सन्तुलित राष्ट्रिय आय वितरण: गम्भीर आर्थिक समस्या
देश धनी
हुनु भनेको सम्पूर्ण देशबासीहरू धनी हुनु होइन। देश धनी भएर पनि देशका बहुसंख्यक
नागरिकहरू गरिब हुन सक्छन। यो
तथ्यको उदाहरण हेर्न धेरै पर जानु पर्दैन। हाम्रो दक्षिणी छिमेकी देश भारतको
आर्थिक स्थिति हेर्दा हुन्छ।
विश्वका
आर्थिक महाशक्ति राष्ट्रहरूको सूची हेर्ने हो भने विश्वको सर्वाधिक ठूलो अर्थ
ब्यवस्था (26.85 trillion)
संयुक्त राज्य अमेरिकाको रहेको देखिन्छ। यसैगरी दोस्रो, तेस्रो, चौथो र पाँचौमा
क्रमस: चीन, जापान, जर्मनी र भारत विश्वका ठूला अर्थ व्यवस्थाको रुपमा रहेको
पाइन्छ।
माथि
प्रस्तुत जानकारीहरूको विश्लेषण गर्दा भारत ठूलो अर्थ ब्यवस्था भएको कारण धनी राष्ट्रहरूको
सूचीमा परेको त देखिन्छ नै, साथै यो देश विश्वको पाँचौ ठूलो अर्थ व्यवस्था भएको
देश रहेछ भने कुरा पनि प्रष्ट हुन आउँछ। आर्थिक कारोबार पनि भारतको ठूलो ($ 3.74 trillion) रहेको छ।
विश्वको
ठूलो अर्थतन्त्रको रुपमा भारतको स्थान पाँचौ छ। भारतले ठूलो परिमाण एवं मूल्यमा
आर्थिक कारोबार गर्छ। त्यस हिसाबले भारतलाई धनी राष्ट्र मान्नु पर्ने हुन्छ। तर के
यथार्थमा भारत धनी राष्ट्र हो? यदि भारत धनी राष्ट्र हो भने भारतमा गरिबहरूको
संख्या न्यून हुनु पर्ने हो। होइन र? तर आश्चर्य! विश्वमा सर्वाधिक ठूला झोपडपट्टी भएका राष्ट्रहरूको सूचीमा भारत पनि
पर्दछ। भारतमा गरिबहरूको संख्या पनि ठूलो छ। त्यो पनि अति गरिबहरूको।
भारतको
महाराष्ट्र राज्यको मुंबई सहर स्थित धारावी झोपडपट्टीलाई विश्वका सर्वाधिक ठूला
झोपडपट्टीहरू मध्ये एक मानिन्छ। क्षेत्रफलको हिसाबले अति सानो, मात्र २.३९ वर्ग किलोमिटरमा फैलिएको धारावी झोपडपट्टीमा
करिब १० लाख ब्यक्तिहरू बसोबास गर्छन। भारतका अन्य सहरहरूमा पनि ठूलो संख्यामा
गरिबहरूको बस्ती (झोपडपट्टी) रहेको पाइन्छ। अर्थात बसोबास गर्नका लागि आफ्नो घर
नहुनेहरूको संख्या भारतमा ठूलो छ। यो तथ्यले भारतलाई धनी राष्ट्र भन्न गार्हो
हुन्छ।
दक्षिण
अफ्रिकाको केप टाउन स्थित खाएलित्सा, केन्याको नैरौबी स्थित किबेरा र पाकिस्तानको
करांची स्थिति ओरांगी झोपडपट्टी पनि विश्वका ठूला झोपडपट्टीहरू मध्ये अति ठूला
झोपडपट्टीहरू हुन्। खाएलित्सा, किबेरा र ओरांगी जस्ता ठूल झोपडपट्टीहरूमा क्रमश: ४
लाख, ७ लाख र २४ लाख ब्यक्तिहरू बसोबास गर्छन।
झोपडपट्टी
अर्थात स्लम्स (slums) लाई
विभिन्न किसिमले परिभाषित गरिएको पाइन्छ। सामान्य किसिमले भन्नु पर्दा, अति न्यून
आय भएका घरवारविहीन व्यक्ति वा परिवारद्वारा सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण
गरेर बनाइएका झोपडीहरूको समूह झोपडपट्टी वा स्लम्स हो। सोझो किसिमले भन्नु पर्दा
गरिबहरूको बस्तीलाई झोपडपट्टी भन्ने गरिन्छ। झोपडपट्टीमा जनघनत्व अत्यधिक भएकोले
उपलब्ध सीमित स्रोत र साधन (बिजुली, सडक, पानी, सञ्चार, जमिन, आकास, वायु, प्रकाश)
हरू बहुसंख्यक व्यक्तिहरूले बाँड्नु पर्छ। अर्को शब्दमा झोपडपट्टीहरूमा श्रोत र
साधनहरूको अत्यधिक न्यून आपूर्ति हुन्छ।
झोपडपट्टीको
निर्माण कसरी हुन्छ?
झोपडपट्टी
निर्माणको प्रमुख कारण नै असन्तुलित राष्ट्रिय आय विवतरण हो। स्थानीय स्तरमा आय
सृजना हुने औसर नभएमा, रोजगारी नपाएमा, स्थानीय स्रोत र साधनहरूमाथि केवल मुठ्ठीभर
ब्यक्तिहरूको कब्जा भएमा, ठूलो संख्यामा स्थानीय ब्यक्तिहरू ठूला ठूला त्यस्ता
सहरहरूतिर लाग्छन जहाँ केवल गुजरा गर्नका लागि भए पनि रोजगारी प्राप्त हुन्छ। वा
आय सृजना गर्न औसर प्राप्त हुन्छ। यसरी गाउँतिरबाट सहर पलायन हुनेहरूले झोपडपट्टीको
निर्माण गर्छन। स्थान्तरण गरेर सहरतिर पसेकाहरूले त्यहाँ आवास खर्च (घर निर्माण व
घर भाडा), जुन ठूलो परिमाणमा हुन्छ, बेहोर्न सक्तैनन र झोपडपट्टीमा बस्न बाध्य
हुन्छन।
असन्तुलित
राष्ट्रिय आय वितरण समस्याले गर्दा झोपटपट्टीहरूको संख्या मात्र वृद्धि हुँदैन,
साथै गरिबहरूको संख्यामा पनि ब्यापक विस्तार हुन्छ। गरिब र धनी बिचको खाडल पनि ठूलो
हुन पुग्छ।
असन्तुलित
राष्ट्रिय आय वितरणको स्थिति कसरी उत्पन्न हुन्छ?
राष्ट्रिय
आय वितरणलाई असन्तुलित पार्ने अनेक तत्वहरू छन। ती सम्पूर्ण तत्वहरू बारे चर्चा
गर्न यस छोटो लेखमा सम्भव नहुने भएकोले यस लेखकमा केवल ब्यापारलाई मात्र समाविष्ट
गरिएको छ र त्यसबारे चर्चा गर्ने प्रयास गरिएको छ।
देशका
केही सीमित ब्यक्तिहरू मात्र ज्यादै धनी भएमा र वहुसख्य व्यक्तिहरू गरिब भएमा
राष्ट्रिय आय वितरण असन्तुलित हुन पुग्दछ। अर्को शब्दाम, देशका उद्योग एवं
व्यापारहरू केवल केही व्यक्तहरूको हातमा मात्र सीमित भएमा र वहुसंख्य व्यक्तिहरूको
हातबाट उद्योग व्यापार बाहिर गएमा राष्ट्रिय आय वितरण असन्तुलित हुन पुग्दछ।
माथिका
कुराहरू बुझ्न सरल पार्न यहाँ एउटा उदाहरण प्रस्तुत गर्नु सान्दर्भिक होला। सहरलाई
सफा र सुन्दर पार्न सडक र सडक पेटीमा भएका व्यापारहरूलाई हटाएमा त्यस्ता व्यापारका
सञ्चालकहरूले रोजगारी गुमाउँछन। अर्कोतिर, सडक छेउमा कोठा लिएर व्यापार गर्नेहरूको
व्यापारमा वृद्धि हुन्छ। तर कोठा भाडामा लिएर ब्यापार सञ्चालन गर्नेहरूको संख्या
ज्यादै कम हुन्छ। यो नया परिस्थितिमा, सीमित ब्यापारीहरू (कोठा भाडामालिने) को आय
वृद्धि हुन्छ। तर ठिक त्यही समयमा, सडकमा व्यापार गर्न नपाएर ब्यापारबाट बाहिरिएका
ब्यापारीहरू, आय नभएर, झनै निर्धन हुन पुग्छन। यसरी केवल एक सामान्य कार्य (साना
व्यापारीहरूलाई सडकमा ब्यवसाय गर्न नदिने निर्णय गर्दा) पनि राष्ट्रिय आय
असन्तुलित हुन पुग्छ। धनी झनै धनी (कोठा लिएर व्यापार गर्नेहरू) भएर जान्छन भने
गरिब (सडकबाट उठिबास भएका ब्यापारीहरू) हरू झनै गरिब भएर जान्छन। कालान्तरमा, आय
सृजना गर्ने कुनै औसर नपाएर त्यस्ता निर्धन व्यपारीहरूले रोजगारीको लागि देशको
अन्य ठूला सहरहरूमा वा विदेशतिर स्थान्तरण गर्नु पर्न बाध्यात्मक परिस्थिति
उत्पन्न हुन्छ।
अब
अर्को, माथिको स्थितिमा नै, तर फरक उदाहरणमा हेरौं। कोठा भाडामा लिएर आनन्दपूर्वक
जुन जुन ब्यापारीहरूले ब्यापार सञ्चालन गरिरहेका थिए, उनीहरूको आनन्दको आयु पनि
छोट्टिन पुग्छ। उनीहरू पनि गरिब भएर अर्को सहरतिर लाग्ने वा विदेशतिर पलायन हुने
स्थिति आउन सक्छ। कसरी?
जब
सहरमा ठूला ठूला मल (वृहत् खुद्रा बिक्री भण्डार) हरूको स्थापना हुन्छ तब मल भित्र
रहेका सीमीत भण्डारहरूले ठूलो परिमाणमा सामाग्रीहरू बिक्री गर्न सक्ने स्थिति
उत्पन्न हुन्छ। खरिद सुविधा र प्रतिष्ठा, यी दुई कारणहरूले गर्दा मलतिर जानेहरूको
संख्यामा ब्यापक वृद्दि हुन पुग्छ भने उता सडक छेउमा कोठा भाडामा लिएर पसल सञ्चालन
गर्नेहरूको व्यापार ह्वात्तै घटेर जान्छ। त्यति मात्र होइन, सडकको छेउमा, कोठा
भाडामा लिएर पसल सञ्चालन गर्नेहरूको पसलमा ग्राहकहरू न्यून संख्यामा आउने नया
स्थितिले गर्दा उनीहरूले आफ्नो ब्यापार नै बन्द गर्ने पर्ने हुन सक्छ।
यो नया
स्थितिले गर्दा सहरको कूल ब्यापार मलका केही मालिकहरूको हातमा पुग्छ। उनीहरू वा
केही सीमित व्यक्तिहरू- मलका मालिकहरू, मात्र धनी, झन झन धनी, हुने स्थिति उत्पन्न
हुन्छ भने सडकमा व्यापार गर्ने, सडक छेउमा कोठ लिएर ब्यापार गर्नहरू व्यापारबाट
सदाका लागि पलायन हुने स्थिति उत्पन्न हुन्छ। र यो कार्यले गर्दा, सहरमा मलहरूको
उपस्थितिले गर्दा, राष्ट्रिय आय वितरण पुन: असन्तुलित हुन पुग्छ।
माथि
गरिएका चर्चाहरू, माथि प्रस्तुत गरिएका उदाहरणहरू अति सामान्य छन तर पनि राष्ट्रिय
आय कसरी असन्तुलित हुन पुग्छ भन्ने तथ्य बुझ्न महत्वपूर्ण किसिमले सघाउ
पुर्याउँछन।
नेपालमा
राष्ट्रिय आय वितरण समस्या गम्भीर रुपमा प्रकट भएको देखिएको त छैन, तर स्थिति
यस्तै रहेमा यो समस्या भविष्यमा विकराल हुन सक्छ। हुन त अहिले पनि राष्ट्रिय आय
वितरण अति असन्तुलि भएको कारणले गर्दा नै ठूलो संख्यामा नेपाली युवायुवतीहरू रोजगारीको
लागि विदेश पलायन हुन बाध्य छन।
राष्ट्रिय
आय वितरणलाई सन्तुलित पार्नु भनेको सबैको हातमा आय हुने स्थिति सृजना गर्नु हो।
सबैमा, कम्तिमा पनि, त्यो न्यून मात्रामा भए पनि, तर आय होस, जसले गर्दा जीवन
निर्वाह स्थानीय स्तरमा नै गर्न सरल होस्, सम्भव होस्। सानो मात्रामा भएता पनि
जीवन निर्वाह गर्नका लागि सबैको हातमा आय हुनु राष्ट्रिय आय वितरण सन्तुलन तर्फ
उन्मुख हुनु हो।
राष्ट्रिय
आय वितरणलाई सन्तुलित पार्ने अनेक उपायहरू छन। ती सबै उपायहरू यहाँ चर्चा गर्न
सम्भव छैन। ती मध्ये केवल एउटा र प्रमुख उपायको मात्र चर्चा गर्नु उपयुक्त होला। साना
ब्यापारहरूको विकास र संरक्षण गर्नु राष्ट्रिय आय वितरणलाई सन्तुलित पार्नु हो।
सडक र सडक छेउमा कोठा लिएर ब्यापार गर्नेहरूको ब्यापारलाई व्यवस्थित पार्नु, तिनको
संरक्षण गर्नु, विकास गर्नु र तिनलाई प्रोत्साहित गर्नु राष्ट्रिय आय वितरणलाई
सन्तुलित पार्ने ठोस प्रयास गर्नु हो।
साना
व्यापारहरूको संरक्षण गर्नु आजको चुनौति हो। साना ब्यापार (सडक र सडकपेटीका पसल) हरूको
क्रमश: समाप्ति अहिले विश्व व्यापि समस्याको रुपमा देखिएको छ। यो समस्या नेपालमा
पनि देखिन थालेको छ।
हामीले
साना ब्यापारको संरक्षण गर्नु पर्छ। यो कार्य गरेर हामीले राष्ट्रिय आय वितरणलाई
सन्तुलित पार्न सक्छौ।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित: Friday, June 23, 2023