Wednesday, November 30, 2011

Why Not to See Domkach? - Story - 19


किन हेर्न नजानु, डोमकच?


 म भौजीलाई भेट्न नगएको त के कुरा, भौजीको गाउँसम्म पनि नगएको पाँच वर्षभन्दा बढी भइसकेको थियो। त्यस हुनाले यो पटक निधो गरेर हिँडेको थिए, चन्द्रनिगापुर पुगेर त्यहाँको काम सकिने बित्तिकै भौजीको गाउँ अवस्य जान्छु। अँ मैले भन्न नै बिर्से। त्यो बेला चन्द्रनिगागपुर र गौर बीच मोटर चल्थेन। मैले हिँडेर नै पुग्नु थियो, चन्द्रनिगाहपुरबाट, भौजीको गाउँ। झट्केर हिँडे पनि तिन घण्टा लागथ्यो। एक सुरले हिँडेको हिँड्यै गर्नु पर्थ्यो, चिया पसल यस्तो उस्तो केही थिएन, त्यो गाउँ जाने बाटोमा।
म भौजीको गाउँ पुग्दा साँझ परिसकेको थियो। गाईको बथान जंगलबाट फर्कंदै थियो गाउँमा, दिन भरि चरेर। केही गाईहरुका घाँटीमा झुन्ड्याएका ढोलनाहरु ती गाईहरु हिँड्दा निस्किने अनेक ध्वनीहरु मैले बीरगंजको किर्ति सिनेमा हलमा मेरो समयमा सुनेका हिन्दी गीतभन्दा कम बेजोड थिएनन्। जाडोको सयम भएकोले सबैले आफ्नो आफ्नो आँगनमा घुर लगाउँदै थिए। म भौजीको आँगनमा पुगेर वहाँसँग केही छिन कुरा गरे पछि धुपलालको घरतिर लागे, राति उसैको घरमा बस्ने सुरमा। म गाउँमा पसेको मात्र छु भन्ने थाहा पाउने बित्तिकै धुपलाल आइ पुग्छ मेरो हात समातेर आफ्नो घरतिर लैजान भन्ने मलाई थाहा थियो र त्यही विश्वासले मेरा पाइलाहरु मेरो बाल्य कालको साथी धुप लालको घरतिर बढेका थिए, अन्त कतै नरोकिएर। हुन त भौजीको आग्रह पनि कम थिएन, तर मैले साथी कहाँ जाने निधो नै गरिसकेको थिएँ। भोलि बिहानको खाना भने भौजी कै घरमा खाने भनी बाचा कसम गरेको थिएँ, भौजीसँग।
म त्यो गाउँ पुगेको भोलि पल्टको कुरा हो, म भौजीको आतिथ्य स्वीकार्न पुगें। भौजीलाई थाहा थियो मलाई मसुलार निकै मन पर्छ भनेर। मसुलार पाकेको थियो अनि अचार पनि थियो आमको, डुबौआ। बासमति चामलको भात अनि रहरीको दाल। ऋण गरेको हुनु पर्छ भौजीले यी सामानहरु जुटाउन। भौजीलाई कति जाँगर चलेको थियो म हेरेर दङ्ग परेको थिएँ। ती परिकारहरुले तिनको खास स्वाद भन्दा पनि भाउजुको देवर माथिको सीमाहीन प्रेम प्रदर्शित गरिरहेका थिए। ती परिकारहरु भौजीले मप्रति देखाएको मायाका साक्षी थिए, म बिना कुनै द्विविधा, निर्धक्क भएर भन्न सक्छु, आज यो मितिसम्ममा पनि।
मैल खान मात्र के शुरु गरेको थिएँ, भौजीले बाँसको पंखा चलाउन थाल्नु भयो हातले। मैले हाँस्दै भने-  भौजी, यो जाडोमा पनि पंखा? भौजीले भन्नु भयो ‘जाडो छ भन्ने त मलाई पनि थाहा छ, खाना ज्यादै गरम छ, झिंगाहरुले पनि उत्तिकै दु:ख दिइरहेका छन्, त्यसैले यो पंखा चलाएको?’ मलाई प्रष्ट गरि थाहा थियो मेरो अलि बढी नजिक बसेर कुरा गर्न भौजीलाई सजिलो पारिदिएको थियो, त्यो पंखाले। र वहाँले त्यो कुरा भन्न मात्र सक्नु भएको थिएन। 
कुराको थालनी भौजीले नै गर्नु भयो। मतिर हेर्दै भन्नु भयो ‘तिमीलाई यो गाउँ आउन खुब मन लाग्छ, है? तर यो पटक त चार पाँच वर्ष पछि आयौ, किन? मैले छोटो उत्तर दिएँ- भौजी धेरै मेहनत गरेर पढ्नु पर्छ, कलेजको पढाई, त्यो पनि साइन्स।’
साइन्सको पढाई किन गर्हो हुन्छ, कति गार्हो हुन्छ, भौजीलाई के थाहा हुनु। एक छिन चुप लाग्नु भयो भौजी। म पनि खानमा नै ब्यस्त भएँ। आफ्नो यौवन काल र मेरो बाल्य अवस्थाका कुराहरु झिक्नु भयो। अन्तहीन श्रृंखलाका रुप लिएका भौजीका कुराहरु त्येति खेर मात्र टुट्थ्ये जब मैले वहाँलाई रोकेर केही भन्थ्ये।
म बालक हुँदा भौजीले मलाई किन त्यसरी आफ्ना कुराहरु सुनाउनु हुन्थ्यो त्यसको पछाडि पनि एउटा कारण थियो। र त्यो कारण थियो मेरो उमेरका साना साना केटाकेटीहरु मध्ये वहाँ मलाई नै बढी मन पराउनु हुन्थ्यो। र म सानो हुँदादेखि नै मसँग निजी र म जस्तो आठ दस वर्षको बच्चालाई भन्ने नमिल्ने कतिपय कुराहरु पनि सुनाउनु हुन्थ्यो। वहाँले भनेका कतिपय कुराहरु मैले युवा अवस्थामा पुगे पछि बल्ल बुझे। भौजी कुनै रात कति बेलासम्म जागा भएको, के के गरेको आदि आदि। हुन त अर्को पनि एउटा कारण थियो- भौजीका पति बुटाइ, एक त अति नै कम बोल्ने त्यस माथि पनि गाँजा खाने बानी। बुटाइ भैयाले बोल्दा पैसा खर्च गर्नु परे झै गरी मुखबाट शब्द झिक्थ्ये। भौजी र बुटाइ भैया बीच कुरा भएको मैले ज्यादै कम देखेको थिएँ। एक सम्पन्न किसानको घरमा हरबाह थिए। बिहानदेखि बेलुकीसम्म उतै बस्दै, राति सुत्न मात्र आउँथे, घरमा बुटाइ भैया। ती किसानको घरमा हुँदा दुईवटा मात्र काम हुन्थ्ये बुटाइ भैयाका- गोरुहरुलाई खुवाउनु, तिनको स्यहार सुसार गर्नु। र यी कामहरुबाट फुर्सत भए पछि मचानमाथि बसेर चिलममा गाँजा भरेर तान्नु। गाँजाको चिलम तान्दा वहाँको मुहारमा अपूर्वको सन्तुष्टि देखिन्थ्यो, मानौ कुनै अति स्वादिष्ठ परिकार खाइरहेको जस्तो। बुटाइ भैयाका यिनै व्यवहारहरुले गर्दा भौजीको धित मर्थ्येन गफ गर्ने, अनि समात्नु हुन्थ्यो मलाई, सुनाउन आफ्ना उकुस मुकुस भएका कुराहरु। म सानो हुँदा वहाँले भनेको एउटा घटना अहिले पनि मलाई याद छ। घटना यस्तो थियो, भौजीको भनाईमा- भौजी पन्द्र सोर्ह वर्षको हुँदा यति राम्री हुनु हुन्थ्यो कि गाउँमा नया उमेरका त के बुढाहरुले पनि अनेक बहाना बनाएर हेर्थ्ये, वहाँलाई। अन्य महिलाहरु इर्षा गरथ्ये वहाँको चन्द्रमा झै उज्यालो रुप देखेर। एक चोटी भौजी तिन चार जना केटीहरुसँग गाउँको सरेहमा घाँस काट्न गएको बेला गाउँमा कपडा बेच्न ल्याउन थालेको एउटा बेपारीले कपडा लादेको घोडालाई बाटोमा राखेर भौजीहरु भएको दिशातिर फर्केर पिसाब मात्र गरेन अन्य जिस्काउने कुराहरु पनि गरेछ, खास गरी भौजीलाई लक्षित गरेर। भौजीले आफ्ना साथीहरुको सहयोगमा त्यो कपडाको बेपारीलाई नाङ्गो पारेर यति किसिमको सजाय दिनु भयो रे, कि त्यो कपडा बेपारी लाजले फेरि त्यो गाउँमा आएन, कहिले फर्केर। भौजीले म जवानीमा यतिसम्म राम्री थिएँ भन्ने प्रमाणको रुपमा त्यो कुरा मलाई त्यस बेला भनेको हुनु पर्छ, उमेरदार भए पछि मात्र बुझे मैले त्यो यथार्थ। तर बालक कालमा मैले के बुझ्नु त्यस्ता दोहरो अर्थ लाग्ने कुराहरुको सार?
म खाना खाँदै थिएँ। भौजीले कुनै घटना सम्झै गरी भन्नु भयो ‘कैलास, तिमीलाई याद छ, एक चोटी मैले तिमीलाई यै गाउँमा डोमकच देखाउन सुनरी फुआको घरमा लगेको थिए, के के भएको थियो त्यो डोमकचमा सम्झिन सक्छौ? के के गरेका थिए त्यो डोमकचमा अनेक रुप धर्नेहरुले? तिम्रो उमेर यस्तै छ सात वर्षको हुनु पर्छ त्यो बेला।’
मैले भने- त्यो डोमकचमा के के देखेको थिए त्यो त याद छैन, बरु केवल आइमाईहरु मात्र थिए त्यहाँ, र डोमकचमा उपस्थित सबै हाँसिरहेका थिए, मात्र याद छ, मलाई भौजी। तर अहिले भने मलाई  राम्रो गरी थाहा छ डोमकचमा के हुन्छ र डोमकच हेर्नहरु किन हाँस्छन् भन्ने कुरा।
मेरो कुरा सुने पछि भौजीले भन्नु भयो ‘हेर, कस्तो रमाइलो भएको थियो त्यो डोमकचमा, अहिले सम्झिदा पनि …………..एउटा आइमाई चटाईमा सुतेकी थिई, अर्को आइमाईले भने केटाको रुम धरेकी थिई र सुतेकी थिई त्यही आइमाईसँग। दुबै टास्सिएर सुतेका थिए। त्यस पछि दुबैले के के गरे ………….एकै छिनमा कसैले परालको लुंडामा कपडा लपेटेर बनाएको बच्चा ती दुईको छेउमा राखिदियो। त्यतिकैमा कसैले बच्चा रोएको आबाज निकाल्यो ………………. होइन, त्यो बेलाका यस्ता कुराहरु केही पनि याद छैन, तिमीलाई, हँ कैलास?’
मैले टाउको हल्लाएर  ती दृश्यहरु याद नभएको संकेत गरें, भौजीलाई।
भौजीले फेरि भन्नु भयो ‘अर्को दृश्यमा, एउटी आइमाई केटा बनेकी थिइ अर्को आइमाई केटी। दुबै प्रेमी बनेर एक अर्कालाई अँगालो मारेर अनेक किसिमका कामहरु गरे   ………………यसरी एक अर्कालाई………. गरे । ……………..पनि गरे। अनि…………………………………………पनि गरे। अरु भन्न नसकिने धेरै कुराहरु ……………………………………….गरे। तिमी जबान मान्छेको अगाडि के भन्नु त्यस्ता कुराहरु …………………यति बुझ कि भन्न नहुने कुराहरु पनि धेरै गरे, डोमकच खेल्नेहरुले।’
भौजीका कुराहरुको श्रृंखला टुटन सकिरहेको थिएनन्, एक पछि अर्को गरी  आउँदै थिए। केही अति नै चाँख लाग्दो कुरा बिर्सन थालेकोमा त्यसलाई सम्झे झै गरि भन्नु भयो ‘एउटी आइमाईले यस्तो केटाको रुप धरेकी थिई कि भन्न पनि लाज लाग्छ। उफ, कस्तो बिचित्र…………।’ यति भनेर भौजी निकै बेर हाँस्नु भयो। वहाँको त्यो हाँसोबाट के कुरा प्रष्ट गरि झल्किन्थ्यो भने त्यो डोमकचको सम्झनाले वहाँलाई निकै आनन्दित परिरहेको छ।
चलिरहेको प्रसंगलाई परिवर्तन गर्न मैले भौजीलाई प्रश्न गरे ‘भौजी, आजभोलि त के हुनु त्यस्तो डोमकच, कि हुन्छ पहिले जस्तो, अहिले पनि? अहिलेको मान्छेलाई त्यति फुर्सत कहाँ, पहिले जस्तो। अहिले त मारामार छ बाँच्नका लागि, पहिले त जिवन निकै सरल थियो, होइन त भौजी?
भौजीले केवल सिर हल्लाएर मेरा कुरामा सहमति जनाउनु भयो। तर फेरि त्यो डोमकचको कुरा शुरु गर्नु भयो। मतिर हेरेर आश्चर्य मान्दै सोध्नु भयो ‘होइन, तिमी त सानो हुँदै नै पनि सबै कुरा बुझ्ने जस्तो देखिन्थ्यौ, गहकिलो कुरा गर्थ्यौ। तेज थियौ दिमागको। तिमीलाई त त्यो डोमकचमा देखेका कुराहरु याद हुनु पर्ने हो, होइन र?’
भौजीको प्रश्नको मैले उत्तर दिन। केवल वहाँको मुहारतिर हेरे मात्र। वहाँका दाँत सबै झरिसकेका थिए। गाला र निधारका छालाहरुमा गन्न नसकिने गरी मुजाहरु परेका थिए। बुढौलीको भारले वहाँको कदलाई पनि पहिलेभन्दा अलि सानो पारिदिएको थियो। अलि कुप्रिएर हिँड्नु हुन्थ्यो। कपाल फुलेर सेताम्यै भएको थियो, हिम सिखर झै। मैले भौजीको मुहारमा केही क्षण घोरिएर हेरे। त्यसरी वहाँलाई हेरेको देखेर भौजीले मेरो त्यो हेराईको अनुमान लगाउँदै भन्नु भयो ‘हेर, बुढो भए पछि भगवानले सबै रँग रुप हरेर लैजान्छन। भगवानलाई भेट्न पाए म सोध्थ्ये- भगवान, तिमी किन यस्तो निष्ठुरी? आफैले सिँगार पटार गर्छौ अनि फेरि आफैले त्यो सिँगार पटार खोसिदिन्छौ, मान्छेको? यस्तो किन, निष्ठुरी भएको?’
भौजीको कुरा सुनेर म निकै बेर घोरिए। वातावरण एकै छिन शान्त रह्यो। मौनता निकै बेर कायम रहे पछि त्यसलाई भँग गर्न मैले भौजीतिर हेर्दै प्रश्न गरे- भौजी, यो उमेरमा पनि कसैले हेर्न जाऔ भन्यो भने, तपाँई डोमकच हेर्न जानु हुन्छ त? र पहिले कै जति आनन्द लिन सक्नु हुन्छ?
मेरो प्रश्नको उत्तरमा भौजीले भन्नु भयो ‘किन नजानु डोमकच हेर्न, त्यस्तो रमाईलो पनि छाड्छ कसैले?’




विश्वराज अधिकारी



Tuesday, November 29, 2011

A Serious Disease - Nepali Short Story - Abhinaya - 19


गंभीर रोग

यो बिरामीलाई डिस्चार्ज गरि सकिएको छ। रोग पनि……कुनै गम्भीर किसिमको रहेनछ। भोक भोकै धेरै दिन बसेको हुनाले शरीर कमजोर भएको ……। छिटै लग्नु पर्यो अस्पतालबाट, होइन भने अर्को गम्भीर बिरामीलाई बेड उपलब्ध गराउन गार्हो हुन्छ। बेड नपाएर त्यो गंभीर रोग लागेको बिरामीको ज्यानै पनि जान सक्छ अस्पताल प्रमुखले अर्ति-उपदेश सहित डिस्चार्ज भएको त्यो बिरामीको कुरुवाहरुलाई भने।
यो बिरामीको आफन्त , नातागोता कोही पनि छैन। कहाँ लैजाने यसलाई? हामीले त यो बिरामीलाई सडकमा लडिरहेको अवस्थामा उठाएर यो अस्पतालसम्म उपचारका लागि ल्याइदिएका हौ त्यो बिरामीलाई ल्याउने समाजसेवीहरुले जवाफ दिए।
यो बिरामीको व्यवस्था तपाँइहरुले नै जसरी भए पनि मिलाउनु पर्यो। हामीले त रोगीको शारीरिक रोगको इलाज गर्नु पर्ने हो, गर्यौ। गरीबी रोगको इलाज भने हामीसँग छैन केही क्रुद्ध देखिएता पनि मुहारमा सामान्य भाव प्रदर्शित गर्दै अस्पताल प्रमुखले पुन: भने।
समाजसेवीहरु तथा अस्पताल प्रमुखबीचको वार्तालाप सुनिरहेको त्यो बिरामी एउटा रोगवाट मुक्ति पाएकोमा केही प्रशन्न देखिन्थ्यो भने अर्को गम्भीर रोग आरम्भ हुन थालेकोमा ज्यादै चिन्तित।

विश्वराज अधिकारी

Monday, November 28, 2011

Yetbariya - Story - 11 - Bahaliya


एतबरिया

एतबरिया र सोमरिया आर्थिक रुपले समपन्न दुई दिदी बहिनी। दुबैको दुलाहाको धानको बेपार। दुबैसँग एक एक लदनी घोडा। धान किनेर घोडामा लाद्ने र कहिले कटहरिया कहिले चन्द्रनिगाहपुर बजारमा बिक्री गर्ने दुबैको मुख्य काम। गाउँमा अति सम्पन्नहरुमा गणना नभएता पनि बिपन्नहरुमा पनि गणना नभएको। सुकराती, छठ, फगुआ, चकुचन पर्वहरु बिना कुनै कुण्ठा मनाउन पाउने सौभाग्य प्राप्त। दुई दिदी बहिनीको दुईबटा चुल्हो भएता पनि घर भने एउटै।
समपन्न घरमा परेकोमा दुबै दिदी, बहिनी ज्यादै प्रशन्न थिए। खुसी र समृद्धिको जस भगवानलाई दिँदै दुबैले  गएको पाँच वर्षदेखि बरहमबाबाको मन्दिर छेउमा रहेको पीपलको रुखमा जल चढाउँदै आएका थिए। वर्षको एकचोटि सतनरायन भगवानको पूजा लगाउने र बाभन सहित जात कुटुमहरुलाई यथोचित भोजन र दान दक्षिणाको व्यवस्था मिलाउने सम्पन्नता प्रदर्शनको माध्यम बनेको थियो उनीहरु दुबैको लागि।
पाँच वर्ष पछिको कुरा हो एतबरियाको काकाको छोरा जितन बीरगंजबाट फर्केको थियो आफ्नो गाउँ सिउनगर जान। बाटोमा दिदी एतबरियाको घर पर्ने हुनाले दिदीको घरमा एक दुई दिन बस्ने निधो गर्यो। दिदीको घर आएपछि किन हो केही दिन बस्न मन लागेको थियो उसलाई।
घरको काम धन्दा सकिए पछि जितनसंग बसेर गफ गर्ने नयाँ दिनचर्या बनेको थियो एतबरियाको। गफको मुख्य विषय वस्तु हुन्थ्यो ‘बीरगंजको बसाइ’। एक दिनको कुरा हो, एतबरियाको दुलाहा रुदल माझी ढिलोसम्म बजारबाट फर्केको थिएन। एतबरिया र जितन कुरा गर्दै थिए।
जितनले भन्यो ‘आ, मलाई गाउँ ठाउँ त्यति मन पर्दैन। शहर कति रमाइलो हुन्छ कति। बीरगंजमा कति रमाइलो छ कति? दुई दुई ओटा सिनेमा हल। कतै जान पर्यो रिक्सा हाजिर। कचौडी जिलेबी खान मन लाग्यो भरमार होटल। कुनै चीजको कमी नै नभएको। बजार लाग्नको लागि यो दिन त्यो दिन कुर्नै पर्दैन। सँधै बजार लागेको हुन्छ। कहिले मीनाबजार कहिले बिर्ता बजार। कहिले कुन, कहिले कुन’।
‘जितनको मुहारमा शहर बसाईको आनन्द गर्वका साथ प्रतिविम्बित भयो। शहरमा बस्नु ज्यादै गर्वको विषय वस्तु हो भन्ने उसको चिन्तनलाई सत्य प्रमाणित गर्ने उसको प्रयास सफलताको विन्दुतिर अग्रसर हुँदै थियो।
जितनले बीरगंजको बयान जारी नै राख्यो ‘पानीको लागि यहाँ जस्तो डोलले इनारबाट तान्नु नै पर्दैन। सरकारी धाराबाट प्रशस्त पानी आउँछ, थाप्नु मात्रै पर्छ’। तुलनात्मक किसिमले गाउँ भन्दा शहरमा के कस्ता सुबिधाहरु बढी पाउन सकिन्छ भन्ने तथ्य थाहा पाउन एतबरिया निकै उत्सुक देखा परी। जितनले बेलि बिस्तार लगाउने कार्य जारी नै राख्यो ‘बीरगंजमा त कति, रमाइला कुराहरु देख्न पाइन्छ। कुरा गरेर साद्दे नै छैन…………’.
जितन आगमनको तेस्रो दिन दुपहरको बेला, गाउँमा दुल दुल घोडा आएको थियो र दखिनबारी टोलमा नाच्दै थियो। बच्चा बुच्चीहरु र जवानहरु मात्र होइन बृद्धहरु समेत दुलदुल घोडाको नाचा हेर्न दौडिए।
दौडिनेहरु तिर हेर्दै एतबरियाले जितनसँग प्रश्न गरी ‘दुल दुल घोडाको नाच हेर्न जाने होइन? ल हिँड जाऊ, उठ’।
जितनले घोडाको नाचलाई महत्वहीन पार्दै भन्यो ‘आ, जान्न। घोडा बनेर मान्छे नाचेको के हेर्नु? फिलिममा पो हेर्न पाइन्छ घोडाको कमाल। तिमी बीरगंज आएको बेला मलाई भन्नु म तिमीलाई एक से एक राम्रो फिलिम देखाइदिन्छु। खुब राम्रो राम्रो फिलिम लाग्छ। हामी त रक्सौलसम्म पुग्छौ, सिनेमा हेर्न’।
उठनै आँटेकी एतबरिया थुचुक्क बसी। नाच हेर्न जाने इच्छा मन भित्र तीब्र भएता पनि जितनले दुल दुल घोडाको नाचलाई तुच्छ प्रमाणित गरिसकेको हुनाले उसको नजरमा आफू तल परिने भयले जितनको कुरामा सही थाप्दै एतबरियाले भनी ‘हो, ठीक भनेउ तिमीले, घोडा बनेर मान्छे उफ्रेको, त्यो पनि ताल न सुरमा, के हेर्नू? त्यस्तो हेर्न पनि मूर्खहरुको भीड लाग्न शुरु भयो, कस्तो अचम्म, है?’
धान राम्रो भाउमा बिक्री भएकोमा रुदल निकै खुसी देखिएको थियो। एतबरियाको लागि एउटा पहेँलो साडी किन्यो।
नयाँ साडी हातमा लिँदै रुदलले भन्यो ‘निकै फाइदा भयो आज, यस्तो कहिले भएको थिएन’।
रुदलको यो भनाईमा एतबरियाले खासै प्रशन्नता प्रदर्शन गरिन। बरु अनुहारमा निराशा पोख्दै भनी ‘ल ल ठीक छ, बेपारमा तल माथि त भइनै रहन्छ। अँ सुन, गाँउ ठाउँमा कति बस्ने? सधैं त्यै धान, त्यै घोडा, त्यै गाउँ गाउँ घुम्नु अनि बजार जानु। मान्छेले तिमीलाई घोडबाला भनेको मलाई रत्ति पनि मन पर्दैन। हिंड बीरगंज जाऊ। त्यहाँ एउटा दोकान खोलौला’।
रुदलले आश्चर्य मान्दै  प्रश्न गर्यो ‘त्यति ठूलो शहरमा टिक्न सक्छौ? हामी जस्ता हजारौ बेपारीहरु छन् त्यहाँ। फेरि शहरमा बेपार गर्न ठूलो गल्ला चाहिन्छ। हामी जस्ताको के जोर चल्छ त्यहाँ। शहरमा, उफ ……………। भो भो बरु अरु कुनै कुरा गर। यो बालुशाही लगेर राख, नामी हलुवाईको पसलको हो। राति खानु पर्छ’। रुदलले प्रसङ्ग परिवर्तन गर्न खोज्यो।
रुदलको भनाईबाट सन्तुष्ट नभए पनि पहिलो चरणको गुनासोलाई विश्राम दिएर एतबरिया दाउरा बटुल्न हिँडी, रातिको खानाको लागि।
रात पूर्ण जवान भइसकेको थियो। कुकुरहरु निकै कराउँथै थिए। त्यो रात सम्पत्तिको सुरक्षामा विशेष ध्यान पुर्याउनु परेको हुनाले रुदल सुत्न सकेको थिएन। एतबरिया भने कुनै बेला सुत्ने कुनै बेला उठ्ने गरिरहेकी थिई। डाँकाहरुले धाबा बोल्ने हल्ला गाउँमा महामारी झै फैलिएको थियो। विपन्नहरुको लागि त्यो रात अन्य रात झै भए पनि सम्पन्नहरुको लागि भने खास रात हुन पुगेको थियो। तर एतबरियालाई भने डाँका भन्दा बढी शहर जाने रहरले नै बेला बेलामा ब्युँझ्याएको थियो।
रुदलले कोल्टो फर्दै दुलहीको नजीक हुने प्रयास गर्यो। एतबरियाले भने ठाउँ सारी अनि आफूहरु बीचको दूरीलाई पहिले भन्दा निकै फराकिलो बनाई। केही बेर दुबैबाट दूरी कम पार्ने प्रयास भएन। एतबरिया रिसाएको शंका विश्वासमा परिणत भएपछि रुदलले आत्मसमर्पण गर्यो। एतबरियाको क्रोधले हावाबाट हूरीको रुप धारण गर्ला भन्ने भयले भयभीत भयो। एतबरियालाई खुसी पार्न अप्रशन्न स्वरमा घोषणा गर्यो ‘एक महिना पछि हामी बीरगंज जाने’।
रुदलको घोषणा सुनेपछि भावनात्मक तथा भौगोलिक दुवै दूरीलाई एतबरियाले समाप्त पारी। गाउँको सम्पत्ति कसरी थान्को मान्को लगाउने र बीरगंजमा के कस्तो बेपार कसरी गर्ने बारे केही बेर सम्झौतामुखी बहस चलेपछि रातको चौथो पहरमा ती दुवै प्राणी निदाएका थिए विजय हासिल गरेको योद्धा झै।
गाउँ घुम्ने काम पाएको चौकिदार भने रातको चौथो पहरमा पनि कराउँदै थियो ‘खबरदार, पातलो निद्रामा सुत्नु होला। खबरदार !’
रुदल र एतबरिया बीरगंज आएको पाँच वर्ष बितिसकेको थियो। मीना बजारको छेउमा खोलिएको किराना दोकानले नाफा होइन घाटा नै बढी दिएको थियो। उधारो खानेहरुले भुसुक्कै पारेको हुनाले पूँजी जोगाउन समेत गार्यो परेको थियो। रुदललाई, ब्यापारमा ह्रास र पत्नीको खर्चालु स्वभावले गर्दा बेपारको अस्तित्व जोगाउन समेत गार्हो परेको थियो। ठूला बेपारीहरुको अगाडि रुदलको के जोर चलोस्? सिधा साधा, गाउँको धानको बेपारी। ठूला माछाहरुले सजिलै साना माछाहरुलाई खान सक्छन् भन्ने तथ्य रुदललाई छर्लङ्ग भएको थियो। ठूलो रुख मुनी साना विरुबाहरु हुर्कन सक्तैनन् भन्ने यथार्थ एतबरियालाई भने खुलस्त हुन बाँकी नै थियो।
पाँच दिन, दस दिन बिराएर साथीहरु सिनेमा हेर्न गएको र नयाँ नयाँ डिजाइनको सारी किन्न रक्सौलसम्म धाएको दृश्यले एतबरियालाई भतभती पोलेको थियो चैत्र वैशाषको सेतो घामले झै। यो बाहेक एतबरियालाई पोल्ने कुराहरु अरु पनि थुप्रै थिए। एउटा कोठा भित्र गुम्सिएर बस्नु कति कष्टकर भएको थियो कति? पसिनाले चोलो निथ्रुक भिज्दा असह्य हुन्थ्यो। धेरै पटक रुदललाई भनिसकेकी पनि थिई ‘अरु सबैको घरमा बिजुली पंखा छ, हामी दरिद्रको घरमा के हुन्थ्यो? के गर्नु आफ्नो त भाग्य नै खराब। मेरो बाबुले अन्त केटा  पाउन सकेनन् भसिआइ दिए यस्तोमा। शहरको सुख पाइएला भनेर आएको, यहाँ पनि दाउरा बाल्नु पर्ने? स्टोभ किन्न पनि कत्रो गार्हो? साथीहरुको अगाडि दाउरामा पकाउँदा कस्तो लाज लाग्छ?’
एतबरियाद्वारा बोलिएका वाक्यहरु सुनेर रुदलले तत्काल कुनै प्रतिक्रिया जनाएन। एतबरियाले थपी ‘तिमीमा लोग्ने मान्छेमा हुने एउटा गुण पनि छैन, छि कस्तो मान्छे। शहरमा आएर कंगाल भनाउँदाहरु पनि  करोडपति भएका छन्। सेठ मुरलीधर इण्डियाबाट यहाँ आउँदा फकत एउटा पितरिया लोटा लिएर आएको थियो रे। अहिले उसको बीरगंजमा मात्रै कति ओटा कारखाना छन् कति। ट्रक र बस गनेर साद्दे नै छैन। हरेक छोराको लागि अलग अलग घर छ।'
प्रतिक्रिया विहिन रुदलको अनुहारमा हेर्दै संकेतात्मक शैलीमा पुरुषत्वको परिचयपत्र देखाउन एतबरियाले आदेश जारी गरी, रुदललाई। ग्राहक विहिन पसलमा बसेर एतबरियाको भाषण सुन्ने रुदलको दिनचर्या बनिसकेको थियो। उसको अनुहारमा क्रोधको कुनै रेखा कोरिएको देखिएन। गाउँ मै हुँदा किनेको रेडियोमा गीत बजिरहेको थियो – मै क्या करुं राम मुझे बुढ्ढा मिल गया ………… हाय हाय बुढ्ढा मिल गया। स्टेशन बेला बेलामा सर्ने हुनाले ठीक ठाउँमा ल्याउन बेला बेलामा ट्युनिङ्ग घुमाउनु पर्दथ्यो। रुदलले ट्युनिङ्ग मिलाएर गीत सुन्ने चेष्टा गर्नुको साटो रेडियो नै बन्द गरि दियो। अघिदेखि माडिरहेको खैनी मुखमा हाल्यो। एतबरिया बसेको दिशातिर हेर्दै थुक्यो। धेरै बेरसम्म थु उ उ उ  उ गर्यो।
लामो समयसम्म थु गरेको रहस्य एतबरियाले बुझे पछि झनै क्रोधित भई अनि पतिको नजीक पुग्दै रिस पोखी ‘के थु गर्छौ मतिर हेरेर, आफनै बुद्धिमाथि थु गर न’।
अघि देखि शब्द शून्य भई बसेको रुदलले आफूलाई रोक्न सकेन, बिस्तारै बोल्यो ‘तिमीले भनेर त आएको हो नि यहाँ, कि होइन?’ वाकयुद्ध एतबरियाको तर्फबाट मात्रै निकै बेर चल्यो। दुबै चुप लागेता पनि सांकेतिक सम्वाद भने जारी नै रहेको थियो। शान्ति सम्झौताको पहल भने पछि रुदलबाट भयो।
‘रक्सौलमा सस्ता सस्ता साडीहरु पाइन्छन्। साडी पनि किन्ने र सिनेमा पनि हेर्ने। खुब राम्रो फिलिम लागेको छ। हौलसम्म नै टाँगा रिजाप गराउने। तिमी पनि जाने होइन एतबरिया?’ योजनाको पूर्ण विवरण पेश गर्दै रमकलियाले प्रश्न गरी।
‘आ जान्न। सिङ्गो जीउ दुखेको छ’ एतबरियाले अनिच्छा प्रकट गरी। पैसा नभएकाले होइन अस्वस्थ्यताको कारणले गर्दा नगएको भन्ने थप प्रमाण पेश गर्दै भनी ‘हेर न रमकलिया, आज भोलि मलाई के भएको हो? खाना पटक्कै रुच्दैन’।
‘बेपारी मान्छे पैसा जोगाउन खोजेको होली’ साथीहरुतिर हेर्दै रमकलियाले व्यङ्ग गरी। सुख्न थालेको घाउ अनायास नङ्गले घोचिएको अनुभव एतबरियालाई भयो। आफ्नो खस्किदो आर्थिक अवस्थालाई ढाक छोप गर्दै  भनी ‘पैसाको समस्या होइन। सय पचास त कुनै बेला पनि गल्लाबाट झिक्न सकिन्छ। जागिरदारहरु जस्तो पैसाको लागि महिनाको अन्त कुर्नु पर्दैन हामी बेपारीहरुले’। शहर पसेर गफदिने कला राम्रो गरी सिकि सकेकी थिई उसले। रमकलिया उसको उत्तरबाट सन्तुष्ट नभएको यकिन हुन सकेन तर आफ्नो बनाबटी उत्तरबाट ऊ आफै भने सन्तुष्ट हुन सकिन।
‘रक्सौल जान ढिलो हुन्छ, सबै जना तयार भएर मेरो घरमा आउनु है’ भन्दै रमकलिया घरतिर लम्की।
सम्भावित बेइजतिबाट जोगिएकोमा केही क्षण प्रशन्न भई तर आफ्नो उत्तरमा नाटकियपनाको सङ्गकेतसम्म पनि आउन नदिन थप के वाक्यहरु बोल्नु सकिन्थ्यो बारे केही छिन घोरिएर सोंची एतबरियाले।
निराश भएर पसलमा बसेको रुदलतिर हेर्दे एतबरियाले मौन प्रश्न गरी ‘यो स्थितिको लागि जिम्मेदार को हो?’ पत्नीको असन्तुष्टि प्रष्ट गरी थाहा पायो रुदलले। स्थितिलाई हल्का पार्न घ्यार घ्यारे रेडियोमा गीत आउने स्टेसन लगाउने प्रयत्न गर्न थाल्यो उसले।
‘रक्सौलमा अति राम्रो सर्कस आएको छ, अम्पाएर सर्कस’ हरिन्दरले आँखा सन्काउँदै जानकारी पेश गर्यो।
‘के हेर्नु त्यस्तो सर्कस? त्यति राम्रो छैन रे। हेर्नेहरु त्यसै भन्छन्’ एतबरियाले हेर्न जाऊँ भनी राखिने सम्भावित प्रस्तावप्रति प्रतिक्रिया अग्रिम रुपमा पेश गरी।
‘हत कसके भन्यो? कस्तो गजबको सर्कस छ? सुगाले बन्दुक पडकाएको, भालुले साइकल चलाएको अनि पिजरा भित्र मोटरसाइकल हाँकेको’ हरिन्दरले यसरी थप जानकारी पेश गर्यो।
क्षण भर मै प्रसङ्ग परिवर्तन गर्दै भन्यो हरिन्दरले ‘तिम्रो मरदलाई सोझो भन्नु कि लाछी भन्नु खै……………..। कहिले काहिँ तिमीलाई यसो घुमाउन उमाउन पनि त लानु पर्छ नि, हैन? हिंड, म तिमीलाई घुमाउन लग्छु। म कुनै पराई मान्छे होइन। टाढैको भएता पनि नातामा भिनाजु पर्छु। मेरो घरबालीको नहिरा तिम्रो नाहिरा गाउँमा हो कि होइन? लौ भन’।
हरिन्दरका कुराहरुलाई एतबरियाले स्वीकार गरेता पनि सर्कस हेर्न जाने प्रस्ताव भने अस्वीकार गरी। नजाने कारणको भनक भने हरिन्दरलाई लाग्न दिन।
अर्को दिनको कुरा हो, हरिन्दर फेरि एतबरियाको सामु देखा पर्यो। हिजोको प्रस्तावलाई पुन: कोट्यायो ‘मसँग जान तिमीलाई डर लागे जस्तो छ। म पनि खातपिता इज्जतदार घरको मान्छे हो। तिमीलाई सर्कस हेर्ने रहर होला र त्यो पूरा गरिदिऊँ भन्ने उद्देश्यले पो भनेको। तिम्रो मरदलाई देख्छु जहिले पनि जुका झै पसलमा टाँसिएको। हुन त तिम्रो मरदको बारेमा मैले भन्नु मनासिब होइन। तर के गर्नु तिम्रो मुख हेरेर भन्न मन लाग्छ। लोग्ने मान्छे भए पछि अलि हुन्छ नि यसो उसो ………..’।
एतबरियाले अघिदेखिको आफ्नो मौनत भङ्ग गर्दै हरिन्दरको मन्तव्यमा सही थापी ‘हो कस्तो खालको लोग्ने मान्छे, मरद भन्न नै सरम लाग्छ। केटा खोज्ने बेलामा फुफाले मेरो बाबुको मति बिगारी दिएका थिए। मेरी मौसीले मेट्रिक पास, बरगनियाको केटासँग कुरा चलाएकी थिई’।
दोहरो सम्वादले एक क्षण विश्राम लिए पछि मनपेट पाएको हरिन्दरले दरिलो स्वरमा भन्यो ‘हिँड जाउँ एतबरिया सर्कस हेर्न, ढिलो नगर’। सर्कस हेर्न जाने प्रस्तावमा एतबरियाले बिना कुनै सर्त पूर्ण स्वीकृति जाहेर गरी।
होस आए पछि एतबरियाले थाहा पाई आफू कुनै अपरिचित ठाउँमा आई पुगेको। धेरै पटक कराई ‘हरिन्दर कता छौ?’ भनेर। एउटी अपरिचित महिलाले सुटुक्क कानमा ‘त्यो मोराले तिमीलाई बेचेर गयो’ भने पछि आफ्नो स्थिति बारे थाहा पाई। आफू बम्बईको बेश्यालयमा बेचिएकोमा कुनै शंका रहेन उसलाई। अब भने उसलाई रुदलको होइन आफ्नै भाग्य खोंटो भएको पक्का भयो। प्रत्येक दिन आउने पुरुषहरुले एतबरियाको उच्च आकांक्षाको शिखर घन र गलले भत्काउने गरेको उसले अनुभव गरी।
छ महिना पछिको कुरा हो, टाङ्गामा रक्सौलबाट आउँदै गर्दा एतबरियाले बम्बईमा हुँदा गढिमाईलाई गरेको भाखल सम्झी। माईको कृपा आफूमाथि भएकोमा खुसी पनि भई। अब लाग्ने माईको मेलामा पाँच किलो मोतिचूरको लड्डु जसरी भए पनि चढाउने निधो गरी। माईले मुक्ति दिलाएकोमा अति प्रशन्न भई।
टाङ्गाबाट उत्रेपछि एतबरिया सरासर आफ्नो दोकानतिर लागी। उसलाई अचम्म लाग्यो। उसको दोकान हुने गरेको कोठामा होटल खुलिसकेको रहेछ। होटलको नाम थियो – जय नेपाल। आफ्नो लोग्नेले होटल खोलेको हो कि भन्ने झिनो आशा राख्दै छेउमा उभिएकी एक महिलासँग प्रश्न गरी ‘यो होटल रुदलको हो?’
‘को रुदल मलाई थाहा छैन’ त्यो महिलाले जवाफ दिई।
‘यै कोठामा, पहिले किराना दोकान थियो नि’ एतबरियाले खुलस्त पारी।
एतबरियाले खुलस्त पारे पछि त्यो महिलाले थपी ‘ए त्यो किराना दोकनदार, त्यसले त एउटा रिक्साबालीकी स्वास्नीलाई भगाएर लग्यो रे। मान्छेहरुले भनेको सुनेकी हुँ, साँचो हो झूठो हो थाहा भएन’।
थप प्रश्न गर्नु उचित लागेन एतबरियालाई। एतबरिया सरासर बस पार्कतिर लम्की।
आफ्नो गाउँ पुगे पछि एतबरियाले देखी, रुदलले घोडाको पुठ्युँमा धानको बोरा राख्दै गरेको। अलि परैबाट रुदलले एतबरियालाई देख्यो अनि विपरित दिशातिर मुन्टो फर्कायो।
नजीक पुगेर स्थिति मुल्यांकन गर्दै एतबरियाले भनी ‘मौसीको घर गएको, कस्तो हतारमा गएँ जाने बेलामा खबरसम्म पनि गर्न पाइन, कसैलाई। त्यहाँ पुगेर छ महिना बित्दासम्म पनि खबर गर्न सकिएन्’।
बोरामाथिको डोरी कस्दै रुदलले बड्बडायो ‘उतै मरेको भए हुन्थ्यो नि। ठूलो भाग खान शहर हिँडेकी मान्छे, यति छिटै मन अघायो?’
स्थिति तनावपूर्ण भएमा आफ्नो रहस्य उदघाटन हुने भयले अनुहारमा क्रोधहीनताको भाव ल्याउँदै एतबरियाले विस्तारै बड्बडाई ‘तिमीले त रिक्साबालाको स्वास्नी भगाएको रहेछौ नि? त्यै दोकान छेउको नक्कलीलाई। त्यसै भन्छन् देख्ने, सुन्नेहरुले’।
रुदल झस्क्यो। जोडले डोरी तान्न पुग्यो र औँला नराम्रो गरी चेपियो। चेपिएको औलालाई सुमसुम्याउँदै सहायकतिर हेरेर करायो, चर्को आवाजमा ‘ऐ ससुर, पेटारसम्म कस्न आउँदैन तँलाई? घोडा कसरी लाद्छस? कसरी बेपार गरेर बाल बच्चा पाल्ने होला यो सालेले’।
सहायक निकै भयभीत भयो। एतबरिया त्यही उभिरहेकी थिई पहिले जहाँ उभिएकी थिई। रुदलले एतबरियातिर नरहेको जस्तो भान पार्दै तर उसलाई सुनाउने किसिमबाट पश्याताप मिश्रित स्वरमा बोल्यो ‘रण्डी भागी नि, तेरो सबै गहना गुरिया ………… र गल्लाको एक पैसा पनि बाँकी नराखेर। सात गाउँ चाहारे कि रैछ’।
रुदलको कुरा सुनेर एतबरियाले तत्काल कुनै प्रतिक्रिया जनाइन। रुदलले भने संभावित खतरा पन्छिएको अनुमान गर्यो।
छेउमा हटवेले धान तौलिदै थियो। धान भएतिरको तराजुको पलडा ज्यादै तल र ढक भएतिरको ज्यादै माथि भए पछि हटवेले नजीकको कुनै मान्छेले सुन्न सक्ने गरी भन्यो ‘एकातिरको पलडा बढी भयो, दस पन्ध्र किलोको ढक थप्नु पर्ने होला’। एतबरियाले हटवे छेउको ढक उठाएर उसलाई दिई। रुदल र एतबरिया दुबैले पलडा बराबर भएको दृश्य देखे। हटवेले तौलिन शुरु गर्यो ‘रामे राम, रामे राम। रामे दु, रामे दु। रामे तीन रामे तीन। रामे ………….’।
घैलामा राखेको पानी खुट्टामा खन्याई एतबरियाले अनि कोठा भित्र पसी। रुदल पनि त्यो कोठा भित्र पस्यो। रिक्साबालाको स्वास्नी प्रकरणले गहिराई प्राप्त गरेन। एतबरिया प्रवास विषयले विश्राम लियो। सहायकले घोडा चन्द्रनिगाहपुर बजारतिर कुदायो। वातावरण शान्त र शब्दहीन भयो। हटवेले धान तौलिदै थियो ‘रामे पचास, रामे पचास। रामे ………….’।
राति धेरै बेर रुदल र एतबरिया बीच कुराकानी भयो तर केवल वर्तमान र भविष्यको बारेमा, भूतलाई कसैले पनि कोट्याएन। कुरा गर्दा गर्दै रुदल कुन बेला निदायो, एतबरियाले थाहा पाइन। रुदल घुरेको स्वर चर्को भए पछि आफूले मात्रै एकहोरो बोलेको चाल पाई। सुत्ने प्रयास धेरै गरी तर सुत्न सकिन। एकै पल्ट पाएको त्यत्रो खुसीलाई केलाउँदा केलाउँदै रात छर्लङ्ग बितेको थियो एतबरियाको।


विश्वराज अधिकारी 

   

Sunday, November 27, 2011

Expropriation - Fiction of the week - 13

 Expropriation


“Destroying some of the old buildings of the street would not only widen the road but also develop commercial activities in the neighborhood. At least three cars can pass at a time on the road. And all of you whose house will be destroyed during the process will get enough compensation. The expropriation would give a handsome benefit to all home owners” a government officer made a public announcement and did wait to hear the positive reactions from the audiences.
One of the audiences who was going to get the compensation got disappointed after listening to the government officer’s announcement. He asked the officer “Sir, you are going to destroy some of the houses to widen the road. My house is also among them. The destruction of the houses would displace me too. After the destruction of my house I will need to move from the heart of the city and construct a house somewhere at a far end of the city.  How constructing a house somewhere at the end of the city from the center could be the prosperity and development for me?  And, how developing this place would give me the prosperity?”
He added “at the same time, moving somewhere else would end the claim that my house is at the center of the city forever. The right and the joy to say that my house is in the center of the city are invaluable. That is why the compensation is incomparable. That loss is never recovered by the compensation. Or did I not understand the value of the compensation?”
The government officer who was present there to pay the compensation looked confused with the argument made by the person.


Bishwa Raj Adhikari

Saturday, November 26, 2011

The Tears - Poem of the Week 7

 आँशु

सुखमा हाँस्छ आँशु
दुखमा रुन्छ आँशु
थाहा नै नपाइ कति खेर
आँखाबाट झर्छ आँशु

दुख पखाली दिन्छ आँशु
सुख उचाली दिन्छ आँशु
सुख दुखको साथी बन्दै
हरपल साथ दिन्छ आँशु

छैन आँशु बसमा मेरो
आँखामा उसैको अधिकार छ
आँखासँग यसको
अटुट प्यार छ

एक्लोमा साथी आँशु
भीडमा पनि साथी आँशु
सुख दुख मेरो भोग्दै मसँग
सँग सँगै हिंडछ आँशु

मेरो कथा बोकी दिन्छ
मेरो व्यथा बोकी दिन्छ
कस कसले पीडा मलाइ दिए
सबलाई चिन्छ मेरो आँशु

बैरिलाई देख्दा रुन्छ आँशु
मित्रलाई देख्दा हाँस्छ आँशु
कहिले बनी मोतिका दाना गाला भरि
कहिले बन कांढा झै चसक्क घोच्छ आँशु

विश्वराज अधिकारी

Friday, November 25, 2011

Is Population Growth an Obstacle to Economic Development? - Article 19


के जनसंख्या वृद्धि विकासको बाधक हो?

कुनै पनि देशमा हुने जन संख्या वृद्धिलाई त्यस देशको आर्थिक विकासको बाधक तत्वको रुपमा हेरिने अवधारणा नौलो भने होइन। अहिले पनि जनसंख्या वृद्धिलाई आर्थिक समस्याको रुपमा हेरिन्छ र विभिन्न राष्ट्रहरुले जनसंख्या वृद्धिलाई रोक्न विभिन्न किसिमका पाइलाहरु चालेका छन। केही राष्ट्रहरुले त परिवार नियोजन कार्यक्रमलाई देशमा अभियानको रुपमा संचालन समेत गरेका छन। तर यहाँ प्रश्न के उठ्छ भने जनसंख्या वृद्धि के साँच्चै नै कुनै देशको आर्थिक विकासका लागि बाधक तत्व हो त? यदि जनसंख्या वृद्धि यथार्थ मै राष्ट्रिय आर्थिक विकासको बाधक तत्व हो भने विश्वमै सर्वाधिक जनसंख्या हुने पहिलो र दोस्रो राष्ट्रहरु क्रमस: चीन (१,३३,६७,१८,०१५) र भारत (१,१८,९१,७२,९०६) ले अहिले कसरी चमत्कारी किसिमले आर्थिक प्रगति गरि रहेका छन त? परमपरागत रुपमा रहेका आर्थिक महाशक्ति राष्ट्रहरुलाई चुनौति दिइ रहेका छन, यी राष्ट्रहरुले, त्यो पनि केवल सानो समयावधिमा नै। चीन र भारत मात्र होइन, विश्वमा सर्वाधिक जनसंख्या हुने राष्ट्रहरु मध्ये चार नम्बरमा पर्ने इन्डोनेसिया (२४,५६,१३,०४३) र पाँच नम्बरमा पर्ने ब्राजिल (२०,३४,२९,७७३) ले पनि उल्लेखनीय किसिमले आर्थिक प्रगति गरि रहेका छन।
वर्तमान परिप्रेक्ष्यमा अत्यधिक जनसंख्या हुने राष्ट्रहरुले तिब्र गतिमा आर्थिक प्रगति गर्न सक्नुका प्रमुख कारणहरु मध्ये पहिलो र महत्वपूर्ण कारण हो ती देशहरुमा गरिबी व्याप्त हुनु र गरिबी व्याप्त भएको कारणले गर्दा पारिश्रमिक वा ज्याला दर तुलनात्मक रुपमा कम भएर श्रम लागत सस्तो हुनु। ती देशहरुमा श्रम लागत सस्तो भएको हुनाले उत्पादन लागत पनि सस्तो हुन पुगेको छ। यसरी ती देशहरुमा उत्पादन लागत सस्तो भएको हुनाले ती देशहरुले अन्तरार्ष्ट्रिय बजारमा प्रतिस्पर्धीहरु भन्दा सस्तो दरमा आफ्ना वस्तुहरु बिक्री गर्न सकि रहेका छन। वैदेशिक मुद्रा पनि बढी मात्रामा आर्जन गरेर राम्रो पूँजी निर्माण गर्न समेत सक्षम भएका छन।  यसरी ती देशहरुमा व्याप्त रहेको गरिबी ती राष्ट्रहरुका लागि प्रतिस्पर्धात्मक लाभ बन्न पुगेको छ, तत्कालिन अवस्थामा। हुन पनि देशमा व्याप्त गरिबीले गर्दा कामदारहरु सस्तो ज्याला दरमा पनि काम गर्न तत्पर रहेको यथार्थ ती देशहरुमा सहजै देख्न सकिन्छ। तर अर्को तिर विकसित राष्ट्रहरुमा भने लगभग आम नागरिकको नै एक निश्चित स्तरमा आर्थिक स्थिति राम्रो रहेकोले उनीहरुले माग गर्ने वा राज्यले निर्धारण गर्नु पर्ने न्युनत्तम ज्याला दर विकासशील राष्ट्रहरुमा भन्दा स्वभाविक रुपले बढी भएकोले विकसित राष्ट्रहरुमा ज्याला दर तुलनात्मक रुपमा उच्च भएर विकासशील राष्ट्रहरु भन्दा उत्पादन लागत  महँगो हुन पुगेको छ। यो कारणले गर्दा विकासित राष्ट्रहरुले विभिन्न सामाग्रीहरु आफ्नो देशमा उत्पादन गर्दा महँगो हुने तर त्येही सामानहरु विकासशील राष्ट्रहरुबाट आयात गर्दा सस्तो हुने स्थिति उत्पन्न भएको छ। र यो स्थितिको फाइदा विकासशील राष्ट्रहरुले राम्रो गरी उठाइ रहेका छन, मौजुदा परिस्थितिमा।
दीर्घकालमा,  कुनै पनि राष्ट्रमा जनसंख्या बढि हुनु र जनसंख्या वृद्धि पनि उच्च हुनु राम्रो होइन भन्नेहरु अहिले पनि धेरै छन। जनसंख्या बढी हुनुको फाइदा जुन अहिले जनसंख्या धेरै हुने राष्ट्रहरु (भारत, चीन ) ले उठाइ रहेका छन त्यो लघु कालिक हो, उनीहरुको भनाईमा।  थोमस रोबर्ट माल्थस (इ सं१७६६-१८३४) ले त जनसंख्या वृद्धिलाई मानवद्वारा निर्माण गरिने ठूलो समस्यसाको रुपमा नै लिएका थिए। माल्थसका अनुसार यो संसारमा खाद्य सामाग्री गणीतिय किसिम (३,५,७,९,११) ले वृद्धि हुन्छ। जबकी जनसंख्या ज्यामितीय किसिम ( १,२,४,८,१६,३२) ले वृद्धि हुन्छ। अर्थात खाद्य सामाग्री जुन किसिमले वृद्धि (उत्पादन) हुन्छ त्यसको तुलनामा जनसंख्या व्यापक किसिमले वृद्धि हुन्छ। यी दुई कुराहरु- जनसंख्या र खाद्य सामाग्रीको वृद्धि समान किसिमले न भइ दिएको हुनाले असन्तुलनको स्थिति उत्पन्न हुन्छ। र यस किसिमबाट असन्तुलनको स्थिति उत्पन्न हुने भएकोले जनसंख्या नियन्त्रण वा जनसंख्या व्यवस्थापन गर्नु पर्ने आवश्यक हुन आउँछ।
माल्थसको समयको संसार अहिलेको जस्तो आधुनिक सुबिधाहरुले युक्त थिएन। यूरोपमा उद्योगको लहर आइ सकेको थिएन। जन-जिवन बढी मात्रामा कृषिमा आश्रित थियो। कृषि कार्यका लागि पर्मपरागत उपकरणहरुको उपयोग हुन्थ्यो। तर अहिलेको स्थिति निकै फरक छ। कृषि कार्यमा आधुनिक औजार, उन्नत बिऊ, किटनासक औषधि, कुशल भूमि व्यवस्थापन आदिको प्रयोगले गर्दा  उत्पादन लागत कम मात्र भएको छैन साथै थोरै जग्गामा धेरै उत्पादन गर्न सकिने स्थिति पनि उत्पन्न भएको छ।
माल्थसको समयमा यूरोपमा जनसंख्याको चाप उपलब्धको भूमिको तुलनामा निकै बढी थियो। अर्कोतिर कृषियोग्य जमिन पनि प्रशस्त थिएन। त्येति खेर धेरै परिमाणमा, फराकिलो, उब्जाउ जग्गाका लागि यूरोपियनहरु अमेरिका, क्यानाडा जस्ता जनसंख्याको तुलनामा जग्गा बढी हुने ठाउँहरुमा बसाई सर्ने क्रम ज्यादै नै कम मात्रामा शुरू भएको थियो। यसरी, तत्कालिन यूरोपमा  जनसंख्या वृद्धि खाद्य उत्पादनको तुलनामा तिब्र भइ दिनुले माल्थसलाई चिंतित तुल्याएको थियो। त्यस्तो स्थितिले गर्दा माल्थसले यूरोपको भविष्य धमिलो हुँदैछ समेत भनेका थिए।
तर वर्तमान विश्व परिस्थिति निकै पृथक छ। उद्योगको पर्याप्त विकास भएको छ, अहिले। आधुनिक कसिमले कृषि कार्य हुन्छ। यस किसिमको परिस्थितिमा जनसंख्या वृद्धिलाई ठूलो समस्याको रुपमा लिन सकिंदैन। र यस्तो भन्नेहरु पनि धेरै छन।
विकसित राष्ट्रहरुमा ज्याला दर महँगो भएको कारणले गर्दा अहिले नया विश्व परिस्थितिको सृजना भएको छ। र यो विश्व परिस्थितिमा जन संख्या वृद्धि समस्या होइन बरु यो त वर्तमानको विश्व परिस्थितिबाट उत्पन्न भएको एक औसर हुन पुगेको छ। र त्यो औसरको उपयोग भारत र चीन जस्ता अत्यधिक जनसंख्या भएका राष्ट्रहरुले कुसलता पूर्वक गरिरहेक छन।  यो औसरको प्रयोग नेपालले पनि गर्न सक्छ। तुलनात्मक रुपमा नेपालको जनसंख्या उपलब्ध भूमिको आधारमा अति नै बढी नभएता पनि मोजुदा जनसंख्यलाई कम भन्ने स्थिति भने छैन। मौजुदा जनसंख्या उच्च नै हो। तर यो उच्च जनसंख्याको उपयोग गर्न सक्नु पर्दछ, नेपालले। नेपालमा व्याप्त गरिबी र उच्च जन संख्याको कारणले गर्दा, नेपालमा उत्यादन गर्दा, उत्पादन लागत सस्तो पर्ने भएकोले नेपाली सामाग्रीहरु विश्व बजारमा सस्तो हुन पुग्छन। यो औसरको फाइदा उठाउन नेपालका श्रम संगठनहरु, उद्योगपतिहरु एवं व्यापारीहरु तथा सरकार कस्सिएर लाग्नु पर्दछ। र अन्तरार्ष्ट्रिय व्यापारबाट नेपाललाई फाइदा उठाउन सहयोग पुर्याउनु पर्दछ।

विश्रराज अधिकारी

Thursday, November 24, 2011

Free Trade Area 12 Poverty and Economics


१२ स्वतन्त्र व्यापार क्षेत्र

स्वतन्त्र व्यापार क्षेत्र सम्झौतालाई पनि आर्थिक समृद्धि हासिल गर्ने एक माध्यमको रुपम हेर्ने गरिन्छ। स्वतन्त्र व्यापार सम्झौताले निर्यातमा वृद्धि ल्याउने हुँदा यसले राष्ट्रिय उत्पादनमा वृद्धि ल्याउने गर्दछ। राष्ट्रिय उत्पादन र निर्यातमा वृद्धि भएमा रोजगरीमा पनि सोहि अनुसार वृद्धि हुने हुँदा यो सम्झौताले राष्ट्रिय रोजगारीको क्षेत्रलाई ज्यादै फराकिलो पार्ने विश्वाश गरिन्छ। खास गरी विकासशील राष्ट्रहरुले धनी वा आफूभन्दा सम्पन्न राष्ट्रहरुसँग स्वतन्त्र व्यापार क्षेत्र सम्झौता गरेर तुलनात्मक रुपमा बढी फाइदा उठाउन सक्छन भनी धेरै अर्थशास्त्रीहरुको विश्वास रहेको पाइन्छ।
स्वतन्त्र व्यापार क्षेत्रको अवधारणा नौलो भने होइन। यो अवधारणाको विकास १६ रौ तथा १७ रौ सताब्दितिर नै भएको पाइन्छ। त्यसताकाका मरकन्टाइलिष्टहरुले यो अवधारणाको अभ्यास गरेको अध्ययनहरुमा देखिएका छन्। ब्रिटिश राजनैतिक अर्थशास्त्री डेभिड रिकार्डोले सन् १८१७ मा ‘On the Principles of Political Economy and Taxation’ नामक पुस्तक लेखेका थिए जसमा उनले ‘प्रतिस्पर्धात्मक लाभ’ को बारेमा चर्चा गरेका थिए। उनले चर्चा गरेका त्यो प्रतिस्पार्धात्मक लाभलाई पछि स्वतन्त्र व्यापार सम्झौताको रुपमा हेर्न थालियो। ‘प्रतिस्पर्धात्मक लाभको सिद्धान्त’ ले के कुराको वकालत गर्दछ भने व्यापार बाधा (दुई वा सो भन्दा बढी राष्ट्रहरु बीच व्यापार हुँदा उत्पन्न हुने विभिन्न किसिमका समस्या) हरुलाई समाप्त पार्दै दुई वा सो भन्दा बढी राष्ट्रहरु बीच स्वतन्त्र रुपमा व्यापार हुने हो भने राष्ट्रहरुले जुन वस्तु वा सेवाको उत्पादनमा आफूले कुशलता (लागत र गुणमा) हासिल गरेका हुन्छन त्यो वस्तु उत्पादनमा आफूलाई केन्द्रित गर्छन र सोही वस्तुको निर्यात गरेर बढी भन्दा बढी फाइदा पाउन गर्न सक्छन। कुनै पनि राष्ट्रले कुनै खास किसिमको वस्तु वा सेवाको उत्पादनमा विशिष्ठता हासिल गर्नु नै प्रतिस्पर्धात्मक लाभ प्राप्त गर्नु हो।
भौगोलिक बनावट, हावा पानी, श्रम कुशलता, शिक्ष, सामाजिक वातावरण, प्रविधिको विकास, मौलिक वा भिन्न संस्कृति, प्राकृतिक सम्पदा आदिको आधारमा कुनै पनि राष्ट्रले खास किसिमको वस्तु वा सेवाको उत्पादनमा विशिष्ठता हासिल गर्न सक्छ र अर्को राष्ट्रले त्यही वस्तु वा सेवा उत्पादन गर्दा विशिष्ठता वा भिन्नता हासिल नगरेको कारणले उत्पादन असम्भव वा उत्पादन गर्दा अति महँगो हुन सक्छ। उदाहरणका लागि उच्च हिमश्रृङ्खला एवं सगरमाथाको आरोहणबाट केवल नेपालले मात्र बढी आर्थिक फाइदा प्राप्त गर्न सक्छ किनभने प्रकृतिले केवल नेपाललाई मात्र खास किसिमका उच्च हिमश्रृङ्खलाहरु र सगरमाथाको रुपमा उच्च हिमाल दिएको छ। यसै गरि औद्योगिक उत्पादनमा अहिले चिनले संसारमै विशिष्ठता हासिल गरेको विश्वाश गरिएको छ। संसारका अन्य औद्योगिक राष्ट्रहरुको तुलनामा चिनले सस्तोमा वस्तुहरु उत्पादन गर्न सक्छ। र यस्तो उसले कुशल श्रम र उच्च प्रविधिको कारणले गर्दा गर्न सकेको हो। नेपालले स्वतन्त्र व्यापार क्षेत्रको माध्यद्वारा आफ्ना मौलिक, प्रकृतिप्रदत्त र उत्पादनमा विशिष्ठताहासिल गरिएका वस्तुहरु विक्री गरेर अधिक लाभ प्राप्त गर्न सक्छ र उक्त लाभलाई राष्ट्रिय गरिबी कम पार्नमा उपयोग गर्न सक्छ।  
स्वतन्त्र व्यापार क्षेत्र के हो?
दुई वा सो भन्दा बढी राष्ट्रहरुद्वारा एक अर्काको वस्तुलाई कम वा बिना भंसार शुल्कमा आ-आफ्नो राष्ट्रमा प्रवेश गर्न स्वतन्त्रता दिनु स्वतन्त्र व्यापार क्षेत्र ( Free Trade Area) को स्थापना गर्नु हो।  एक सम्झौताद्वारा आ-आफ्नो देशमको सिमामा एक अर्काका वस्तुहरुलाई कम वा विना भंसार शुल्क प्रवेश गर्न दिन दुई वा सो भन्दा बढी राष्ट्रहरु सहमत हुनु नै स्वतन्त्र व्यापार क्षेत्रको निर्माण गर्नु हो। सम्झौता गरेका राष्ट्रहरु एक अर्काको वस्तुहरुलाई बेरोक टोक आ-आफ्नो सिमामा प्रवेश गर्न दिन सहमत भएका हुन्छन। र त्यसरी सहमत हुन गरिएको सम्झौता नै स्वतन्त्र व्यापार सम्झौता (Free Trade Agreement) हो। स्वतन्त्र व्यापार क्षेत्रको निर्माण गर्न एक सम्झौताद्वारा सहमत भएका राष्ट्रहरु आ-आफ्नो राष्ट्रमा आयात गरिने सदस्य राष्ट्रहरुका वस्तुहरुको भंसार शुल्क कम वा निर्मुल पार्न सहमत मात्र भएका हुँदैनन् साथै आयात कोटा, विशेष शुल्क, अन्य शुल्क आदि हटाउन पनि सहमत भएका हुन्छन। स्वतन्त्र व्यापार क्षेत्र निर्माणलाई दोस्रो किसिमको आर्थिक एकीकरण (Economic Integration) को रुपमा हेर्ने गरिन्छ। संसारमा थुप्रै स्वतन्त्र व्यापार क्षेत्रहरुको निर्माण गरिएको पाइन्छ। यसरी निर्माण गरिएका स्वतन्त्र व्यापार क्षेत्रहरु मध्ये नाफ्टा (NAFTA, North American Free Trade Agreement)  लाई उल्लेखनीय मानिन्छ किनभने यो संसारकै सबैभन्दा ठूलो स्वतन्त्र व्यापार क्षेत्र हो। नाफ्टाको स्थापना गर्न संयुक्त राज्य अमेरिका, क्यानाडा तथा मेक्सिको सहमत भएका थिए र त्यो सहमतिमा जनवरी १, १९९४ मा हस्ताक्षर भएको थियो। नाफ्टाको स्थापनाबाट संयुक्त राज्य अमेरिका, क्यानाडा तथा मेक्सिकोले निकै आर्थिक लाभ हासिल गरेको विश्वाश गरिन्छ। तर केहीले भने खास गरी मेक्सिकोले बढी आर्थिक लाभ प्राप्त गरेको भनेका छन।
नाफ्टा बाहेक अन्य थुप्रै स्वतन्त्र व्यापार क्षेत्रहरु छन् जुन यस प्रकार छन्- ASEAN Free Trade Area, Central American Integration System, Central European Free Trade Agreement, Common Market for Eastern and Southern Africa, G-3 Free Trade Agreement, Greater Arab Free Trade Area, Gulf Cooperation Council, North American Free Trade Agreement, South African Development Community, South Asian Free Trade Agreement, Trans-Pacific Strategic Economic Partnership. यी स्वतन्त्र व्यापार क्षेत्रहरुलाइ वहु पक्षीय स्वतन्त्र व्यापार सम्झौताको रुपमा लिने गरिन्छ। दुई पक्षीय रुपमा पनि स्वतन्त्र व्यापार क्षेत्रको सम्झौता गरिएको पाइन्छ त्यस मध्ये केही यस प्रकार छन- ASEAN – Australia – New Zealand  Free Trade Area, ASEAN – China Free Trade Area, ASEAN – India Free Trade Area, ASEAN –Japan Comprehensive Economic Partnership,  ASEAN – Korea Free Trade Area, Caribbean Community and Costa Rica, Caribbean Community and Cuba, Caribbean Community and Dominican Republic.
नेपालले निर्यात व्यापारमा वृद्धि गर्न साफ्टा (SAFTA, South Asian Free Trade Area)  स्थापनाको सहमतिमा जनवरी १, २००६ मा हस्ताक्षर गरेता पनि यसबाट खासै फाइदा उठाउन सकेको भने देखिंदैन। नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, भुटान, माल्दिभ्स, श्रीलंकाद्वारा हस्ताक्षर गरि स्थापना गरिएको साफ्टाबाट नेपालमा आर्थिक फाइदा प्राप्त गर्न सक्ने अवसरहरु भने प्रसस्त छन।

विश्वराज अधिकारी

Wednesday, November 23, 2011

Leader Mohan Prasad's Dream-Story - 18

-
नेता मोहन प्रसादले देखे डरलाग्दो सपना


भगवानको अप्रत्यासित आगमन बाट प्रसन्न हुँदै तर अलि डराएर नेता मोहन प्रसादले भने ‘प्रभु, मेरो घरमा बडो कृपा गरि पाल्नु भयो, म धन्य भए, हजूर यसरी आउनु होला भनी मैले कहिले चिताएको पनि थिन। नेताको कुरा सुनेर भगवानले हाँस्दै भन्नु भयो ‘नेता मोहन प्रसाद, तिमी त नास्तिक व्यक्ति, भगवान प्रति तिम्रो आस्था छैन रे, भन्दै हिँडछौ सारा संसारलाई। तिमी यति बढी आस्तिक हुँदा हुँदै पनि किन म नास्तिक हुँ भन्दै हिँडछौ त जनतालाई, हँ नेता मोहन प्रसाद?’
भगवानको कुराबाट नेता अलि लज्जित भए। नेताले आफ्नो त्यो लज्यामा हाँसो मिसाउँदै भने ‘प्रभु, म के को नास्तिक हुनु, म त एक नम्बर खाँटी आस्तिक मान्छे हो। हजूरलाई थाहा भएकै कुरा हो, भगवानमा मेरो पूरा विश्वास छ । म नास्तिक हो भनेर त केवल जनतालाई भनेको हो मैले। जनतालाई आज भोलि साँचो कुरा भने पछि पत्याउँदैनन्। जुन नेताले जति बढी झूठ बोल्यो उसलाई त्यतिकै बढी पत्याउँछन। अशल गरेर, सत्य बोलेर राजनीति गर्नेको दिन गयो अब, प्रभु। अनि, यस्तो स्थितिमा जनताको मन जित्न झूठको सहारा नलिएर के गर्नु त? आउने चुनावमा उनीहरुको मत कसरी बटुल्ने त, हजूर? कुनै अरु नै उपाए छ भने आज्ञा होस, प्रभु। झूठ न बोलेर पनि चुनाव जित्न सकिने तरिका छ त अर्को कुनै, प्रभुको नजरमा? भगवानले फेरि हाँस्दै भन्नु भयो ‘हेर नेता मोहन प्रसाद, म भन्दा बढी जान्ने सुन्ने त तिमी नै छौ। दाउपेंचमा तिमीलाई कसैले जित्न सक्छ र? हामी भगवानहरुले त थाहा पाउन सक्तैनौ तिम्रा भित्री मनका कुराहरु। तर यसरी सँधै झूठ बोल्यौ भने एक दिन पत्याउन छाडने छन, है, जनताले तिमीलाई, बुझ्यौ।’
भगवानको कुरा सुने पछि नेताले हात जोड्दै अलि लाज मानेर भने ‘प्रभु, सँधै एकै किसिमको झूठ बोले भने पो न पत्याउलान जनताले, सँधै नया नया किसिमको झूठ बोले भने हामीले झूठ बोलेको थाहा नै पाउँदैनन, यी सोझा साझा जनताले। फेरि अर्को कुरा प्रभु, झूठ पनि अलि पत्यारिलो किसिमले आत्म विश्वासका साथ भन्नु पर्छ। प्रभु, जनताको पनि अब झूठो कुरा सुन्ने बानी परिसकेको छ। कहिले काहिँ झुक्किएर हामीले साँचो कुरा गर्दा पत्याउँदैनन, झूठो कुरा सुन्दा सुन्दा। जस्तै, सधै भरि सुद्ध भनी पानी मिसाएको दुध खाएको व्यक्तिले  यथार्थ मै सुद्ध दुध खाए भने पचाउन सक्तैन रे, पेट खराब हुन्छ उसको, अनि त्यस्तो दुध खाने व्यक्तिले सुद्ध दुध दिनेलाई गाली गर्दै भन्छ रे, कस्तो नराम्रो दुध दियौ तिमीले मेरो त पेट नै खराब भयो। अस्ति अस्ति तिमीले नियमित रुपले दिने दुध नै ठीक थियो, सुद्ध थियो।’
नेताले थपे ‘हजूरलाई त सबै कुरा त विदित नै छ। म ठूलो आस्तिक मान्छे हो। हजूरबाट कुनै कुरा लुक्न सक्छ, कहिँ, प्रभु? हजूरलाई त छर्लङ्ग नै मेरो बारेमा।’
नेताले फेरि थपे ‘प्रभुको कृपा सँधै भरि यसै गरि रहि रहोस म माथि। अनि नि प्रभु, अब आउने चुनावमा मैले जिते भने प्रभुको सुनको मूर्ति बनाइ स्थापना गर्ने छु, एउटा सुन्दर मन्दिर निर्माण गरेर त्यो मूर्तिलाई त्यस भित्र राख्ने छु, प्रभु। त्यसैले अहिले प्रभुको आराधना गरेरको, प्रभुलाई आह्वान गरेको, यो कुरा विन्ति गर्न।’
 नेताको कुरा सुने पछि भगवानले अलि रिसाएको जस्तो गरेर भन्नु भयो ‘हेर नेता मोहन प्रसाद, तिमी जनतासँग त सँधै झूठ बोल्छौ नै, तर मसँग पनि झूठो न बोल। मेरो कृपाले तिमीले आउने चुनाव जिते पनि मेरो मन्दिर बनाउने छौ भन्ने कुराको कुनै ग्यारंटी छैन। तिमी सँधै झूठ बोल्ने मान्छेको के विश्वास। गएको चुनाबमा नै तिमीले भनेका थियौ, यो चुनाव जिते भने मेरो निर्वाचन क्षेत्रमा हजूरको एउटा सुन्दर मन्दिर बनाउने छु भनेर, तर खोइ बनाएको। चुनाव जितेको पनि कति वर्ष भइ सक्यो। हो कि होइन, ल भन त?’
भगवान अलि क्रुद्ध भएको हो कि भन्ने अनुमान गर्दै नेताले भगवानको हात माथि आफ्नो सिर राख्दै भने ‘के गर्नु प्रभु, हजूरको कृपाले नै चुनाव जितेको हो। हजूरको दया म माथि त थियो नै तर मेरा कार्यकर्ताहरुको हात पनि कम थिएन मलाई त्यो चुनाव जिताउनमा। उनीहरुले मलाई चुनाव जिताउन हर सम्भव प्रयास गरे। के गरेनन् मेरा कार्यकर्ताहरुले, बुथ कब्जा गरेनन् कि फर्जी मत हालेनन्? जायज नाजायज सबै काम गरे। तर चुनाव जितेर पनि के गर्नु, प्रभु? मेरो पार्टी नै यस्तो पर्यो, कहिले सरकारमा जान न सक्ने। सरकारमा जान पाएको भए, हजूरको मन्दिर बनाउनु कुनै ठूलो कुरा थिएन। सरकारमा जान नसक्ने पार्टीमा बसेर के गर्नु, त्यसैले मैले त्यो पार्टी नै छाडी दिए, र अर्को एउटा छुट्टै पार्टी खोले, प्रभु, आफू त्यो पार्टीको हाली मुहाली हुने विश्वासमा, सरकरमा जान पाइएला भन्ने आशमा ।’
नेता मोहन प्रसाद एकै छिन घोरिए। त्यसरी घोरिएको केही क्षण पछि भने ‘हुनत मैले समय समयमा उचित निर्णय लिएको छु, प्रभु। कति ओटा पार्टी फेरि सके मैल, त्यसैले जहिले पनि म शक्तिसाली छु। तर कस्तो मेरो भाग्य, ‍धेरै पार्टी फेरे पनि, नया पार्टी खोले पनि कहिले सरकारमा पुग्न सकिएन। धन्य मलाई विजयी गराउने ती  जनताहरु, आफू रहेको पार्टी फुटाउँदा पनि, नयाँ पार्टी खोल्दा पनि र यी सबै कुरा केवल आफ्नो स्वार्थ र अहम् का लागि गर्दा पनि पत्याएका छन, मलाई । मैले गर्ने बिरोध सभा, आम सभामा कस्सिएर भाग लिएका छन। मेरो साथ दिएका छन। अविश्वास गरेका छैनन् जनताले। मैले उठाएको मुद्दा गलत छ भन्ने बरु मलाई लागेको हुन्छ तर जनतालाई भने पत्तै हुँदैन, त्यो कुराको। त्यति मात्र हो र,  मैले केवल आफ्नो स्वार्थका लागि कुनै रानैतिक दल वा नेता माथि झूठो आरोप लगाउँदा, गाली गर्दा समेत मेरा कार्यकर्ता र जनताहरु म सँग सँगै लागेर गाली गरेका छन, ती नेता र राजनैतिक दलहरुलाई, मैले गाली गेको उचित छ भन्दै। जनताले मलाई निकै साथ दिएका छन। फलानो व्यक्ति प्रधान मंत्री हुँदा, मैले आफूलाई चर्चामा ल्याउन  उनले गरेको एउटा जन हित कार्यको बिरोध गर्न मैले उनको र उनको पार्टीको बिरुद्धमा जुलुस निकाले, आमरण अनसन बसें, मेरा कार्यकर्ताहरु पनि जोसका साथ त्यो जुलुसमा सहभागी भए,  म सँगै आमरण अनसनमा बसेर बिरोध गरे उनको। भारतको अन्ना हजारेका समर्थकहरु झै, ठूलो संख्यामा समर्थकहरु ओइरिएका थिए मैले गरेको त्यो आमरण अनसनमा। कति विश्वास छ म माथि उनीहरुको। तर उनीहरुको म प्रतिको त्यस्तो विश्वास देख्दा कहिले काहिँ भने ग्लानी बोध हुन्छ, मलाई। सधै जनतासँग झूठ बोलेकोमा मेरो अन्तर आत्माले मलाई धिक्कार छ मन भित्र भित्र। तर धिक्कारेर, ग्लानी गरेर के गर्नु? ग्लानी गरेर, आफूलाई आफैले धिक्कारेर चुनाव जित्न सकिँदैन, सत्तामा पुग्न सकिँदैन, प्रभु। हुन त जनताहरु पनि सबै अशल कहाँ छन र, अपराधी, स्वार्थी र लोभी पापीहरु पनि उत्तिकै छन। तर के गर्नु प्रभु, त्यस्ता खराबहरुको सहयोग नभएमा चुनाब जित्न सकिँदैन, फेरि। अशल मतदाताहरुको सहयोगले जित्न गार्यो छ, बरु उल्टो चुनाब हारिन्छ, अशल मतदाताहरुले प्रचार प्रसार गरे भने। चुनाब हारे पछि भएन त फसाद। कहिले शक्ति हातमा लिएर त कहिले सत्ताको वर पर नै बसेको धेरै समय भयो प्रभु, अब त शक्ति र सत्तामा नभए त बाँच्न नै न सकिने जस्तो भइ सक्यो। शक्ति र सत्ता त चुरोट, चियाको अम्मल जस्तो भएको छ। त्यसैले अनेक किसिमका झूठा मुद्दा मुद्दाहरु उठाएर जनतालाई ती मुद्दाहरुको पछि लगाउनु परेको छ, मैले। कहिले जनकपुरको त कहिले टनकपुरको, कहिले पानीको त कहिले खानीको अनेक किसिमका हावादारी मुद्दाहरु उठाउनु परेको छ। त्यसो न गरे जनताले बिर्सि दिन्छन, प्रभु। फिल्ममा खेल्न नपाएका, चर्चाबाट हराएका हिरो हिरोइनलाई दर्शकहरुले बिर्से जस्तो। जनताले बिर्सि दिए कसरी सक्ति साली हुन सकिन्छ, प्रभु। त्यसैले कुनै न कुनै मुद्दामा अल्झ्याउनु परेको छ जनतालाई। कहिले दमनको बिरोध भन्दै त कहिले शोषणको बिरोध भन्दै। कहिले विभेदको बिरोध भन्दै त कहिले के को ----------। र जनतालाई सडकमा उतार्ने सबै भन्दा सजिलो तरिका भनेको प्रभु , क्षेत्रवाद, राष्ट्रवादको नारा चर्काउनु हो। हामीले यो तरिका प्रयोग गर्दा जहिले पनि हजारौ मानिस आएका छन सडकमा। त्यसैले यो नारा हामीले बढी प्रयोग गर्छौ। हिन्दी फिल्ममा काम गर्ने विवाहित हिरोइनले बजारमा आफ्नो माग बढाउन पत्रकारहरुलाई बोलाएर मेरो फलानो हिरोसँग रोमान्स चलि रहेको छ भन्ने हल्ला बजारमा फैलिएको छ भन्दै आफैले अन्तरवार्ता दिए जस्तो।’
नेताको कुरा भगवानले गंभिरतापूर्वक सुनेरको देखेर उत्साहित हुँदै उनले भने ‘प्रभु, सँधै भरि हामीलाई पनि खुराफाति काम गर्न कहाँ मन लाग्छ र? के गर्नु राम्रो काम गर्न दिँदैन जनताले। कहिले यो गरि दे, कहिले त्यो गरि दे भन्दै आइ पुग्छन समर्थकहरु, कार्यकर्ताहरु। दबाब दिन्छन,  जायज ना जायज काम गर्न। एक चोटी मलाई यति रिस उठ्यो, प्रभु, के भन्नु। एक पटक एउटा मेरो अति नै समर्पित कार्यकर्ता आयो र उसले भन्यो ‘मैले हजूरलाई जिताउन केही गर्न बाँकी राखिन, नेता जी। ज्यान कै बाजी समेत लगाएको थिएँ, बुथ कब्जा गर्न तपाँईको चुनावमा। अहिले हजूरको पालो आएको छ मेरो लागि केही गरि दिने। मैले यस यल सी दिएको छु तर मेरो जाँच बिग्रेको छ, दुइ वटा विषयमा पक्कै फेल हुन्छ। कसलाई हुन्छ भनेर हजूरले मलाई ती विषयहरुमा पास गराइ दिनु पर्यो। त्यो कार्यकर्ताको त्यस्तो कुरा सुनेर त  बैठक कोठाबाट त्यसलाई घाँटीमा हात हालेर निकाली दिउँ जस्तो लागेको थियो मलाई, तर के गर्नु, गएको चुनावमा उसले गरेको सहयोग र आउने चुनावमा उसले गर्न सक्ने मदद झल झली सम्झे मैले। आफ्नो पि ए लाई बोलाएर उसको समस्या लेख्न लगाएँ। उसलाई जसरी पनि यस यल सी पास गराई दिने झूठो विश्वास दिलाएँ। अनि……… यस्तो स्थितिमा झूठ न बोलेर के गर्ने त प्रभु? पढ्ने बेलामा अल्लारिएर हिँड्ने, अनि फेल भए पछि पास गराई दिन भन्ने, के त्यस्ताहरु सँग साँचो बोलेर काम चल्छ त? तर प्रभु, त्यस्ताको काम गर्न मेरो नैतिकताले दिएन। हामीले जनताको काम गर्ने हो भन्दैमा जस्तो सुकै घटिया काम लिएर आइ पुग्छन मान्छेहरु, के भन्नु त्यस्तालाई। म आफूले कम मेहनत गरेर पढेको हुँ, यस यल सि को परीक्षामा दिनको ८ घण्टा पढेको छु। यस यल सि पास गर्न सकिएन त्यो बेग्लै कुरा हो। के गर्ने प्रभु, यसलाई यसो भनि देउ, उसलाई त्यसो भनि देउ  भन्नेहरुको कथा बयान गरेर साद्दे नै छैन। एक चोटी एउटा केटो यसरी नै मेरो घरमा आयो। त्यति खेर म एउटा पार्टीमा प्रवेश भएको थिएँ, पहिलेदेखि जुन पार्टीमा थिएँ, म प्रति त्यो पार्टीले अन्याय गर्यो भन्दै, त्यो पुरानो पार्टी छाडेर। नया पार्टीमा प्रवेश गरे पछि म मन्त्री हुने हल्ला चलेको थियो, काठमाडौमा मात्र होइन, बाहिर पनि। त्यो केटाले के भन्यो, प्रभुले सुनेर पनि अचम्म मान्नु हुनेछ। त्यो केटोले भन्यो एउटा यैलानी जग्गा उसको नाममा दर्ता गराइ दिनु पर्यो। त्यस्तो गराई दिने हो भने उसले त्यो जग्गाबाट आएको पैसा मध्ये आधा मलाई दिने रे। त्यो सुनेर म यति रिसाएँ कि उसले चुनाबमा मलाइ गर्न सक्ने सहयोग पनि बिर्से अनि बेस्सरी गालि गरे त्यसलाई। रातो मुख लगाएर त्यो केटो हिँड्यो, त्यस पछि त्यो कहिले देखा परेन मेरो घरको वरिपरि। अलि अलि तल माथि गर्नु भनेको अर्को कुरा हो, तर त्यस्तो घटिया काम कसरी गर्नु?  त्यस्तो घटिया काम गर्नु त आफ्नो नैतिकता नै बेच्नु हो। त्यो पनि त्यति थोरै पैसा का लागि, त्यस्तो घटिया कामको लागि। मान्छेहरुले हामी माथि आरोप लगाउँ छन, हामीले विकासको काम गरेनौ भनेर। यस्ताहरुले फुर्सत दिए पो विकासको काम गर्नु, राष्ट्र निर्माणको काम गर्नु, होइन त प्रभु?’
नेताको लामो कुरा सुने पछि भगवान दिक्दार मुद्रामा देखिनु भयो। भगवानले अलि खिन्नता भाव मुहारमा ल्याउँदै भन्नु भयो ‘नेता मोहन प्रसाद, मैले छिटै स्वर्गमा जानु छ। आज धेरै देवगणहरुको उपस्थिति छ, एउटा गंभिर विषयमा छलफल गर्न, स्वर्गमा। मलाई सबै देवगणहरुले अनुरोध गर्ने भएका छन एउटा इमानदार नेताको अवतार लिएर यो पृथ्वीमा आउन का लागि। पृथ्वीमा नेता, उनीहरुको विचार र राजनीति सबै अति दुषित भयो रे। राजा रामको पालामा जस्तो राजनीति जन मूखि रहेन अहिले यो पृथ्वीमा। राजनीति नेता मूखि हुन पुग्यो। नेपाल खण्डमा त झन अति नै। नेताहरुलाई सद् बुद्धि प्रदान गर्न र राजनीतिलाई पवित्र तुल्याउन मैले नेताको रुप धारण गरेर यो मृत्यु लोकमा आउनै परेको छ रे, देवगणहरुको बिचारमा। त्यसैले म अब जान्छु। तिम्रो लामो गफ कति सुन्नु।’
भगवानको कुरा सुने पछि नेताले मुहारमा प्रसन्नता ल्याउँदै भने ‘प्रभु, हजूर युवकको रुपमा आउनु भए हुन्थ्यो, यो धरतिमा। वालकको रुपमा आए भने त म हिँडि सकेको हुन्छु, माथि तिर। अनि अर्को चुनावमा मलाई प्रभुको आशिर्वाद प्राप्त होला भन्नेमा म पूर्ण विश्वस्त छु।’
नेताको कुरा सुने पछि भगवान अलि क्रुद्ध हुनु भयो। भगवानले भन्नु भयो ‘नेता मोहन प्रसाद, म तिमीलाई कुनै किसिमको सहयोग गर्दिन। तिमी जस्तो जहिले पनि झूठ बोल्नेलाई किन सहयोग गर्ने। मैले त तिमीले जनताको भलाई गरेको होलाउ, ठूलो त्यागका साथ उनीहरुको सेवामा समर्पित भएको होलाउ भनी अहिलेसम्म तिमीलाई सहयोग गरेको थिएँ। तर तिमीले त केवल आफूलाई र आफ्नो परिवारलाई सहयोग गरेको रहे छौ। जनताको पैसाले महल बनाएका छौ। झोपडिमा बस्ने मान्छे तिमी ……….. । तिम्रो सबै चर्तिकाला मैले धर्तिमा आए पछि मात्र देखे। तिमीले अहिलेसम्म झूठो बोलेर ढाटेको रहेछौ मलाई। अँ हँ अब म तिमीलाई सहयोग गर्दिन।’
नेताले डराउँदै भने ‘हजूर,  हजूरको दया दृष्टि नभए पछि त म बरवाद नै हुन्छु। म जस्तो मान्छे, सधै गफ गरेर जिवन विताएँ, अब राजनीति भन्दा बाहिर गएर मैले के काम नै गर्न सक्छु र, प्रभु। दाउपेँच गरेर नै जिवन बित्यो, अब के काम गर्न सक्छु होला त मैले?। म माथि दया गर्नु पर्यो प्रभुले। आउने चुनावमा मलाई जिताउनु पर्यो। नत्र म वरवाद हुन्छु, घरको न घाट को हुन्छु। प्रभु दया होस प्रभु दया होस, म माथि।’
बोली प्रष्ट हुन नसकेको आबाज मुखबाट निकाल्दै, पलङ्गमा काम्दै गरेको देखेर नेता मोहन प्रसादकी पत्नी कमलाले दिक्क मान्दै भनिन ‘होइन, दिउँसो नै डर लाग्दो सपना देख्नु भए जस्तो छ, नेता ज्यू। उठ्नुस, के के भइसक्यो के के, थाहा छैन। तपाँई चाँई सुत्नमा नै मस्त…….। अलि पहिले नै पार्टी कार्यालयतिर गएर कुरा मिलाएको भए हुन्थ्यो  नि। बरवाद भयो नि!’
पत्नीको कुरा सुने पछि अर्ध निद्रामा रहेका नेताले डराउँदै भने ‘के भयो र त्यस्तो, हँ?’
पार्टीको नीति विपरित काम गरेको, पार्टी फुटाउने उद्योगमा लागेको भनी तपाँईलाई पार्टीबाट निस्कासन गरे, पार्टीमा बलियो पकड भएका तपाँईका बिरोधीहरुले, संस्थापन पक्षले रे। अहिले भरखरै समाचारले भन्यो। त्यो समाचार आउनु भन्दा पहिले बैठकमा थुप्रै कार्यकर्ताहरु तपाँईलाई भेट्न बाटो कुरि रहेका थिएँ, त्यस्तो समाचार सुने पछि ती सबै उठेर हिँडे, तपाँईलाई भेट्दै न भेटि। मैले तपाँईलाई भनेको त थिएँ नि, त्यो पार्टीमा नजानुस भनेर, मान्नु भएन।  मन्त्री बन्ने सुरमा त्यो पार्टीमा जानु भयो, हान्निएर, दायाँ बायाँ बिचार नगरेर। देख्नु भयो त …………… अब …..। खानु भयो नि धोका।’ पत्नीले सुनाएको यो कुराबाट आश्चर्य चकित हुँदै नेताले भने ‘हँsssssssss

विश्वराज अधिकारी
http://samakalinsahitya.com/reloaded.php?show=detail&art_id=3593
समकालिन साहित्य डट कम मा प्रकाशित 

Tuesday, November 22, 2011

Tasteless Tea - Nepali Short Story - Abhinaya - 18


रंग नपुगेको चिया

ए ठूल्नानी दिदी, मिठो चिया पकाउन सिकाइ देऊ न। जति मेहनत गरेर पकाए पनि मिठो छैन, स्वादिलो भएन, रंग नै पुगेको छैन भन्छन् खान आउनेहरु मनमायाले रुन्चे स्वरमा आफ्नो गाउँले दिदीलाई दुखेसो सुनाई।
मनमायाले भन्ने क्रम जारी नै राखी तिमीले पकाएको चियामा के त्यस्तो स्वाद छ, जहिले पनि भीड देख्छु खान आउनेहरुको। पसलमा बस्ने ठाउँ नै हुँदैन। मैले त, बिहान पकाएको चिया दिउँसोसम्म बिक्री गर्नुपर्छ। साँच्चै, लौन। मलाई स्वादिलो चिया पकाउने तरिका सिकाइ देऊ न।
चियालाई स्वादिलो पार्न चियापत्ती ………… मात्र बढी हालेर राम्रो रंग आउँदैन, स्वादिलो पनि त्यति हँदैन। त्यसमा अलिकति जवानीको रंग पनि मिसाउनु पर्दछ। त्यसो गरि सके पछि हेर्नु, चिया स्वादिलो भएन, रंग पुगेको छैन भन्नेहरुकले स्वादिलो छ, रंग पुगेको छ भनी खान थाल्छन ठूल्नानीले मनमायाको शरीर त्यसपछि मुहारतिर सम्पुर्ण दृष्टि राख्दै सल्लाह दिई।

विश्वराज आधिकारी

Monday, November 21, 2011

Jindabad Jindabad Jindabad - Story - 10 Bahaliya


जिन्दाबाद, जिन्दाबाद, जिन्दाबाद

‘जिम्दार मालिकको घरमा ठूलो चोरी भयो। हँसुली, काँडा, बाजु गरेर पाँच किलो। सबै सुनको। चोर यो गाउँ कै हुनुपर्छ। बाहिरकालाई के थाहा, जिम्दार मालिकको गरगहनाबारे’ अन्तर सम्वादमा बोलिएका यी वाक्यहरुले विगत एक हप्तादेखि समाचारको शीर्ष रुप लिएका थिए।
आज ठीक दुपहरमा जिम्दार मालिकको दुरा (आँगन) मा सगुन (चोर पत्ता लगाउने विधि) हुँदैछ, सुन चोर पत्ता लगाउन। मँगरु धामीले सगुन गर्ने। गाँउका सबै लोग्ने मान्छे त्यहाँ उपस्थित हुनू। मुखियासाहेबको आदेश छ। नआउनेलाई दस रुपियाँ जरिबाना र जात पानीबाट हटाउने’ चौकिदारको यो आदेशात्मक सूचनामा अनुरोध कम जिम्दारको क्रोध बढी प्रतिविम्बित देखियो।
‘आदेश अति कडा भयो। अव्यवहारीक पनि। धान कटनी छाडेर पन्चैतीमा जानु पर्ने? हाम्रो मुखियासाहेब सठियाई गए। यस्तै हो भने अब मुखिया फेर्नुपर्छ। साला मुखिया, जिम्दारको कुत्ता। जिम्दारको अगाडि पुच्छर हल्लाउँछ। जिम्दारका नोकरहरुले नै चोरेका होलान। आफूले नै चोर पालेको छ’। परोक्षमा बोलिने यस्ता वाक्यहरु बाहेक चौकिदारले सुनाएको त्यो सूचनामा कसैले आपत्ति प्रत्यक्ष रुपमा प्रकट गरिएको देखिएन।
जिम्दार मालिकको दुरा पूरै भरिएको थियो। बेहरी राख्न बनाइएको मचानमा जिम्दार मालिक बसेका थिए। जिम्दार मालिकको छेउमा मुखिया साहेब अनि मुखिया साहेबको छेउमा हेडमास्टर साहेब, आधार प्राइमरी स्कूलको। केही गण्यमान्यहरु चटाईमा बसेका थिए। बाँकी सबै भुइँमा।
जिम्दार मालिकले मुखिया साहेबतिर हेरे। मुखिया साहेबले मँगरु धामीतिर। मँगरु धामीले कुरा बुझे अनि घोषणा गरे ‘जिम्दार मालिकको त्यत्रो सुन चोरी भएको सबैलाई थाहा नै छ। म अब सगुन गर्छु। सगुनको तरिका यस्तो छ – मेरो हातमा रहेको यो कचौरालाई मैले पूजा गर्नेछु। पूजा सकिएपछि यो कचौरा आपसेआप उडेर चोरको तिघ्रामा गाडिने छ’ यति भनेर धामीले मुखिया साहेबतिर हेर्दै सोधे ‘चोर  पक्रिए पछि त्यसलाई सजायँ र मेरो बक्सिस के हुने छ?’
‘धामीलाई एउटा सुनको हँसुली र चोरको दाहिने हात काट्ने’ अग्रस्थानमा बसेर एक व्यक्तिले बृद्धस्वरमा बोल्यो। बैठक केही बेर मौन भयो।
‘के को एउटा मात्र दुइबटै हात काट्नु पर्छ’ यो भनाई रामऔतारको थियो।
तेस्रोले भन्यो ‘दुई बटै हात दुई बटै खुट्टा काटेर साले चोरलाई अपाहिज बनाउनु पर्छ। त्यत्तिकै छाड्नु हुँदैन।'
बैठकमा उपस्थित सबै एकैपटक कराए ‘हो, साले चोरलाई अपाहिज बनाएर भीख माग्न लगाउनु पर्छ’।
‘अब मेरो अचुक जादु सुरु हुन्छ। तैपनि एउटा सल्लाह छ – कसैले चोरेको हो भने भन, म सजायँ कम गरिदिन्छु’ यति भनेर धामीले आफ्नो भनाइको प्रतिक्रिया हेर्न थाले। धामीले केही बेर पछि पुन: भने ‘सजायँ केबल दस कोर्या’।
‘यति कम सजायँ, त्यति ठूलो अपराध गर्नेलाई? हुँदैन। कदापि हुँदैन’ धेरै व्यक्तिहरु कराए। केही बेर होहल्ला नै भयो।
‘चुप लाग, पहिले सगुन हुन देउ’ मुखिया साहेब गर्जे। सबै शान्त भए। बलेको आगोमा पानी बेस्सरी हालिए झै।
‘माफ पाउँ मालिक, मेरो बुद्धिले बिष्टा खायो। मैले ठूलो भूल गरे, क्षमा पाऊँ। हजूर ठूलो मान्छे, यो सानो मान्छेलाई जीवनदान दिनुहोस्। हजूरको घरमा चोरी गरेर ठूलो अपराध गरेँ। चोरी त अब म गर्दै गर्दिनँ, आफ्नो मुख पनि अब कसैलाई देखाउँदिनँ। यो गाउँबाट निकाला गरि दिनु होस्, मलाई मंजुर छ। अर्को गाउँमा जान्छु’ यति भनेर बिल्टु हजराले जिम्दार मालिकको खुट्टामा टाउको राख्यो। जिम्दार मालिकले एक लात बिल्टुको टाउकोमा हिर्काए। चोर पत्ता लागेकोमा उपस्थित सबै खुसी भए। मुखिया साहेबले सम्पूर्ण दृश्यलाई नियालेर हेरे।
‘बिल्टु हजरा चोर भए पनि अति विद्वान, बुद्धिमान, साहसी तथा कुशल मान्छे हो। जिम्दार मालिकको तिजोरी खोलेरे गर गहना झिक्नु कम ठूलो कुरा हो? कति बढी दिमाग लगाउनु परेको होला। त्यति ठूलो र बलियो तिजोरी खोल्न र बन्द गर्न पाँचवटा साँचो चाहिन्छ। तोड्ने हो भने, घनले पनि तोड्न सकिदैन, पाँच जना लोहार बोलाउनु पर्छ। बीस मनको तिजोरी त्यो, कति बलियो छ कति? होइन त जिम्दार मालिक?’ मुखिया साहेबका यी वाक्यहरु जिम्दार मालिकले बुझेको भाव उनको मुखबाट अस्पष्ट देखियो। जिम्दार मालिकले भने ‘तिजोरी त बलियो नै हो।’
मुखिया साहेबले फेरि भने ‘त्यस्तो बलियो तिजोरी खोल्नु भनेको चानचुने कुरा हो? यो गाउँमा छ त्यस्तो कोही जसले त्यस्तो तिजोरी खोल्न सकोस्? म चुनौति दिन्छु, कसैमा बुद्धि र बल छ भने अगाडि आए हुन्छ। तिजोरी खोल्नेलाई दस हजार इनाम र एउटा भैँसी बक्सिस।’
कसैको मुखबट कुनै शब्द निस्केको सुनिएन। बरु बिल्टु जति बल, बुद्धि नभएकोमा लघुताभासको धूवाँभित्र रुमलिए धेरै जना। मुखिया साहेबले आफ्नो भनाई जारी नै राखे ‘त्यस्तो बलियो तिजोरी खोली, कसैलाई थाहा नै नदिई चोर्नु भनेको ठूलो कुशलता हो अनि बुद्धिमानी पनि। बरु बिल्टुलाई पुरस्कार दिनुपर्छ, एक जोर सुनको बाजु’।
बिल्टु भने अलमलमा परेको थियो। निर्णय उसको पक्षमा वा विपक्षमा हुने हो यकिन हुन सकेन उसलाई।
हेडमास्टर साहेब मचानबाट तल झरे। उनको मुखबाट निस्को ‘सत्यको परिभाषा व्यक्तिपिच्छे फरक फरक हुँदो रहेछ’। पन्चैतीमा उपस्थित कसैले पनि त्यो वाक्यको अर्थ बुझेको देखिएन। दर्शनशास्त्रमा आचार्य उनीहरुले गरेका पनि त थिएनन् नि हेडमास्टर साहेबले जस्तो। हेडमास्टर साहेब ‘मलाई अलि सञ्चो भएन’ भनी स्कूलतिर लागे।
‘साँच्चै, बिल्टु विलक्षण प्रतिभाको धनी हो। त्यत्रो तिजोरी खोल्नु भनेको असाधरण कुरा हो’ रामभरोसीको यो प्रतिक्रियामा जगन, ठिठर, पासपत सबैले पूर्ण आत्मविश्वासका साथ ‘हो’ भने। एक भूतपूर्व मुखियाले थपे ‘बिल्टु बास्तवमै विद्वान हो अनि पराक्रमी पनि।’
मुखिया साहेबले आदेशात्मक शैलीमा भनेको सुनियो ‘बिल्टुलाई अघि राखेर यो गाउँ घुम्नु पर्छ, उठौ।’
‘महान बिल्टु जिन्दाबाट’ मुखिया साहेब र जिम्दार मालिक दुबैले एकै पटक नारा लगाए। भीडमा उपस्थित केहिले भने कानेखुसी गरे। मुखिया साहेबले फेरि नारा लगाए ‘महान बिल्टु जिन्दाबाद, जिन्दाबाद, जिन्दाबाद!’
पन्चैतिमा उपस्थित सबैले मुखिया साहेबको अनुसरण गर्दै ठूलो स्वरमा कराए ‘महान बिल्टु जिन्दाबाद, जिन्दाबाद, जिन्दाबाद।’
पचासौ, सयौ व्यक्तिहरु एकै साथ उठे। बिल्टु अघि अघि ठूलो जमात पछि पछि। नारा लगाएको सुनियो ‘महान बिल्टु जिन्दाबाद, जिन्दाबाद, जिन्दाबाद’। बिल्टुलाई अघि लगाएर गाउँ घुम्ने काम धेरै बेरसम्म चलि रह्यो, पन्चैति पछि, त्यो गाउँमा।


विश्वराज अधिकारी