Wikipedia

Search results

Friday, October 18, 2013

Tragic tales of human trafficking-Article 107

मानव तस्करीका दु:खद कथाहरु

मानव तस्करी हुनुका विभिन्न कारणहरु छन। प्रमुख कारण भने श्रम र यौन शोषण रहेको व्यवहारबाट देखिएको छ। कम ज्यालामा, कष्टकर वा जोखिमपूर्ण काममा लगाउन मानव तस्करहरुले विभिन्न गरिब राष्ट्रहरुबाट अति नै दुखदायी एवं खतरनाक मार्गहरु प्रयोग गरेर, गैर कानूनी रुपमा अनेक राष्ट्रहरुमा, खास गरी युवा युवतीहरुलाई पुर्याइ रहेका छन। यसै गरी देह व्यापारमा संलग्न गराउन वा यौन शोषणका लगि पनि युवतीहरुलाई ती तस्करहरुले अनेक प्रलोभन दिएर गैर कानूनी रुपमा विदेश पुर्याइ रहेका छन्। मानव तस्करी भने प्रमुख रुपमा विकासशील वा निर्धन राष्ट्रहरुमा देखिएको छ र यसले गंभिर रुप लिन थालेको छ पनि। निर्धन राष्ट्रका नागरिकहरु देशमा व्याप्त गरिबी, औसरको अभाव, बेरोजगारी, अस्थिरता, गृह युद्ध, जातीय द्वन्द, चरम निरासा आदि जस्ता समस्याहरुबाट मुक्ति पाउन एवं भविष्य सुखद हुने अभिलाषामा देशको सिमाना काटि रहेका छन, तर ज्यादै ठूलो जोखिम लिएर। गैर कानूनी रुपमा अन्य राष्ट्रहरुमा प्रवेश गर्दा कुन स्तर सम्मको जोखिम उठाउनु पर्दछ भन्ने ज्ञान उनीहरुमा रहेको पाइएको छैन, आधिकारिक कागज बिनालाखौंको संख्यामा उनीहरु प्रवासमा हिंडेको देख्दा। गैर कानूनी रुपमा विदेशको यात्रा गर्दा, जेल नेल झेल्नु पर्ने, डरलाग्दा दूर्घटनाहरु हुन सक्ने एवं गुमनाम मृत्यु नै पनि वरण गर्नु पर्ने जस्ता पक्षहरुको बारेमा   अग्रिम जानकारी पाए धेरै व्यक्तिहरु त्यस किसिमका जोखिमहरु लिएर कामको खोजीमा विदेशिने थिएनन् होला। तर पर्याप्त सत्य सूचना एवं जानकारीहरुको अभाव, केवल मानव तस्करहरुले दिएका झूठा तथा काल्पनिक जानकारीहरु, वैदेशिक रोजगारीबाट राम्रो लाभ प्राप्त हुन्छ भन्ने भ्रम आदि जस्ता कारणहरुले गर्दा एशिया, अफ्रिका तथा पूर्वी यूरोपका लाखौ लाख नागरिकहरु विकसित मुलुकतिर प्रस्थान गरि रहेका छन। गैर कानूनी मानव ओसार पसार समस्या समाधानका लागि के कस्ता तरिकाहरु अपनाउन सकिन्छ भनी गरिब राष्ट्रका सरकारहरुले समयमै नसोंच्ने हो भने प्रत्येक वर्ष हजारौं हजार निर्दोष नागरिकहरुले सीमा पार गर्दा ज्यान गुमानु पर्ने सिलसिला नरोकिने देखिन्छ।
अहिले भने गृह युद्ध, अनेक किसिमका  जातीय, धार्मिक द्वन्दहरु, जिवन असुरक्षा, राजनैतिक प्रतिसोध जस्ता कारणहरुले गर्दा गरिब मुलुकहरुबाट ठूलो संख्यामा व्यक्तिहरु विकसित वा स्थिर राजनीति भएका राष्ट्रहरुमा गैर कानूनी रुपमा प्रवेश गरि रहेका छन। गैर कानूनी रुपमा त्यसरी प्रवेश गर्नु उनीहरुको स्वेच्छा नभएर बाध्यता हुन पुगेको छ। त्यसरी प्रवेश गर्दा भने ज्यादै ठूलो दूर्घटनाको सिकार भइ रहेका छन, ज्यान नै पनि गुमाई रहेका छन्, मानव तस्करीका सिकार हुने निर्दोष प्रवासी (Migrants) हरु ।
सयौं प्रवासीहरु बोकेर इटली तर्फ ज्यादै गरेको एउटा पानी जहाज (डुंगा) दुई हप्ता पहिले ( October 3, 2013) त्यस्तै किसिमको एक डरलाग्दो समुन्द्री दुर्घटनाको सिकार हुन पुगेको थियो। केवल ६६ फिट लामो उक्त सानो डुंगाले करिब पाँच सय जति अफ्रिकी प्रवासीहरु बोकेको थियो। आगलागी भएर त्यो डुंगा पानीमा डुब्दा करिब ३०० जनाको ज्यान गएको अनुमान गरिएको थियो। यूरोपका विभिन्न मुलुकहरुमा प्रवेश गर्न लिबियाको मिस्राता बन्दरगाहबाट इटली तर्फ हिंडेको सो डुंगा इटलीको सिस्ली नजिक रहेको लाम्पेडुसा टापु नजिक दुर्घटना भएको थियो। पानीमा डुबेको त्यो डुंगामा बढी मात्रामा एरिट्रिया र सोमालियाका नागरिकहरु चढेका थिए, जसले विदेशमा सुरक्षा र रोजगारी पाउने आशमा त्यस्तो डर लाग्दो यात्रा गर्ने जोखिम लिएका थिए। समाचारहरुमा उल्लेख भए अनुसार लाम्पेडुसा नजिक पुग्दा सो डुंगाको इन्जिनले काम गर्न छाड्यो। डुंगामा बसेका यात्रुहरु सँग कुनै किसिमको संचार उपकरण वा मोबाइल फोन थिएन। आत्तिएर, उनीहरुले सहयोगका लागि पर रहेका मानिसहरुलाई संकेत गर्न कुनै कपडामा आगो बालेर  देखाउन खोज्दा त्यो आगो चारैतिर फैलिन पुगेको थियो।
माथि उल्लेख गरिए झै वा अन्य किसिमका जोखिमहरु लिएर अहिले, गरिब राष्ट्रका नागरिकहरु, खास गरी गृह कलहबाट मुक्ति पाउन, ज्यान जोगाउन, सुरक्षित स्थानको खोजीमा ठूलो संख्यामा विदेश पलायन भइ रहेका छन। विदेश यात्राको क्रममा हजारौंले ज्यान समेत गुमाइ रहेका छन। गैर कानूनी रुपमा यूरोपेली राष्ट्रहरुमा प्रवेश गर्ने क्रममा, सन १९८८ देखि हाल सम्ममा १९,१४२ जनाले ज्यान गुमाइ सकेका छन। सन् २०११ मा मात्र यूरोपको सिमामा प्रवेश गर्न खोज्नेहरु मध्ये २,३५२ जनाले ज्यान गुमाएका थिए। गएको दश वर्षमा, सिस्लीमा मात्रै त्यहाँ पुग्न खोज्नेहरु मध्ये ६,७०७ ले ज्यान गुमाएका छन्। यूरोपका विभिन्न मुलुकहरुमा पुग्न मुख्य गरी सोमालिया, एरिट्रिया, सिरिया जस्ता अशान्त राष्ट्रका नागरिकहरु इटली पुगि रहेक छन, र इटली यूरोपका विभिन्न मुलुकहरुमा पुग्ने नाकाको रुपमा प्रयोग भइ रहेको छ। सन् २०१३ को सेप्टेम्बरसम्ममा समुन्द्री मार्ग भएर ३०,१०० प्रवासीहरु इटालीको भूमिमा प्रवेश गरेका थिए। सन् २०११ मा, सुरक्षा एवं कामको खोजीमा व्यक्तिहरु इटालीको बाटो भएर  जर्मनी ५ लाख ७१ हजार, फ्रान्स २ लाख १० हजार, बेलायत १ लाख ९४ हजार, स्विडेन ८७ हजार र निदरलैण्ड्स ७५ हजार पुगेका थिए। अर्कोतिर, यूरोपलाई पहिले देखि नै बेरोजगारी समस्याले पिरोल्दै आएको छ र अहिले त्यो समस्या दुखद मोडमा पुगेको छ। यूरोपियन यूनियनमा अहिले लगभग २ करोड ६० लाख व्यक्तिहरु बेरोजगार छन। यूरोपलाई अहिले, आफूले कुनै कालमा पाप्त गरेको समृद्धि कायम गर्न समेत धौ धौ परि रहेको छ। ग्रिस, पोर्चुगल आदिमा बेरोजगारी गंभिर समस्याको रुपमा प्रस्तुत भएको छ। यस्तो अवस्था रहेको परिप्रेक्ष्यमा प्रवासी कामदारहरुलाई कसरी काम दिने भनी यूरोपेली नेताहरु चिंतित भएका छन्। प्रवासी समस्या यूरोपका लागि अहिले अर्को टाउको दुखाइ हुन पुगेको छ।
नेपालमा पनि नागरिकहरु विदेश पलायन हुने समस्या गंभिर रुपमा देखिन थालेको छ। नेपालमा भने दुई किसिमबाट नागरिकहरु विदेशी भूमिमा प्रवेश गरि रहेका छन। प्रथम, व्यक्तिहरु स्वयंले, आफ्नै इच्छाले रोजगारीका लागि देश छाड्दै छन, र उनीहरु सँग विदेश प्रवेश गर्न पाउने कानूनी अनुमति पत्र पनि छ। स्वेच्छाले प्रवासमा जाने व्यक्तिहरु मध्ये केही दलालहरुबाट ठगिएको सुनिएको छ पनि। दोस्रो, मानव तस्करहरुले युवा युवतीहरुलाई झुक्याएर विदेशी भूमिमा पुर्याइ रहेका छन। आफ्नै इच्छाले वा कसैद्वारा झुक्याइएर विदेश पुग्न खोज्ने नेपालीहरु मध्ये धेरैले मानव तस्करहरुबाट ठगिनु एव ज्यानको जोखिम समेत लिनु परेको छ, गैर कानूनी रुपमा विदेशी भूमिमा प्रवेश गर्दा।
प्रवासमा प्राय 3-D (Dirty, Difficult and Dangerous) काम गर्नु परेता पनि वैदेशिक रोजगारी नेपालीहरुका लागि  रहर पनि छ, अनि बाध्यता पनि। दुबै एकै साथ हुन पुगेको छ। रहर, यस अर्थमा कि धेरै जनालाई यो भ्रम छ कि विदेशमा सजिलै गरी काम पाउन र कमाउन सकिन्छ। त्यसकारण नेपालमै पनि काम पाउने अवसर भएता पनि त्यसलाई छाडेर विदेशतिर लाग्छन, त्यस किसिमका सोंचाई राख्नेहरु, रहरमा परेर। बाध्यता, यस अर्थमा कि कुनै व्यापार वा व्यवसाय गर्न आफूसँग पूँजी नभएका एवं भनसुनबाट कतै कुनै जागिर पाउने स्थिति नरहेकाहरु विदेशीदैं छन्, बाध्यताले गर्दा। २०६२-६३ को जन आन्दोलन पछि, गएको सात वर्षमा, करिब २४ लाख नेपालीहरुले स्वदेश छाडेका छन्, रोजगारीका लागि। यसै गरी, गत वर्ष पनि करिब ४ लाख ५० हजार नेपालीहरुले स्वदेश छाडे, सोही उद्देश्यले। यी संख्याहरुमा, रोजगारीका लागि भारत तर्फ जानेहरुलाई पनि जोड्ने हो भने रोजगारीका लागि विदेश लाग्ने नेपालीहरुको संख्या झन् उच्च हुन पुग्छ। प्रत्येक वर्ष करिब ४ लाख व्यक्तिहरु श्रम बजारमा प्रवेश गर्छन्, अर्को तिर नेपाल सरकार सँग रोजगारी अभिवृद्धि गर्ने योजना त टाढा को कुरा हो, रोजगारी बढाउने इच्छा शक्ति पनि छैन। स्थिति यस्तै रहने हो भने अबको दस वर्ष पछि लगभग एक करोड नेपालीहरु रोजगारीका लागि विदेशिने अनुमान गर्न थालिएको छ।
नेपालीहरु अहिले ज्यानको जोखिम लिएर समेत, गैरकानूनी बाटो प्रयोग गर्दै रोजगारीका लागि विदेशी भूमिमा पस्दै छन्। हालै मात्र, समाचारहरुमा उल्लेख भए अनुसार, दक्षिण अमेरिकी मुलुक कोस्टा रिकामा आठ नेपालीहरु गिरफ्तार भएका थिए, अनि दुई महिनादेखि त्यहाँको जेलमा थिए। गत जुलाई महिनाको २० तारिखमा कोस्टा रिकाका दलालहरुले ती नेपालीहरुलाई सं रा अमेरिका पुर्याउन गैर कानूनी रुपमा कोस्टा रिकाको सिमा पार गराउँदा ती स्थानीय दलालहरु सहित नेपालीहरु पक्राउ परेका थिए। प्रहरीले उनीहरुलाई समात्ने क्रममा उनीहरु सबार गाडी माथि गोली समेत प्रहार गरेको थियो।
मानव तस्करहरुले विभिन्न मुलुकहरुबाट व्यक्तिहरुलाई सं रा अमेरिका पुर्याउँदा करिब नौ, दश बटा अन्य मुलुकुहरुको समेत गैर कानूनी यात्रा गराउँछन। र अन्त्यमा मेक्सिको आए पछि, मेक्सिको अमेरिकासँग जोडिएको हुनाले, त्यहाँबाट गैर कानूनी रुपमा अमेरिका प्रवेश गराउँछन। यसरी गरिने जोखिमपूर्ण यात्रामा दक्षिण अमेरिकाका कोस्टा रिका, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पनामा, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको आदि राष्ट्हरु बाटोमा पर्दछन। जोखिमपूर्ण यात्रा तय गर्दा कतिपय व्यक्तिहरु बाटोमा अलपत्र पनि पर्ने गर्छन। गाडिमा लुकाएर लग्दा निस्सासिएर वा अन्य दुर्घटनामा परेर धेरैको ज्यान पनि जान सक्छ। 
नेपालमा अहिले अशान्ति नभएकोले सिरिया, सोमालिया अथवा एरिटर्रियाका नागरिकहरुले जस्तो ज्यान जोगाउन स्वदेश छाड्नु पर्ने बाध्यता भने छैन्। त्यसकारण नेपालीहरुले धेरै सोंच विचार गरेर, धेरै जानकारीहरु संकलन गरेर, संकलित जानकारीहरुको विश्लेषण गरेर मात्र  वैदेशिक रोजगारीमा जानु उपयुक्त हुने देखिन्छ।
रोजगारी त व्यक्तिहरुले स्वदेशमा नै पाउनु पर्ने हो, वाध्यतामा परेर विदेश जानु पर्ने स्थिति न हुनु पर्ने हो। कोही राम्रो काम पाएर, कानूनी प्रक्रिया पार गरि वैदेशिक रोजगारीमा जान्छ भने त्यो बेग्ले कुरा हो र त्यस्तो अवस्थामा विदेशिनु नराम्रो होइन पनि।
 व्यापारहरुको विस्तार गरेर, उद्योगधन्दाहरुको स्थापना गरेरे, स्वदेशमा नै रोजगारीका औसरहरु प्रशस्त मात्रामा श्रृजना गर्न स्थिर राजनीति र अशल नेतृत्व हुन आवश्यक छ। नेपालमा, राजनीति स्थिर हुन र मुलुकले अशल नेतृत्व पाउन योग्य र इमान्दार नेताहरुको चयन हुन आवश्यक छ। आशा छ, यो चुनावमा जनताले आफ्नो मताधिकारको सहि प्रयोग गर्दै, अशल नेताहरु निर्वाचित गरेर, मुलुकको आर्थिक विकासमा ठोस योगदान पुर्याउने आफ्नो महत्वपूर्ण जिम्मेवारी पूरा गर्ने छ। 


विश्वराज अधिकारी

(प्रतीकमा प्रकाशित मिति Friday, October 18, 2013)

Friday, October 4, 2013

Role of capable leadership in economic development-Article 106

आर्थिक विकासमा सक्षम नेतृत्वको भूमिका

नेतृत्व सक्षम छ भने त्यसले मुलुकको आर्थिक विकास प्रचुर मात्रामा गर्ने मात्र होइन, देशको राजनीतिलाई स्थिरता समेत प्रदान गर्न सक्छ। राष्ट्रलाई विकासको पथमा दौडाउन सक्छ। नागरिकहरुलाई शान्ति र सुव्यवस्थाको प्रत्याभूति गराउन सक्छ । प्रतिस्पर्धामा आफ्नो राष्ट्रलाई अगाडि राख्नुको साथै त्यो स्थानलाई दीर्घकालसम्म सुरक्षित पार्न सक्छ। तर नेतृत्व सक्षम छैन भने त्यसले आर्थिक समपन्नता हासिल गर्नुको साटो राष्ट्र र जनताले प्राप्त गरेको जे जति आर्थिक उपलब्धिहरु छन् तिनलाई पनि कायम राख्न सक्तैन, छोटो अवधिमा नै देशको अर्थ व्यवस्थालाई जरजर पार्न सक्छ। यो तथ्यको पुष्टि भने अहिले इरानमा हुन थालेको छ। इरानमा, हालै नेतृत्व परिवर्तन भएको छ। परिवर्तित नेतृत्वले मुलुकलाई आर्थिक विकासको पथमा दौडाउने प्रयास गरेको अनुमान गर्न थालिएको छ। एक्लिएर बसेको इरानलाई विश्व अर्थ व्यवस्थामा बलियो गरी आवद्ध गर्ने प्रयास गर्दैछ। नया नेतृत्वले आफ्नो त्यो प्रयासलाई मूर्तरुप दिन केही उल्लेख्य कार्यहरु गरेको देखिएको छ  पनि।
वर्तमान राष्ट्रपति हसन रोहानी जुन १५, २०१३ मा इरानको सातौ राष्ट्रपतिको रुपमा निर्वाचित भएका हुन। मध्यमार्गी एवं सुधारवादीका रुपमा चिनिएका रोहानीले राष्ट्रपतिय निर्वाचन ताका नै आफूले मध्य मार्ग रोज्ने र मुलुकको आर्थिक विकासमा बढी जोड दिने उल्लेख गरेका थिए। आफू विजयी भएमा “सिभिल राइट्स चार्टर” बनाउने तथा मुलुकको आर्थिक विकासमा जोड दिनुका साथै पश्चिमका राष्ट्रहरुसँग चिसिएको सम्वन्ध लाई न्यानो तुल्याउने भनी चुनावका बेला नै उल्लेख गरेका थिए। देशको अर्थ व्यवस्थामा सुधार ल्यान उनले पश्चिमका राष्ट्रहरु र खास गरी सं रा अमेरिकासँगको सम्बन्धलाई राम्रो पार्न पहल गरेका छन पनि। गत महिना (October ,2013), संयुक्त राष्ट्रसंघ साधारण सभा (UN General Assembly) को वार्षिक मिटिंगमा भाग लिन न्युयोर्क आएको बेला उनले आफ्नो भाषणमा वार्ताद्वारा समस्याहरु समाधान गर्न सकिन्छ भनी महासभालाई भनेका थिए। इरान अहिले आफ्नो न्युक्लियर कार्यक्रम, जुन यूरोपियन यूनियन, संयुक्त राष्ट्र संघ र सं रा अमेरिका सँगको सम्बन्ध चिसो पार्ने प्रमुख कारण बनेको छ, लाई वार्ताद्वारा समाधान गरेर आर्थिक विकासका अन्य महत्वपूर्ण विषयहरुमा केन्द्रित हुन खोजि रहेको छ। आर्थिक विषयहरुलाई बढी जोड दिइ रहेको छ। इरानमाथि पश्चिमका राष्ट्रहरुले न्युक्लियर हतियार निर्माण गरेको संका गर्दै आएका छन। त्यसै कारण इरानले विभिन्न किसिमका आर्थिक प्रतिवन्धहरुको सामना समेत गर्नु परेको छ। र ती प्रतिबन्धहरुको कारणले गर्दा इरानको आर्थिक विकासको गति सुस्त हुन पुगेको छ। यूरोपियन यूनियनले इरानबाट तेल आयात नगर्ने अर्थात आयात प्रतिबन्ध लागु गरेको छ। यो प्रतिबन्ध जुलाई २०१२ देखि प्रभावमा आएको हो। युरोपियन यूनियनले इरानको कुल तेल निर्यात मध्ये २० प्रतिशत जति खरिद (आयात) गर्दछ। इरानले वार्ताद्वारा समस्याहरु समाधान हुने र उसले खेप्दै आएको एक पक्षीय, दुई पक्षीय र वहुपक्षीय प्रतिबन्धहरु (Sanctions) उठाइने आशा व्यक्त गरेको छ।
पश्चिमका राष्ट्रहरुसँगको सम्बन्ध सुधारका लागि इरानले व्यवहारद्वारा पहल गरेको प्रतीत भएको छ पनि। हालै सं रा अमेरिका र इरान बीच, छ वर्ष पछि, न्युयोर्कमा उच्च स्तरीय प्रत्यक्ष भेटघाट एवं कुराकानी भएको छ। त्यो भेटवार्ता सं रा अमेरिकाका सेक्रेटरी अफ स्टेट जोह्न केरी र इरानका विदेश मंत्री मोहम्मद जावेद जरिफ बीच भएको थियो।
यसै बीच, केही समय पहिले, अमेरिकी राष्ट्रपति बाराक ओबामा र इरानी राष्ट्रपति हसन रोहानी बीच न्युयोर्कमा, फोनमा संक्षिप्त कुराकानी भएको खबर पनि प्रकाशमा आएको छ। अमेरिका र इरान बीच यति उच्च स्तरीय कुराकानी ३० वर्षमा पहिलो पटक भएको हो। १५ मिनटसम्म चलेको सो कुराकानी मुख्य गरी इरानको न्युक्लियर कार्यक्रममा नै केन्द्रित रहेको समाचारहरुमा जनाइएको छ।   
पूर्व राष्ट्रपति महमुद अहमदिनेजाद, जो सन् २००५ देखि २०१३ सम्म इरानाका राष्ट्रपति रहेका थिए, को पालमा भने इरानको पश्चिमका राष्ट्रहरु सँगको सम्बन्ध चिसो हुन पुगेको थियो। उनले चिसो भएको सम्बन्धलाई न्यानो पार्ने ठोस प्रयासहरु गरेनन। इरानी जनताको मन जित्न केवल राष्ट्रवादी नारा चर्काउनमा जोड दिए, मुलुकको आर्थिक विकासमा पर्याप्त ध्यान पुर्याउन सकेनन्। तर अहिलेको यो ‘ब्यापर युग’ मा जति महत्व राष्ट्रवादी नाराले राख्छ त्यतिकै मह्तव मुलुकको आर्थिक विकासले पनि राख्दछ। यो तथ्यलाई वर्तमान राष्ट्रपति हसन रोहानीले राम्रो गरि बुझेका छन जस्तो लाग्छ। न्युक्लियर मुद्दाको व्यवस्थापन प्रभावकारी किसिमले गरेर तर बढी मात्रामा आर्थिक मुद्दाहरुमा केन्दित हुन खोजि रहेक छन। र मुलुकको अर्थ व्यवस्थामा सुधार ल्याउन विकसित देशहरु सँगको सम्बन्धलाई सुमधुर पार्ने प्रयास गरि रहेका छन। राष्ट्रपति रोहानीका कदमहरु साँच्चिकै सुधारका दिशा तर्फ अग्रसर हुन वा होइन भन्ने कुरा भोलिका दिनहरुले देखाउने छन तर उनका कुराकानी र व्यवहारले उनी मुलुकको आर्थिक विकासका लागि प्रयासरत र चिंतित समेत रहेको भने अवश्य देखिन्छ।
इरानको परिवर्तित नेतृत्वले मुलुकको आर्थिक विकासमा जोड दिइ रहेको छ भन्ने सन्दर्भलाई नेपालको राजनीति सँग जोडेर हेरौं। नेपालको राजनीतिले पनि नयाँ नेतृत्व खोजि रहेको छ। पुराना नेताहरु, जो उही व्यक्तिहरु हुन, उनीहरुको कार्यशैली पनि उही छ, अडान पनि फेरिएको छैन, उही पुरानो विचारधारा बोकेका छन्, दाउपेंचयुक्तको मनोविज्ञानबाट बाहिर आउन सकेका छेनन्, आगामी चुनावमा भाग लिएर, विजयी भएर, फेरि मुलुकको नेतृत्व गर्न खोजि रहेका छन, मुलुक हाँक्नका लागि नया नेतृत्वलाई औसर दिने पक्षमा देकिएका छैनन्। जबकी उनीहरु नेतृत्व दिन सक्षम छैनन् भन्ने कुरा संविधान सभा भंग हुनु र नया संविधान नबन्नुले देखाइ सकेको छ। उनीहरुको क्षमताको परिचय दिइ सकेको छ। अहिलेको, यो समय विन्दुमा, नेपाली राजनीतिले नया एवं कुशल नेतृत्वको खोजि गरि रहेको छ।
नेपाली राजनीतिलाई नयाँ विचार, नया उर्जा, इमान्दार, समन्वयकारी भूमिका खेल्ने, मेल मिलाप कायम गराउन सक्ने जस्ता विषेशताहरुले युक्त नेतृत्वको खाँचो छ। यो यथार्थलाई नेपाली मतदाताहरुले गंभिरताका साथ लिनु पर्ने देखिन्छ, अहिलेको यो बेथिति समाप्त पार्न। नया नेतृत्वलाई केही गरेर देखाउने औसर दिन पनि उत्तिकै आवश्यक छ। नया नेतृत्वले दिन प्रति दिन खस्किंदो अवस्थामा हरेको नेपालको आर्थिक अवस्थामा सुधार ल्याउन सक्छ। मुलुकमा रहेको दण्डहीनता समाप्त पार्न सक्छ। रोजगारीका लागि विदेश पुगेर जोखिमपूर्ण जिवन बिताउनु पर्ने वाध्यता हटाउन सक्छ। नया पीढीले त्यो क्षमता राख्न सक्छ पनि।  
यो सबै सेरोफेरोमा, नेपालको राजनीतिमा सकारात्मक परिवर्तन ल्याउन, मुलुकलाई आर्थिक विकासको पथमा दौडाउन मतदाताहरुले नया नेतृत्वलाई औसर दिनु पर्ने देखिन्छ, नेपालको राजनीतिको नेतृत्व गर्न। तर नेतृत्व गर्ने व्यक्ति इमान्दार हुनु पर्ने तथ्य पनि बिर्सन मिल्दैन। नेतृत्व जति सुकै कुसल भएता पनि यदि उसमा इमान्दारी छैन भने त्यस्तो नेतृत्वले कुनै अर्थ राख्दैन।   

 बिश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, October 04, 2013