अमेरिकी
अर्थ व्यवस्थाका विशेषता
१. प्रतिस्पर्धा
भनिन्छ संयुक्त राज्य अमेरिकाका सम्पूर्ण
सडकहरूलाई जोड्ने हो भने यसले पृथ्वीलाई एकपटक बेर्न पुग्छ। यस्तै भनाइ अर्को पनि
के छ भने अमेरिकाका सडकहरू धेरै टाढासम्म पनि यति सीधा छन् कि आपतकाल वा युद्धको
समय ती सडकहरूमा हवाइ जहाज अवतरण गर्न सकिन्छ। अमेरिकाका केही सडकहरूमा एकातिरबाट
सात–आठवटा गाडी गइरहेका हुन्छन् भने त्यतिकै सङ्ख्यामा अर्कोतिरबाट गाडीहरू
आइरहेका हुन्छन्। अर्थात् सडकहरू अति फराकिला छन्। अमेरिकाले सडक निर्माणमा गरेको
खर्च आफैंमा अद्वतीय छ। प्रविधि पनि उत्तिकै उन्नत।
यो स्तम्भकार अमेरिकाका दशौं राज्यमा
पुगिसक्यो तर त्यस्तो घर कहिले देखेन, जसलाई मोटर गुड्न सक्ने सडकले न छोएको होस्। हरेक घरमा मोटर
पुग्नेगरी सडक निर्माण गरिएको मात्र छैन, हरेक सडकको नामाकरण गरिएको छ। त्यो सडक नै त्यो बस्तीको पहिचान पनि
हो। अर्थात् सडकद्वारा टोलको नाम थाहा हुन्छ, किनभने सडक नै टोलको नाम हो, वीरगंजमा रानीघाट, तेजारथटोल, श्रीपुर, मुडली टोलको नाम भनेझैं। हरेक सडकको
आफ्नो परिचय छ। हरेक घरको आफ्नो परिचय (घर नम्बर) छ। बिना परिचयको घर हुँदैन।
त्यसकारण कुन शहरको कुन सडकमा, कति नम्बरको घरमा, कसको बसोवास छ, सजिलै थाहा पाउन सकिन्छ। अमेरिका यति व्यवस्थित देश हो कि यहाँ
अन्त्येष्टि (मृत्यु) को पनि व्यवस्था (योजना) गरिन्छ। अर्थात् कुनै व्यक्तिले आफ्नो अन्त्येष्टि कहाँ र
कसरी गर्ने भन्ने योजना बनाएको हुन्छ। हरेक क्षेत्रमा योजना र व्यवस्था हुनु नै
अमेरिकाको सफलताको रहस्य हो।
अमेरिकको आर्थिक विकासको साँचो नै योजना र
व्यवस्था हो। यी दुई कुराले नै अमेरिकालाई विश्वको सामरिक, राजनैतिक र आर्थिक महशक्ति बन्न मदद
गरेको छ।
नियालेर हेर्दा केही यस्ता तत्व देखिन्छ, जुन
योजना र व्यवस्थाभित्र रहेर अमेरिकाको अर्थ व्यवस्थालाई सबल पार्न सक्रिय एवं
गतिशील रहेको पाइन्छ। ती तत्वहरूमध्ये सर्वप्रथम ‘प्रतिस्पर्धा’ को
चर्चा गरौं।
अमेरिकी अर्थ व्यवस्थालाई बलियो गरी खडा
गर्ने विभिन्न खम्बाहरूमध्ये एउटा ज्यादै बलियो खम्बा प्रतिस्पर्धा हो। संयुक्त
राज्य अमेरिकाका बजारहरूमा जति तीव्र प्रतिस्पर्धा (उत्पादन, वितरण, बिक्री र ग्राहक सन्तुष्टिका लागि)
संसारका अन्य बजार (विभिन्न राष्ट्र) हरूमा कमै देख्न पाइन्छ। अमेरिकाका बजारहरू
यति प्रतिस्पर्धापूर्ण छन् कि बजारमा आफ्नो अस्तित्व कायम गर्न व्यापारीहरूले कठोर
सङ्घर्ष गर्नुपर्छ। त्यसकारण अमेरिकामा व्यापार गर्नु सजिलो छैन। मौलिक सोच, नौलो सोच, खास विशेषता, विभिन्न सेवा, खास वस्तु आदि नभई अमेरिकी बजारमा
बिक्रेता टिक्न कठिन छ।
बजारमा देखिएको प्रतिस्पर्धालाई सरकारले
आवश्यक ठान्छ र प्रतिस्पर्धाले उपभोक्ताको हित संरक्षण हुन्छ भन्ने कुरामा बलियो
विश्वास गर्छ। र त्यही विश्वासको कारण प्रत्येक उत्पादक एवं बिक्रेतालाई आफ्नो
वस्तु एवं सेवाको मूल्य कति निर्धारण
गर्ने पूर्ण स्वतन्त्रतता पनि दिन्छ। परिणामस्वरूप एउटै वस्तु (समान तौल, विशेषता, आकार, रङ्ग)
को मूल्य कुनै बिक्रेताले पाँच डलर कुनैले चार डलर कुनैले एक डलर र यहाँसम्म कि
कुनैले पचास सेन्ट कायम गर्दा पनि सरकारले हस्तक्षेप गर्दैन, उल्टो बिक्रेताले बजारको अवस्था हेरेर
आफ्नो वस्तुको मूल्य निर्धारण गर्न पाउने उसको अधिकार हो भन्दै सरकारले उसको
अधिकारको संरक्षण गर्दछ। अर्थात् सरकारले मूल्य विभेदीकरण (Price
discrimination)
लाई प्रतिस्पर्धापूर्ण स्वतन्त्र बजारको आवश्यक कार्य मान्दछ। मूल्य विभेदीकरणले
उपभोक्ताको अहित हुने होइन, उल्टो उपभोक्ता हितको संरक्षण हुने ठान्दछ।
बजारमा तीव्र प्रतिस्पर्धा हुने र सोही
अनुसार मूल्य निर्धारणमा पनि चर्को प्रतिस्पर्धा हुने भएकोले प्रत्येक बिक्रेता
आफ्नो वस्तु वा सेवाको मूल्य कम (उपभोक्ताले खरिद तत्परता देखाउने बिन्दुमा) कायम गर्न बजार शक्तिद्वारा
नै निर्देशित र बाध्य पनि हुन्छ। अर्थात् आफ्नो वस्तुको मूल्य कम कायम गर भनेर
सरकारले बिक्रेतालाई निर्देशन गर्नैपर्दैन किनभने आफ्नो वस्तु वा सेवाको मूल्य
बिक्रेताले अधिक (प्रतिस्पर्धीहरूको तुलनामा) निर्धारण गरेमा उसको वस्तु वा सेवा
बिक्री नहुने भय हरदम कायम रहन्छ, शिरमाथि हरदम तरबार झेन्डिएझैं। यो कारणले गर्दा बिक्रेता स्वेच्छाले
होइन, बजार अवस्थाले गर्दा हरपल मूल्यप्रति
जागरुक र चिन्तित रहन्छ र प्रतिस्पर्धीहरू भन्दा कम मूल्य तोक्न बाध्य हुन्छ।
उल्लेखनीय कुरा त के छ भने मूल्य
विभेदीकरणलाई उपभोक्ताहरूले पनि बिक्रेताहरूको बजारमा मनोमानी ठान्दैनन् किनभने बजारमा
मूल्यमा तीव्र प्रतिस्पर्धा भएमा उनीहरूले सस्तोमा वा आफूले चाहेको मूल्यमा खरिद
गर्न पाउँछन् भन्ने कुरा राम्ररी थाहा पाएका हुन्छन्। उल्टै उपभोक्ताहरू कुन
बिक्रेताले सस्तो वा आफूले चाहेको मूल्यमा वस्तु वा सेवा बिक्री गरिरहेका छन्, त्यसलाई खोज्न वा बजार अनुसन्धान गर्न
व्यस्त हुन्छन्। यस किसिमको स्थितिमा उपभोक्ताहरूले चाहेर नै पनि कुनै वस्तु वा
सेवाको मूल्य तुलनात्मकरूपमा चर्को भए तापनि खरिद गर्ने तत्परता देखाउँछन, यदि
उनीहरूले खोजेको स्थान, छिमेकी
भण्डारमा, खोजेको समयमा वस्तु प्राप्त हुन्छ भने। अर्थात् सुविधाको आधारमा पनि
उपभोक्ताहरू बढी मूल्य भुक्तान गर्न स्वेच्छाले तयार हुन्छन्। यसलाई एक किसिमको
बजार-विशेषता मान्न सकिन्छ।
बजारमा प्रतिपल तीव्र प्रतिस्पर्धा हुने र
मूल्य जहिले पनि प्रतिस्पर्धाको केन्द्रमा रहने हुनाले कतिपय बिक्रेता वा बिक्री
भण्डारले सस्तोमा बिक्री गर्नेहरूमा आफू अग्र पङ्क्तिमा रहेको पहिचान नै बनाएका
हुन्छन्। जस्तै अमेरिकाको प्रत्येक राज्यको प्रायः प्रत्येक शहरमा ‘डलर ट्री’
नामको खुद्रा भण्डार देख्न पाइन्छ, जसले आफूसँग उपलब्ध सामग्री केवल एक डलरमा बिक्री गर्ने गरेको छ। यो
भण्डारमा खाद्य पदार्थ, स्टेशनरी, चकलेट, बिस्कुट, लुगाफाटो, सफाइका सामान, औषधि, रेजर, साबुन, पेय पदार्थ, सजावटको सामान, गिफ्ट पैकेट, जन्मदिन-कार्ड, शुभ कामना-कार्ड, धन्यवाद-कार्ड
आदि मात्र एक डलरमा खरिद गर्न सकिन्छ। यो भण्डारको प्रमुख उद्देश्य नै
उपभोक्ताहरूलाई सस्तोमा सामग्री उपलब्ध गराउनु हो। सस्तोमा सामग्री उपलब्ध गराउने
उसको प्रमुख उद्देश्य रहेकोले नै यो भण्डारले कहाँबाट सस्तोमा सामग्री खरिद गर्न
सकिन्छ, कुन सप्लायरले सस्तोमा मात्र होइन, नियमित स्तरीय सामान दिन्छ भन्ने खोजमा
आफ्नो यत्न र चिन्तन केन्द्रित गरेको हुन्छ। यो भण्डारले नियमित र सस्तो सामग्री
दिने सप्लायरको खोजी गर्ने हुनाले नै उपभोक्ताहरूले सस्तोमा सामग्री पाउँछन्। र कम
आम्दानीमा पनि जीवन निर्वाह गर्ने क्षमता प्राप्त गर्छन्।
Bishwa Raj Adhikari
Published in Prateekdaily on Friday, October 26, 2018