भाषाको व्यापकता र
बजारको भाषा
जुन भाषाले बजारको
भाषा बोल्दछ त्यो भाषाले व्यापकता पाउँछ। त्यो भाषाको आयु पनि लामो हुन्छ। वर्तमानको
सत्य यही हो। व्यवहारले पनि यही कुरा देखाउँछ। कुनै समयमा, संसारका धेरै
राष्ट्रहरुमा बोलिने फारसी (परसियन), स्पेनिस, प्रेन्च, पोरचुगिज आदि जस्ता
भाषाहरुमा यही अवधारणा लागू हुन्छ।
कुनै खास भाषालाई
कुनै खास क्षेत्रमा धेरैले बोलिने पार्दछु। त्यो भाषाको व्यापक विस्तार गर्छु। यी
कुराहरु भनेर मात्र हुँदैन। कुनै पनि भाषालाई धेरैले बोल्ने पार्नका लागि मुख्य
रुपमा तीन कुराहरु हुनु आवश्यक छ। पहिलो: त्यो भाषा बोल्न र बुझ्न जाने पछि
रोजगारी (कुनै व्यक्ति विशेषको घर वा कार्यालयमा) पाउन सजिलो होस। दोस्रो: त्यो
भाषा बोल्न र बुझ्न जाने पछि व्यापार गर्न सजिलो होस। तेस्रो: त्यो भाषा बोल्न र
बुझ्न जाने पछि आफ्नो कुशलता (प्रभावकारी लेख्ने, रुचिकर बोल्ने, अनुसन्धान गर्ने,
खोज गर्ने, आविष्कार गर्ने, नया धारणा सृजना गर्ने आदि आदि) ठूलो जनसमुदायमा
पुर्याउन सजिलो होस।
माथि उल्लेख गरिएका
तीन विशेषताहरु भएको हुनाले नै अहिले अंग्रेजी भाषाले व्यापकता पाएको हो। अहिले, संसार
भरिमा नै व्यक्तिहरुले महत्व दिएर अंग्रेजी लेख्न र बोल्न सिकिरहेका छन्। लगभग
विश्वभरिकै, सम्पूर्ण मुलुकहरुमा अंग्रेजी थोरै मात्रामा भए पनि, बुझ्ने र बोल्ने
गरिन्छ। यसै गरी विश्व भरिका धेरै मान्छेहरुले अंग्रेजी पढ्न सक्छन् पनि। अंग्रेजी
पटक्कै नजानेकाहरुले पनि, सामान्य कुराकानी गर्न, केही संकेत र केही अति सामान्य
अंग्रेजी शब्दहरु प्रयोग आफूले भन्न खोजेका कुराहरु जाहेर गर्न सक्छन्। यसरी हरेक
देशका मानिसले थोड बहुत अंग्रेजी बोल्न सक्छन, लेख्न नसकेता पनि। प्राय: हरेक
राष्ट्रका होटल, लज, रेल, विमानस्थल, बस सेवा, सपिंग सेन्टर, मल, पर्यटकिय स्थल,
व्यस्त बजार आदिमा अंग्रेजी भाषा बोल्ने गरिन्छ। र त्यस्तो अवस्था बजारको कारोबारको अनियार्यताले
गर्दा सृजना भएको हो किनभने आफू कहाँ आउने ग्राहकहरुसँग व्यापार गर्नका लागि माथि
उल्लेख गरिएका व्यापारिक संस्थाहरु सँग आवद्ध रहेकाहरुले अंग्रेजी बोल्ने पर्दछ।
अंग्रेजी नबोले व्यापार गर्न गार्हो हुन्छ। अहिले कुनै एक मुलुकमा पर्यटकको रुप
अनेक राष्ट्रका नागरिकहरु पुग्छन। यसै गरी एउटा कुनै मुलुकले अनेक मुलुकसँग
व्यापार गरेको हुन्छ। अनेक मुलुकका विद्यार्थीहरु अनेक मुलुकमा पढ्न पुगेका
हुन्छन्। यो कारणले गर्दा अंग्रेजीले अन्तरार्ष्ट्रिय भाषाको मान्यता पाएको छ।
धेरैले बोल्ने सम्पर्क भाषा पनि अंग्रेजी नै भएको छ। यस प्रकार यो तथ्यको पुष्टि
हुन्छ कि जुन भाषाले बजारको भाषा बोल्दछ त्यो भाषाले व्यापकता पाउँछ। त्यस कारण यो
व्यापारिक युगमा कुनै पनि भाषालाई धेरैले पढ्ने र बोल्ने पार्न त्यो भाषालाई
बजारको भाषा बोल्ने तुल्याउन आवश्यक छ।
कुनै एउटा समय थियो
जुन बेला फारसी भाषा बोल्न र लेख्न जान्नु प्रतिष्ठाको विषय मानिन्थ्यो। एउटा भनाइ
“पढा फारसी बेचा तेल देख भाइ करम का खेल” निकै प्रचलित थियो र अहिले पनि छ। यो भनाइको
आशय हो विद्वान भएर पनि राम्रो काम गर्न पाएन किनभने फारसी जान्नु विद्वान हुनु
मानिन्थ्यो। अर्को आशय हो फारसी जानेको मान्छेलाई जीवन गुजार्न गार्हो हुँदैन। तर
अहिले फारसीमा त्यो आकर्षण छैन। वर्तमानमा, कुनै व्यक्तिले फारसी जानेर न त आकर्षक
जागिर नै पाउन सक्छ र न त कुनै व्यापार गरेर अधिक मुनाफा नै आर्जन गर्न सक्छ। अहिले,
संसार भरिमा केवल १ करोड १० लाख मानिसहरुले फारसी भाषा बोल्छन। र यसै गरी मातृ
भाषाको रुपमा केवल ६० लाखले फारसी भाषाको प्रयोग गर्छन। अति प्रचीन फारसी भाषा,
जसको विकास ४८६ बी सी मा भएको थियो, आज यो अवस्थामा छ। यो भाषाले बलियो गरी बजारको
भाषा बोलेको भए यो स्थितिमा पुग्ने थिएन।
धेरै मानिसहरुले
बोल्ने स्थितिलाई आधार मानेर हेर्दा संसारमा सबै भन्दा बढी मानिसहरुद्वारा बोलिने
भाषा मन्डारिन हो। संसारको १४.४
प्रतिसत व्यक्तिहरुले यो भाषा बोल्ने गर्दछन र यसको स्थान पहिलो नम्बर पर्दछ। चीन,
ताइवान, सिंमगापुरमा यो भाषा बोल्ने गरिन्छ। दोस्रो नम्बरमा स्पेनिस भाषा पर्दछ।
संसारको ६.१५ प्रतिसत मानिसहरुले ले यो भाषा बोल्ने गर्छन।
स्पेन, मेक्सिको, अर्जेन्टिन, बोलिभिया, चिले, कोलोम्बिया, कोस्टारिक, क्युबा,
डोम्निकन रिपब्लिक, इक्वेडोर, यल साल्भाडोर, ग्वाटेमाला, होन्डुरस, निकारागुआ,
पानामा, पारागोये, पेरु, पोर्टरिको, उरुग्वेय, भेनेज्वेला मा स्पेनिस भाषा बोल्ने
गरिन्छ। दक्षिण अमेरिकामा केवल ब्राजिलमा मात्र पोर्चुगिज भाषा बोलिने गरिन्छ। यस
बाहेक सम्पूर्ण महादेशमा स्पेनिस भाषा बोल्ने गरिन्छ। अंग्रेजी भाषको स्थान तेस्रो
नम्बरमा आउँछ। संसारको ५.४
प्रतिसत मानिसहरुले यो भाषा बोल्ने गर्दछन। संयुक्त अधिराज्य, संयुक्त राज्य
अमेरिका, क्यानाडा, अस्ट्रेलिया, आयरलैण्ड, न्यु जिलैण्ड लगायत संयुक्त अधिराज्यको
उपनिवेस रहि सकेका राष्ट्रहरुमा पनि अंग्रेजी भाषा बोल्ने गरिन्छ।
धेरै मानिसहरुले
बोल्ने भाषाको रुपमा अंग्रेजी तेस्रो नम्बरमा आएता पनि यो भाषा बोलिने राष्ट्रहरु
जस्तै संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानाडा, अष्ट्रेलिया आदि धनी
बजारको रुपमा स्थापित भएकोले संसारका अनेक राष्ट्रहरुबाट रोजगारी र अध्ययनका लागि
ठूलो संख्यामा व्यक्तिहरु यी राष्ट्रहरुमा आउने गर्दछन्। अंग्रेजी भाषा सिक्नु
उनीहरुको लागि प्राथमिकता र बाध्यता हुन पुग्दछ। अंग्रेजी भाषा जाने पछि त्यसरी
आउने व्यक्तिहरुलाई यी राष्ट्रहरुमा रोजगारी पाउन एवं अध्ययन गर्न सजिलो हुन्छ। अंग्रेजी
भाषा बोलिने राष्ट्रका नागरिकहरुको क्रम शक्ति बलियो भएकोले यी राष्ट्रहरु संग
व्यापार गर्न अन्य राष्ट्रहरु सदैव तत्पर रहेका हुन्छन् पनि।
यसै गरी दक्षिण
अमेरिकाका लभगभ सम्पूर्ण राष्ट्रहरुबाट ठूलो संख्यामा नागरिकहरु संयुक्त राज्य
अमेरिका आउन हरपल प्रयत्नरत रहेका हुन्छन। सं रा अमेरिका आएर राम्रो रोजगारी पाउन
सकिने हुनाले अंग्रेजी बोल्न सिक्नु उनीहरुको उच्च प्राथमिकता पर्दछ। सं रा
अमेरिका आएर उनीहरुले सामान्य अंग्रेजी बोलेर पनि रोजगार, व्यवसाय गरेको देख्न
सकिन्छ।
नेपालको सन्दर्भमा
पनि, कुनै एक स्थानीय भाषालाई धेरैले बोल्ने वा व्यापक बनाउने हो भने सर्व प्रथम
त्यो भाषा बोलिने क्षेत्रलाई आर्थिक रुपमा धनी बनाउन आवश्यक छ। त्यो क्षेत्र धनी
भएमा, धेरेलाई रोजगारी दिन सक्षम भएमा, त्यो क्षेत्रको बासिन्दाहरुको आर्थिक जीवन
सरल भएमा, अन्य क्षेत्र व्यक्तिहरु पनि त्यो क्षेत्रमा आएर, त्यहाँ बोलिने भाषा
सिक्न बाध्य हुन्छन। उदाहरणका लागि, काठमाडौको पर्यटकीय स्थल ठमेलमा विश्वका अनेक
भाषाहरु बोलिने गर्दछ। त्यहाँ विश्वका अनेक राष्ट्रहरुबाट पर्यटकहरु आउने हुनाले
उनीहरुसँग कुराकारनी गर्न, उनीहरुलाई आफ्नो वस्तु वा सेवा बिक्री गर्न, त्यहाँका
व्यवसायी वा तिनका कामदारहरुले विश्वका अनेक भाषाहरु जान्नु अनिवार्य हुन पुग्दछ।
कुनै एक स्थानमा
बोलिने स्थानीय भाषालाई राष्ट्रिय स्तरमा नै लोकप्रिय तुल्याउन, धेरैले बोल्ने
स्थिति सृजना गर्न उक्त भाषामा अनेक पत्र पत्रिकाहरु प्रकाशित गर्नु, विभिन्न सभा,
सम्मेलन, गोष्टि आदिमा उक्त भाषाको प्रयोग गर्नु वा उक्त भाषालाई व्यापक पार्न
अनेक विभिन्नि सहायक क्रियाकलापहरु संचालन गर्नु ठोस, सकारात्कम र प्रशंसनीय कार्य
हो। तर यी कार्यहरु भन्दा पनि महत्वपूर्ण कार्य त्यो क्षेत्रलाई आर्थिक रुपमा
ज्यादै बलियो तुल्याउनु हो। त्यो क्षेत्रमा उद्योग, व्यपार आदिको अत्यधिक विस्तार
एवं विकास गरेर त्यहाँका बासिन्दाहरुको
क्रय शक्ति अति बलियो तुल्याउनु हो। यस्तो गर्न सकिएमा त्यो स्थानीय भाषाले
व्यापकता त पाउँछ नै त्यो स्थानीय भाषाले दीर्घ जीवन समेत पाउँछ। यो तथ्यलाई भाषा
विकासको आन्दोलनमा लागेका वा सामान्य भाषा प्रेमीहरुले पनि मनन गर्न आवश्य छ।
त्यसकारण, कुनै एक भाषालाई व्यापकता दिन वा धेरैले बोल्ने र बुझ्ने पार्न त्यो
भाषालाई बजारको भाषा बोल्ने तुल्याउन अति आवश्यक छ। भाषाको संरक्षण र विकास केवल
भावनाले हुँदैन। भाषाको विकासका लागि त्यस भाषालाई जनताको आर्थिक समृद्धिसंग पनि
जोड्नु पर्दछ।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, October 10, 2014