Wikipedia

Search results

Saturday, October 28, 2023

A Big Question to Nepali Leaders-Article-429

 नेपालका कम्युनिस्टहरूलाई एक प्रश्न

नेपालका कम्युनिस्टहरूलाई एक प्रश्नः नेपालको आर्थिक विकास किन भएन? हुनत यो प्रश्न नेपाली काङ्ग्रेसलाई पनि सोध्न सकिन्छ। तर उपयुक्त भने कम्युनिस्टहरूलाई सोध्नुहुन्छ। काङ्ग्रेसीहरूले आफ्नो लक्ष्य, उद्देश्य र सिद्धान्तमा गरीबी निवारणलाई एक नम्बरमा राखेका छैनन्। देशको आर्थिक विकासलाई एक नम्बरमा राखेका छैनन्।

नेपाली काङ्ग्रेसले आफ्नो लक्ष्य, उद्देश्य र सिद्धान्तको रूपमा प्रजातन्त्रलाई एक नम्बरमा राखेको छ। स्वतन्त्र राजनीति र स्वतन्त्र समाजलाई राखेको छ। तर कम्युनिस्टहरूले आर्थिक विकास र गरीबी निवारणलाई आफ्नो प्रमुख उद्देश्यको रूपमा राखेका छन्। दलाल पूँजीपतिहरूको हातबाट अर्थव्यवस्थालाई मुक्त गर्ने। राजनीति व्यवस्थामाथि सर्वहाराहरूको स्वामित्व स्थापित गर्ने। पूँजीवादको अन्त्य गरेर सर्वहाराहरूको नेतृत्वमा, एकदलीय शासन व्यवस्था कायम गर्ने। र यी सबै कार्य गरेर देशको आर्थिक विकास गर्ने। कम्युनिस्टहरूको मूलमन्त्र नै यही हो।

कम्युनिस्टहरूले गरेका अनेक सानातिना आन्दोलनहरूको उद्देश्य गरीबी निवारण नै थियो। झापाबाट भएको होस् वा नेपालका अन्य क्षेत्रहरूबाट भएको होस्, नेपालका कम्युनिस्टहरूले गरेका हरेक हिंसापूर्ण आन्दोलनको उद्देश्य गरीबी निवारण नै थियो। आर्थिक शोषणको अन्त्य थियो। आर्थिक विकास नै थियो। नेपाली इतिहासले कहिले पनि नबिर्सिने घटना, १७ हजार निर्दाष नेपालीको क्रूरतापूर्वक हत्या गर्ने माओवादी आन्दोलन, जुन पुष्पकमल दाहालको नेतृत्वमा भएको थियो, को उद्देश्य पनि गरीबी निवारण नै थियो। आर्थिक विकास नै थियो। यी सबै कुरा हुँदाहुँदै पनि, नेपालका कम्युनिस्टहरूले नेपालको आर्थिक विकास किन गर्न सकेनन्? नेपालमा, उनीहरूको प्रयत्नमा, किन गरीबी निवारण हुन सकेन? यी प्रश्नहरू प्रत्येक नेपालीले प्रत्येक कम्युनिस्ट पार्टी र हरेक कम्युनिस्ट नेता एवं कार्यकर्तालाई सोध्नुपर्छ।

नेपालमा अहिले जस्तो चरम निराशा, नेपालको इतिहासमा नै, कहिले भएको थिएन। यति ठूलो सङ्ख्यामा नेपालीहरू रोजगारको लागि विदेश पसेका थिएनन्। युवाहरू, जसको उमेर केवल १६ वर्ष मात्र पुगेको छ, यति ठूलो सङ्ख्यामा विदेशतिर गएको नेपालको इतिहासमा कहिले पनि देखिएको थिएन। ओठ निचोर्दा आमाको दूध आउने र आमाबुबाको काखमा खेल्नु, हुर्किनुपर्ने उमेरका नेपाली युवाहरू अहिले अध्ययनको नाममा क्यानडा, अस्ट्रेलिया, ब्रिटेन, अमेरिका पुगेका छन्। दैनिक १२ देखि २४ घण्टा अनेक स्टोरहरूमा काम गर्न बाध्य छन्। कलेज र आवास खर्च भुक्तान गर्न उनीहरूले त्यति समय काम गर्न आवश्यक हुन्छ। यी कुराहरू कल्पनाको भरमा लेखेको होइन। कसैको आलोचना गर्न लेखेको होइन। स्वयम् आफूले देखेका कुराहरू हुन्। भोलिका दिनमा राम्रो होला भनेर युवाहरू वर्तमानमा घोटिन तयार छन्।

अहिले नेपालमा गरीबी मात्र छैन, चरम निराशा छ। चरम अस्थिरता छ। यो कारणले पनि नेपालीहरू स्वदेशमा आफ्नो भविष्य असुरक्षित देखेर, अँध्यारो देखेर विदेशतिर लागिरहेका छन्। नेपालमा चरम निराशा हुनु र युवाहरूले स्वदेशमा आफ्नो भविष्य नदेख्नु देशको लागि घातक स्थिति हो। नेपालमा चरम निराशा उत्पन्न गराउनमा पनि नेपालका कम्युनिस्टहरू र सिद्धान्तका अनेक पसल थापेर बसेका कम्युनिस्ट पार्टीहरू जिम्मेवार हुन्। कसरी? यसरी भन्ने के आधार छ? यस्ता प्रश्नहरू आउन पनि सक्छन्? यस्तो भन्नुको, आउनुहोस्, केही आधारहरू खोजौं।

२०४७ सालमा भएको राजनीतिक व्यवस्था परिवर्तनपछि नेपालमा २७ पटक प्रधानमन्त्रीको नियुक्ति (राजा ज्ञानेन्द्र शाहको काललाई छाडेर) भएका छन्। अर्थात् विगत मात्र ३३ वर्षमा २७ पटक प्रधानमन्त्री फेरिएका छन्। ३३ वर्षमा देशले २७ वटा प्रधानमन्त्री देख्यो। तर योभन्दा पनि यहाँ एक अर्को महत्वपूर्ण एवं उल्लेख्य कुरा छ। त्यो के हो भने २७ पटक प्रधानमन्त्री फेरिंदा नौपटक केवल कम्युनिस्टहरू मात्र प्रधानमन्त्री भएका छन्। मनमोहन अधिकारी, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, केपी शर्मा ओली, सबै अनेक किसिमका कम्युनिस्ट पार्टीका तर कम्युनिस्ट पार्टीका नै नेता हुन्। मनमोहन अधिकारी एकपटक, पुष्पकमल दाहाल तीनपटक, माधवकुमार नेपाल एकपटक, झलनाथ खनाल एकपटक, बाबुराम भट्टराई एकपटक र केपी शर्मा ओली दुईपटक प्रधानमन्त्री भएका छन्। मनमोहन अधिकारी २८६ दिन, पुष्पकमल दाहाल ८९० दिन, माधवकुमार नेपाल एक वर्ष २५७ दिन, झलनाथ खनाल २०४ दिन, बाबुराम भट्टराई एक वर्ष १९७ दिन तथा केपी शर्मा ओली चार वर्ष १९ दिन नेपालको प्रधानमन्त्री भएका देखिन्छन्।

नेपालको सर्वाच्च शासन व्यवस्थामा कम्युनिस्ट नेताहरू धेरैपटक पुगे तापनि नेपालमा किन आर्थिक विकास भएन? केपी शर्मा ओली र पुष्पकमल दाहाल पटकपटक नेपालको सर्वाच्च शासन व्यवस्थामा पुगे तापनि किन नेपालको आर्थिक विकास हुन सकेन? माथि उपलब्ध तथ्याङ्कहरूको अध्ययन एवं विश्लेषण गर्दा नेपालको राजनीति एवं शासन व्यवस्थामा कम्युनिस्टहरूको बलियो प्रभाव रहेको देखिन्छ। यति हुँदाहुँदै पनि किन कम्युनिस्ट पार्टी र यिनका नेताहरूबाट देशको आर्थिक विकास हुन सकेन? यो प्रश्न प्रत्येक नेपालीले स्वयम् आफूसँग त्यसपछि कम्युनिस्ट नेताहरूसँग सोध्न आवश्यक छ।

जनतालाई कम्युनिस्टहरूले देखाउने मिठाइ (सर्वोच्च शासन व्यवस्थामा सर्वहाराहरूको नियन्त्रण एवं गरीबी निवारण) साँच्चीकै गुलियो छ कि छैन? यो प्रश्न घरीघरी मतदाताहरूले मतदान गर्नुपूर्व आफैंसँग गर्न आवश्यक छ। सर्वाच्च शासन व्यवस्थामा सर्वहाराहरूको नियन्त्रण हुनु भनेको के एउटै व्यक्ति सदासर्वदा शक्ति र पदम रहनु हो? पुष्पकमल दाहाल नेकपा माओवादीका सर्वकालीन अध्यक्ष हुन्। उनी आजीवन अध्यक्ष हुने दाउमा छन्। यसैगरी, पुष्पकमल दाहाल तीनपटक नेपालको प्रम पनि भइसकेका छन्। पाए भने, अझै, शेरबहादुर देउवाजस्तो पटकपटक नेपालको प्रम हुने दाउमा छन्, पुष्पकमल दाहाल।

शक्ति र सत्ता केवल आफ्नो र परिवारको लागि प्रयोग गर्ने प्रवृत्तिका कम्युनिस्ट नेताहरूबाट नेपालको आर्थिक विकास सम्भव छैन। नेपालमा कम्युनिस्ट पार्टीको कुनै आचौत्य पनि छैन। यदि औचित्य हुँदो हो त यतिपटक कम्युनिस्ट नेताहरू नेपालको प्रम हुँदा नेपाल धनी देश हुनुपर्थ्यो। 

आर्थिक विकासको इतिहास हेर्दा कुनै पनि देशमा कम्युनिस्टहरूद्वारा देशको आर्थिक विकास भएको देखिंदैन। कसैले त चीनमा साम्यवाद छ, त्यहाँ त आर्थिक विकास भएको छ भन्न सक्छ। तर चीनको अर्थव्यवस्था पूँजीवादमा अडेको छ। चीनको राजनीतिक व्यवस्था कम्युनिस्ट होइन, एकतन्त्रीय व्यवस्था हो। केही सीमित व्यक्तिहरूको हातमा रहेको शासन व्यवस्था हो। चीनमा कम्युनिस्टहरूको दर्शन एवं सिद्धान्तअनुरूपको कम्युनिज्म छैन।

नेपालमा, अर्कोतिर भने, नेपालको कुल जनसङ्ख्याको ठूलो भागले कम्युनिस्टहरूलाई आफ्नो भाग्यविधाता देख्छ। मुक्तिदाता देख्छ। गरीबीबाट मुक्ति दिलाउने देख्छ। मुक्तिदाता र भाग्यविधाता देखेको हुनाले नै कुनै समयमा, आफ्नो जीउज्यानको चिन्ता नगरी लाखौं व्यक्ति पुष्पकमल दाहालले २०५२ सालमा आरम्भ गरेको तथाकथित जनयुद्ध (पछि धनयुद्धमा रूपान्तरित भयो) मा लागेका थिए। हजारौंले जीवन उत्सर्ग गरेका थिए।

गरीब जनताले कम्युनिस्ट नेताहरूबाट मोह भङ्ग गर्न अब ढिलो गर्नुहुँदैन। यी नेताहरूले नेपालीहरूको गरीबीको केवल उपयोग गरेका छन्। यस कुराको ज्वलन्त उदाहरण हो, माओवादीले २०५२ सालमा आरम्भ गरेको तथाकथित जनयुद्ध। नेपालमा ठूलो परिवर्तन गर्ने भनेर हिंडेका माओवादी नेताहरूले देशमा त केही परिवर्तन गर्न सकेनन् तर आफूमा भने ठूलो परिवर्तन ल्याए। रोडपतिहरू अहिले करोडपति भए। जनता त्यहीं छ, व्यवस्था त्यहीं छ, देशको आर्थिक अवस्था त्यहीं छ, उल्टो खस्केको छ, केही परिवर्तन भएको छैन। परिवर्तन भएको छ भने माओवादीका गरीब नेताहरू करोडपति भएका छन्। केही नेताहरू सदासर्वदा सत्ता र शक्तिमा रहन सफल भएका छन्।

नेपाली काङ्ग्रेसलाई अहिले आम जनताले धनीहरूको दल रूपमा देखेको छ। यसका नेताहरूलाई सुविधाभोगीको रूपमा अनुभूत गरेको छ। जनताको यो धारणा परिवर्तन गर्न र नेपाली काङ्ग्रेस प्रजातन्त्र र आर्थिक समृद्धिको लागि निरन्तर क्रियाशील रहने दल हो भनी आम जनतालाई अनुभव गराउन नेपाली काङ्ग्रेसले के गर्ने होला। यसका प्रभावशाली नेताहरू शेरबहादुर देउवा, गगन थापा, विश्वप्रकाश शर्मा आदिले के गर्ने होला। यी कुरा ती नेताहरूलाई नै थाहा होला।

वर्तमानको कुरा गर्ने हो भने जनता थाकिसकेको छ। नेपालका कम्युनिस्ट नेताहरूको व्यवहार देखेर निराश भएको छ। कम्युनिस्ट नेताहरूलाई प्रश्न गर्ने जाँगर पनि अहिले नेपाली जनतामा छैन। तर जनताले नेपालका कम्युनिस्टहरूसँग प्रश्न त गर्नैपर्छ। सोध्नैपर्छ– नेपालको आर्थिक विकास किन भएन?





विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, October 27, 2023

https://eprateekdaily.com/2023/10/26/57872/

Friday, October 20, 2023

Could Hamas-Israel Conflict Cause Global Economic Crisis?-Article- 428

 विश्व अर्थव्यवस्थामा नयाँ सङ्कटको सङ्केत

विश्व अर्थव्यवस्था पहिलेदेखि नै समस्याग्रस्त थियो, अब अर्को एउटा ठूलो र दीर्घकालसम्म प्रभावित गर्ने समस्या विश्व अर्थव्यवस्थामा थपिएको छ। इजराइल–हमास युद्धले विश्वलाई लामो समयसम्म शान्तिपूर्वक रहन नदिने सङ्केत दिइरहेको छ। कोभिड–१९ को असरबाट मुक्त हुन खोजिरहेको विश्व अर्थव्यवस्था पुनः अर्को समस्याले छोपिन थालेको छ। युक्रेन युद्धले विश्व अर्थव्यवस्थालाई, अर्कोतिर, उत्तिकै सताएको छ। 

आकारको दृष्टिकोणले इजराइल–हमास युद्ध सानो देखिए पनि प्रभावको हिसाबले भने यी दुईबीचको युद्ध ज्यादै ठूलो छ। यो युद्धलाई समयमैं शान्तिवार्ताद्वारा समाप्त नगर्ने हो भने यसले तेस्रो विश्वयुद्धको रूप लिन सक्छ। अहिले नै पनि यो युद्धमा प्रत्यक्षतः केवल दुई पक्ष इजराइल र हमास संलग्न देखिए तापनि अप्रत्यक्षरूपमा अनेक राष्ट्र संलग्न भइसकेका छन्। अप्रत्यक्षरूपमा अमेरिका, ब्रिटेन, फ्रान्स, बेल्जियम, क्यानडा, इरान, इजिप्ट, जोर्डन, सिरिया, लेबेनान, रूस, कतार, साउदी अरेबिया आदि संलग्न भइसकेका छन्।

मध्यपूर्वमा भएको यो युद्धबारे कुरा गर्नुपूर्व हमासबारे कुरा गर्नु उचित होला। अहिलेसम्म फिलिस्तिनीहरूले गाजा क्षेत्रमा मात्र प्रभावकारी किसिमले इजराइलविरुद्ध कारबाही गरिरहेका थिए। तर अचानक हमास गाजा क्षेत्रभित्र कसरी आयो र यति शक्तिशाली हुन पुग्यो? गत अक्टुबार ७ (२०२३) का दिन इजराइलभित्र पसेर कसरी १४०० भन्दा बढी व्यक्तिको हत्या गर्न सक्यो? कसरी २०० भन्दा बढी व्यक्तिलाई बन्दी बनाउन सफल भयो? फिलिस्तिनी क्षेत्रभित्र रहेर इजराइलविरुद्ध कार्य गरिरहेको यो सङ्गठन हमास कसरी यति शक्तिशाली हुन पुग्यो? कसले हमासलाई हातहतियार उपलब्ध गराइरहेको छ ? इजराइलविरुद्ध हमास कसरी इजराइलको भूमिमा पसेर हजारौंको हत्या गर्न सक्यो? सपनामा पनि नसोचिएको कुरा कसरी भयो?

माथिका प्रश्नहरूको उत्तर अति सजिलो छ। फिलिस्तिनी स्वतन्त्रताका लागि इजराइलविरुद्ध सङ्घर्ष आरम्भ गर्ने सङ्गठन हमासले पर्दा अगाडि फिलिस्तिनी स्वतन्त्रताको लागि सङ्घर्ष गरेको देखिए पनि पर्दापछाडि इरानको लागि कार्य गर्छ। अर्को शब्दमा हमासलाई इरानले प्रयोग गरिरहेको छ । हमास इरानको सेना हो। इजराइललाई कमजोर पार्न, विश्व मानचित्रबाट इजराइललाई हटाउन, इरानले हमास लडाकाहरू तयार पारेको हो।

लेबनानलाई कमजोर पार्ने इरानले त्यहाँ ‘हिजबुल्ला’ नामक विद्रोही सङ्गठनको स्थापना र सञ्चालन गरेझैं फिलिस्तिनी क्षेत्रमा पनि हमास नामक विद्रोही सङ्गठन स्थापना एवं सञ्चालन गरेको छ। इरान यो क्षेत्रमा ‘महाशक्ति’ बन्न चाहन्छ। 

अर्कोतिर चारैतिरबाट आर्थिक घेराबन्दी वा नाकाबन्दीमा परेको इरान अचानक बलियो भएको छ। कसरी भएको होला? इरान अहिले रूसको साथ पाएर बलियो हुन पुगेको हो। रूसले अहिले इरानलाई अमेरिकाविरुद्ध प्रयोग गरिरहेको छ। मध्यपूर्वलगायत अरबजगत्मा अमेरिकालाई राजनीतिक र आर्थिकरूपमा कमजोर पार्न इरान रूसको बलियो मोहरा हुन पुगेको छ। यो कारणले गर्दा अहिले रूसले इरानलाई अनेक किसिमका सहयोग गरेर यो क्षेत्रमा बलियो बनाउन खोजिरहेको छ। सामान्य किसिमले हेर्दा हमासले आफ्नो शक्तिले काम गरेको देखिए तापनि भित्री तवरले हेर्ने हो भने हमासलाई इरान र रूसको साथ र सहयोग छ।

अति महत्वाकाङ्क्षी वर्तमान रूसी राष्ट्रपति सदासर्वदा रूसको नेता र सर्वोच्च स्थानमा रहन चाहन्छन्। शक्ति र सत्ताबाहिर जान चाहँदैनन्। उनको यो महत्वाकाङ्क्षा पूरा गर्नका लागि उनी रूसी जनतालाई आफू राष्ट्रवादी हुँ भनी देखाउन चाहन्छन्। रूसको प्रमुख शत्रु अमेरिका हो भनी आफ्ना देशवासीलाई देखाउन चाहन्छन्। आफूले मात्र अमेरिकासँग टक्कर लिन सक्ने आफ्ना देशवासीलाई भन्नु उनको रणनीति हो।

साथै अमेरिका आर्थिकरूपमा कमजोर भए मात्र आफू सधैं रूसको गद्दीमा बस्न सक्ने कुरा पुटिनलाई राम्ररी थाहा छ। यो कारणले गर्दा पुटिन अमेरिकालाई नियोजित किसिमले आर्थिकरूपमा कमजोर पार्न खोजिरहेका छन्।

अमेरिकालाई आर्थिकरूपमा कमजोर पार्न पुटिन अमेरिकालाई निरन्तर युद्धमा संलग्न गराउन चाहन्छन्। पुटिनको यो योजना अनुसार नै उनले रूस–युक्रेन युद्धमा अमेरिकालाई संलग्न गराएका हुन्। अमेरिकाले युक्रेनलाई अर्बौं डलर आर्थिक सहयोग गरेको जगजाहेर छ।

अमेरिकालाई कमजोर बनाउन नै पुटिनले हमासलाई उचालेका हुन्। हमासले इजराइलमाथि हमला गरेमा इजराइल अशान्त र कमजोर हुन्छ। इजराइललाई यस्तो सङ्कटको घडीमा मित्र अमेरिकाको सहयोग आवश्यक पर्छ। र यस्तो स्थितिमा अमेरिकाले इजराइललाई ठूलो आर्थिक सहयोग गरेमा, वा गर्नुपरेमा, अमेरिका पनि प्रभावित हुन्छ। अमेरिका आर्थिकरूपमा कमजोर हुन थप बल पुग्छ।

पुटिनको अमेरिकालाई कमजोर पार्ने रणनीतिमा पुटिनलाई इरानले खुलेर सहयोग गरेको छ। तर चीनले भने खुलेर सहयोग गरेको छैन। चीन–अमेरिका व्यापार प्रभावित हुने भयले चीनले खुलेर रूसलाई सहयोग गरेको त छैन, तर रूसले अमेरिकाप्रति गरेको कार्यमा पुटिनलाई चीनको पूर्ण सहयोग प्राप्त छ।

एउटा शक्तिशाली राष्ट्रको रूपमा रूसको उदय र चीनको बलियो बन्दै गएको आर्थिक स्थितिले विश्वको राजनीतिक सन्तुलन फेरिएको छ। पहिले अमेरिका एक्लो शक्तिशाली राष्ट्र रहेकोमा अहिले रूस पनि शक्तिशाली बन्न पुगेको छ तर चीनको सहयोगमा। यसरी चीन र रूसको मिलेमतोमा निर्माण भएको मोर्चाले अमेरिकासँग अप्रत्यक्षरूपमा टक्कर लिन खोजिरहेको छ। अमेरिकालाई आर्थिकरूपमा कमजोर पार्न खोजिरहेको छ। 

रूस–युक्रेन युद्ध र इजराइल–हमास युद्धमा अप्रत्यक्षरूपमा अमेरिका र रूसको संलग्नताले निश्चय नै यो विश्व अशान्त बन्छ। र त्यो अशान्तिको असर विश्व व्यापारमा पर्नेछ, विश्व अर्थव्यवस्थामा पर्नेछ।

संसारकै आर्थिक ‘पावरहाउस’को रूपमा रहेको अमेरिको आर्थिक स्थिति कमजोर हुनु अमेरिकी नागरिकहरूका लागि नराम्रो त हो नै, विश्वका अन्य राष्ट्रहरूका लागि पनि नराम्रो हो। अमेरिकासँग ५०औं राष्ट्रको दोहोरो व्यापार छ। अमेरिका आर्थिकरूपमा कमजोर हुनुको अर्थ हो विश्व अर्थव्यवस्था कमजोर हुनु।

यो नयाँ परिस्थिति, हमास–इजराइली युद्धले इजराइलको अर्थव्यवस्था त प्रभावित हुन्छ नै, यसरी हमासलाई प्रत्यक्ष सहयोग गर्ने इरानको अर्थव्यवस्था पनि प्रभावित हुन्छ। रूसको अर्थव्यवस्था पनि अप्रत्यक्षरूपमा प्रभावित हुन्छ। रूस–युक्रेन युद्धले गर्दा रूसको अर्थतन्त्र पहिलेदेखि नै कमजोर छ। रूसको अर्थव्यवस्था कमजोर पारेर भएपनि शक्ति र सत्तामा रहने पुटिनको कुटिलताले गर्दा रूसको अर्थव्यवस्था कमजोर हुँदै गएको छ। रूसमा बलियो प्रजातन्त्र भएको भए पुटिन उहिल्यै सत्ताबाट बाहिर गइसकेका हुन्थे।

इरानका धर्मगुरुहरू आफू राज्यसत्ता एवं शक्तिमा रहनका लागि अरबजगत् र मध्यपूर्वलाई जहिले पनि अशान्त राख्न चाहन्छन्। यी क्षेत्र अशान्त रहेमा मात्र सत्ता र शक्तिमाथि आफ्नो पकड बलियो हुने इरानका धर्मगुरुहरूलाई राम्ररी थाहा छ। यस कारणले गर्दा नै पनि इरानले मध्यपूर्वलाई अशान्त राखेर इरानी जनताको ध्यान अन्त केन्द्रित गराएर आफ्नो उद्देश्यपूर्तिको बाटो फराकिलो पारिरहेको छ। मध्यपूर्वलाई अशान्त पार्न इरानले हमास र हिजबुल्ला जस्ता लडाकूहरूको उपयोग गरिरहेको छ। 

माथि बयान गरिएका परिस्थितिहरूले गर्दा विश्व अर्थव्यवस्थामा ठूलो सङ्कट आउने देखिएको छ। यदि तेस्रो विश्वयुद्ध भएमा विश्व अर्थव्यवस्था ध्वस्त पनि हुन सक्छ। कामना गरौं, तेस्रो विश्व युद्ध नहोस्। इजराइल–हमास युद्ध र रूस–युक्रेन युद्ध सदाको लागि समाप्त होस्।



विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित Friday, October 20, 2023

https://eprateekdaily.com/2023/10/20/57791/

Friday, October 13, 2023

Hamas Israel Conflict: How Safe Is Overseas Employment?-Article-427

 इजरायलको घटनाः कति सुरक्षित छ वैदेशिक रोगजार?

नेपाल अहिले शोकमा डुबेको छ। हुनत नेपाल शोकमा डुब्ने क्रम २०५२ सालदेखि नै प्रारम्भ भएको हो। माओवादीको तथाकथित जनयुद्धकालमा, जुन अहिले पद–पैसा युद्धमा रूपान्तरित भएको छ, नेपालीहरू शोकमा डुब्नु दैनिकीजस्तै थियो। माओवादी लडाकू पक्षका हुन् वा सुरक्षा कर्मचारीतर्फका, दोहरो द्वन्द्वमा जो मरे पनि शोक त नेपालीलाई नै पर्थ्यो। माओवादीका केही सीमित नेताहरूलाई शक्ति र सत्तामा पुर्याउन सोझासाझा युवा–युवतीहरूलाई माओवादी योद्धा बनाएर, उनीहरूलाई उपयोग गरेर, मच्चाइएको अति विध्वंसकारी त्यो अर्थहीन सङ्घर्षले लाखौं नेपालीलाई लाखौंपटक शोकमा डुबायो। बाँदरमुढाको घटना वा सैनिक ब्यारेकमा भएको हमला वा प्रहरी चौकीमा भएको आक्रमण होस्, सोझासाझा माओवादी लडाकूहरू मारिएका हुन् वा राज्यले दिएको जिम्मवारी पूरा गर्दा मारिएका सुरक्षाकर्मीहरू हुन्, यस्ता अनेक घटनाले नेपालीहरूलाई निकै रूआयो। अनेकौंपटक नेपालीहरू शोकमा डुबे।

अहिले यो पछिल्लो घटनाले नेपालीहरूलाई पुनः रूआएको छ, तर अर्कै किसिमबाट। केही दिन पहिले (अक्टोबर ७, २०२३) हमासले इजरायलमा गरेको आक्रमणमा परी एक दर्जनभन्दा बढी नेपालीको ज्यान गएको छ। केही दिन पहिले हमासले इजरायलको तेल अविव, जेरूसलमलगायत अन्य क्षेत्रमा गरेको आक्रमणमा परी इजरायलमा लगभग एक हजार व्यक्तिको ज्यान गएको अनुमान गरिएको छ। गाजा क्षेत्रबाट हमासले इजरायलतर्फ छाडेका पाँच हजारभन्दा बढी रकेटले हजारौंको ज्यान लिएको हो। हमासको त्यो हमलामा नै नेपालीहरू मारिएका हुन्। अध्ययन र रोजगारको क्रममा इजरायल गएका नेपालीहरूको इजरायलमा, इजरायल र हमासको दोहोरो भीडन्तमा यसरी विदेशी भूमिमा ज्यान गएको छ। अहिले पनि केही नेपाली सम्पर्कविहीन छन्। हताहती कति भयो भन्ने सङ्ख्या पछि यकीन भएपछि मात्र इजरायलमा कतिजना नेपालीको मृत्यु भयो भन्न सकिने स्थिति छ। ३०० भन्दा बढी नेपाली अहिले इजरायलबाट फर्कने मनस्थितिमा छन्।

रोजगारका लागि विदेश पुगेका नेपालीहरूको स्थानीय गृहयुद्ध, सङ्घर्ष वा द्वन्द्वमा परी यसरी ज्यान गएको यो पहिलोपटक भने होइन । यति ठूलो सङ्ख्यामा ज्यान गएको पनि पहिलो घटना होइन। रोजगारका लागि विदेश पुगेका नेपालीहरूको इजरायलमा जति बीभत्स किसिमले हत्या (रकेट प्रहारबाट) भयो त्योभन्दा बीभत्स किसिमले रोजगारका लागि विदेश पुगेका नेपालीहरूको इराकमा हत्या भएको थियो। सन् २००४ मा इराकको आतङ्कवादी समूह ‘अन्सार अल–सुन्नाका बन्दूकधारीहरूले १२ जना नेपालीको अति नै बीभत्स एवं हृदयहीन तरीकाले हत्या गरेका थिए। ती बन्दूकधारीहरूले १२ जना निर्दाष नेपालीलाई जनसमूह अगाडि ल्याएर हत्या गरेका थिए। हत्या गरेको दृश्यसमेत ती त्रूmर हत्याराहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। एकजना नेपालीको हत्या चक्कूले घाँटी रेटेर गरेका थिए भने एघारजनालाई गोली हानेका थिए। यो हत्या सुनियोजित एवं योजनाबद्ध रहेको ती बन्दूकधारीहरूले भनेका थिए र त्यस्तो पश्चिमी देशका नेताहरूलाई देखाउन गरिएको हो पनि भनेका थिए। 

विदेशीहरू इराकी भूमिमा पसेर पश्चिमा देशहरूको सहयोग गरेको र इराकीहरूलाई मार्ने उद्योग गरेको हुनाले ती हत्यारा (विदेशीका सहयोगी) हरूलाई भगवानले दण्ड दिएको (हत्या गरेको) भनेका थिए। आफूहरूले केवल ईश्वरको आदेश पालना गरेको भनेका थिए।

अब यो लेखको आशय के हो त्यो उल्लेख गर्न चाहन्छु। नेपालमा अहिले जुन किसिमले वैदेशिक रोजगारलाई सजिलो र सुरक्षित ठानिएको छ, त्यति सजिलो र सुरक्षित छैन। वैदेशिक रोजगार दिनानुदिन कठिन र असुरक्षित हुँदै गएको छ। यी कुराहरू गम्भीरतापूर्वक आम पाठक एवं पाठकहरूमार्फत वैदेशिक रोजगारमा जान इच्कुक व्यक्ति एवं तिनका परिवारका सदस्यहरूलाई सूचित गर्नु नै यो लेखको आशय हो।

पुटिनको सत्ता र शक्ति जहिले पनि आफ्नो हातमा राख्ने महत्वाकाङ्क्षाले गर्दा विश्वभरि द्वन्द्व र सङ्घर्ष विस्तार हुन पुगेको छ। अहिले विश्व दुर्ई खेमामा विभाजित भएको छ। हुनत यसरी विभाजित भएको यो पहिलोपटक भने होइन। शीतयुद्धकालमा पनि विश्व यसरी नै विभाजित भएको थियो। तर अहिले त्यो विभाजन विश्वभरि आतङ्क मच्चाउने किसिमले भएको छ । अहिले विश्व अमेरिका पक्षधर र अमेरिकाविरोधी गरी दुर्ई पक्षमा विभाजित छ। युरोपियन युनियनका राष्ट्रहरू, भारत, साउदी अरेबियाजस्ता राष्ट्रले आफूलाई अमेरिकाको पक्षमा उभ्याएका छन् भने चीन, इरान, सिरिया, क्युबा, भेनेजुएला जस्ता राष्ट्र रूसको पक्षमा उभिएका छन्। र रूस अहिले विश्वभरि आतङ्क विस्तारमा लागेको छ । यस आरोपको पहिलो उदाहरण हो, एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्र युक्रेनमा आक्रमण गर्नु। युक्रेनमा रूसले आक्रमण गरेको होइन, भ्लादिमिर पुटिनले गरेका हुन्।

अब, यसरी बदलिएको परिस्थितिमा रोजगारको लागि विदेश जानु पूर्व नेपालीहरूले धेरै कुरामा विचार गर्नु आवश्यक छ।

वैदेशिक रोजगारमा जानुभन्दा पहिले आफू जाने देशको राजनीतिक स्थिति थाहा पाउनु आवश्यक हुन्छ। युक्रेन, सिरिया, सोमालिया, लेबनान, इजराइल, बर्मा, सुडान, लिबिया, यमन यस्ता देश हुन् जहाँ अनवरत सङ्घर्ष, द्वन्द्व एवं गृहयुद्ध भइरहेका छन्। त्यस्ता देशमा रोजगारका लागि जानु भनेको ठूलो जोखिम उठाउनु हो। त्यसकारण यस्ता देशमा जानुपूर्व त्यहाँ जान उचित छ कि छैन भनी सयौंपटक सोच्न, सरसल्लाह गर्न र अनेक जानकारी सङ्कलन गर्न आवश्यक हुन्छ। नेपालका ‘म्यान पावर कम्पनी’हरूले रोजगार उपलब्ध भएका देशहरूको सुरक्षा स्थितिबारे राम्रो जानकारी राखेका हुँदैनन्। कतिले त थाहा पाएर पनि भन्दैनन् र नाफाका लागि कामदारहरूलाई अति जोखिम क्षेत्रमा, देशमा जान उत्साहित र प्रोत्साहित गर्छन्।

रोजगारको लागि कस्तो देशमा जान थालेको हो भनी नेपाली युवाहरूले थाहा पाउन अति आवश्यक छ। विदेशी भूमिमा पुगेर, कस्तो मौसम एवं कानूनी वातावरणमा काम गर्नुपर्छ, त्यो पनि थाहा पाउन उत्तिकै आवश्यक छ। काम गर्ने तरीका नजानेर तथा मौसमको प्रतिकूलताका कारण अरबतिर काम गर्न गएका नेपालीहरू हजारौंको सङ्ख्यामा बिरामी परेका वा उनीहरूको मृत्यु भएको खबर सुनिएकै हो।

जोखिमपूर्ण काम गर्दा, दुर्घटनामा परेर, उचित किसिमले काम गर्न नजानेर पनि रोजगारका लागि विदेशी भूमिमा पुगेका हजारौं नेपालीको ज्यान गएको छ। र त्यसरी ज्यान जाने क्रम जारी छ। विदेशबाट बाकसमा बन्द भएर नेपालीहरूको लाश आउने क्रम र सङ्ख्यामा कुनै कमी आएको छै। तर अफसोच! यदि हुँदा पनि नेपालीहरू रोजगारको लगि विदेश जाने क्रम रोकिएको छैन। वैदेशिक रोजगारप्रति नेपालीहरूमा विकर्षण उत्पन्न हुन सकेको छैन। नेपालमा नै रहेर रोजगारको अवसर खोज्ने प्रवृत्ति नेपालीहरूमा उत्पन्न हुन सकेको छैन। द्वन्द्वग्रस्त, सङ्घर्ष, दोहोरो भीडन्त भइरहने देशमा समेत नेपालीहरू रोजगारका लागि जाने क्रम जारी छ।

सबैभन्दा उत्तम कुरा त रोजगारका लागि बाध्य भएर विदेश जानुपर्ने स्थिति नै नहोस्। देशभित्रै रोजगार उपलब्ध होस्। स्वार्थी नेताहरूले यो कुरा बुझिदिएर, विदेशी भूमिमा नेपाली कामदारहरूको मृत्यु हुँदा गोहीको आँसु चुहाउनुभन्दा देशभित्र रोजगार सृजना हुने वातावरण निर्माण गरिदिए हुन्थ्यो।

सबै दलका नेताहरू, मुख्यगरी नेपाली राजनीतिका लागि बोझ बनेका नेताहरू जस्तै शेरबहादुर देउवा, माधव नेपाल, केपी ओली, पुष्पकमल दाहाल, झलनाथ खनाल आदिले मतभेद त्यागेर, मिलेर, देशमा आर्थिक विकास गरे धेरै रोजगार सृजना हुने थियो। नेपालीहरूले स्वदेशमा, आफ्नै मातृभूमिमा नै बस्न पाउँथे। यसरी चराजस्तो झुन्डझुन्डा बनाएर नेपालीहरू रोजगारका लागि विदेशी आकाशतर्फ उड्नुपर्थेन। विदेशी भूमिमा मर्नुपर्थेन।

रोजगारका लागि विदेश पुगेका नेपालीहरूको हत्या हुनु र हत्या हुने क्रम जारी नै रहनु सामान्य होइन। अति असामान्य एवं दुःखदायी कुरा हो। तर शक्ति र सत्ताका लागि सदा षड्यन्त्र गर्ने हाम्रा लोभी–स्वार्थी नेताहरूले रोजगारका लागि विदेश पुगेका नेपालीहरूको हत्या हुनुलाई सामान्य रूपमा लिएका छन्। यसरी विदेशी भूमिमा मारिएका नेपालीहरूको आत्माले ती स्वार्थी नेताहरूलाई श्राप दिनेछ जसको कारण नेपालमा आर्थिक विकास हुन सकिरहेको छैन। नेपालीमा रोजगार सृजना हुन सकिरहेको छैन।

हाम्रा स्वार्थी नेताहरूले कहिले सुन्ने हुन् विदेशी भूमिमा रोजगारको लागि पुगेका नेपालीहरूको आर्तनाद?

२०५२ सालदेखि नेपालको राजनीतिलाई अस्थिर पार्ने, आर्थिक विकासमा सदा बाधक बन्ने पुष्पकमलले कहिले सुन्ने हुन् नेपालीहरूको चित्कार?






Bishwa Raj Adhikari

akouttilya@gmail.com

Published in Prateekdaily: Friday, October 13, 2023

https://eprateekdaily.com/2023/10/12/57492/


Wednesday, October 11, 2023

Actors of Economic Development-Article-426

 आर्थिक विकास: रूपान्तरण र कर्ता

आर्थिक विकास के हो? आर्थिक विकासमा रूपान्तरण कसरी हुन्छ? रूपान्तरणकर्ताहरू को–को हुन्? कुनै पनि क्षेत्रको समुचित विकासका लागि यस किसिमका प्रश्नको उत्तर खोज्न आवश्यक छ। तर उत्तर खोज्नुपूर्व यी प्रश्नहरूको अर्थ थाहा पाउनु उचित हुन्छ।

आर्थिक विकासको परिभाषा आफैंमा ज्यादै कठिन छ। कुनै एक व्यक्ति जोसँग सवारीका लागि एउटा मोटरसाइकल मात्र छ, ऊ सवारीका लागि हेलिकप्टर भएको व्यक्तिको तुलनामा गरीब हो। तर त्यही मोटरसाइकल हुने व्यक्ति एउटा साइकल मात्र हुनेको तुलनामा भने धनी हो। यसरी एउटा व्यक्ति एकै समयमा धनी पनि र गरीब पनि हुने रहेछ। यस्तो कसरी भयो?

गरीब र गरीबीको परिभाषा सापेक्षिकरूपमा दिन कठिन छ। सापेक्षिक परिभाषा सही पनि हुँदैन। त्यसकारण गरीब र गरीबीको परिभाषा निरपेक्ष रूपमा दिनुपर्ने हुन्छ। तुलनाको आधारमा गरीब र धनी छुट्याउन कठिन हुन्छ।

यथार्थमा गरीब त्यो हो, जोसँग घर छैन। वर्षभरि केवल एक समय वा धेरै दिन दुई छाक खान पाउँछ, केही दिन मात्र एक छाक खाना पाउँछ, शिक्षा र स्वास्थ्यमा पहुँच छैन। बिरामी भएपछि औषधि खरीद गर्ने पैसा छैन। स्वास्थ्य सेवामा लाग्ने खर्च भुक्तान गर्न पैसा छैन। हो, यस्तो स्थिति भएको व्यक्ति गरीब हो। यो गरीबीको निरपेक्ष परिभाषा हो। यस्तो स्थिति कुनै व्यक्ति वा परिवारमा नहुनु भनेको त्यो व्यक्ति वा परिवार गरीब नहुनु हो।

आर्थिक विकास भनेको निरपेक्ष गरीबीबाट मुक्ति पाउनु हो। साथै सापेक्षिक गरीबीबाट पनि मुक्ति पाउनु हो। उच्चतम विन्दुमा आमदनी गर्ने व्यक्तिसरह आमदानी गर्ने स्थितिमा पुग्नु हो। सापेक्षिक गरीबी यथार्थमा गरीबी होइन, केवल मनोभाव हो। तर अर्थ व्यवस्थामा यसको पनि अध्ययन महत्वपूर्ण हुन्छ।

अधिकांश मानिस अहिले पनि के भ्रममा छन् भने आर्थिक विकास भनेको एकल क्रियाकलाप हो। त्यस्तो होइन, आर्थिक विकास सामूहिक क्रियाकलाप हो। अनेक अन्तर्निर्भर काम गरेर मात्र कुनै पनि गाउँ वा शहरको आर्थिक विकास हुन्छ। कुनै पनि व्यक्तिको एकल सक्रियता वा प्रयासमा कुनै पनि क्षेत्रको आर्थिक विकास सम्भव छैन।

माथिको भनाइलाई सरल पार्नका लागि एउटा उदाहरण प्रस्तुत गर्नु उपयुक्त हुनेछ– कुनै शहरमा प्रत्येक वर्ष (स्कूल वा कलेजको शिक्षा समाप्त गरेर) ५०  जना युवा श्रम बजारमा प्रवेश गर्छन् वा जागीरको खोजी गर्छन् भने त्यस शहरका व्यापारी वा उद्योगपतिहरूले बर्सेनि ५० वटा रोजगार सृजना गर्न आवश्यक हुन्छ। अर्थात् रोजगारका लागि श्रम बजारमा प्रवेश गर्ने र रोजगार पाउने कार्य त्यस शहरका व्यापारी एवं उद्योगपतिहरूको क्रियाकलापमा निर्भर गर्दछ। यसरी आर्थिक विकास अन्तर्निर्भर कार्य हुन पुग्दछ। कामदार खोज्ने व्यापारी एवं उद्योगपति व्यवसाय सञ्चालनका लागि रोजगार खोज्नेहरूमाथि निर्भर रहनुपर्दछ भने रोजगार खोज्ने व्यक्ति व्यापारी एवं उद्योगपतिहरूको क्रियाकलाप (रोजगार सृजना गरिदिने कार्य) मा निर्भर रहनुपर्दछ।

आर्थिक विकास सामूहिक क्रियाकलापमा निर्भर हुन्छ भन्ने कुरा आर्थिक विकाससँग सम्बद्ध सबै पक्षले बुझ्न आवश्यक हुन्छ।

मुख्यगरी गरीब वा विकासशील राष्ट्रमा बहुसङ्ख्यक व्यक्तिले एउटा अर्को ठूलो भ्रम के पालेको देखिन्छ भने देशमा रोजगार दिने वा रोजगार सृजना गर्ने कार्य सरकारको हो। सरकारले नै आफ्ना कार्यालयहरूमा नागरिकलाई रोजगार (जागीर) दिनुपर्छ। यस्तो होइन । रोजगार सृजना गर्ने कार्य पनि सामान्य जनताको हो। उद्योगीहरूको हो। व्यापारीहरूको हो। अनेक किसिमका व्यवसाय गर्नेहरूको हो। यस अवधारणा अनुसार एउटा चिकित्सकले पनि देशमा रोजगार सृजना गर्ने जिम्मेवारी लिनु पर्दछ। वकिलले पनि रोजगार सृजना गर्ने जिम्मेवारी लिनुपर्दछ।

कुनै पनि देशमा रोजगारको सृजना सरकारले गर्ने होइन। सरकारको दायित्व पनि होइन। सरकारको दायित्व के हो भने त्यस्ता नियम, कानून, ऐनको तर्जुमा र कार्यान्वयन, जसले गर्दा देशमा रोजगार सृजना होस्। यस किसिमबाट हेर्दा के देखिन्छ भने सरकारको दायित्व भनेको देशमा बेरोजगारी हुन नदिनु हो। ठूलो मात्रामा रोजगार सृजना गर्ने वातावरण निर्माण गर्नु हो। निष्कर्षमा रोजगार सृजना गर्ने कार्य निजी क्षेत्रको हो, व्यवसायीहरूको हो। यो कारणले गर्दा पनि पूँजीवादी अर्थ व्यवस्था वा बजार अर्थ व्यवस्थमा व्यवसायीहरूको भूमिका ज्यादै महत्वपूर्ण मान्ने गरिन्छ। देशको अर्थतन्त्र उनीहरूको काँधमा हुन्छ भन्ने गरिन्छ।

अब कुरा गरौ रूपान्तरणको, आर्थिक विकासको। प्रारम्भ गरौं एउटा प्रश्नबाट। कसरी एउटा सामान्य गाउँ, प्रारम्भिक चरणमा एउटा व्यावसायिक गाउँमा रूपान्तरित हुन्छ? पछि कसरी त्यो व्यावसायिक गाउँ एउटा सानो शहरमा रूपान्तरित हुन्छ? उदाहरणका लागि वीरगंज वरपरका सानासाना गाउँ पछि कसरी शहरमा रूपान्तरित भए त्यसबारे कुरा गरौं। वीरगंज नजीक रहेका साना शहरहरू–पोखरिया, जीतपुर, चन्द्रनिगाहपुर प्रारम्भमा साना गाउँ थिए। पछि क्रमिकरूपमा यी साना गाउँ व्यावसायिक गाउँ र झन् पछि साना शहरमा रूपान्तरित भए।

यहाँ मननयोग्य कुरा गरौ। चन्द्रनिगाहपुर, पोखरिया, जीतपुरलाई शहरको रूपमा कसले विकास गर्यो? ककसको सक्रिय योगदानले गर्दा यी गाउँहरू शहरमा रूपान्तरित भए? सरकारको नीति, नियम, योजनाले गर्दा यी गाउँ शहरमा रूपान्तरित भएका हुन्? होइन। कुनै समयका सुविधाहीन गाउँहरू स्थानीय बासिन्दाको प्रयासले शहरमा रूपान्तरित भएका हुन्। शहरको विकासकर्ता स्थानीय नै हुन् । स्थानीयकै सक्रिय प्रयासमा ती गाउँहरू शहरमा रूपान्तरित भएका हुन्। 

एउटा सानो गाउँ व्यवस्थित शहरको कसरी बन्छ भन्ने कुराको उदाहरणको रूपमा बरहथवालाई पनि लिन सकिन्छ। कुनै समयको एउटा सामान्य बजार अहिले एउटा व्यवस्थित नगरको रूपमा स्थापना हुन पुगेको छ। यहाँ फेरि त्यही प्रश्न दोहोर्याउन मन लाग्यो। के बरहथबा सरकारको नीति, नियम वा योजनाले गर्दा गाउँबाट व्यवस्थित शहर बनेको हो? होइन। बरहरथवाका कर्ताहरूले यस शहरलाई सामान्य गाउँबाट व्यवस्थित शहरमा रूपान्तरित गरेका हुन्। आफ्नो गाउँलाई शहर बनाउन महत्वपूर्ण योगदान पुर्याएका हुन्।

माथि, गाउँहरू कसरी शहरमा रूपान्तरित भए भन्नेबारे अनेक चर्चा गरियो। यो कुनै पनि क्षेत्रको आर्थिक विकासमा स्थानीय कर्ताहरूको भूमिका महत्वपूर्ण हुन्छ भन्ने कुरा प्रमाणसहित दर्शाउनका लागि गरिएको हो। सरकारले होइन, स्थानीय कर्ताहरूले नै कुनै पनि क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछन्। पश्चिमा देशहरू यसै अवधारणा अनुसार कार्य गर्दछन् र आफ्नो क्षेत्रको विकासमा आफैं जुट्छन्, सरकारको मुख ताक्दैनन्। सरकारलाई सहजकर्ता मात्र मान्दछन्।

क्षेत्रीय विकासमा कर्ताहरूको भूमिका

स्थानीय वा क्षेत्रीय विकासमा कर्ताहरूको भूमिका नै महŒवपूर्ण हुन्छ। यसबारे माथि नै चर्चा गरिसकियो। अब थप दुई कुरा गरौं। हामीकहाँ ठूलो सङ्ख्यामा कर्ताहरूको उदय किन हुँदैन? कर्ताहरूको विकास गर्न कुन विधिको अनुपालन गर्नुपर्छ?

अमेरिका यस्तो देश हो, जहाँ कहिले पनि राजतन्त्र थिएन। आर्थिक विकासको लागि ‘माथि’ को मुख ताक्ने परिपाटीको विकास भएन। यो उदाहरणलाई सजिलो पार्न दक्षिण एशियाको मात्र कुरा गरौं। दक्षिण एशिया यस्तो क्षेत्र हो, जहाँ अनेक राज्य थिए, राजाहरू थिए। यसले गर्दा जनतामा आर्थिक विकासको लागि ‘राजा’ वा केन्द्रीय प्रशासनको मुख ताक्ने प्रकृति र परम्परा विकसित भयो। जनताले कहिले पनि आफूलाई आर्थिक विकासको कर्ता मानेन। आफूलाई प्रजा मात्र मान्यो। आर्थिक विकासको लागि जिम्मेवार राजा वा राज्यपक्षलाई देख्यो। यो कारणले गर्दा दक्षिण एशिया गरीबी र अशिक्षा जस्ता समस्याले घेरियो। दक्षिण एशियाको जनताले अहिले पनि स्थानीय वा राष्ट्रिय विकासको लागि आफूलाई जिम्मेवार मान्दैन, सरकारलाई मान्दछ।

अमेरिकामा कुनै राजा वा राजसंस्था नभएकोले प्रत्येक क्षेत्रको जनताले आफ्नो क्षेत्रको आर्थिक विकासको लागि आफैंलाई जिम्मेवार देख्यो। आफूलाई नै आर्थिक विकासको कर्ता मान्यो। आफैंलाई नै जिम्मेवार ठान्यो। सरकार वा केन्द्रको मुख ताकेन। स्थानीयरूपमा, कर्ताहरूको सक्रियतामा आआफ्नो क्षेत्रको आर्थिक विकास गर्यो। हरेक शहरलाई आर्थिकरूपले सक्षम बनाउने प्रयास गर्यो। परिणामतः अमेरिका अहिले विश्वमा नै सर्वाधिक ठूलो अर्थ व्यवस्था भएको देश हुन पुगेको छ, सर्वाधिक धनी राष्ट्र हुन पुगेको छ। हातहतियार र युद्धको हिसाबले पनि विश्वमा सर्वाधिक शक्तिशाली राष्ट्र हुन पुगेको छ। 

निष्कर्ष: आफ्नो क्षेत्रको विकास आफैंले गर्ने हो। कर्ताहरूले नै आफ्नो क्षेत्रको विकासमा सक्रिय योगदान पुर्याउने हो। हामी नेपालीहरूले आआफ्नो क्षेत्रको आर्थिक विकासको लागि यस विषय Economic Development Model)  मा चिन्तन र मनन गर्ने मात्र होइन, व्यवहाररूपमा ल्याउन पनि आवश्यक छ।

कर्ताहरू आर्थिक विकासका मेरुदण्ड हुन्। त्यसकारण कर्ता तयार पार्ने शिक्षालय बनाउन र त्यस किसिमको शिक्षा दिन अब ढिलो गर्नुहुँदैन। हाम्रो शिक्षा पद्धतिले ठूलो परिवर्तनको माग गरिरहेको छ। हाम्रो शिक्षा पद्धतिले कर्ताहरू उत्पादन गर्न आवश्यक छ।






विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, October 6, 2023

https://eprateekdaily.com/2023/10/05/57179/