Wikipedia

Search results

Friday, May 24, 2019

Trade Disputes: Causes and Objectives-Article-248


व्यापार झगडाः कारण र उद्देश्य

आजभोलि विभिन्न राष्ट्रहरू बीच किन व्यापार झगडा हुन्छ ?
    यो प्रश्नको उत्तर, यो प्रश्न सजिलो देखिएजस्तो सजिलो भने छैन। यसको उत्तर निकै जटिल छ। व्यापार झगडाको उद्देश्य र कारण केवल आर्थिक लाभ र क्षति मात्र नभएर राजनैतिक दाउपेच पनि रहेकोले व्यापार झगडाको विषय आफैमा जटिल हुन पुगेको हो। एउटा शक्तिशाली राष्ट्रले अर्को (प्रतिपक्षी) राष्ट्रलाई आफ्नो नियन्त्रणमा ल्याउन वा आफ्नो इशारामा चल्न लगाउन पनि व्यापारको प्रयोग गर्दछ। त्यसकारण व्यापार अहिले युद्धको एउटा हतियार जस्तो भएको छ।
    सर्वप्रथम व्यापार झगडा भनेको के हो त्यसबारे छोटो चर्चा गरौं

व्यापार झगडा
    व्यापार झगडा भनेको झगडामा संलग्न दुई पक्ष (राष्ट्र) हरूले एक अर्काको सामान खरीद नगर्ने वा एक अर्कालाई सामान बिक्री नगर्ने अडान लिनु वा एक पक्षले अर्को पक्षको सामान आयात गर्दा आयातको परिमाण (मात्रा) कम गर्नु वा आयात गरिने वस्तुहरूमा भन्सार शुल्क वृद्धि गर्ने चेतावनी दिनु हो। छोटकरीमा भन्ने हो भने अन्तर्राष्ट्रिय व्यापारमा आफ्नो आर्थिक हितको अधिक्तम रक्षा गर्नु वा त्यसबाट अधिक फाइदा लिन खोज्नु हो।

अमेरिकाचीन व्यापार झगडा
    आयात गरिने वस्तुहरूमा भन्सार शुल्क वृदि गर्ने भन्दै अहिले अमेरिका र चीनबीच व्यापार झगडा सतहमा आएको छ। अमेरिकाले चीनबाट आयात गर्ने वस्तुहरूमा २०० बिलियन डलर बराबर भन्सार वृद्धि गर्ने चेतावनी दिएको छ। अर्थात् चीनबाट आयात गरिने वस्तुहरूमा अमेरिकाले १० देखि २५ प्रतिशतसम्म भन्सार शुल्क वृद्धि गर्ने चेतावनी चीनलाई दिएको छ। अमेरिकाको यो चेतावानीको जवाफ स्वरूप चीनले आफूले पनि अमेरिकाबाट आयात गर्ने वस्तुहरूमा ६० बिलियन डलर बराबर भन्सार शुल्क वृद्धि गर्ने चेतावनी अमेरिकालाई दिएको छ। रोचक कुरा त के छ भने यी दुई राष्ट्र एक अर्कालाई ठूलो परिमाणमा विभिन्न वस्तुहरू निर्यात गर्छन्। दुवै राष्ट्र एक अर्काको अति नै महत्वपूर्ण व्यापार साझेदार हुन्। यी दुवै व्यापारिक साझेदारबीच उत्पन्न हुने सानोतिनो व्यापारिक असमझदारीले पनि दुवै साझेदारका सामान्य नागरिक प्रभावित हुन पुग्छन्। समग्रमा दुवै मुलुकको व्यापारमा शिथिलता आउन सक्छ।

    अमेरिकाले चीनबाट आयात गर्ने वस्तुमा भन्सार शुल्क वृद्धि गरेमा धेरै अमेरिकी कम्पनीहरू प्रभावित हुनेछन्। चीनबाट आयात गरिने वस्तुहरूको मूल्य (भन्सार शुल्कमा भएको वृद्धिको कारण) अमेरिकी बजारमा वृद्धि भएर अमेरिकी उपभोक्ताको क्रय शक्तिमा ह्रास आउने छ। अमेरिकी कम्पनीहरूको भविष्य अनिश्चित हुनेछ। यस किसिमको चिन्ता अमेरिकी व्यापारीहरूले अमेरिकी सरकार समक्ष व्यक्त गरिरहेका छन्। अमेरिकाले ठूलो परिमाणमा चीनबाट इलेक्ट्रोनिक सामान आयात गर्छ। यसैगरी नाइकी, एडिडासजस्ता विश्व प्रसिद्ध जुत्ता (Footwear) उत्पादकहरूले ठूलो परिमाणमा चीनबाट तयारी जुत्ता आयात गर्छन्। र यी कम्पनीहरूले चीनबाट आयात गरिने वस्तुमा भन्सार शुल्क वृद्धि नगर्न अमेरिकी प्रशासनलाई अनुरोध गर्दै, दबाब पनि दिइरहेका छन्। अर्कोतिर अमेरिकी सरकारले ठूलो परिमाणमा चीनबाट आयात गर्ने र चीनले सानो परिमाणमा मात्र अमेरिकी वस्तु खरीद गर्ने गरेको तर्क अघि सारेको छ। हुनपनि अमेरिकाले चीनलाई निर्यात गर्ने तुलनामा चीनबाट ठूलो परिमाणमा आयात गर्छ। सन् २०१७ मा अमेरिकाले चीनबाट ५०५.५ बिलियन डलर बराबरको सामान आयात गरेको थियो भने चीनमा केवल १२९.९ बिलियन डलरको निर्यात गरेको थियो। यसरी चीनसँग व्यापारमा अमेरिकाले सन् २०१७ मा ३७५.५ बिलियन डलर बराबर व्यापार घाटा बेहोरेको थियो।

चीनको बलियो स्थिति
    अमेरिका विज्ञान, अनुसन्धान र उन्नत प्रविधिको क्षेत्रमा निकै अगाडि छ। तर निम्न कारणले चीनलाई पनि समय र परिस्थितिले अहिले निकै बलियो तुल्याइदिएको छ।
    श्रमिकहरूलाई चिनियाँ उत्पादकहरूले कम ज्याला दिने हुनाले चीनमा श्रम लागत कम भएकोले उत्पादन लागत कम छ। जसले गर्दा चीनमा उत्पादित वस्तु सस्तो हुन पुग्छ। अर्कोतिर चीनका उत्पादकहरूले अरू (अन्य राष्ट्र) को बौद्धिक सम्पत्ति (Intellectual property ) विनाशुल्क वा गैरकानूनी रूपमा प्रयोग गर्ने हुनाले पनि चीनमा उत्पादित वस्तु सस्तो हुन्छ। यसैगरी केही यस्ता प्राकृतिक वस्तुहरू छन, जुन लगभग केवल चीनमा मात्र उत्पादन हुन्छ। ती प्राकृतिक वस्तुहरूको उत्पादनमा चीनको एक किसिमले एकाधिकार नै छ। यी कारणहरूले गर्दा व्यापारद्वन्द्वरत पक्षहरूमध्ये चीन बलियो हुन पुगेको छ। चीन यसरी बलियो हुनु व्यापारिक जगत्मा अप्रत्याशित पनि हो।

    चीनले दुर्लभ प्राकृतिक वस्तु (Earth Materials) हरूको, विश्वमा नै, कुल उत्पादनमध्ये ९५ प्रतिशतभन्दा बढी उत्पादन गर्छ। अर्थात् चीनबाहेक विश्वका अन्य राष्ट्रले त्यस्ता प्राकृतिक दुर्लभ वस्तुहरूको उत्पादन ५ प्रतिशतभन्दा पनि कम गर्छन्। ठूलो परिमाणमा चीनले उत्पादन गर्ने ती वस्तुहरूको माग विश्वभरि छ, किनभने ती दुर्लभ प्राकृतिक वस्तुहरूको प्रयोग इलेक्ट्रोनिक टेक्नोलोजीको निर्माणमा हुन्छ। साथै लिथियम कार बैट्री, सोलार पैनल, विन्ड टर्बाइन, फ्लैट स्क्रिन टेलिभिजन, पेट्रोलियम टु गैसोलिन क्याटालिस्टिक क्रेकिंग, मिसाइल गाइडेन्स सिस्टम आदिको निर्माणमा पनि ती प्राकृतिक दुर्लभ वस्तुहरूको उपयोग हुन्छ। ती प्राकृतिक वस्तुहरूको उत्पादनमा चीनको रहेको एकाधिकारले चीनलाई विश्व व्यापारको एउटा बलियो साझेदार तुल्याइदिएको छ। चीनमा व्यापारद्वन्द्व गर्ने क्षमता पनि बढेर गएको छ। र अर्को सर्वाधिक बलियो पक्षचीनमा एक किसिमको एक दलीय शासन व्यवस्था भएकोले चीनमा बन्द, हडताल, नारा जूलुसजस्ता उत्पादनलाई प्रभावित पार्ने काम हुन पाउँदैन र उत्पादन स्थिर भएर उत्पादन लागत कम हुन्छ।

परनिर्भरता
    विश्वसमाज कृषिमा निर्भर रहेको समयमा परिवारहरूले आफ्नो दैनिक आवश्कताका लागि चाहिने लगभग सम्पूर्ण वस्तु निर्माण गर्थे। अर्थात् त्यो युग आर्थिक स्वावलम्बनको युग थियो। तर अहिले युग फेरिएको छ। न कुनै परिवारले, न कुनै राष्ट्रले नै, फूलाई आवश्यक पर्ने सम्पूर्ण वस्तु एवं सेवाहरूको निर्माण गर्न सक्छ। यसरी आफूलाई आवश्यक पर्ने अनेक सामग्रीहरू एक राष्ट्रले अन्य विभिन्न राष्ट्रसँग खरीद गर्नुपर्ने हुन्छ। साथै आफूले उत्पादन गरेका सम्पूर्ण वस्तु आफूले नै उपभोग गर्न नसक्ने स्थिति भएकोले ती वस्तुहरू बिक्री गर्नुपर्ने हुन्छ। यो कारणले गर्दा प्रत्येक राष्ट्र अनिवार्यरूपमा अन्तर्राष्ट्रिय व्यापारमा आबद्ध हुनुपर्ने स्थिति सृजना भएको छ। अर्थात् राष्ट्रराष्ट्रबीच परनिर्भरता बढेर गएको छ। राष्ट्रहरू परनिर्भर भएकाले र हरेक राष्ट्रले आफ्नो स्वार्थको संरक्षण गर्नु पर्ने भएकोले राष्ट्रराष्ट्रबीच व्यापार झगडा हुने सम्भावना ह्वात्तै बढेर गएको छ। अर्कोतिर बलियो राष्ट्रले कमजोर राष्ट्रमाथि आफ्नो व्यापारिक स्वार्थ लाद्ने अवसर पनि बढेर गएको छ। यो कारणले गर्दा आज भोलि व्यापारझगडाको सङ्ख्या बढेर गएको छ। र प्रकृति पनि जटिल हुन पुगेको छ।

व्यापार युग
    यो व्यापार युगमा कुनै पनि राष्ट्रको प्रमुख ध्येय आर्थिकरूपमा बलियो हुनु रहेको हुन्छ। पहिलेपहिले महाशक्ति हुन कुनै पनि राष्ट्रले सैन्यबलमा जोड दिन्थ्यो र त्यही बलको आधारमा अन्य राष्ट्रलाई तह लगाउने कार्य गथ्र्यो। यस किसिमको सिद्धान्तको बढी उपयोग तत्कालीन सोभियत सङ्घले गर्यो।  विभिन्न राष्ट्रलाई आफ्नो सैन्य बलद्वारा नियन्त्रण गर्यो। अफगानिस्तानमा सोभियत रूसले आफ्नो सेना नै उतार्यो र त्यहाँ वर्षौंसम्म सेना राख्यो। तर अहिले युग फेरिएको छ। अहिले भने शक्तिशाली राष्ट्रहरू, आर्थिक रूपमा शक्तिशाली भएर, फ्नो आर्थिक शक्तिद्वारा अन्य राष्ट्रमाथि प्रभाव जमाउन खोजिरहेका छन्। र यो अवधारणाको बलियो प्रयोग अहिले चीन र अमेरिकाले गरिरहेका छन्। आफ्नो आर्थिक शक्तिद्वारा अन्य राष्ट्रलाई नियन्त्रित गरिरहेका छन्। र यसरी नियन्त्रित गर्न सहयोग गर्ने हतियार व्यापार नाकाबन्दीहुन पुगेको छ। अमेरिकाले अहिले इरान, उत्तर कोरिया, क्युबा, भनेजुएला आदिमा व्यापार नाकाबन्दी गरेको छ।

    चीनले पनि आफ्नो आर्थिक शक्तिद्वारा अन्य राष्ट्रलाई नियन्त्रित गर्ने कार्य गरिरहेको छ। बर्मा (म्यान्मा), उत्तर कोरिया, इन्डोनेशिया आदिमा चीनले आफ्नो शक्ति विस्तार गरेको त छ नै, अफ्रिकी महादेशका अन्य राष्ट्रमा पनि आफ्नो शक्ति (राजनैतिक र आर्थिक) विस्तार गरिरहेको छ। चीन शक्ति विस्तारको सिलसिलामा दक्षिण अमेरिकी राष्ट्रहरूमा पनि पुग्ने तरखरमा छ। आश्चर्यको विषय त के छ भने कुनै समयमा आर्थिक विकासको मामिलामा निकै पछाडि रहेको चीन, अहिले अमेरिकाजस्तो आर्थिक, राजनैतिक र सामरिक क्षेत्रमा बलियो रहेको राष्ट्रको महत्वपूर्ण व्यापारिक साझेदार हुन पुगेको छ। चीनले अमेरिकामा गर्ने निर्यातको परिमाणमा कमी ल्याउना साथ अमेरिकी बजार नराम्ररी प्रभावित हुन पुग्छ।

    चीनलाई यस्तो स्थितिमा पुर्याउने चीनको आर्थिक क्षमता नै हो।

    नेपालजस्तो राष्ट्रले, अहिलेको यो व्यापारिक युगमा, भौगोलिकरूपमा सानो भए तापनि आफूलाई बलियो तुल्याउन आफ्नो राष्ट्रिय अर्थतन्त्रलाई अति बलियो तुल्याउनु आवश्यक छ। नेपालले आफ्नो आर्थिक क्षमता बलियो पारेमा, ठूला देशहरूले गर्ने थिचोमिचोबाट जोगिन सक्छ। सिङ्गापुरले आफूलाई आर्थिक रूपमा बलियो पारेर बलियो राष्ट्रहरूको थिचोमिचोबाट जोगाएझैं। तर यो कुरा हुन नेपालीहरूले कलह, द्वन्द्व, सङ्घर्ष, मनमोटाव होइन, आर्थिक विकासमा ध्यान केन्द्रित गर्न आवश्यक छ।

विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक दैनिकमा प्रकाशित: Friday, May 24, 2019

Friday, May 17, 2019

Why Should Nepal Prioritize the Trade With China?-Article- 247

नेपालले चीनसँग व्यापारलाई किन अति महत्व दिनुपर्छ?

नेपालको भौगोलिक अवस्थिति दुई विशाल अर्थतन्त्रभारत र चीनबीच हुनुले नेपालको आर्थिक विकासलाई चुनौतीपूर्ण तुल्याइदिएको छ। नेपालको अर्थिक विकास व्यापारमाथि झन्झन् निर्भर हुँदै गएको सन्दर्भमा नेपालको आर्थिक विकास त अझै चुनौतीपूर्ण हुन पुगेको छ। मुनाफामूलक कृषिका लागि आवश्यक आधुनिक उपकरण र प्रविधि अभाव तथा कुशल कृषि श्रमिकको अनुपस्थितिले गर्दा नेपालको कृषि क्षेत्र केवल जीवन निर्वाहका लागि मात्र हुन पुगेको छ। नेपाली कृषकहरूले ठूलो परिमाणमा उत्पादन गरेर ठूलो परिमाणमा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सक्ने स्थिति छैन। कृषिबाट नेपालले फाइदा लिन सकेको छैन। नेपालका कृषि उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा पुग्न सकेका छैनन्। अर्कोतिर ठूलो सङ्ख्यामा नेपालीहरू अहिले पनि कृषिमा नै निर्भर छन्। कृषि नै बहुसङ्ख्यक नेपालीका लागि प्रमुख आयस्रोत हुन पुगेको छ। भारतका कृषि उत्पादनहरू विश्वका विभिन्न बजारमा बिक्री भइरहेका छन्। भारतमा उत्पादित बासमती चामल विश्वभरिका बजारमा बिक्री हुन्छ। आफूसँग पेटेन्ट राइट भएकोले बासमतीनाम राखेर केवल भारतले मात्र विश्वभरि चामल बिक्री गर्न पाउँछ। भारतबाहेक अन्य राष्ट्रले बासमती नाम राखेर चामल बिक्री गर्न पाउँदैन। यसरी बासमतीको नामबाट भारतले अन्तर्राष्ट्रिय बजारबाट राम्रो फाइदा लिएको देखिन्छ। खास कृषि उत्पादनमा खास किसिमको अधिकार भएकोले त्यो अधिकारको भारतले राम्रो आर्थिक फाइदा लिएको छ। अमेरिका र युरोपका बजारहरूमा बासमती चामल ठूलो परिमाणमा बिक्री हुने गरेको सहजै देख्न सकिन्छ।
    नेपालको अर्थ व्यवस्थालाई अब क्रमिकरूपमा व्यापारमुखी पार्दै लग्नुपर्छ। सस्तोमा भारतबाट चामल, दाल, तेल आदि खरिद गर्ने र भारतलाई महँगोमा त्यस्ता वस्तु बिक्री गर्ने, जुन भारतमा उत्पादन हुन सकेको छैन वा भारतले उत्पादन गर्न सक्तैन। यस्तै नीति चीनसँग हुने व्यापारमा पनि लिनुपर्छ। नेपालले औद्योगिक सामग्रीहरू उत्पादन गरेर चीनलाई बिक्री गर्न सक्नु अब सम्भव रहेन। यो अब सपनामा मात्र सीमित रह्यो। त्यसकारण चीनसँग सस्तो औधोगिक वस्तुहरू खरिद गर्ने र चीनमा उत्पादन हुन नसकेको वा चीनले उत्पादन गर्न नसक्ने वस्तुहरू चीनलाई बिक्री गर्नु उचित हुन्छ। नेपालले कुनै वस्तुको उत्पादन, जसमा आफ्नो प्राकृतिक एकाधिकार छ, बिक्री गर्नुपर्छ। उदाहरणका लागि लप्सीको अचार। यो केवल सामान्य उदाहरण मात्र हो।
    नेपालले चीन र भारतसँग व्यापारबाट यदि फाइदा लिने हो भने माथि उल्लेख गरेको नीति लिएमा मात्र फाइदा लिन सकिन्छ। यी दुई छिमेकीहरूबाट व्यापारिक फाइदा लिने हो भने माथि उल्लेख गरिएको नीति लिनु नै पर्छ, यस नीतिको अर्को विकल्प हुन सक्तैन। यो नीतिले मात्र चीन र भारतसँग व्यापार गर्न नेपाललाई सक्षम बनाउँछ।
    प्रकृतिले कुनै पनि देश वा क्षेत्रलाई सबै कुरा (उत्पादन गर्न सकिने स्थिति) दिएको हुँदैन। प्रकृतिले कुनै खास क्षेत्रलाई कुनै खास विशेषताले युक्त गरेको हुन सक्छ। उदाहरणका लागि दक्षिण अफ्रिका विकासशील राष्ट्र भए तापनि सुन उत्पादनमा अग्र स्थानमा छ। यसै गरी बोत्सवाना, कंगो, जिम्बाब्वे, अंगोला अफ्रिका महादेश धनी राष्ट्र नभए तापनि हीराको उत्पादनमा यी राष्ट्र निकै अगाडि छन्। भेनेजुएलासँग विश्वभरिमा नै सर्वाधिक ठूलो तेल (पेट्रोलियम) भण्डार छ।
    नेपालले पनि आफू कुन क्षेत्रमा सबल छ वा हुन सक्छ त्यस क्षेत्रको खोजी गर्नुपर्छ, अनुसन्धान गर्नुपर्छ। र त्यही सबल क्षेत्रमा केन्द्रित रहेर छिमेकीहरूसँग व्यापार गर्नुपर्छ। नेपालले भारतलाई अब धान, चामल, गहुँ आदि बेच्ने दिन गए।
    नेपालका दुई घनिष्ठ छिमेकीहरू भारत र चीन एशियाका आर्थिक महाशक्ति भए तापनि वा अत्यन्तै ठूला बजार भए तापनि ती राष्ट्रहरूलाई केवल सामान्य किसिमका वस्तु वा सेवा बिक्री गरेर यी ठूला बजारबाट फाइदा लिन अब सकिंदैन। र फाइदा लिन सकिन्छ भनेर सोच्नु भ्रममात्र हुनेछ। धेरै लेख, अन्तर्वार्ता, अभिव्यक्ति विचारहरूमा यस किसिमका सोच (चीन र भारतका बजारमा सामान्य वस्तु बिक्री गर्न सकिने) उल्लेख गरिएको पाइन्छ। भारत र चीन अत्यधिक ठूला बजार भए तापनि यी बजारलाई कृषि, औद्योगिक सामग्री वा सामान्य किसिमका वस्तुहरू बिक्री गरेर नेपालले कुनै हालतमा आर्थिक फाइदा प्राप्त गर्न सक्तैन। यी दुवै क्षेत्रमा चीन र भारत अगाडि छन्। झन् चीनको स्थिति त अति पृथक छ। उद्योगको क्षेत्रमा अग्रणी स्थानमा भएको कारण चीनले अहिले विश्वको कुनै पनि देशमा आफ्ना वस्तुहरू सस्तोमा बिक्री गर्न सकिरहेको छ। अर्थात् चिनियाँ वस्तुहरू विश्वमा नै सस्तोमा बिक्री भइरहेको छ।
    नेपालले उत्पादनमा एकाधिकार वा विशेषज्ञता हासिल गरेका वस्तुहरू चीनलाई बिक्री गरेर राम्रो फाइदा लिन सक्ने स्थिति भने छ। त्यस किसिमका वस्तुहरूको खोजी नेपाली व्यापारीहरूले आफ्नै लगानी एवं पहलमा गर्न आवश्यक छ। यस्तो गर्न सके नेपालले चीनसँग व्यापारबाट फाइदा लिन सक्छ। अर्को किसिमले हेर्दा नेपालले चीनको स्वशासित क्षेत्र तिब्बतमा पनि विभिन्न किसिमका सामग्री निर्यात गर्न सक्ने स्थिति छ। नेपालले चिनियाँ पर्यटकहरूलाई पहाडी मार्गबाट भित्र्याएर पनि नेपालचीन व्यापारबाट फाइदा लिन सक्छ। अहिले चीनले आर्थिक क्षेत्रमा गरेको अभूतपूर्व प्रगति एवं चिनियाँहरूमा आएको केही सामाजिक परिवर्तनले गर्दा बहुसङ्ख्यक चिनियाँहरू पर्यटनमा राम्रो रकम खर्च गर्न सक्ने स्थितिमा पुगेका छन्। खर्च गरि पनि रहेका छन्। यी कारणले गर्दा चिनियाहरू अहिले अमेरिका, युरोप भ्रमणमा निस्किने गरेका छन्। यो अवसरको नेपालले पनि फाइदा उठाउन सक्नुपर्छ। नेपालले चिनियाँहरूलाई पर्यटकको रूपमा नेपला ल्याउन जोड दिनुपर्छ।
    चिनियाँ पर्यटकहरू स्थलमार्गबाट पनि ठूलो सङ्ख्यामा आउन सक्ने सम्भावना छ। तर अहिलेको लागि भने चिनियाँ पर्यटकहरूले स्थलमार्गको तत्काल उपयोग गर्ने सम्भावना देखिंदैन। नेपालको बार्हबिसे नजीक तातोपानी नाका र टिमुरे नजीक रहेको रसुवागढी नाकाबाट चिनियाँ सामानहरू आयात गर्न र नेपाली सामान चीनतर्फ निर्यात गर्न सजिलो हुने स्थिति भने सृजना हुन थालेको छ।
    रसुवागढी नजीक रहेको टिमुरेमा सुख्खा बन्दरगाह निर्माण हुने सम्झौता नेपाल र चीनबीच केही दिन पहिलेमात्र सम्पन्न भएको छ। र यो सुख्खा बन्दरगाहको निर्माण अबको एक महीनाभित्र प्रारम्भ भएर ३० महीनाभित्र सम्पन्न हुनेछ। यो सुख्खा बन्दरगाह भने उत्तरी सिमानामा दोस्रो हुनेछ।
    चीन सरकारको सहयोगमा निर्माण हुन थालेको यो आधुनिक सुख्खा बन्दरगाहले नेपालचीन व्यापारलाई सरल पार्ने एवं नेपाली निर्यात त्यसतर्फ बढेर जाने विश्वास लिइएको छ। यो सुख्खा बन्दरगाहको निर्माणले चीनबाट सामानहरू आयात गर्न झन् सजिलो हुनेछ। साथै यो नाका (सुख्खा बन्दरगाह प्रयोग गर्दै) ले नेपाली समानहरू चीनको सिंगात्सेसम्म पुर्याउन ठूलो सहयोग गर्ने छ। रसुवागढी नजीक रहेको चिनियाँ बजार केरूङसम्म रेल व्यवस्था स्थापना गर्ने लक्ष्य पनि चिनियाँ सरकारले राखेको छ। त्यही रेल व्यवस्था प्रयोग गर्दै नेपाली भूमि स्याफ्रु, मैलुङ, त्रिशूली, गल्छी हुँदै दक्षिण एशियासम्म रेल सेवा विस्तार गर्ने लक्ष्य चीनले राखेको छ। चीन र नेपाल दुवैको यो महत्वाकाङ्क्षी योजना (चीनदेखि दक्षिण एशियासम्म रेल व्यवस्था) सम्पन्न हुने हो भने यसले चीन र नेपाल दुवैलाई निकै फाइदा पुर्याउने छ। चीनको व्यापार विस्तार हुनेछ भने नेपालको रणनैतिक शक्ति (Strategic power) र अडान शक्ति (Bargaining power) दुवैमा ह्वात्तै वृद्धि हुनेछ किनभने यो रेल व्यवस्थाले नेपालको भारतमाथिको अति व्यापारिक निर्भरता कम भएर जानेछ भने आर्थिक कारण देखाएर भारतले नेपालको राजनीतिमा गर्ने दृश्यअदृश्य, प्रत्यक्षपरोक्ष हस्तक्षेप पनि कम हुनेछ। तर मुख्यरूपमा व्यापारको क्षेत्रमा नेपालले तत्काल फाइदा पाउने छ।
    नेपालले मुलुकको आर्थिक विकासको लागि व्यापार एवं पर्यटनमा बढी जोड दिनुपर्छ। र व्यापारलाई अझै मुनाफमुखी तुल्याउन चीनसँग व्यापारमा जोड दिनुपर्छ।
    भारतका आम नागरिकको तुलनामा चीनका आम नागरिकको आर्थिक स्थिति राम्रो छ। क्रय शक्ति पनि बलियो छ। यो कारणले गर्दा चिनियाँ बजार नेपाली निर्यातकर्ताहरूको लागि निकै लाभदायक हुन सक्छ।
    तर मुख्य कुरो भने फेरि त्यही दोहोर्याउनु पर्ने हुन्छ। नेपालले चीनलाई त्यही सामान बिक्री गर्नुपर्छ जुन चीनमा उत्पादन हुन नसक्ने वा चीनमा उत्पादन गर्दा धेरै महँगो हुने होस्। यस्तो गर्न सकिएमा नेपालले बृहत् चिनियाँ बजारको फाइदा उठाउन सक्छ। र व्यापार विविधीकरणका लागि यस्तो गर्नु आवश्यक पनि छ।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, May 17, 2019

Friday, May 10, 2019

Special Characteristics of Nepalese Economy-Family Structure-246


अमेरिकी अर्थव्यवस्थाका विशेषता

पारिवारिक संरचना

अमेरिकी समाजमा प्रचलित पारिवारिक संरचनाले अमेरिकालाई धनी तुल्याउन महत्वपूर्ण भूमिका खेलेको छ। यो कुरा सुन्दा अपत्यारिलो वा अचम्म लाग्न सक्छ तर यो यथार्थ हो। यो निचोड हतार वा अपरिपक्व अनुवभको आधारमा प्राप्त भएको होइन, वरन् यो समाजलाई दशकौं नजीकबाट हेरेर, भिजेर प्राप्त भएको हो।
    पारिवारिक संरचनाले मुख्यगरी सामाजिक पक्षसँग सरोकार राख्ने भए तापनि अमेरिकाको सन्दर्भमा पारिवारिक संरचनाले आर्थिक पक्षसँग बढी सरोकार राख्दछ। त्यस्तो कसरी सम्भव भएको होला त?
    स्वतन्त्र, स्वच्छन्द, सहिष्णु र उदार पारिवारिक वातावरणमा हुर्केका अमेरिकी युवाहरू सानै उमेरदेखि उद्यमी प्रवृत्तिका हुन्छन्। कुनै नयाँ कुरा गरौ भन्ने भावनाले प्रेरित हुन्छन्। आफूबारे स्वतन्त्र किसिमले निर्णय लिन सानैदेखि, परिवारबाट नै सिकेका हुन्छन्। असफलतादेखि न डराउने एवं विचलित नहुने मनोवैज्ञानिक वातावरणमा हुर्केका हुन्छन्। छोरा वा छोरी, दुवैलाई माता पिताले समान व्यवहार गरेर हुर्काएका हुन्छन्। खाडीका देश, मध्य पूर्व एवं दक्षिण एशियाका मुलुकहरूमा जस्तो छोराहरूलाई बढी छुट तर छोरीलाई बढी नियन्त्रणमा राख्ने परिपाटी अमेरिकी समाजमा देख्न पाइँदैन। परिवारभित्र रहेर छोरा एवं छोरी दुवैले समान सामाजिक स्वतन्त्रता उपभोग गर्छन्।
    अमेरिकी समाज जातविहीन समाज हो। विवाह गर्दा जातपात होइन, दुई पक्ष (युवक र युवती) बीचको सझदारीलाई महत्व दिने गरिन्छ। एक अमेरिकन युवतीले कुनै एशियन युवकसँग बिहे गरेमा युवतीको परिवारले त्यस्तो युवक (विजात) सँग किन विवाह गरेको भन्दै रोकछेक गर्ने प्रश्न नै उठ्दैन, उल्टो त्यो परिवारले आफ्नो सन्तानले गरेको त्यस्तो निर्णयको स्वागत गर्दछ। यो कारणले गर्दा अमेरिकी समाजमा दाइजो, तिलक वा दाउरीको कुनै समस्या छैन। अमेरिकी आमाबाबुले भोलिका दिनमा सन्तानको विवाह गर्न (दाउरी, दाइजो, तिलक दिन) धन सञ्चय गर्नुपर्छ भन्ने स्थिति नै आउँदैन। तर दक्षिण एशियामा भने दाइजोले मातापितालाई यतिसम्म सताएको छ कि बिचरा मातापिता, फूले गरेको आर्जन पनि सन्तोषजनक किसिमले उपयोग गर्न पाउँदैनन्। मौरीले थोपाथोपा मह सञ्चय गरेझै मातापिताले छोरीको बिहेमा दाइजो दिन वा सन्तानको बिहेबारीमा खर्च गर्न थोपाथोपा गरी आम्दानी सञ्चय गर्नुपर्छ।
    यस्तै स्थिति शिक्षामा पनि छ। दक्षिण एशियाका मातापिताहरूले आफ्नो सन्तानको शिक्षाको लागि धन सञ्चय गर्नुपर्छ। आफ्नो पेट काटेर भएपनि पैसा जोगाउनुपर्छ। आफ्ना सन्तानलाई केवल प्राथमिक शिक्षा (१ देखि ५ कक्षा सम्म) दिन पनि अभिभावकहरूले आफ्नो मासिक आम्दानीको ठूलो हिस्सा खर्च गर्नुपर्छ।

अझै निजी विद्यालयहरू (प्रचलित भाषामा बोर्डिङ भन्ने गरिन्छ) मा पठाउने मातापिताहरूले त सन्तानको शिक्षामा ठूलै रकम खर्च गर्नुपर्छ। निजी विद्यालयहरू ज्यादै महँगा हुन्छन् भन्ने यथार्थ हामी सबैले देखेभोगेकै कुरा हो। अर्कोतिर निजी विद्यालयमा सन्तानलाई पढाउँदा सामाजिक प्रतिष्ठा बढ्छ भन्ने मनोविज्ञानले पनि हाम्रो समाजलाई कहिले निको नहुने रोगले जस्तो ग्रस्त पारेको छ। अमेरिकामा उच्च माध्यमिक विद्यालयसम्मको शिक्षा नि:शुल्क छ। अभिभावकहरूले उच्च शिक्षाका लागि कुनै खर्च गर्नुपर्दैन। ब्याचलर लेबलको पढाइ हुने सामुदायिक कलेजहरू पनि खर्चिला हुँदैनन्।
    सन्तानको बिहेबारीमा गरिने अधिक खर्च (तिलक, दाइजो आदि) ले उनीहरूको मनोविज्ञानमा कस्तो असर पार्छ? त्यस्तो कार्यको प्रत्यक्ष र अप्रत्यक्ष असर के पर्छ भने सन्तानमा आत्मनिर्भरताको विकास हुन पाउँदैन। अझै धनी माता पिताका सन्तानमा त झनै गैरजिम्मेवार भावना विकसित हुन्छ। परिश्रम गर्ने होइन, शान देखाउनुपर्ने, समाजमा मेरो हैसियत यस्तो छ भन्ने मनोविज्ञान निर्मित हुन्छ। दाइजो, तिलक आदिले सन्तान (छोरी) को मनोविज्ञान कमजोर तुल्याउँछ। यस किसिमबाट कमजोर मनोविज्ञान भएका सन्तान (छोरी) ले आफैले कुनै किसिमको व्यवसाय वा व्यापार गर्न सोच्न पनि सक्तैनन्।
    अमेरिकी समाजले आफ्ना परिवारका सदस्य (सन्तान) हरूलाई स्वावलम्बी हुन शैशवकालदेखि नै सिकाउँछ। उनीहरूको लालनपालन पनि उनीहरूलाई आत्मनिर्भर हुने किसिमबाट गर्छ।
    अमेरिकी समाजमा स्कूल समाप्त हुनासाथ छोराछोरी आफ्ना मातापिताको घर छाडेर स्वतन्त्र किसिमले बस्न घरबाट बाहिरिन्छन्। आफ्नो नयाँ परिस्थिति विकास गर्छन्। आफ्नो पति/ पत्नी आफै खोज्छन्। मातापिताले खोजेर बिहे गरिदिने वा मागी बिहे गर्ने परिपाटी अमेरिकी समाजमा छैन। यसरी युवाहरूले आफ्नो वर/वधू खोज्ने हुनाले परिवारले अनावश्यकरूपमा आर्थिक समस्या भोग्नुपर्दैन।
    मातापिता अत्यन्तै धनी भए पनि आफ्नो स्वतन्त्रताको पूर्ण उपभोग गर्न छोराछोरीहरू उनीहरूसँग बस्दैनन्। हुन त यो पद्धति युरोपमा पनि छ। तर युरोपभन्दा पनि अमेरिकी युवाले स्वतन्त्रताको निकै उपयोग गर्छन्। अमेरिकी समाजले अनेक किसिमका औपचारिकताभन्दा व्यक्तिस्वतन्त्रता र व्यक्तिगोपनीयतालाई अत्यधिक महत्व दिन्छ। औपचारिकताको बढी प्रदर्शनमा ध्यान दिंदैन। उदाहरणका लागि अमेरिकी समाज (खासगरी अंग्रेजी भाषीहरू) मा भर्खर जन्मेको बालकलाई सम्बोधन गर्दा पनि यु’ (You) भनिन्छ। १०० वर्षको व्यक्तिलाई सम्बोधन गर्दा पनि युनै भनिन्छ। एक व्यक्तिको हिसाबले दुवैलाई समान किसिमको सामाजिक हैसियत (इज्जत) प्रदान गरिन्छ। भाषाद्वारा नै व्यक्तिलाई (उसको आर्थिक अवस्था अनुसार)) विभेद गरिंदैन। सानै देखि सामाजिक विभेद खप्न नपरेकोले व्यक्तिहरूमा बलियो मनोविज्ञान विकसित हुन्छ।
    मातापिता धनी भए तापनि छोराछोरीहरूले आफ्नो आम्दानीले नै आफ्नो कलेज, घर भाडा, खाना आदिको खर्च टार्छन्। युवाहरूले काम गरेर, त्यसबाट प्राप्त भएको आम्दानीबाट वा विद्यार्थी ऋण (Education loan), जुन सरकारले सस्तो ब्याजदरमा उपलब्ध गराएको हुन्छ, लिएर त्यसबाट शिक्षामा लाग्ने खर्च बेहोर्छन्। अर्थात् युवा अवस्थादेखि नै आत्मनिर्भर हुन सिक्छन्।
    न मातापिता सन्तानका लागि (आर्थिकरूपमा) भार बन्छन्, न सन्तान मातापिताका लागि भार बन्छन्। दुवैथरी आफ्नै किसिमले बाँच्छन्। आआफ्नो आम्दानी आफ्नै किसिमले खर्च गर्न स्वतन्त्र हुन्छन्। तर सन्तानप्रति मातापिताको र मातापिताप्रति सन्तानको माया घटेको भने हुँदैन। आफ्नो मातापितालाई भेट्न सन्तान र सन्तानलाई भेट्न मातापिताहरू उनीहरूको निवासमा नियमित वा समयसमयमा अवश्य जान्छन्।
    अमेरिका एक बहुसंस्कृतिको सङ्गम स्थल हो। यहाँ विवाह वा परम्परामा कुनै पनि किसिमको कट्टरता छैन। बहुसांस्कृतिक मुलुक भएकोले नै सामाजिक व्यवस्थामा यो मुलुक निकै उदार छ र यो उदारताले आर्थिक विकास गर्न अमेरिकीहरूलाई सघाएको छ।
    अमेरिकी समाजमा सृजित चिन्तन फ्नो आफैले आर्जन गरले प्रत्येक व्यक्तिलाई सानै उमेरदेखि उद्यम गर्न अभिप्रेरित गर्छ र बाध्य पनि पार्छ।
    व्यापारको क्षेत्रमा अभूतपूर्व प्रगति हासिल गरेका अमेरिकी नागरिक बिल गेट्स हुन्, वा मार्क जुकरबर्ग, कुनैले पनि आफ्नो मातापिताले दिएको पैसा लिएर व्यवसाय (व्यापार) शुरू गरेका होइनन्। आफ्नै आम्दानी (लगानी) बाट व्यवसाय शुरू गरेका हुन्। जे गर्ने हो आफैले गर्ने होभन्ने मान्यतामा अमेरिकी समाजले बलियो विश्वास राख्छ र अभ्यास पनि उत्तिकै गर्छ।
    युवाहरूले आफ्नो विवाहको लगि खर्च पनि आफैं जुटाउँछन्। विवाहका लागि मातापितामा भर पर्नु, मातापिताले वर वा वधू खोजिदिनु जस्तो चलन अमेरिकीहरूको नजरमा अनौठो मानिन्छ।
    अमेरिकी समाज गतिशील समाज हो। खाडीका देशहरूमा झै अति धार्मिक तथा सामाजिक कट्टरता अमेरिकी समाजमा देखिंदैन। यहाँ परिवारले, परिवारको संरचनाले नै सामाजिक गतिशीलता सिकाउँछ।
    कुनै पनि मुलुक आर्थिकरूपमा सम्पन्न हुनका लागि त्यस देशमा सामाजिक गतिशीलता हुन आवश्यक छ।
    नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान आदि मुलुकमा व्याप्त ठूलो परिवार (Extended family) परम्पराले पनि यी देशका नागरिकलाई गरीबीबाट बाहिर आउन दिइरहेको छैन। यस्तै स्थिति अफ्रिकी महादेशका मुलुकहरूमा पनि छ। बृहत् परिवारमा बस्दा व्यक्तिहरू स्वतन्त्र भएर बाँच्न सक्तैनन्, साथै परावलम्बी पनि हुन्छन्। अनेक किसिमका औपचारिकता पालन गर्न बाध्य हुन्छन्। अमेरिकीहरू बृहत् होइन, स- सानो, अति सानो (Nuclear)  परिवारमा बस्छन् परिवारमा मातापिता र स्कूले सन्तानमात्र समाविष्ट हुन्छ। एक व्यक्ति (पारपाचुके भएको, वा विवाह न भएको) को पनि परिवार हुन सक्छ। एक्लै रहेर पनि, तर स्वतन्त्रता पूर्ण उपभोग गरेर बाँच्नुपर्छ भन्ने मान्यतामा अमेरिकीहरू बलियो विश्वास गर्छन्।
    अमेरिकाको अभूतपूर्व आर्थिक विकासले पारिवारिक संरचना र व्यक्ति एवं मुलुकको आर्थिक विकासबीच नङ र मासुको झै सम्बन्ध हुन्छ भन्ने तथ्य प्रमाणित गरिदिएको छ।

विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक दैनिकमा प्रकाशित: Friday, May 10, 2019