Wikipedia

Search results

Friday, June 29, 2018

Nepal-China Relations: Business Opportunities-Article-203


नेपाल–चीन मैत्री र आर्थिक विकास

प्रधानमन्त्री केपी शर्मा ओली चीनको छ दिवसीय औपचारिक भ्रमण समाप्त गरी गत आइतवार (असार १०) नेपाल फर्कका छन्। विगतमा भारतलाई रुष्ट नपार्ने सजगताका साथ नेपाली नेताहरूबाट हुने चीनको परम्परागत भ्रमणभन्दा ओलीको यो भ्रमण पृथक र विशेष महत्वको साबित भएको छ। नेपाली उच्च प्रशाननले यसपटक खुलेर चिनियाँ नेताहरू समक्ष नेपाली धारणा प्रस्तुत गरेको छ भने चीनसँग यस किसिमका सम्झौता गरेमा ‘भारतले के सोच्ने हो’ भन्ने ‘दमित मनोविज्ञान’ बाट चीन पुगेका नेपाली नेताहरू मुक्त रहेको पनि देखिएको छ। विगतमा नेपालबाट चीन पुगेका नेपालका उच्च अधिकारीहरूमा चीन पुगेर के बोल्ने र के बोलेमा भारत रुष्ट हुँदैन भन्ने एक किसिमको मनोवैज्ञानिक दबाब रहने गरेको थियो। त्यो त्रासको निरन्तरतालाई ओलीको भ्रमणले तोडिदिएको छ। नेपाली राजनीतिको लागि यो केवल ‘निर्धारित दिशा परिवर्तन’ मात्र होइन यो एउटा महत्वपूर्ण राजनैतिक उपलब्धि हो, जुन उपलब्धिले नेपाल र नेपालीको स्वाभिमानलाई अझै उच्च पार्नेछ।

    भोलिका दिनमा नेपाल–चीन सुमधुर सम्बन्धबाट के कस्ता आर्थिक फाइदहरू नेपाललाई प्राप्त होला, ती कुराहरू भोलिका दिनमा झनै विस्तृतरूपले छलफल गरिएला। तर हालका लागि चीनसँग हात मिलाउँदा एउटा हात पछाडिबाट भारतसँग मिलाउन तयार रहेको भारतीय उच्च अधिकारीहरूलाई प्रदर्शित गर्नुपर्ने नेपाली बाध्यता भने समाप्तिको दिशातर्फ उन्मुख भएको छ। यो नेपालीको राजनैतिक र आर्थिक इतिहासमा ठूलो उपलब्धि हो। यो उपलब्धिले भारतप्रति नेपालको अति आर्थिक निर्भरतालाई पनि कम पार्दै लग्नेछ। राणा प्रम, राजा त्रिभुवन हुँदै विगतका नेपालका गणतन्त्र सरकारहरूमा पनि  ‘सत्तामा रहन भारत खुश पार’ नीति थियो। देउवा, पुष्पकमल, गिरिजा प्रसाद, केपी भट्टराई पनि यो मनोविज्ञानबाट मुक्त हुन सकेनन्।

    भारतसँग नेपालको सम्बन्ध भारतको अस्थिर विदेश नीतिको कारण नेपालले आफू भूपरिवेष्ठित भएको पीडा समय समयमा दुःखद किसिमले भोग्दै आएको छ। भारतले विगतमा गरेको नाकाबन्दीको कारण दुखेको नेपाली मन अहिले पनि बेलाबेलामा दुख्ने गर्छ। नेपालको त्यो पीडामा कमी ल्याउने कार्य चीनसँग नेपालको बढ्न थालेको गहिरो र मधुर सम्बन्धले क्रमिकरूपमा कम पार्नेछ। तत्कालका लागि भने आश गर्ने आधारहरू तयार भएका छन्।

    ओलीको चीन भ्रमणको समयमा चीनले नेपालको जल विद्युत् विकासमा विशेष किसिमको सहयोग गर्ने वचन दिएको छ। यसैगरी नेपालामा सिमेन्ट कारखानाको निर्माण, फलफूल उद्योगको स्थापना, सिंचाइ विस्तार आदिमा सहयोग गर्ने वचनबद्धता पनि व्यक्त गरेको छ। साथै केही नेपाली वस्तु खरिद गरिदिने पनि उल्लेख गरेको छ। तर माथि भनिएका क्षेत्रहरूमा चीनले गर्ने सहयोगहरू भन्दा महत्वपूर्ण सहयोग भने चीनले नेपाल–चीनबीच रेलसेवा स्थापना गर्न आर्थिक र प्राविधिक क्षेत्रमा उसले गर्ने सहयोग महत्वपूर्ण हुनेछ।

    नेपाललाई चीनसँग रेलले जोड्ना साथ नेपालको पर्यटन र व्यापार दुवै क्षेत्रमा उल्लेखनीय सुधार आउने छ। संसारको सर्वाधिक (जनसङ्ख्याको अधारमा) ठूलो देशसँग प्रत्यक्ष सम्बन्ध हुनुले नेपालको पर्यटन विकासमा खास किसिमको योगदान पुग्ने विषयमा कसैले पनि शङ्का नलिए हुन्छ। आम चिनियाहरूको बढ्दो आम्दानीले उनीहरूलाई विदेश भ्रमणमा जान सजिलो पारिदिएको छ। लुम्बिनी, काठमाडौ एवं अन्य स्थानहरू चिनियाँ पर्यटकहरूका लागि विशेष महत्वको अवलोकन स्थल हुनेछ भने तिब्बत हुँदै काठमाडौं आउँदा चिनियाँ पर्यटकहरूले विभिन्न मोहक पहाडी दृश्य अवलोकन गर्न पाउने छन्। उत्तरी नेपाल र दक्षिणी चीनमा बसोवास गर्नेहरूबीच खानपान, संस्कृति, विश्वास, परम्परा आदि निकै मिल्ने हुनाले नेपाली पक्ष रेलसेवाबाट निकै लाभान्वित हुनेछ।

    चीन संसारको सर्वाधिक दोस्रो ठूलो अर्थ व्यवस्था भएकोले नेपालले सामान्य वस्तु वा सेवाहरू चीनलाई बिक्री गरेर राम्रो आम्दानी आर्जन गर्न सक्ने सम्भावना अति क्षिण छ। त्यसकारण नेपालले छानेर त्यस्ता वस्तु र सेवाहरू चीनलाई बिक्री गर्नुपर्छ जुन बिक्री गर्दा, खास वस्तु वा सेवा भएको कारणले नेपाललाई फाइदा होस्।

    . नेपालले चीनलाई त्यस्ता वस्तुहरू बिक्री गर्नुपर्छ जुन चीनमा उत्पादन हुन सक्दैन वा उत्पादन हुन सक्ने भए पनि उत्पादन लागत अत्यधिक उच्च होस्।

    . नेपालले चीनलाई त्यस्ता वस्तुहरू बिक्री गर्नुपर्छ जसको उत्पादन गर्नमा केवल नेपालीहरूले मात्र कुशलता प्राप्त गरेका छन्। चीनमा उत्पादन गर्न सम्भव नहोस्। जस्तै काठ र धातुका नेपाली कला झल्किने मूर्तिहरू।

    . नेपालले चीनलाई त्यस्ता वस्तुहरू उत्पादन गरेर बिक्री गर्नुपर्छ, जुन प्राकृतिकरूपमा केवल नेपालमा मात्र निर्माण गर्न सकिन्छ।

    तर प्रमुखरूपमा चीनले नेपाललाई व्यापारिक सहयोग गर्न सक्ने क्षेत्र भनेको पर्यटन हो। यसका लागि चीनले दुईटा काम मुख्यरूपमा गर्नुपर्ने हुन्छ। 

पहिलो, तिब्बतदेखि नेपाली सीमासम्म रेलसेवा निर्माण गर्न नेपाललाई आर्थिक र प्रावधिक सहयोग गर्ने। नेपालले निर्माण गर्न नसके चिनियाँ पक्षले नै निर्माण गरिदिने। 

दोस्रो, धेरैभन्दा धेरै चिनियाँ पर्यटकहरूलाई नेपाल भ्रमणमा जान चिनियाँ अध्यागमन नियमलाई झनै सजिलो र खुकुलो तुल्याइदिने।

    नेपालले पनि चिनियाँ पर्यटकहरूलाई आकर्षित गर्न विभिन्न कार्यहरू गर्न आवश्यक छ। चिनियाँ पर्यटकहरूलाई प्रवेश बिन्दुमा नै ‘भिसा’ दिने, भिसा शुल्क कम लिनेजस्ता सहयोग नेपाली पक्षले गर्न आवश्यक छ।

    वर्तमान परिस्थितिमा नेपालले चीनसँग लिन सक्ने व्यापारिक फाइदा भनेको पर्यटनको क्षेत्र हो। यो नै एक राम्रो लाभ सृजना गराउने किसिमको क्षेत्रको रूपमा देखिएको छ। अन्य सामान्य व्यापारिक वस्तुहरू बिक्री गरेर चीनबाट फाइदा गर्न सक्नु भनेको केवल सपना हुनेछ।

    चीन र नेपालबीच रेलसेवा निर्माण हुन सके र त्यो रेल सेवा विद्युतीय हुन सके नेपालको कायाकल्प नै हुने थियो। तिब्बतबाट काठमाडौसम्म पहाड र खोलाहरू भएकोले नेपालले साना खोलाहरू उपयोग गरेर थोरै थोरै मात्रामा भए पनि जल विद्युत् उत्पादन गर्ने सक्ने र त्यो जल विद्युत् रेलसेवामा प्रयोग गर्न सक्ने उच्च सम्भावना छ। चीनतर्फको रेलसेवा निर्माण र विस्तारलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राख्नुपर्छ। यो रेलसेवाले भारतप्रति नेपालको ठूलो आर्थिक निर्भरतालाई कम पार्नेछ र नेपालको निर्यात बढ्ने छ।

विश्वराज अधिकारी
Friday, June 29, 2018


Friday, June 22, 2018

Business Importance of China Visit-Article-202


चीन भ्रमणको आर्थिक महत्व

    गएको मङ्गलवारदेखि प्रम केपी ओलीको चीन भ्रमण प्रारम्भ भएको छ। भ्रमणको प्रमुख उद्देश्य सुस्पष्ट न पारिए पनि यो भ्रमण केवल परम्परागत भ्रमण, सद्भावना भ्रमण मात्र हो भन्नमा कुनै द्विविधा हुनुपर्ने देखिंदैन। जसरी केही समय पूर्व ओलीले भारतको सद्भावना भ्रमण गरे, उनको चीनको यो भ्रमण पनि केवल सद्भावना भ्रमण हो। र सद्भावना भ्रमणमा नै सीमित रहने छ। सद्भावना भ्रमण भएकोले ओलीले यति ठूलो टोली चीन भ्रमणमा लग्नुपर्ने कुनै आवश्यकता थिएन। २०–२५ जना विभिन्न क्षेत्रका विज्ञहरूलाई आफ्नो साथमा लगेको भए हुने थियो। स्मरण रहोस्, ओली १ सय २० जना सम्मिलित टोलीको नेतृत्व गर्दे चीन पुगेका छन्।

    यति ठूलो टोली साथमा लिएर प्रम केपी ओली किन चीन पुगे त? यो प्रश्न जटिल नभएकोले यसको उत्तर पनि जटिल छैन। जसरी नेपाल तपाईंहरूको घनिष्ठ मित्र हो, तपाईंहरूको चिन्ता र चाँसोलाई नेपालले सर्वाधिक महत्वपूर्ण प्राथमिकतामा राखेको छ भन्ने कुरा प्रदर्शित गर्न ठूलो टोली लिएर केही समय पूर्व ओली भारत पुगेका थिए, त्यसैगरी दक्षिण एसियाको राजनैतिक शक्ति सन्तुलनमा नेपाल तपाईंहरूका लागि भरपर्दो मित्र मात्र होइन, एउटा  ‘रणनीतिक साझेदार’ पनि हो भन्ने कुरा प्रदर्शित गर्न ओली दलबलका साथ चीन पुगेका हुन्। आफू स्वयं कम्युनिस्ट रहेको तथा कम्युनिस्ट सरकारको नेतृत्वसमेत गरेकोले आफ्नो कार्यकालमा कम्युनिस्ट चीनसँग नेपालको परम्परागत सम्बन्ध झन् बलियो र विश्वासिलो हुने कुरा पनि चीनलाई प्रदर्शित गर्ने उद्देश्य ओलीको रहेको प्रस्ट हुन्छ। एमालेको स्थिति नेपालमा बलियो पार्न चीनले एमालेलाई सहयोग गरोस् भन्ने अपेक्षा पनि ओलीले गरेका छन्। चीन अहिले दक्षिण एसिया मात्र होइन, विश्वमा नै एउटा नेतृत्ववादी शक्ति राष्ट्रको रूपमा स्थापित हुन खोजिरहेको छ, अमेरिकाझैं। यस्तो बेला उसलाई त्यस्तो राजनीतिक साझेदार चाहिएको छ, जसले उसको स्वरमा स्वर मिलाएर कराओस्, स्याल कराएझैं। कम्युनिस्ट (ओली) सरकार चीनलाई नेपाल चीनको भरपर्दो साझेदार रहेको तथ्य आश्वस्त पार्न चाहन्छ। 

    जसरी ओलीको भारत भ्रमण एक सद्भाव भ्रमण वा राजनैतिक भ्रमण थियो, उनको चीनको यो भ्रमण पनि केवल सद्भाव वा राजनीतिक भ्रमण हो। उनको यो भ्रमणलाई आर्थिक महत्वको भ्रमण मान्ने आधारहरू अहिलेसम्म देखिएको छैन। भ्रमणपश्चात् वा अन्तिम समयमा के कस्ता सम्झौताहरू हुनेछन्, त्यसबाट केही अनुमान गर्न सकिए पनि हाललाई चीन भ्रमणको आर्थिक महत्को सङ्केत कतै देखिएको छैन। हुनत, स्पष्ट रूपमा भन्ने हो भने चीनसँग नेपालले आर्थिक (व्यापारिक) फाइदाहरू लिन असामान्य गृहकार्य नै गर्नुपर्छ । सामान्य गृहकार्यले पुग्दैन। चीन पक्का ‘बनिया’ देश हो, जसले नेपालमा लगानी केवल फाइदा हुने स्थिति छ भने मात्र गर्छ। मैत्री वा भावनाको भरमा गर्दैन। चीनले अहिले ‘बनिया’ रूप धारण गरेको स्थितिमा चीनबाट यही अपेक्षा गर्न सकिन्छ, चीनले मञ्चमा जस्तै कुरा गरे तापनि। 

    हुनत केही समय पूर्व ओलीले गरेको भारत भ्रमण पनि आर्थिक महत्वको थिएन। केवल राजनैतिक महत्वको थियो। मात्र नेपालले भारतलाई पाइला पाइलामा साथ दिनेछ भन्ने कुरा प्रदर्शित गर्नुरहेको थियो। भ्रमणको उद्देश्य त्यस्तो रहेकोले नै ओलीको भारत भ्रमणको समयमा भारतसँग बढ्दो व्यापार घाटा नेपालले कसरी कम पार्नेबारे नेपाली पक्षले गम्भीर कुरा राख्न सकेन, तातो छलफल वा गहकिलो विचार विमर्श गर्न सकेन। त्यति मात्र होइन, भारतसँग बढ्दो व्यापार घाटा कम पार्न यी विभिन्न तरिकाहरू प्रयोग गर्न सकिन्छ भन्ने तथ्यहरू भारतलाई देखाउन नेपाली पक्षसँग ठोस योजना पनि थिएन। कस्तो अचम्म! भारतसँग चुलिंदै गएको व्यापार घाटा कसरी कम पार्ने, भारतप्रति बढ्दै गएको आर्थिक निर्भरतालाई कसरी कम गर्ने, नेपाल भारतको एपउटा सेटेलाइट अर्थ व्यवस्था हुन थालेको स्थिति नियन्त्रण कसरी गर्नेबारे भारत भ्रमणको समयमा नेपाली पक्षले जोडदार किसिमले आवाज उठाउनुपर्दथ्थो। तर उठाएन। तरिका र योजनाहरू देखाउनुपर्दथ्यो, सकेन।

    दुःखद पक्ष के छ भने नेपालबाट हुने कुनै पनि उच्चस्तरीय विदेश भ्रमणमा नेपाली पक्षले जहिले पनि त्यहाँ (विदेश) पुगेर नेपालका लागि के के आर्थिक सहयोग माग्ने वा हात पसार्ने काममा मात्र बढी जोड दिएको पाइन्छ। नेपाल जहिले पनि विदेश जाँदा ‘याचक’ भएर पुगेको छ। दाताको मुख ताकेको छ। यो स्थिति कहिलेसम्म कायम राख्ने?

    नेपालले अब आफ्नो आर्थिक विकास स्वयं गर्नुपर्छ। आफ्नै स्रोत र साधनहरूको प्रयोग गर्नुपर्छ। सम्भावना प्रशस्त छ। स्रोतहरू प्रशस्त छन्। केवल इच्छाशक्ति र इमानदारी अनि मेलमिलापको खाँचो छ।

    यथार्थमा भन्ने हो भने नेपालले परम्परागत किसिमको व्यापार न भारतसँग, न चीनसँग गरेरे कुनै आर्थिक फाइदा प्राप्त गर्न सक्छ। उच्च प्रविधि र कुशल व्यवस्थापनको प्रयोग गरेर यी दुवै राष्ट्रहरूले ज्यादै सस्तोमा वस्तु वा सेवा उत्पादन गरिरहेका छन्। र संसारभरिमा नै आफ्ना वस्तु सस्तोमा बिक्री गर्न सफल भएका छन्। यस्तो स्थितिमा नेपालले चीन र भारतमा उत्पादन हुन नसक्ने, उत्पादन हुन सके पनि ज्यादै महँगो हुने किसिमका वस्तुहरू उत्पादन गरेर मात्र ती राष्ट्रहरूमा बिक्री गर्न सके फाइदा हुने देखिन्छ। चीन र भारत, दुवैले उत्पादनका विभिन्न क्षेत्रहरूमा ‘इकोनोमी अफ स्केल’ (Economy of Scale) प्राप्त गरेको ले ती राष्ट्रहरूलाई सामान्य वस्तु बिक्री गरेर नेपालले आर्थिक फाइदा गर्न सक्ने सपना नदेखे हुन्छ। यो सपना देखेको हुनाले नै भारतसँग नेपालले ठूलो व्यापार घाटा बेहोर्नुपरेको हो। 

    नेपालले केवल दुई परिस्थिति रहेका वस्तु वा सेवाका उत्पादनका क्षेत्रहरू रोजेर त्यस क्षेत्रका वस्तु वा सेवाहरू उत्पादन गरेर मात्र भारत वा चीनलाई बिक्री गर्नु फाइदा हुन सक्ने देखिन्छ।
    ती दुई परिस्थितिहरू हुन: १) प्रतिस्पर्धात्मक लाभ (Competitive Advantage) २) पूर्ण लाभ (Absolute Advantage)।

    प्रतिस्पर्धात्मक लाभ– प्रतिस्पर्धात्मक लाभ त्यो स्थिति हो जस अन्तर्गत कुनै देश वा कम्पनीले आफ्ना प्रतिस्पर्धीहरू भन्दा सस्तोमा प्रतिस्पर्धीहरू सरहको वस्तु वा सेवा उत्पादन गर्न सक्छ। यो अवस्थमा कम्पनीले, आफ्ना प्रतिस्पर्धीहरूको तुलनामा, विभिन्न किसिमका उत्पादन एवं बिक्री खर्च उच्च बिन्दुमा नियन्त्रण गर्न सकेको हुन्छ। र यी कारणहरूले गर्दा प्रतिस्पर्धीहरू भन्दा सस्तोमा बिक्री गरेर बढी मुनाफा गर्न सक्षम भएको हुन्छ। चीनले अहिले उत्पादनका विभिन्न क्षेत्रहरूमा प्रतिस्पर्धात्मक लाभ प्राप्त गर्न सकेको छ। अमेरिकाले यो लाभ पचास साठ्ठी वर्ष पहिले नै पाप्त गरिसकेको थियो।

    पूर्ण लाभ– पूर्ण लाभ कुनै मुलुक वा कम्पनीले त्यो अवस्थामा प्राप्त गर्न सक्छ जब त्यसले प्रतिइकाइ सस्तोमा उत्पादन गर्न सक्छ। यो अवस्थामा कुनै मुलुक वा कम्पनीले उत्पादनका साधनहरू (भूमि, श्रम, पूँजी, सङ्गठन) कम प्रयोग गरेर ठूलो परिमाणमा वस्तुहरू उत्पादन गर्न सक्छ र प्रतिस्पर्धीहरूभन्दा सस्तोमा बिक्री गरेर बढी मुनाफा प्राप्त गर्न सक्छ। जापान, जर्मनी, अमेरिका आदि उच्च प्रविधि प्रयोग गर्ने मुलुकले कार उत्पादनमा पूर्ण लाभ प्राप्त गरेका छन्।

    नेपालले भारत र चीनबाट पर्यटनको क्षेत्रमा भने राम्रो व्यापारिक लाभ प्राप्त गर्न सक्छ। चीन र भारत अहिले पर्यटनमा राम्रो खर्च गर्ने राष्ट्रहरूमा पर्दछन्। चीन र भारतका ठूलो सङ्ख्यामा रहेका, मध्यमवर्गीय परिवारसँग राम्रो आम्दानी छ र उनीहरूले घुमफिरमा बढी जोड दिन थालेका छन्। उनीहरूको जीवनशैलीमा आएको परिवर्तनले उनीहरूलाई सैरसपाटामा जान प्रेरित गरिरहेको छ। 
नेपालले यो स्थिति वा ‘मारकेटिंग अपरचुनिटी’ लाई प्रयोग गर्ने योजना तत्काल बनाउन आवश्यक छ।
    
चीन भ्रमणको समय प्रम ओलीले नेपालमा कसरी चिनियाँ पर्यटकहरूको सङ्ख्या वृद्धि गर्नेबारे वार्ता केन्द्रित गरे हुन्छ। चिनियाँ यात्रुहरूलाई आउन सजिलो हुने गरी बार्हबिसे वा धुन्चेतिर अन्तर्राष्ट्रियस्तरको विमान स्थल निर्माण गर्न चिनियाँ नीजी कम्पनीहरूलाई ओलीले आग्रह गरे हुन्छ। ती स्थानमा विमान स्थल निर्माण हुने हो भने देश र विदेशमा रहेका नेपालीहरू स्वतः लगानी गर्न तयार हुनेछन्। नेपालमा अहिले पूँजीको कमी छैन। पर्याप्त मात्रा छ। कमी छ भने केवल एउटा स्पष्ट लगानी नीतिको, दीर्घकालिन योजनाको।

विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, June 22, 2018

Friday, June 15, 2018

Importance of Internal Tourism in Economy-Article-201


आन्तरिक पर्यटनको आर्थिक महत्व

आर्थिक महत्व

धनीहरूको पैसा गरिबहरूसम्म पुर्याउन, रोजगारी श्रृजना गर्न एवं राष्ट्रिय आय वितरणलाई सन्तुलित तुल्याउन आन्तरिक पर्यटनको भूमिका महत्वपूर्ण हुन्छ। यसैगरी, स्थानीय स्रोतहरूको विकास एवं संरक्षण गर्न आन्तरिक पर्यटनको भूमिका अग्रणी हुन्छ। तर दु:खद यथार्थ त के छ भने हामी कहाँ वाह्य पर्यटनले महत्व पायो तर अन्तरिक पर्यटनले महत्व पाएन। वाह्य पर्यटनले धेरै महत्व पाएको हुनाले नै काठमाडौमा पर्यटन उद्योगको राम्रोगरी विकास भयो। यस सहरमा अवस्थित सामाजिक, ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्वका कुराहरू अवलोकन गर्न वर्षेनी हजारौका संख्यमा विदेशीहरू आए। वाह्य पर्यटनबाट काठमाडौका नागरिकहरूले राम्रो आय आर्जन गरे। फ्रेन्च, स्पेनिस, इटालियन भाषा सिकेर ती भाषा बोल्न जानेकोले धेरै व्यक्तिहरू ‘टुर गाइड’ भएर पनि निकै राम्रो आम्दानी प्राप्त गरे। टुर गाइडको आम्दानीबाट घर गृहस्थी चलाए। अर्थात टुर गाइड हुनु पनि एउटा राम्रो आम्दानीको पेशा (रोजगारी) हुन पुग्यो। यस किसिमका उदाहरणहरू धेरै छन।
काठमाडौमा ठूला ठूला होटल एवं पर्यटकीय गन्तव्यहरूको विकास भए। तर काठमाडौको तुलनामा अन्य नेपाली सहरहरूमा पर्यटनको विकास शून्य वराबर रह्यो। पर्यटन विकासको लागि ठूलो पूर्वाधार हुँदा हुँदै पनि तराइका दुई सर्वाधिक महत्वपूर्ण पर्यटकीय स्थल ‘जनकपुरधाम’ र ‘सिम्रौनगढ’ सदा ओझलमा रहे। जनकपुरधाम केही चर्चामा रहेता पनि ऐतिहासिक र राजनैतिक महत्वको स्थल सिम्रौनगढ छायामा पर्यो। किन होला? स्थानीयको सक्रियता पुगेन वा स्थानीय एवं केन्द्र सरकारको? जे होस, तराइका सहरहरूमा पर्यटनको प्रयाप्त विकास हुन सकेन। 

के हो आन्तरिक पर्यटन?

अन्य विभिन्न राष्ट्रहरूबाट कुनै राष्ट्र वा राष्ट्रहरूमा विभिन्न व्यक्तिहरू अनेक उद्देश्यका साथ भ्रमणमा आउनु वाह्य पर्यटन हो भने एउटै राष्ट्र भित्रका अनेक स्थानहरूबाट भ्रमण उद्देश्यका साथ त्यस राष्ट्रका विभिन्न स्थानहरूमा व्यक्तिहरू पुग्नु आन्तरिक पर्यटन हो। नेपालमा आन्तरिक पर्यटनको अवधारणाको विकास धेरै पछि मात्र भएको हो। नेपालमा वाह्य पर्यटनले मात्र महत्व पाएको हुनाले नेपालको पर्यटन उद्योग काठमाडौ-केन्द्रित हुन पुग्यो। ठूला ठूला होटल, सूचनात्मक एवं मनोरञ्नात्मक गन्तव्य स्थल, एवं अन्तरार्ष्ट्रिय स्तरको विमानस्थलको विकास केवल काठमाडौ-केन्द्रीत हुन पुगे। जिल्लाका पर्यटकीय स्थलहरू उपेक्षित रहे। जबकी प्रत्येक स्थान (जिल्ला) लाई प्रकृतिले केही न केही विशेष महत्वका कुराहरू प्रदान गरेको हुन्छ र छ पनि। बारा जिल्लाले ‘गढीमाई’ पाए जस्तो। मकवानपुर जिल्लाले चिसापानी गढी पाए जस्तो।
नेपाल जस्तो विकासशील मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ डोर्याउन आन्तरिक पर्यटनले उल्लेखनीय भूमिक खेल्न सक्ने भएकोले यस आलेखमा आन्तरिक पर्यटनको आर्थिक महत्वबारे चर्चा गरिने छ।
 
अर्थशास्त्रमा एउटा भनाइ छ, व्यक्ति (धनी) हरूले जति बढी आर्जन गर्छन त्येति नै उनीहरूमा फाल्तु कुरामा खर्च गर्ने गर्ने प्रवृति बढेर जान्छ। यो नाकारात्मक भनाइलाई सकारात्मक किसिमले हेर्यौ। अर्थात पैसा हातमा परे पछि व्यक्तिहरूलाई तो पैसा विभिन्न किसिमले खर्च गरौ गरौ लाग्छ। त्यो पैसाको प्रयोग उनीहरूले मनोरञ्जन, लुगाफाटो, अन्य किनमेल, घुमफिर (पर्यटन) मा खर्च गर्छन। नेपालको सन्दर्भमा यो भनाइ पूर्णतया लागू हुन नसक्ला। नेपाल वा दक्षिण एशिया क्षेत्रमा पैसा भनेको जसरी पनि जोगाउनु पर्ने र खर्च गर्नु मूर्खता हुने भन्ने धारणा व्याप्त रहेको छ। त्यसैकारण यस क्षेत्रमा व्यापारको राम्रो विकास हुन नसकेको हो। तर विकसित देशहरूमा पैसाको जन्म नै खर्च गर्नका लागि भएको भन्ने धारणा व्याप्त रहेकोले यी मुलुकहरूमा व्यापारको पर्याप्त विकास हुन सकेको हो। तर अव नेपालमा पनि हुनेले पैसा खर्च गर्नु पर्छ भन्ने धारणाको विकास हुन थालेकोले नेपालीहरूले आफूसँग रहेको बचत मनोरञ्जन, किनमेल, घुमफिरमा खर्च गर्न थालेका छन। रोजगारी वा अन्य उद्देश्यका साथ विदेशमा बस्ने नेपालीहरूले नेपालमा बस्ने आफ्ना परिवारहरूलाई पैसा पठाउन थालेकोले नेपालीहरूले पनि विभिन्न किसिमले खर्च गर्न थालेका छन। यस किसिमको परिस्थिति विकासका साथै नेपालमा पनि आन्तरिक पर्यटनको विकासको लागि थप औसरहरू सृजना भएको छ। र यो औसरको अब बलियो किसिमले प्रयोग हुनु पर्दछ। नेपालले आन्तरिक पर्यटन विकासमा जोड दिनु पर्छ।

अहिलेको यो नव परिस्थितिमा, नेपालीहरूमा घुमफिर गर्नु पर्छ भन्ने भावनाको विकास भएको स्थितिमा, तथा वैदेशिक रोजगारीको कारण नेपालीहरूको क्रय शक्ति वृद्धि भएर बढी खर्च गर्न सक्ने स्थितिमा पुगेको सन्दर्भमा नेपालमा आन्तरिक पर्यटनको व्यवस्थित किसिमले विकास हुने सक्ने सम्भावना चुलिएर गएको छ। अव केवल यो सम्भावना वा औसरको बलियो गरि उपयोग गर्न मात्र बाँकि छ।

आन्तरिक पर्यटनले कसरी स्थानीयको आय वृद्धि गर्छ?

आन्तरिक पर्यटनले स्थानीय स्तरमा रोजगारीका अनेक औसरहरू सृजना गरेर राष्ट्रिय आय वितरणलाई सन्तुलित पार्ने प्रयास गर्दछ। तर कसरी?
आन्तरिक पर्यटनमा देश भित्र कै अनेक स्थानहरूमा देशबासीहरू मनोरञ्जनात्मक एवं अन्य उद्देश्यका साथ भ्रमणका लागि पुग्छन। यसरी उनीहरू भ्रमणका लागि विभिन्न स्थानहरूमा पुग्दा उनीहरूले यातायातका साधन, होटल, रेष्टुरेन्ट, पसल, सिनेमा हल आदिको प्रयोग (माग) गर्छन। यी सुविधाहरू स्थानीयले आन्तरिक पर्यटकहरूलाई उपलब्ध गराउँदा विभिन्न किसिमका कार्यहरू गर्नुपर्छ र यसरी विभिन्न किसिमक कार्यहरू गर्दा स्वत: रोजगारी सृजना हुन्छ। अर्थात आन्तरिक पर्यटकहरूले यसरी रोजगारी सृजना गर्छन। स्थानीयको हातमा पैसा पर्ने औसर सृजना गर्छन। विभिन्न स्थानका व्यक्तिहरू विभिन्न स्थानहरूमा पुग्ने र खर्च गर्ने हुनाले विभिन्न व्यक्तिहरूको हातमा पैसा पर्न गएर वा आम्दानीको औसर सृजना भएर राष्ट्रिय आय वितरण कार्य प्रभावकारी हुन पुग्छ वा सन्तुलनतिर अग्रसर हुन्छ। आन्तरिक पर्यटनले गर्दा नै एउटा स्थानको व्यक्ति अर्को स्थानमा पुगेर त्यस स्थानको ग्राहक हुन पुग्छ। आन्तरिक पर्यटन नभएको खण्डमा काठमाडौ वा डडेलधुराको व्यक्तिले बारा स्थित सिमरौनगढ पुगेर विभिन्न सामाग्री वा सेवा खरिद गर्ने प्रश्न नै उठ्दैन। तर आन्तरिक पर्यटनले गर्दा देशका कुना कुनामा रहेका स्थानहरूमा पनि व्यापारिक औसर सृजना हुने गर्दछ किनभने देशको कुना कुनामा पर्यटकहरू पुग्छन। यो कारणले गर्दा नै आन्तरिक पर्यटनको महत्व बढेर गएको हो।
विकसित देशहरूले वाह्य पर्यटनलाई जति महत्व दिन्छन त्येति नै महत्व आन्तिरक पर्यटनलाई पनि दिन्छन। यो कारणले गर्दा विकसित देशमाहरूमा आन्तरिक पर्यटनको पनि पर्याप्त विकास भएको पाइन्छ।

आन्तरिक पर्यटन केवल मनोरञ्जनका लागि मात्र नभएर व्यापार, नोकरी (पेशा), स्वास्थ्य उपचार, शिक्षा, तिर्थाटन, खेलकुद आदको लागि पनि हुने गर्दछ। संयुक्त राज्य अमेरिकाले आन्तरिक पर्यटनमा निकै जोड दिएको पाइन्छ र यहाँका नागरिकहरूले आन्तरिक पर्यटक  भएर  निकै समय बिताएको देखिन्छ। यो कारणले होला अमेरिकाको सानो होस वा ठूलो, वा सबै भन्दा सानो सहर किन नहोस, त्यहाँ (सहरमा) बस्नका लागि मोडेल र खानका लागि रेष्टुरेन्ट अवश्य पाइन्छ। ठूला ठूला सहरहरूमा त झन प्रशस्त मात्रामा होटल, मोटेल र रेष्टुरेन्टहरू संचालित रहेको पाइन्छ।

आन्तरिक पर्यटन स्थलको विकास कसरी गर्ने?

प्रकृतिले दिएको रमणीय स्थल, धार्मिक स्थल, ऐतिहासिक स्थल, प्रचीन संस्कृति आदि आदि आन्तरिक पर्यटकको लागि गन्तव्य हुन सक्छन नै, साथै थप कुराहरु गरेर पनि आन्तिरक पर्यटकको गन्तव्य बनाउन सकिन्छ। एउटा त्यस्तै गन्तव्यको चर्चा गर्नु यहाँ सान्दर्भिक होला।
सुंक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यको मायामी सहर नजिक रहेको एक सहर ‘कि वेस्ट’ पनि आन्तरिक पर्यटकको लागि राम्रो गन्त्व्य हुन पुगेको छ। त्यस्तो हुनुको दुई कारण हरू छन। पहिलो त यो सहरबाट अमेरिकाको छिमेकी मुलुक क्युवा मात्र ९० माइल टाढा छ। अर्थात यो सहर अमेरिकाको छिमेकी राष्ट्रको सबै भन्दा नजिकको सहर हो। दोस्रो, प्रख्यात अमेरिकी उपन्यासकार अर्नेष्ट हेमिंगवेको घर पनि, जसलाई अहिले सङ्ग्राहालय बनाएएको छ, यसै सहरमा छ।

आन्तरिक पर्यटनलाई बल पुर्याएको कि वेस्ट सहर स्थित हेमिंगवेको घरको बारेमा छोटो चर्चा गरौ। यो सहरमा स्थित हेमिंगवेको घर अवलोकन गर्न विदेशबाट हजारौंको संख्यामा पर्यटकहरू आउँछन नै, साथै अमेरिका भित्रबाट पनि हजारौंको संख्यामा व्यक्तिहरू हेमिंगवेको घर अवलोकन गर्न पुग्छन। यसरी हेमिंगवेको घरलाई सुन्दर र आकर्षक गन्तव्य तुल्याइएको छ। अन्तरिक पर्यटनको एक बलियो माध्यमा बनाइएको छ। अर्थात यसरी पनि, प्रख्यात व्यक्तिको घरलाई पनि, आन्तरिक पर्यटनको एक राम्रो गन्तव्य बनाउन सकिन्छ।

नेपालको तराइ (मधेस) क्षेत्रमा पनि, आन्तरिक पर्यटयका लागि विभिन्न गन्तव्यहरू बनाउने सन्दर्भमा, खास गरी वीरगंजमा ‘विद्यापति’, ‘चित्रगुप्त’ वा यस क्षेत्रका चर्चित व्यक्तिहरूको घर वा जीवन, शैली वा परिचयलाई नै पनि अन्तरिक पर्यटकको लागि गन्तव्य बनाउन सकिन्छ। यस्तो गरेर स्थानीयहरूको लागि रोजगारी सृजना गर्न सकिन्छ। आय वृद्धि गर्न सकिन्छ। तर गर्नु पर्यो।

Bishwa Raj Adhikari
akoutilya@gmail.com
प्रतीक दैनिकमा प्रकाशित Wednesday, June 13, 2018

The Budget and Misconception About Development-Article -200


बजेट र विकासप्रतिको गलत अवधारणा

नेपालका अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले हालै (२०१५।२।१५ मा) आब २०७५-७६ का लागि संघीय संसदको संयुक्त बैठकमा केन्द्रीय बजेट पेश गरेका थिए। १३ खर्ब १५ अर्बभन्दा बढीको उक्त बजेटप्रति विभिन्न किसिमका टिका टिप्णीहरू आउने क्रम अहिले पनि जारि नै छ। विपक्षी दलहरूले यो बजेटलाई राम्रो नभनेता पनि नराम्रो पनि भन्न सकेका छैनन। भूतपूर्व अर्थ मन्त्रीहरू एवं अहिलेका चर्चित अर्थविद्हरू एवं विश्लेषकहरूले पनि यो बजेटको खुलेर आलोचना गर्न सकेका छैनन्, र त्येही अवस्था समाचार संस्थाहरूको पनि रहेको छ। यस्तो हुनुको कारण स्पष्ट छ। नेपालको स्रोत एवं साधनको स्थिति तथा जनताको आर्थिक व्यवहार र सत्ता सञ्चालनमा नियम कानूनको व्यवस्थिति एवं निष्पक्ष प्रयोग भन्दा राजनैतिक दलहरूको स्वार्थ माथि रहने हुँदा नेपालमा जुन सुकै राजनैतिक दलले बजेट बनाए पनि स्थिति उस्तै उस्तै रहने भएकोले नै, न त यो बजेट उत्कृष्ट हुन सकेको छ न त अति नै अव्यवहारिक भएर यसको खुलेर कसैले अति आलोचना गर्न सकेको छ। अर्थात बजेट परम्परागत नै छ।

तर यस आलेखमा चर्चा हुन थालेको प्रशंग भने भिन्न छ। विषय बजेट संग सम्बन्धित भएता पनि यस आलेखले बजेटप्रति जनताको मनोविज्ञानलाई गहिरिएर विश्लेषण गर्ने प्रयास गरेको छ। बजेटको आकार, उद्देश्य र कार्यान्वयन भन्दा पनि बजेटप्रति सामान्य जनताको मनोविज्ञान महत्वपूर्ण हुने भएकोले यहाँ जनताको मनोविज्ञानले नेपालको बजेट व्यस्थालाई कसरी प्रभाब पारेको छ त्यसमाथि प्रकाश पार्न खोजिएको छ।

जुन बेलामा प्रचीन र उत्तर प्राचीन राज्यहरू राजाद्वारा सञ्चालित हुन्थे, राजाहरूले जनताबाट कर असुल गरेर विकास निर्माणका कार्य गर्थ्ये वा तोकिएको कारिन्दाहरू द्वारा गराउन लगाउँथे, त्यो बेलामा नागरिकहरू विकासको मूल स्रोत वा जिम्मेवार निकाय ‘राजा’ लाई नै ठान्थे। राज्य वा स्थानीय विकासमा आफ्नो कुनै पनि किसिमको भूमिका नरहेको मान्थ्ये। साथै चाँसो पनि राख्देनन्। विकासप्रतिको त्यो अवधारणा जनतामा अहिले पनि गएको छैन। कपडामा कुनै पक्का रंग चढेझै गरी चढेको छ। अहिले पनि जनताले विकासका लागि जिम्मेबार केवल सरकारलाई देख्छ र विकासमा आफ्नो कुनै पनि किसिमको भूमिका नरहेको ठान्छ। उल्टो विकास नभएकोमा सरकारलाई गालि गर्छ।
बजेट र विकासप्रति जनताको यस किसिमको धारणा सरासर गलत हो। यस किसिमको धारणाले जनतालाई ग्रसित गरिरहे सम्म देशको आर्थिक विकास सम्भव छैन। नेपाल आउँदो पचास वर्ष सम्म गरिब रहि नै रहने छ, उल्टो अनुदान दिएर विभिन्न देशहरूले नेपालमा आफ्नो राजनैतिक प्रभाव बढाएर लग्ने छन। आर्थिक सहयोग बढाएर नै भारतले नेपालमा आर्थिक र राजनैतिक प्रभाव बढाएको हो। यो कारणले गर्दा नै नेपालका नेताहरू दिल्ली पुगे पछि कुनै तिर्थ स्थल पुगेझैं गर्व र सन्तुष्टि महसुस गर्छन। कांग्रेस होस वा कम्युनिष्ट, सबै राजनैतिक दलहरूको कथा यस्तै छ।

बजेट र विकासप्रति नेताहरूको अवधारणा पनि उत्तिकै त्रुटीपूर्ण छ। उनीहरूले पनि चुनावको बेलामा आफ्नो चुनाव क्षेत्रमा सडक, पुल, स्कूल, कलेज, अस्पताल आदि निर्माण गरि दिने वाचा गर्छन। अर्थात ती विभिन्न निर्माणहरूमा लाग्ने खर्चको त कुरा गर्छन तर आम्दानी (बजेट) को कुरा गर्दैनन। ती खर्चहरूका लागि आम्दानी कहाँ बाट जुटाउने बारे मौन रहन्छन। खर्च का लागि आम्दानी जुटाउन पर्छ भन्ने तथ्य उनीहरूलाई पटक्कै थाहा हुँदैन। हुन पनि नेताहरूमा ज्ञानको स्तर निकै कमजोर छ। कतिपयलाई त विकासका सिद्धान्त वा ‘मोडेल’ हरू बारे पटक्कै थाहा छैन। राज्य कसरी आर्थिक रूपमा सञ्चालित हुन्छ भन्ने थाहा छैन। कुसल राजनीतिका लागि उच्च शिक्षा आर्जन गर्नुको साटो कुनै एक राजनैतिक दलको हनुमान भए पुग्ने भएकोले उनीहरूले पनि अध्ययनमा समय खेर फाल्दैनन, सजिलो बाटो, हनुमान बन्नेतिर लाग्छन। गहिरो अध्ययन गर्देनन्।

अर्को, विकासका लागि  जनताको भूमिका एवं सहभागिता आवश्यक भएको तथ्य बुझेका नेताहरूले भने चुनावको बेलामा झूठो बोल्ने गर्छन र विजयी भएमा सडक, पुल आदि निर्माण गरि दिने झूठो वाचा गर्छन। आफूले सरासर झूठ बोलेको तथ्य उनीहरूलाई भलिभाँति थाहा हुन्छ। तर चुनावमा विजयी हुन का लागि बिना हिचकिचाहट सेतो झूठ बोल्छन। केन्द्रको बजेटले चारैतिरका विकास एवं निर्माणका कार्यहरूलाई भ्याउन सक्तैन भन्ने तथ्य उनीहरूलाई थाहा हुन्छ। केन्द्रले, राज्यको आम्दानीले नपुगी विदेशी दातृ संस्थाहरूलाई गुहार्नु परेको कटु सत्य पनि उनीहरूलाई थाहा हुन्छ। देशको बजेटलाई ‘रेमिट्यान्स’ ले धानेको तथ्य पनि थाहा हुन्छ। नेपालको सन्दर्भमा, कुल गार्हस्थ उत्पादनको लगभग ३० प्रतिशत केवल रेमिट्यान्स रहेको र यसले व्यापार घाटा कम पार्नमा उल्लेख्य भूमिका खेलेको तर यो देशको लागि हितकर नभएको तथ्य पनि थाहा हुन्छ। 

आफ्नो क्षेत्र र स्थानको विकासको लागि प्रमुख जिम्मेवारी त्यस क्षेत्रको जनता नै बोक्नु पर्छ। केन्द्रले विकासको लागि बजेट पठाएन भनेर रोइ कराइ वा विरोध गर्नुको साटो आफ्नो क्षेत्रको विकासको लागि आफैले आफ्नो क्षेत्रमा आम्दानीको सृजना गर्नु पर्दछ। यस्तो भएमा मात्र स्थानीय विकास  अनि राष्ट्रिय विकास हुन्छ। अबको यो परिवर्तित परिवेशमा, अंचल र जिल्लाहरूले प्रदेशको आकार ग्रहण गरेको सन्दर्भमा आफ्नो क्षेत्रको विकासका लागि जनता स्वयं क्रियाशील हुन आवश्यक छ। जनताले नै स्थानीय स्तरमा आम्दानी एवं रोजगारीका क्षेत्रहरू पत्ता लगाउन आवश्यक छ। प्रत्येक गाउँ एवं सहरले आफ्नो क्षेत्रमा उपलब्ध रहेको स्रोत एवं साधनहरू खोजी एवं प्रयोग गर्न आवश्यक छ। स्थानीय तहमा कसरी रोजगारी बढाउन सकिन्छ भन्ने बारे सोंच्न आवश्यक छ।

संसारको कुनै पनि देशले, त्यो देश धनी वा गरिब होस, प्रजातन्त्रवादी वा साम्यवादी होस, राज्य प्रशासन सञ्चालन, विकास एंव निर्माणका लागि जनताबाट करको माध्यबवाट आम्दानी प्राप्त गर्छ। जनताबाट प्राप्त कर नै राज्यको लागि नियमित र भरपर्दो स्रोत हुन्छ। हुन त केही सरकारहरूले ‘ऋण पत्र’ जारी गरेर वा ‘ट्रेजरी बिल’ बिक्री गरेर पनि आम्दानी प्राप्त गर्छन। तर मुल रूपमा राज्यको लागि आम्दानीको प्रमुख स्रोत जनताबाट उठाइएको कर नै हो। अर्थात विकासका लागि जनताको कर महत्वपूर्ण हुने भएकोले जनताले पनि आम्दानी गर्न आवश्यक छ र त्यो आम्दानीको केही अंश करको रुपमा राज्यलाई दिन आवश्यक छ। यसरी, कुनै पनि स्थानीय वा क्षेत्रीय विकास लागि प्रमुख जिम्मेवार पक्ष जनता नै हुन आउँछ। जनताले नै कसरी आफ्नो क्षेत्रको आर्थिक विकास द्रुततर गतिमा गर्ने भनी सोच्नु पर्छ। केन्द्रले सोंच्ने होइन।

विकसित देशहरूमा, कुनै गाउँ वा सहरमा कुनै नया व्यवसायी व्यापार वा उद्योग सञ्चालन गर्न आउँदा ती स्थानहरूका मेयरहरू  हर्षित हुन्छन र ती व्यवसायीहरूलाई कुन किसिमले सहयोग गरेर उनीहरूको व्यवसायलाई मुनाफा मूलक पार्न सकिन्छ त्यसतर्फ सोंच्छन। सहरको आर्थिक विकासमा त्यस सहरमा आएर व्यवसाय गर्ने व्यक्तिहरूको भूमिका उल्लेख हुने र उनीहरूले करको माध्यमबाट त्यस सहर वा गाउँलाई आम्दानी गराउने र रोजगरी पनि दिने भएकोले उनीहरूले मेयरबाट स्वागत र सहयोग दुबै पाउँछन। सहरले आम्दानी पाउने भएकोले मेयरहरू उनीहरूलाई बिना कुनै रूकाबाट, बिना कुनै प्रशासनिक झन्झट काम गर्न दिन तयार हुन्छन।

हामी कहाँ स्थिति उल्टो छ। व्यापारीहरूलाई प्रशासनिक झन्झट अधिक दिने चलन छ। ‘कर्मचारीतन्त्र’ ले देशको आर्थिक विकासलाई सुस्त पारेको छ।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, June 8, 2018

Monday, June 11, 2018

The Formulas of Success Part 16

नडराइ समस्याको सामना गर्नु

सुत्र १६

“आए है हम दुनिया मे जिना हि पडेगा, जीवन है अगर जहर तो पिना हि पडेगा।” नडराइ समस्याको समाधन बारेको बयान यस पक्तिबाट शुरू गर्न चाहन्छु। यस पक्तिको शाब्दिक अर्थ हो, यो संसारमा आए पछि बाँच्नु नै पर्छ, यदि जिन्दगी विष हो भने पनि पिउनु नै पर्छ।”

माथिको पङतिको भावार्थ के हो भने यो जिन्दगीमा जस्तो किसिमको दु:खलाग्दो, डरलाग्दो, जटिल, निरस अवस्था आए पनि त्यस किसिमको अवस्थाको समना गर्नु नै पर्छ। समस्यासँग डराएर भाग्नु वा पन्छिन खोज्नु भन्दा समस्याको सामना गर्नु उत्तम हो।

समस्याबाट डराएर भाग्नु भन्दा आइ परेको समस्याको समाधान गर्नका लागि उत्तम तरिका वा विकल्प कुन हो त्यसको खोजी गर्नु पर्छ। अपवाद बाहेक हरेक समस्याले समाधन पनि साथै लिएर आएको हुन्छ। कुनै पनि समाधान नभएको समस्या केवल मृत्यु हो। साथै यस्तै केही अन्य उदाहरणहरू पनि छन। मृत्यु समाधान विहीन समस्या भएता पनि मृत्युलाई छल्ने वा टार्ने बाटाहरू पनि खोजिएका छन्। अर्थात क्यान्सर, हेपेटाइटिस बी, किडनी फेल्युर जस्ता रोगहरूसँग लड्ने औषधीहरूको आविष्कार गरिएका छन् जसको सेवनले आयुलाई लम्ब्याउन वा मृत्युलाई टाल्न सकिन्छ। एक किसिमले मृयुको पनि अस्थायी समाधान खोजिएको छ।

जसरी धेरै सम्पत्ति (पैसा) छ भने जीवनलाई सुखमय र सरल तुयाउने अनेक भौतिक वस्तुहरू खरिद गर्न सकिन्छ त्यसैगरी मानसिक सुख पाइने सबै किसिमका आनन्द (परिस्थिति) हरू प्राप्त गर्न सकिंदैन। यस्तो किन हुन्छ भने हाम्रो जीवनलाई प्रभावित गर्ने सबै घटनाहरू हाम्रो नियन्त्रणमा भित्र हुँदैनन। धरै घटनाहरू स्वतन्त्र किसिमका हुन्छन र ती घटनाहरूले निर्माण गरेको परिस्थिति अनुसार हामी चल्नु पर्ने हुन्छ। लोकप्रियता, सत्ता, सक्ति, कानून, पद, जुन सुकै कुरा द्वारा अति बलियो रहेको व्यक्तिलाई पनि समस्याले पन्छ्याउँछ नै। समस्याले कसैलाई पनि तिमी अति शक्तिसाली छौ भनेर छाडदैन। बीरेन्द्र (राजा), विधान, कानून, परम्परा (राजसंस्था) सबै तत्वहरू हातमा भएर निकै शक्तिसाली थिए। उनी राजा थिए, बाँकि सबै देशबासी उनका प्रजा थिए। तर उनी जस्ता शक्तिसाली व्यक्तिलाई पनि समस्याले छाडेको थिएन। उनको छोरा (युवराज) दीपेन्द्र उनको नियन्त्रणमा थिएनन्। दीपेन्द्र आफ्नो मनोमानी ढगले चल्ने गर्थ्ये। समाचारहरूमा उल्लेख भए अनुसार दीपेन्द्रले नै आफ्ना पिता, माता, भाइ, बहिनी लगायत अन्यहरूको पनि हत्या गरे। राजा बीरेन्द्र ठूलो समयस्या (छोरा आफ्नो नियन्त्रणमा नहुनु) को सिकार हुन पुगे। देशलाई निर्दैशित, अनुशासित गर्ने (राज परम्परा अनुरूपको शक्ति) व्यक्तिले आफ्नो छोरालाई अनुशासनमा राख्न सकेनन। राजा बीरेन्द्रको ठूलो समस्या (अनियन्त्रित छोरा दीपेन्द्र) ले उनको वंशको नै  June 1, 2001 मा विनास गर्यो। जुन इतिहासमा “राज दरबार हत्या काण्ड” को नामले चर्चित छ।

नेपालका शाह वंशीय राजा सुरेन्द्र बिक्रम शाहले राज गद्दी प्राप्त गर्न आफ्ना पिता राजेन्द्र बिक्रम शाह (3 December 1813 - 10 July 1881) लाई जेलमा हालेका थिए। पछि जेलमा नै राजेन्द्रको मृत्यु भयो। केही इतिहासकारहरूको भनाइ अनुसार राजेन्द्रलाई जेल (घरमा नजरबन्द गर्न) हाल्न जङ्गबहादुरले सुरेन्द्रलाई दबाब दिएका थिए। यस्तो गरेर जङ्गबहारदुरले सत्ता प्राप्त गर्ने षडयन्त्र रचेका थिए।

(क) समस्याले कसलाई छाडेको छ र?

भारतका मुगल खान्दानका राजा शाह जहाँ (5 January 1592  – 22 January 1666) लाई उनका छोरा औरङ्जेब ( 3 November 1618 – 3 March 1707)) ले राजगद्दी प्राप्त गर्न जुलाई 1658 मा आफ्नै दरबार (आगरा किल्ला) भित्र जेलमा राखेका थिए। जेलमा नै शाह जहाँको जुलाइ 1666 मा मृत्यु भयो। औरङ्जेबले आफ्ना पितालाई जेलमा हालेर राजगद्दी मात्र प्राप्त गरेनन्, साथै पितालाई जेलमा हालैकै दिन (31 July 1658) आफैले श्रीपेंच लागाएर आफूलाई “आलमगीर” घोषणा गरे। सत्ता प्राप्त गर्नका लागि शाह जहाँका चार छोराहरूमा ठूलो मारकाट भएको थियो। पछि सो युद्ध औरङ्जेबले जितेका थिए। समस्याले त शाह जहाँलाई पनि पन्छ्याएको रहेछ। होइन र?

(ख) समस्यामा परेका भगवान् श्रीकृष्ण

पौराणिक युगमा जाऔ। भगवान् कृष्णले समेत पनि समस्या बेहोर्नु परेको थियो। एक पटक यादव वंशीयहरूमा भीषड युद्ध मच्चियो। त्यो मारकटमा एकले अर्कोको हत्या गर्दा सबै मारिए। युद्धदेखि विरक्त भएर एक रुखको तल एउटा खुट्टा माथि अर्को खुट्टा राखेर, खुट्टा हल्लाउँदै गरेर, कृष्ण बसेका थिए।

पर बाट कुनै सिकारीले मृग देखे छ। त्यो सिकारीले मृगमा माथि वाण प्रहार गरेछ। यथार्थमा त्यो मृग नभएर कृष्णको हल्लिरहेको खुट्टा थियो छ जसलाई सिकारीले मृग ठानेर प्रहार गरेको थियो। त्यो बाणले कृष्णको शरीरमा गहिरो घाउ पर्यो। त्यो घाउको पीडा र असरबाट नै कृष्णको मृत्यु भयो। मानव-शरीरधारी भगवान् श्रीकृष्णले पनि समस्या भोग्नु परेको थियो।   

(ग) वनबासी बने राम चौंध भुवनका पति

एउटा उखान वा भनाइ, “वनबासी बने राम चौंध भुवनका पति” समाजमा निकै प्रचलित छ। भगवान् रामले पनि समस्या बेहोर्नु परेको थियो। पिता दसरथको वचन राख्न, पिताको आज्ञा पालन गर्न उनले १४ वर्ष जङ्गलमा जोगीको झै जीवन बिताउनु परेको थियो। त्यति मात्र होइन, नव विवाहित पत्नी सीतालाई पनि साथमा वन लग्न बाध्य हुनु परेको थियो। राजा राम चौध भुवनका पति थिए। अर्थात राजा राम ज्यादै ठूलो र अति शक्तिसाली देशका राजा थिए।  

अर्कोतिर, रामका पिता दसरथले समस्याबाट पिल्सिएर अर्थात पुत्र (राम) वनबास गएको शोकमा देह त्याग गर्नु परेको थियो, मृत्यु वरण गर्नु परेको थियो। राजा दसरथले पनि समस्या बेहोर्नु परेको थियो। समस्याले राजा दसरथलाई पनि छाडेन। र त्यो समस्या (जुन कैकयीलाई दिएको वचन अनुसार रामलाई वनवास पठाएर उत्प्न्न भएको स्थिति) ले नै दसरथको प्राण लियो।  
कतिपय व्यक्तिहरूमा समस्या आउनासाथ अत्तिने प्रकृति हुन्छ। त्यस किसिमका व्यक्तिहरूले समस्या समाधानतिर समय खर्च गर्नुको साटो आत्तिनमा नै बढी समय बरवाद गरेको देखिएको छ। उदाहरणको लागि कुनै व्यक्तिको सडक दुर्घटना वा यस्तै किसिमको विपत्तिमा अङ्गभङ्ग भएको छ भने त्यहाँ (दुर्घटना स्थलमा) रोइ कराइ गर्नुको साटो दुर्घटनामा परेको व्यक्तिलाई यथासिघ्र् अस्पताल पुर्याउने तिर लाग्नु प्रभावकारी र उचित व्यवस्थापन हो।

समस्याले कसैलाई पनि छाड्दैन भनेर प्रख्यात साहित्यकार निदा फजलीको कविताले पनि भन्छ। उनको कविता यस प्रकार छ,

“कभी किसी को मुकम्मल जहाँ नहीं मिलता
कहीं जमीन कहीं आसमान नहीं मिलता”

(भावार्थ: यो संसारमा कसले सम्पूर्ण सुख प्राप्त गरेको छ र? कसैलाई केही कुराको सुख छ भने अर्को कुराको दु:ख छ। हरेकले समान किसिमले सुख र दु:ख भोग्नु परेको छ।)

बुझा सका है भला कौन वक़्त के शोले
ये ऐसी आग है जिसमे धुआँ नहीं मिलता

(भावार्थ: समयको परिवर्तन र असरलाई कसले रोक्न सकेको छ र? मानिस यति कमजोर छ कि समयको निर्दैशनमा हिंड्नु बाहेक ऊ सँग अन्य कुनै विकल्प नै छैन। सयमले दिने गहिरो चोटलाई सबैले सहन गर्नु नै पर्छ किन भने समय कसैको नियन्त्रणमा छैन।)

प्रख्यात कवि, गीतकार एवं उपन्यासकार निदा फजलीको जन्म १२ अक्टोबर १९३८ मा भारतको दिल्लीमा भएको थियो। मृत्यु ८ फेब्रुअरी २०१६ मा भारतको मुम्बईमा भएको थियो।

(घ) समस्या के हो?  

मानिसले सोंचो अनुसारको परिस्थिति न हुनु समस्या हो। वातावरणमा हुने विभिन्न क्रियाहरू सोंच अनुसार नहुन समस्या हो। नचाहेको घटना हुनु र त्यस घटनाले व्यक्तिलाई आर्थिक क्षति वा मानिसक चोट पुग्नु समस्या हो। प्राय: समस्या विना अनुमान एवं कार्यको सिलासिलामा आउने गर्दछ। कुनै एक व्यक्तिले जति बढी कार्य गर्यो त्यति नै बढी समस्याहरू आउने गर्दछ, र उसले त्यति नै बढी समस्याहरूको सामना गर्नु पर्छ। केही न गर्ने भन्दा बढी क्रियाशील व्यक्तिले धेरै समस्याहरू भोग्नु पर्ने हुन्छ। यो कारणले गर्दा नै सत्तामा नभएका नेता भन्दा सत्तामा भएका नेताहरूको बढी आलोचना हुन्छ। हुन पनि सत्तामा भएका नेताहरूले सरकारको निर्दैशन अनुसार विभिन्न कार्यहरू गर्नु पर्ने हुन्छ।

समस्या केवल भौतिक वस्तु अपेक्षा गरे अनुसार प्राप्त नभएमा मात्र उत्पन्न हुने होइन। समस्या अभौतिक वस्तुसँग पनि सम्वन्धित छ। कुनै व्यक्तिले कसैबाट अपेक्षा गरे अनुसारको सम्मान वा प्रेम पाउने सकेन भने त्यस किसिमको अनुभवलाई उक्त व्यक्तिले समस्याको रूपमा लिन सक्छ। कुनै समस्याले केवल एक व्यक्तिलाई मात्र प्रभावित गर्छ भने कुनै समस्याले वहुसंख्यक व्यक्तिलाई प्रभावित गर्छ।

तर अर्को रोचक कुरा के छ भने समस्याले व्यक्तिहरूलाई अनुभवी, साहसी एवं रचनात्मक स्वभावको तुल्याउँछ। समस्याले व्यक्तिको वौद्धिक क्षमता वृदधि गर्छ नै, साथै धैर्य धारण गर्ने दक्षता पनि अभिवृदधि गर्छ। त्यसकारण केही परिस्थितिहरूमा, समस्या आउनु वा आइरहनु राम्रो पनि हो।  

(ङ) समस्या कसरी उत्पन्न हुन्छ?

वातावरणमा विभिन्न किसिमका क्रियाहरू हुन्छन। केही बाहेक अन्य क्रियाहरू कुनै पनि व्यक्तिको नियन्त्रण भन्दा बाहिर हुन्छ। व्यक्तिले वातावरणमा हुने क्रियालाई नियन्त्रण गर्न नसक्ने हुनाले समस्या उत्पन्न हुने गर्दछ। समस्या अनियन्त्रित घटनाहरूको नकारात्मक परिणाम हो।  

जीवनसँग सम्बन्धित सबै घटनाहरू केवल व्यक्तिले चाहेको दिशातर्फ मात्र गमन गर्दैन। अर्कोतिर प्रत्येक व्यक्तिले चाहन्छ घटनाहरू केवल उसले चाहेको दिशातर्फ मात्र गमन गरोस। यसरी व्यक्तिले एक किसिमले सोंच्छ भने घटना विपरित दिशा तर्फ गमन गर्छ। यसरि समस्या उत्पन्न हुन्छ। कुनै पनि व्यक्तिले चाहेको दिशातर्फ मात्र सबै घटनाहरू गमन गर्ने नभएता पनि व्यक्तिले त्यस्तो होस भन्ने चाहन्छ र त्यस्तो नभए पछि पीडा बोध गर्छ। मेरो शरीरमा कुनै पनि किसिमको रोग उत्पन्न नहोस भन्ने मेरो चाहना कुनै पनि हालतमा पूरा हुन सक्तैन। मैले असल खानेकुरा खाएर र स्वस्थ्य जीवनशैली बाँचेता पनि मलाई रोग लाग्न सक्छ किनभने यदि मैले पूर्खाहरूको कमजोर जिन लिएर आएको छु भने त्यतो जिनले मलाई बिरामी पार्न सक्छ। यसरी म बिरामी हुने स्थितिलाई मैले नियन्त्रण गर्न सक्तिन। तर पनि म चाहन्छु मेरो जीवनमा मेरो वरिपरि घटित घटनाहरूको परिणाम मेरो पक्षमा होस। मेरो यो चाहना नै समस्या वा दु:खको कारण हुन पुग्छ।  
प्रत्येक व्यक्तिको लागि समस्या वा दु:ख उसको जीवनको एक अभिन्न अङ्ग हो।

(च) समस्याग्रस्त इन्दिरा गाँधीको जीवन

समस्याले कसैलाई पनि छोडेको छैन र छोड्दैन पनि। व्यक्ति जस्तो शक्तिसाली भएता पनि उसले आफूलाई समस्या विहीन तुल्याउन सक्दैन। त्यस्तै स्थिति भारतको प्रम इन्दिरा गाँधीमा देखिएको थियो। इन्दिरा गाँधीको परिवारबाट तिन जनाको अकाल मृत्यु भएको थियो। इन्दिरा गाँधी र उनको जेठो छोरा राजीव गाँधीको हत्या भएको थियो भने उनको कान्छो छोरा सञ्जय गाँधीको मृत्यु एक हवाइ दूर्घटनामा भएको थियो। तिनै जनाले दीर्घ जीवन प्राप्त गर्न सकेनन्। के यो समस्या सानो तिनो हो?

(छ) इन्दिरा गाँधीको हत्या

गणतन्त्र भारतको तेस्रो प्रधान मन्त्री इन्दिरा गाँधीको हत्या ३१ अक्टोबर १९८४ मा नया दिल्लीको सफदरजङ्ग रोड स्थित उनको निवासमा एको थियो। गाँधीको हत्या उनका दुई अंगरक्षहरू; सतवन्त सिंह र बेअन्त सिंहले गरेका थिए। जुन १९८४ मा इन्दिरा गाँधीले अमृतसर स्थित ‘गोल्डेन टेम्पल’ मा भारतीय सेनादवारा ‘अपरेशन ब्लू स्टार’ (सैनिक कार्यवाही) गर्न लगाएकी थिन। त्यस कार्यवाही बाट उक्त मन्दिरमा ठूलो क्षति भएको थियो। त्यो कार्यवाहीबाट रुष्ट भएका उनका अंगरक्षकहरूले हत्या गरेको खबर प्रकाशमा आएको थियो। सतवन्त सिंहलाई ६ जुन १९८९ मा नया दिल्ली स्थित तिहाड जेलमा फांसी दिएर मृत्यु दण्ड दिइएको थियो भने बेअन्त सिंहको मृत्यु इन्दिरा गाँधीका अन्य अंगरक्षकहरूको गोली प्रहारबाट सो घटना भएको दिनमा नै भएको थियो। कान्छो छोरा सञ्जय गाँधीलाई नियन्त्रणमा राख्न नसकेर पनि इन्दिरा गाँधीले ठूलो समस्या भोग्नु परेको थियो।

(ज) भारतमा आपतकाल घोषण

भारतीय प्रम इन्दिरा गाँधीले आफ्नो कार्यकालमा, 25 June 1975 देखि 21 March 1977 सम्म, २१ महिने आपतकाल (The Emergency) लागू गरेर ठूलो अलोकप्रियता कमाएकी थिन। आपतकाल घोषण गर्नुको प्रमुख कारण उनले ‘आन्तरिक समस्या’ उल्लेख गरेकी थिन। तर उनको बरोधीहरूको भनाई अनुसार अरुको मतको कदर नगर्ने स्वभावकी इन्दिरा गान्धीले आफ्ना विपक्षी एवं विरोधीहरूलाई जेल पठाउन एवं शक्तिहीन तुल्याउन आपतकाल घोषणा गरेकी थिन। उक्त आपतकालमा गाँधीले सयौ नेताहरूलाई जेलमा थुनेकी थिन भने प्रमको अधिकारको दुरुपयोग पनि ठूलो मात्रामा गरेकी थिन। स्वतन्त्र भारतको इतिहासमा ज्यादै विवादमा परेको आपतकालले इन्दिरा गाँधीलाई इतिहासमा नै अलोकप्रिया प्रम बनाएको थियो। आपतकालको प्रारम्भ सँगै इन्दिरा गाँधीका अनेक समस्याहरू एक पछि अर्को गरी आउन शुरू गरेका थिए। आपतकाल पछि चुनावमा इन्दिरा गाँधी नेतृत्वको भारतीय कांग्रेस पार्टीले लज्जाजनक किसिमले पराजय बेहोर्नु परेको थियो भने ‘जनता पार्टी’ को उदय अप्रत्यासित किसिमले भएको थियो।
१९ नोभेम्बर १९१७ मा जन्म भएको इन्दिरा गाँधी मृत्युको समयमा केवल ६६ वर्षकी थिन।   
Source: Wikipedia  

(झ) राजिव गाँधीको हत्या

आमा इन्दिरा गाँधीको मृत्यु लगत्तै पछि राजिव गाँधी भारतको छैठौ प्रमको रुपमा नियुक्त भएका थिए। उनको कार्यकाल सन् १९८४ देखि १९८९ सम्म रहेको थियो। आमाको मृत्यु पछिको स्थितिले, जनताको सहानभूति पाएर, प्रम भएका राजिव गाँधी ज्यादै कम उमेर (४० वर्ष) मा प्रम भएका थिए। उनी भारतको इतिहासमा ज्यादै कम उमेरका प्रम थिए।
राजिव गाँधीको मत्यु एक आत्मघाती बम विष्फोटनबाट २१ मे १९९१ मा भएको थियो। ‘लिबरेशन टिइगर्स अफ तामिल इलम’ की सदस्या, कलिलो उमेरकी एक युवती, थेनमोझी ‘गायत्री’ राजारत्नम् (उनलाई धानु पनि भन्ने गरिन्थ्यो) ले उनलाई स्वागत गर्दा आफूले बोकेकी आत्मघाती बम बिस्फोटन गरेकी थिन। गाँधीको हत्या तामिलनाडु राज्यको चेन्नाइ सहर नजिक रहेको स्थान श्रीपेरुम्बुदुरमा भएको थियो जहाँ उनी एक चुनावी सभामा सहभागी हुन पुगेका थिए। त्यस विष्फोटमा गाँधी, राजारत्नम् सहित अन्य १४ व्यक्तिहरूको मृत्यु भएको थियो।
श्रीलंकामा तामिलहरूले सञ्चालन गरेका स्वतन्त्रताको आन्दोलन दबाउन राजिव गाँधीले श्रीलंका सरकारलाई शैनिक सहयोग गरेको स्थितिबाट क्रुद्ध भएर राजारत्नम्ले गाँधीको हत्या गरेको चर्चा खबरहरूमा प्रकाशित भएको थियो।
२० अगष्ट १९४४ मा जन्म भएको राजिव गाँधीको मृत्युको समयमा उमेर केवल ४६ वर्ष थियो।

(ञ) सञ्जय गाँधी र हवाइ दुर्घटना

 सञ्जय गाँधीको मृत्यु हवाई दूर्घटनामा भएको थियो। मनोरञ्जनातमक, जोखिमपूर्ण र साहसिक किसिमले हवाई जहाज उडाउने सौख नै थियो, सञ्जय गाँधीको। अति साहसी, उदण्ड र हठी स्वभावका सञ्जयको मृत्यु २३ जुन १९८० मा भएको हवाई दुर्घटना भएको थियो। जुन हवाई दुर्घटनाम उनको मृत्यु भयो, त्यो हवाइ दुर्घटना पनि उनको अति जोखिमपूर्ण उडान अभ्यासले गर्दा नै भएको थियो। २३ जुन १९८०, जुन दिन त्यो दुर्घटना भयो, सञ्जय गाँधीले नया दिल्ली स्थित सफदरजङ्ग विमानस्थलमा जोखिमपूर्ण हवाई उडान गरि रहेका थिए। ‘दिल्ली फ्लाइंग क्लब’ को नया हवाई जहाज उनले आफ्नै कार्यालयको माथि उडाइ रहेको समयमा विमानमाथिको नियन्त्रण गुमाउन पुगेका थिए। भनिन्छ उनले ज्यादै तल (बस्तिको केही माथि मात्र) विमान चलाएको हुनाले विमान माथिको नियन्त्रण गुमेको थियो र विमान ठोकिएको थियो।
सञ्जय हठी र उदण्ड स्वभावक थिए। सञ्जय गाँधीको स्वागतका लागि विभिन्न स्थानहरूमा स्वागत द्वारहरू उनका दलका कार्यकर्ताहरूले निर्माण गरेर उनको स्वागतका लागि उपस्थित भएको समयमा ‘किन यति साँघुरो स्वागत द्वार निर्माण गरेको? यी साँघुरो भएकोले मलाई तेज गतिमा कार दौडाउन गार्हो भयो’ भनेर ती कार्यकर्ताहरूलाई उनले हप्काउँथे। १४ डिसेम्बर १९४६ मा जन्मेका सञ्जय गाँधीको ३३ वर्षको कलिलो उमेरमा मृत्यु भएको थियो।

(ट) डर के हो?

हरेक व्यक्तिमा ठिक्क (reasonable) मात्रामा डर हुन्छ। ठिक्क मात्राको डरले व्यक्तिलाई बाँच्न वा जीवन रक्षा गर्न सिकाउँछ। त्यसकारण ठिक्क मात्रामा डर हुन आवश्यक छ। तर कोही व्यक्तिमा आवश्यक वा ठिक्क मात्रामा भन्दा बढी डर हुन्छ जसले उसको जीवनलाई नराम्रो गरी प्रभावित गर्छ। आवश्यक मात्रा भन्दा बढी डर लाग्ने दुई कारणहरू हुन्छ। पहिलो, वंशाणुगत गुण। मातातिरका पुर्खाहरू र पितातिरका पुर्खाहरू बाट प्राप्त गरेको गुणबाट पनि कोही व्यक्ति ज्यादै डराउने स्वभावको हुन सक्छ। दोस्रो, वाह्य वातावरणमा घटित वा घट्ने घटनाहरूले पनि व्यक्तिलाई धेरै डराउने स्वभावको तुल्याउन सक्छ। युद्ध, महामारी, बाढी, पैरौ, भूइँचालो, आगलागी, गम्भीर रोग आदिले पनि व्यक्तिमा डराउने स्वभाव उत्पन्न गराउन सक्छ। लालन पालन र व्यक्तिले अन्तरक्रिया गर्ने परिवेसले पनि उसलाई डरपोक तुल्याउन सक्छ।

कोही कोही व्यक्ति नडराउने (अन्यको तुलनामा) स्वभावका हुन्छन। यस्तो हुन पनि उनीहरूलाई वंशाणुगत गुणले सहयोग पुर्याइको हुन्छ।

मनन योग्य कुरा त के छ भने हाम्रा स्वभावहरू र प्रकृतिलाई खास किसिमको तुल्याउनमा हामीले पाएको वंशाणुगत गुणहरुले महत्वपूर्ण भूमिका खेलेका हुन्छन। त्यसकारण, केही अवस्थाहरूमा, हाम्रो प्रकृति खास किसिमको हुनुमा केवल हाम्रो दोष हुँदैन। हामीले हाम्रा सबै कमजोरीहरूलाई आफ्नो दुर्वलता मान्नु हुँदैन। अर्थात कुनै व्यक्ति उसले पाएको वंशाणुगत गुणको कारण ऊ ज्यादै डराउने प्रवृतिको हुन पुगेको छ भने उक्त व्यक्ति त्यस्तो हुनु उसको आफ्नो दोष होइन। यो तथ्यलाई बुझेर त्यस किसिमको व्यक्तिले लघुताभाष पाल्नु उचित हुँदैन। बरू त्यस किसिमको डरबाट छुटकारा पाउन चिकित्सकको सल्लाह लिनु पर्छ। अर्थात इलाज गराउनु उचित हुन्छ।

 Life is not easy for any of us. Marie Curie