विचारको युद्धमा चेपिएको नेपाल
प्रथम वा दोस्रो विश्वयुद्ध
वा अन्य विभिन्न युद्धहरू विगतमा केवल शक्तिका लागि भएका थिए । युद्धमा संलग्न
हुने वा युद्धनायकहरूले युद्ध गर्नुको प्रमुख उद्देश्य कुनै खास क्षेत्र वा
विश्वभरि नै शक्तिशाली हुनु थियो । आफ्नो शक्तिले थिचोमिचो कायम गर्नु थियो । तर
अहिले जे जति युद्धहरू विश्वभरि मच्चिएका छन, यी सबै प्राय:गरी विचारका युद्धहरू हुन् । विचारका युद्धहरू अस्त्र, शस्त्रका युद्धहरूभन्दा झन
बढी घातक एवं बढी हताहत गर्ने किसिमका देखिएका छन् । विचारको युद्ध अफ्रिका, युरोप हुँदै एसियासम्म जुन
किसिमले अहिले फैलिरहेको छ, त्यो हेर्दा लाग्छ यो युद्ध विगतका युद्धहरूभन्दा बढी विनाशकारी
हुनेछ । यसले बढी हताहत गर्नेछ । ठूलो मात्रामा मानव–विनाश गर्नेछ ।
के हो विचारको युद्ध भनेको ?
आफ्नो विचार अरूमाथि लाद्नका
लागि, आफूले लिएको
विचार नै सही हो र अरूले लिएको विचार गलत हो भनी प्रमाणित गर्नका लागि, आफ्नो विचारका समर्थकहरूको
सङ्ख्या तीव्र गतिमा विस्तार गर्नका लागि, आफ्नो विचारद्वारा सत्ता र शक्ति प्राप्त गर्नका लागि र आफ्नो
विचारद्वारा अरूको बुद्धि भुट्नका लागि अहिले चारैतिर विचार–युद्ध घातक किसिमले फैलिरहेको
छ । अफगानीस्तान र पाकिस्तानमा तालिबानीले गर्ने खुनी हमला, टर्कीमा कुर्दहरूको सङ्घर्ष, इरान र साउदी अरबियाबीच
परोक्ष लडाइ वा शिया–सुन्नी सङ्घर्ष, नाइजेरियाको बोको हरामको ससस्त्र सङ्घर्ष, सोमालियाको अल सवाहको आतङ्क कोलम्बियाको फार्क विद्रोहीहरूद्वारा
गरिएको गृहयुद्ध, भारतका नक्सलीहरूको हिंसक छापामारी, सिरिया र इराकको विभिन्न क्षेत्रमा आइएसले मचाएको खुनी आतङ्क सबै
केवल विचार–युद्ध हुन् । विचार विस्तारका युद्ध हुन् । ‘मेरो विचार सही अरूका विचार
गलत’ सँग
सम्बन्धित युद्ध हुन् । एउटा विचारमाथि अर्को विचारको विजय विचारद्वारा नै नभएर
अहिले एउटा विचारमाथि अर्को विचारको विजय युद्धद्वारा, अस्त्रशस्त्रको प्रयोगद्वारा
भइरहेको छ ।
नेपालमा विचार युद्ध
नेपालमा
ज्यादै जनधनको क्षतिसहित माओवादीहरूद्वारा मचाइएको घातक सङ्घर्ष पनि विचार–युद्ध नै थियो । प्रचण्ड, बाबुराम, किरण वैद्यजस्ता अति
महत्त्वाकाङ्क्षी व्यक्तिहरूको विचारको गर्भबाट त्यो सङ्घर्षले जन्म लिएको थियो ।
नेपालको राजनीतिमा उनीहरूको वर्चस्व कायम गर्न उनीहरूद्वारा त्यो खुनी सङ्घर्षको
थालनी भएको थियो । निरपेक्ष गरिब जनताको हित र सेवामा उनीहरूको सङ्घर्ष केन्द्रित
थिएन । यदि त्यस्तो भएको भए अहिले जस्तो प्रचण्ड काठमाडौंको महलमा नबसेर रूकुम, रोल्पाको गरिबहरूको झोपडीमा
हुन्थे, जसरी कलकत्ताको गरिब बस्तीमा मदर टेरेसा बसेकी थिइन् । तर प्रचण्डको
उच्च महत्त्वाकाङ्क्षाको अर्थ नेपालको गरिब जनताले ज्यादै ढिलोगरी बुझ्यो । तर जब
बुझ्यो तबसम्म १७ हजार भन्दा बढी नेपालीको ज्यान गइसकेको थियो ।
बाबुरामको विचार–युद्ध
किरण वैद्य र बाबुराम पनि
जनसेवक भएको भए किरण वैद्य माओवादीबाट छुट्टिएर उनको दल नेकपा–माओवादी भएपछि वैद्य
काठमाडौंमा बसेर विभिन्न पत्रपत्रिकाहरूलाई अन्तर्वाता दिनुको साटो अनुराधा
कोइरालाले गरेझैं गरिब बेसहाराहरूको सेवामा संलग्न हुन्थे । डा बाबुराम भट्टराईको
त के, कुरा नै
गरिसक्नु भो र ? बाबुराम त झन् विचार युद्धमा सबैभन्दा अगाडि छन् । एउटा विचार अगाडि
ल्याउँछन्, त्यसले जनताको विचार भुट्छन् । त्यो विचार पुरानो हुन्छ, जनताको विश्वास त्यो विचारमाथिबाट
उठ्छ बाबुराम अर्को विचार लिएर प्रस्तुत हुन्छन् । अनि अर्को नयाँ एवं ताजा विचार
लिएर जनताको विचार भुट्न आरम्भ गर्छन् । नेपाली जनता पनि बाबुरामको विचारको पछाडि
मौरीझै उड्न शुरु गर्छ । तर जनताले खोइ बुझेको यी विचारका व्यापारीहरूको नाफा
कमाउने बुद्धि ? विचार बेच्नेहरूमा बाबुराम त झनै अग्रपङ्क्तिमा देखिएका छन् । कति
सजिलो, बाबुरामको
लागि ? उनको विचारको
पछाडि लागेर १७ हजारले ज्यान गुमाए । अहिले आएर बाबुराम भन्दैछन् उनले पहिले लिएको
विचारको सान्दर्भिकता अब रहेन । यो विशिष्ट ज्ञान पहिले किन उनको दिमागमा फुरेन ? अब बाबुराम फेरि अर्को विचार
बोकेर नयाँ ग्राहकहरूको खोजीमा छन् । उनले धेरै ग्राहक पाइसके । अझै पाउने छन्, सन्देह नगरे हुन्छ । किनभने
नेपालमा विचार बेचेर खान जति सजिलो काम कुनै छैन् । असल दूध, दही तरकारी बेचे भने किन्ने
ग्राहकले अनेक प्रश्न गर्ला तर नेपालमा विचार किन्न जनताले कुनै पनि किसिमको
कन्जुस्याइँ गर्दैन । फटाफट विचार किन्छ । त्यसैले होला बाबुराम अहिले सफलतापूर्क
नयाँ विचार बिक्री गर्न अति व्यस्त छन् । हालै केही दिन पहिले मात्र बाबुरामले ३५
जना सदस्य सम्मिलित एउटा ‘केन्द्रीय अन्तरिम परिषद्’ स्थापना गरिएको घोषणा गरेका छन् । चलचित्र क्षेत्रका चर्चित व्यक्ति, जातीय सङ्ठनका नेताहरू, सेवानिवृत्त कर्मचारी तथा प्रहरी, पूर्व माओवादी नेताहरू तथा अन्य चर्चित व्यक्तिहरू सम्मिलित उक्त
परिषद्लाई नयाँ राजनैतिक शक्तिको नाम दिएका छन् उनले ।
मधेसी मोर्चाको विचार युद्ध
मधेसी मोर्चाको तराई
केन्द्रित अहिलेको लामो सङ्घर्ष पनि विचारको युद्ध नै हो । मधेसी नेताहरूलाई अहिले
उनीहरू मात्र मधेसको मसिहा, मुक्तिदाता र बाँकी सबै मधेसको शत्रु लागिरहेको छ । मधेसको सामाजिक र
आर्थिक विकासका लागि उनीहरूले निर्माण गरेका नीति, नियम र योजनाहरू सही छन् बाँकी सबै गलत र बकवास भन्ने बलियो अडानमा
छन् उनीहरू । आफ्ना ती विचारहरू सही छन् र अरूले पनि सही मानिदिनुपर्यो भनेर पाँच
महिनादेखि बन्द, नाकाबन्दी, धर्नाजस्ता विरोधका कार्यक्रम चलाउन क्रियाशील छन् । मोर्चाका
नेताहरूको सोच र विचार अहिले मुलुकभर विचारहरूको पिरामिडमा सबै भन्दा माथि छ ।
अर्थात् उनीहरूको विचार नै सर्वेसर्वा छ र सर्वेसर्वा हुनुपर्दछ पनि । उनीहरूको
विचारबाहेक अरूको विचारले मधेसको हित हुन सक्तैनस कदापि हुन सक्तैन । यदि अर्को
कुनै विचारले सच्चा रूपमा मधेसको हित गर्न खोज्छ भने त्यो विचार मधेसको शत्रु हो र
मधेसको जनताले पनि त्यस्तो विचारलाई बलपूर्वक नै भए पनि शत्रु मान्नुपर्छ । अर्को
विडम्बना! मधेसी मोर्चाका नेताहरूको विरोधको अनुभवहीन शैली र तरिकाले गर्दा मधेसका
बासिन्दा नै बढी सङ्कट र पीडामा परेका छन् । मधेसका गरिबहरूको जीवन डरलाग्दो
किसिमले कष्टकर हुन पुगेको छ । मधेसले ठूलो र अपूरणीय आर्थिक क्षति बेहोर्नुपर्ने
भएको छ । मधेसको हित गर्ने भनेर थालिएको सङ्घर्षले झन् मधेसको नै ठूलो आर्थिक
क्षति भएको छ । के ठूलो परिमाणमा आर्थिक क्षति हुनु नै मधेसको हित हो ? विकास हो ? तर मधेसमा जुन आर्थिक क्षति
भएको छ त्यसको पूर्ति कहिले र कसरी गर्ने र यो क्षतिको लागि जिम्मेवार को हो ? यसबारे कसैसँग ठोस सोचाइ छ ? यो क्षतिको मधेसी मोर्चा वा
सरकार, कुनै एक
पक्षले त जिम्मेवारी लिनैपर्छ नि; कि त्यस्तो होइन ? के जस्तोसुकै अपराध गरे पनि
उम्कन पाइन्छ ?
सरकारको विचार युद्ध
अर्कातिर सरकार धृतराष्ट्रको
शैलीमा बसेको छ । सत्ता मोहमा उसले मानव मूल्यलाई बिर्सिरहेको छ । आफ्नो अडान ठीक
छ, आफ्नै विचार
ठीक छ भन्ने भ्रममा छ । सरकार पनि विचार युद्धमा नै छ । सरकारलाई लागिरहेको छ उसले
लिएको विचार नै सही, बाँकी सबै विचार गलत हुन् । उनीहरूको विचार नै देशभरि चल्नुपर्दछ।
जसरी पनि चल्नुपर्दछ ।
विचार युद्धको शिकार भने जनता
अर्कोतिर विचार युद्धको शिकार जनता हुन पुगेको छ ।
महत्त्वाकाङ्क्षीहरू, राजनैतिक शक्तिहरू, जे जतिले विचार युद्ध गरिरहेका छन् ती सबै युद्धको डरलाग्दो परिणाम
सामान्य नागरिकहरूले भोगिरहेका छन् । विभिन्न विचार–युद्धमा लाखौंको ज्यान गएको छ, करोडौ शरणार्थी भएका छन् । नेपालमा मचेको विचार युद्धहरूले पनि कम
जनधनको क्षति गरेको छैन । त्यस कारण अहिलेको समयमा ठूलो चुनौती भनेको नै कसरी सही
किसिमले विभिन्न विचारहरूको व्यवस्थापन गर्ने भन्ने हो ।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, January 29, 2016