गरिरहेको प्रजातन्त्र मान्ने गरिन्छ। जनसङ्ख्याको हिसाबले हेर्ने हो भने संसारको ठूलो प्रजातन्त्र भारतमा छ। कस्तो प्रादेशिक एवं केन्द्रीय सरकर निर्माण गर्ने भनी करोडौं भारतीय मतदाताले मत जाहेर गर्छन्। आफ्नो इच्छा अनुसार सरकार निर्माण गर्छन्।

संयुक्त राज्य अमेरिकाको एक्लो उदाहरण छाडेर हेर्ने हो भने नयाँ वा पुराना प्रजातान्त्रिक देश हुन् वा संसारको नै सर्वाधिक ठूलो प्रजातन्त्र भएको देश (भारत) होस, आर्थिक विकासको गतिको आधारमा हेर्ने हो भने ती राष्ट्रहरूले चमत्कारी किसिमले आर्थिक प्रगति गरेको मान्न सकिंदैन। प्रचीनकालदेखि प्रजातन्त्रलाई व्यवहारमा प्रयोग गर्दै आएको इटाली (रोम) र ग्रीसले त चमत्कारी किसिमले आर्थिक प्रगति गर्नुपर्ने होइन र? यसैगरी भारतले त झनै बढी विकास गर्नुपर्ने थियो, किनभने त्यहाँ प्रजातन्त्र पनि छ, जनसङ्ख्या पनि ठूलो छ। अदक्ष, अर्धदक्ष र दक्ष जनशक्तिको कुनै कमी छैन।

आर्थिक विकासको गतिको विश्लेषण गर्दा आफ्नो देशको राजनीतिक व्यवस्था प्रजातान्त्रिक भए तापनि धेरै राष्ट्रले अपेक्षित गतिमा आर्थिक विकास गरेको देखिंदैन। उनीहरूले गरेको आर्थिक प्रगतिको दर सुस्त छ। यो तथ्यलाई दृष्टिगत गर्दा के कुरा छर्लङ्ग हुन आउँछ भने आर्थिक विकास गर्नका लागि राजनीतिक व्यवस्था प्रजातान्त्रिक भएर मात्र हुने रहेन छ।

परम्परागत मान्यता र बहुसङ्ख्यक व्यक्तिको विश्वासले के भन्छ भने कुनै पनि देशले आर्थिक विकास गर्नका लागि त्यस देशको राजनीतिक व्यवस्था प्रजातान्त्रिक हुन आवश्यक छ। अर्थात् कुनै पनि राष्ट्रले आफ्नो राजनीतिक व्यवस्थालाई प्रजातान्त्रिक नबनाएसम्म त्यस देशले आर्थिक विकास गर्न सक्तैन। सम्भव छैन।

आर्थिक विकास र प्रजातन्त्रबीचको सम्बन्धको कुरा गर्ने हो भने चीनले गरेको महान् आर्थिक उपलब्धिको चर्चा नगरी रहन सकिन्न। छुटाउन पनि पाइँदैन। चीनमा प्रजातन्त्र छैन। सरकार निर्माण गर्नका लागि प्रजातान्त्रिक बालिग मताधिकारमार्फत त्यहाँ निर्वाचन हुँदैन। चीनमा एकतन्त्रीय शासन छ। चलनचल्तीको भाषामा भन्ने हो भने चीनमा निरङ्कुश तन्त्र छ। चीनको शासन व्यवस्था केही सीमित व्यक्तिहरूको हातमा छ। कम्युनिस्ट पार्टीको हातमा छ। तर अचम्म! चीनले चमत्कारी किसिमले आर्थिक प्रगति गरेको छ। केवल केही दशकभित्र चीन विश्वको दोस्रो ठूलो अर्थ व्यवस्था हुन सफल भएको छ। परम्परागत मान्यता अनुसार र चीनमा प्रजातन्त्र नभए अनुसार, चीन आर्थिक विकासको दौडमा ज्यादै पछाडि पर्नुपर्ने होइन र? अनि भारत अग्र पङ्तिमा हुनुपर्ने होइन र? चीनको चमत्कारी आर्थिक विकासले के पुष्टि गर्दछ भने देशको आर्थिक विकासका लागि राजनीतिक व्यवस्था अनिवार्यरूपमा प्रजातान्त्रिक हुनुपर्ने रहेन छ।

देशको आर्थिक विकासका लागि साम्यवादी, वा एकतन्त्रीय अथवा नियन्त्रणकारी राजनीतिक व्यवस्था उपयुक्त हुने रहेछ। चीनको आर्थिक विकासले यसै भनाइलाई पुष्टि गर्छ। तर यो भनाइमा पनि पूर्ण सत्यता छैन। यदि पूर्ण सत्यता हुँदो हो त उत्तर कोरियाले धेरै आर्थिक विकास गर्नुपर्ने थियो, किनभने उत्तर कोरियामा, तथाकथित नै भए तापनि, साम्यवादी राजनीतिक व्यवस्था छ। यसैगरी क्युबा, भेनेज्युएलाजस्ता देशहरू पनि आर्थिक विकासको पथमा दौडिरहेको हुनुपर्ने थियो। यी दुवै राष्ट्रहरूमा राजनीतिक व्यवस्था समाजवादी छ। भेनेज्युला र क्युबा दुवै गरीब राष्ट्र हुन्।

माथिको विश्लेषणको आधारमा के भन्न सकिन्छ भने कुनै पनि देशको आर्थिक विकासको लागि सर्वाधिक महत्वपूर्ण कुरा त्यस देशको जनताको मनोविज्ञान ठूलो रहेछ। त्यसपछि मात्र राजनीतिक व्यवस्था प्रजातान्त्रिक हुनु आवश्यक रहेछ। फरक–फरक किसिमको राजनीतिक व्यवस्था भए तापनि, चीनमा एकतन्त्रीय र संयुक्त राज्य अमेरिकामा प्रजातान्त्रिक राजनीतिक व्यवस्था भए तापनि, दुबै देशहरूले चमत्कारी किसिमले आर्थिक विकास गरेका छन्। कसरी चमत्कारी किसिमले आर्थिक प्रगति गरे त? किनभने यी दुवै देशका नागरिकमा आफ्नो स्थान र राष्ट्रको द्रुतगतिमा आर्थिक विकास गर्नुपर्छ भन्ने चाहना छ र त्यसका लागि बलियो इच्छाशक्ति छ।

जनताको मनोविज्ञान सकारात्मक भएमा त्यसको असर राष्ट्रको आर्थिक विकासमा पनि सकारात्मक किसिमले पर्ने रहेछ। अमेरिका र चीन, दुवै देशका जनताको मनोविज्ञान सकारात्मक छ। सकारात्मक मनोविज्ञान भन्नाले यहाँ केवल आर्थिक विकासप्रति बलियो इच्छा शक्ति मात्र भन्न खोजिएको होइन, जातपात, तल्लो जाति, माथिल्लो जाति, छुत, अछूतजस्ता भावना सकारात्मक हुनु पनि भन्न खोजिएको हो। अर्थात् जातीय, वर्गीय, सामाजिक शोषण नहुनु पनि भन्न खोजिएको हो। जातीय कारणले गर्दा उत्पादनका साधनहरू ठूलो परिमाणमा, उच्च जातिहरूको हातमा नपर्नु पनि भन्न खोजिएको हो। 

विश्वको ठूलो प्रजातन्त्र एवं अनेक स्रोत तथा साधनहरूले भरिपूर्ण भए तापनि भारतले अपेक्षित आर्थिक विकास गर्न नसक्नु र त्यहाँ गरीब र धनीबीचको खाडल ज्यादै ठूलो हुनुको मुख्य कारण जनताको मनोविज्ञान सकारात्मक नहुनु हो। अर्थात् उत्पादनका साधनहरू (भूमि, पूँजी ) ठूलो परिमाणमा तथाकथित उच्च जातिकाका हातमा हुनु हो। कमजोर वर्गको हातमा ज्यादै कम मात्रामा उत्पादनका साधनहरू हुनु हो। जातीय, वर्गीय एवं सामाजिक शोषणको इतिहास भारतमा ज्यादै प्रचीन छ। चीन र अमेरिका दुवै राष्ट्रमा ठूलो जातीय विभेद छैन। उत्पादनका साधनहरू केही सीमित ब्यक्तिहरूको हातमा मात्र, ठूलो परिमाणमा छैन।

राजनीतिक व्यवस्था नियन्त्रणकारी भए तापनि, शासन व्यवस्था केही व्यक्तिको हातमा भए तापनि, यदि नेताहरूमा इमानदारी छ, उनीहरू आर्थिक विकासप्रति समर्पित छन् भने पनि त्यस राष्ट्रले आर्थिक विकास गर्ने रहेछ। चीनको आर्थिक विकासले यो भनाइको पुष्टि गरिरहेको छ। राजनीतिक चरित्रको दृष्टिकोणले हेर्ने हो भने चीनका नेताहरूमा तानाशाही प्रवृत्ति छ। केही नेताहरू मात्र लामो समयसम्म सत्तामा छन्। उदाहरणको लागि बहालबाला चिनियाँ राष्ट्रपति सि जिनपिङ सन् २००७ देखि नै शक्तिमा छन्, सत्तामा छन्। आउँदा वर्षहरूमा पनि उनी चीनको उच्च पदमा रहि नै रहनेछन्। सि मात्र होइन, चीनमा केही अन्य व्यक्ति पनि छन्, जो लामो समयदेखि सत्ता र शक्तिमा छन्। राजनीतिक स्थिति यस्तो हुँदा पनि चीनले चमत्कारी किसिमले आर्थिक प्रगति गरेको छ। यस्तो हुनुको मुख्य कारण चीनका नेताहरूमा तानाशाही प्रवृत्ति देखिए तापनि, आर्थिक विकासप्रति उनीहरू समर्पित छन्। देशको आर्थिक विकास गर्न दत्तचित्त भएर लागेका छन्।

अफ्रिकी देशहरूको आर्थिक विकास तीव्र गतिमा हुन नसक्नुको मुख्य कारण पनि त्यहाँका जनताको मनोविज्ञान सकारात्मक नहुनु हो। जातीय, धार्मिक, सामुदायिक, अनेक किसिमका हिंसाको दलदलमा भासिएका अफ्रिककी देशहरू आर्थिक विकासको पथमा कछुवा चालले हिंडिरहेका छन्। अफ्रिकामा धर्मको आधारमा देशको विभाजन (सुडान र दक्षिण सुडान) भएको छ। जातिको निहुँमा कंगोमा, हुटु र टुट्सीबीच भयानक सङ्घर्ष भएको छ।

कुनै पनि देशको आर्थिक विकास तीव्र गतिमा हुनका लागि त्यस देशको जनताको मनोविज्ञान पनि सकारात्मक हुन आवश्यक छ। आर्थिक विकासको लागि राजनीतिक व्यवस्था गौण कुरा हो। प्रथम शर्त जनताको सकारात्मक मनोविज्ञान हो। नेपालको आर्थिक विकास तीव्र गतिमा गर्नका लागि हाम्रो मनोविज्ञान सकारात्मक हुन अति आवश्यक छ। हिंसा, सङ्घर्ष र युद्धद्वारा कुनै पनि समस्याको समाधान खोज्ने हाम्रो बानी हामीले परित्याग गर्नैपर्छ, यदि राष्ट्रको आर्थिक विकास तीव्र गतिमा गर्ने हो भने।





विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, July 26, 2024

https://eprateekdaily.com/2024/07/26/72011/

Friday, July 19, 2024

New Business Opportunities and Government Policy- Article-561

 व्यापारको अवसर र सरकारको नीति

नेपालको राजनीतिलाई अति प्रभावित पारेर आफूले चाहेको दिशामा दौडाउन सक्ने एवं सङ्ख्याको आधारमा संसद्मा अति ठूला दुई दलका रूपमा रहेका नेपाली काङ्ग्रेस र नेकपा एमाले मिलेर कार्य गर्न तयार हुनु मुलुकमा राजनीतिक स्थिरताको लागि ज्यादै महत्वपूर्ण कुरा हो। यी दुई ठूला दल मिलेर कार्य गर्न सहमत भएको यो नयाँ स्थितिले देश स्थिरतातर्फ जान थालेको सन्देश नेपाली जनतालाई दिनेछ। साथै अन्तर्राष्ट्रिय जगत्मा पनि यो नयाँ स्थितिले सकारात्मक प्रभाव पार्नेछ। मुख्य गरी यो नयाँ स्थितिले राष्ट्रिय व्यापारको क्षेत्रमा विश्वासको वातावरण सृजना गर्ने आशा गर्न सकिन्छ। उद्योगी एवं व्यापारीहरू थप लगानी गर्न प्रोत्साहित हुने आशा गर्न सकिन्छ।

तर यो नयाँ स्थिति, नेका र एमाले राजनीतिक स्थिरता र आर्थिक विकासको लागि मिलेर कार्य गर्न सहमत हुनुमा पूर्ण विश्वस्त हुने अवस्था भने छैन। यी दुई राजनीतिक दलहरूले विगतमा गरेका एक अर्काप्रतिको घात र प्रतिघातले यी दुई दलहरू मिलेर अगाडि जाने आधार र विश्वास सहजै प्रदान गर्दैन। आशा गरौं, दुई दलहरू नेका र एमालेको अग्रणी भूमिका रहनेगरी निर्माण भएको अनेक दल सम्मिलित सरकारले आउने निर्वाचनसम्म कार्य गर्न सकोस्। केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्ण अवधि पाओस्। नवनियुक्त प्रम केपी शर्मा ओलीले असल समन्वयकारी भूमिका निर्वाह गरून्।

२०४६ सालदेखि नै नेपाल राजनीतिक रूपमा अशान्त छ। माओवादीका नेताहरूले मचाएको तथाकथित दश वर्षे जनयुद्धले त नेपाललाई आर्थिकरूपमा दुर्बल नै पा–यो। २०६३ सालदेखि मचेका अनेक सङ्घर्ष एवं राजनीतिक अस्थिरता एवं छिटोछिटो सरकार फेरिने एवं नयाँ प्रम नियुक्त हुने क्रमले देशलाई आर्थिक रूपमा बर्बाद नै पा–यो। देशलाई आर्थिक रूपमा बर्बाद मात्र पारेन, जनतालाई अति निराश बनायो। युवाहरू ठूलो सङ्ख्यामा रोजगारका लागि विदेशतिर लागे। युवाहरू ठूलो सङ्ख्यामा विदेश जाने क्रम अहिले पनि जारी नै छ। आशा गरौं, यो स्थितिमा अब सुधार आउने छ।

राजनीतिक अस्थिरता र अनिश्चितताको कारण आर्थिकरूपमा देश बर्बाद हुन थालेको स्थितिमा स्थिरता र निश्चितता प्रदान गर्न नेका र एमाले मिलेर कार्य गर्न तयार हुनु राम्रो कुरा हो। यो नयाँ एवं विशेष स्थिति नेका र एमालेको लागि पनि महान् अवसर हो। यो अवसरको प्रयोग गरेर नेका र एमालेले हामी जनता र मुलुकको लागि हित गर्ने दल हौं भन्ने सन्देश दिन सक्छन्। साथै आफूप्रति मतदाताको गुमेको विश्वास पुनः कायम गर्न सक्छन्।

अहिले दुई ठूला दलको सहभागितामा सरकार निर्माण भएकोले नयाँनयाँ आर्थिक नीति निर्माण गर्न र तिनको कार्यान्वयन गर्न पक्कै पनि पहिलेभन्दा निकै सजिलो हुनेछ।

नेपाली वस्तु विदेशी बजारहरूमा बिक्री गर्ने सन्दर्भमा सरकारले नयाँनयाँ नीति निर्माण गर्न आवश्यक छ। निर्यात व्यवस्था सरल र नेपाली व्यापारीहरू निर्यात गर्न प्रोत्साहित हुने नीति निर्माण हुने हो भने अहिले ठूलो सङ्ख्यामा नेपाली वस्तु–मुख्यगरी खाद्य, धार्मिक, सांस्कृतिक वस्तुहरू संसारका अनेक मुलुकमा बिक्री गर्न सकिने स्थिति छ। स्थिति मात्र होइन, ठूलो अवसर नै पनि छ।

माओवादी सङ्घर्ष (२०५२–२०६३ साल) ले उत्पन्न गरेको भय एवं त्रासले गर्दा ठूलो सङ्ख्यामा नेपालीहरूले स्वदेश त्याग गरे। संसारका अनेक देशतिर लागे। ठूलो सङ्ख्यामा, विदेशमा नै स्थायी बसोवास गर्ने किसिमले अन्य मुलुकहरू तिर लागे। यसैगरी छिटोछिटो सरकार परिवर्तन हुने स्थितिले देशमा ठूलो अस्थिरता र अनिश्चितताको स्थिति सृजना ग–यो। अस्थिरता र अनिश्चितताको स्थितिले पनि ठूलो सङ्ख्यामा नेपालीहरूलाई संसारका अनेक देशमा पुग्न बाध्य पा–यो।

उपरोक्त दुई कारणले गर्दा ठूलो सङ्ख्यामा नेपालीहरूले स्थानान्तरण गरेका छन्। यसरी यति ठूलो सङ्ख्यामा देशको जनशक्ति अर्को देशमा, त्यो पनि स्थायी किसिमले बस्नेगरी, स्थानान्तरण हुनु देशको अर्थ व्यवस्थाको लागि राम्रो होइन।

तर ठूलो सङ्ख्यामा नेपालीहरू संसारका अन्य मुलुकहरूमा बसेको स्थितिलाई अवसरको रूपमा पनि लिन सकिन्छ। यो विशेष स्थितिलाई एउटा राम्रो व्यापारिक अवसरको रूपमा पनि प्रयोग गर्न सकिन्छ।

संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानाडा र अस्ट्रेलियामा अहिले ठूलो सङ्ख्यामा नेपालीहरूको बसोवास रहेको छ। अमेरिकामा मात्र ३ लाखभन्दा बढी नेपालीको बसोवास रहेको अनुमान गरिएको छ। यसैगरी जर्मनी, फ्रान्स, बेल्जियम, इटली, स्पेन, इजराइल, डेनमार्क, पोर्चुगल, नर्वे आदि देशमा पनि राम्रो सङ्ख्यामा नेपालीहरूको बसोवास रहेको छ। ती राष्ट्रमा बस्ने नेपालीहरूको क्रयशक्ति तुलनात्मकरूपमा (मलेशिया र खाडीका देशहरूभन्दा) बढी छ। यसैगरी साउदी अरेबिया, कतार, युनाइटेड अरब इमिरेट्स, ओमान, बहरेन, मलेशिया आदिमा पनि नेपालीहरूको बसोवास ठूलो सङ्ख्यामा छ।

यसरी ठूलो सङ्ख्यामा नेपालीहरू देश बाहिर बसेको स्थितिलाई राम्रो व्यापारिक अवसरको रूपमा उपयोग गर्न सकिने पर्याप्त सम्भावना छ। खाद्य वस्तु (चिउरा, चाउचाउ, दाल, भटमास, गुन्द्रुक, बिस्कुट, चकलेट, मार्सी चामल आदि), धार्मिक वस्तु (पूजाका सामग्री, मूर्ति, भाँडा आदि) तथा सांस्कृतिक वस्तु (टोपी, खादा, पोशाक, नेपाली साडी आदि) ठूलो परिमाण एवं सङ्ख्यामा विदेशमा बसेका नेपालीहरूलाई बिक्री गर्न सकिन्छ। माथि उल्लेख गरिएका मौलिक नेपाली वस्तुहरूको विदेशी बजारहरूमा ठूलो माग पनि छ। मार्सी चामल, चाउचाउ, रातो चिउरा आदिको माग त झन् ठूलो परिमाणमा छ। ठूलो सङ्ख्यामा नेपालीहरूको बसोवास रहेको ठूला शहरहरू जस्तै टोरन्टो, न्युयोर्क, डालस, ह्युस्टन आदिमा नेपाली वस्तु ठूलो परिमाणमा बिक्री हुने ठूलो अवसर नै रहेको छ। स्वाद फेर्नका लागि माथि उल्लेख गरिएका वस्तुहरू विदेशमा बस्ने नेपालीहरूले ठूलो परिमाणमा खरीद गर्छन्। उपभोग गर्छन्।

विदेशमा रहेका अन्य व्यापारी (मुख्य गरी भारतीय मूलका) हरूले यो अवसरको राम्रो प्रयोग गरेका छन्। ती व्यापारीहरूले ठूलो परिमाणमा विदेशमा बसेका नेपालीहरूलाई नेपालीहरूले मन पराउने वस्तुहरू बिक्री गरेर राम्रो आम्दानी प्राप्त गरिरहेका छन्।

एउटा फरक प्रसङ्ग उल्लेख गरौं– केही दिन पहिले म क्यानाडाको विभिन्न शहरको भ्रमणमा थिएँ। क्यानाडाको एक प्रख्यात शहर मोन्ट्रिएल पुगेको बेला एउटा पसल देखें। त्यस पसलको नाम थियो ‘बुद्ध आर्ट’ र त्यस पसलमा केवल बुद्धसम्बन्धी अनेक सामग्री बिक्रीका लागि राखिएका थिए। त्यो पसल एकजना भारतीय मूलका व्यक्तिले सञ्चालन गरेका थिए। त्यस पसलमा राखिएका बुद्धसम्बन्धी सामग्री अति रोचक र सुन्दर थिए। जानकारीमूलक पनि थिए। मेरो मनमा जिज्ञासा उत्पन्न भयो। मैले त्यस पसलका बिक्रेतालाई प्रश्न गरे–“बुद्ध सम्बन्धी यी सामग्रीहरू यहाँ (मोन्ट्रिएल) कुन देशबाट आयात गरिन्छ ?” उनले उत्तर दिए–“भारतबाट।” मैले पुनः प्रश्न गरें–“नेपालबाट आयात हुँदैन ?” उनले भने–“केवल ८ देखि १० प्रतिशत सामग्री मात्र नेपालबाट आयात हुन्छ। नेपालबाट आयात गर्न निकै झन्झट छ।”

क्यानाडा र अमेरिकाका अनेक शहरमा रहेका नेपाली वस्तु बिक्री गर्ने अनेक पसलका सञ्चालकहरूसँग नेपाली वस्तु उनीहरूको पसलमा राख्नेबारे कुरा गर्दा नेपाली वस्तुहरू आयात गर्न अनेक किसिमका झन्झट र कठिनाई रहेको उनीहरूले उल्लेख गरेको मैले पाएको छु।

खास परिस्थितिमा निर्माण भएको यो नयाँ प्रकृतिको सरकारले प्रभावकारी नीति, नियम र व्यवस्थाहरू निर्माण गरेर नेपाली व्यापारीहरूलाई मौलिक नेपाली वस्तु संसारका अनेकौं शहरमा निर्यात गर्न प्रोत्साहित गर्ने हो भने हामीले ठूलो परिमाणमा मौलिक नेपाली वस्तुहरू निर्यात गर्न सक्छौं। नेपाली वस्तुहरू ठूलो परिमाणमा निर्यात गरेर देशमा उद्योग–व्यापार विस्तार गर्न सक्छौं। रोजगारका नयाँनयाँ अवसर सृजना गर्न सक्छौं।

हामीसँग अनेक व्यापारिक अवसरहरू छन्। हामीसँग स्रोत र साधनको अभाव पनि छैन। यी सब हुँदाहुँदै पनि हामीले उद्योग र व्यापारको क्षेत्रमा अपेक्षित विकास गर्न सकेका छैनौं। यस्तो हुनुको मुख्य कारण सरकार स्थिर नहुनु हो। निर्यात व्यापारलाई सरल र प्रभावकारी बनाउने निर्यात नीति निर्माण नहुनु हो। वैदेशिक व्यापारलाई लाभदायक बनाउन हामीले निर्यात व्यापार सरल बनाउनु नै पर्छ। आशा गरौं, केपी ओली नेतृत्वको र नयाँ प्रकृतिको यो सरकारले यसतर्फ ध्यान दिनेछ। यो सरकार स्थिर हुनेछ।

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, July 19, 2024

https://eprateekdaily.com/2024/07/19/71687/

Friday, July 12, 2024

Importance of Developing New Businesses for Employment- Article -560

 नयाँनयाँ व्यापारको खोजी गरौं

अहिले देशभरि नै एक किसिमको अनिश्चितता छ। नेपालको राजनीति स्थिर हुन सकिरहेको छैन। देशको अस्थिर राजनीतिले राष्ट्रिय अर्थतन्त्रलाई झनै अस्थिर पारेको छ। यस किसिमको अनिश्चितताको स्थितिमा निश्चय पनि लगानीकार्ताहरू थप लगानी गर्न उत्सासहित हुने छैनन्, बरु उल्टो गरेको लगानीप्रति सशङ्कित हुनेछन्। उद्योग र व्यापारको गति झनै सुस्त हुनेछ। यो कारणले गर्दा अहिले लेख्नुपर्ने विषय धेरै छन्। तर यसपटक अस्थिर राष्ट्रिय राजनीतिलाई एकातिर पन्छ्याएर एउटा महत्वपूर्ण विषयको चर्चातर्फ लागौं। नयाँनयाँ व्यापारको विकास गर्नेबारे कुरा गरौं।

राष्ट्रिय राजनीति अस्थिर वा स्थिर जे भए तापनि, व्यापार त गर्नैपर्छ। आजभोलि बाँच्नका लागि प्रत्येक व्यक्तिले व्यापार गर्नु नै पर्ने अनिवार्यता छ। यो उत्तर आधुनिक युगमा हामी धेरैजना केवल श्रम मात्र उत्पादन गर्छौं। र त्यही श्रम बिक्री गरेर जीवनयापन गर्छौं। अर्थात् हामी प्रत्येक श्रम–व्यापार गर्छौं। श्रम बजारमा प्रवेश गर्छौं। क्रिया गर्छौं।

पहिलेजस्तो धरै मानिसले जीवनयापनको क्रममा धेरै वस्तु उत्पादन गर्ने युग अब रहेन। यो उत्तर आधुनिक युगमा हामी खेत जोत्ने त परको कुरा, बारी पनि गोडमेल गर्दैनौं। तरकारीसम्म पनि बजारबाट खरीद गर्छौं। केवल श्रम मात्र उत्पादन गर्छौं। र त्यही श्रम बिक्री गरेर जीवन निर्वाह गर्छौं।

उपर्युक्त कारणले गर्दा हामी बाँच्नका लागि रक्तसञ्चार अति महत्वपूर्ण भएझैं व्यापार पनि अति महत्वपूर्ण हुन पुगेको छ। तर व्यापार गर्नु पहिलेजस्तो सहज र सरल छैन। मानव जीवन गतिशील छ। समाज गतिशील छ। व्यापारिक जगत् झनै गतिशील छ। व्यापारिक जगत् खरायोको गतिमा दौडिन्छ। अनुभवले त्यस्तै देखाएको छ। विगत ५० वर्षभित्र अनेक किसिमका व्यापारको जन्म भएको छ। केही पुराना व्यापारिक पद्धतिहरू हराएर इतिहास भइसकेका छन्। भोलिका दिनमा झनै नयाँनयाँ किसिमका व्यापारहरू बजारमा देखा पर्नेछन्।

नयाँनयाँ वस्तुहरूको उत्पादनसँगै नयाँनयाँ व्यापार पद्धतिहरूको पनि विकास भएको छ। अर्कोतिर उपभोक्ताहरूको नयाँनयाँ माग अनुसार उत्पादकहरूले नयाँनयाँ वस्तु तथा सेवा अनुसन्धान एवं विकास गर्नुपरेको छ। केही वर्ष पहिलेसम्म पनि घर बाहिर, अन्यत्र वा भ्रमणमा गएको बेला बास बस्ने स्थलको रूपमा केवल मोटेल वा लज वा होटेलहरू थिए। अहिले सोही सेवा उपलब्ध गराउन ‘एयर बिएन्डबी’ ‘होमस्टे’, ‘काउच शेयरिङ’ वा ‘काउच सर्फिङ’, ‘बेड एन्ड ब्रेकफास्ट’ जस्ता स्थलहरूको विकास भएका छन्। उपरोक्त स्थलहरू तुलनात्मकरूपमा सस्तो उपलब्ध छन्। सेवा र सुविधाहरू पनि राम्रै दिन्छन्।

अहिले रेस्टुराँमा नै पुगेर खानुपर्छ भन्ने बाध्यता छैन। पहिले त्यस्तो बाध्यता थियो। अहिले अनलाइन अर्डर गरेर वा खानेकुरा घरसम्म ल्याइदिने सेवा (Door Dash, Uber Eats) प्रयोग गरेर रेस्टुराँहरूबाट खानेकुरा सजिलै आफ्नो घर वा कार्यस्थलसम्म मगाएर खान सकिन्छ। यसैगरी, केही वर्ष पहिलेसम्म सामानहरू खरीद गर्न तोकिएको स्थल वा बजार नै पुग्नुपथ्र्यो। अहिले आपूmले खरीद गर्न खोजेका कुराहरू अनलाइन नै खरीद गर्न सकिन्छ। खरीद गरिएका सामानहरू घरमैं आइपुग्छन्।

अहिले धेरै उत्पादकले प्रत्यक्षरूपमा उपभोक्ताहरूलाई वस्तु आपूर्ति गरिरहेका छन्। यसरी आपूर्ति व्यवस्थालाई फुर्तिलो र प्रभावकारी पारेर राम्रो आम्दानी हात पारिरहेका छन्। अर्थात् अहिले वस्तुहरू छोटो मार्गबाट उपभोक्तासम्म पुगिरहेका छन्। तर केही वर्ष पहिलेसम्म पनि स्थिति यस्तो थिएन। पहिले कुनै पनि वस्तु उपभोक्तासम्म पुग्न पहिले वितरक, डिलर वा एजेन्ट कहाँ पुग्नुपथ्र्यो। त्यसपछि थोक विक्रेताकहाँ पुग्नुपथ्र्यो। थोक विक्रेताकहाँबाट खुद्रा विक्रेताकहाँ पुग्नुपथ्र्यो। कुनै पनि वस्तु खुद्रा विक्रेताकहाँ पुगेपछि मात्र उपभोक्ताकहाँ पुग्ने स्थिति थियो। अर्थात् कुनै वस्तु उत्पादककहाँबाट उपभोक्तासम्म पुर्याउन अनिवार्यरूपमा ठूलो बाटो (Channels) प्रयोग गर्नुपथ्र्यो। अहिले त्यो स्थितिमा परिवर्तन आएको छ। माथिका उदाहरणहरू यहाँ के सन्दर्भमा प्रस्तुत गर्न खोजिएको हो भने नयाँनयाँ रोजगारका अवसर सृजना गर्न व्यापारका नयाँनयाँ तरीकाको खोजी गर्न आवश्यक छ। नयाँनयाँ वस्तु एवं सेवा विकास गर्न आवश्यक छ। हाम्रो सन्दर्भमा, नेपालमा, हामी नयाँनयाँ व्यापार विकास गर्ने र नयाँनयाँ वस्तु एवं सेवा उत्पादन गर्ने सन्दर्भमा ज्यादै पछाडि छौं। यस्तो भएकोले पनि हाम्रो रोजगारको क्षेत्र विस्तार हुन सकिरहेको छैन। हामीले रोजगारको क्षेत्र विस्तार गर्न नयाँनयाँ व्यापारको विकास र सञ्चालन गर्न अति आवश्यक छ।

वर्तमानमा, हामीकहाँ विगतमा जे जस्ता व्यापारहरू थिए, अहिले पनि तिनै व्यापार छन्। विगतमा जेजे वस्तु एवं सेवाको विकास भयो, बजारमा अहिले पनि तिनै व्स्तु एवं सेवाहरू छन्। हामी नयाँनयाँ वस्तु एवं सेवा विकास गर्ने सन्दर्भमा निकै पछाडि परेका छौं। नयाँनयाँ व्यापार विकास गर्ने सन्दर्भमा निकै पछाडि परेका छौं। किन होला ? हामीसँग पूँजी पनि पर्याप्त छ। आवश्यक प्रविधि पनि छ। हाम्रो ज्ञानको स्तर विकसित राष्ट्रहरूको स्तरको छ। हाम्रो राष्ट्रिय बजार पनि सानो छैन। यस्ता अनेक अवसर हुँदाहुँदै पनि हामी किन नयाँनयाँ व्यापार विकास गर्ने सन्दर्भमा पछाडि छौं ? किन नयाँनयाँ वस्तु एवं सेवा विकास गर्ने सन्दर्भमा पछाडि छौं ?

नयाँनयाँ वस्तु एवं सेवा तथा नयाँनयाँ व्यापार विकास गर्ने सन्दर्भमा हामी पछाडि हुनुका मुख्य दुई कारण छन्। ती कारण हुन्, पहिलो–व्यापारिक वातावरणको अभाव। दोस्रो– स्वरोजगार प्रतिकूल शिक्षा प्रणाली। हाम्रो समाजलाई राजनीतिले ज्यादै प्रभावित पारेको छ। हाम्रो जीवनमा राजनीति आवश्यकताभन्दा बढी सवार र सक्रिय रहेकोले हाम्रो समाजमा व्यापारिक वातावरणको ज्यादै अभाव हुन पुगेको छ। राजनीतिलाई हामी बढी महत्व र समय दिन्छौं। दल र नेताहरूको झोला बोक्न हामी जति सक्रिय र समर्पित हुन्छौं त्यति सक्रिय व्यापार क्षेत्रमा हुने हो भने अनेक किसिमका व्यापार विकास गर्न सक्छौं। नयाँनयाँ वस्तु एवं सेवाको विकास गर्न सक्छौं। र अब हामीले त्यस्तो गर्नु पनि परेको छ। रोजगारका लागि विदेश धाउने परम्परा र मनोविज्ञान, दुवै अन्त्य गर्नुपर्छ। वैदेशिक रोजगार दीर्घकालमा, राष्ट्रिय अर्थतन्त्र र सुव्यवस्थित समाजको लागि घातक हो।

हाम्रो शिक्षा प्रणाली ज्यादै खराब त छैन तर अनेक त्रुटिले भरिएको छ। हाम्रो शिक्षा प्रणालीमा दुई महत्वपूर्ण त्रुटि छन्। पहिलो–हाम्रो शिक्षा प्रणालीले विद्यार्थीहरूलाई आत्मनिर्भर हुन सिकाउँदैन। दोस्रो–यसले विद्यार्थीलाई आफ्नो लागि रोजगार सृजना गर्न सिकाउँदैन। हाम्रो शिक्षा प्रणलीले उच्चतम ज्ञान त दिन्छ, तर सीप दिंदैन।

अहिले केवल रोजगार सृजना गर्नेबारे चर्चा गरौं। हाम्रा विद्यालय एवं कलेजहरूले विद्यार्थीहरूलाई सीप सिकाउनेतर्फ जोड दिनुपर्छ, तर त्यस्तो भएको छैन। विश्वविद्यालयले मात्र विद्यार्थीहरूलाई ज्ञान प्रदान गर्न जोड नदिएर विद्यालय एवं कलेजहरूले विद्यार्थीहरूलाई सीप सिकाउनेतर्फ जोड दिनुपर्छ। विद्यालय र कलेजस्तरका विद्यार्थीहरूको लागि पाठ्यक्रम तयार पार्दा पाठ्यक्रममा सीप सिकाउने तरीकाहरू समावेश गर्नुपर्छ। अहिलेको यो वैश्य युगमा ज्ञान जति आवश्यक छ, सीप पनि उत्तिकै आवश्यक छ। दैनिक जीवनयापनका लागि त ज्ञानभन्दा सीप आवश्यक छ।

हामीले विद्यालय र कलेजका लागि पाठ्यक्रम तयार पार्दा पाठ्यक्रमभित्र त्यस्ता सामग्री समाविष्ट गर्नुपर्छ जसले विद्यार्थीहरूलाई रोजगार सृजना गर्न प्रोत्साहित गरोस् तथा नयाँनयाँ रोजगार सृजना गर्ने बाटाहरू देखाओस्। अहिलेको यो वैश्य युगमा रोजगार अति नै आवश्यक छ। यो युगमा कुनै पनि व्यक्ति बाँच्न एवं सरल किसिमले जीवनयापन गर्न ऊसँग रोजगार हुन अति आवश्यक छ। विनारोजगार कुनै पनि व्यक्ति बाँच्न कठिन छ, किनभने बहुसङ्ख्यक व्यक्ति केवल श्रम उत्पादन गर्छ, वस्तुहरू उत्पादन गर्दैन। अर्थात् कृषिमा संलग्न हुँदैन।

रोजगारको क्षेत्र विस्तार गर्न वा नयाँनयाँ रोजगार सृजना गर्न हामीले नयाँनयाँ वस्तु एवं सेवा विकास तथा नयाँनयाँ व्यापारको खोजी एवं विकास गर्नु अति आवश्यक छ।






विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, July 12, 2024

https://eprateekdaily.com/2024/07/11/71447/

 

 

Friday, July 5, 2024

Nepalese Economy Again in Crisis-Article-559

 नेपालको अर्थतन्त्रमा पुनः सङ्कट

अस्थायी नै भए पनि नेपालको राजनीति केही समयको लागि स्थिर थियो, शान्त थियो। तर त्यो स्थिरतामा अहिले अचानक परिवर्तन आएको छ। नेपालको राजनीति पुनः अस्थिर भएको छ। यसपटकको अस्थिरता भने अति अनिश्चित र विशेष किसिमको छ।

नेपालको राजनीतिमा देखिएको यो अस्थिरता वा हलचलले राष्ट्रको अर्थतन्त्रलाई दुई किसिमबाट प्रभाव पार्ने देखिएको छ। यदि नयाँ निर्माण हुने सरकारले दीर्घता प्राप्त ग–यो भने त्यसको प्रभाव नेपालको अर्थतन्त्रमा सकारात्मक किसिमको हुनेछ। उद्योगी एवं व्यापारीहरूमा आशा उत्पन्न भएर उनीहरू व्यापार विस्तार, नयाँनयाँ व्यापार सञ्चालन एवं लगानीको अनुपातमा वृद्धि गर्न प्रोत्साहित हुनेछन्। देशको अर्थतन्त्रमा सुधार आउने छ। तर यदि नयाँ निर्माण हुने सरकार अस्थिर भयो भने राष्ट्रिय अर्थतन्त्र सोही अनुसार अस्थिर बन्नेछ, अनिश्चित हुनेछ। उद्योगी–व्यापारी थप निराश हुने छन्। उद्योग एवं व्यापारको क्षेत्र झनै सङ्कुचित हुनेछ। देशमा झनै बढी निराशा देखिने छ। नेपाली युवाहरूमा रहेको निराशाको मात्रामा झनै अभिवृद्धि हुनेछ। युवाहरूले स्वदेशमा आफ्नो भविष्य असुरक्षित देख्ने कार्यमा झनै तीव्रता आउने छ। अझै ठूलो सङ्ख्यामा युवाहरू विदेश पलायन हुनेछन्।

समाचारहरूले जनाए अनुसार संसद्को सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच सत्ता सञ्चालनका लागि मिलेर कार्य (गठबन्धन) गर्ने सहमति भएको छ। दुवै दलले पालैपालो सरकार सञ्चालन गर्ने सहमति भएको छ। सहमति अनुसार पहिलोपटक नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीको नेतृत्वमा एमालेले सरकार गठन गर्ने अनि दोस्रोपटक नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नेपाली काङ्ग्रेसले सकार गठन गर्ने। अर्थात् देशको शासन व्यवस्था एमाले र नेपाली काङ्ग्रेसले मिलेर सञ्चालन गर्ने। संसद्का दुई ठूला दलहरू मिलेर देशको शासन व्यवस्था सञ्चान गर्ने। दुई ठूला दलहरू (नेपाली काङ्ग्रेस र एमाले) मिल्न नसकेको स्थितिबाट फाइदा उठाएर सरकार निर्माण गर्न सफल भएको माओवादी केन्द्रलाई निकाल बाहर गर्ने। पुष्पकमल दहाललाई प्रमको कुर्सीबाट तल झार्ने। दुई दलबीच भएको हालको सहमतिले उपरोक्त कार्यहरू गर्नेछ।

राजनीतिक स्थिरता ल्याउन एवं देशलाई आर्थिक विकासको पथमा दौडाउन संसद्का दुई ठूला दलहरू मिल्नु र पालैपालो सरकार सञ्चालन गर्न सहमत हुनु सकारात्मक कुरा हो। यी दुई दलहरूको सहकार्यले नेपाली अर्थतन्त्रलाई विकासका कार्यहरू गर्न अवश्य पनि अनुकूल वातावरण प्रदान गर्नेछ। उद्यमी एवं व्यवसायीहरू थप लगानी गर्न उत्साहित हुनेछन्।  रोजगारको क्षेत्र विस्तार हुनेछ। रोजगारका लागि विदेश पलायन भइरहेका युवाहरूले स्वदेशमा नै रोजगार पाउने वातावरण निर्माण भएर जनशक्ति पलायनको स्थितिमा सुधार आउने छ। अर्थात् नेपाली काङ्ग्रेस र एमालेबीच सत्ता साझेदारी गर्न भएको समझदारीले नेपालको अर्थतन्त्रमा अति नै राम्रो प्रभाव पार्नेछ।

सत्ता साझेदारीका लागि नेका र एमालेबीच भएको सहमति के साँच्चीकै नेपालको आर्थिक विकासको लगि हो त? नेपालको राजनीति पुनः अस्थिर भएको सन्दर्भमा यो प्रश्न अति महत्वपूर्ण हुन पुगेको छ।

माथिको प्रश्नको उत्तर खोज्नुपूर्व नेपाली काङ्ग्रेस र यसका नेताहरूको चरित्र तथा यसैगरी एमाले र यसका नेताहरूको चरित्रको विश्लेषण एवं मूल्याङ्कन गर्न आवश्यक छ। यी दुवै दलका नेताहरूले विगतमा गरेका कार्यको लेखाजोखा गर्न आवश्यक छ।

नेपाली काङ्ग्रेस र एमाले, दुवै केवल सत्ताका लागि राजनीति गर्ने शक्तिलोलुप दल हुन्। यी दलका नेताहरू जहिले पनि शक्ति र सत्तामा  रहन रुचाउने प्रकृतिका छन्। यी दुवै दलका नेताहरूमा त्याग र इमानदारीको खडेरी परेको छ। र शक्ति र स्वार्थ पूर्तिका लागि यी दुवै दलका नेताहरूले जे पनि गर्न सक्छन्। यी दुवै दलका नेताहरूका विगतका क्रियाकलापहरूबाट यस कुराको पुष्टि हुन्छ। यदि यी दुवै दलका नेताहरू राष्ट्रको आर्थिक विकासको लागि समर्पित भएका भए वर्तमानको, दहाल नेतृत्वको सरकारलाई नै काम गर्न दिन्थे। दहाल नेतृत्वको सरकार खसाउने थिएनन्। यी दुवै दल– नेका र एमाले, सरकारमा आए पनि त्यही गर्ने हुन्, जुन अहिले दहाल नेतृत्वको सरकारले गरिरहेको छ। सामान्य किसिमले हेर्दा त्यही देखिन्छ।

नेका र एमाले, दुवै दल मिलेर दहाल नेतृत्वको सरकारलाई कार्य गर्न दिनुपथ्र्यो। दहाल नेतृत्वको सरकारले गलत गरेमा यी दुवै दलले अंकुश लगाउने कार्य गर्नुपथ्र्यो। यस्तो गरेको भए देशमा राजनीतिक स्थिरता रहेको जनतालाई अनुभूत हुन्थ्यो। उद्योगी–व्यापारीमा थप उत्साह जाग्रत हुन्थ्यो। तर केवल केही हप्ता पहिले मात्र बजेट पेश गरेका अर्थमन्त्री वर्षमान पुनलाई एक वर्ष मात्र पनि यी दुई दलहरूले कार्य गर्न दिएनन्। अहिले बजेट ल्याउने एउटा दल,  कार्यान्वयन गर्ने अर्को दल, यस्तो स्थिति उत्पन्न भएको छ। यस्तो स्थितिले देशको अर्थतन्त्रमा ज्यादै नराम्रो प्रभाव पार्छ।

नेपाली काङ्ग्रेस र एमाले, दुवै दलका नेताहरूलाई पद र शक्ति चाहिएको छ। पद र शक्ति प्राप्त गर्न यी दुवै दलका नेता जे पनि गर्न सक्छन्। २०४६ सालको राजनीतिक परिवर्तनपछिको स्थिति हेर्ने हो भने वा नेका र एमालेको राजनीतिक चरित्रको इतिहास खोतल्ने हो भने राष्ट्रको आर्थिक विकासका लागि यी दुवै दल मिलेर कार्य गरेको देखिंदैन। उल्टो, नेका सरकारमा रहेको बेला एमालेका नेता एवं कार्यकर्ताहरूले नयाँ सडकको रेलिङ भत्क्याएको र एमाले सरकारमा रहेको बेला नेकाका नेता तथा कार्यकर्ताहरूले नयाँ सडकको रेलिङ भत्क्याएको ताजा इतिहास छ।

माथि प्रस्तुत गरिएका विवरणहरूको आधारमा नेका र एमालेबीच भएको सत्ता साझेदारीको सहमतिको आयु लामो छैन भनी प्रस्ट भन्न सकिन्छ। नेका र एमालेबीच सत्ता साझेदारीको लागि भएको यो नयाँ सहमतिले नेपालको राजनीतिलाई थप अस्थिर पार्नेछ। नेपालको अर्थतन्त्र झनै अस्थिर हुनेछ, विश्वासका साथ भन्न सकिन्छ।

देशको आर्थिक विकासप्रति यी दुई दल– नेका र एमाले कटिबद्ध भएको भए, ठूलो सङ्ख्यामा नेपाली युवाहरू रोजगारका लागि विदेशतिर पलायन भइरहेको स्थितिप्रति चिन्तित भएको भए, गत निर्वाचन (२०७९) देखि नै नेका र एमालेका नेताहरूले राष्ट्रको आर्थिक विकासको लागि मिलेर कार्य गर्ने थिए। दुवै दल मिलेर सरकार निर्माण गर्ने थिए। मिलेर शासन–सञ्चालन गर्ने थिए। तर त्यस्तो कहिले गरेनन्। केवल यो दलसँग मिलेर अर्को दलको सरकार खसाउने अर्को दलसँग मिलेर अर्को सरकार खसाउने काम गरे। देशको राजनीति थप अस्थिर पार्ने कार्य गरे। आर्थिक विकासको गति सुस्त पारे। आफ्ना यस्ता कार्यद्वारा युवाहरूलाई निराश पारे।

विगतमा जे जस्ता कार्य यी दुई दल–नेका र एमालेले गरे तापनि, विगतका ती सबै कुरा बिर्सेर, आफूलाई सुधारेर, यो नयाँ अवसरलाई सदुपयोग गर्ने हो भने देशको आर्थिक विकासका लागि यी दुई दलले धेरै काम गर्न सक्छन्। यो नयाँ परिस्थिति (पुष्पकमल दहाल–सरकारको पतन) दुवै दलका लागि नेपालको आर्थिक विकासका लागि योगदान पु–याउने अवसरको रूपमा रूपान्तरित हुन सक्छ। सबैभन्दा ठूलो कुरा, अब देश स्थिरितातिर अग्रसर हुँदैछ भन्ने सन्देश जनतामा पुग्न सक्छ।

यी लोभी र पापी नेताहरूबाट सृजित राजनीतिक वातावरणमा भोलि जे पनि हुन सक्छ। नेकाको नेतृत्व एवं माओवादी केन्द्रको समर्थनमा शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार निर्माण हुन सक्छ। ज्योतिषिले भने अनुसार शेरबहादुर देउवा छैठौंपटक नेपालको प्रम हुन सक्छन्। तर यस्तो भएमा देशमा चरम निराशा व्याप्त हुन सक्छ। देशमा उथलपुथल आउन सक्छ। त्यस उथलपुथलमा यी लोभी र पापी नेताहरूले देशलाई नै त्यस्तो सुदूरमा पु–याउन सक्नेछ जहाँबाट फर्केर राष्ट्रिय राजनीतिमा आउन यी नेताहरूलाई कठिन हुनेछ।

आशा गरौं, नेका र एमालेको सहकार्यमा निर्माण हुने नयाँ सरकारले देशको आर्थिक विकासमा ध्यान केन्द्रित गर्न सकोस्। विशेषगरी युवाहरूमा उत्पन्न भएको चरम निराशा कम गर्न सकोस्।






विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, July 5, 2024

https://eprateekdaily.com/2024/07/05/71023/