नेपाल–चीन
मैत्री र आर्थिक विकास
प्रधानमन्त्री
केपी शर्मा ओली चीनको छ दिवसीय औपचारिक भ्रमण समाप्त गरी गत आइतवार (असार १०)
नेपाल फर्कका छन्। विगतमा भारतलाई रुष्ट नपार्ने सजगताका साथ नेपाली नेताहरूबाट
हुने चीनको परम्परागत भ्रमणभन्दा ओलीको यो भ्रमण पृथक र विशेष महत्वको साबित भएको छ। नेपाली उच्च प्रशाननले यसपटक खुलेर चिनियाँ
नेताहरू समक्ष नेपाली धारणा प्रस्तुत गरेको छ भने चीनसँग यस किसिमका सम्झौता गरेमा
‘भारतले के सोच्ने हो’ भन्ने ‘दमित मनोविज्ञान’ बाट चीन पुगेका नेपाली नेताहरू
मुक्त रहेको पनि देखिएको छ। विगतमा नेपालबाट चीन पुगेका नेपालका उच्च अधिकारीहरूमा
चीन पुगेर के बोल्ने र के बोलेमा भारत रुष्ट हुँदैन भन्ने एक किसिमको मनोवैज्ञानिक
दबाब रहने गरेको थियो। त्यो त्रासको निरन्तरतालाई ओलीको भ्रमणले तोडिदिएको छ।
नेपाली राजनीतिको लागि यो केवल ‘निर्धारित दिशा परिवर्तन’ मात्र होइन यो एउटा महत्वपूर्ण राजनैतिक उपलब्धि हो, जुन उपलब्धिले नेपाल र नेपालीको स्वाभिमानलाई अझै उच्च पार्नेछ।
भोलिका दिनमा नेपाल–चीन सुमधुर सम्बन्धबाट के
कस्ता आर्थिक फाइदहरू नेपाललाई प्राप्त होला, ती कुराहरू भोलिका दिनमा झनै विस्तृतरूपले छलफल गरिएला। तर हालका
लागि चीनसँग हात मिलाउँदा एउटा हात पछाडिबाट भारतसँग मिलाउन तयार रहेको भारतीय
उच्च अधिकारीहरूलाई प्रदर्शित गर्नुपर्ने नेपाली बाध्यता भने समाप्तिको दिशातर्फ
उन्मुख भएको छ। यो नेपालीको राजनैतिक र आर्थिक इतिहासमा ठूलो उपलब्धि हो। यो
उपलब्धिले भारतप्रति नेपालको अति आर्थिक निर्भरतालाई पनि कम पार्दै लग्नेछ। राणा
प्रम, राजा त्रिभुवन हुँदै विगतका नेपालका
गणतन्त्र सरकारहरूमा पनि ‘सत्तामा रहन
भारत खुश पार’ नीति थियो। देउवा, पुष्पकमल, गिरिजा
प्रसाद, केपी भट्टराई पनि यो मनोविज्ञानबाट
मुक्त हुन सकेनन्।
भारतसँग
नेपालको सम्बन्ध भारतको अस्थिर विदेश नीतिको कारण नेपालले आफू भूपरिवेष्ठित भएको पीडा समय समयमा
दुःखद किसिमले भोग्दै आएको छ। भारतले विगतमा गरेको नाकाबन्दीको कारण दुखेको नेपाली
मन अहिले पनि बेलाबेलामा दुख्ने गर्छ। नेपालको त्यो पीडामा कमी ल्याउने कार्य
चीनसँग नेपालको बढ्न थालेको गहिरो र मधुर सम्बन्धले क्रमिकरूपमा कम पार्नेछ।
तत्कालका लागि भने आश गर्ने आधारहरू तयार भएका छन्।
ओलीको चीन भ्रमणको समयमा चीनले नेपालको जल
विद्युत् विकासमा विशेष किसिमको सहयोग गर्ने वचन दिएको छ। यसैगरी नेपालामा सिमेन्ट
कारखानाको निर्माण, फलफूल
उद्योगको स्थापना,
सिंचाइ
विस्तार आदिमा सहयोग गर्ने वचनबद्धता पनि व्यक्त गरेको छ। साथै केही नेपाली वस्तु
खरिद गरिदिने पनि उल्लेख गरेको छ। तर माथि भनिएका क्षेत्रहरूमा चीनले गर्ने
सहयोगहरू भन्दा महत्वपूर्ण सहयोग भने चीनले नेपाल–चीनबीच
रेलसेवा स्थापना गर्न आर्थिक र प्राविधिक क्षेत्रमा उसले गर्ने सहयोग महत्वपूर्ण हुनेछ।
नेपाललाई चीनसँग रेलले जोड्ना साथ नेपालको
पर्यटन र व्यापार दुवै क्षेत्रमा उल्लेखनीय सुधार आउने छ। संसारको सर्वाधिक
(जनसङ्ख्याको अधारमा) ठूलो देशसँग प्रत्यक्ष सम्बन्ध हुनुले नेपालको पर्यटन
विकासमा खास किसिमको योगदान पुग्ने विषयमा कसैले पनि शङ्का नलिए हुन्छ। आम
चिनियाहरूको बढ्दो आम्दानीले उनीहरूलाई विदेश भ्रमणमा जान सजिलो पारिदिएको छ।
लुम्बिनी, काठमाडौ एवं अन्य स्थानहरू चिनियाँ
पर्यटकहरूका लागि विशेष महत्वको अवलोकन स्थल हुनेछ भने तिब्बत हुँदै
काठमाडौं आउँदा चिनियाँ पर्यटकहरूले विभिन्न मोहक पहाडी दृश्य अवलोकन गर्न पाउने
छन्। उत्तरी नेपाल र दक्षिणी चीनमा बसोवास गर्नेहरूबीच खानपान, संस्कृति, विश्वास, परम्परा आदि निकै मिल्ने हुनाले नेपाली पक्ष रेलसेवाबाट निकै
लाभान्वित हुनेछ।
चीन संसारको सर्वाधिक दोस्रो ठूलो अर्थ
व्यवस्था भएकोले नेपालले सामान्य वस्तु वा सेवाहरू चीनलाई बिक्री गरेर राम्रो
आम्दानी आर्जन गर्न सक्ने सम्भावना अति क्षिण छ। त्यसकारण नेपालले छानेर त्यस्ता
वस्तु र सेवाहरू चीनलाई बिक्री गर्नुपर्छ जुन बिक्री गर्दा, खास वस्तु वा सेवा भएको कारणले
नेपाललाई फाइदा होस्।
१. नेपालले चीनलाई त्यस्ता वस्तुहरू बिक्री गर्नुपर्छ जुन चीनमा
उत्पादन हुन सक्दैन वा उत्पादन हुन सक्ने भए पनि उत्पादन लागत अत्यधिक उच्च होस्।
२. नेपालले चीनलाई त्यस्ता वस्तुहरू बिक्री गर्नुपर्छ जसको उत्पादन
गर्नमा केवल नेपालीहरूले मात्र कुशलता प्राप्त गरेका छन्। चीनमा उत्पादन गर्न
सम्भव नहोस्। जस्तै काठ र धातुका नेपाली कला झल्किने मूर्तिहरू।
३. नेपालले चीनलाई त्यस्ता वस्तुहरू उत्पादन गरेर बिक्री गर्नुपर्छ, जुन प्राकृतिकरूपमा केवल नेपालमा मात्र
निर्माण गर्न सकिन्छ।
तर प्रमुखरूपमा चीनले नेपाललाई व्यापारिक
सहयोग गर्न सक्ने क्षेत्र भनेको पर्यटन हो। यसका लागि चीनले दुईटा काम मुख्यरूपमा
गर्नुपर्ने हुन्छ।
पहिलो, तिब्बतदेखि नेपाली सीमासम्म रेलसेवा निर्माण गर्न नेपाललाई आर्थिक र
प्रावधिक सहयोग गर्ने। नेपालले निर्माण गर्न नसके चिनियाँ पक्षले नै निर्माण गरिदिने।
दोस्रो, धेरैभन्दा धेरै चिनियाँ पर्यटकहरूलाई
नेपाल भ्रमणमा जान चिनियाँ अध्यागमन नियमलाई झनै सजिलो र खुकुलो तुल्याइदिने।
नेपालले पनि चिनियाँ पर्यटकहरूलाई आकर्षित
गर्न विभिन्न कार्यहरू गर्न आवश्यक छ। चिनियाँ पर्यटकहरूलाई प्रवेश बिन्दुमा नै
‘भिसा’ दिने, भिसा शुल्क कम लिनेजस्ता सहयोग नेपाली
पक्षले गर्न आवश्यक छ।
वर्तमान परिस्थितिमा नेपालले चीनसँग लिन
सक्ने व्यापारिक फाइदा भनेको पर्यटनको क्षेत्र हो। यो नै एक राम्रो लाभ सृजना
गराउने किसिमको क्षेत्रको रूपमा देखिएको छ। अन्य सामान्य व्यापारिक वस्तुहरू
बिक्री गरेर चीनबाट फाइदा गर्न सक्नु भनेको केवल सपना हुनेछ।
चीन र नेपालबीच रेलसेवा निर्माण हुन सके र
त्यो रेल सेवा विद्युतीय हुन सके नेपालको कायाकल्प नै हुने थियो। तिब्बतबाट
काठमाडौसम्म पहाड र खोलाहरू भएकोले नेपालले साना खोलाहरू उपयोग गरेर थोरै थोरै
मात्रामा भए पनि जल विद्युत् उत्पादन गर्ने सक्ने र त्यो जल विद्युत् रेलसेवामा
प्रयोग गर्न सक्ने उच्च सम्भावना छ। चीनतर्फको रेलसेवा निर्माण र विस्तारलाई नेपाल
सरकारले उच्च प्राथमिकतामा राख्नुपर्छ। यो रेलसेवाले भारतप्रति नेपालको ठूलो
आर्थिक निर्भरतालाई कम पार्नेछ र नेपालको निर्यात बढ्ने छ।
विश्वराज अधिकारी
Friday,
June 29, 2018