नयाँ परिस्थितिः अर्थतन्त्रमा सुधारको आशा न्यून
पुष्पकमल
दाहाल प्रचण्ड नेपालको ४४औं प्रधानमन्त्री नियुक्त (पुस ११, २०७९) भएसँगै नेपालको राजनीति थप
अस्थिर र अनिश्चित भएको छ। राष्ट्रिय राजनीति अनिश्चित भएसँगै राष्ट्रिय
अर्थतन्त्रले अब कस्तो दिशा लिन्छ भन्ने विषय झनै अनिश्चित भएको छ।
प्रचण्ड
नेतृत्वको सरकारले राष्ट्रको अर्थतन्त्रमा तत्काल सुधार ल्याउन के गर्ने हो भनी
अनुमानसम्म गर्न कठिन छ, किनभने
प्रचण्ड कहिलेसम्म प्रधानमन्त्रीको कुर्सीमा बस्ने हुन् भन्ने कुरा निश्चित छैन।
प्रचण्ड दुई/चार महीनासम्म पनि प्रम पदमा रहिरहन कठिन छ। अहिले उदारता देखाएका
एमाले अध्यक्ष केपीशर्मा ओलीले प्रचण्ड प्रम भएको भोलिपल्टदेखि नै प्रचण्डलाई प्रम
पदबाट तल झार्न अनेक षड्यन्त्र गर्नै छैनन् भनी विश्वास गर्न सकिंदैन। बरु
प्रचण्डलाई कहिलेसम्म प्रम पदमा रहन दिने भनी ओलीको मनमा दिन गन्ती प्रारम्भ
भइसकेको होला। एमालेबाट नेकपा माओवादी केन्द्रले समर्थन पाइरहन र सरकार टिकाइराख्न
ओलीले प्रचण्डलाई उनकै दलमा नितान्त एक्लो पार्न सक्छन् र माओवादी केन्द्रको
संसदीय दलका सदस्यहरूलाई आफ्नो पक्षमा ल्याउन सक्छन्, एमाले प्रवेश गराउन सक्छन्। नेपालको
राजनीति हो, भोलि जे पनि हुन सक्छ किनभने हामीकहाँ
राजनीतिक धरातल आदर्श, इमानदारी
र त्याग नभएर षड्यन्त्र, प्रतिशोध
र जालझेल रहेको छ। अनेक षड्यन्त्र गरेर एमालेबाट प्रचण्डलाई बाहिर जान बाध्य
पार्ने ओलीले जब तिनै प्रचण्डलाई हार्दिक स्वागत गर्दै आफ्नो दल (एमाले)को
समर्थनमा तेस्रोपटक प्रम बनाउन तयार हुन्छन् भने भोलि प्रचण्डलाई ओलीले प्रमको
कुर्सीबाट तल झार्न पनि सक्छन्। प्रचण्डलाई पुनः ‘घरको न घाटको’ पार्न सक्छन् माधव
नेपाललाई पारेझैं। ओलीको विगत त्यस्तै छ। ओलीको यो उदारतामाषड्यन्त्रको गन्ध
आइरहेको छ। प्रचण्डको कदममा पनि बेइमानीको (काङ्ग्रेस र माधव नेपालसँग) वास छ।
नियन्त्रणभन्दा
बाहिर नगए तापनि नेपालको अर्थतन्त्र अहिले चिन्ताजनक स्थितिमा पुगेको छ। अहिले
राष्ट्रिय अर्थतन्त्र यतिसम्म कमजोर भएको छ कि देशको चालू खर्च राजस्वले मात्र
धान्न सक्ने स्थिति छैन। मौद्रिक नीतिमा सुधार गर्नुपर्नेछ। औद्योगिक नीतिमा सुधार
गर्नुपर्नेछ। पूँजी बजार चिन्ताजनक स्थितिमा छ, यसमा तत्काल सुधार ल्याउनुपर्नेछ। नेपालको उद्योग र व्यापार झन्झन्
कमजोर भएर देश आयातमुखी हुँदै गएको छ। महँगीले आकाश छोएको छ।
अहिले
विप्रेषणले देशको अर्थतन्त्रलाई कसैगरी जोगाइराखेको छ। यस्तो स्थितिमा देशको
अर्थतन्त्रमा सुधार ल्याउन एउटा स्थायी सरकार गठन हुनुपथ्र्यो। तर कस्तो सरकारको
गठन भयो भने जसको स्थायित्व त परको कुरा, छ महीना पनि टिक्न सक्ने स्थिति छैन। सरकारको नेतृत्वकर्ता
प्रचण्डमाथि रतीभर विश्वास गर्न सकिने आधार छैन।
यो
सरकारको गठन कुनै भद्र सहमतिको आधारमा भएको होइन, देश विकास गर्नका लागि भएको होइन, न स्थिर सरकार दिनका लागि नै भएको हो। यो सरकारको गठन नेता र दलहरूको
स्वार्थपूर्तिका लागि भएको हो। अनेक षड्यन्त्र, छलकपट र जालझेल गरेर भएको हो। यो तथ्य हामी सबैलाई घामझैं छर्लङ्ग छ।
यो कारणले गर्दा पनि यो सरकारको आयु लामो नहुने निश्चित भन्न सकिन्छ। प्रचण्डले यो
सरकारलाई स्थिर रहन दिंदैनन्, ओलीले पनि दिंदैनन्। नेपाली काङ्ग्रेसले दिने कुरै आएन। अब नेपालको
अर्थतन्त्र झनै अस्थिर र अनिश्चित हुनेछ।
अब
प्रचण्डको पृष्ठभूमि, योग्यता
र उनले पाउने कार्य–वातावरणको चर्चा गरौं। यी कुराहरूले देशको अर्थतन्त्रलाई
प्रभाव पार्ने हुनाले यी कुराहरूको चर्चा आवश्यक छ।
प्रचण्डको
विगत र पृष्ठभूमि हत्या, हिंसा
र लुटपाटले भरिएको छ। विगतमा उनले आफ्नो दलका कार्यकर्ताहरूद्वारा, आफ्नो स्वार्थको लागि, हजारौंको हत्या गराएका थिए। हजारौंको
अङ्गभङ्ग गराएका थिए। बैंकहरू लुट्न लगाएका थिए। उद्योगहरूमा आगलागी गराएका थिए।
जुन व्यक्तिले भएकै उद्योग र व्यापारिक केन्द्रहरू तोडफोड गराए, उनैबाट उद्योग र व्यापारको विकास हुन्छ
भनी अपेक्षा गर्नु बालुवाबाट तेल निकाल्नमा समय खेर फाल्नु सरह हुनेछ। बरु
प्रचण्डले अर्थतन्त्रलाई अझै अनिश्चित पार्नेछन्। खराब पार्नेछन्।
शैक्षिक
योग्यता वा कुशलताको हिसाबले पनि उनीबाट आर्थिक विकासका लागि नयाँ–नयाँ योजना एवं
कार्यक्रम आउँला भनी आशा गर्न सकिंदैन। प्रचण्डसँग आर्थिक विकासको लागि न कुनै ठोस
सोच छ, न अनुभव नै छ। उल्टो, प्रचण्डको ऊर्जावान् समय अध्ययन र
चिन्तनमा होइन, भौतिक संरचनाहरू ध्वंस गर्न, षड्यन्त्र गर्नमा बितेको छ। उनले
नेतृत्व गरेको रक्तपातपूर्ण सङ्घर्षमा राष्ट्रको आर्थिक विकासका अनेक महत्वपूर्ण
संरचना ध्वस्त भएका छन्।
प्रचण्डले
पाएको कार्य–वातावरण पनि असहज छ। प्रचण्ड प्रम भए तापनि उनीमाथि ओलीको सदा
नियन्त्रण रहनेछ। आर्थिक क्षेत्रमा प्रचण्डले कुनै पनि किसिमको सुधार गर्न खोजे
उनले अर्थमन्त्री विष्णु पौडेलसँग अनुमति लिनुपर्नेछ किनभने प्रचण्ड प्रम भए तापनि
अदृश्यरूपमा ओली प्रम हुन् र ओलीको इशारामा विष्णु पौडेल चल्नेछन्। प्रचण्डको
भूमिका कठपुतली प्रधानमन्त्रीको हुनेछ। आफू तेस्रोपटक देशको प्रम भएकोमा
प्रचण्डलाई गर्व हुनेछ, त्यो
केवल उनको लागि ठूलो उपलब्धि हो, तर देशलाई निराशा र अनिश्चितताबाहेक केही हात लाग्नेछैन। प्रचण्डको
प्रम कार्यकालमा नेपालको अर्थतन्त्र झनै अस्थिर र गतिशून्य हुनेछ।
नयाँ
सरकार गठन भएपछि प्रम जुन दलका हुन्, अर्थमन्त्री पनि त्यही दलको हुने चलन छ। यस्तो गर्दा राष्ट्रको
आर्थिक विकासका लागि आवश्यक पर्ने नीति, योजना र कार्यक्रम निर्माण र तिनको कार्यान्वयन सजिलो हुन्छ। प्रम र
अर्थमन्त्री दुई दलबाट आएका हुँदा ती दुई महत्वपूर्ण व्यक्तिहरूबीच राम्रो समन्वय
हुन सक्तैन र राष्ट्रको अर्थतन्त्रले अनेक समस्या बेहोर्न थाल्छ। प्रचण्ड आफ्नो
दलको स्वार्थमा र पौडेल आफ्नो दलको स्वार्थमा काम गर्ने हुनाले नेपालको अर्थतन्त्र
झनै तानातानमा पर्नेछ, अस्थिर
हुनेछ। यस कुरामा कुनै शङ्का नलिए हुन्छ।
नेपालको
आर्थिक विकासको इतिहास हेर्ने हो भने नेपालका कम्युनिस्ट नेताहरूले नेपालको
अर्थतन्त्रलाई ध्वस्त पार्दै लगेको प्रस्ट देखिन्छ, अपवादको रूपमा पूर्वप्रम मनमोहन अधिकारीबाहेक। कम्युनिस्ट नेताहरूले
आफ्ना अनेक सङ्गठन (मजदूर, पेशाकर्मी, शिक्षक, विद्यार्थी)का कार्यकर्ता प्रयोग गरेर
देशमा हडताल, तालाबन्दी, चक्काजाम, सडकजाम गराएका प्रमाण छन्। अर्थात्
नेपालका कम्युनिस्ट नेताहरूले नेपालको अर्थव्यवस्थालाई अस्थिर र कमजोर पार्न
महत्वपूर्ण भूमिका खेलेका छन्। यहाँसम्म भएको छ कि कम्युनिस्ट सरकारले आफ्नो
स्वार्थअनुरूप कार्य नगरिदिएको झोंकमा कम्युनिस्ट नेताहरूले भएकै उद्योग ध्वस्त
पारेका छन्। अहिले यो नयाँ परिस्थिति र दुई ठूला कम्युनिस्ट दलको निर्णायक
भूमिकामा सरकार बनेको स्थितिमा देशले आर्थिक विकास गर्ला भनी कल्पना गर्न पनि कठिन
छ। प्रचण्डबाट त झनै के अपेक्षा गर्नु!
प्रचण्ड
नेतृत्वको सरकारको समयमा नेपालको अर्थव्यवस्था अहिले जुन स्थितिमा छ, त्योभन्दा पनि खराब स्थितिमा जानेछ।
अनेक दल, तिनका नेताहरू अनेक स्वार्थ, शक्ति र सत्तामा पुग्न जे पनि गर्न
तयार हुने भएकोले विकृत संस्कृतिले गर्दा यो सरकारबाट नेपालको अर्थव्यवस्था
सुधार्न नयाँ–नयाँ नीति, कार्यक्रम
र योजनाहरू आउला र तिनको कार्यान्वयन कुशलतापूवर्क होला भनी सोच्नु समय खेर फाल्नु
सरह हुनेछ।
प्रचण्डको
लगभग सम्पूर्ण जीवन चतु¥याइँ, छलकपट, सौदाबाजी र धोखाधडीमा बितेको छ। अहिलेको ताजा स्थितिमा हेर्न हो भने
उनले आफ्नो चुनाव क्षेत्र चितवन परित्याग गरे। गोरखामा काङ्ग्रेसको सहयोगमा
काङ्ग्रेसको मतमा चुनाव जिते। काङ्ग्रेसको सहयोगमा चुनाव जिते तर त्यही
काङ्ग्रेसलाई धोखा दिएर कुनै जमानाको आफ्नो घोर शत्रु (प्रचण्डकै भाषामा) ओलीसँग
मिले। माधव नेपाललाई उचालेर एमाले फुटाउन लगाए, पछि माधव नेपाललाई बाटोमा एक्लो छाडेर हिंडे। यो गठबन्धन वर्षौंसम्म
कायम रहन्छ भन्दै देउवालाई छैटौंपटक प्रम हुने सपना देखाए, देउवालाई आफ्नै दलभित्र आलोचित हुने
स्थिति सिर्जना गरिदिए। प्रचण्डले चितवन र गोरखाका मतदाताहरूलाई पनि ठगे।
चौतर्फीरूपमा केवल जालझेलको खेलमा रमाउने र केवल आफ्नो स्वार्थपूर्तिका लागि जे
पनि गर्न तयार हुने व्यक्तिको प्रमकालमा नेपालको अर्थतन्त्रले विकासको गति लिनेछ
भनी सोच्नु दिवास्वप्न मात्र हुनेछ।
स्मरण
रहोस्, १२ बुँदे सहमति, जुन भारतको अगुवाइमा भएको थियो, त्यो प्रचण्डको स्वार्थको लागि भएको
थियो। उनको त्यो स्वार्थ पूरा गर्दा नेपालको राजनीतिमा पहिलोपटक प्रत्यक्षरूपमा
बाह्य शक्ति (भारत) को हस्तक्षेप भएको थियो। नेपालमा बाह्य हस्तक्षेप गराउने
कार्यको प्रारम्भ पनि प्रचण्डबाट नै भएको हो। यस्तो अस्थिर व्यक्तिको नेतृत्वकालमा
देशको अर्थव्यवस्था स्थिर होला भनेर सोच्न त सकिंदैन भने विकास त सुदूरको कुरा हो।
विश्वराज अधिकारी
प्रतीक
दैनिकमा प्रकाशित Friday, December 30,
2022