के नेपालमा विदेशी लगानी भित्रिएला?
भूमिका
नेपालमा दोस्रो पटक ‘नेपाल लगानी शिखर सम्मेलन’ हुँदैछ। उक्त लगानी सम्मलेन सन् २०१९ मार्च २९ देखि मार्च
३० सम्म काठमाडौमा हुने तय भएको छ। यस किसिमको लगानी सम्मेलन हुनु आफैंमा महत्वपूर्ण कुरा हो। यो ‘व्यापार युग’ मा राज्यलाई कसरी समृद्ध पार्ने र जनताको आर्थिक जीवन कसरी सरल तुल्याउने
भन्ने विषयतर्फ गम्भीर हुनु कुनै पनि देशको सरकारको प्रमुख कर्तव्य पनि हो।
नेपालले अहिले स्थिर सरकार पाएको सन्दर्भमा सरकारले यसतर्फ चासो देखाउनुलाई अति नै
सकारात्मकरूपमा लिनुपर्छ। यो लगानी सम्मेलन कति सफल भयो वा भएन भनेर टीका–टिप्पणी भने भविष्यमा गर्न त सकिन्छ नै।
यो लगानी सम्मलेनको मुख्य ध्येय भने विदेशी
लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न उत्प्रेरित गर्ने, लगानीका लागि नेपाल सुरक्षित स्थल रहेको उनीहरूलाई बोध
गराउने तथा नेपालमा लगानी गरेर प्राप्त हुने मुनाफा लगानीकर्ताले स्वदेशमा लैजान
पाउने सम्बन्धमा नेपाल खुकुलो किसिमको नियम बनाउन तयार रहेको जानकारी गराउने रहेको
देखिन्छ।
प्रतिफल
कुनै पनि लगानीकर्ताले आफ्नो लगानीको प्रतिफल नियमित, सुनिश्चित र
तुलनात्मकरूपमा (अरू देशभन्दा नेपालमा बढी मुनाफा हुने स्थिति) बढी लाभप्रद हुने
कुरालाई लगानीको पूर्वशर्तको रूपमा लिएको हुन्छ र त्यो स्वाभाविक पनि हो। लगानी
डुब्नेगरी आफ्नो पूँजी फसाउन कोही लगानीकर्ता नेपाल आउँदैन। यस
सन्दर्भमा एउटा प्रसङ्ग के उल्लेख गर्नुपर्ने हुन्छ भने नेपालमा बन्द, हडताल, यातायात ठप्प, कारखाना बन्द
जस्ता समस्या, जुन घरीघरी
देखिन्छ, समाधान गर्न नेपालले के
कस्तो नियम बनाएको छ, र भविष्यमा के
कस्तो नियम बनाउने छ? यो प्रसङ्गलाई
गम्भीरतापूर्वक किन उठाउनुपरेको हो भने राजनीतिक दलहरू, जसले सरकार सञ्चालन गर्छन्, नै स्वयं मजदूर सङ्गठनहरूलाई हडताल, बन्द, यातायात ठप्प
गर्न लगाउँछन्। आफू निकट रहेका मजदूर
सङ्गठनहरूलाई आफ्नो हितमा प्रयोग गर्छन्। आफ्नो इशारामा
नचाउँछन्। सरकारमा नभएको बेला त राजनैतिक सङ्गठनहरूले सत्तारूढ दलको सरकारलाई असफल
पार्न बन्द, हडताल गराउनु मौलिक
अधिकार ठान्छन्। देशको अर्थतन्त्र धराशायी पार्न पनि रत्ति हच्किंदैनन्। आफ्नो अभीष्ट पूरा गर्न माओवादीहरूले २०५२ देखि २०६२ सालसम्ममा देशको अर्थतन्त्रलाई
ध्वस्त पारेको हामीले आफ्नै आँखाले देखेको यथार्थ हो। तर विडम्बना! जुन राजनैतिक दल (माओवादी) ले कुनै समयमा देशको उद्योग, व्यापारलाई ध्वस्त पार्यो, अहिले त्यही दलले विदेशी लगानीकर्ताहरूलाई
नेपालमा लगानी गर्न आमन्त्रित गरिरहेको छ। कुनै समयमा माओवादीले विदेशी
लगानीकर्ताहरूलाई ‘विस्तारवादी’,
‘दलाल’, ‘सामन्त’, ‘भ्रष्ट पूँजीपति’
भनेको थियो। स्मरण रहोस्, माओवादी दल अहिले ओलीको सरकारमा सम्मिलितमात्र
होइन, सत्तारूढ दल नै बनेको छ।
कुनै बेलाको एक नम्बर शत्रु एमालेसँग मिसिएको छ। एक ज्यान दुई शरीर भएको छ।
माथि उल्लेख गरिएका यथार्थहरूलाई विदेशी
लगानीकर्ताहरूले गम्भीरतापूर्वक लिएका छन् किनभने लगानी पच्चीसौं वर्षको लागि
गरिएको हुन्छ र लगानी असुल हुन वर्षौ लाग्छ। त्यसकारण लगानीकर्ताहरूले लगानी
गर्नका लागि स्थिर राजनीति भएको देश जस्तै मलेशिया, सिङ्गापुर, अमेरिका, चीन, दक्षिण कोरिया आदि रोज्छन्। नेपालको राजनीति स्थिर नरहेको सन्दर्भमा के विदेशी
लगानीकर्ताहरू नेपालमा लगानी गर्न आउलान् त? यो एक यक्ष प्रश्न हो? नयाँ बोतलमा पुरानो रक्सीको स्थिति त नेपालमा छैन?
डिरेगुलेशन
उद्योग, व्यापार, व्यवसाय आदिलाई
प्रतिकूल प्रभाव पार्ने मौजुदा ऐन, कानून, नियमलाई क्रमिकरूपमा संशोधन वा समाप्त पार्दै
जानुलाई व्यावसायिक जगत्मा ‘डिरेगुलेशन’
भन्ने गरिन्छ। संसारकै एक नम्बर धनी राष्ट्र
अमेरिका लगायत युरोपका विभिन्न मुलुकहरूले देशको आर्थिक विकास गर्न डिरेगुलेशनको
निकै अभ्यास गरेको पाइन्छ। मुलुकमा विदेशी लगानीकर्ताहरूलाई बोलाएर देशको आर्थिक
विकास गर्न तत्पर रहेको नेपालको सरकार के डिरेगुलेशन गर्न तयार छ? देशको आर्थिक विकासमा राज्यको भूमिका बढाउँदै
लग्नुपर्छ, अर्थात् रेगुलेशन
गर्नुपर्छ भन्ने मतमा विश्वास गर्ने कम्युनिस्ट सरकार (वर्तमान सरकार), के डिरेगुलेशन गर्न तयार होला? यस प्रश्नको उत्तर वर्तमान सरकारले ‘नेपाल लगानी शिखर सम्मेलन’ मा आएका विदेशी लगानीकर्ताहरूलाई अवश्य
दिनुपर्नेछ। नेपाल सरकारले साँच्ची नै विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न
आउन आमन्त्रित गरेको हो भने नेपाल सरकार डिरेगुलेशन गर्न तत्पर रहेको कुरा
विनाद्विविधा, प्रस्ट गरी,
लिखितरूपमा र आधिकारिक किसिमले भन्नैपर्नेछ।
नेपाल डिरेगुलेशन गर्न तयार रहेको कुरा सुन्न विदेशी लगानीकर्ता सम्मेलनभर व्यग्र
रहनेछन्।
ऊर्जा
कुनै पनि मुलुकमा व्यापार, उद्योग एवं सेवा व्यवसाय सञ्चालन गर्न ऊर्जा
पूर्व तत्व हो। ऊर्जाविना यो कार्य
सम्भव छैन। हामी कहाँ केवल जल विद्युत् नै ऊर्जाको मुख्य स्रोत हो। कुनै समयमा
लोडसेडिङ भोगेको र केवल घरेलू प्रयोगको लागि मात्र पनि ऊर्जा (विद्युत्) उपलब्ध
गराउन नसक्ने हाम्रो देशले के ठूला–ठूला उद्योग
सञ्चालन गर्न नियमित ऊर्जा उपलब्ध गराउन सक्ला? विदेशी लगानीकर्ताहरूले यो प्रश्न पनि गर्नेछन्। र सरकारले
सन्तोषजनक जवाफ दिनुपर्नेछ। ऊर्जाको सुनिश्चितताविना विदेशी लगानी सम्भव छैन।
बजार
विदेशी लगानीकर्ताहरूले बजार पनि खोज्नेछन्।
नेपालको आन्तरिक मागको लागि मात्र उत्पादन गरेर विदेशी लगानीकर्ताहरूले चाहेजस्तो
मुनाफा पाउने स्थिति छैन। उनीहरूले बाह्य वा विदेशी बजारको पनि खोजी गर्नेछन्।
यस्तो स्थितिमा नेपालमा उत्पादित वस्तु नेपाल र चीनले खरीद गरिदिनेछन् त? नेपालले चीन र भारतलाई आफ्ना वस्तु खरीद
गरिदिने मनस्थितिमा पु¥याउन सक्नेछ?
र अर्को महत्वपूर्ण कुरा–के नेपालले भारत र चीनभन्दा सस्तो उत्पादन गर्न
सक्नेछ? आफ्नो देशभन्दा
नेपालमा उत्पादित वस्तु महँगो भएको स्थितिमा के चीन र भारतले नेपालका वस्तु केवल
सदाशयताको हिसाबले मात्र किनिदेलान् त? प्रबन्ध, ऊर्जा र प्रविधिको
क्षेत्रमा नेपाल निकै पछाडि रहेको सन्दर्भमा के नेपालले भारत, चीन वा अन्य कुनै मुलुकभन्दा सस्तोमा उत्पादन
गर्न सक्नेछ? यो प्रश्नको उत्तर पनि
खोजेर नेपाली पक्षले विदेशी लगानीकर्ताहरूलाई सो लगानी सम्मेलनमा दिनुपर्नेछ।
सम्भावना
यस लेखको आशय निराशावादी कुरा गरेर नेपालमा
सम्पन्न हुन थालेको ‘नेपाल लगानी शिखर
सम्मेलन’ को आलोचना मात्र गर्नु
भने होइन। जुनसुकै बादलमा पनि चाँदीको घेरा हुन्छ भनेझै नेपालमा पनि आर्थिक
विकासका प्रशस्त सम्भावनाहरू छन्। नेपालको भौगोलिक अवस्थिति, नेपालीहरूमा रहेको ज्ञान, उपलब्ध स्रोत र साधनहरूले नेपाललाई धनी हुने
प्रशस्त अवसर दिएको छ। नेपालको जलस्रोतले ठूलो सम्भावना बोकेको छ। चाहिएको छ केवल
जनतामा सहयोगात्मक भावना एवं नेताहरूमा इमानदारी र नेतृत्व दिने क्षमता। कुनै
एकमात्र इमानदार नेता नेपालमा उदय भयो भने उसले नेपालको कायापलट गरिदिन सक्छ।
सिङ्गापुरमा लि क्वान यु, मलेशियामा महाथिर
मोहम्मद र चीनमा देंग जियाओपिङले गरेझैं। यी तीन नेताहरूले देशलाई शून्यबाट सय
तुल्याएका हुन्। चीन त अहिले विश्वको दोस्रो ठूलो आर्थिक महाशक्ति भएको छ। कुनै
बेला चीन गरीब राष्ट्रहरूको श्रेणीमा थियो। धेरै वर्ष पहिलेको कुरा गर्ने हो भने
चीन ‘अफिम युद्ध’ को दलदलमा भासिएको थियो। कुनै समय चिनियाँहरू
(ठूलो सङ्ख्यामा) अफिम खाएर दिनभरि लठ्ठ परेर बस्थे। आज ती चिनियाँ विज्ञान र
प्रविधिको क्षेत्रमा सबै मुलुकभन्दा अगाडि हुन थालेका छन्। संसारको सबैभन्दा ठूलो
टेलिस्कोप अहिले केवल चीनसँग छ। यी सबै कुरा चमत्कारी नेतृत्व र जनतामा विकास
गर्ने चाहनाले गर्दा भएको हो।
एउटा प्रसङ्गको चर्चा गर्नु यहाँ उपयुक्त
होला। एकपटक सिङ्गापुरका आर्थिक विकासका पिता लि क्वान यु श्रीलङ्का गएका थिए। उनी
श्रीलङ्काको आर्थिक विकास देखेर निकै प्रभावित भए। सिङ्गापुर फर्केपछि “म बीस वर्षमा सिङ्गापुरलाई श्रीलङ्काझैं बनाउने
छु” भनी लि क्यान युले भनेछन्। आज श्रीलङ्का कहाँ छ, सिङ्गापुर कहाँ छ, हामी सामु छरपस्ट छ।
असल नेतृत्वले देशलाई कहाँबाट कहाँ पुर्याउन सक्छ भन्ने कुरा सिङ्गापुरको विकासबाट थाहा
हुन्छ। र खराब नेताले देशको स्थिति कतिसम्म खराब पार्न सक्छ भन्ने कुरा
भेनेजुएलाको स्थितिबाट थाहा हुन्छ। भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले धनी
भेनेजुएलालाई दरिद्र भेनेजुएला बनाइदिए।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, March 29, 2019