Friday, October 26, 2018

Special Characteristics of American Economy-219-Competition


अमेरिकी अर्थ व्यवस्थाका विशेषता

१. प्रतिस्पर्धा

    भनिन्छ संयुक्त राज्य अमेरिकाका सम्पूर्ण सडकहरूलाई जोड्ने हो भने यसले पृथ्वीलाई एकपटक बेर्न पुग्छ। यस्तै भनाइ अर्को पनि के छ भने अमेरिकाका सडकहरू धेरै टाढासम्म पनि यति सीधा छन् कि आपतकाल वा युद्धको समय ती सडकहरूमा हवाइ जहाज अवतरण गर्न सकिन्छ। अमेरिकाका केही सडकहरूमा एकातिरबाट सात–आठवटा गाडी गइरहेका हुन्छन् भने त्यतिकै सङ्ख्यामा अर्कोतिरबाट गाडीहरू आइरहेका हुन्छन्। अर्थात् सडकहरू अति फराकिला छन्। अमेरिकाले सडक निर्माणमा गरेको खर्च आफैंमा अद्वतीय छ। प्रविधि पनि उत्तिकै उन्नत।

    यो स्तम्भकार अमेरिकाका दशौं राज्यमा पुगिसक्यो तर त्यस्तो घर कहिले देखेन, जसलाई मोटर गुड्न सक्ने सडकले न छोएको होस्। हरेक घरमा मोटर पुग्नेगरी सडक निर्माण गरिएको मात्र छैन, हरेक सडकको नामाकरण गरिएको छ। त्यो सडक नै त्यो बस्तीको पहिचान पनि हो। अर्थात् सडकद्वारा टोलको नाम थाहा हुन्छ, किनभने सडक नै टोलको नाम हो, वीरगंजमा रानीघाट, तेजारथटोल, श्रीपुर, मुडली टोलको नाम भनेझैं। हरेक सडकको आफ्नो परिचय छ। हरेक घरको आफ्नो परिचय (घर नम्बर) छ। बिना परिचयको घर हुँदैन। त्यसकारण कुन शहरको कुन सडकमा, कति नम्बरको घरमा, कसको बसोवास छ, सजिलै थाहा पाउन सकिन्छ। अमेरिका यति व्यवस्थित देश हो कि यहाँ अन्त्येष्टि (मृत्यु) को पनि व्यवस्था (योजना) गरिन्छ। अर्थात् कुनै व्यक्तिले आफ्नो अन्त्येष्टि कहाँ र कसरी गर्ने भन्ने योजना बनाएको हुन्छ। हरेक क्षेत्रमा योजना र व्यवस्था हुनु नै अमेरिकाको सफलताको रहस्य हो।

    अमेरिकको आर्थिक विकासको साँचो नै योजना र व्यवस्था हो। यी दुई कुराले नै अमेरिकालाई विश्वको सामरिक, राजनैतिक र आर्थिक महशक्ति बन्न मदद गरेको छ।

    नियालेर हेर्दा केही यस्ता तत्व देखिन्छ, जुन योजना र व्यवस्थाभित्र रहेर अमेरिकाको अर्थ व्यवस्थालाई सबल पार्न सक्रिय एवं गतिशील रहेको पाइन्छ। ती तत्वहरूमध्ये सर्वप्रथम ‘प्रतिस्पर्धा’ को चर्चा गरौं।

    अमेरिकी अर्थ व्यवस्थालाई बलियो गरी खडा गर्ने विभिन्न खम्बाहरूमध्ये एउटा ज्यादै बलियो खम्बा प्रतिस्पर्धा हो। संयुक्त राज्य अमेरिकाका बजारहरूमा जति तीव्र प्रतिस्पर्धा (उत्पादन, वितरण, बिक्री र ग्राहक सन्तुष्टिका लागि) संसारका अन्य बजार (विभिन्न राष्ट्र) हरूमा कमै देख्न पाइन्छ। अमेरिकाका बजारहरू यति प्रतिस्पर्धापूर्ण छन् कि बजारमा आफ्नो अस्तित्व कायम गर्न व्यापारीहरूले कठोर सङ्घर्ष गर्नुपर्छ। त्यसकारण अमेरिकामा व्यापार गर्नु सजिलो छैन। मौलिक सोच, नौलो सोच, खास विशेषता, विभिन्न सेवा, खास वस्तु आदि नभई अमेरिकी बजारमा बिक्रेता टिक्न कठिन छ।
    
बजारमा देखिएको प्रतिस्पर्धालाई सरकारले आवश्यक ठान्छ र प्रतिस्पर्धाले उपभोक्ताको हित संरक्षण हुन्छ भन्ने कुरामा बलियो विश्वास गर्छ। र त्यही विश्वासको कारण प्रत्येक उत्पादक एवं बिक्रेतालाई आफ्नो वस्तु एवं सेवाको  मूल्य कति निर्धारण गर्ने पूर्ण स्वतन्त्रतता पनि दिन्छ। परिणामस्वरूप एउटै वस्तु (समान तौल, विशेषता, आकार, रङ्ग) को मूल्य कुनै बिक्रेताले पाँच डलर कुनैले चार डलर कुनैले एक डलर र यहाँसम्म कि कुनैले पचास सेन्ट कायम गर्दा पनि सरकारले हस्तक्षेप गर्दैन, उल्टो बिक्रेताले बजारको अवस्था हेरेर आफ्नो वस्तुको मूल्य निर्धारण गर्न पाउने उसको अधिकार हो भन्दै सरकारले उसको अधिकारको संरक्षण गर्दछ। अर्थात् सरकारले मूल्य विभेदीकरण (Price discrimination) लाई प्रतिस्पर्धापूर्ण स्वतन्त्र बजारको आवश्यक कार्य मान्दछ। मूल्य विभेदीकरणले उपभोक्ताको अहित हुने होइन, उल्टो उपभोक्ता हितको संरक्षण हुने ठान्दछ।

    बजारमा तीव्र प्रतिस्पर्धा हुने र सोही अनुसार मूल्य निर्धारणमा पनि चर्को प्रतिस्पर्धा हुने भएकोले प्रत्येक बिक्रेता आफ्नो वस्तु वा सेवाको मूल्य कम (उपभोक्ताले खरिद तत्परता देखाउने बिन्दुमा) कायम गर्न बजार शक्तिद्वारा नै निर्देशित र बाध्य पनि हुन्छ। अर्थात् आफ्नो वस्तुको मूल्य कम कायम गर भनेर सरकारले बिक्रेतालाई निर्देशन गर्नैपर्दैन किनभने आफ्नो वस्तु वा सेवाको मूल्य बिक्रेताले अधिक (प्रतिस्पर्धीहरूको तुलनामा) निर्धारण गरेमा उसको वस्तु वा सेवा बिक्री नहुने भय हरदम कायम रहन्छ, शिरमाथि हरदम तरबार झेन्डिएझैं। यो कारणले गर्दा बिक्रेता स्वेच्छाले होइन, बजार अवस्थाले गर्दा हरपल मूल्यप्रति जागरुक र चिन्तित रहन्छ र प्रतिस्पर्धीहरू भन्दा कम मूल्य तोक्न बाध्य हुन्छ।

    उल्लेखनीय कुरा त के छ भने मूल्य विभेदीकरणलाई उपभोक्ताहरूले पनि बिक्रेताहरूको बजारमा मनोमानी ठान्दैनन् किनभने बजारमा मूल्यमा तीव्र प्रतिस्पर्धा भएमा उनीहरूले सस्तोमा वा आफूले चाहेको मूल्यमा खरिद गर्न पाउँछन् भन्ने कुरा राम्ररी थाहा पाएका हुन्छन्। उल्टै उपभोक्ताहरू कुन बिक्रेताले सस्तो वा आफूले चाहेको मूल्यमा वस्तु वा सेवा बिक्री गरिरहेका छन्, त्यसलाई खोज्न वा बजार अनुसन्धान गर्न व्यस्त हुन्छन्। यस किसिमको स्थितिमा उपभोक्ताहरूले चाहेर नै पनि कुनै वस्तु वा सेवाको मूल्य तुलनात्मकरूपमा चर्को भए तापनि खरिद गर्ने तत्परता देखाउँछन, यदि उनीहरूले खोजेको स्थान, छिमेकी भण्डारमा, खोजेको समयमा वस्तु प्राप्त हुन्छ भने। अर्थात् सुविधाको आधारमा पनि उपभोक्ताहरू बढी मूल्य भुक्तान गर्न स्वेच्छाले तयार हुन्छन्। यसलाई एक किसिमको बजार-विशेषता मान्न सकिन्छ।

    बजारमा प्रतिपल तीव्र प्रतिस्पर्धा हुने र मूल्य जहिले पनि प्रतिस्पर्धाको केन्द्रमा रहने हुनाले कतिपय बिक्रेता वा बिक्री भण्डारले सस्तोमा बिक्री गर्नेहरूमा आफू अग्र पङ्क्तिमा रहेको पहिचान नै बनाएका हुन्छन्। जस्तै अमेरिकाको प्रत्येक राज्यको प्रायः प्रत्येक शहरमा ‘डलर ट्री’ नामको खुद्रा भण्डार देख्न पाइन्छ, जसले आफूसँग उपलब्ध सामग्री केवल एक डलरमा बिक्री गर्ने गरेको छ। यो भण्डारमा खाद्य पदार्थ, स्टेशनरी, चकलेट, बिस्कुट, लुगाफाटो, सफाइका सामान, औषधि, रेजर, साबुन, पेय पदार्थ, सजावटको सामान, गिफ्ट पैकेट,  जन्मदिन-कार्ड, शुभ कामना-कार्ड, धन्यवाद-कार्ड आदि मात्र एक डलरमा खरिद गर्न सकिन्छ। यो भण्डारको प्रमुख उद्देश्य नै उपभोक्ताहरूलाई सस्तोमा सामग्री उपलब्ध गराउनु हो। सस्तोमा सामग्री उपलब्ध गराउने उसको प्रमुख उद्देश्य रहेकोले नै यो भण्डारले कहाँबाट सस्तोमा सामग्री खरिद गर्न सकिन्छ, कुन सप्लायरले सस्तोमा मात्र होइन, नियमित स्तरीय सामान दिन्छ भन्ने खोजमा आफ्नो यत्न र चिन्तन केन्द्रित गरेको हुन्छ। यो भण्डारले नियमित र सस्तो सामग्री दिने सप्लायरको खोजी गर्ने हुनाले नै उपभोक्ताहरूले सस्तोमा सामग्री पाउँछन्। र कम आम्दानीमा पनि जीवन निर्वाह गर्ने क्षमता प्राप्त गर्छन्। 

Bishwa Raj Adhikari
Published in Prateekdaily on Friday, October 26, 2018

Friday, October 12, 2018

Economic Importance of Nepali Diaspora-Article-218


नेपाली डायसपोराको आर्थिक महत्व

भारतको आर्थिक अवस्थालाई बलियो तुल्याउनमा धेरै तŒवले काम गरेको छ। ती धेरै तत्वमध्ये एक भारतले ठूलो परिमाणमा विभिन्न किसिमका खाद्यपदार्थहरू निर्यात गर्नु पनि एक हो। भारतले विश्वभरिका अनेक राष्ट्रमा प्रतिवर्ष ठूलो परिमाणमा तयारी, अर्धतयारी र कच्चा खाद्यपदार्थ निर्यात गर्दछ। भारतीय खाद्यपदार्थहरू विश्वभरि ठूलो परिमाणमा निर्यात हुन सक्नुमा ‘भारतीय डाएसपोरा’ दिन प्रतिदिन ठूलो आकारको हुँदै जानु हो। संसारका विभिन्न राष्ट्रमा भारतीयहरूको ठूलो सङ्ख्यामा बसोबास छ। युरोप, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, मध्यपूर्व, अफ्रिकामा भारतीयहरूको ठूलो सङ्ख्यामा उपस्थिति छ नै, साथै मध्य एशिया, दक्षिण अमेरिका, करेबियन राष्ट्र (जमैका, हैटी, डोमिनिकन रिपब्लिक, बहमास, बारबाडोस आदि)हरूमा पनि उल्लेख्य सङ्ख्यामा बसोबास छ।

    भारतीय डाएसपोरा भन्नेले संसारका विभिन्न राष्ट्रमा बसोबास गरिरहेका भारतीय मूलका व्यक्तिहरूको समूह भन्ने बुझिन्छ। छोटकरीमा भन्नुपर्दा डाएसपोरा भनेको मूल पुर्ख्यौली थलोमा बस्न नपाएर वा नबसेर अन्यत्र बसिरहेका व्यक्तिहरूको समूह हो। डाएसपोरालाई भौतिक सीमा नभएको राष्ट्र पनि भन्ने गरिन्छ। डाएसपोरामा रहेकाहरूले मन आफ्नो मुलुक र संस्कृतिमा आफ्नो मौलिकता झल्काएका हुन्छन्।

    भारतीय खाद्यपदार्थ ठूलो परिमाणमा निर्यात गराउनमा एउटा अर्को तत्वले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। भारतमा जुन किसिमका खाद्यपदार्थको उपभोग हुन्छ, ती वा तीसँग मिल्दाजुल्दा खाद्यपदार्थ दक्षिण एशिया, मध्य एशिया, मध्यपूर्व, खाडी राष्ट्र, अफ्रिका आदिमा त्यहाँका नागरिकबाट पनि उपभोग हुन्छ। यो कारणले गर्दा पनि भारतीय खाद्यपदार्थको बजार विश्वभरि नै विस्तारित हुन पुगेको छ। भारतमा उत्पादित ‘बासमती’ चामल विश्वभरि ठूलो मागसहित बिक्री हुन्छ। बासमती चामलको स्वाद खास किसिमको भएकोले यसको माग बढ्दो छ। यसैगरी भारतमा उत्पादित भुजिया, चिया, दाल आदि पनि संसारभरि बिक्री हुन्छ। भारतीय रेस्टुरेन्टहरू चीनमा पनि सञ्चालित देख्न सकिन्छ।

    भारतीयहरूको जस्तो विशाल नभए तापनि नेपाली डाएसपोरा पनि ठूलो आकारको हुँदै गएको छ। नेपाली निर्यातकर्ताहरूको लागि यो एक ठूलो व्यापारिक अवसर हो। आम्दानीको राम्रो र भरपर्दो बाटो पनि हो। क्यानडा, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, मध्य पूर्व, खाडी राष्ट्र, मलेसिया आदिमा नेपालीहरूको बढ्दै गएको बसोबासले नेपाली डाएसपोरालाई ठूलो पार्दै लगेको छ। क्यानडा र अस्ट्रेलियाको पिआर व्यवस्था, संयुक्त राज्य अमेरिकाको डिभी र स्टुडेन्ट भिसाले नेपाली डाएसपोरा ठूलो पार्नमा महत्वपूर्ण भूमिका खेलेको छ। यसैगरी, माओवादी पीडितहरू पनि शरणार्थी भएर ठूलो सङ्ख्यामा युरोपका विभिन्न राष्ट्रमा फैलिएका छन्। संयुक्त अधिराज्य, बेल्जियम, जर्मनी, नेदरल्यान्ड्स, फ्रान्स, साइप्रस, पोर्चुगल, नर्वे, स्वीडेन, स्पेनमा धेरै नेपालीले शरणार्थी जीवन बिताइरहेका छन्। जापान, दक्षिण कोरिया, कतार, मलेसिया आदिमा काम गर्ने नेपालीहरूको सङ्ख्याले पनि नेपाली डाएसपोरालाई फराकिलो पार्नमा महत्वपूर्ण भूमिका खेलेको छ। यसैगरी, सन् २०१५ मा आएको ठूलो विनाशकारी भुइँचालोले पनि नेपालीहरूलाई विदेश डोर्याउनमा उल्लेख्य भूमिका खेल्यो। विभिन्न मुलुकमा पुगेका भुटानी शरणार्थीहरू पनि नेपाली (भाषी) डाएसपोरा विस्तार गर्नमा महत्वपूर्ण भूमिका खेलेको छ।

    यसरी विस्तारित हुँदै गएको नेपाली डाएसपोराले विदेशमा नेपाली खाद्य बजार विस्तार हुने सम्भावनालाई निकै बढाएको छ। विदेशका खाद्य बजारहरूमा नेपाली खाद्यपदार्थ बिक्री हुने सम्भावना बढेर गएको छ। नेपाली मौलिक खाद्यवस्तुहरू जस्तै चिया, चकलेट (लप्सीको क्यान्डी), गुँदपाक, पुस्टकारी, लाखमरी, अचार (अदुवा, खुर्सानी, लप्सीको) चाउमिन, बिस्कुट, चामल (मार्सी), पाउँ आदि विदेशी बजारहरूमा ठूलो परिमाणमा बिक्री हुने सम्भावनालाई नकार्न सकिंदैन। यो एक ठूलो व्यापारिक अवसर हो। यो अवसर ‘इमिग्रेसन’को कारणले सृजना भएको हो।

    नेपाली डाएसपोरामा केवल खाद्यवस्तुहरू मात्र होइन, गैरखाद्यवस्तुहरू जस्तै कपडा (ढाका), काष्ठकला, धातुका मूर्तिहरू, कागज एवं कागजनिर्मित सामग्रीहरू, मौलिक पहिरन आदि पनि बिक्री हुने ठूलो सम्भावना छ। नेपाली खाद्य र गैरखाद्य वस्तुहरू नेपाली डाएसपोरामा बिक्री हुने वा कुन परिमाणमा बिक्री हुन सक्नेबारे एक व्यवस्थित किसिमको अनुसन्धान हुन आवश्यक छ। तर वर्तमान अवस्थामा नै पनि, नेपाली खाद्य एवं गैरखाद्य वस्तुहरू संसारका विभिन्न राष्ट्रमा बिक्री हुने सम्भावना ह्वात्तै बढेर गएको छ। विदेशमा नेपालीहरूको ठूलो सङ्ख्यामा भएको बसोबासले यो स्थिति सृजना गरेको हो।
    धनी देशमा बसोबास गर्ने नेपालीहरूको क्रयशक्ति तुलानात्मकरूपमा बलियो हुने भएकोले उनीहरूबाट नेपाली वस्तुहरू ठूलो परिमाणमा खरिद हुन सक्छ। यसैगरी, भारतीय खाद्यवस्तुहरूको तुलनामा नेपाली खाद्यवस्तुहरूलाई सस्तो पार्न सके भारतीय वस्तुहरूसँग तीव्र प्रतिस्पर्धा गर्दै नेपाली वस्तुहरू उच्च परिमाणमा बिक्री हुने सम्भावना सृजना हुन सक्छ। 

    बजार सृजना गर्न र माग सृजना गर्न, दुवै कार्यमा हामी निकै पछाडि छौं। खासमा भन्ने हो भने बजार व्यवस्थापनको क्षेत्रमा नै हामी निकै पछाडि छौं। हामीसँग पर्याप्त स्रोत र साधनहरू भए तापनि हामीले तिनको उपयोग अत्यधिक किसिमले गर्न सकेका छैनौं।

    हाम्रो शिक्षा र संस्कृतिमा परिमार्जन गरेर, आर्थिक समृद्धि हासिल गर्नका लागि हामीले हाम्रो शिक्षालाई केवल ज्ञानमुखी मात्र होइन, रोजगारमुखी तुल्याउन आवश्यक छ। उच्च शिक्षा (जस्तैः बिए, एमए, पिएचडी) लाई मात्र ज्ञानमुखी तुल्याएर माध्यमिक तहको शिक्षालाई रोजगारमुखी तुल्याउन आवश्यक छ। यस्तो गरेमा मात्र हामीले बेरोजगारहरूको सङ्ख्या कम पर्दै गरीबहरूको क्रयशक्ति पनि वृद्धि गर्न सक्छौं।

    नेपाली डाएसपोरालाई लाभदायक किसिमले उपयोग गर्न सकिने अर्को तरिका हो, विदेशमा रहेका नेपालीहरूको बचत नेपालमा लगानी हुने वातावरण सृजना गर्नु। नेपालको वर्तमानका ऐन, कानून, नियमहरू संशोधन गरेर वा नयाँ (अनुकूल) ऐन, कानून, नियमहरू निर्माण गरेर विदेशमा रहेका नेपालीहरूले नेपालमा लगानी गर्ने वातावरण सृजना गर्न सकिन्छ। विदेशमा रहेका नेपालीहरूको बचत नेपालमा लगानी हुने वातावरण सृजना गर्ने हो भने पर्यटन पूर्वाधार विकास लागि चाहिने विद्युत्, सडक, रेल, रोपवे आदि निर्माण गर्न सकिन्छ। उनीहरूको बचतबाट राम्रो लगानी हुन सक्छ। यतिमात्र होइन, विदेशमा बसेका नेपालीहरूको बचत नेपालको लागि एक दीर्घकालीन पूँजी पनि हुन सक्छ।

    सत्ताको खेलमा नअल्झेर नेताहरूले यसतर्फ ध्यान दिए नेपाल र नेपालीहरूको आर्थिक कल्याण हुने थियो। सत्ताको खेलमा मग्न हुन रुचाउने, सत्ता हस्तगत गर्नेजस्तो नाटक पनि मञ्चन गर्न नहिचकिचाउने नेताहरूबाट विकास अपेक्षा गर्नु एक किसिमको मृग मरिचिका नै हो कि? सन्दर्भ निकट भविष्यमा वामदेव गौतम काठमाडौंबाट संसदीय चुनाव लड्ने।

    वामदेव गौतमको लागि भनेर नै गराइने चुनावसँग गाँसिएको एक अर्को यक्ष प्रश्न। वामदेवको लागि गर्न थालिएको चुनावको खर्च कसले बेहोर्ने? राज्यले? राज्यले त एकपटक चुनाव खर्च बेहोरिसकेको होइन र?

Bishwa R Adhikari
प्रतीक दैनिकमा प्रकाशित Friday, October 12, 2018

Friday, October 5, 2018

Nepal and Tourism - Article-217


नेपालको अर्थ व्यवस्था पर्यटनमा आश्रित हुनुपर्छ

   नेपालको अर्थ व्यवस्था अब कृषिमा आश्रित नरहेको तथ्य अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली जनशक्तिको ठूलो सङ्ख्यामा उपस्थितिले प्रस्ट पारेको छ। नेपाली युवाहरू खाडी मुलुकमा मात्र होइन, रोजगारको लागि नै भनेर जापान, द कोरिया, अमेरिका, अस्ट्रेलियालगायत युरोपका विभिन्न राष्ट्रहरूमा पुगेका छन्। उच्च जोखिम वहन र कम लाभ प्राप्त हुने अफ्रिकी मुलुकहरूमा पनि पुगेका छन्।
    अन्तर्राष्ट्रिय श्रम बजारबाट अहिले नेपालले राम्रो आम्दानी प्राप्त गरिरहेको छ। सीमित व्यक्तिको नै भए तापनि, अन्तर्राष्ट्रिय श्रम बजारले, नेपालीहरूको क्रयशक्ति वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ। केही व्यक्तिको आर्थिक जीवन स्तरमा राम्रो बढोत्तरी भएको छ। यो खुशीको कुरा हो।
    एकातिर श्रम बजारबाट नेपालले राम्रो आय प्राप्त गरिरहेको छ भने अर्कोतिर नेपालको कृषि क्षेत्र ज्यादै कम आकर्षक हुँदै गएको छ। यो स्थिति भने सुखद होइन। सीमित व्यक्तिमात्र कृषिमा संलग्न छन्। कृषि क्षेत्र अहिले ज्यादै सीमित व्यक्तिलाई रोजगार दिन सक्षम छ। अर्कोतिर कृषिले आफ्नो प्रतिस्पर्धात्मक क्षमता गुमाउँदै पनि गएको छ। छिमेकी राष्ट्रहरू चीन र भारत, जहाँ कृषि उत्पादन निर्यात गर्न सकिन्छ, त्यहाँको भन्दा नेपालको कृषि उत्पादन महँगो छ, किनभने उत्पादन लागत उच्च छ। यो कारणले गर्दा अब नेपालले कृषि उत्पादन (चामल, दाल, तरकारी, मकै गहुँ, चना आदि) निर्यात गरेर राम्रो आम्दानी प्राप्त गर्ने अवैसर समाप्त हुँदै जान थालेको छ। विश्वका अति ठूला अर्थ व्यवस्था भएका छिमेकी मुलुक चीन र भारतमा नेपालले कृषि उत्पादन बिक्री गरेर लाभ प्राप्त गर्न सक्ने सम्भावना लगभग शून्य हुँदै गएको छ। यो पनि एउटा ठूलो समस्या हो, गम्भीर विषय हो।

    तर निम्न तीन अवस्थामा भने नेपालले कृषिबाट राम्रो आय प्राप्त गर्न सक्ने सम्भावना देखिन्छ।

    (क) पूर्ण लाभ (Absolute Advantage) को अवस्थामा– पूर्ण लाभ त्यस्तो अवस्था हो जस अन्तर्गत कुनै व्यक्ति, सङ्गठन, क्षेत्र वा देशले समान किसिमको वस्तु वा सेवा उत्पादन गर्नेअर्को पक्ष (अर्को देश) भन्दा सस्तोमा उत्पादन गर्दछ। उत्पादन व्यवस्था र यससँग सम्बन्धित अन्य प्रक्रियालाई दक्ष तुल्याएर पूर्ण लाभको अवस्था प्राप्त गर्न सकिन्छ। अबको समयमा नेपाली उत्पादक एवं बिक्रेताहरूले त्यस किसिमको कृषि उत्पादनमा जोड दिनुपर्यो जुन कृषि उत्पादनमा नेपाली उत्पादकहरूलाई पूर्ण लाभको अवस्था प्राप्त हुने स्थिति रहोस्। नेपाली उत्पादकहरूले यस्तो अवस्था (उत्पादन अवसर) को खोजी गर्नुपर्यो। जडिबुटी, खास किसिमको फलफूल, तरकारी आदि उत्पादनमा नेपाली कृषकले पूर्ण लाभको अवस्था प्राप्त गर्न सक्छ।

    (ख) प्रतिस्पर्धात्मक लाभ (Competitive Advantage) को अवस्थामा– प्रतिस्पर्धात्मक लाभको अवस्थामा बजारमा रहेका प्रतिस्पर्धीहरू भन्दा कम मूल्यमा वस्तु वा सेवा बिक्री गर्न सकिने स्थितिबाट प्राप्त हुन्छ। अर्थात् प्रतिस्पर्धात्मक लाभ प्राप्त गरिरहेको सङ्गठन प्रतिस्पर्धीहरूभन्दा सस्तोमा उत्पादन गरेर सस्तोमा बिक्री गर्न सक्षम रहेको हुन्छ। खास किसिमको वितरण व्यवस्था, ब्रान्डको प्रसिद्धि, बौद्धिक सम्पत्ति आदिद्वारा प्रतिस्पर्धात्मक लाभ प्राप्त गर्न सकिन्छ। चिया, अलैंची, अदुवा, अचार, खास किसिमका खाद्य सामग्री आदिको उत्पादनमा नेपालले प्रतिस्पर्धात्मक लाभको अवस्था प्राप्त गर्न सक्छ।

    (ग) प्राकृतिक एकाधिकार (Natural Monopoly) को अवस्थामा– मौलिक वा खास किसिमको कच्चा पदार्थ, खास किसिमको उत्पादन विधि, खास किसिमको प्रविधि, विशेष किसिमको श्रम आदि प्रयोग गरेर प्रतिस्पर्धीहरूको उत्पादन लागतभन्दा सस्तोमा उत्पादन गरेर वा प्रतिस्पर्धीहरूभन्दा छुट्टै किसिमको वस्तु वा सेवा उत्पादन गरेर प्राकृतिक एकाधिकार प्राप्त गर्न सकिन्छ। नेपाली उत्पादकहरूले प्राकृतिक एकाधिकार प्राप्त हुन सक्ने वस्तुहरूको उत्पादन एवं बिक्री गरेर लाभ प्राप्त गर्न सक्ने पर्याप्त सम्भावना छ। जस्तै नेपालीहरू बिक्रेताहरूले धातु, पत्थर, कागज, काठका विभिन्न किसिमका मूर्तिहरूको उत्पादनमा प्राकृतिक एकाधिकार पाउने प्रशस्त सम्भावना छ।

    माथि उल्लेख गरिएका अवस्थाहरू भन्दा फरक अवस्था रहेको स्थितिमा भने नेपालको कृषि उत्पादन विदेशी बजारमा बिक्री गर्न सकिने सम्भावना छैन।

    नेपालको कृषि क्षेत्र दयनीय हुँदै गएको परिप्रेक्ष्यमा नेपालले अब पर्यटनको क्षेत्रमा खास ध्यान पुर्याउन र यो क्षेत्रलाई महत्व दिन आवश्यक छ। अबको स्थितिमा नेपालले राष्ट्रिय अर्थ व्यवस्थालाई पर्यटनमा आश्रित तुल्याउन आवश्यक छ। यसो गर्दा नेपाललाई निकै फाइदा हुन्छ।

    पछिल्लो दशकमा चिनियाँहरूको क्रय शक्ति ह्वात्तै बढेर गएको मात्र छैन, घुमफिरमा पनि निकै खर्च गरिरहेको देखिएको छ। केवल मनोरञ्जन (पर्यटन) का लागि चिनियाँहरू अहिले अमेरिका, युरोप एवं अफ्रिकाका विभिन्न मुलुक पुगिरहेका छन्। सन् २०१६ मा करिब ३० लाख चिनियाँले अमेरिकाको भ्रमण गरेका थिए। सोही अवधिमा ३० लाख भन्दा बढी चिनियाँले युरोपका विभिन्न राष्ट्र (सेनजेन क्षेत्रभित्रका राष्ट्र) को भ्रमण गरेका थिए। सन् २०१७ मा करीब ५० लाख ५० हजार चिनियाँले युरोपका विभिन्न राष्ट्रको भ्रमण गर्ने अनुमान गरिएको थियो। सन् २०१८ लाई China-EU Tourism Year” को रूपमा मनाउने घोषण गरिएको छ । युरोपले चिनियाँ पर्यटकहरूलाई आफ्ना क्षेत्रमा पर्यटनका लागि आकर्षित गर्न निकै जोड दिइरहेको छ। नेपालले पनि चिनियाँ पर्यटकलाई नेपालतर्फ आकर्षित गर्न जोड दिनुपर्यो। उनीहरूलाई नेपाल भित्र्याउन विभिन्न योजना एवं कार्यक्रम निर्माण एवं घोषणामा जोड दिनुपर्यो। नेपाल–चीन पर्यटन विकासको उच्च सम्भावना छ।

    नेपालका लागि भारतीय पर्यटकहरू भन्दा चिनियाँ पर्यटक लाभदायक हुन सक्छन्। यसको दुई कारण छन्। पहिलो भारतीय पर्यटकहरू अधिकांश धार्मिक पर्यटक (आफ्नो सवारी साधनमा आएर आफैंलै ल्याएको खाना खाने) हुन्छन् र उनीहरूले नेपालमा ज्यादै कम पैसा खर्च गर्छन्। दोस्रो भारतीय पर्यटकहरूको क्रय शक्ति चिनियाँ पर्यटकहरूभन्दा तुलनात्मक रूपमा कम छ।

    नेपालले चिनियाँ पर्यटकहरूलाई केवल हवाई होइन, पहाडी मार्गबाट आउन पनि सजिलो हुने कुरामा जोड दिनु आवश्यक छ। चिनियाँ पर्यटक नेपालको लागि आम्दानीको राम्रो स्रोत हुन सक्छन्। चीन अब पहिलेजस्तो कम्युनिस्ट राष्ट्र रहेन। पूँजीवादमा चलेको अहिलेको चीन धेरै कुरामा उदार देखिएको छ, खासगरी आफ्ना नागरिकलाई विदेश भ्रमण गर्न दिने सन्दर्भमा। साथै विदेशमा अध्ययन गर्न दिने सन्दर्भमा पनि।

    १ अरब ४० करोड जति (उच्च) जनसङ्ख्या भएको चीनबाट नेपालले लाभ प्राप्त गर्न सक्ने अत्यधिक सम्भावना छ। नेपालबाट चीनतर्फ विभिन्न सामग्री निर्यात गरेरभन्दा चिनियाँहरूलाई नेपाल भ्रमणका लागि आउन सजिलो हुने नियम बनाएर नेपाल–चीन पर्यटन व्यवसायबाट राम्रो आम्दानी प्राप्त गर्न सकिन्छ। नेपालले चिनियाँ पर्यटकलाई अत्यधिक महत्व दिएको खण्डमा व्यापारको लागि भारतप्रति अति निर्भरता पनि कम भएर जान्छ।

    आफ्नै छेउ (चीन) मा रहेको ठूलो पर्यटन बजारबाट फाइदा लिन नेपालले ढिलो गर्नुहुँदैन। बरु ‘नेपाल–चीन पर्यटन प्रवद्र्धन’ जस्तो निकाय गठन गरेर पर्यटन प्रवद्र्धनका विभिन्न उपाय खोजी गर्ने जिम्मा दिन आवश्यक छ।

    नेपालको कृषि क्षेत्र साँघुरिंदै गएको सन्दर्भमा नेपालमा रोजगार वृद्धि गरेर गरीब नेपालीहरूको आर्थिक जीवनस्तर माथि उकास्न नेपालले पर्यटन व्यवसायमा जोड दिनु आवश्यक छ।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, October 5, 2018