आर्थिक विकासको आधार प्रजातान्त्रिक
संस्कार, सन्दर्भ
गाम्बिया
यस आलेखमा चर्चा गर्न खोजिएका घटनाहरू
यसै जनवरी महिनाको तेस्रो साताका हुन्। जनवरी २० तारिख (२०१७) का दिन यता
अमेरिकामा निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपति बराक ओबामाले एक
भव्य सार्वजनिक समारोहबीच सत्ता हस्तान्तरण गरिरहेका थिए भने उता सोही दिन पश्चिमी
अफ्रिकी देश गाम्बियाका राष्ट्रपति याहयाह जामेहले निर्वाचित राष्ट्रपति एडमा
बारोलाई सत्ता हस्तान्तरण गर्न अटेर गरिरहेका थिए, मसल देखाइरहेका थिए।
बिनाभेदभाव कानुनको कडाइका साथ पालना र प्रजातान्त्रिक संस्कार भएको मुलुक
अमेरिकामा सत्ता हस्तान्तरण पारदर्शी र सर्वसाधारणले पनि हेर्न पाउने किसिमबाट अति
नै सहजरूपमा भइरहेको थियो भने प्रजातान्त्रिक संस्कार विकास नभएको देश गाम्बियामा
भने राष्ट्रपति जामेहले सत्ता हस्तान्तरण गर्नुको साटो सैनिकहरूलाई आफ्नो पक्षमा
खडा हुन एवं एडमा बारोको विरोधमा मुठभेड गर्न निर्देशन दिइरहेका थिए। आफ्नो सत्ता
टिकाउन गाम्बियाका ब्यारेकहरूमा गोप्य वार्ताहरू गराइरहेका थिए। यति मात्र होइन, गत वर्ष
डिसेम्बर महिनामा भएको आम निर्वाचनमा आफू पराजित भएपछि
राष्ट्रपति पदमा निर्वाचित एडमा बारोलाई सत्ता हस्तान्तरण गर्नुको साटो धाँधलीपूर्ण
चुनाव भयो भन्दै जामेहले ९० दिने राष्ट्रिय आपतकाल घोषणा गरेका थिए।
अन्तर्राष्ट्रिय समुदाय र इकोवास (Economic Community of West African States) ले एडमा बारोको
विजयलाई मान्यता प्रदान गरी जामेहलाई सत्ता हस्तान्तरण गर्न भन्दा पनि उनले अटेर
गरिरहेका थिए। आम चुनावमा विजयी उम्मेदवार एडमा बारोले राष्ट्रपति पदको शपथ आफ्नो
देशभित्र लिन नसकी छिमेकी देश सेनेगल पुगेर राजधानी डकारमा शपथ लिएका थिए। यो आलेख
तयार पार्दासम्म एडमा बारो छिमेकी देश सेनेगलमा नै छन्। निर्वाचित भए तापनि शपथ
अर्को देशमा पुगेर लिनुपर्ने कस्तो राजनैतिक संस्कार हो? कति
दुर्भाग्यपूर्ण कुरा हो?
गाम्बियाका दोस्रो राष्ट्रपति जामेह प्रारम्भमा एक सेना अधिकृत थिए। सन् १९९४ मा सैनिक विद्रोह गरेर उनी सत्तामा आएका थिए। सत्तामा आएर राष्ट्रपति हुँदा जामेह केवल २९ वर्षका थिए। सन् १९९४ देखि २०१७, अर्थात् २२ वर्षसम्म निरन्तर शक्तिमा रहेका जाहेमले आर्थिक विकासका कार्यहरू त केही गरेनन् नै, गाम्बियालाई ‘दरिद्र’ पारेर गए। देशभित्र नै ठूलो जन असन्तोष र बाह्य शक्तिहरूको दबाब बढ्दै गए पछि उनी अहिले स्वनिष्कासन’ मा इक्वेटेरियल ग्युनी पुगेका छन्। समाचारहरूका अनुसार जामेहले करिब १ करोड १० लाख डलर बराबरको नगद र सम्पत्ति लुटेरासरह आफूसाथै गाम्बियाको ढुकुटीबाट लुटेर लगेका छन्। देशलाई लुट्ने पनि नेता? कस्तो अचम्म!
जामेह निर्वासनमा सजिलोगरी गएका भने होइनन्। एक किसिमले उनलाई गलहत्याएर पठाइएको हो। आफ्नै जीउ ज्यानको खतरा हुने देखेपछि उनी भागेका हुन्। सजिलै सत्ता छाडने उनको विचार थिएन। तर आफ्नै जनताको असन्तोष र छिमेकी देश सेनेगलको दबाब खेप्न सकेनन्। देशको जनतालाई त दबाएर राखेका थिए। तर सेनेगलको सैनिक हस्तक्षेप नै निर्णायक हुन पुग्यो, उनलाई सत्ताच्युत गर्न।
जामेहलाई सत्ता छाडन गत शुक्रवारसम्म अल्टिमेटम दिइएको थियो। तर उनले सत्ता छाडने मनस्थिति देखाएनन्। यस्तो अवस्था विकसित भएपछि सेनेगलका सैनिकहरू जामेहलाई पदत्याग गराउन गाम्बिया प्रवेश गरेका थिए। सैनिक हस्तक्षेप गर्न पुगेका थिए। सेनेगलका सेनाहरूलाई क्षेत्रीय (अन्य मुलुकका) सेनाहरूको पनि सहयोग प्राप्त थियो। विदेशी सेना आफ्नो मुलुकभित्र प्रवेश गर्दासम्म पनि जामेहले सत्ता मोह त्याग गरेका थिएनन्। मरुटानिया र गिनीका राष्ट्रपतिहरूले गाम्बियाको राजधानी बान्जुल पुगेर जामेहलाई सम्झाएपछि मात्र उनी सत्ता छाडेर अन्य मुलुकमा पलायन हुन तयार भएका थिए। सत्ता नछोडेको अवस्थामा स्थिति रक्तपातपूर्ण हुनेछ भनी मध्यस्थकर्ताहरूले जामेहलाई भय देखाएका थिए। एक किसिमबाट उनलाई क्षमा दिइएको पनि हो। र यस्तो नगरेको भए गाम्बियामा ठूलो रक्तपात हुन सक्थ्यो।
अमेरिका र गाम्बियामा एकै समयमा एकै किसिमका घटनाहरू (सत्ता हस्तान्तरण) भएको थियो। तर सत्ता हस्तान्तरणका तरिका भने पृथक थियो। अमेरिकामा सत्ता हस्तान्तरण निर्धारित कानुनको आधारमा, शान्तिपूर्वक र सुसंस्कृत किसिमले भयो भने गाम्बियामा सत्ता हस्तान्तरण बाह्य शक्तिको प्रयोग, झगडा, झन्झट एवं बलपूर्वक भयो। यस्तो किन भयो? उत्तर सरल छ। अमेरिकामा प्रजातान्त्रिक संस्कार छ, गाम्बियामा छैन। गाम्बियामा मात्र होइन, अफ्रिकी धेरै देशहरूमा अहिलेसम्म पनि प्रजातान्त्रिक र उत्तरदायी संस्कारको विकास हुन सकेको छैन। अफ्रिकाका धेरै देशहरू अहिले पनि तानाशाहरूको अधीनमा छन्। प्रजातन्त्रको नाममा तानाशाही गर्ने फेरि अर्काथरि छन्। उदाहरणका लागि जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगावे। प्रजातान्त्रिक संस्कारको अभावले गर्दा अफ्रिकामा आर्थिक विकास हुन सकिरहेको छैन। त्यसकारण अफ्रिकाका धेरै राष्ट्रहरू गरिब छन्। असल प्रजातान्त्रिक संस्कार नभएसम्म कुनै पनि मुलुकको आर्थिक विकास सम्भव छैन। प्रजातान्त्रिक संस्कार नभएको देश निरन्तर गरिबीको कुचक्रमा रुमलिइरहन विवश हुन्छ। दुष्चक्रबाट बाहिर आउन सक्तैन, नेपाल आउन नसकेजस्तै।
नेपालमा बलपूर्वक प्रजातन्त्र आयो तर प्रजातान्त्रिक संस्कारको विकास हुन सकेन। नेताहरूमा उही सामन्ती प्रवृत्ति छ। दास बन्ने र बनाउने मनोवृत्ति छ। अनि यस्तो सामाजिक परिवेशले कसरी हुन्छ त आर्थिक विकास? नेताहरू प्रजातान्त्रिक संसारको विकासमा लाग्नुको सट्टा जहिले पनि कसरी शक्ति हस्तगत गर्ने भन्ने दाउमा रहन्छन, याहयाह जामे रहेझैं। यही कारणले निरन्तर झगडा भइरहेको छ। झगडा पनि कहिले नटुंङ्गिने प्रकृतिका छन्। २०४६ सालदेखि मुलुकले एकथरीको समस्यामाथि अर्को समस्या थपिएको मात्र देख्दै आएको छ। विकासको सोच र विकासका लागि काम भएको देख्न पाएको छैन।
नेताहरूले अनेकथरीका विवाद, मनोमालिन्य, झगडा गरे तापनि ती केवल सत्ता प्राप्ति र शक्ति प्राप्तिका लागि मात्र हुन पुगेको छ। मुलुकको आर्थिक विकासका लागि हुन सकेको छैन। जात, जाति, सम्प्रदाय, क्षेत्र वा जुनसुकै विषयलाई अगाडि ल्याएर यी नेताहरूले झगडा गरे तापनि केन्द्रमा भने सत्ता प्राप्तिको उनीहरूको लुकेको अभीष्ट हो। यो पुरानो तथ्य सबैले बुझेको हो। यो जगजाहेर तथ्य हो। तर पनि किन दोहरिइरहेको छ यस्तो स्थिति? किन यिनै नेताहरू निर्वाचित भएर आइरहेका छन्? निर्वाचित नभए तापनि किन शक्तिशाली छन्?
नेपालमा स्वार्थी नेतृत्वको विकास हुनुमा जनता नै जिम्मेवार छ। जनताले नै महत्वाकाङ्क्षी एवं स्वार्थी नेता जन्माएको हो। नेताहरू मात्र खराब, जनता असल भनेर जनता पन्छिने स्थिति छैन। जनताले दुईवटा त्रुटि एकैसाथ गरिरहेको छ। पहिलो–स्वार्थी नेताहरू जन्माइरहेको छ, दोस्रो–त्यस्ता स्वार्थी नेताहरूले ल्याएका गलत नारा वा एजेन्डाको पछाडि दौडिरहेको छ।
जनताले किन स्वार्थी नेता जन्माइरहेको छ? किनभने जनतामा पनि प्रजातान्त्रिक संस्कार छैन। घरको फोहर सडकमा फालेर हामी सफाइ गरेको भ्रम पाल्छौं। सडक सानो पारेर घरको सिमाना बढाएकोमा गर्व गर्छौं। छिमेकीको घडेरी मिचेकोमा बहादुरी ठान्छौं। सानैदेखि आफ्ना सन्तानलाई भन्सार, मालपोत वा कमाउ अफिसको जागिर खान प्रेरित गर्छौ, घूस लिन उचाल्छौं। आफ्ना सन्तानलाई आफ्ना सपनाहरूको भारी बोकाएर इन्जिनियर, डाक्टर बन्न प्रेरित गर्छौ, पैसा कमाउने मन्त्र सिकाउँछौं। तिलक लिने र दिने गरेर आर्थिक र सामाजिक हैसियत प्रदर्शन गर्छौं। हामी बालबलिकाहरूलाई सहृदयी होइन, सानैदेखि स्वार्थी हुन सिकाउँछौं। यहाँसम्म कि बसमा चढदापनि पङ्क्तिमा खडा भएर होइन, अरूलाई उछिनेर अगाडि कसरी पुग्ने र सिट कसरी प्राप्त गर्ने शिक्षा आफ्ना बालबालिकालाई सानैदेखि सिकाउँछौं। अनि यस्तो व्यक्तिवादी सामाजिक सोंच भएको समाजमा कसरी निस्स्वार्थी नेताको जन्म हुन्छ? अफ्रिकी देशहरूमा झैं नेपाली समाजले पनि आफैंले व्यक्तिवादी, स्वार्थी र भ्रष्टाचारी नेता जन्माउनु, अनि किन नेताहरूलाई गाली गर्नु? समाजले पहिले आफैंलाई गाली गर्नुपर्ने होइन र? नेताहरूलाई मात्र गाली गरेर समाज पानीमाथिको ओभानो हुन खोजेको होइन? जस्तो बींउ रोप्यो त्यस्तै फल लाग्ने होइन र? खुर्सानी रोपेर स्याउ फल्छ त? यस्तो कही भएको छ?
नेपाली समाजसँग अहिले कुनै आर्थिक विकासको एजेन्डा नै छैन जस्तो छ। छ भने केवल पहिचान, भाषा, क्षेत्र, संस्कृति, धर्म आदिको। लाग्छ यी कुराहरूले नै नेपालमा आर्थिक समृद्धि ल्याउने हो। कस्तो समय आयो, नागरिकहरू फलानो जातिको, फलानो भाषा बोल्ने, फलानो क्षेत्रमा बसोबास गर्ने, फलानो संस्कृतिको भन्नेमा गर्व गर्छन्। सानो देश नेपाल, कति चिरामा विभाजित हुने?
यस किसिमको मनोविज्ञान नेपाली समाजमा व्याप्त रहेसम्म देशको आर्थिक विकास मृगतृष्णा मात्र हुनेछ। रोजगारका लागि नेपालीहरू घरबार छाडेर विदेश जानुपर्ने सिलसिला कहिले टुटने छैन।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, January 27, 2017