किन हेर्न नजानु, डोमकच?
म भौजीलाई भेट्न नगएको त के कुरा, भौजीको गाउँसम्म पनि नगएको पाँच वर्षभन्दा बढी भइसकेको थियो। त्यस हुनाले यो पटक निधो गरेर हिँडेको थिए, चन्द्रनिगापुर पुगेर त्यहाँको काम सकिने बित्तिकै भौजीको गाउँ अवस्य जान्छु। अँ मैले भन्न नै बिर्से। त्यो बेला चन्द्रनिगागपुर र गौर बीच मोटर चल्थेन। मैले हिँडेर नै पुग्नु थियो, चन्द्रनिगाहपुरबाट, भौजीको गाउँ। झट्केर हिँडे पनि तिन घण्टा लागथ्यो। एक सुरले हिँडेको हिँड्यै गर्नु पर्थ्यो, चिया पसल यस्तो उस्तो केही थिएन, त्यो गाउँ जाने बाटोमा।
म भौजीको गाउँ पुग्दा साँझ परिसकेको थियो। गाईको बथान जंगलबाट फर्कंदै थियो गाउँमा, दिन भरि चरेर। केही गाईहरुका घाँटीमा झुन्ड्याएका ढोलनाहरु ती गाईहरु हिँड्दा निस्किने अनेक ध्वनीहरु मैले बीरगंजको किर्ति सिनेमा हलमा मेरो समयमा सुनेका हिन्दी गीतभन्दा कम बेजोड थिएनन्। जाडोको सयम भएकोले सबैले आफ्नो आफ्नो आँगनमा घुर लगाउँदै थिए। म भौजीको आँगनमा पुगेर वहाँसँग केही छिन कुरा गरे पछि धुपलालको घरतिर लागे, राति उसैको घरमा बस्ने सुरमा। म गाउँमा पसेको मात्र छु भन्ने थाहा पाउने बित्तिकै धुपलाल आइ पुग्छ मेरो हात समातेर आफ्नो घरतिर लैजान भन्ने मलाई थाहा थियो र त्यही विश्वासले मेरा पाइलाहरु मेरो बाल्य कालको साथी धुप लालको घरतिर बढेका थिए, अन्त कतै नरोकिएर। हुन त भौजीको आग्रह पनि कम थिएन, तर मैले साथी कहाँ जाने निधो नै गरिसकेको थिएँ। भोलि बिहानको खाना भने भौजी कै घरमा खाने भनी बाचा कसम गरेको थिएँ, भौजीसँग।
म त्यो गाउँ पुगेको भोलि पल्टको कुरा हो, म भौजीको आतिथ्य स्वीकार्न पुगें। भौजीलाई थाहा थियो मलाई मसुलार निकै मन पर्छ भनेर। मसुलार पाकेको थियो अनि अचार पनि थियो आमको, डुबौआ। बासमति चामलको भात अनि रहरीको दाल। ऋण गरेको हुनु पर्छ भौजीले यी सामानहरु जुटाउन। भौजीलाई कति जाँगर चलेको थियो म हेरेर दङ्ग परेको थिएँ। ती परिकारहरुले तिनको खास स्वाद भन्दा पनि भाउजुको देवर माथिको सीमाहीन प्रेम प्रदर्शित गरिरहेका थिए। ती परिकारहरु भौजीले मप्रति देखाएको मायाका साक्षी थिए, म बिना कुनै द्विविधा, निर्धक्क भएर भन्न सक्छु, आज यो मितिसम्ममा पनि।
मैल खान मात्र के शुरु गरेको थिएँ, भौजीले बाँसको पंखा चलाउन थाल्नु भयो हातले। मैले हाँस्दै भने- भौजी, यो जाडोमा पनि पंखा? भौजीले भन्नु भयो ‘जाडो छ भन्ने त मलाई पनि थाहा छ, खाना ज्यादै गरम छ, झिंगाहरुले पनि उत्तिकै दु:ख दिइरहेका छन्, त्यसैले यो पंखा चलाएको?’ मलाई प्रष्ट गरि थाहा थियो मेरो अलि बढी नजिक बसेर कुरा गर्न भौजीलाई सजिलो पारिदिएको थियो, त्यो पंखाले। र वहाँले त्यो कुरा भन्न मात्र सक्नु भएको थिएन।
कुराको थालनी भौजीले नै गर्नु भयो। मतिर हेर्दै भन्नु भयो ‘तिमीलाई यो गाउँ आउन खुब मन लाग्छ, है? तर यो पटक त चार पाँच वर्ष पछि आयौ, किन? मैले छोटो उत्तर दिएँ- भौजी धेरै मेहनत गरेर पढ्नु पर्छ, कलेजको पढाई, त्यो पनि साइन्स।’
साइन्सको पढाई किन गर्हो हुन्छ, कति गार्हो हुन्छ, भौजीलाई के थाहा हुनु। एक छिन चुप लाग्नु भयो भौजी। म पनि खानमा नै ब्यस्त भएँ। आफ्नो यौवन काल र मेरो बाल्य अवस्थाका कुराहरु झिक्नु भयो। अन्तहीन श्रृंखलाका रुप लिएका भौजीका कुराहरु त्येति खेर मात्र टुट्थ्ये जब मैले वहाँलाई रोकेर केही भन्थ्ये।
म बालक हुँदा भौजीले मलाई किन त्यसरी आफ्ना कुराहरु सुनाउनु हुन्थ्यो त्यसको पछाडि पनि एउटा कारण थियो। र त्यो कारण थियो मेरो उमेरका साना साना केटाकेटीहरु मध्ये वहाँ मलाई नै बढी मन पराउनु हुन्थ्यो। र म सानो हुँदादेखि नै मसँग निजी र म जस्तो आठ दस वर्षको बच्चालाई भन्ने नमिल्ने कतिपय कुराहरु पनि सुनाउनु हुन्थ्यो। वहाँले भनेका कतिपय कुराहरु मैले युवा अवस्थामा पुगे पछि बल्ल बुझे। भौजी कुनै रात कति बेलासम्म जागा भएको, के के गरेको आदि आदि। हुन त अर्को पनि एउटा कारण थियो- भौजीका पति बुटाइ, एक त अति नै कम बोल्ने त्यस माथि पनि गाँजा खाने बानी। बुटाइ भैयाले बोल्दा पैसा खर्च गर्नु परे झै गरी मुखबाट शब्द झिक्थ्ये। भौजी र बुटाइ भैया बीच कुरा भएको मैले ज्यादै कम देखेको थिएँ। एक सम्पन्न किसानको घरमा हरबाह थिए। बिहानदेखि बेलुकीसम्म उतै बस्दै, राति सुत्न मात्र आउँथे, घरमा बुटाइ भैया। ती किसानको घरमा हुँदा दुईवटा मात्र काम हुन्थ्ये बुटाइ भैयाका- गोरुहरुलाई खुवाउनु, तिनको स्यहार सुसार गर्नु। र यी कामहरुबाट फुर्सत भए पछि मचानमाथि बसेर चिलममा गाँजा भरेर तान्नु। गाँजाको चिलम तान्दा वहाँको मुहारमा अपूर्वको सन्तुष्टि देखिन्थ्यो, मानौ कुनै अति स्वादिष्ठ परिकार खाइरहेको जस्तो। बुटाइ भैयाका यिनै व्यवहारहरुले गर्दा भौजीको धित मर्थ्येन गफ गर्ने, अनि समात्नु हुन्थ्यो मलाई, सुनाउन आफ्ना उकुस मुकुस भएका कुराहरु। म सानो हुँदा वहाँले भनेको एउटा घटना अहिले पनि मलाई याद छ। घटना यस्तो थियो, भौजीको भनाईमा- भौजी पन्द्र सोर्ह वर्षको हुँदा यति राम्री हुनु हुन्थ्यो कि गाउँमा नया उमेरका त के बुढाहरुले पनि अनेक बहाना बनाएर हेर्थ्ये, वहाँलाई। अन्य महिलाहरु इर्षा गरथ्ये वहाँको चन्द्रमा झै उज्यालो रुप देखेर। एक चोटी भौजी तिन चार जना केटीहरुसँग गाउँको सरेहमा घाँस काट्न गएको बेला गाउँमा कपडा बेच्न ल्याउन थालेको एउटा बेपारीले कपडा लादेको घोडालाई बाटोमा राखेर भौजीहरु भएको दिशातिर फर्केर पिसाब मात्र गरेन अन्य जिस्काउने कुराहरु पनि गरेछ, खास गरी भौजीलाई लक्षित गरेर। भौजीले आफ्ना साथीहरुको सहयोगमा त्यो कपडाको बेपारीलाई नाङ्गो पारेर यति किसिमको सजाय दिनु भयो रे, कि त्यो कपडा बेपारी लाजले फेरि त्यो गाउँमा आएन, कहिले फर्केर। भौजीले म जवानीमा यतिसम्म राम्री थिएँ भन्ने प्रमाणको रुपमा त्यो कुरा मलाई त्यस बेला भनेको हुनु पर्छ, उमेरदार भए पछि मात्र बुझे मैले त्यो यथार्थ। तर बालक कालमा मैले के बुझ्नु त्यस्ता दोहरो अर्थ लाग्ने कुराहरुको सार?
म खाना खाँदै थिएँ। भौजीले कुनै घटना सम्झै गरी भन्नु भयो ‘कैलास, तिमीलाई याद छ, एक चोटी मैले तिमीलाई यै गाउँमा डोमकच देखाउन सुनरी फुआको घरमा लगेको थिए, के के भएको थियो त्यो डोमकचमा सम्झिन सक्छौ? के के गरेका थिए त्यो डोमकचमा अनेक रुप धर्नेहरुले? तिम्रो उमेर यस्तै छ सात वर्षको हुनु पर्छ त्यो बेला।’
मैले भने- त्यो डोमकचमा के के देखेको थिए त्यो त याद छैन, बरु केवल आइमाईहरु मात्र थिए त्यहाँ, र डोमकचमा उपस्थित सबै हाँसिरहेका थिए, मात्र याद छ, मलाई भौजी। तर अहिले भने मलाई राम्रो गरी थाहा छ डोमकचमा के हुन्छ र डोमकच हेर्नहरु किन हाँस्छन् भन्ने कुरा।
मेरो कुरा सुने पछि भौजीले भन्नु भयो ‘हेर, कस्तो रमाइलो भएको थियो त्यो डोमकचमा, अहिले सम्झिदा पनि …………..एउटा आइमाई चटाईमा सुतेकी थिई, अर्को आइमाईले भने केटाको रुम धरेकी थिई र सुतेकी थिई त्यही आइमाईसँग। दुबै टास्सिएर सुतेका थिए। त्यस पछि दुबैले के के गरे ………….एकै छिनमा कसैले परालको लुंडामा कपडा लपेटेर बनाएको बच्चा ती दुईको छेउमा राखिदियो। त्यतिकैमा कसैले बच्चा रोएको आबाज निकाल्यो ………………. होइन, त्यो बेलाका यस्ता कुराहरु केही पनि याद छैन, तिमीलाई, हँ कैलास?’
मैले टाउको हल्लाएर ती दृश्यहरु याद नभएको संकेत गरें, भौजीलाई।
भौजीले फेरि भन्नु भयो ‘अर्को दृश्यमा, एउटी आइमाई केटा बनेकी थिइ अर्को आइमाई केटी। दुबै प्रेमी बनेर एक अर्कालाई अँगालो मारेर अनेक किसिमका कामहरु गरे ………………यसरी एक अर्कालाई………. गरे । ……………..पनि गरे। अनि…………………………………………पनि गरे। अरु भन्न नसकिने धेरै कुराहरु ……………………………………….गरे। तिमी जबान मान्छेको अगाडि के भन्नु त्यस्ता कुराहरु …………………यति बुझ कि भन्न नहुने कुराहरु पनि धेरै गरे, डोमकच खेल्नेहरुले।’
भौजीका कुराहरुको श्रृंखला टुटन सकिरहेको थिएनन्, एक पछि अर्को गरी आउँदै थिए। केही अति नै चाँख लाग्दो कुरा बिर्सन थालेकोमा त्यसलाई सम्झे झै गरि भन्नु भयो ‘एउटी आइमाईले यस्तो केटाको रुप धरेकी थिई कि भन्न पनि लाज लाग्छ। उफ, कस्तो बिचित्र…………।’ यति भनेर भौजी निकै बेर हाँस्नु भयो। वहाँको त्यो हाँसोबाट के कुरा प्रष्ट गरि झल्किन्थ्यो भने त्यो डोमकचको सम्झनाले वहाँलाई निकै आनन्दित परिरहेको छ।
चलिरहेको प्रसंगलाई परिवर्तन गर्न मैले भौजीलाई प्रश्न गरे ‘भौजी, आजभोलि त के हुनु त्यस्तो डोमकच, कि हुन्छ पहिले जस्तो, अहिले पनि? अहिलेको मान्छेलाई त्यति फुर्सत कहाँ, पहिले जस्तो। अहिले त मारामार छ बाँच्नका लागि, पहिले त जिवन निकै सरल थियो, होइन त भौजी?
भौजीले केवल सिर हल्लाएर मेरा कुरामा सहमति जनाउनु भयो। तर फेरि त्यो डोमकचको कुरा शुरु गर्नु भयो। मतिर हेरेर आश्चर्य मान्दै सोध्नु भयो ‘होइन, तिमी त सानो हुँदै नै पनि सबै कुरा बुझ्ने जस्तो देखिन्थ्यौ, गहकिलो कुरा गर्थ्यौ। तेज थियौ दिमागको। तिमीलाई त त्यो डोमकचमा देखेका कुराहरु याद हुनु पर्ने हो, होइन र?’
भौजीको प्रश्नको मैले उत्तर दिन। केवल वहाँको मुहारतिर हेरे मात्र। वहाँका दाँत सबै झरिसकेका थिए। गाला र निधारका छालाहरुमा गन्न नसकिने गरी मुजाहरु परेका थिए। बुढौलीको भारले वहाँको कदलाई पनि पहिलेभन्दा अलि सानो पारिदिएको थियो। अलि कुप्रिएर हिँड्नु हुन्थ्यो। कपाल फुलेर सेताम्यै भएको थियो, हिम सिखर झै। मैले भौजीको मुहारमा केही क्षण घोरिएर हेरे। त्यसरी वहाँलाई हेरेको देखेर भौजीले मेरो त्यो हेराईको अनुमान लगाउँदै भन्नु भयो ‘हेर, बुढो भए पछि भगवानले सबै रँग रुप हरेर लैजान्छन। भगवानलाई भेट्न पाए म सोध्थ्ये- भगवान, तिमी किन यस्तो निष्ठुरी? आफैले सिँगार पटार गर्छौ अनि फेरि आफैले त्यो सिँगार पटार खोसिदिन्छौ, मान्छेको? यस्तो किन, निष्ठुरी भएको?’
भौजीको कुरा सुनेर म निकै बेर घोरिए। वातावरण एकै छिन शान्त रह्यो। मौनता निकै बेर कायम रहे पछि त्यसलाई भँग गर्न मैले भौजीतिर हेर्दै प्रश्न गरे- भौजी, यो उमेरमा पनि कसैले हेर्न जाऔ भन्यो भने, तपाँई डोमकच हेर्न जानु हुन्छ त? र पहिले कै जति आनन्द लिन सक्नु हुन्छ?
मेरो प्रश्नको उत्तरमा भौजीले भन्नु भयो ‘किन नजानु डोमकच हेर्न, त्यस्तो रमाईलो पनि छाड्छ कसैले?’विश्वराज अधिकारी