उत्तर आधुनिक युग र गरीबीको कारण
अहिले
हामी उत्तर आधुनिक युगमा छौं। यो उत्तर आधुनिक युग आर्थिक विकासको लागि स्वर्णिम
युग हो। स्वर्णिम युग किन हो भने यो युगमा विश्वले अनेक क्षेत्रमा ठूला–ठूला
आविष्कार देखेको छ। प्रयोग गर्न पाएको छ । विज्ञान र प्रविधिको क्षेत्रमा
अभूतपूर्व विकास भएको छ। यो उत्तर आधुनिक युगको आर्थिक फाइदा उठाएर चीन अहिले
विश्वको दोस्रो आर्थिक महाशक्ति राष्ट्र हुन पुगेको छ।
प्रविधिको
क्षेत्रमा अहिले अकल्पनीय विकास भएको छ। इन्टरनेटको प्रयोगले यति ठूलो संसारलाई
एउटा सानो गाउँजस्तो तुल्याइदिएको छ। इन्टरेनटले सञ्चार व्यवस्थालाई यति सरल
पारिदिएको छ कि कुनै आवश्यक सूचना, जानकारी वा खबर एक मिनेटभित्र संसारभरि फैलाउन सकिन्छ।
विज्ञानको
क्षेत्रमा पनि ठूला–ठूला आविष्कार भएका छन्। उन्नत बीउ (genetically modified seeds),
आधुनिक
सिंचाइ व्यवस्था,
कृषि
कार्यमा उच्च प्रविधिको प्रयोगजस्ता सुविधाहरूले गर्दा कम श्रम, भूमि र पूँजी प्रयोग गरेर ठूलो
परिमाणमा अन्न, फलफूल, माछा–मासु आदि उत्पादन गर्न सम्भव भएको छ।
यो
उत्तर आधुनिक युगमा सर्वाधिक त पूँजी निर्माण एवं प्रवाहको क्षेत्रमा प्रगति भएको
छ। कुनै एक देशले आफ्नो राष्ट्रका लागि कुशल व्यवस्थापनको माध्यमबाट संसारभरिबाट
पूँजी प्राप्त गर्न सक्छ। अहिले पूँजी निर्यातक राष्ट्रहरू पनि देखिएका छन्। यो
तथ्यको बलियो उदाहरणको रूपमा चीनले गर्ने पूँजी निर्यातलाई लिन सकिन्छ। चीनले
अहिले एशिया र अफ्रिकाका गरीब देशहरूमा मात्र पूँजी निर्यात गरेको छैन, युरोपका धनी देशलगायत अमेरिकामा समेत
पूँजी निर्यात गरेको छ। विकासको लागि कुनै गरीब देशले अहिले कम्मर कसेर पूँजीको
माग गरेमा त्यस देशलाई विश्वभरिबाट पूँजी पाउन कठिन नहुने स्थिति छ।
यो
युगमा यातायातको क्षेत्रमा पनि ठूलो विकास भएको छ। हवाइ र जल यातायातको क्षेत्रमा
भएको उल्लेखनीय विकासले अन्तर्राष्ट्रिय व्यापारलाई ज्यादै सजिलो पारिदिएको छ।
अहिले गरीब राष्ट्रहरूले पनि अन्तर्राष्ट्रिय व्यापारबाट फाइदा उठाउन सकेका छन्।
भारत, इन्डोनेशिया, मलेशिया, बङ्गलादेशजस्ता कुनै समयमा गरीब कहलिएका राष्ट्रले अहिले
अन्तर्राष्ट्रिय व्यापारबाट राम्रो लाभ प्राप्त गर्न सकेका छन्।
वर्तमान
विश्व परिस्थिति आर्थिक विकासका लागि यति सरल र अति अनुकूल भए तापनि गरीब
राष्ट्रहरूले द्रुततर गतिमा आर्थिक विकास किन गर्न सकिरहेका छैनन्? नेपाललगायत अफ्रिकाका अनेक मुलुकहरूमा
साधन र स्रोतको प्रचुरता हुँदाहुँदै पनि यी राष्ट्रहरू किन गरीबीमा पिल्सिनुपरेको
छ ? यो प्रश्न अति महŒवपूर्ण छ। यसको उत्तर खोज्न आवश्यक छ।
उत्तर आधुनिक युगमा पहिचानको सङ्कट, धर्म, साम्प्रदायिकता जातीयता, क्षेत्रीयता, गलत नेतृत्व, सहअस्तित्व एवं समन्वयको अभाव, अहम्, गर्व र घमण्ड जस्ता मानवजन्य समस्याले गरीब राष्ट्रलाई निकै सताउँछ। यी समस्याहरूले गरीब राष्ट्रहरूलाई आर्थिक समृद्धि हासिल गर्न दिंदैन। यी समस्याहरूले कसरी गरीब राष्ट्रहरूलाई गरीबीबाट मुक्ति पाउन दिंदैन वा कठिन पार्छ, आउनुहोस् त्यसबारे चर्चा गरौं।
धर्मः उत्तर आधुनिक युगमा धर्म आर्थिक विकासको लागि ठूलो बाधाको रूपमा
देखिएको छ। खासगरी अफ्रिकी मुलुकहरूमा धर्मका नाममा अपहरण, लुटपाट एवं अनेक हिंसा तथा हत्या
भइरहेको छ। इस्लामिक स्टेट, अलकाइदा, अल
सबाब, अबु सैयफजस्ता कट्टर धार्मिक
सङ्गठनहरूले कुनै एक देश होइन, सम्पूर्ण अफ्रिकी महादेशलाई नै राजनीतिक र आर्थिकरूपमा सदा अस्थिर
पार्न महत्पूर्ण भूमिका खेलेको छ। अफगानिस्तानमा त कुनै समयमा अति कट्टर धार्मिक
सङ्गठन कहलिएका तालिबान समूहका व्यक्तिहरू सरकार निर्माण गर्नसमेत पनि सफल भएका
छन्।
जनमतको
आधारमा होइन, तालिबानी ती नेताहरू धर्मको आडमा
सरकारमा पुग्न र देशमा शासन गर्न सफल भएका छन्। तालिबानीहरू धर्मप्रति अति कट्टर र
उनीहरूले महिला शिक्षाको विरोध लगायत अन्य महिला–पुरुषको अनेक अधिकारमा बन्देज
लगाएकाले विश्व जनमत अहिले तालिबानको विपक्ष मात्र छैन, अफगानिस्तानलाई प्राप्त हुने आर्थिक
सहयोग पनि बन्द गरेका छन्। परिणाम, अफगानिस्तानमा अहिले गरीबी अकल्पनीय किसिमले बढेको छ। नेपालजस्तो
गरीब राष्ट्रले समेत अफगानिस्तानलाई आर्थिक सहयोग गर्न सक्ने स्थिति उत्पन्न भएको
छ। धर्मको नाममा हुने अनेक गृहयुद्धहरूले अफगानिसन्तानलाई गएको चालीस वर्षदेखि
शान्त हुन दिएको छैन। उल्टो अफगानिस्तानमा गरीबी बढेर गएको छ।
पहिचानको सङ्कटः गरीब राष्ट्रहरूका लागि पहिचानको सङ्कट आर्थिक विकासको पथमा ठूलो
खाडल बन्ने गर्दछ। बनि पनि रहेको छ। पहिचानका लागि भनेर नै भारतमा नयाँनयाँ
राज्यको स्थापना भएको ताजा उदाहरण हामीसँग छ। पहिचानका लागि भनेर नै एक सबल
राष्ट्र सुडान टुक्रिएर अहिले दुई राष्ट्र (सुडान र दक्षिण सुडान) बनेको छ।
नेपालमा पनि पहिचानको मुद्दाले उच्च प्राथमिकता पाएको छ। पहिचानकै लागि भनेर हालै
दुई नम्बर प्रदेशको नाम ‘मधेस प्रदेश’ राखिएको छ। पहिचानको सङ्कटले गर्दा आर्थिक
विकासका मूल मुद्दाहरूले महत्व पाएको छैन। व्यक्तिहरूले पहिचानलाई
बढी महत्व दिने हुनाले आर्थिक विकासको सोचले कम महत्व पाएको छ।
पहिचानको सङ्कटले गर्दा कुनै एक समूहको व्यक्ति एकै स्थानमा बस्ने थितिको विकास भएर, समाजमा विविधताको अभाव भई क्षेत्रीय आर्थिक विकासमा प्रतिकूल प्रभाव पर्दछ। त्यति मात्र होइन, पहिचानको सङ्कटले विकासशील राष्ट्रहरूमा अनेक किसिमका द्वन्द्व, सङ्घर्ष, गृहयुद्धसमेत गराउँछ, रवान्डमा जातीय युद्ध भएजस्तो। स्मरण रहोस्, रवान्डामा करीब १०० दिन जति मात्र मच्चिएको हुटु–टुटसी जातीय द्वन्द्वमा करीब ८ लाख टुटसी समूहका व्यक्ति मारिएका थिए भने ३ लाख हुटु समूहका व्यक्तिहरू मारिएका थिए। आधुनिक युगको यो घृणित जातीय हिंसालाई ‘रवान्डा जातीय नरसंहार’ (Rwanda Genocide) को नामले चिनिन्छ।
जातीयताः विश्व मानव सभ्यताले उत्तर आधुनिक युगमा प्रवेश गरे तापनि जातीयताले
भने मानव सभ्यतालाई पछ्याइ नै रहने छ। जातीतयताले बढी दुःख भने दक्षिण एशियालाई
दिनेछ, दिइरहेको छ। दक्षिण एशियामा जातीयता
आर्थिक विकासका लागि ठूलो बाधाको रूपमा प्रस्तुत हुनेछ। अहिले पनि भइ नै रहेको छ।
उत्तर र दक्षिण अमेरिका, युरोप, अस्ट्रेलियामा जातीयता सदाको लागि
समाप्त भए तापनि खास गरी दक्षिण एशियामा जातीयताको मुद्दा चर्को स्वरमा उठ्ने छ।
साधन र स्रोत (भूमि, जल, वन आदि) माथि तथाकथित उच्च जातिको
नियन्त्रण कायम नै रहने छ भने अर्कोतिर तथाकथित तल्लो जाति साधन र स्रोतबाट पर
रहेन क्रम जारी रहने छ। यसैगरी जातिको आधारमा व्यक्तिहरू सङ्गठित हुने कार्यले
तीव्रता पाउने छ। नेपालमा अति शिक्षित व्यक्तिहरू पनि वा कुनै समय वामपन्थी
नेतासमेत रहिसकेका व्यक्तिहरू पनि, जातीयताको आधारमा सङ्गठित भएको हामीले देखेको, भोगेको कुरा हो।
गलत नेतृत्वः साधन र स्रोतहरूले भरिपूर्ण भए तापनि गतल नेतृत्वको कारणले गर्दा यो
उत्तर आधुनिक युगमा पनि विकासशील राष्ट्रहरूलाई आर्थिक विकास गर्न कठिन हुनेछ।
उदारणको रूपमा नेपाल, जिम्बाब्वे, अफगानिस्तान आदि देशहरूलाई लिन सकिन्छ।
जाति, धर्म, सिद्धान्त, क्षेत्र, समूहजस्ता नारा चर्काएर नेताहरू
सत्तामा पुगे तापनि शिक्षा, अनुभव र इमानदारीको कमीको कारण उनीहरूले देशलाई राम्रो नेतृत्व दिन
सक्ने छैनन्। यो स्थिति अहिले नेपालमा देखिएको छ। गलत नेतृत्व आर्थिक विकासका लागि
विकासशील राष्ट्रहरूका लागि ठूलो समस्याको रूपमा प्रस्तुत हुनेछ।
सह–अस्तित्वको अभावः अहम्, गर्व, घमण्डजस्ता तŒवहरूले उत्तर आधुनिक युगमा
व्यक्तिहरूलाई निकै सताउने छ। गर्व, अहम्, घमण्ड
आदिबाट गरीब देश मात्र होइन, धनी देशसमेत प्रभावित हुनेछन्। केही नेताहरूको गर्व, घमण्डले गर्दा विश्वका अनेक देश
अस्थिरता उन्मुख हुनेछन्, युक्रेन भएजस्तै। भ्लादमिर पुटिनले राष्ट्रवाद जगाएर, आफ्ना नागरिकमा अहम् वृद्धि गराएर, शासन व्यवस्थमा आफ्नो पकड निरन्तर
बलियो पारेझैं अन्य देशका नेताहरूले पनि पुटिनको यो रणनीति उपयोग गर्नेछन्।
पुटिनको
रणनीतिले भारतका प्रम मोदी, टर्कीका राष्ट्रपति रेसिप टैइप एर्डोगानजस्ता नेताहरूलाई पनि आकर्षित
गर्नेछ। यसरी नेताहरूले आफ्ना समर्थकहरूमा अहम्, गर्व, घमण्डजस्ता
तत्वको विकास गरिदिएर बहुसङ्ख्यक व्यक्तिमा सह–अस्तित्व भावको क्षय
गराउने छन्। र यो कारणले गर्दा आर्थिक विकासका मुद्दाहरूले कम अहम्, गर्व, घमण्ड आदिले बढी महत्व पाउने छन्।
माथि
वर्णन गरिएका समस्याहरूले उत्तर आधुनिक युगमा पनि अनेक राष्ट्रहरूलाई आर्थिक
विकासको पथमा दौडिन बाधा पुर्याउने छन्। गरीबी निवारणले प्राथमिकता
पाउने छैन। यी समस्याहरूको समाधान के त? यी समस्याहरूको समाधान भनेकै हामी वैचारिकरूपमा उदार हुनु हो।
सह–अस्तित्वलाई सम्मान गर्नु हो। आआफ्नो धर्मको रक्षा र सम्मान गर्नु उचित हो, तर मान्छे धर्मको लागि होइन, धर्म मान्छेको लागि हो भन्ने तथ्यमा
विश्वास गर्नु हो। आर्थिक विकासका कुराहरूमा आम सहमति कायम गर्नु हो।
Bishwa Raj Adhikari
akoutilya@gmail.com
प्रतीक दैनिकमा प्रकाशित: Friday, January 28, 2022
https://eprateekdaily.com/2022/01/27/29819/