Friday, October 5, 2018

Nepal and Tourism - Article-217


नेपालको अर्थ व्यवस्था पर्यटनमा आश्रित हुनुपर्छ

   नेपालको अर्थ व्यवस्था अब कृषिमा आश्रित नरहेको तथ्य अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली जनशक्तिको ठूलो सङ्ख्यामा उपस्थितिले प्रस्ट पारेको छ। नेपाली युवाहरू खाडी मुलुकमा मात्र होइन, रोजगारको लागि नै भनेर जापान, द कोरिया, अमेरिका, अस्ट्रेलियालगायत युरोपका विभिन्न राष्ट्रहरूमा पुगेका छन्। उच्च जोखिम वहन र कम लाभ प्राप्त हुने अफ्रिकी मुलुकहरूमा पनि पुगेका छन्।
    अन्तर्राष्ट्रिय श्रम बजारबाट अहिले नेपालले राम्रो आम्दानी प्राप्त गरिरहेको छ। सीमित व्यक्तिको नै भए तापनि, अन्तर्राष्ट्रिय श्रम बजारले, नेपालीहरूको क्रयशक्ति वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ। केही व्यक्तिको आर्थिक जीवन स्तरमा राम्रो बढोत्तरी भएको छ। यो खुशीको कुरा हो।
    एकातिर श्रम बजारबाट नेपालले राम्रो आय प्राप्त गरिरहेको छ भने अर्कोतिर नेपालको कृषि क्षेत्र ज्यादै कम आकर्षक हुँदै गएको छ। यो स्थिति भने सुखद होइन। सीमित व्यक्तिमात्र कृषिमा संलग्न छन्। कृषि क्षेत्र अहिले ज्यादै सीमित व्यक्तिलाई रोजगार दिन सक्षम छ। अर्कोतिर कृषिले आफ्नो प्रतिस्पर्धात्मक क्षमता गुमाउँदै पनि गएको छ। छिमेकी राष्ट्रहरू चीन र भारत, जहाँ कृषि उत्पादन निर्यात गर्न सकिन्छ, त्यहाँको भन्दा नेपालको कृषि उत्पादन महँगो छ, किनभने उत्पादन लागत उच्च छ। यो कारणले गर्दा अब नेपालले कृषि उत्पादन (चामल, दाल, तरकारी, मकै गहुँ, चना आदि) निर्यात गरेर राम्रो आम्दानी प्राप्त गर्ने अवैसर समाप्त हुँदै जान थालेको छ। विश्वका अति ठूला अर्थ व्यवस्था भएका छिमेकी मुलुक चीन र भारतमा नेपालले कृषि उत्पादन बिक्री गरेर लाभ प्राप्त गर्न सक्ने सम्भावना लगभग शून्य हुँदै गएको छ। यो पनि एउटा ठूलो समस्या हो, गम्भीर विषय हो।

    तर निम्न तीन अवस्थामा भने नेपालले कृषिबाट राम्रो आय प्राप्त गर्न सक्ने सम्भावना देखिन्छ।

    (क) पूर्ण लाभ (Absolute Advantage) को अवस्थामा– पूर्ण लाभ त्यस्तो अवस्था हो जस अन्तर्गत कुनै व्यक्ति, सङ्गठन, क्षेत्र वा देशले समान किसिमको वस्तु वा सेवा उत्पादन गर्नेअर्को पक्ष (अर्को देश) भन्दा सस्तोमा उत्पादन गर्दछ। उत्पादन व्यवस्था र यससँग सम्बन्धित अन्य प्रक्रियालाई दक्ष तुल्याएर पूर्ण लाभको अवस्था प्राप्त गर्न सकिन्छ। अबको समयमा नेपाली उत्पादक एवं बिक्रेताहरूले त्यस किसिमको कृषि उत्पादनमा जोड दिनुपर्यो जुन कृषि उत्पादनमा नेपाली उत्पादकहरूलाई पूर्ण लाभको अवस्था प्राप्त हुने स्थिति रहोस्। नेपाली उत्पादकहरूले यस्तो अवस्था (उत्पादन अवसर) को खोजी गर्नुपर्यो। जडिबुटी, खास किसिमको फलफूल, तरकारी आदि उत्पादनमा नेपाली कृषकले पूर्ण लाभको अवस्था प्राप्त गर्न सक्छ।

    (ख) प्रतिस्पर्धात्मक लाभ (Competitive Advantage) को अवस्थामा– प्रतिस्पर्धात्मक लाभको अवस्थामा बजारमा रहेका प्रतिस्पर्धीहरू भन्दा कम मूल्यमा वस्तु वा सेवा बिक्री गर्न सकिने स्थितिबाट प्राप्त हुन्छ। अर्थात् प्रतिस्पर्धात्मक लाभ प्राप्त गरिरहेको सङ्गठन प्रतिस्पर्धीहरूभन्दा सस्तोमा उत्पादन गरेर सस्तोमा बिक्री गर्न सक्षम रहेको हुन्छ। खास किसिमको वितरण व्यवस्था, ब्रान्डको प्रसिद्धि, बौद्धिक सम्पत्ति आदिद्वारा प्रतिस्पर्धात्मक लाभ प्राप्त गर्न सकिन्छ। चिया, अलैंची, अदुवा, अचार, खास किसिमका खाद्य सामग्री आदिको उत्पादनमा नेपालले प्रतिस्पर्धात्मक लाभको अवस्था प्राप्त गर्न सक्छ।

    (ग) प्राकृतिक एकाधिकार (Natural Monopoly) को अवस्थामा– मौलिक वा खास किसिमको कच्चा पदार्थ, खास किसिमको उत्पादन विधि, खास किसिमको प्रविधि, विशेष किसिमको श्रम आदि प्रयोग गरेर प्रतिस्पर्धीहरूको उत्पादन लागतभन्दा सस्तोमा उत्पादन गरेर वा प्रतिस्पर्धीहरूभन्दा छुट्टै किसिमको वस्तु वा सेवा उत्पादन गरेर प्राकृतिक एकाधिकार प्राप्त गर्न सकिन्छ। नेपाली उत्पादकहरूले प्राकृतिक एकाधिकार प्राप्त हुन सक्ने वस्तुहरूको उत्पादन एवं बिक्री गरेर लाभ प्राप्त गर्न सक्ने पर्याप्त सम्भावना छ। जस्तै नेपालीहरू बिक्रेताहरूले धातु, पत्थर, कागज, काठका विभिन्न किसिमका मूर्तिहरूको उत्पादनमा प्राकृतिक एकाधिकार पाउने प्रशस्त सम्भावना छ।

    माथि उल्लेख गरिएका अवस्थाहरू भन्दा फरक अवस्था रहेको स्थितिमा भने नेपालको कृषि उत्पादन विदेशी बजारमा बिक्री गर्न सकिने सम्भावना छैन।

    नेपालको कृषि क्षेत्र दयनीय हुँदै गएको परिप्रेक्ष्यमा नेपालले अब पर्यटनको क्षेत्रमा खास ध्यान पुर्याउन र यो क्षेत्रलाई महत्व दिन आवश्यक छ। अबको स्थितिमा नेपालले राष्ट्रिय अर्थ व्यवस्थालाई पर्यटनमा आश्रित तुल्याउन आवश्यक छ। यसो गर्दा नेपाललाई निकै फाइदा हुन्छ।

    पछिल्लो दशकमा चिनियाँहरूको क्रय शक्ति ह्वात्तै बढेर गएको मात्र छैन, घुमफिरमा पनि निकै खर्च गरिरहेको देखिएको छ। केवल मनोरञ्जन (पर्यटन) का लागि चिनियाँहरू अहिले अमेरिका, युरोप एवं अफ्रिकाका विभिन्न मुलुक पुगिरहेका छन्। सन् २०१६ मा करिब ३० लाख चिनियाँले अमेरिकाको भ्रमण गरेका थिए। सोही अवधिमा ३० लाख भन्दा बढी चिनियाँले युरोपका विभिन्न राष्ट्र (सेनजेन क्षेत्रभित्रका राष्ट्र) को भ्रमण गरेका थिए। सन् २०१७ मा करीब ५० लाख ५० हजार चिनियाँले युरोपका विभिन्न राष्ट्रको भ्रमण गर्ने अनुमान गरिएको थियो। सन् २०१८ लाई China-EU Tourism Year” को रूपमा मनाउने घोषण गरिएको छ । युरोपले चिनियाँ पर्यटकहरूलाई आफ्ना क्षेत्रमा पर्यटनका लागि आकर्षित गर्न निकै जोड दिइरहेको छ। नेपालले पनि चिनियाँ पर्यटकलाई नेपालतर्फ आकर्षित गर्न जोड दिनुपर्यो। उनीहरूलाई नेपाल भित्र्याउन विभिन्न योजना एवं कार्यक्रम निर्माण एवं घोषणामा जोड दिनुपर्यो। नेपाल–चीन पर्यटन विकासको उच्च सम्भावना छ।

    नेपालका लागि भारतीय पर्यटकहरू भन्दा चिनियाँ पर्यटक लाभदायक हुन सक्छन्। यसको दुई कारण छन्। पहिलो भारतीय पर्यटकहरू अधिकांश धार्मिक पर्यटक (आफ्नो सवारी साधनमा आएर आफैंलै ल्याएको खाना खाने) हुन्छन् र उनीहरूले नेपालमा ज्यादै कम पैसा खर्च गर्छन्। दोस्रो भारतीय पर्यटकहरूको क्रय शक्ति चिनियाँ पर्यटकहरूभन्दा तुलनात्मक रूपमा कम छ।

    नेपालले चिनियाँ पर्यटकहरूलाई केवल हवाई होइन, पहाडी मार्गबाट आउन पनि सजिलो हुने कुरामा जोड दिनु आवश्यक छ। चिनियाँ पर्यटक नेपालको लागि आम्दानीको राम्रो स्रोत हुन सक्छन्। चीन अब पहिलेजस्तो कम्युनिस्ट राष्ट्र रहेन। पूँजीवादमा चलेको अहिलेको चीन धेरै कुरामा उदार देखिएको छ, खासगरी आफ्ना नागरिकलाई विदेश भ्रमण गर्न दिने सन्दर्भमा। साथै विदेशमा अध्ययन गर्न दिने सन्दर्भमा पनि।

    १ अरब ४० करोड जति (उच्च) जनसङ्ख्या भएको चीनबाट नेपालले लाभ प्राप्त गर्न सक्ने अत्यधिक सम्भावना छ। नेपालबाट चीनतर्फ विभिन्न सामग्री निर्यात गरेरभन्दा चिनियाँहरूलाई नेपाल भ्रमणका लागि आउन सजिलो हुने नियम बनाएर नेपाल–चीन पर्यटन व्यवसायबाट राम्रो आम्दानी प्राप्त गर्न सकिन्छ। नेपालले चिनियाँ पर्यटकलाई अत्यधिक महत्व दिएको खण्डमा व्यापारको लागि भारतप्रति अति निर्भरता पनि कम भएर जान्छ।

    आफ्नै छेउ (चीन) मा रहेको ठूलो पर्यटन बजारबाट फाइदा लिन नेपालले ढिलो गर्नुहुँदैन। बरु ‘नेपाल–चीन पर्यटन प्रवद्र्धन’ जस्तो निकाय गठन गरेर पर्यटन प्रवद्र्धनका विभिन्न उपाय खोजी गर्ने जिम्मा दिन आवश्यक छ।

    नेपालको कृषि क्षेत्र साँघुरिंदै गएको सन्दर्भमा नेपालमा रोजगार वृद्धि गरेर गरीब नेपालीहरूको आर्थिक जीवनस्तर माथि उकास्न नेपालले पर्यटन व्यवसायमा जोड दिनु आवश्यक छ।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, October 5, 2018

No comments:

Post a Comment