नेपालका कम्युनिस्टहरूलाई एक प्रश्न
नेपालका
कम्युनिस्टहरूलाई एक प्रश्नः नेपालको आर्थिक विकास किन भएन? हुनत यो प्रश्न नेपाली काङ्ग्रेसलाई
पनि सोध्न सकिन्छ। तर उपयुक्त भने कम्युनिस्टहरूलाई सोध्नुहुन्छ। काङ्ग्रेसीहरूले
आफ्नो लक्ष्य, उद्देश्य र सिद्धान्तमा गरीबी
निवारणलाई एक नम्बरमा राखेका छैनन्। देशको आर्थिक विकासलाई एक नम्बरमा राखेका
छैनन्।
नेपाली
काङ्ग्रेसले आफ्नो लक्ष्य, उद्देश्य र सिद्धान्तको रूपमा प्रजातन्त्रलाई एक नम्बरमा राखेको छ।
स्वतन्त्र राजनीति र स्वतन्त्र समाजलाई राखेको छ। तर कम्युनिस्टहरूले आर्थिक विकास
र गरीबी निवारणलाई आफ्नो प्रमुख उद्देश्यको रूपमा राखेका छन्। दलाल पूँजीपतिहरूको
हातबाट अर्थव्यवस्थालाई मुक्त गर्ने। राजनीति व्यवस्थामाथि सर्वहाराहरूको
स्वामित्व स्थापित गर्ने। पूँजीवादको अन्त्य गरेर सर्वहाराहरूको नेतृत्वमा, एकदलीय शासन व्यवस्था कायम गर्ने। र यी
सबै कार्य गरेर देशको आर्थिक विकास गर्ने। कम्युनिस्टहरूको मूलमन्त्र नै यही हो।
कम्युनिस्टहरूले
गरेका अनेक सानातिना आन्दोलनहरूको उद्देश्य गरीबी निवारण नै थियो। झापाबाट भएको
होस् वा नेपालका अन्य क्षेत्रहरूबाट भएको होस्, नेपालका कम्युनिस्टहरूले गरेका हरेक हिंसापूर्ण आन्दोलनको उद्देश्य
गरीबी निवारण नै थियो। आर्थिक शोषणको अन्त्य थियो। आर्थिक विकास नै थियो। नेपाली
इतिहासले कहिले पनि नबिर्सिने घटना, १७ हजार निर्दाष नेपालीको क्रूरतापूर्वक हत्या गर्ने माओवादी आन्दोलन, जुन पुष्पकमल दाहालको नेतृत्वमा भएको
थियो, को उद्देश्य पनि गरीबी निवारण नै थियो।
आर्थिक विकास नै थियो। यी सबै कुरा हुँदाहुँदै पनि, नेपालका कम्युनिस्टहरूले नेपालको आर्थिक विकास किन गर्न सकेनन्? नेपालमा, उनीहरूको प्रयत्नमा, किन गरीबी निवारण हुन सकेन? यी प्रश्नहरू प्रत्येक नेपालीले प्रत्येक कम्युनिस्ट पार्टी र हरेक
कम्युनिस्ट नेता एवं कार्यकर्तालाई सोध्नुपर्छ।
नेपालमा
अहिले जस्तो चरम निराशा, नेपालको
इतिहासमा नै, कहिले भएको थिएन। यति ठूलो सङ्ख्यामा
नेपालीहरू रोजगारको लागि विदेश पसेका थिएनन्। युवाहरू, जसको उमेर केवल १६ वर्ष मात्र पुगेको छ, यति ठूलो सङ्ख्यामा विदेशतिर गएको
नेपालको इतिहासमा कहिले पनि देखिएको थिएन। ओठ निचोर्दा आमाको दूध आउने र आमाबुबाको
काखमा खेल्नु, हुर्किनुपर्ने उमेरका नेपाली युवाहरू
अहिले अध्ययनको नाममा क्यानडा, अस्ट्रेलिया, ब्रिटेन, अमेरिका
पुगेका छन्। दैनिक १२ देखि २४ घण्टा अनेक स्टोरहरूमा काम गर्न बाध्य छन्। कलेज र
आवास खर्च भुक्तान गर्न उनीहरूले त्यति समय काम गर्न आवश्यक हुन्छ। यी कुराहरू
कल्पनाको भरमा लेखेको होइन। कसैको आलोचना गर्न लेखेको होइन। स्वयम् आफूले देखेका
कुराहरू हुन्। भोलिका दिनमा राम्रो होला भनेर युवाहरू वर्तमानमा घोटिन तयार छन्।
अहिले
नेपालमा गरीबी मात्र छैन, चरम निराशा छ। चरम अस्थिरता छ। यो कारणले पनि नेपालीहरू स्वदेशमा
आफ्नो भविष्य असुरक्षित देखेर, अँध्यारो देखेर विदेशतिर लागिरहेका छन्। नेपालमा चरम निराशा हुनु र
युवाहरूले स्वदेशमा आफ्नो भविष्य नदेख्नु देशको लागि घातक स्थिति हो। नेपालमा चरम
निराशा उत्पन्न गराउनमा पनि नेपालका कम्युनिस्टहरू र सिद्धान्तका अनेक पसल थापेर
बसेका कम्युनिस्ट पार्टीहरू जिम्मेवार हुन्। कसरी? यसरी भन्ने के आधार छ? यस्ता प्रश्नहरू आउन पनि सक्छन्? यस्तो भन्नुको, आउनुहोस्, केही
आधारहरू खोजौं।
२०४७
सालमा भएको राजनीतिक व्यवस्था परिवर्तनपछि नेपालमा २७ पटक प्रधानमन्त्रीको
नियुक्ति (राजा ज्ञानेन्द्र शाहको काललाई छाडेर) भएका छन्। अर्थात् विगत मात्र ३३
वर्षमा २७ पटक प्रधानमन्त्री फेरिएका छन्। ३३ वर्षमा देशले २७ वटा प्रधानमन्त्री
देख्यो। तर योभन्दा पनि यहाँ एक अर्को महत्वपूर्ण एवं उल्लेख्य कुरा छ। त्यो के हो
भने २७ पटक प्रधानमन्त्री फेरिंदा नौपटक केवल कम्युनिस्टहरू मात्र प्रधानमन्त्री
भएका छन्। मनमोहन अधिकारी, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, केपी शर्मा ओली, सबै अनेक किसिमका कम्युनिस्ट पार्टीका तर कम्युनिस्ट पार्टीका नै
नेता हुन्। मनमोहन अधिकारी एकपटक, पुष्पकमल दाहाल तीनपटक, माधवकुमार नेपाल एकपटक, झलनाथ खनाल एकपटक, बाबुराम भट्टराई एकपटक र केपी शर्मा ओली दुईपटक प्रधानमन्त्री भएका
छन्। मनमोहन अधिकारी २८६ दिन, पुष्पकमल दाहाल ८९० दिन, माधवकुमार नेपाल एक वर्ष २५७ दिन, झलनाथ खनाल २०४ दिन, बाबुराम भट्टराई एक वर्ष १९७ दिन तथा केपी शर्मा ओली चार वर्ष १९ दिन
नेपालको प्रधानमन्त्री भएका देखिन्छन्।
नेपालको
सर्वाच्च शासन व्यवस्थामा कम्युनिस्ट नेताहरू धेरैपटक पुगे तापनि नेपालमा किन
आर्थिक विकास भएन?
केपी
शर्मा ओली र पुष्पकमल दाहाल पटकपटक नेपालको सर्वाच्च शासन व्यवस्थामा पुगे तापनि
किन नेपालको आर्थिक विकास हुन सकेन? माथि उपलब्ध तथ्याङ्कहरूको अध्ययन एवं विश्लेषण गर्दा नेपालको
राजनीति एवं शासन व्यवस्थामा कम्युनिस्टहरूको बलियो प्रभाव रहेको देखिन्छ। यति
हुँदाहुँदै पनि किन कम्युनिस्ट पार्टी र यिनका नेताहरूबाट देशको आर्थिक विकास हुन
सकेन? यो प्रश्न प्रत्येक नेपालीले स्वयम्
आफूसँग त्यसपछि कम्युनिस्ट नेताहरूसँग सोध्न आवश्यक छ।
जनतालाई
कम्युनिस्टहरूले देखाउने मिठाइ (सर्वोच्च शासन व्यवस्थामा सर्वहाराहरूको नियन्त्रण
एवं गरीबी निवारण) साँच्चीकै गुलियो छ कि छैन? यो प्रश्न घरीघरी मतदाताहरूले मतदान गर्नुपूर्व आफैंसँग गर्न आवश्यक
छ। सर्वाच्च शासन व्यवस्थामा सर्वहाराहरूको नियन्त्रण हुनु भनेको के एउटै व्यक्ति
सदासर्वदा शक्ति र पदम रहनु हो? पुष्पकमल दाहाल नेकपा माओवादीका सर्वकालीन अध्यक्ष हुन्। उनी आजीवन
अध्यक्ष हुने दाउमा छन्। यसैगरी, पुष्पकमल दाहाल तीनपटक नेपालको प्रम पनि भइसकेका छन्। पाए भने, अझै, शेरबहादुर देउवाजस्तो पटकपटक नेपालको प्रम हुने दाउमा छन्, पुष्पकमल दाहाल।
शक्ति र सत्ता केवल आफ्नो र परिवारको लागि प्रयोग गर्ने प्रवृत्तिका कम्युनिस्ट नेताहरूबाट नेपालको आर्थिक विकास सम्भव छैन। नेपालमा कम्युनिस्ट पार्टीको कुनै आचौत्य पनि छैन। यदि औचित्य हुँदो हो त यतिपटक कम्युनिस्ट नेताहरू नेपालको प्रम हुँदा नेपाल धनी देश हुनुपर्थ्यो।
आर्थिक
विकासको इतिहास हेर्दा कुनै पनि देशमा कम्युनिस्टहरूद्वारा देशको आर्थिक विकास
भएको देखिंदैन। कसैले त चीनमा साम्यवाद छ, त्यहाँ त आर्थिक विकास भएको छ भन्न सक्छ। तर चीनको अर्थव्यवस्था
पूँजीवादमा अडेको छ। चीनको राजनीतिक व्यवस्था कम्युनिस्ट होइन, एकतन्त्रीय व्यवस्था हो। केही सीमित
व्यक्तिहरूको हातमा रहेको शासन व्यवस्था हो। चीनमा कम्युनिस्टहरूको दर्शन एवं
सिद्धान्तअनुरूपको कम्युनिज्म छैन।
नेपालमा, अर्कोतिर भने, नेपालको कुल जनसङ्ख्याको ठूलो भागले
कम्युनिस्टहरूलाई आफ्नो भाग्यविधाता देख्छ। मुक्तिदाता देख्छ। गरीबीबाट मुक्ति
दिलाउने देख्छ। मुक्तिदाता र भाग्यविधाता देखेको हुनाले नै कुनै समयमा, आफ्नो जीउज्यानको चिन्ता नगरी लाखौं
व्यक्ति पुष्पकमल दाहालले २०५२ सालमा आरम्भ गरेको तथाकथित जनयुद्ध (पछि धनयुद्धमा
रूपान्तरित भयो) मा लागेका थिए। हजारौंले जीवन उत्सर्ग गरेका थिए।
गरीब
जनताले कम्युनिस्ट नेताहरूबाट मोह भङ्ग गर्न अब ढिलो गर्नुहुँदैन। यी नेताहरूले
नेपालीहरूको गरीबीको केवल उपयोग गरेका छन्। यस कुराको ज्वलन्त उदाहरण हो, माओवादीले २०५२ सालमा आरम्भ गरेको
तथाकथित जनयुद्ध। नेपालमा ठूलो परिवर्तन गर्ने भनेर हिंडेका माओवादी नेताहरूले
देशमा त केही परिवर्तन गर्न सकेनन् तर आफूमा भने ठूलो परिवर्तन ल्याए। रोडपतिहरू
अहिले करोडपति भए। जनता त्यहीं छ, व्यवस्था त्यहीं छ, देशको आर्थिक अवस्था त्यहीं छ, उल्टो खस्केको छ, केही परिवर्तन भएको छैन। परिवर्तन भएको छ भने माओवादीका गरीब नेताहरू
करोडपति भएका छन्। केही नेताहरू सदासर्वदा सत्ता र शक्तिमा रहन सफल भएका छन्।
नेपाली
काङ्ग्रेसलाई अहिले आम जनताले धनीहरूको दल रूपमा देखेको छ। यसका नेताहरूलाई
सुविधाभोगीको रूपमा अनुभूत गरेको छ। जनताको यो धारणा परिवर्तन गर्न र नेपाली
काङ्ग्रेस प्रजातन्त्र र आर्थिक समृद्धिको लागि निरन्तर क्रियाशील रहने दल हो भनी
आम जनतालाई अनुभव गराउन नेपाली काङ्ग्रेसले के गर्ने होला। यसका प्रभावशाली
नेताहरू शेरबहादुर देउवा, गगन थापा, विश्वप्रकाश
शर्मा आदिले के गर्ने होला। यी कुरा ती नेताहरूलाई नै थाहा होला।
वर्तमानको
कुरा गर्ने हो भने जनता थाकिसकेको छ। नेपालका कम्युनिस्ट नेताहरूको व्यवहार देखेर
निराश भएको छ। कम्युनिस्ट नेताहरूलाई प्रश्न गर्ने जाँगर पनि अहिले नेपाली जनतामा
छैन। तर जनताले नेपालका कम्युनिस्टहरूसँग प्रश्न त गर्नैपर्छ। सोध्नैपर्छ– नेपालको
आर्थिक विकास किन भएन?
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित: Friday, October
27, 2023