Wikipedia

Search results

Friday, December 8, 2023

Problems in Trade and Commerce Development in Nepal-Article 435

नेपालमा ब्यापार विकासका समस्या

नेपालमा व्यापारको विकास किन व्यवस्थित किसिमले भएन? अहिले पनि हाम्रो व्यापार पद्धति किन परम्परागत छ? देशले उदार एवं बजार अर्थ व्यवस्था अङ्गीकार गरे तापनि देश किन धनी हुन सकेन? तुलनात्मकरूपमा किन झन् गरीब हुँदै गएको छ? राष्ट्रिय रोजगारमा किन ठूलो सङ्कुचन आएको छ? बहुसङ्ख्यक व्यापारीहरूले किन दीर्घकालीन लगानी गरिरहेका छैनन्? बैंकहरूमा निक्षेप छ तर ऋण लिनेहरूले किन ऋण नलिएका होलान्? यस्ता अनेक प्रश्न छन्। र यी प्रश्नहरू हामी आफैंले आपूmसँग सोध्नुपर्ने भएको छ।

हाम्रो राष्ट्रिय व्यापारको विकास हुन नसक्नुका अनेक कारण छन्। ती कारणहरूको खोजी गर्नुपूर्व अहिलेको युगमा व्यापारको महत्व झन् किन बढेको छ, त्यसबारे चर्चा गरौं। पचास–साठी वर्ष पहिलेसम्म हामी आपूmलाई आवश्यक पर्ने आधाभन्दा बढी वस्तु आफैं उत्पादन गथ्र्यौं। आफ्नो उपभोगका लागि आवश्यक पर्ने तरकारी, फलफूल, मासु (पशुपालन), माछा, अन्न आदि आफैंले उत्पादन गथ्र्यौं। कपडा, जुत्ता, चप्पल, भाँडा, मेशीन, औजार आदि जुन आफैं उत्पादन गर्न सकिन्थेन, बजारबाट खरीद गर्दथ्यौं। त्यसकारण हामीले बजारबाट खरीद गर्ने सामानहरूको सङ्ख्या कम थियो। अहिले स्थितिमा ठूलो परिवर्तन आएको छ। अहिले हामी केवल श्रम उत्पादन गर्छौं। र त्यही एक श्रम उत्पादन गरेर, त्यसलाई बजारमा बिक्री गरेर, बिक्रीबाट प्राप्त रकमले जीवन निर्वाहका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री बजारबाट खरीद गर्छौं। आफूले श्रमबाहेक केही पनि उत्पादन नगर्ने र बहुसङ्ख्यकले यस्तै गर्ने भएकाले हामी आफ्नो श्रम बेच्न बाध्य छौं। हाम्रो श्रम बिक्री गर्न हामीलाई बजार चाहिन्छ। हामीले श्रम बिक्री गर्नुपर्छ र यस्तो गर्न हामीलाई बजार अवश्य नै चाहिन्छ । बजारमा पुगेर हामीले व्यापार गर्नुपर्छ। अर्थात् आफूसँग रहेको श्रम बिक्री गरेर आपूmलाई आवश्यक पर्ने अनेक सामग्री बजारबाट खरीद गर्नुपर्छ। यो युगमा व्यापार हाम्रो लागि यस कारण आवश्यक हुन पुगेको छ। अति महत्वपूर्ण यसरी हुन पुगेको छ।

एकातिर व्यापार हाम्रो लागि अति महत्वपूर्ण हुन पुगेको छ भने अर्कोतिर स्थानीय एवं राष्ट्रिय व्यापारको विकास हुन सकिरहेको छैन। के कस्ता कारणले गर्दा हाम्रो राष्ट्रिय व्यापारको विकास हुन सकिरहेको छैन, आउनु होस् त्यसबारे चर्चा गरौं।

१. छिटो धनी हुने प्रवृत्तिः हामी जब व्यापारको स्थापना वा आरम्भ गर्छौं, त्यस्तो गरेको एक वर्षभित्र नै धेरै मुनाफा कमाएर करोडपति बन्ने उद्देश्य राख्छौं। व्यापार आरम्भ गरेको दुई–चार वर्षपछि मुनाफा होला भनेर कुर्दैनौं। मुनाफा नभएको दोस्रो वर्ष नै व्यापार बन्द गर्ने सोच राख्छौं। आज व्यापार ग-यो, भोलि करोडपति बन्ने हाम्रो प्रवृत्तिले गर्दा पनि हाम्रो राष्ट्रिय व्यापारको विकास हुन सकिरहको छैन। हाम्रो राष्ट्रिय प्रवृत्ति नै छिटो धनी बन्ने रहेको छ। तर व्यापार आरम्भ गरेको चार वा पाँच वर्षपछि मात्र राम्रो किसिमको मुनाफा प्राप्त हुन्छ। पहिलो, दोस्रो, वा तेस्रो वर्षसम्म मुनाफा पटक्कै नहुन सक्छ। 

२. अनुभव साझा गर्ने परम्पराको अभावः हामी कहाँ सफल वा अनुभवी व्यापारीहरू आफ्नो सफलताको कथा वा अनुभव व्यापार गर्न खोज्ने वा सिक्नेहरूलाई सुनाउने चलनको सर्वथा अभाव छ। यस्तो किन भएको हो बुझ्न कठिन छ। सफल वा अनुभवी व्यापारीहरूले आफ्ना सन्तान वा परिवारका अन्य सदस्यलाई आफ्नो व्यापारिक अनुभव सिकाउँछन् तर व्यापार गर्न खोज्ने अन्य व्यक्तिलाई सिकाउँदैनन्। आफ्नो व्यापारको गोप्यता वा सूत्र सार्वजनिक होला भनी सोच्छन्, डराउँछन्। त्यस्तो सोच्नु सङ्कीर्ण प्रवृत्ति राख्नु हो। राष्ट्रिय व्यापारको विकास होस्, देश धनी होस् भन्ने फराकिलो उद्देश्य राखेर त्यस्ता व्यापारीहरूले आफ्नो अनुभव सर्वसाधारणलाई साझा गर्नुपर्छ। विदेशतिर सफल व्यापारीहरूले आफ्नो अनुभव सर्वसाधारणलाई साझा गर्ने चलन मात्र होइन, अनेक संस्था नै स्थापना भएका हुन्छन् जुन संस्थामा पुगेर अनुभवी एवं सफल व्यापारीहरूले आफ्नो अनुभव साझा गर्छन्।

३ व्यापारिक प्रवृत्तिको अभाव: केही दशक पहिलेसम्म व्यापार कुनै निश्चत वर्गले गर्ने हो भन्ने मान्यता हाम्रो समाजमा व्याप्त थियो। तराईतिर केही निश्चित जातीय समूह, जस्तै मारवाडीहरू व्यापारमा बढी संलग्न हुन्थे भने पहाडतिर नेवारहरू। केही जातीय समूह भने व्यापार गर्नु आफ्नो परम्पराविरुद्ध हो भनी ठान्थे। व्यापारलाई अन्य पेशाजस्तो लिने गरिन्थ्यो। सरकारी जागीरलाई सम्मानित पेशा मानिन्थ्यो। बहुसङ्ख्यक व्यक्तिले व्यापारलाई पेशाको रूपमा अङ्गीकार गरेको पाइन्थ्यो। यस किसिमको सोच अहिले पनि हाम्रो समाजमा व्याप्त छ। अहिले पनि बहुसङ्ख्यकले व्यापार गर्ने रुचि देखाएको पाइँदैन। राष्ट्रिय व्यापार विकासको लागि यो प्रतिकूल स्थिति हो।

४ त्रुटिपूर्ण शिक्षा नीति: हाम्रो जीवनमा व्यापारको महत्व कति छ भन्ने कुरा माथि नै उल्लेख गरिसकियो। विडम्बना! यति महत्वपूर्ण व्यापार, तर व्यापार सिकाउने हाम्रो शिक्षा प्रणालीमा कुनै व्यवस्था छैन। हाम्रा स्कूल एवं विश्व विद्यालयहरूले पनि विद्यार्थीहरूलाई केवल सैद्धान्तिक शिक्षा प्रदान गर्छन्। व्यावहारिक ज्ञान दिंदैनन्। केही वर्ष पहिलेसम्म पनि हामी कहाँ कपाल काट्ने, लुगा सिउने, गाडी मरम्मत गर्ने, स्टोभ बनाउने, भवन निर्माण गर्ने जस्तो जनशक्ति उपलब्ध थिएन। त्यस्तो जनशक्ति भारतबाट आउँथ्यो र रोजगार पाउँथ्यो। अहिले पनि हाम्रा स्कूल, कलेजहरूले बेरोजगारी उत्पादन गर्ने कार्य गरिरहेका छन्। व्यापार गरेर जीवन निर्वाह गर्न सकिन्छ भन्ने ज्ञान सिकाउँदैनन्, व्यापार गर्ने तरीका सिकाउँदैनन्। शिक्षा पूर्णरूपमा कर्मकाण्डी छ।

५ सानो काम ठूलो काम: कामलाई सर्वाधिक महत्व दिएर जुनसुकै काम पनि पूर्ण गौरव एवं सन्तुष्टिपूर्वक गर्ने चलन हाम्रो समाजमा छैन। तथाकथित सानो भनिएका कार्य गर्नेलाई अहिले पनि हाम्रो समाजमा इज्जत दिने चलन छैन। तथाकथित ठूलो काम गर्नेलाई इज्जत दिने र सानो काम गर्नेलाई हेप्ने हाम्रो चलनले गर्दा पनि हाम्रा युवाहरू देशभित्र सानोतिनो काम गर्न रुचाउँदैनन् तर त्यही वा त्यस्ता किसिमका काम विदेशमा खुशीखुशी गर्छन्। 

नेपालमा भाँडा माज्ने कम पनि गर्ने भन्नेहरू अमेरिका, अस्ट्रेलिया, बेलायत पुगेर त्यही भांडा माज्ने काम खुशी भएर गर्छन्। भाँडा माज्ने कार्यलाई हामीले सम्मान नदिएकोले त्यस्तो भएको हो। सबै काम महत्वपूर्ण हुन्छ। काम सानो वा ठूलो हुँदैन। काम गर्न पाउनु गौरवको कुरा हो। यस्तो भावनाको विकास हाम्रो समाजमा हुन सकेको छैन। यो कारणले पनि सानो वा ठूलो जस्तो पनि काम हाम्रा युवाहरू विदेशमा गएर गर्न तयार हुन्छन् नेपालमा भने गर्दैनन्।

६ अति राजनीतिः हाम्रो समाजमा राजनीति अति नै व्याप्त छ। शहर मात्र होइन, गाउँगाउँभित्र राजनीति पसेको छ। तर विकासको लागि होइन, व्यक्तिगत स्वार्थको लागि राजनीतिले अति महत्व पाएको छ। स्थिति यस्तो भएकोले युवाहरू आफैं कुनै रोजगार सृजना गरेर, आफैंले आफ्नो लागि कुनै रोजगार सृजना गर्ने तर्फ लाग्नुको सट्टा कुनै दल वा कुनै नेताको झोला बोक्न तयार हुन्छन्। व्यापार गर्नतिर लाग्दैनन् । अहिले एकथरी समूहमा राजनीति राम्रो पेशा हुन पुगेको छ। नेताको झोला बोक्नु रोजगारको राम्रो स्रोत हुन पुगेको छ। एउटै व्यक्तिलाई सातपटक प्रधानमन्त्री तुल्याएर आउने सात पीढीसम्मलाई बेरोजगारी बनाउन कुनै दल वा नेताको झोला बोक्नुको सट्टा स्वाभिमानसहित स्वयं कुनै व्यवसाय सञ्चालन गरेर जीवनयापन गर्ने सोच अहिले पनि धेरै युवामा पलाउन सकेको छैन।

७ नयाँ व्यवसाय सृजना गर्ने प्रवृत्तिको अभावः परम्परागतरूपमा चलेका व्यापारकै अनुसरण गर्दै त्यस्तै व्यापार गर्ने तर नयाँ व्यापार सृजना नगर्ने चलन, हाम्रो समाजमा व्याप्त छ।

होटल, रेस्टुरेन्ट, पसल सञ्चालनजस्ता व्यापार परम्परागत व्यापार हो । तर जस्तै ट्विटर, फेसबूक, गुगल आदिजस्ता नयाँ व्यापार आविष्कार गर्नु भनेको परम्परागत व्यापारको अनुसरण नगरेर नयाँ व्यापारको विकास गर्नु हो। माथि उदाहरणमा भनिएझैं हाम्रो समाजमा नयाँनयाँ व्यापार विकास गर्ने चलन पटक्कै छैन। विदेशमा विकास भएका व्यापारहरूको अनुसरण मात्र गर्ने सोचले हामी थिचिएका छौं। तर राष्ट्रिय व्यापारको विकास गर्न नयाँनयाँ व्यापार सृजना गर्न आवश्यक हुन्छ। विश्वमा सर्वाधिक नयाँ व्यापारको सृजना अमेरिकामा हुने भन्ने गरिन्छ।

नेपालमा व्यापारको विकास नहुनुको मुख्य कारण भने राष्ट्रिय राजनीति सदा अस्थिर रहनु हो । नेताहरूको स्वार्थी चरित्रले गर्दा नेपालको राजनीति २०४६ देखि अस्थिर रहँदै आएको छ। २०५२ सालपछि, माओवादनीहरूको ‘जनयुद्ध’ पछि, नेपालको राजनीति अकल्पनीय किसिमले अस्थिर हुन पुग्यो। नेताहरूमा इमानदारीको उच्च अभाव देखियो। आफ्नो स्वार्थ पूर्तिका लागि नेता जे पनि गर्न सक्ने स्थितिमा पुगे। सातपटक नेपालको प्रम हुने इच्छा राख्नु लाजको विषय बनेन, प्रतिष्ठाको विषय बन्न पुग्यो।

नेपालको अस्थिर राजनीतिलाई एकातिर पन्छाएर कुरा गर्ने हो भने माथि भनिएका कारणहरूले नेपालको व्यापारको विकास हुन सकिरहेको छैन। माथिका कारणहरू राष्ट्रिय व्यापार विकासका बाधक तत्व बन्न पुगेका छन्।



विश्वराज अधिकारी

akoutilya@gmail.com

Published in Prateekdaily: Friday, December 08, 2023

https://eprateekdaily.com/2023/12/08/59441/



Friday, December 1, 2023

The Causes of Present Struggle in Nepal is Nation's Weakening Economy-Article- 434

 र्तमान अन्दोलनको मुख्य कारण आर्थिक समस्या

अहिले आर्थिक क्षेत्रमा लेख्नुपर्ने विषयहरू धेरै छन्। विप्रेषणले देशको अर्थतन्त्रलाई बिरामी अवस्थामा पु-याउँदै छ। देशका उद्योग र व्यापार सुस्त गतिमा छन्। कतिपय व्यापारहरू बन्दसमेत हुँदैछन्। देशमा जनशक्तिको अभाव भएर राष्ट्रिय कृषि दयनीय अवस्थामा पुगेको छ। पर्यटन क्षेत्रले गति लिन सकेको छैन। राष्ट्रिय उत्पादन घटेर नेपाल छिमेकी राष्ट्र (भारत र चीन)को भरपर्दो बजार बन्दै गएको छ। बेरोजगारीका कारण युवाहरूमा चरम निराशा छ। यस्ता अनेक विषयहरू छन्, लेख्नुपर्ने। तर यी सबैभन्दा महŒवपूर्ण विषय भनेको हाल नेपाल अशान्त हुनुको कारण खोज्नु रहेको छ। त्यसैले त्यस उपर चर्चा परिचर्चा गर्नु रहेको छ।

नेपाल अहिले अशान्त हुनुको मुख्य कारण भनेको आर्थिक नै रहेको छ। विभिन्न व्यक्ति र संस्थाहरू वर्तमान सरकार, सरकारका घटक दल र अन्य दलहरूको विरोधमा सडकमा आउनुको मुख्य कारण आर्थिक नै रहेको छ। अहिले जनता वर्तमान सरकारको विरोधमा सडकमा आएका हो। पुष्पकमल दाहाल, माधवकुमार नेपाल, शेरबहादुर देउवा, झलनाथ खनाल, बाबुराम भट्टराई, केपी शर्मा ओली आदिका कार्यशैलीको विरोधमा आएको हो। उनीहरूको सत्तामुखी प्रवृत्तिको विरोधमा सडकमा आएको हो। राष्ट्रिय राजनीतिलाई हामीले हाम्रोवरिपरि घुमाउन सक्छौं भन्ने उनीहरूको मनोमानी एवं दम्भको विरोधमा सडकमा आएको हो।

अहिले जनता सडकमा वर्तमान राजनीतिक व्यवस्थाको विरोधमा आएको होइन। वर्तमान राजनीतिक व्यवस्थामा सुधार होस् भन्ने माग लिएर जनता सडकमा आएको हो। जनता सङ्घीयता र गणतन्त्रको विरोधमा सडकमा आएको हो। जनता प्रजातन्त्रको विरोधमा सडकमा आएको होइन।

तर जनता प्रजातन्त्रको विरोधमा सडकमा आएको हो भन्ने भ्रम पार्न अनेक व्यक्ति र संस्थाहरू लागिपरेका छन्। सरकारमा रहेका दललगायत अन्य केही दलहरू पनि आफ्नो असफलता र अलोकप्रियता ढाक्न वर्तमान जनसङ्घर्ष प्रजातन्त्रको विरोधमा रहेको प्रचार गर्दैछन्। जुन नेता (दाहाल, देउवा, ओली आदि)हरूको असफल कार्यशैलीका कारण जनता सडकमा आयो, उनीहरू नै चर्को स्वरमा जनता प्रजातन्त्रको विरोधमा सडकमा आएको हो भन्दैछन्। जनताको ध्यान उनीहरूको दोषतिर होइन, अन्यत्र जाओस्, त्यस्तो रणनीतिसहित बोल्दैछन्।

खासमा भन्ने हो भने नेपालमा अहिले प्रजातन्त्र छैन, गणतन्त्र छ। दुई/चार नेताहरूको मनोमानीतन्त्र छ। यो गणतन्त्र होइन, दुई/चार नेताहरूको मनोमानीतन्त्र रहेको सत्य जगजाहेर छ।

अहिले नेपालमा संवैधानिक राजतन्त्र पनि छैन। कसको इच्छामा गणतन्त्र आयो र प्रजातन्त्र गयो? कसको इच्छामा संवैधानिक राजतन्त्र गयो? त्यो त आउने समयले प्रस्ट पार्नेछ तर एउटा कुरा के प्रस्ट छ भने नेपालमा गणतन्त्र स्थापना र संवैधानिक राजतन्त्रको समाप्ति जनताको इच्छा अनुसार भएको थिएन। जनताको इच्छा अनुसार नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा पनि गरिएको थिएन। २०४६ सालमा भएको जनसङ्घर्ष पञ्चायती व्यवस्थाको विरोधमा भएको थियो। नेपालबाट सदाका लागि राजतन्त्र समाप्त पार्ने भनी न त एमालेको, न त नेपाली काङ्ग्रेसको, उक्त सङ्घर्षको एजेन्डामा थियो। नेपालबाट सदाका लागि राजतन्त्र समाप्त पार्ने दुवै दलको राजनीतिक एजेन्डा थिएन। राजतन्त्र समाप्त पार्ने केवल माओवादीको एजेन्डा थियो।

यो लेखको उद्देश्य राजनीतिक विश्लेषण गर्नु होइन। तर नेपालको राजनीतिले राष्ट्रको अर्थतन्त्रलाई कति कमजोर तुल्यायो, त्यो भने विश्लेषण गर्नु हो। गणतन्त्रको नाममा भएको लुटतन्त्रले देशको अर्थव्यवस्थालई कतिसम्म र कसरी बर्बाद पा-यो, त्यो विश्लेषण गर्नु हो। केही नेताहरूको मनोमानी प्रवृत्तिले देश आज विप्रेषणमुखी हुनुप-यो, स्वदेशमा रोजगार गुम्यो आदिबारे चर्चा गर्नु हो।

२०४६ सालको राजनीतिक परिवर्तनपछि र खासगरी मुलुकमा गणतन्त्र स्थापना भएपछि देशको अर्थतन्त्रले किन गति लिन सकेन, त्यसबारे हामी यस आलेखमा चर्चा गर्नेछौं। जनता सडकमा आउनुका कारणहरू खोज्नेछौं।

एमाले, नेपाली काङ्ग्रेस र मुख्यगरी माओवादीको कारणले गर्दा देशको अर्थतन्त्र धराशयी हुन पुगेको हो।

राष्ट्रिय अर्थतन्त्रको विकासको लागि शान्ति र स्थिर सरकारको आवश्यकता पर्छ। देशमा शान्ति र स्थिरता भएपछि मात्र स्वदेशी एवं विदेशी लगानीकर्ताहरू लगानी गर्न प्रोत्साहित हुन्छन्। तर सत्ता र कुर्सीमा मात्र अर्जुनदृष्टि राख्ने यी दलका नेताहरू आर्थिक विकासका लागि कहिले एकजुट भएनन्। सदा सङ्घर्षरत रहे। छलकपट गरे। विभाजित रहे। सत्ताका लागि यिनीहरूबीच हुने कलह र दाउपेंचले गर्दा देश कहिले पनि शान्त हुन सकेन। सदा अस्थिर रह्यो। परिणाम, देश कङ्गाल हुन पुग्यो। आफ्नो देशमा रोजगार नपाएर युवाहरू खाडीका अनेक देशलगायत अमेरिका, युरोप, अस्ट्रेलिया, अफ्रिकासम्म पुग्नुपर्ने भयो। देशको आफ्नो उत्पादन घटेर राष्ट्र पूर्णरूपमा विप्रेषणमा आश्रित हुन पुग्यो।

देशमा आर्थिक विकास नहुनुका मुख्य कारण एमाले, नेपाली काङ्ग्रेस र माओवादीले निरन्तर देशमा कलह मच्चाउनु हो। उनीहरूका स्वार्थी कार्यहरू आर्थिक विकासको बाधक बन्नु हो। देशमा आर्थिक विकासका लागि शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई आदिले मिलेर कार्य गर्नुपथ्र्यो। तर उल्टो सत्ता र शक्तिका लागि यिनीहरूले आफू–आफूबीच नै काटाकाट गरे। एकअर्काको खुट्टा तानाताना गरे। यिनीहरूको व्यवहारले गर्दा नै देशमा आर्थिक विकास हुन नसकेको यथार्थ जनताले बुझेर यी नेताहरूको विरोधमा जनता सडकमा आउँदा अब यिनीहरू एकअर्काको नजीक भएका छन्, मिलेका छन्। आफूहरू चोखिन र जोगिन जनता वर्तमान व्यवस्थाको विरोधमा सडकमा आएको दुष्प्रचार गर्दैछन्। तर जनतालाई अब प्रस्ट थाहा भइसकेको छ, यी नेताहरू नेपाली राजनीतिमा सक्रिय रहेसम्म, वर्तमान राजनीतिक व्यवस्थामा सुधार नभएसम्म नेपालको आर्थिक विकास सम्भव छैन। नेपालको आर्थिक विकासका लागि यी नेताहरूले राजनीतिबाट संन्यास लिनैपर्छ। यी नेताहरूले १०औं पटक प्रधानमन्त्री बन्ने सपना देख्न छोड्नैपर्छ।

अहिलेको जनसङ्घर्षको नेतृत्व दुर्गा प्रसाईंले गरेको जस्तो देखिएको छ। दुर्गा प्रसाईं एक संयोग बढी हुन्, नेता कम हुन्। एक खास अवस्था (राष्ट्रिय गरीबी)ले उनलाई नेताजस्तो तुल्याएको हो। दुर्गा प्रसाईं पहिले सडकमा आउन पुगे, तर जनता पनि उहिलेदेखि सडकमा आउन तयार थियो। वर्तमान व्यवस्थामा सुधारका लागि जनताले आवाज उहिले उठाएको हो, सडकमा मात्र आउन नसकेको हो। जनतालाई दुर्गा प्रसाईंले सडकमा आउन वातावरण तयार पारिदिएका हुन्। दुर्गा प्रसाईंले जनतालाई सडकमा आउन प्रेरित नगरेको भए वा उनी राजनीतिमा यसरी नआएको भए, कालान्तरमा जनता स्वस्फूर्तरूपमा सडकमा आउने थियो। जनता यी नेताहरूको कार्यशैलीबाट थाकेर यिनीहरूको विकल्प खोज्ने मनस्थितिमा पुगिसकेको थियो।

वर्तमान राजनीतिक व्यवस्थामा सुधार नभएसम्म देशको आर्थिक विकास सम्भव छैन। वर्तमान राजनीतिक व्यवस्थामा सुधार हुनैपर्छ।

देशको आर्थिक विकासका लागि गणतन्त्र खारेज हुनुपर्छ। संवैधानिक राजतन्त्रको स्थापना हुनुपर्छ। सङ्घीयता खारेज हुनुपर्छ। निर्वाचन प्रणालीमा रहेको समानुपातिक व्यवस्था सदाका लागि समाप्त हुनुपर्छ। प्रत्यक्ष निर्वाचनबाट प्रधानमनत्रीको छनोट हुनुपर्छ। यी कुराहरूको माग गर्न नै जनता अहिले सडकमा आएको हो। जनता प्रजातन्त्रको विरोध गर्न, समाप्त गर्न सडकमा आएको होइन। जनताका यी मागहरू पूरा हुनैपर्छ।

जनताले खोजेका यी परिवर्तनहरू नेका र एमालेले समयमा बुझोस् र सोही अनुसार कार्य गरोस्। यदि यी दुई जिम्मेवार दलले समयमा नै यी तथ्यहरू बुझेनन् भने यो आन्दोलनले अर्को दिशा पनि लिन सक्छ। र नेपाल थप राजनीति सङ्कटको दलदलमा फस्न सक्छ । वा अर्को तानाशाही व्यवस्थाको उदय हुन सक्छ। देश अन्तर्राष्ट्रिय शक्तिको गोटी बन्न सक्छ। थप रक्तपात हुन सक्छ।

कुनै नेता, राजनीतिक दल वा व्यवस्था निर्विकल्प भने हुँदैन। लामो समयसम्म जनता चुप लागेर बसेको अवस्थालाई यी नेता (देउवा, दाहाल, नेपाल, ओली आदि)हरूले हामीले जे गर्छौं, त्यो जनताले चुपचाप सहनेछ भनी नसोचे हुन्छ। वर्तमानको जनसङ्घर्षले यी नेताहरूलाई त्यही सन्देश दिइरहेको छ।






विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, December 1, 2023

https://eprateekdaily.com/2023/12/01/59085/

 

Friday, November 24, 2023

Nepali Economy Needs Peace not Struggles-Article-433

 नेपालको अर्थतन्त्रले मुठभेड धान्न सक्दैन

नेपालको अर्थतन्त्रले मूठभेड धान्न सक्तैन, नेपालको अर्थतन्त्रले अस्थिरता धान्न सक्तैन। नेपालमा जतिजति अस्थिरता बढ्ने छ, नेपालको अर्थतन्त्र त्यसैगरी उधो लाग्नेछ। स्थिति यस्तै रहेमा, विकासका लागि त परको कुरा, सरकारसँग कर्मचारीहरूलाई तलब तथा पारिश्रमिक दिनसम्म रकम हुनेछैन। नेपालको अर्थतन्त्रप्रति विश्वास उठेर अन्तर्राष्ट्रिय ऋणदाताहरूले ऋण दिने छैनन् भने शर्तसहित प्राप्त हुने विदेशी सहयोगले नेपालको अर्थतन्त्रलाई झनै धराशायी पार्नेछ। राष्ट्रिय राजनीति झनै अस्थिर भएर जानेछ।

अहिले नै पनि नेपालको अर्थतन्त्र दयनीय स्थितिमा छ। देशमा रोजगार छैन। रोजगारको लागि विदेश जानुपर्ने बाध्यता छ। देशको जनसङ्ख्याको एक तिहाई रोजगारको लागि विदेशमा छ। राष्ट्रिय उत्पादन घटेर देश आयातमुखी हुन पुगेको छ। बजारमा सामानको मूल्यले आकाश छोइरहेको छ। यस्तो बेलामा आन्दोलन हुनु भनेको देशलाई आर्थिक रूपमा टाट पल्टिने स्थितिमा पु–याउनु हो। तर देशको आर्थिक स्थिति यस्तो हुँदाहुँदै पनि दुवै समूह नेपालको राजनीति अस्थिर बनाउन उद्धत छन्। जिम्मेवारीपूर्वक व्यवहार गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल एमाले पनि भीडन्ततर्फ उन्मुख भएको छ। एमालेले पनि जुलूस प्रदर्शन गर्नु पूर्णतया गैरजिम्मेवार कार्य हो। मुठभेडको बाटो, हिंसाको बाटो रोज्नु हो। दुर्गा प्रसाई र महेश बस्नेतले नेतृत्व गरेका दुई समूहले नेपालको राजनीतिलाई कुन स्तरमा अस्तव्यस्त पार्ने हो त्यो कुरा अहिले भन्न सकिने स्थिति छैन। मङ्सिर ७ गतेको पछिको स्थितिले भन्ने छ, नेपालको राजनीतिले कुन मोड लिने छ भन्ने कुरा। तर एउटा कुरा प्रस्ट रूपमा के भन्न सकिन्छ भने यी दुई समूहले गर्ने जन प्रदर्शनले नेपालको राजनीतिलाई अस्तव्यस्त पार्नेछ। अस्तव्यस्त राजनीतिको प्रभाव नेपालको अर्थतन्त्रमा पर्नेछ। नेपालको अर्थतन्त्र झनै दयनीय हुनेछ। नेपालका केही क्षेत्रमा जनताले दुई छाक खान नपाउने र भोकमरीको स्थिति नै पनि आउन सक्ने छ। एमालेका नेता महेश बस्नेतले नेतृत्व गरेको एमालेका कार्यकर्ता तथा अभियन्ता कहलिएका राजावादी दुर्गा प्रसाईका समर्थकहरूबीच भीडन्त भएमा, भीडन्तले हिंसा–हत्याको रूप लिएमा, बजारमा अनेक किसिमका हडताल, चक्काजाम, तालाबन्दी जस्ता कार्य हुन सक्नेछ। यस्तो स्थिति भएमा नेपालका दुई क्षेत्र १. उद्योग र व्यापार तथा २. आन्तरिक र बाह्य पर्यटन नराम्ररी प्रभावित हुनेछन्। यी दुई समूह वा एउटै कुनै समूहको विरोध, जुलूस प्रदर्शन लामो समयसम्म चलेमा पर्यटन त झनै नराम्रो स्थितिमा पुग्नेछ। आशान्त देशमा पर्यटकहरू भ्रमणका लागि जाँदैनन् भन्ने जगजाहेर कुरा हो। देशमा अशान्ति बढेमा, निम्न मात्रामा भए पनि अनेक परिवारको रोजगार सृजना गर्ने पर्यटन क्षेत्र पनि सुकेर जानेछ। वर्तमान सरकारका कार्यहरूबाट रुष्ट भएर जनस्तरमा विरोध प्रदर्शन हुनु असामान्य होइन। यस अर्थमा दुर्गा प्रसाई नेतृत्वको समूहले जुलूस प्रदर्शन गर्नु, विरोध गर्नुलाई नौलो, अनौठो वा गैरजिम्मेवार मान्न सकिंदैन। प्रजातन्त्रमा यस्तो गर्न पाइन्छ। तर एमालेजस्तो जिम्मेवार राजनीतिक दल र त्यसका नेताहरू पनि सडकमा आउनु, उनीहरूले जुलूस प्रदर्शन गर्नु अनौठो हो। गैरजिम्मेवार कार्य हो। एकजना सामान्य नागरिक दुर्गा प्रसाईले त्यस्तो गर्नु ठूलो कुरा होइन, तर देशको प्रमुख प्रतिपक्षी सडकमा आउनु र दुर्गा प्रसाई समूहसँग भिडन्त गर्न तम्सिनु अति अनौठो मात्र होइन, हठ हुन पुगेको छ। देशको आर्थिक स्थिति अति दयनीय भएको बेला जुलूस, प्रदर्शन, भिडन्त आदि नगरेर, देशमा स्थिरता कामय गर्न एमाले र यसका नेताहरूले सत्तारूढ दलहरूसँग वार्ता गर्नु पर्ने हो। सहमति र वार्ताद्वारा आर्थिक समस्याको समाधान खोज्नुपर्ने हो। तर यस्तो नगरेर एमाले मुठभेडका लागि तम्सिएको छ। एमालेले दुर्गा प्रसाइ–समूहसँग मुठभेठ किन गर्न खोजेको हो, त्यो प्रस्ट हुन सकेको छैन। यो विषय रहस्यको गर्भमा छ।

एमाले, दुर्गा प्रसाई–समूहसँग मुठभेड गर्न उद्धत हुनुले एमालेको राजनीतिक संस्कार अपरिपक्व हुनु र यसले कुनै पनि समस्याको समाधान हिंसाद्वारा खोज्छ भन्ने कुराको पुष्टि हुनु हो। हुनत विगतमा पनि एमाले प्रतिपक्षमा रहँदा तोडफोड गरेको, जुलूस प्रदर्शन गरेको ताजा इतिहास छ। रेलिंग तोडेको, सडक भत्काएको, जनताको आँखामा झल्झल्ती छ।

एमालेको नेतृत्व केपीशर्मा ओलीले गरिरहेसम्म न एमाले बलियो दल बन्न सक्छ, न नेपालको राजनीतिले स्थिरता पाउन सक्छ। एमाले, माधव नेपालसमूह सँग छुट्टिने, पुष्पकमल दहालासँग जोडिने जस्ता अपत्यारिला कार्यहरू ओलीकै कार्यकालमा भएको हो। र यस्ता कार्यहरू ओलीले एमालेको फाइदाका लागि होइन, आफ्नो फाइदाका लागि गरेका हुन्। अहिले पनि महेश बस्नेतलाई ओलीले नै उचालेका हुन्। ओलीकै बल पाएर महेश बस्नेत उफ्रेका हुन्। तर नेताहरू यसरी उफ्रेर देशको आर्थिक विकास हुँदैन। देशको आर्थिक विकासका लागि नयाँनयाँ सोच चाहिन्छ। नयाँनयाँ योजनाहरू चाहिन्छ। ध्वंस होइन, शान्ति र स्थिरता चाहिन्छ।

अब मूल विषयतिर लागौं। दुर्गा प्रसाई नेतृत्वको समूहले गर्ने विरोध प्रजातन्त्रको विरोध होइन। पूर्णतया वर्तमान व्यवस्थाको विरोध पनि होइन। दुर्गा प्रसाई समूह र दुर्गा प्रसाई प्रवृत्ति समूहको विरोध मुख्यगरी शेरबहादुर देउवा, पुष्पकलम दहाल, केपीशर्मा ओली, माधव नेपाल आदिका कार्यशैलीको विरोध हो। आफ्नो फाइदाका लागि उनीहरूले गरेका राजनीतिक शक्तिको दुरुपयोगको विरोध हो। उनीहरूको असफल नेतृत्व क्षमताको विरोध हो। उनीहरूले उत्पन्न गरेको राजनीतिक अस्थिरताको विरोध हो। देश उनीहरूको अक्षम नेतृत्वको कारण आर्थिकरूपमा टाट पल्टिन थालेको स्थितिको विरोध हो। दुर्गा प्रसाईले केका लागि आन्दोलन गरेका हुन् प्रस्ट हुन सकेको छैन। यदि उनको नेतृत्वमा भएको आन्दोलनले यो व्यवस्था हटाएमा आउने व्यवस्था कस्तो हुने हो त्यो पनि प्रस्ट छैन। दुर्गा प्रसाईले यो आन्दोलन आफ्नो फाइदाका लागि वा जनताको हितका लागि गरेका हुन् त्यो पनि प्रस्ट हुन सकेको छैन। स्तिति अति अन्योलपूर्ण र जटिल छ। त्यस कारण झन चिन्तापूर्ण हुन पुगेको छ।

एउटा कुरा सत्य र प्रस्ट के छ भने दुर्गा प्रसाईको पछाडि लागेको भीड उनका समर्थकहरूको मात्र होइन। नेपाली काङ्ग्रेस, एमाले, माओवादी (पुष्पकमल), मधेसी दलहरूका क्रियाकलापबाट निराश व्यक्ति पनि अहिले दुर्गा प्रसाईको आन्दोलनमा शरीक हुन पुगेका छन्। यी दलका क्रियाकलापबाट जनता निराश छ। निराश जनतालाई आफ्नो आवाज बुलन्द पारिदिने एक व्यक्ति चाहिएको छ। हो, त्यस्तै व्यक्ति बनेर अहिले दुर्गा प्रसाई प्रस्तुत भएका छन्। भोलिका दिनमा दुर्गा प्रसाई बदलिए, आफ्नो स्वार्थमा लागे, जनताको असन्तुष्टिको स्तर यस्तै रह्यो भने जनताको आवाज बुलन्द पार्न पुनः अर्को दुर्गा प्रसाईको उदय हुनेछ।

भविष्यमा उत्पन्न हुन सक्ने हिंसा, उथलपुथल, अराजकताको व्यवस्थापन गर्न नेपाली काङ्ग्रेस, एमाले र माओवादी जस्ता दलहरूले गम्भीर भएर सोच्न आवश्यक छ। यी दलहरूले उठेका विरोधको कुशलतापूर्वक व्यवस्थापन नगर्ने हो भने नेपालको अस्तित्वमाथि नै सङ्कट आउन सक्छ, भारतले हस्तक्षेप गर्ने मौका पाउने छ। चीनले आफ्नो सक्रियता बढाउने छ। देश गृहयुद्धको दलदलमा फस्नेछ।

नेका, एमाले र माओवादी दल र मुख्यगरी यी दलका नेताहरू शेरबहादुर देउवा, केपीशर्मा ओली, पुष्पकमल दहालले यो विषय (दुर्गा प्रसाईको नेतृत्वमा हुने प्रदर्शन) लाई गम्भीरतापूर्वक लिन आवश्यक छ। दुर्गा प्रसाई समूहको विरोध यी नेताहरू (देउबा, ओली, नेपाल, दहाल आदि) को विरोधमा हो, वर्तमान व्यवस्थाको विरोधमा होइन भनी बुझ्न आवश्यक छ। तर अचम्म! दुर्गा प्रसाई समूहको विरोधलाई वर्तमान व्यवस्थाको विरोध भनेर यी नेताहरू (देउवा, ओली, नेपाल, दहाल आदि) पन्छिन खोजिरहेका छन्। आफू चोखो हुन खोजिरहेका छन्।

समस्याको समाधन

मुठभेड र हिंसातर्फ उन्मुख हुन थालेको नेपाली राजनीतिलाई शान्तिको पथमा डो–याउन केही नेताले त्याग गर्न र देशभक्ति देखाउन आवश्यक छ। शेरबहादुर देउवा, केपीशर्मा ओली, पुष्पकमल दहाल, माधव नेपाल, झलनाथ खनाल, महन्त ठाकुर, उपेन्द्र यादव आदिले सक्रिय राजनीतिबाट सन्न्यास लिएर सामान्य नागरिकसरह जीवन बिताउने हो भने नेपालको राजनीतिले गति पाउने छ। देशमा स्थिरता आउने छ। आर्थिक विकासको बाटो खुल्नेछ। यी नेताहरूले राजनीतिबाट सन्न्यास मात्र लिएर पुग्दैन, कुनै पनि किसिमको राजनीतिक क्रियाकलापमा भाग नलिने प्रतिबद्धतासमेत जाहेर गर्नुपर्छ। तर यी नेताहरू नेपालको राजनीतिमा सक्रिय रहेसम्म नेपालमा न राजनीतिक स्थिरता आउन सक्छ, न आर्थिक विकास नै हुन सक्छ। शेरबहादुर देउवा सातपटक, पुष्पकमल दहाल पाँचपटक, ओली चारपटक नेपालको प्रधानमन्त्री भएमा यो देशको आर्थिक विकास हुन्छ भनी कसैको मनमा लागेको छ भने त्यस्तो लाग्नेले आफ्नो बौद्धिक क्षमता आफैंले परीक्षण गर्नुपर्छ।





विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, November 24, 2023

https://eprateekdaily.com/2023/11/23/58717/