Wikipedia

Search results

Sunday, May 22, 2022

Importance of Product Life Cycle in Marketing-Article-375

 बजारशास्त्रमा वस्तु जीवन–चक्रको महत्

जसरी मानिसको जीवन–चक्र हुन्छ त्यसैगरी वस्तुको पनि जीवन–चक्र हुन्छ। मानिसको जीवन चक्रमा चार अवस्था– जन्म, युवा, प्रौढ र मृत्यु भएझैं वस्तुको जीवन चक्रमा पनि परिचय, विकास, उत्कर्ष र अन्त्य गरी चार अवस्था पाइन्छ।

मानिस र वस्तुको जीवन चक्रमा एउटा मात्र के महत्वपूर्ण भिन्नता वा विशेषता छ भने वस्तुको जीवन चक्रमा वस्तुहरूको आयु अत्यधिक लामो हुन्छ र साथै केही वस्तुहरूले अमरत्व प्राप्त गरेको हुन्छ। जस्तै थाल, गिलास, कचौरा, खाट, तकिया आदि। यी ती वस्तु हुन् जुन निर्माण गर्दा प्रयोग हुने कच्चा पदार्थ फरक–फरक हुन सक्छ तर यी वस्तु मानव सभ्यता रहेसम्म बाँचिरहन्छन्, मर्दैनन्। हिंजो अस्ति माटाका गिलास हुन्थे, आजभोलि शीशा र प्लास्टिकका गिलास प्रयोगमा रहेको पाइन्छ। तर केही यस्ता वस्तु छन् जुन समयको कुनै कालखण्डमा थिए तर अहिले छैनन्। ती वस्तुहरू परिचय, विकास, उत्कर्ष अवस्थामा पुगेर बजारबाट लुप्त (अन्त्य) भएका छन्। जस्तै हातले चलाउने टाइपराइटर, फलाम वा रबरका अक्षरहरू प्रयोग गरेर छाप्ने प्रेस व्यवस्था, मसी हालेर प्रयोग गरिने कलम, दम दिएर चल्ने घडी, रिल प्रयोग गरेर फोटो खिच्ने क्यामरा आदि यस्ता वस्तु हुन् जो आफ्नो जीवनको उत्कर्ष कालमा पुगेर बजारबाट सदाका लागि बिदा भएका छन्। मृत्युवरण गरेका छन्।

यस आलेखमा वस्तुको जीवन–चक्रको चर्चा विशेष किसिमले किन गर्न खोजिएको छ भने वस्तुको जीवन चक्र र नयाँ वस्तुको विकाससँग रोजगार एवं गरीबीको सम्बन्ध छ। वस्तुको जीवन चक्रले गर्दा वा मृत अवस्थामा पुगेको वस्तुको ठाउँमा अर्को नयाँ वस्तु विकास गरिने र गर्नुपर्ने भएकोले बजारमा निरन्तर नयाँनयाँ वस्तुको विकास भइरहेको हुन्छ। विकास भएका नयाँनयाँ वस्तुहरूको माग बढ्ने एकातिर छ भने ती वस्तुहरू उत्पादन गर्दा मानिसले रोजगार पाउने अर्कोतिर भएकोले नयाँ वस्तुको विकासले रोजगारसँग गहिरो सम्बन्ध राख्दछ। अर्कोतिर रोजगारको प्रत्यक्ष सम्बन्ध गरीबीसँग हुने गर्दछ। नयाँ वस्तुको विकासले हुनेखाने (राम्रो खर्च योग्य आम्दानी हुने) हरूको पैसा गरीबहरूको हातमा पुर्याउने गर्दछ। तुलनात्मकरूपमा हुनेखानेहरूले नयाँ वस्तुमा बढी खर्च गर्छन्। उदाहरणको रूपमा नेपालको सन्दर्भमा कुरा गर्ने हो भने नयाँ वस्तु (स्मार्टफोन) को अधिक माग छ। आम्दानी राम्रो हुनेले स्मार्ट फोनमा निकै धेरै पैसा खर्च गरेको पाइन्छ । नेपालमा स्मार्ट फोनको उत्पादन नहुने अर्को पाटो हो। जबकि नेपालमा स्मार्ट फोनका पूर्जाहरू चीनबाट आयात गरेर पनि उत्पादन गरेर, रोजगारका अनेक अवसर सृजना गर्न सकिन्छ।

सर्वाधिक नयाँ तथा भएकै वस्तुमा थप विशेषता समावेश गरेर नयाँ पार्ने कार्य दुई किसिमबाट गरिएको पाइन्छ।

ग्राहकको आवश्यकता र चाहना ज्ञात गरेर सो अनुरूप नयाँ वस्तुको विकास गरिन्छ। यो पहिलो किसिमको नयाँ वस्तु विकास गर्ने तरीका हो। यस तरीका अन्तर्गत उपभोक्ताको आवश्यकतालाई वस्तुमा परिवर्तन गर्ने कार्य गरिन्छ। र यो कार्य निरन्तर चलिरहन्छ। विकसित वा धनी बजारहरू (अमेरिका, युरोप आदि) मा उपभोक्ताहरूको आवश्यकता वस्तुमा रूपान्तरित हुन लामो समय लाग्दैन। छिटै हुन्छ। उदाहरणको लागि उपभोक्ताहरूले मोबाइल फोन वा सेलफोनको कभरको आवश्यकता अनुभव गरे, उत्पादकहरूले तत्काल उत्पादन गरेर बजारमा ल्याए। उपभोक्ताहरूको आवश्यकता शीघ्र वस्तुमा परिवर्तन भयो। नयाँ आवश्यकताले नयाँ वस्तुको आकार पायो।

उपभोक्ताहरूले आवश्यकता अनुभव नगरेको वा बजारमा माग नभएको वस्तुको पनि विकास गरिन्छ। यस्तो किसिमको तरीकालाई वस्तु विकासको दोस्रो तरीका भन्ने गरिन्छ। यो मुख्यगरी, उद्देश्यसहित, व्यापारीहरूले अधिक मुनाफा प्राप्त गर्नका लागि गर्दछन्। अर्थात् नयाँ किसिमको वस्तु उत्पादन गरेर छोटो समयामा बढी मुनाफा प्राप्त गर्न व्यापारीहरूले दोस्रो किसिमले नयाँ वस्तुको विकास गर्छन्। स्मार्ट वाच, आइपैड, स्मार्ट टिभी, अलेक्सा एप आदि उपभोक्ताहरूले माग नगरेको तर व्यापारीहरूले आफ्नो मुनाफा वृद्धिका लागि विकास गरेका नयाँ वस्तु हुन्। यस किसिमबाट उत्पादन गरिएका वा यस्ता वस्तुहरू निरन्तर उपयोग गरेर उपभोक्ताहरू यस्ता वस्तुको अम्मली हुन पुग्छन् र कालान्तरमा ती वस्तुहरू आफ्नो लागि आवश्यक रहेको निर्णयमा पुग्छन्। अनि निरन्तर खरीद गर्छन्।

वस्तु विकासको प्रसङ्गलाई यहाँ किन उल्लेख गर्न खोजिएको हो भने नेपालमा नयाँ वस्तुको विकास गर्ने परम्परा, तत्परता, वा सोच ज्यादै कम छ। नयाँनयाँ वस्तुहरूको विकास गरेर, बजारमा नयाँनयाँ रोजगार सृजना गरेर देशमा मौजुदा बेरोजगारी कम पार्न त सकिन्छ नै साथै गरीबी पनि कम पार्न सकिन्छ। र यो कार्य गरेर धनीहरूको हातमा रहेको पैसा गरीबहरूको हातमा पुर्याउन सकिन्छ।

हामी अहिले पनि परम्परागत बजार व्यवस्थापन अवधारणा लिएर बसेका छौं। बजार व्यवस्थापनमा, उपभोक्ताहरूको मनोविज्ञानमा, आफ्नो नयाँ सोच प्रयोग गर्न उत्साहित हुँदैनौं। विकसित वा धनी देशहरूले विकास गरिदिएका वस्तु बिक्री गर्नमैं व्यस्त छौं। आफैं सर्वाधिक नयाँ किसिमका वस्तु उत्पादन गर्न तत्पर हुँदैनौ। र थप मुनाफा गर्न अक्षम बन्छौं।

हामी पूर्णतया भारत र चीनमा उत्पादित वस्तुहरूमा आश्रित छौं। नयाँ नयाँ वस्तुहरू पनि प्रायः हामीले चीन र भारतबाट नै प्राप्त गर्छौं।

हामी आफैंले नयाँनयाँ वस्तुको विकास गर्न सकिरहेका छैनौं। र नयाँनयाँ वस्तुहरू विकास गरेर राम्रो आम्दानी गर्न सक्ने अवसर गुमाइरहेका छौं।

नयाँनयाँ वस्तु कसरी उत्पादन गर्न सकिन्छ त्यसबारे छोटो चर्चा गरौं–

आजभोलि तरकारी उत्पादनमा ठूलो मात्रामा स्वास्थ्यलाई क्षति पुर्याउने मलहरू प्रयोग गरिन्छ। प्राणघातक त्यस्ता मलहरूको कुअसर उपभोक्ताहरूको स्वास्थ्यमा कालान्तरमा देखिने हुनाले तीनले के कस्ता कुअसर गर्नेछन् भन्ने कुरा तत्काल देखिंदैन। उपभोक्ताहरूले त्यस्ता मल मिश्रित तरकारी खरीद गर्छन् किनभने अर्को वैकल्पिक तरकारी हामीसँग छैन। यो बजार स्थितिलाई अवसरको रूपमा लिन सकिन्छ। कुनै पनि किसिमको मल नमिसाएको स्वस्थकर, नयाँ किसिमको तरकारी (नयाँ वस्तु) उत्पादन गरेर, तीनलाई महँगोमा बिक्री गरेर हामी राम्रो आम्दानी गर्न सक्छौं।

हाम्रो देशमा नयाँ किसिमका वस्तुहरू उत्पादन गर्न सकिने अनेक सम्भावना छन्। माथि केवल एउटा उदाहरण प्रस्तुत गरिएको हो।

नयाँ वस्तु विकास गर्दा थप रोजगार सृजना गर्न सकिने र धनीहरूको पैसा गरीबहरूसम्म पुर्याउन सकिने हुनाले हामीले नयाँ वस्तुहरूको विकासमा थप सोच, श्रम पूँजी लगानी गर्न आवश्यक छ।

विश्वराज अधिकारी

akoutilya@gmail.com

Published in Prateekdaily on Friday, May 20, 2022

https://eprateekdaily.com/2022/05/19/34725/

Importance of Product Augmentation in Marketing-Article-374

 बजारशास्त्रमा बहुउपयोगीकरणको महत्व

बजारशास्त्रमा वस्तु वा सेवाको वहुउपयोगीकरण (Product augmentation) वा बहुउपयोगिताको अति महत्व छ। आफ्नो वस्तु वा सेवालाई बहुउपयोगी बनाएर वा आफ्नो वस्तु वा सेवामा बहु विशेषता समाविष्ट गरेर अथवा आफ्नो वस्तु वा सेवालाई अन्य उत्पादकभन्दा फरक बनाएर उत्पादकहरूले अधिक मुनाफा गर्न सकेका वा  बजारमा आफ्नो उपस्थितिलाई अर्थपूर्ण बनाउन सकेका देखिएको छ। जसले गर्दा त्यस्ता उत्पादक बजारमा चिरकालसम्म रहन सकेका देखिएको छ।

आधुनिक बजारशास्त्रमा वस्तु वा सेवा बहुउपयोगीकरण एउटा बजार रणनीति हो। यो रणनीतिले व्यवसायीहरूलाई व्यवसायमा सफल हुन निकै सहयोग गरेको पाइएको छ। छोटकरीमा भन्ने हो भने यो बजार रणनीति प्रयोग गरेर व्यवसायी एवं उत्पादकहरू प्रतिस्पर्धीहरूको भीडमा उनीहरूलाई पछाडि छाडेर अगाडि–अगाडि रहन सफल भएको देखिएको छ। अमेरिकी बजारमा एमेजन, एपल, वालमार्टजस्ता कम्पनीहरूले बहुउपयोगिता बजार रणनीति निकै उपयोग गरेको पाइन्छ। यी कम्पनीहरू बहुउपयोगीकरण गर्ने कम्पनीहरूको पङ्Íिमा अग्रस्थानमा रहेको पाइन्छ।

वस्तु वा सेवालाई कसरी बहुउपयोगी बनाउन सकिन्छ?

वस्तु वा सेवालाई कसरी बहुउपयोगी बनाउन सकिन्छ आउनुहोस् त्यसबारे चर्चा गरौं। कुनै एक रेस्टुराको कार्य आफ्नो स्थलमा आएका ग्राहकलाई केवल उनीहरूको माग अनुसार अनेक किसिमको खाना उपलब्ध गराउनु हो। सामान्य अर्थमा, विभिन्न किसिमका खाना आपूर्ति गरेर ग्राहकहरूलाई सन्तुष्टि दिनु हो। तर बहुउपयोगीकरण गर्ने रेस्टुराले केवल अनेक किसिमका खाना मात्र उपलब्ध गराउँदैनन् आफ्नो रेस्टुराबाट अन्य विभिन्न किसिमका वस्त एवं सेवाहरू पनि उपलब्ध गराउँछ। उदाहरणका लागि त्यो रेस्टुराले कुनै ग्राहकको (ग्राहक रेस्टुरामा आएको दिन) जन्मदिन परेको छ भने उक्त ग्राहकलाई आफ्नो रेस्टुराको नाम लेखिएको टिसर्ट निश्शुल्क दिन्छ जुन टिसर्टमा ‘तपाइ‘लाई जन्मदिनको हार्दिक शुभकामना’ लेखिएको हुन्छ। यसैगरी त्यो रेस्टुरामा कुनै ग्राहक आफ्ना परिवारका सदस्य एवं साथीहरू सहित जन्मदिन मनाउन आएको छ भने जन्मदिन हुने उक्त ग्राहकको लागि ‘हैपी बर्थ डे’ लेखिएको केक तयार पारेर सो ग्राहकलाई निश्शुल्क केक दिन सक्छ। यसैगरी त्यो ग्राहकले केक काटिरहेको समयमा आफ्ना कमर्चारीहरूलाई ‘ह्यापी बर्थडे गीत’ निश्शुल्क गाउन र सङ्गीत बजाउन भन्न सक्छ।

अर्को किसिमले बहुउपयोगिता सृजना गर्ने क्रममा त्यो रेस्टुराले आफ्नो घरबाट खाने कुरा माग गर्ने ग्राहकको घरमा नै खाने कुरा पु–याइदिन सक्छ। यदि रेस्टुरा भित्र नपसेर बाहिरबाट खाना लिन कुनै ग्राहक आएको छ भने उक्त ग्राहकलाई भवन बाहिरबाट पनि खान दिन सक्छ। 

यसैगरी त्यो रेस्टुरामा आउने अभिभावकहरूका नानीहरूलाई खेल्न विभिन्न किसिमका खेलौना निश्शुल्क दिन सक्छ। त्यो रेस्टुरा भित्र नै एउटा कोठालाई नानीहरू खेल्ने कोठाको रूपमा राख्न सक्छ। त्यो रेस्टुराले कुनै खास किसिमको बिरामी भएको (जस्तै मधुमेह) ग्राहकलाई उसको स्वास्थ्य आवश्यकता अनुसारको खाना उपलब्ध गराउन सक्छ।

अर्थात बहुउपयोगीकरण रणनीति अन्तर्गत उत्पादक एवं बिक्रेताले आफ्नो वस्तुमा रहेको मूल आवश्यकता पूर्ति हुने गुणसहित अनेक अन्य विभिन्न गुणहरू समाविष्ट गरेर ग्राहकलाई वस्तु एवं सेवा उपलब्ध गराउने कार्य गर्दछ। ग्राहकलाई केन्द्रमा राख्दछ।

बहुउपयोगीकरण किन आवश्यक छ?

बहुउपयोगीकरणले गर्दा वस्तु एवं सेवाको प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि हुन्छ भने उपभोक्ताहरूले एउटै वस्तु वा सेवाबाट अनेक थप सुविधा र सेवाहरू पाउँछन्। अहिलेको अति वैश्य युगमा उपभोक्ताहरूले पनि एउटै वस्तु वा सेवामा अनेक गुण हुनुपर्ने अपेक्षा होइन, माग नै गर्छन्। र आफूले उपयोग गरिरहेको वस्तु वा सेवामा बहुउपयोगिता छैन भने सजिलै अर्को उत्पादकको वस्तु वा सेवातिर लाग्छन्। अहिले यो अति प्रतिस्पर्धात्मक युगमा आफ्नो वस्तु वा सेवामा एउटा मात्र विशेषता (मूल विशेषता) समाविष्ट गरेर हुँदैन। त्यस्तो गर्ने बिक्रेता पछाडि पर्छ वा बजारबाट बाहिर पुग्छ।

दक्षिण एशियाका बजारहरूमा बहुउपयोगिताको स्थिति कस्तो छ?

दक्षिण एशियाका बजारहरू अहिले पनि परम्परागत बजार अवधारणा एवं अभ्यास अन्तर्गत चलेको पाइन्छ। दक्षिण एशियाका बजारहरूले उपभोक्ता एवं ग्राहकहरूलाई केन्द्रमा राखेर उनीहरूकै वरिपरि आफ्ना क्रियाकलाप सञ्चालन गरेको पाइँदैन। अर्थात् उपभोक्ताहरूले कस्तो वस्तु वा सेवाको माग गरिरहेका छन् त्यसबारे जानकारी, बजार अनुसन्धान गरेर त्यसै अनुरूप वस्तु वा सेवाको विकास गर्नुको साटो उत्पादकहरूलाई के उत्पादन गर्न मन लागेको छ सोही अनुसार वस्तु वा सेवा उत्पादन गरेको पाइन्छ।

दक्षिण एशियाका उत्पादक एवं बिक्रेताहरूले बहुउपयोगिता नीतिलाई बजार रणनीतिको रूपमा कमै प्रयोग गरेको पाइन्छ। भारतीय बजारहरूमा भने केही व्यापारीहरूले बहुउपयोगीता नीति प्रोयोगमा ल्याएको पाइन्छ। भारतीय व्यापारीहरूको अमेरिका र युरोपका बजारहरूसँग राम्रो सम्बन्ध भएको र त्यस सम्बन्धले बहुउपयोगिता नीतिबारे जान्न उनीहरूलाई सजिलो पारिदिएको हुन सक्छ।

नेपालका बजारहरूमा बहुउपयोगिताको स्थिति कस्तो छ?

नेपालमा बहुउपयोगिता नीतिलाई बजार रणनीतिको रूपमा प्रयोग गरिएको लगभग शून्य बराबर छ। नेपालमा व्यापारीहरू दीर्घकालसम्म बजारमा उपस्थित नरहने र लघुकालमा नै धेरै मुनाफा गरेर शीघ्र करोडपति बन्ने मनोविज्ञानबाट ग्रसित भएकाले बहुउपयोगिताले महत्व थाहा नपाएको हुन सक्छ। नेपाली बजारको एक प्रमुख विशेषता पनि छ। नेपाली बजारमा उत्पादक एवं बिक्रेताहरूले मुनाफालाई केन्द्रमा राख्छन् र मुनाफाको वरिपरि नै आफ्ना क्रियाकलाप सञ्चालित गर्छन्। ग्राहकहरूको हितलाई बेवास्ता गर्छन्। बजारमा उत्पादक एवं बिक्रेताहरूबीच आआफ्नो वस्तु एवं सेवा बिक्री गर्न तीव्र प्रतिस्पर्धा नभएकोले पनि उत्पादक एवं बिक्रेताहरू ग्राहक–केन्द्रित हुन नसकेका हुन्।

आधुनिक बजारशास्त्रको सिद्धान्त अनुसार उत्पादक एवं बिक्रेताहरूले ग्राहक एवं उपभोक्ताहरूको हित एवं सन्तुष्टिलाई केन्द्रमा र पहिलो प्राथमिकतामा राख्नुपर्छ। मुनाफालाई दोस्रो प्राथमिकतामा राख्नुपर्छ। ग्राहकहरू भए मात्र व्यापार चल्ने र ग्राहकको भूमिका गाडीलाई चलाउन पेट्रोलको मुख्य भूमिका भएझैं भएकोले ग्राहकलाई केन्द्रमा राक्नुपर्छ। ग्राहक एवं उपभोक्ताहरूलाई अत्यधिक सन्तुष्टि दिएर क्रमिकरूपमा र दीर्घकालमा अपेक्षित मुनाफा आर्जन गर्ने लक्ष्य उत्पादक एवं बिक्रेताहरूको हुनुपर्दछ। लघुकालमा नै करोडपति हुने लक्ष्य हुनुहुँदैन।

विश्वराज अधिकारी

akoutilya@gmail.com

Published in Prateekdaily on Friday, May 13, 2022

https://eprateekdaily.com/2022/05/12/34410/

Monday, May 9, 2022

Secrecy of Economic Development-Article-373

 अर्थशास्त्रका पेंचिला सिद्धान्त

अर्थशास्त्रका विभिन्न पेंचिला सिद्धान्तहरू हामीले अहिले पनि राम्ररी बुझ्न सकेका छैनौं। अर्थशास्त्रका अनेक पेंचिला सिद्धान्तहरू हामीले बुझ्न बाँकी छ। यी सिद्धान्तहरू राम्ररी बुझे मात्र हामी समृद्धिको दिशातर्फ अग्रसर हुन सक्छौं। यी पेंचिला कुराहरू बुझ्न नसके हामी अहिलेको अवस्थमा जस्तै लामो कालसम्म गरीबीको कुचक्रभित्र रुमलिइ रहने छौं।

नेपालको राजनीतिलाई जहिले पनि आफ्नो वरिपरि चक्कर काट्न लगाउने वामपन्थीहरूले पनि यी पेंचिला सिद्धान्त आफूले पनि राम्ररी बुझेका छैनन्। बाँकी मानिसलाई पनि उचित किसिमले बुझ्न दिएका छैनन्। वामपन्थीहरू यतिसम्म परम्परावादी छन् कि अर्थशास्त्रका परम्परागत धारणाबाट बाहिर आउन सकेका छैन र अहिले पनि सय वर्ष पहिले अर्थशास्त्रप्रति जुन धारणा थियो, उनीहरूले अहिले पनि त्यही धारणाले अर्थशास्त्रलाई हेरिरहेका छन्।

वामपन्थीहरूको अर्थशास्त्रप्रतिको केही परम्परागत धारणाको यहाँ सङ्क्षिप्त चर्चा गरौं–

पूँजीलाई वामपन्थीहरूले गरीबहरूलाई शोषण गर्ने एउटा औजार मान्दछन् र पूँजीपतिलाई समाजको वर्गीय शत्रु मानेर उनीहरूलाई दलालको संज्ञा दिन्छन्। पूँजीपतिलाई ज्यादै घृणा गर्छन्। वामपन्थी वा समाजवादीहरूको पूँजी एवं पूँजीपतिप्रति रहेको दृष्टिकोण पूर्णतया गलत हो। कसरी?

जमीन (प्राकृतिक स्रोत), श्रम, पूँजी र सङ्गठनलाई उत्पादनका चार प्रमुख तत्वको रूपमा लिइएको पाइन्छ। कुनै पनि किसिमको वस्तु वा सेवा उत्पादन गर्नका लागि उपरोक्त चार वा यीमध्ये केही अवश्य पनि उपयोग गर्नुपर्छ। अहिलेको आधुनिक अर्थ व्यवस्थमा पूँजीलाई उत्पादनको सर्वाधिक महत्वपूर्ण तत्व मान्ने गरिन्छ। हुनत श्रमलाई उत्पादनको सर्वाधिक महत्वपूर्णत्व मान्नेहरूको सङ्ख्या पनि ठूलै छ। केहीको भनाइमा पूँजीले बाँकी अन्य तीन तत्व– श्रम, भूमि र सङ्गठनलाई गतिशीलता प्रदान गर्छ। पर्याप्त पूँजीको अभावमा कुनै पनि देशको अर्थतन्त्र सुस्त हुन पुग्दछ।

पर्याप्त पूँजीको अभावमा ठूला–ठूला व्यापार स्थापना गर्न सकिंदैन। ठूला–ठूला उद्योग स्थापना गर्न सकिंदैन। ठूलो परिमाणमा वस्तु उत्पादन गर्न सकिंदैन। ठूलो परिमाणमा निर्यात पनि गर्न सकिंदैन। उपरोक्त कार्य ठूलो परिमाणमा गर्न नसकेमा देशभित्र रोजगारको पनि विस्तार गर्न सकिंदैन। बेरोजगारी बढेर जान्छ। नागरिकले रोजगार पाउन कठिन हुन्छ। नेपालमा पूँजीको कमी एवं भएको पूँजीले पनि स्वतन्त्रता एवं सुनिश्चिततापूर्वक काम गर्न नसकेको हुनाले रोजगार बढ्न सकेको छैन।

यो कारणले गर्दा ठूलो सङ्ख्यामा युवाहरू अहिले रोजगारका लागि खाडीका देशहरूमा पुग्नुपरेको छ। पूँजी र पूँजीपतिहरूप्रति वामपन्थीहरूको शत्रुतापूर्ण दृष्टिकोण भएको हुनाले पूँजीपतिहरूले नेपालमा सुनिश्चित भएर विभिन्न व्यवसायमा ठूलो परिमाणमा दीर्घकालीन रूपमा पूँजी लगानी गर्न सकेका छैनन्। भोलिका दिनमा वामपन्थी नेताहरूले के कस्ता नीति निर्माण गर्ने हुन्, ती नीतिहरूले हाम्रो लगानीलाई के कस्तो प्रतिकूल प्रभाव पार्ने हो जस्ता कुरा सोचेर व्यापारीहरू ठूलो परिमाणमा लगानी (ऋण लिएर भए पनि) गर्न हच्कन्छन्।

मुनाफा अर्थशास्त्रको महत्वपूर्ण पक्ष हो। अर्थशास्त्रको मुनाफा सिद्धान्तले भन्छ– कुनै पनि किसिमको व्यवसाय गर्नुको मुख्य उद्देश्य मुनाफा आर्जन गर्नु हो। अर्थात् मुनाफालाई केन्द्र मानेर नै व्यवसायका अनेक क्रियाकलापहरू त्यस वरिपरि चक्कर काट्ने गर्छन्। व्यवासीहरूले जति बढी मुनाफा प्रचलित नियम कानूनभित्र रहेर सामाजिक दायित्व निर्वाह गरी प्राप्त गरेको मुनाफा) गर्न सके सोही अनुसार उनीहरूको पूँजीको आकारमा वृद्धि हुन्छ। उनीहरूको पूँजीको आकारमा भएको वृद्धिले राज्यको पूँजीको आकारमा पनि वृद्धि ल्याउँछ। तर वामपन्तीहरूले व्यवसायी एवं व्यापारीहरूको मुनाफा गर्ने कार्यलाई घृणा गर्दै उनीहरूलाई मुनाफाखोरको संज्ञा दिन्छन्। अर्कोतिर व्यापारीहरूलाई उनीहरूले मुनाफाखोरको संज्ञा दिए तापनि चुनावको बेला तिनै व्यापारीको ढोका ढकढकाउन पुग्छन्। त्यति मात्र होइन, आफ्नो आर्थिक आवश्यकता पनि उनीहरूबाटै पूरा गर्छन्।

अर्थात् व्यापारीहरूबाट अनेक किसिमका चन्दा सहयोग आदिको बहाना बनाएर घूस लिन्छन्। मुनाफाप्रतिको त्रुटिपूर्ण वामपन्थी दृष्टिकोणले नेपालमा व्यापार विस्तार हुन सकेको छैन। प्रचलित कानूनको पालना गरेर एक व्यापारीले जति पनि मुनाफा गर्न पाउनुपर्छ।

वामपन्थीहरूको पश्चिमी जगत्लाई हेर्ने दृष्टिकोण पनि गलत छ। अमेरिका र युरोपका धनी राष्ट्रहरूलाई वामपन्थीहरूले साम्राज्यवादी एवं विस्तारवादी भन्दै ती राष्ट्रको कटु आलोचना गर्छन्। ती राष्ट्रसँग सम्बन्ध सुमधुर बनाउने प्रयास गर्दैनन्। अझ अमेरिकालाई त संसारभरिका वामपन्थीहरूले शत्रु नै ठान्छन्। अमेरिकासँग बलियो व्यापारिक सम्बन्ध कायम गरेर बढीभन्दा बढी आर्थिक फाइदा लिन सकिन्छ भन्ने तथ्य अस्वीकार गर्दै राम्रो व्यापारिक औसर गुमाउन सदा तत्पर रहन्छन्। अर्कोतिर अमेरिकाजस्तो बलियो अर्थ व्यवस्था भएको मुलुकसँग राम्रो सम्बन्ध कायम गरेर अनेक मुलुकले ठूलो फाइदा लिइरहेका छन्। उदाहरणका लागि विश्वमा नै उदाउन थालेको अर्थतन्त्रको संज्ञा पाएको बङ्गलादेशले ठूलो परिमाणमा सामानहरू अमेरिका निर्यात गर्छ। अमेरिका बङ्गलादेशको लागि एउटा भरपर्दो बजार हुन पुगेको छ। अमेरिका बङ्गलादेशको लागि राम्रो आम्दानी दिने तथा भरपर्दो बजार हुन सकेकोले यस देशले कपडा उद्योगले दक्षिण एशियामा नै चमत्कारी किसिमले विकास गरेको छ।

चीन, जसले बेलाबेलामा अमेरिकासँग सम्बन्ध अमिलो पार्छ, ठूलो परिमाणमा आफ्ना अनेक सामान अमेरिका निर्यात गर्छ। अमेरिका, आफूले अङ्गीकार गरेको सिद्धान्तभन्दा विपरीत राजनीतिक सिद्धान्त भएको मुलुक हो भन्ने यथार्थ चीनलाई राम्ररी बोध भए तापनि चीनले अमेरिकाबाट ठूलो व्यापारिक फाइदा लिइरहेको छ। हो यस्तै ‘स्मार्ट आइडिया’ को व्यावहारिक प्रयोग गरेर चीनले द्रुततर गतिमा आर्थिक विकास गरिरहेको छ। चीनलाई अमेरिकाको राजनीतिक सिद्धान्तसँग सरोकार छैन, सरोकार छ भने अमेरिकासँग व्यापार गर्दा कति बढी मुनाफा प्राप्त गर्न सकिन्छ भन्ने विषयसँग छ।

 

अहिलेको यो अति वैश्य युगमा दुई देश बीचको व्यापारमा राजनीतिक सिद्धान्त होइन आर्थिक फाइदा हेर्ने गरिन्छ। तर नेपालका वामपन्थीहरूलाई देशको आर्थिक विकास होइन, केवल राजनीतिक सिद्धान्तप्रति चासो छ।

एक अर्को फरक प्रसङ्गमा, अमेरिकामा अहिले करीब तीन लाख नेपालीले अस्थायी एवं स्थायी बसोवास गरिरहेको अनुमान गरिएको छ। अमेरिकामा बस्ने नेपालीहरूले निकै ठूलो परिमाणमा स्वदेशतर्फ रेमिट्यान्स पठाइरहेका छन्। अर्को किसिमले भन्ने हो भने अमेरिकाले अहिले लाखौं नेपालीहरूलाई राम्रो आय हुने रोजगार दिएको छ। तर नेपालका वामपन्थीहरूले अमेरिकालाई विस्तारवादी भन्दै अमेरिकालाई शत्रुको रूपमा देख्छन् । अमेरिकाले नेपालमा सेना पठाउँदै छ भनेर आफ्नो फाइदाका लगि भ्रमको खेती गर्छन्।

नेपालको अर्थ व्यवस्थमा खासै महत्वपूर्ण योगदान नपुर्याएको चीन र विशेषगरी रूसलाई नेपालका वामपन्थीहरूले आफ्नो घनिष्ठ मित्र (राष्ट्र) ठान्छन् र तिनको हरेक कार्यको समर्थन गर्छन्। युक्रेनमा रूसले आक्रमण गर्नुलाई उचित ठान्छन् र अमेरिकाले युक्रेनलाई रूसविरुद्ध उक्स्याएको भनी प्रचार गर्छन्। तर यो कार्य गरेर नेपालीलाई के आर्थिक फाइदा वा क्षति हुन्छ त्यसतर्फ विचार भने गर्दैनन्।

ठूलो सङ्ख्यामा नेपालीहरूको अमेरिकामा बसोवास छ। भोलिका दिनमा युक्रेनमा हुने रूसी आक्रमणले निरन्तरता पाएमा र त्यो कारणले अमेरिकामा मूल्य वृद्धि भएमा, नेपालीहरूले अमेरिकाबाट स्वदेश पठाउने रेमिट्यान्समा पनि कमी आउन सक्छ। यस्तो पेंचिलो कुरा नेपालका वामपन्थीहरूले किन नबुझेको होला? युक्रेन युद्धको प्रभावले गर्दा अमेरिकामा अहिले ४० वर्ष यता १० देखि १५ प्रतिशतले मूल्य वृद्धि भएको छ। अमेरिका विश्वको नै ‘पावर हाउस’ भएकोले उसलाई पर्ने असरले विश्वका अनेक राष्ट्रलाई प्रभाव पर्न सक्छ, उदाहरणको रूपमा बङ्गलादेश र चीनलाई लिन सकिन्छ।

युक्रेन युद्धले नेपालको अर्थ व्यवस्थालाई पनि असर पार्ने हुनाले नेपालका वामन्थीहरूले रूसको विरोध गर्नुपर्ने होइन र? युक्रेनमाथि सर्वप्रथम रूसले नै हमला गरेको हो। युक्रेनले रूसमाथि हमला गरेको  होइन।

नेपालमा तेलको मूल्य बढ्यो। तेलको मूल्य बढ्नासाथ अन्य वस्तु एवं सेवाहरूको मूल्य पनि बढ्ने छ। नेपालमा समेत मूल्य वृद्धिको स्थिति ल्याउनमा युक्रेन युद्धको प्रत्यक्ष भूमिका छ। यस्तो स्थितिमा नेपालका वामपन्थीहरूले रूसको विरोध गर्नुपर्ने होइन र?

आफ्नो राष्ट्रको आर्थिक विकासका लागि अवसरहरूको खोजी गर्नु, तिनको प्रयोग गर्नु र कुशल प्रयोगबाट राम्रो लाभ प्राप्त गर्नु नै अहिलेको अति वैश्य युगमा महŒवपूर्ण कुरा हो। यो अति वैश्य युगमा सिद्धान्तको पछि लागेर केही हासिल हुनेवाला छैन। अव्यावहारिक सिद्धान्तले परिवार र राष्ट्रलाई गरीब मात्र बनाउँछ। त्यसकारण दलाल पूँजीपति, सामन्त, विस्तारवादी, साम्राज्यवादी, मुनाफखोरजस्ता शब्द प्रयोग गर्नुको साटो कुन देशबाट कति आर्थिक फाइदा लिएर आफ्नो देश र जनतालाई समृद्धि दिन सकिन्छ, वामपन्थी र त्यस्तै विचार राख्ने अन्य नेताहरूले पनि सोच्नुपर्छ।



Bishwa Raj Adhikari

akoutilya@gmail.com

Published in Prateekdaily on Friday, May 6, 2022

https://eprateekdaily.com/2022/05/05/34070/ 

Tuesday, May 3, 2022

Local Election: Economic Issues To Be Raised-Article-372

 स्थानीय निर्वाचनः जनता र नेताले जान्नुपर्ने आर्थिक विषय

स्थानीय चुनाव नजीकिंदै गर्दा नेताहरू आफ्ना अनेक प्रतिज्ञा र योजानहरू जनतालाई सुनाउन व्यस्त छन् भने जनता नेताका प्रतिज्ञा र योजनाहरूको विश्लेषण गर्न र बुझ्न प्रयत्नरत रहेको देखिएको छ। नेताहरूले जनतासमक्ष आफ्ना राजनीतिक योजनाहरू कमै तर आर्थिक योजनाहरू अति नै धेरै राखेको पाइएको छ। विजय हासिल गरेमा सो तोकिएको स्थान (गाउँपालिका वा नगरपालिक) मा उच्च तहसम्मको शिक्षा नि:शुल्क गरिदिने, स्वास्थ्य सेवा र औषधी निश्शुक्क गरि दिने, गरीबहरूलाई भत्ता प्रदान गर्ने, जेष्ठ नागरिक भत्ता वृद्धि गरिदिने, युवाहरूलाई बेरोजगार भत्ता दिने, सडक एवं पुलहरूको विस्तार गर्ने। यस्ता पचासौं किसिमका आर्थिक प्रतिज्ञाहरू नेताहरूले मतदातासमक्ष राखिरहेका छन्।

आउनुहोस् यस लेखमा नेताहरूले मतदातासमक्ष गरिरहेका अनेक आर्थिक प्रतिज्ञाहरू पूरा गर्ने क्षमता उनीहरूमा छ कि छैन? छ भने कसरी छ? छैन भने नेताहरूले किन मतदाता समक्ष झूटो बोलिरहेका छन्? भन्ने विषयमा छलफल गरौं।

सर्वप्रथम त के उल्लेख गर्न जरूरी छ भने स्थानीय निर्वाचनमा देशभरि विभिन्न पदका लागि उम्मेदवारी दिनेमध्ये नब्बेदेखि पन्चान्बे प्रतिशत उम्मेदवारलाई नेपालको अर्थ व्यवस्थाको स्वरूप र प्रकृति नै थाहा छैन। देशको अर्थ व्यवस्थाको रूप र प्रकृति थाहा नै नभएर उनीहरूले हावादारी कुरा गरिरहेका छन्। पाँचदेखि दश प्रतिशत उम्मेदवारहरूलाई नेपालको अर्थ व्यवस्थाको प्रकृति थाहा भए पनि आफू विजयी भएमा अनेक किसिमका आर्थिक कार्यक्रमहरू कार्यान्वयन गर्ने हैसियत बाहिरको झूटो बोलिरहेका छन्। आफू केही पनि गर्न नसक्ने र जनता समक्ष झूट बोल्नुपर्ने यथार्थ उनीहरूलाई राम्ररी थाहा छ।

अब सङ्क्षिप्तमा नेपालको आर्थिक अवस्थाको कुरा गरौं। विश्वका एक सय अति निर्धन राष्ट्रहरूमध्ये नेपाल ४१ औं अति निर्धन राष्ट्र हो। सर्वाधिक गरीब राष्ट्रहरूको सूचीमा बुरुन्डी, सोमालिया, मध्य अफ्रिकी गणतन्त्र, कंगो र मोजाम्बिक क्रमशः १, , , ४ र ५ औ गरीब राष्ट्रमा पर्दछन्। नेपाल एक अति नै निर्धन राष्ट्र हो, यो तथ्य सबै नेपालीलाई थाहा छ। नेपालको आफ्नो उद्योग र व्यापार सन्तोषजनक स्थितिमा नरहेकोले देशको ठूलो जनशक्ति वैदेशिक रोजगारमा छ। विदेशबाट नेपाली नागरिकहरूले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको छ। देश चलाउनका लागि आवश्यक खर्च नेपालले मुख्यरूपमा रेमिट्यान्स एवं वैदेशिक सहयोग तथा अनुदानबाट प्राप्त गर्छ। अर्थात् विदेशी सङ्गठन र सरकारहरूले नेपाललाई सहयोग नगर्ने हो र नेपालीहरूले विदेशबाट कमाएर नेपालमा पैसा नपठाउने हो भने नेपालमा सरकारी कर्मचारीहरूलाई तलब भुक्तान गर्न पनि कठिन हुन्छ। नेपालको कृषि र व्यापार, दुवै क्षेत्र सन्तोषजनक हुन नसकेकोले नेपालको आफ्नो आन्तरिक स्रोत अति नै कमजोर हुन पुगेको छ। खाद्यान्न, फलफूल, तरकारी आदि पनि नेपालले ठूलो परिमाणमा आयात गर्नुपर्ने स्थिति छ। 

नेपालमा ठूला–ठूला भवन, सडक, पूल आदि अन्य मित्र राष्ट्रहरूले निर्माण गरिदिनु पर्ने हुन्छ। विगतमा यस्तै भएको छ। नेपालको सर्वाधिक ठूलो महेन्द्र राजमार्ग तत्कालीन सोभियत रूसले निर्माण गरिदिएको हो।

देशको आर्थिक स्थिति अति कमजोर रहेको स्थितिमा स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनेहरूले म विजयी भएमा यस किसिमका आर्थिक (सहयोगका) कार्यक्रमहरू ल्याउँछु भन्नु गलत मात्र होइन, भ्रामक पनि हो। केही अपवाद–जस्तै काठमाडौं, ललितपुर, भक्तपुर, वीरगंज, विराटनगर आदि) बाहेक नेपालका प्रायः सबै नगर एवं गाउँपालिकहरूसँग आफ्नो बलियो आर्थिक स्रोत छैन। स्थानीय विकासका लागि उनीहरूले सङ्घीय वा केन्द्रीय सरकारसँग पैसा माग्नुपर्ने स्थिति छ। यस्तो स्थितिमा उम्मेदवारी दिनेहरूले म मतदाताहरूलाई यस्तो आर्थिक सुविधा दिन्छु भन्नु सरासर गलत होइन र?

नेपालका लगभग सम्पूर्ण स्थानीय निकायहरू गरीब रहेकाले त्यहाँको (स्थानीय) आम्दानीले स्थानीय विकास हुन सम्भव छैन। स्थानीय निकायहरूले आफूले आम्दानी गरेर स्थानीय व्यक्तिलाई अनेक आर्थिक सुविधाहरू उपलब्ध गराउनु सम्भव छैन। यस्तो स्थितिमा कुनै उम्मेदवारले म चुनावमा विजयी भएमा मेरो पालिकाभित्र रहेका सम्पूर्ण बेरोजगार युवालाई बेरोजगारी भत्ता उपलब्ध गराउँछु भन्नु झूठो र उधारो सपना बाँड्नु हो भने मतदाताले आफूलाई आफैंले ठग्नु हो।

यो स्थानीय चुनावमा हामी मतदाताहरूले उम्मेदवारहरूको झूटो आर्थिक राहत वा सुविधामा विश्वास गरेर उनीहरूलाई मत दिनुको साटो उनीहरूमा स्थानीय स्तरमा आर्थिक स्रोतको विकास गर्ने क्षमता छ कि छैन त्यो कुरा विचार गर्नुपर्छ। आफूले रोजेको उम्मेदवारले आफ्नो क्षेत्रमा कृषि, व्यापार, उद्योगको विकासमा के कस्तो योगदान पुर्याउन सक्छ त्यो विचार गर्नुपर्छ। उसको कार्यकुशलता एवं बौद्धिकतामा विश्वास गर्नुपर्छ। उसले स्रोत र साधनको उचित किसिमले उपयोग गरेर स्थनीय स्तरमा आय सृजना गर्न सक्छ कि सक्दैन त्यो विचार गर्नुपर्छ।

कुनै पनि गाउँ वा नगरपालिकाको आर्थिक विकासको लागि चाहिने मुख्य आर्थिक स्रोत भनेको नै स्थानीय कर हो। स्थानीय आम्दानी हो। कुनै एक गाउँपालिकाको आर्थिक विकासमा त्यहाँका जनप्रतिनिधिले सक्रिय योगदान पुर्याएर कृषि, व्यापार, उद्योगको विकास गरेका छन् भने त्यस स्थानका युवाहरूले स्थानीय स्तरमा नै रोजगार पाउँछन्। स्थानीय उद्योग एवं व्यापारले राम्रो आम्दानी गरेको हुनाले ती उद्योग एवं व्यापारहरूले राम्रो परिमाणमा कर भुक्तान गर्छन्। स्थानीय कर राम्रो परिमाणमा प्राप्त भएकोले त्यो करलाई जनप्रतिनिधिहरूले त्यसको क्षेत्रको शिक्षा, स्वास्थ्य, निर्माणमा लगानी गर्न सक्छन्। र त्यस किसिमको कार्य गर्न उनीहरूले कोषको लागि केन्द्रको मुख ताक्नुपर्दैन।

हामीले उम्मेदवारहरूमा हेर्नुपर्ने प्रमुख गुण हो उम्मेदवारको बौद्धिक क्षमता, आफ्नो स्थानको विकास गर्ने तत्परता तथा इमानदारी एवं निष्पक्षता। यी महत्वपूर्ण कुरा हुन्। मैले यो दलको व्यक्तिलाई चुनावमा विजयी गराउनुपर्छ भन्ने होइन कि त्यो व्यक्तिमा हाम्रो स्थानको विकास गर्ने बौद्धिक क्षमता भएकोले उसलाई नै चुनावमा विजयी गराउनुपर्छ भन्ने हामीले विचार राख्नुपर्छ र सोही अनुसार व्यवहार पनि गर्नुपर्छ। स्थानीय विकासमा राजनीतिक दल होइन, स्थानीय प्रतिनिधिको भूमिका महत्वपूर्ण हुने भएकोले हामी कुनै एक राजनीतिक दलको व्यक्तिलाई चुनावमा विजयी गराउनुको साटो सक्षम र इमानदार व्यक्तिलाई विजयी गराउनुपर्छ।

धनी एवं विकसित राष्ट्रहरूमा स्थानीय निकाय आर्थिकरूपमा निकै बलिया हुन्छन्। आफ्नो शहर वा गाउँका लागि उनीहरू आफैंले (स्थानीय करको माध्यमबाट) आय सृजना गर्छन्। विकसित देशहरूमा एउटा शहरले आफ्ना नागरिकलाई सुरक्षाका लागि आवश्यक प्रहरी, शिक्षा, अस्पताल आदिको खर्च आफैंले बेहोरेका हुन्छन्। अर्थात् स्थानीय स्तरमा उठेको कर एवं अन्य आम्दानीले नै स्थानीय स्तरमा उपलब्ध गराइएका खर्चहरूको भुक्तानी गर्छन्। त्यस्ता खर्चका लागि केन्द्रको भर पर्दैनन्। यहाँसम्म कि आफ्नो शहरभित्र सडक, पुल, सार्वजनिक भवन आदि पनि आफूले उठाएको करबाट निर्माण गर्छन्।

विकसित देशहरूमा देखिने एक महत्वपूर्ण सोच यहाँ उल्लेख गर्न सान्दर्भिक होला। विकसित देशमा आफ्नो स्थान र देशको विकासको लागि जिम्मेवार आफू नै रहेको भाव प्रत्येक नागरिकले राखेका हुन्छन्। दक्षिण एशिया वा अन्य विकासशील देशका नागरिकझैं आफ्नो घर, सडक अगाडि फोहर गर्ने अनि सफा सरकारले गरिदेओस् भन्ने भाव राख्दैनन्। अर्थात् विकसित देशमा प्रत्येक व्यक्तिले आफ्नो स्थान र देशको विकासको आफू नै कर्ता(Actor) रहेको विश्वास गर्छ।

सारांशमा, यो स्थानीय निर्वाचनमा आफ्नो विचार यो दलसँग मिल्ने भएकोले यो दलको उम्मेदवारलाई मत दिन्छु नभनी यो व्यक्तिले हाम्रो क्षेत्रको स्थिति राम्ररी थाहा पाएको छ, त्यसकारण यो व्यक्तिले विजय हासिल गरेमा स्थानीय स्रोत र साधनको उचित किसिमले प्रयोग गरेर हाम्रो क्षेत्रको विकास गर्नेछ भनेर त्यो व्यक्तिलाई चुनावमा विजयी गराएर जनप्रतिनिधि तुल्यायौं। दक्ष, योग्य एवं इमानदार व्यक्तिलाई जनप्रतिनिधि रोजौं। यस्ता व्यक्तिले स्थानीय स्रोत र साधनहरूको उचित प्रयोग गरेर आफ्नो क्षेत्रलाई धनी बनाउन सक्छन्।

यो चुनावमा पनि योग्य व्यक्ति होइन, आफूले मन पराएको व्यक्तिलाई विजयी तुल्याउने हो र उम्मेदवारहरूको झूटो प्रतिज्ञाको पछाडि लाग्ने हो भने हिन्दी सिनेमाको यो गीत–‘भोट लिया और खिसक गया जब कुर्सी पर चिपक गया तो फिर उसके बाद…एक तारा बोले तुन तुन तुन’ गाउन मात्र सकिन्छ, आफ्नो क्षेत्रको विकास हुँदैन।



Bishwa Raj Adhikari

akoutilya@gmail.com

Published in Prateekdaily on Friday, April 29, 2022

https://eprateekdaily.com/2022/04/28/33778/