Wikipedia

Search results

Friday, January 25, 2019

Special Characteristics of American Economy-Customer Service-232


अमेरिकी अर्थ व्यवस्थाका विशेषता

१३) ग्राहक सेवा

    अमेरिकी अर्थ व्यवस्थालाई विश्वमा नै सर्वाधिक शक्तिशाली तुल्याउन अमेरिकी बजारमा प्रचलित एवं प्रतिबद्ध ग्राहक सेवाले पनि महŒवपूर्ण भूमिका खेलेको छ। उत्कृष्ट ग्राहक सेवाले अमेरिकी अर्थतन्त्रको गतिलाई तीव्रता प्रदान गरेको छ।
    अमेरिकाको ग्राहक सेवालाई विश्वका उच्च ग्राहक सेवा प्रदायकमध्ये एक मनिन्छ। हुनपनि अमेरिकामा ग्राहकलाई केन्द्रमा राखेर अन्य विभिन्न किसिमका व्यापारिक क्रियाकलापहरू सम्पन्न गरिन्छ। अमेरिकी व्यापार दर्शनले भन्छ–‘ग्राहक भएर नै हामी (व्यापारीहरू) व्यपारमा छौं, हाम्रो अस्तित्व छ। ग्राहक नभए हामी बजारमा हुनेछैनौं। हाम्रो अस्तित्व पनि रहने छैन।
    आफले खरीद गरेको सामान आफूले खोजे अनुसार भएन भने खरीद गरिएको समानमा कुनै किसिमको त्रुटि देखिएमा, खरीद गरेको वस्तुले क्रेताको अपेक्षा पूरा गर्न नसक्ने देखिएमा तोकिएको मितिभित्र क्रेताले खरीद गरेको समान विनाकुनै झन्झट, सजिलै फिर्ता गर्न सक्छ। फिर्ता गर्दा सट्टामा अर्को समान लिन सक्छ वा भुक्तान गरिएको पैसा नै पनि फिर्ता लिन पाउँछ। अर्थात् अमेरिकी बजारमा बिक्रेताहरू ग्राहकको सेवा गर्न हरदम तत्पर रहन्छन्। क्रेताहरू बजारका राजाहुन् (Buyers are the king of market) भन्ने कुराको अमेरिकामा सही अभ्यास भएको देखिन्छ।

ग्राहक सेवाले खरीदमा पार्ने असर
    क्रेताहरू खास आवश्यकताबाट प्रेरित भएर नै सामान खरीद गर्न बजार पुगेका हन्छन्। अर्थात् आवश्यकताको वेगले क्रेताहरूलाई बजारसम्म पु¥याएको हुन्छ। आवश्यकताद्वारा नै माग सृजना भएको हुन्छ। तर यो स्थिति सबै अवस्थामा लागू हुनु आवश्यक छैन। कतिपय अवस्थामा आवश्यकता नभएर पनि माग सृजना भएको हुन्छ। व्यक्तिलाई कुनै अन्य तत्व (प्रेम, लगाव, दया, प्रतिस्पर्धा, गर्व, प्रतिष्ठा, प्रदर्शन, परीक्षण) ले उत्प्रेरित गरेर पनि कुनै वस्तुको आवश्यकता महसूस भएको हुन सक्छ। यसरी पनि व्यक्ति कुनै खास वस्तु खरीद गर्ने मनस्थितिमा पुगेको हुन सक्छ। यस्तो अवस्था (आवश्यकता) नभए पनि खरिद गर्ने स्थितिलाई सामान सजिलै फिर्ता लिदिने व्यवस्थाले सजिलो पारिदिन्छ। मानौं आवश्यक्ता नभएर नै कुनै क्रेताले सामान खरीद गरेको छ र पछि आवश्यकता नभएको महसूस गरेमा खरीद गरेको सामग्री सजिलै फिर्ता गर्न सक्छ। अर्थात् सामान सहजै फिर्ता गरिदिने व्यवस्थाले थप माग सृजना गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।
    यस किसिमको (कृत्रिम आवश्यकता सृजन) ग्राहक मनोविज्ञानलाई दक्षिण एशियाली बजार व्यवस्थाले कमै बुझेको पाइन्छ। दक्षिण एशियालाई बजारमा बिक्री गरिएको सामान फिर्ता लिनु बिक्रेताको स्वेच्छामा निर्भर हुन पुग्दछ। र बिक्री गरिएको सामान फिर्ता लिनुपर्छ भन्ने कार्यलाई बाध्यात्मक पनि मानिंदैंन। तर यसै कारणले बिक्रेताले क्रेताहरूको मन जित्न गार्हो पर्छ। यो कारणले पनि दक्षिण एशियाली बजारको विकासको गति सुस्त हुन पुगेको हो।
    क्यानाडा, अस्ट्रेलिया, रूस, नर्वे, डेनमार्क, युनाटेड किंगडम, इजरायल, पोल्यान्ड, चिले, ब्रजीलयस्ता देश ग्राहक सेवाका लागि प्रख्यात मानिन्छन्। यी मुलकहरूमा ग्राहक सन्तुष्टिलाई शीर्षमा राखिएको हुन्छ।
    अमेरिकी बजार व्यवस्थामा एउटा भनाइ ज्यादै प्रचलित छभएकै ग्राहकहरूलाई कायम राख्नुभन्दा नयाँ ग्राहक खोज्नु ज्यादै खर्चिलो र गार्हो हुन्छ। यो कारणले गर्दा पनि व्यापारीहरूले ग्राहकलाई नै केन्द्रबिन्दु बनाएर कार्य गरिरहेका हुन्छन्। ग्राहकहरूलाई सन्तुष्ट राख्न अनेक किसिमका योजना एवं कार्यक्रम घोषणा गरि रहेका हुन्छन्। भएको ग्राहकलाई कायम राख्न हरसम्भव प्रयास गरिरहेका हुन्छन्।
    रिजकाल्र्टन, ट्रेडर जोए, हार्ले डेभिडसन, अमेजन, कास्टको, जापोज, डलर सेभ क्लब, डिज्ने, नेटफ्लिक्सजस्ता अमेरिकी व्यापारिक संस्थाहरूको गणना उत्कृष्ट ग्राहक सेवा दिनेमा गरिएको छ। यिनले ग्राहकलाई उच्च सेवा दिन ख्याति आर्जन गरेका छन्।

ग्राहक सेवा किन आवश्यक छ?
    राम्रो ग्राहक सेवाद्वारा क्रेताको मन सजिलै जित्न सकिन्छ। राम्रो ग्राहक सेवा प्रदान गरेर निरन्तर ग्राहकको सम्पर्कमा रहन सकिन्छ। अमेरिकी बजारहरूमा खरीद गरिएको सामान मन नपरे बिक्रेतालाई फिर्ता गर्नु सामान्य कुरा हो। कतिपय बिक्रेताले त फिर्ता गर्ने समय लामो पारिदिएर क्रेतालाई थप सेवा प्रदान गर्न खोजेका हुन्छन्। यतिमात्र होइन, एउटा शहरमा खरीद गरेको कुनै सामान अर्को शहरमा, तर त्यही स्टोरमा फिर्ता गर्न सकिन्छ। उदाहरणका लागि अमेरिकाको सबैभन्दा ठूलो खुद्रा बिक्री भण्डार वालमार्टको कुनै पनि शहर स्थित कुनै भण्डारबाट खरीद गरिएको सामान अमेरिकाभरिको कुनैपनि वालमार्ट भण्डारमा लगेर साट्न वा फिर्ता गर्न सकिन्छ। त्योपनि कुनै लामो प्रक्रिया वा झन्झटविना।
    यसरी मन नपरे खरिद गरेको सामान फिर्ता गर्न सकिने व्यवस्थाले गर्दा क्रेताहरूले सहजै सामग्री खरीद गर्छन् यो विश्वासमा कि मन नपरे सजिलै फिर्ता गर्न सकिन्छ। यसरी मन नपरेको सामान सहजै फिर्ता गर्न पाइने व्यवस्थाले बिक्रीमा सरलता त ल्याउँछ नै, साथै बिक्री परिमाण वृद्धि गर्न पनि सघाउ पुर्याउँछ।
    अमेरिकामा केवल व्यापारिक संस्थामात्र होइन, सरकारी संस्थाहरू पनि सेवा भावनाबाट प्रेरित भएर सेवाग्रहीलाई अधिकतम सन्तुष्टि दिन तत्पर रहेका देखिन्छन्। यो कारणले गर्दा सरकारी कामहरूमा ढिलासुस्ति भएको देख्न पाइँदैन। जनताको काम तदारुकताका साथ हुने गर्दछ।
    अमेरिकामा त्यस्ता धेरै व्यापारिक संस्थाहरू देख्न सकिन्छ जसले नियमित र लामो समयसम्म आफ्नो सङ्गठनसँग आबद्ध रहेका ग्राहकहरूलाई विभिन्न किसिमको सुविधा वा सम्मान वा मौद्रिक लाभ दिन्छन्।
    बजार व्यवस्थापन क्षेत्रका विज्ञहरू भन्छन् अहिले बजार व्यवस्थापन सम्बन्ध युग  (Relationship Era) मा छ। यो युगमा ग्राहकहरूको वास्तविक आवश्यकता थाहा पाएर उनीहरूको त्यो वास्तविक आवश्यकता पूर्ति गरिदिएर, उनीहरूलाई हरघडी सुन्तुष्ट राख्न आवश्यक छ।
    औद्योगिक क्रान्ति (बेलायतमा सन् १७६० देखि १८४० चलेको थियो) पछिको समयमा वस्तु उत्पादन र बजार व्यवस्था, दुवैमा उत्पादक एवं बिक्रेताहरूको नियन्त्रण रहन्थ्यो। उत्पादकले जे उत्पादन गयो, बिक्रेताले जे बिक्री गर्न बजारमा ल्याउँथ्यो उपभोक्ता त्यै खरीद गर्न बाध्य हुनुपर्दथ्यो। उपभोक्ताहरूसँग विकल्प थिएन, किनभने बजारमा सीमित उत्पादक एवं बिक्रेता तर सहस्र उपभोक्ता (क्रेता) थिए। बजारमा उपभोक्ताहरूको कुनैपनि किसिमको नियन्त्रण थिएन।
    अहिले युग फेरिएको छ। यो युग उपभोक्ताको युग हुन पुगेको छ। अहिले बजारमा सहस्र बिक्रेता एवं उत्पादकहरू छन्। अहिले क्रेताहरूसँग अनेक विकल्प छ। क्रेताहरू आफूले रोजेको बिक्रेताबाट सामग्री खरीद गर्न सक्छन्। यस किसिमबाट सृजित नयाँ अवस्थामा बिक्रेता एवं उत्पादकहरूले बिक्री गर्नका लागि तीव्र प्रतिस्पर्धा गर्नुपरेको छ।
    अहिलेको यो अति व्यापारिक युगमा, उल्टो, बजार उपभोक्ताहरूको नियन्त्रमा रहन पुगेको छ। युटुब, फेसबूक, ट्विटर, इन्टेग्राम एवं अन्य व्यापारिक वेब साइटहरूले उपभोक्ताहरूलाई निकै शक्तिशाली तुल्याइदिएका छन्। सामाजिक सञ्जालमा कुनै उपभोक्ताले कुनै उत्पादकको वस्तु वा सेवा राम्रो नरहेको विचार सम्प्रेषण गना साथ वा कुनै वस्तु वा सेवाप्रति आफ्नो नकारात्मक टिप्पणी (negative  product or service review) राख्नासाथ त्यो उत्पादकको बिक्री प्रभावित हुन पुग्छ। बिक्रीमा ठूलो कम आउन सक्छ। आजभोलि वस्तु वा सेवाप्रति कुनै उपभोक्ताले सामाजिक सञ्जालमा गरेको नकारात्मक टिप्पणी छोटो समयमा नै भाइरल वा बज मार्केटिंग(Viral or Buzz Marketing) को सहयोगले हजारौ, लाखौ उपभोक्ताको नजरमा पुग्छ। यो कारणले गर्दा उपभोक्ताहरू अहिले शक्तिशाली हुन पुगेका छन्। उपभोक्ताहरू शक्तिशाली भएको परिप्रेक्ष्यमा उनीहरूलाई हरदम सन्तुष्ट राख्न उनीहरूलाई हरेक किसिमको सेवा दिन आवश्यक छ। अहिलेको यो चुनौति (उपभोक्ताहरू अति शक्तिसाली भएको स्थिति) ले पनि ग्राहक सेवालाई केन्द्रमा राख्नु स्वेच्छा होइन, बाध्यता हुन पुगेको छ। र बजारमा देखिएको यो नयाँ स्थितिलाई अमेरिकी उत्पादक एवं बिक्रेताहरूले राम्ररी बुझेका छन्।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, January 25, 2019

Friday, January 18, 2019

Special Characteristics of American Economy- Socialism in Capitalism-231


अमेरिकी अर्थ व्यवस्थाका विशेषता

१२. पूँजीवाद भित्र समाजवाद

कम्युनिस्टहरूले निर्माण गरिदिएको नजरले हेर्ने हो भने संयुक्तराज्य अमेरिका पूर्णतया पूँजीवादी राष्ट्र हो। कम्युनिस्टहरूका अनुसारअमेरिकाको अर्थ व्यवस्थालाई पूँजीवादले निर्देशित, नियन्त्रित र पोषित गर्दछ। आश्चर्य त यस कुरामा छ कि अमेरिका पूर्णरूपमा पूँजीवादी राष्ट्र हो भनेर कम्युनिस्टहरूले बनाएको धारणालाई सही मान्नेहरू अहिले पनि धेरै छन्। कम्युनिस्ट व्यवस्थामा विश्वास गर्ने अर्थशास्त्रीहरूले त मान्छन् नै, स्वतन्त्र अर्थशास्त्रीहरूले समेत अमेरिका पूर्णतः पूँजीवादी राष्ट्र हो भनी विश्वास गर्छन्।
    तर यथार्थमा अमेरिका पूर्णरूपमा पूँजीवादी राष्ट्र होइन। अमेरिकालाई पूँजीवादी राष्ट्र मान्नु कम्युनिस्टहरूको केवल भ्रम हो। अमेरिकी अर्थनीतिका अनेक विशेषताहरूको अध्ययन नगरी केवल हचुवाको भरमा भन्नु सरह हो। अमेरिकालाई पूर्णतया पूँजीवादी राष्ट्र भन्नुपूर्व अमेरिकी अर्थतन्त्रको सूक्ष्म अध्ययन आवश्यक छ। र कम्युनिस्ट अर्थशास्त्रीहरूले त्यस किसिमबाट सूक्ष्म अध्ययन गरेका छैनन्। बरु चीन, क्युबा, उत्तर कोरिया, भनेजुएलामा कम्युनिज्म वा सोसलिज्ममा देखिनुपर्ने खासखास गुणहरू छैनन्। अर्थात् कम्युनिस्ट अर्थ व्यवस्था भएका राष्ट्रहरूमा समाजवादका अनेक अवस्थाहरूको अनुपस्थिति छ।
    अमेरिकाको अर्थ व्यवस्थालाई सही किसिमले भन्नुपर्दा अमेरिकी अर्थ व्यवस्था पूँजीवादभित्र समाजवादी अर्थ व्यवस्था भन्नुपर्ने हुन्छ। अर्थात् अमेरिकाको पूँजीवादी व्यवस्थाभित्र समाजवादी व्यवस्थाका धेरै एवं असल तŒवहरू छन्। अमेरिकी अर्थ व्यवस्थाको संरचना पूँजीवादी छ तर त्यस संरचनाभित्रका वस्तुहरू समाजवादी चरित्रका छन्। यो आफैंमा अति नै अनौठो छ र उच्च विशेषताले युक्त पनि छ। अमेरिकाको अर्थ व्यवस्थाले पूँजीवाद र समाजवादका दुर्गुण हटाएर सद्गुणहरू मात्र लिएको छ। अर्थात् अमेरिकी अर्थ व्यवस्था पूँजीवाद र समाजवादको उचित किसिमको सम्मिश्रण हो। ठीक मात्रामा पानी र चिनी मिसाइएको एक असल सम्मिश्रण (शर्बत) जस्तो हो। अमेरिकी अर्थतन्त्रको यो मौलिक विशेषताप्रति विश्वका कमै अर्थशास्त्रीहरूको ध्यान गएको छ, सामान्य व्यक्तिहरूको त कुरै छाडौं। र यो विशेषताले अमेरिकी अर्थ व्यवस्थालाई गति र प्रभावकारिता प्रदान गरेको छ।
पूँजीवाद भित्र समाजवादको सद्गुण
    निम्न विशेषताहरूले अमेरिकी पूँजीवादभित्र समाजवाद रहेको पुष्टि गर्दछ। र ती विशेषताहरूले कम आय भएका व्यक्तिहरूको हितको संरक्षण गरेको पृष्टि हुन्छ
प्रगतिशील कर प्रणाली: अमेरिकी कर प्रणाली प्रगतिशील छ, किनभने यसले धनीहरूको पक्षपोषण गरेको पाइँदैन। समाजवादी व्यवस्थामा झै अमेरिकी कर प्रणालीमा बढी आम्दानी गर्नेबाट बढी कर लिने गरिन्छ। धनीबाट (उसले गरेको बढी आम्दानीबाट) बढी कर लिएर, सङ्कलित कर गरीबहरूका लागि अथवा सार्वजनिक कार्यमा खर्च गरिन्छ । समाजवादमा प्रगतिशील कर प्रणाली भएझै अमेरिकी कर प्रणाली पनि प्रगतिशील छ।
बेरोजगार भत्ता: कुनै व्यक्तिले कारणवश पाइरहेको रोजगार गुमाएर बेरोजगारी भएमा एउटा निश्चित अवधिसम्म सरकारले उक्त व्यक्तिलाई बेरोजगार भत्ता त दिन्छ नै, रोजगारी हुन अथवा जागिर खोज्न सहयोग पनि गर्छ। यसरी समाजवादमाझैं नागरिकहरूलाई सामाजिक सुरक्षा प्रदान गर्छ। कमजोर वर्गको रक्षा गर्छ।
सामूहिक सम्पत्ति: अमेरिकामा धेरै सम्पत्ति सामूहिक रहेको र तिनको उपयोग पनि सामूहिक किसिमले गरिएको पाइन्छ। भवन, सडक, जग्गा एवं अन्य केही सुविधा सामूहिक रहेको र सामूहिक रूपमा उपभोग भएको देख्न सकिन्छ। यसरी विभिन्न सम्पत्तिको स्वामित्व सामूहक हुनु समाजवादी व्यवस्थाको द्योतक हो।
    अमेरिकी आवसीय बस्तीहरू अनेक सानासाना बस्ती (Neighborhood) सङ्गठित भएर बनेका हुन्छन्। अन्तिम रूपमा यी बस्तीहरू राज्य र सङ्घीय सरकारको नीति नियमद्वारा व्यवस्थित एवं नियन्त्रित भए तापनि यी बस्तीहरूलाई विभिन्न कार्य गर्न स्वतन्त्रता दिइएको हुन्छ। यी बस्तीका बासिन्दाले बस्तीको हेरविचार, सुरक्षा र विकाससम्बन्धी कार्य गर्न एक घर धनी सङ्गठन (Homeowner Association)निर्माण गरेका हुन्छन् वा गर्न सक्छन्। र त्यो सङ्गठनलाई उक्त बस्तीको व्यवस्थापनको जिम्मेवारी दिइएको हुन्छ। प्रत्येक घरधनीले त्यो सङ्गठनलाई तोकिएको रकम वार्षिक शुल्कको रूपमा बुझाउनुपर्छ। सुविधाको विस्तार, घरहरूको प्रकृति (ज्यादै महँगो) आदि हेरी घरधनीहरूले घरधनी सङ्गठनलाई मासिक १०० डलरदेखि ४०० डलरसम्म तिर्नुपर्ने हुन सक्छ। धेरै आम्दानी वा धनीहरूको बस्ती छ भने त्यस्तो बस्तीमा बस्नेहरूले घरधनी सङ्गठनलाई वार्षिक १०००० डलरभन्दा बढी भुक्तान गर्नुपर्ने हुन सक्छ। माथि भनिए अनुसार प्राप्त गरेको रकमलाई घरधनी सङ्गठनले आफ्नो बस्तीभित्रका अनेक निर्माण कार्य (सडक मरम्मत, बिजुली, पार्क, खेल मैदान, स्विमिंग पुल, जिम, सजावट, बागवानी) हरूमा खर्च गर्न सक्छ। यसरी माथि भनिएका कार्यहरू गर्न बस्तीहरूले सरकार (केन्द्र, राज्य, नगर) को मुख ताक्नुपर्दैन। यस किसिमले हेर्न हो भने बस्तीहरू स्वतन्त्र र स्वावलम्बी हुन्छन्। यसरी विभिन्न परिवारहरू मिलेर बस्नु र उनीहरूले आफ्नो हितका लागि आफैंले साधन र स्रोत जुटाउनु समाजवादी व्यवस्था होइन त? सम्पत्ति (बस्ती) माथि सबैको समान स्वामित्व हुनु समाजवादी व्यवस्था होइन त?
    माथि उल्लेख गरिएका घरधनी सङ्गठनहरू मिलेर सामुदायिक सङ्गठनहरूको निर्माण भएको हुन्छ। यी सामुदायिक सङ्गठनहरू बस्तीहरूको विकास कार्यमा सक्रिय रहेका हुन्छन्। सन् २०१७ मा अमेरिकाभरिमा ३ लाख ४५ हजार सामुदायिक सङ्गठनहरू  र ती सामुदायिक सङ्गठनहरूभित्र ७ करोड  जति आवास रहेको अनुमान गरिएको थियो।
सामाजिक सुरक्षा: अमेरिकामा व्यक्तिको पहिचान उसको सामाजिक सुरक्षा नम्बर र जन्म मितिद्वारा हुन्छ। त्यसपछि परिचयपत्र (ड्राइभिंग लाइसेन्स) द्वारा हुन्छ। प्रत्येक व्यक्तिलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा नम्बर (Social Security Number) दिइएको हुन्छ। र यो नम्बरको उपयोग, सेवा निवृत्त भएपछि सहयोगार्थ तोकिएको रकम (व्यक्तिले मासिक वा वार्षिक आय आर्जन गरेको आधारमा) दिनका लागि गरिन्छ। यसरी अमेरिकाले आफ्ना नागरिकलाई निश्चित उमेर पार गरेपछि तोकिएको रकम आजीवन सामाजिक सुरक्षा अन्तर्गत दिएर समाजवादी व्यवस्था अनुरूप कार्य गर्दछ। जसले तोकिएको अवधिभरि कार्य गरेर तोकिएको रकम सामाजिक सुरक्षा प्रशासन (सङ्गठन) लाई बुझाएको छ उसले आजीवन तोकिएको रकम सामाजिक सुरक्षा प्रशासनबाट पाउँछ। यो रकम प्रत्येक (उक्त रकम पाउने योग्य) नागरिकले पाउँछ। यो एक किसिमले हेर्ने हो भने प्रत्येक नागरिकले पाउने निवृत्तिभरण वा पेन्सन जस्तो हो।
    माथि उल्लेख गरिएबाहेक तोकिएको स्थितिमा रहेका एवं तोकिएको उमेरका व्यक्तिलाई, यदि उसको आय कम छ भने राज्य सरकारले निश्शुल्क वा कम शुल्कमा स्वास्थ्यसेवा उपलब्ध गराउँछ। साथै स्थानीय सरकारले उच्च माध्यमिक तहसम्मको शिक्षा निश्शुल्क उपलब्ध गराउँछ। यसैगरी सामुदायिकरूपमा कलेज एवं अस्पतालहरू सञ्चालित हुन्छन्। अस्पतालहरूले पहिले उपचार गर्छन् त्यसपछि बिल भुक्तानीको कुरा गर्छन्। कम आय भएका व्यक्तिलाई सहुलियत भाडा दरमा घर वा आवास उपलब्ध गराइएको हुन्छ। यी माथिका व्यवस्थाहरू समाजवादी व्यवस्था होइनन् त?
    अमेरिका पूर्णरूपमा पूँजीवादी नहुनुले पनि अमेरिकालाई आर्थिक समृद्धि दिन महŒवपूर्ण भूमिका खेलेको छ। अमेरिकी अर्थ व्यवस्थाको अर्ध पूँजीवादी र अर्ध समाजवादी चरित्र भएकोले राष्ट्रिय आयको वितरण सन्तुलित छ। अमेरिकामा विश्वकै धनाढ्यहरू छन् भने ज्यादै निर्धन पनि छन्। तर महत्वपूर्ण तथ्य के छ भने अमेरिकाका अति निर्धन व्यक्तिसँग पनि चढ्नका लागि गाडी छ, बस्नका लागि घर छ र साथै शिक्षामा पहुँचपनि छ। विकासशील राष्ट्र (जस्तै भारत) का नागरिकहरू जस्तो झोपडपट्टीमा बस्नु पर्ने स्थिति छैन। पेट भर्ने समस्या पनि छैन। दुई छाक ढुक्क खान पाउने स्थिति अति निर्धनहरूको पनि छ।
    यसरी पूँजीवादभित्र समाजवादको स्थितिले अमेरिकालाई आर्थिकरूपमा सबल हुन र प्रत्येक अमेरिकी नागरिकलाई अति गरीबीबाट उन्मुक्ति दिलाउन महत्वपूर्ण भूमिका खेलेको छ र समग्र राष्ट्रलाई अति धनी तुल्याउन पनि भूमिका खेलेको छ।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, January 18, 2019

Friday, January 11, 2019

Special Characteristics of American Economy- Trade and Commerce-230


अमेरिकी अर्थ व्यवस्थाका विशेषता

११. व्यापार पद्धति
    (ख)

फ्रेनचाइजिंग वा सम्बन्धन व्यापारको विकास र विस्तार जुन रूपमा अमेरिकामा भएको छ, अर्थात् यो व्यापार जति ठूलो सङ्ख्यामा देखिएको छ, त्यस्तै किसिमले धेरै लगानीमा स्थापना भएका ठूला व्यापारहरू पनि अमेरिकामा देखिएका छन्। अत्यधिक पूँजीमा सञ्चालित यी व्यवसायहरू अमेरिकाभित्र मात्र छैनन्, यिनका शाखाहरू विश्वका अन्य मुलुकहरूमा पनि सञ्चालित छन्। वालमार्ट, बर्कशायर हथवे, एपल, एक्सन मोबिल, मैककेसन, युनाइटेड हेल्थ ग्रुप, सिभियस हेल्थ, जेनेरल मोटर्स, एटी एन्ड टी र फोर्ड आदि मेरिकाका अति नै ठूला कम्पनीहरू हुन्। यी कम्पनीहरूले ठूलो ससङ्ख्यामा रोजगार उपलब्ध गराएका छन्। बजारमा माग सृजना गराउन यी कम्पनीहरूको पनि ठूलो हात छ।
    सन् १९६२ मा स्थापना भएको र प्रारम्भमा संस्थापकले केवल एउटा सानो खुला पसलको रूपमा, एउटा सानो भवनमा सञ्चालन गरेको वालमार्ट (खुद्रा बिक्री भण्डार) अहिले अमेरिकाको सर्वाधिक ठूलो कम्पनी हुन पुगेको छ। वालमार्ट अहिले संसारकै सर्वाधिक ठूलो खुद्रा बिक्री भण्डार हो। यो व्यापार जगत्मा चमत्कार हो। अमेरिकामा मात्र वालमार्टका ५ हजार ३ सय ५८ भण्डार विभिन्न राज्यका विभिन्न शहरहरूमा सञ्चालित छन्। सञ्चालित यी भण्डारहरूमा १४ लाख जति कर्मचारी कार्यरत छन्। विश्वका अन्य २८ देशहरूमा पनि वालमार्टका भण्डार सञ्चालित छन्। विश्वका अन्य विभिन्न राष्ट्रमा सञ्चालित वालमार्टका भण्डारहरूमा पनि ७ लाख जति कर्मचारी कार्यरत छन्। स्वदेश र विदेशमा गरी वालमार्टका २६ करोडभन्दा बढी ग्राहक छन्। वालमार्टको विशालताबाट पनि ठूला अमेरिकी काम्पनीहरू कति ठूला आकारका छन् भन्ने अनुमान लगाउन सकिन्छ। एक कम्पनी (उदाहरणका लागि वालमार्ट) को यति ठूलो ससङ्ख्यामा ग्राहक हुनु आफैंमा ठूलो आश्चर्यजनक तथ्य होइन त?  सामान्य आय भएका अमेरिकीहरूले जीवन निर्वाह (कार, भवन आदि छाडेर) का लागि आवश्यक पर्ने लगभग सम्पूर्ण वस्तु वालमार्टबाट नै खरिद गर्छन्। हुनपनि एउटै छतमुनि वालमार्टले औषधी, मोटर मरम्मत सेवा, बगैचाका सामान, औजार, उपकरणदेखि खाद्य वस्तु, शृङ्गार सामग्री, लत्ता कपडा, फर्निचर, फलफू, तरकारीजस्ता अनेक वस्तु उपलब्ध गराउँछ। यो पनि आफैंमा एउटा चमत्कार हो। वालमार्ट, व्यापार जगत्मा, आफैमा आठौं आश्चर्य हो। र यो आठौं आश्चर्य (व्यापार पद्धति) को विकास अमेरिकामा भएको हो।
    ठूला अमेरिकी कम्पनीहरूले देशमा रोजगार, मूल्य नियन्त्रण र नयाँ वस्तु वा सेवाको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन्। ठूला कम्पनीहरूले ठूलो सङ्ख्यामा रोजगार सृजान गरेका छन् र लाखौ व्यक्तिलाई रोजगार दिएका छन्। अमेरिकामा बेरोजगारको समस्या हुन नदिन ठूला कम्पनीहरूले महत्ववपूर्ण भूमिका खेलेका छन्। अमेरिकामा अहिले मात्र ४.५ को हाराहारीमा (सन् २०१८, डिसेम्बर मा ३.९५) बेरोजगारी छ। अर्थात् बहुसङ्ख्यक अमेरिकीसँग रोजगार छ। जीवनयापनका लागि नियमित आय छ। भोलि के खाने भन्ने चिन्ता छैन। यो स्थिति अमेरिकाको लागि ठूलो आर्थिक उपलब्धि हो।
    रोजगारको सन्दर्भमा, विकासशील देशहरूको स्थिति भने पृथक छ। विकासशील राष्ट्रहरूमा यो अति वैश्य युगमा पनि, बेरोजगारी ठूलो समस्याको रूपमा तेर्सिएको छ। र त्यो बेरोजगारी राजनैतिक असन्तोष र गृहयुद्धको कारण बन्न पुगेको छ।
    जाम्बियामा ११.३५, येमनमा ३५.०५, भेनेजुएलामा ३३.३५, टर्कीमा १०.३५, ट्युनिसियामा १५.९५, स्वाजिल्यान्डमा २८.०५, सुडानमा १९.६५, स्पेनमा १४.८५, साउथ अफ्रिकामा २७.५५, सर्बियामा ११.८५, सेनेगलमा ४८.०५, रवान्डामा १३.२५, नाइजेरियामा १८.८५, निदरल्यान्ड्समा १०.०५, मोजाम्बिकमा २४.५५, इराकमा १६.०५, अर्मेनियामा २०.६५, अल्जेरियामा ११.२५, अल्बानियामा १२.५५, अफगानिस्तानमा २३.९५ व्यक्ति बेरोजगारी रहेको देखिएको छ। विश्वमा अहिले पनि थुप्रै राष्ट्रहरू बेरोजगारीको समस्याले पीडित रहेको देखिन्छ। त्यहाँको जनताले दुःख पाएको देखिन्छ। तर अमेरिकामा भने बेरोजगारी समस्याको रूपमा प्रस्तुत भएको छैन। अमरिकामा जुन बेरोजगारी देखिएको छ, त्यो पनि ऐच्छिक बेरोजगारी हो। वा परिस्थितजन्य बेरोजगारी हो। उल्टो कतिपय स्थान र अवस्थामा कम्पनीहरूले माग गरे अनुसार कामदार उपलब्ध हुन नसकेको समाचारहरू प्रकाशमा आएका छन्।
    ठूला कम्पनीहरूले ठूलो परिमाणमा बिक्री गरेर, विभिन्न किसिमका लागतहरू नियन्त्रण गरेर, उपभोक्ताहरूलाई सस्तोमा वस्तुहरू उपलब्ध गराउन सक्नुजस्तो कार्यले पनि अमेरिकालाई धनी राष्ट्र तुल्याउन ठूलो योगदान पुर्याएको छ। उदाहरणका लागि पुनः वालमार्टलाई नै लिउँ। सामान्य आर्थिक अवस्था भएका ग्राहकहरूलाई सस्तोमा विभिन्न वस्तु उपलब्ध गराउन वालमार्टले अमेरिकामा ख्याति नै आर्जन गरेको छ। अर्कोतिर वालमार्टले सस्तोमा वस्तुहरू उपलब्ध गराउनेआफ्नो प्रमुख उद्देश्य (Mission) रहेको उल्लेख गरेको छ। ज्यादै कम मुनाफा भए तापनि ठूलो परिमाणमा बिक्री गरेर ठूलो मुनाफा नियमित र दीर्घकालीनरूपमा हात पार्ने कुशल व्यापारिक उद्देश्य वालमार्टले राखेको पाइन्छ।
    ग्राहकहरूलाई सस्तोमा वस्तु उपलब्ध गराउन अमेरिकामा ठूलाठूला कम्पनीबीच ठूलो प्रतिस्पर्धा नै हुन्छ। अर्कोतिर सस्तोमा वस्तु उपलब्ध गराउन नसके प्रतिस्पर्धाले गर्दा, ग्राहक गुमाउनुपर्ने स्थिति भएकोले कम्पनीहरू कि आफ्ना प्रतिस्पर्धीहरूको बराबर वा उनीहरूको भन्दा कम मूल्य राख्न बजारप्रतिस्पर्धाका कारण बाध्य हुन्छन्। यसरी अमरिकी कम्पनीहरूका लागि सस्तोमा वस्तु बिक्री गर्नु एक किसिमको वाध्यता पनि हुन पुगेको छ। यो कारणले गर्दा मुख्यगरी आपूर्तिकर्ताहरूबीच हुने तीव्र प्रतिस्पर्धाले गर्दा, अमेरिका विश्वमा नै सस्तोमा वस्तु एवं सेवाहरू उपलब्ध गराउने एक नम्बर राष्ट्र हुन पुगेको छ। अमेरिकामा जुनसुकै किसिमको वस्तु वा सेवाको व्यापार किन न होस्, त्यो प्रतिस्पर्धापूर्ण हुन्छ। अन्य मुलुकहरूमा वस्तु वा सेवाहरूको बिक्रीका लागि बजारमा तीव्र प्रतिस्पर्धा भएको व्यवहारमा देखिंदैन, केवल सिद्धान्त (वा किताब) मा देखिन्छ। अमेरिकामा भने व्यवहारमा नै देखिन्छ। बजारमा बिक्रीका लागि बिक्रेताहरूबीच कुन स्तरमा प्रतिस्पर्धा छ भन्ने कुरा एउटा सामान्य ग्राहकले पनि थाहा पाउन सक्छ। बजारमा बिक्रीका लागि तीव्र प्रतिस्पर्धाको उपस्थिति अमेरिकी व्यापारको महत्वपूर्ण पद्धति हुन पुगेको छ। र यो पद्धति आपूर्तिकर्ता र उपभोक्ता दुवैका लागि हितकर हुन पुगेको छ भने समग्र अर्थ व्यवस्था लागि पनि। प्रतिस्पर्धमा नयाँ नयाँ उपाय एवं वस्तुहरू ल्याएर, बजारमा रहेको तीव्र प्रतिस्पर्धा आफ्नो लागि असान्दर्भिक तुल्याएर केही कम्पनीहरूले ठूलो मुनाफा हात पारेका छन्। जस्तै एपल, माइक्रोसफ्ट, गुगल, अमेजन, फेसबूक आदि जस्ता व्यापार (पद्धति) हरूले बजारमा रहेको तीव्र प्रतिस्पर्धाको चिन्ता गर्नुपरेको छैन।
    अत्यधिक ठूला व्यापार सञ्चालनले, जुन एउटा महत्वपूर्ण अमेरिकी व्यापार पद्धति हुन पुगेको छ, अमेरिकी एवं विश्व बजारमा नयाँनयाँ वस्तु एवं सेवा ल्याउन महŒवपूर्ण भूमिका खेलेका छ। ठूलाठूला कम्पनीहरूले अध्ययनअनुसन्धानमा ठूलो धनराशि खर्च गर्न सक्ने हुनाले अमेरिकामा नयाँनयाँ वस्तुको सृजना (आविष्कार) हुन सकेको हो। नयाँनयाँ वस्तु एवं सेवा आविष्कार गर्न अमेरिकाको स्थान अहिले अग्रणी छ।
    जीवन निर्वाहका लगि आवश्यक पर्ने सामान्य वस्तु होस् वा जीवन रक्षा गर्ने महत्वपूर्ण औषधि एवं मेडिकल उपकारण होस्, यस किसिमका वस्तुहरूको (माग एवं आवश्यकता अनुसार) विकास गर्न लामो अध्ययन एवं अनुसन्धान गर्नुपर्ने हुन्छ। अध्ययन र अनुसन्धान अत्यधिक खर्चिला पनि हुन्छन्। केही अपवादबाहेक, ठूला कम्पनीहरूले मात्र, आफ्नो बलियो आर्थिक क्षमताको कारण, अध्ययन एवं अनुसन्धानमा ठूलो रकम खर्च गर्न सक्छन्। अमेरिकी ठूला कम्पनीहरूले अध्ययन र अनुसन्धानमा ठूलो रकम लगानी गर्न सकेकाले नै अमेरिकामा अनेक नयाँ वस्तु एवं सेवाको विकास हुन सकेको हो।
    यसरी अमेरिकी व्यापार पद्धतिले, जुन अन्य मुलुकहरूभन्दा धेरै भिन्न छ, अमेरिकालाई धनी तुल्याउन महत्वपूर्ण भूमिका खेलेको छ। अमेरिकी व्यापार पद्धतिको आफ्नै किसिमको प्रकृति छ। अमेरिकाले कसैको व्यापार पद्धतिको नक्कल गर्दैन। आफैंले नयाँनयाँ किसिमका व्यापार पद्धतिको विकास गर्छ। होमडेलिभरी, ड्राइभ थ्रु, अनलाइन सपिंग, फास्ट फूड, अनलाइन बैंकिग जस्ता व्यापार पद्धतिका जनक अमेरिकी व्यापारीहरू नै हुन्। बाँकी अन्य राष्ट्र जस्तै भारत, चीन, ब्रजील, रूस, साउथ अफ्रिकाले अमरिकी व्यापार पद्धतिको नक्कल मात्र गर्छन्। यी राष्ट्रहरू विश्वका ठूला अर्थ व्यवस्थामध्ये परे तापनि यिनीहरूले नयाँनयाँ व्यापार पद्धतिको विकास गरेको पाइँदैन। अर्थात् व्यापारज्ञानको मामिलामा यी राष्ट्रहरू अमरिका भन्दा निकै पछाडि छन्।
    अमेरिका पूर्णरूपमा व्यापारी राष्ट्र हो। व्यापारलाई महत्व दिन अमेरिकाले कुनै कसर बाँकी राखेको पाइँदैन। र अर्कोतिर अमेरिकालाई राजनैतिकरूपमा एक शक्तिशाली राष्ट्र तुल्याउन यस राष्ट्रको आर्थिक अवस्थाले विशेष भूमिका खेलेको छ। र अन्त्यमा, अमेरिकी व्यापार पद्धतिले नै अमेरिकालाई आर्थिक रूपमा सबल तुल्याएको छ।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, January 11, 2019

Friday, January 4, 2019

Special Characteristics of American Economy-Trade and Commerce-229

अमेरिकी अर्थ व्यवस्थाका विशेषता

१०. व्यापार पद्धति (क)
अमेरिकी व्यापार पद्धतिको पनि आफ्नै किसिमको विशेषता छ। विश्वका अन्य मुलुकहरूभन्दा अमेरिकाको व्यापार पद्धति धेरै भिन्न छ र खास छ। हुनपनि अमेरिकामा ठूलो व्यापारले जति महत्व पाउँछ, सानो व्यापारले पनि उत्तिकै महत्व पाउँछ। स्थानीय, राज्य एवं सङ्घीय सरकारहरूले पनि साना व्यापारको विकासमा समान किसिमले जोड दिएको पाइन्छ। यस कारणले गर्दा ठूलो व्यापारले विकास गर्ने जति अवैसर पाएको हुन्छ, सानो व्यापारले पनि त्यतिकै अवसर पाउँछ। ठूलो व्यापारलाई पनि राज्यबाट एक किसिमको संरक्षण प्राप्त हुन्छ, साना व्यापारलाई प्राप्त भएझैं। राज्यको यस किसिमको नीति भएकोले नै अमेरिका नितान्त नयाँनयाँ व्यापारको जननी हुन पुगेको छ। गुगल, युटुब, फेसबूक, अमेजन, उबरजस्ता पृथक एवं नितान्त नयाँ व्यापारको जनक अमेरिका हुन पुगेको छ। अमेरिकामा चालकविहीन कार (Self-driving car) को विकास भइसकेको छ। अब केवल त्यसको व्यापारिक प्रयोग व्यापक मात्रामा हुन बाँकी छ।

    अमेरिकी व्यापार पद्धतिलाई तीन किसिमबाट विभाजन गर्न सकिन्छ। स्वतन्त्र व्यापार, सम्बन्धन व्यापार र ठूलो व्यापार गरी अमेरिकी व्यापार पद्धतिलाई तीन किसिमले वर्गीकृत गर्न सकिन्छ।


    सानासाना खुद्रा बिक्री भण्डार (पसल) हरूले सानो पूँजीमा व्यापार सञ्चालन गरेका हुन्छन्। भण्डारका सञ्चालक पनि स्वयं लगानीकर्ताहरू हुन्छन्। भण्डारको नियन्त्रण एवं सञ्चालनमा लगानीकर्ता (मालिक) को सक्रिय भूमिका र सहभागिता हुन्छ। जतिसुकै घाटा भएपनि लगानीकर्ता स्वयंले बेहोर्नुपर्छ भने प्राप्त मुनाफा पनि बाँड्नुपर्दैन। यस किसिमका स्वतन्त्र व्यापारहरू पनि अमेरिकामा ठूलो सङ्ख्यामा सञ्चालित छन्। मुनाफाभन्दा पनि जीवन निर्वाहका लागि सञ्चालित यस किसिमको स्वतन्त्र व्यापारले ठूलो सङ्ख्यामा मानिसलाई रोजगार दिएको छ भने कम मूल्यका र दैनिक जीवनका लागि आवश्यक वस्तु प्रवाहमा महत्वपूर्ण भूमिका खेलेको छ। अमेरिकामा ३ करोड २० लाख (सन् २०१८) साना व्यापार सञ्चालित छन्। र यी साना व्यापारले करिब ६ करोड रोजगार सृजना गरेका छन्। साना व्यापारहरू पनि अमेरिकामा रोजगारका भरपर्दो स्रोतको रूपमा देखिएका छन्। अमेरिकाका कुल रोजगारमध्ये ४७.५ (सन् २०१८) ले साना व्यापारमा रोजगार पाएका थिए।
   
अमेरिकामा सम्बन्धन व्यापार (Franchising) को सङ्ख्या पनि ठूलो छ। स्टार बक्स, मैकडोनाल्ड, पिजाहट, डोमिनोज, सेभेन एलेभेन, सबवे, केएफसी आदिजस्ता सम्बन्धन व्यापार पनि अमेरिकाका विभिन्न शहरमा ठूलो सङ्ख्यामा सञ्चालित छन्। एक किसिमले भन्ने हो भने सम्बन्धन व्यापार अमेरिकामा निकै लोकप्रिय छ। रेस्टुरा व्यापारमा सम्बन्धन व्यापारको ठूलो सङ्ख्यामा उपस्थिति छ। अमेरिकी सम्बन्धन व्यापारको लोकप्रियता अमेरिकाभित्र मात्र होइन बाहिरपनि प्रशस्त छ। विश्वका अनेक देशका प्रमुख शहरहरूमा अमेरिकी सम्बन्धन व्यापारहरू सञ्चालित छन्। मैकडोनाल्ड, पिजाहटजस्ता अमेरिकी सम्बन्धन व्यापारहरू विश्वका अनेक कुनामा सञ्चालित रहेको देख्न सकिन्छ।

    क्यानाडा, कोस्टारिका, अस्ट्रेलिया, जापान, निदरल्यान्ड्स, पानामा, जर्मनी, फ्रान्स, एल सल्भाडोर, ग्वाटेमाला, संयुक्त अधिराज्य, हड्ढङ, न्युजिल्यान्ड, स्वीट्जरल्यान्ड, आयरल्यान्ड, अस्ट्रिया, बेल्जियम, ब्रजील, सिङ्गापुर, स्पेन, डेनमार्क, फिलिपिन्स, मलेशिया, नर्वे, ताइवान, अन्डोरा, फिनल्यान्ड, थाइल्यान्ड, अरूबा, लक्जम्बर्ग, इटली, भेनेजुएला, मेक्सिको, क्युबा, टर्की, मकाउ, सर्बिया, साउथ कोरिया, हन्गेरी, रूस, चीन, चिले, इन्डोनेशिया, ग्रीस, उरूग्वे, चेक रिपब्लिक, पोल्यान्ड, मोनाको, ब्रुनाई, मोरक्को, इजराइल, स्लोभेनिया, साउदी अरेबिया, कुवेत, ओमान, इजिप्ट, बल्गेरिया, बहरेन, लाटभिया, युनाइटेड अरब इमिरेट्स, इस्टोनिया, रोमानिया, माल्टा, कोलम्बिया, स्कोभाकिया, साउथ अफ्रिका, कतार, होन्डुरस, क्रोएशिया, समाओ, फिजी, लिचिस्टिन, लुथानिया, भारत, पेरू, जोर्डन, पाराग्वे, डोमनिकन रिपब्लिक, बेलारूस, ट्रिनिडाड, युक्रेन, साइप्रस, इक्वेडोर, सुरिनाम, मल्डोभा, निकारागुवा, लेबेनान, पाकिस्तान, श्रीलङ्का, जर्जिया, अजरबैजान, इराक, बोस्निया हर्जगोभिना, भियतनाम, कजाकिस्तान, ट्युनेशिया, केन्या, कोसोभो, नेपाल गरी अमेरिकी कम्पनी मैकडोनाल्डको सम्बन्धन व्यापार विश्वभरि फैलिएको छ। इलिन्वाय राज्यको शिकागो शहरमा मुख्य कार्यालय रहेको, विश्वकै सर्वाधिक ठूलो सम्बन्धन शृङ्खला फास्टफुड रेस्टुरा, अमेरिकी कम्पनी, मैकडोनाल्डको विश्वभरि गरेर ३७ हजारभन्दा बढी सम्बन्धन प्राप्त रेस्टुराहरू छन्  दुई दाजुभाइ रिचार्ड मैकडोनाल्ड र मौरिस मैकडोनाल्डले सन् १९४० मा स्थापना गरेको यो रेस्टुरा (मैकडोनाल्ड फास्ट फूड) का खाना मन नपराउने व्यक्ति छैन भनेपनि हुन्छ। यसका खानाहरू अमेरिकामा जति लोक प्रिय छ त्यतिकै विदेशमा पनि छ।

 माथि मैकडोनाल्डको प्रसङ्ग यति विस्तारमा किन उल्लेख गरेको भने अमेरिकामा प्रत्येक दिन नयाँ व्यापार विकास गर्नेबारे सोचिन्छ र प्रत्येक वर्ष कुनै न कुनै नयाँ व्यापारले जन्म लिन्छ। र त्यो वा त्यस किसिमको व्यापार संसारभरि फैलिन्छ। नयाँ व्यापारको विकास गर्नु अमेरिकी संस्कृति हुन पुगेको छ। यस्तो हुनुको कारणपनि छ। त्यो कारण के हो भने अमेरिकामा व्यापार अति प्रतिस्पर्धापूर्ण छ। केही क्षेत्रमा देखिएका अपवादबाहेक, अमेरिकामा व्यापारमा सफल हुनु भनेको फलामको च्युरा चपाउनुजस्तै हो।

    अब सम्बन्धन (Franchise) व्यापार के हो त्यसबारे छोटो चर्चा गरौं। सम्बन्धन व्यापारबारे जानकारी भएमा मैकडोनाल्ड र यस्तै किसिमका सम्बन्धन व्यापार गर्ने अन्य अमेरिकी कम्पनीहरूबारे थाहा पाउन सजिलो हुन्छ।

    सम्बन्धन व्यापारको दुई पक्ष हुन्छ। पहिलो सम्बन्धन लिने, जसलाई फ्रेन्चाइजी (Franchisee) भन्ने गरिन्छ। दोस्रो सम्बन्धन दिने, जसलाई फ्रेनचाइजर (Franchisor) भनिन्छ। र सम्बन्ध दिने कार्यलाई फ्रेन्चाइजिङ भन्ने गरिन्छ।

    कुनै ख्याति प्राप्त कम्पनीले कुनै अन्य कम्पनी (नयाँ स्थापना हुने) वा दोस्रो पक्षलाई आफ्नो नाम, ख्याति, ड्रेड मार्क, अनुभव, सीप, ज्ञान, इतिहास, प्रतिष्ठा आदि प्रयोग गर्न दिन्छ र उक्त कुराहरू प्रयोग गर्न दिएबापत पहिलो पक्षले दोस्रो पक्षसँग शुल्क (Royalty or Fees) लिन्छ भने त्यस्तो कार्य (व्यापार) लाई फ्रेनचाइजिङ भन्ने गरिन्छ। सम्बन्धन लिनेले सम्बन्धन दिनेको व्यापार तरीकामात्र होइन, उसको निर्देशनको पालनासमेत गर्नुपर्छ। सम्बन्धन दिने (यदि रेस्टुरा हो भने) ले जे कुरा पकाउँछ लिनेले पनि त्यही पकाउनुपर्छ। पकाउँदा के सामग्री प्रयोग गर्छ त्यही गर्नुपर्छ। पकाउने तरिकापनि समान हुनुपर्छ। यहाँ सम्म कि सम्बन्धन दिनेले भवन (रेस्टुरा) को संरचना कस्तो राखेको छ लिनेले पनि त्यस्तै राख्नुपर्छ। घरभित्रको सजावट पनि उस्तै पार्नुपर्छ।

    फ्रेनचाइजिङमा यसरी सम्बन्धन दिनेले आफ्नो ज्ञान र सीप बिक्री गर्न पाउँछ भने सम्बन्धन लिनेले अर्काको वर्षौ लगाएर आर्जन गरिएको ज्ञान र सीप उपयोग गर्न पाउँछ। सम्बन्धन लिनेहरूले व्यापारमा सङ्घर्ष (पहिचान, विज्ञापन आदि) गर्नुपर्दैन किनभने सम्बन्धन पाउनेले सञ्चालन गर्न लागेको व्यापार ग्राहकहरूका लागि नौलो हुँदैन। कस्तो प्रभावकारी व्यापारको तरीका! आफ्नो ज्ञान र सीपपनि बिक्री गर्न पाइने। ज्ञान र सीपपनि खरीद गर्न पाइने। यस्तैयस्तै व्यापारका नयाँनयाँ तरिकाहरूको विकास गरेर अमेरिकाले व्यापारमा अभूतपूर्व सफलता प्राप्त गरेको हो। संसारभरिमा नै एक नम्बर धनी राष्ट्र हुन पुगेको हो। व्यापारमा अमेरिकालाई अन्य राष्ट्रले उछिन्ने सम्भावनासम्म देखिंदैन।

    अमेरिकामा धेरै व्यक्तिले स्वतन्त्र भण्डार सञ्चालन गर्नुको साटो सम्बन्धन व्यापार सञ्चालन गरेको पाइन्छ। खास गरी ग्याँस स्टेशन, रेस्टुराजस्ता व्यापारमा सम्बन्धन व्यापार निकै लोकप्रिय भएको पाइन्छ।  अर्थात् यी व्यापारहरूमा सञ्चालकहरूले सम्बन्धन लिएर व्यापार गर्छन् र सम्बन्धन दिनेलाई शुल्क भुक्तान गर्छन्।

    सम्बन्धन व्यापार सतही किसिमले हेर्दा सामान्य लागेपनि व्यापारिक दृष्टिले निकै महत्वपूर्ण देखिन्छ। सम्बन्धन लिएर कुनै किसिमको व्यापार गर्दा व्यापार सञ्चालन सजिलो हुन पुग्छ। अर्काको ज्ञान र सीप प्रयोग गरेर व्यापार गर्न सजिलोपनि हुन्छ। त्यसकारण सम्बन्धन लिएर गरिएको व्यापारमा, अन्यको तुलनामा, असफल हुने सम्भावना ज्यादै कम हुन्छ।

    सम्बन्धन व्यापारमा ज्ञान र सीपको विकास गरिन्छ। तिनको व्यवस्थापन गरिन्छ र साथै तिनको प्रसार पनि गरिन्छ। आश्चर्यको कुरा त के छ भने दक्षिण एशियामा ज्यादै कम मात्रामा मात्र ज्ञान र सीपको (व्यापारिक क्षेत्रमा) विकास हुन्छ र थोरै मात्रामा भएको ज्ञान र सीपको न व्यवस्थापन हुन्छ, न प्रसार नै। उदाहरणको लागि कुनै राम वा श्याम नाम गरेको हलुवाईले मीठो जिलेबी बनाउन जानेको छ भने ऊ बाँचुन्जेलमात्र उसको त्यो सीपको आनन्द (जिलेबी खाएर) उपभोक्ताहरूले लिन पाउँछन्। त्यो हलुवाई मरेपछि उसको सीप र ज्ञान ऊसँगै जान्छ। किनभने उसको ज्ञान र सीपको व्यवस्थापन र प्रसार हुन पाउँदैन। यस्ता समस्याहरूले गर्दा पनि दक्षिण एशिया व्यापारको क्षेत्रमा निकै पछाडि परेको हो। अहिले दक्षिण एशियामा भएका व्यापारका तरीकाहरू त्यहाँ विकास भएका होइनन्। त्यहाँ हुने व्यापार र व्यापारका तरीकाहरू अन्य देशहरूबाट नक्कल गरिएका हुन्। भन्ने हो भने दक्षिण एशियालीहरूलाई व्यापार गर्न अंग्रेजहरूले सिकाएका हुन्। इस्ट इन्डिया कम्पनी बेलायतबाट व्यापार गर्न भनेर नै भारत आएको थियो।

    सम्बन्धन व्यापार ज्ञान र सीपको विकास, व्यवस्थापन र प्रसार हो। व्यापार गर्ने अति प्रभावकारी पद्धति हो।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, January 02, 2019