ब्राह्मणक्षत्रियविशां शूद्राणां च परन्तप।
कर्माणि प्रविभक्तानि स्वभावप्रभवैर्गुणै:।।४१।।
(हे परन्तप, ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्रहरुको कर्म-कार्य उनीहरुको स्वभावजन्य गुणहरुका अनुसार-आधारमा विभाजन गरिएको छ। यो विभाजन जन्मको आधारमा गरिएको होइन।)
नोट: धेरै विद्वानहरुले यो स्लोकको अर्थ उल्लेख गर्दा ब्राह्मण, क्षेत्रिय, वैश्य र शूद्र जन्मको आधारमा होइन व्यक्तिको कार्यको आधार वा उनीहरुमा देखिने प्रवृतिको आधारमा गरिएको भनी प्रष्ट पारेका छन्।)
शमो दमस्तप: शौचं क्षान्तिरार्जवमेव च।
ज्ञानं विज्ञानमास्तिक्यं ब्रह्मकर्म स्वभावजम्।।४२।।
(शान्त, स्व-नियन्त्रण, तपस्या, शुद्धता, सहनशीलता, इमान्दारी, ज्ञान, विद्वता, धर्मपरायणता यी सबै ब्राह्मण- स्वभावबाट उत्पन्न हुने कर्महरु हुन।)
नोट: शान्त, स्व-नियन्त्रित, तपस्या गर्ने, शुद्ध रहने, सहनशील, इमान्दार, ज्ञानी, विद्वान, र धर्मपरायण स्वभावका व्यक्तिहरु ब्राह्मण हुन।)
शौर्यं तेजो धृतिर्दाक्ष्यं युद्धे
चाप्यपलानम्।
दानमीश्वरभावश्च क्षात्रंम कर्म स्वभावजम्।।४३।।
(वीरता, तेजमय-शक्तिशाली, धैर्यता, चातुर्यता, युद्धकुशल-रणभूमिबाट डराएर नभाग्ने, दानशील, स्वाभिमानी-लोक नेतृत्वकर्ता यी क्षत्रिय स्वभावका कर्महरु हुन।)
कृषिगोरक्ष्यवाणिज्यं वैश्यकर्म स्वभावजम्।
परिचर्यात्मकं कर्म शूदस्यापि स्वभावजम्।।४४।।
(कृषि कार्य, गौरक्षा-पालन, व्यापार संचालन आदि वैश्य स्वभावका कर्महरु हुन। सबै समुदायका व्यक्तिहरुको सेवा गर्नु शूद्रहरुका लागि स्वभाविक कर्म हो।)
नोट: माथिको स्लोकको अर्थ, वैश्यहरुको जीवन आधार व्यापार एवं कृषि र शूद्रहरूको श्रम रहेको भनी, लगाउन सकिन्छ। निर्धन, केवल कोरा श्रम गरेर खाने वर्गका व्यक्तिहरु शूद्र हुन।)
अध्येष्यते च य इमं धर्म्यं संवादमावयो:।
ज्ञानयज्ञेन तेनाहमिष्ट: स्यामिति मे मति:।।७०।।
( र जो व्यक्तिहरुले हामी दुईका यी धर्ममय वार्ताहरु सुन्ने, पढ्ने र मनन् गर्नेछन् तिनीहरुले मलाई अवश्य पनि ज्ञानयज्ञले पूजा गर्नेछन्। यस्तो मेरो विचार छ।)
श्रद्धावाननसूयश्र्च शृणुयादपि यो नर:।
सोSपि मुक्त शुभालँ लोकान् प्राप्नुयात् पुण्यकर्मणाम्।।७१।।
(विश्वासका साथ र इर्षारहित भएर केवल यो ज्ञान-गीतशास्त्रको श्रवण मात्र गरे पनि त्यस्तो गर्नेहरुले पापहरुबाट मुक्ति पाएर पून्यकर्मीहरुलाई प्राप्त हुने शुभलोक प्राप्त गर्दछन्।)
कच्चिदेतच्छुतं पार्थ त्वयैकाग्रेण चेतसा।
कच्चिदज्ञानसम्मोह: प्रणष्टस्ते धनञ्जय।।७२।।
अठारौं
अध्यायको व्याख्या
यो गीताको समापन अध्याय हो। यस अध्यायमा पनि भगवान्
श्रीकृष्णले अर्जुनलाई अनेक ज्ञानहरू प्रदान गर्नु भएको छ। भगवान्ले अर्जुनलाई
भन्नु भएको छ, “यस किसिमले मैले यो गोप्य भन्दा पनि महा गोप्य ज्ञान तिमीलाई
सुनाएको छु। यस ज्ञान माथि विश्लेषण सहित पूर्ण विचार गर अनि तिमीलाई जे गर्ने
इच्छा लाग्छ त्येही गर।” अर्थात युद्ध गर्ने वा नगर्ने भनी निर्णय लिन भगवान्ले
अर्जुनलाई स्वतन्त्र छाडिदिनु भएको छ। यस भनाइबाट प्रष्ट गरी थाहा हुन्छ भगवान्ले
अर्जुनलाई युद्ध गर्न बाध्य पार्नु भएको छैन्। तर एउटा कुरा पटक पटक दोहर्याएर के
भन्नु भएको छ भने हे अर्जुन, न्यायको पक्षमा काम गर। अन्याय समाप्त पार्नका लागि
के गर्नु पर्दछ त्यो गर।
लगभग सम्पूर्ण गीता अर्जुनलाई सुनाइ सकेपछि भगवान्ले
प्रश्न गर्नु भएको छ, “हे पार्थ, तिमीले यो उपदेश (गीताशास्त्र) अति ध्यानपूर्वक
सुन्यौ त? हे धनञ्जय, यो सुनेर अज्ञानताबाट उत्पन्न भएको तिम्रो मोह के समाप्त
भयो?”
भगवान्को यस प्रश्नमा अर्जुनले भनेका छन् “हे
अच्युत (कहिले नहार्ने) हजुरको कृपाले मेरा सम्पूर्ण भ्रमहरू समाप्त (ज्ञानहरू द्वारा
विस्थापित) भएका छन्। दिव्य ज्ञानहरूले मेरा मनका आँखाहरू उघारी दिएका छन्। अब म
हरेक किसिमको शङ्का मुक्त भएकोले यथा ज्ञान अवस्थित (उपयोगी ज्ञानले परिपूर्ण)
हुनु पुगेको छु। अब हजुरको निर्दैशन अनुसारको कार्य गर्न पूर्णतया राजी छु।”
अर्को प्रसङ्गमा, भगवान्का अमृत वचन सुनेर सञ्जय
पनि अति हर्षित भएका छन्। अनेक शिक्षाले भरिएका भगवान्का वचनहरू सुन्न पाएकोमा
आफूलाई सौभाग्यशाली सम्झेका छन्। यहाँ पाठकहरूलाई स्मरण गराइ दिउँ कि धृतराष्ट्र
अन्धा भएका र आफ्नै आँखाले महाभारत देख्न असक्षम भएकोले धृतराष्ट्रले आफ्नै नभए
पनि अरुको आँखाले युद्ध देख्न पाउने व्यवस्था महर्षि व्यासले गरिदिएका थिए। त्येही
व्यवस्था अनुरुप व्यासले सञ्जयलाई दिव्य दृष्टि प्रदान गरेका थिए। उक्त दिव्य
दृष्टिको प्रयोग गरेर दरवार भित्र, धृतराष्ट्रको नजिक बसेर नै पर युद्ध मैदानमा के
भइरहेको छ भन्ने कुरा सञ्जयले देख्न सक्थे। सम्पूर्ण युद्धबारे धृतराष्ट्रलाई
सञ्जयले नै सुनाएका हुन। त्यसकारण गीताका उपदेशहरू सञ्जयले पनि सुन्ने अवसर पाए।
गीताका उपदेशहरू सुनिसके पछि सञ्जयले धृतराष्ट्रलाई भने, “हे राजन (धृतराष्ट्र),
श्री केवश र अर्जुन बीच भएका पुन्यकारी एवं अदभुत यी सम्वादहरू पटक पटक स्मरण गरेर
म पटक पटक हर्षित हुँदैछु। हे राजन्, श्रीहरिको त्यो अति नै अद्भुत रुप पनि पटक
पटक मेरो स्मरणमा आएर म सीमाहीन किसिमले आश्चर्यचकित भइरहेको छु र पटक पटक हर्षित
एवं रोमाञ्चित हुँदैछु।”
सञ्जयले धृतराष्ट्रलाई फेरि भनेका छन्, “जहाँ
योगेश्वर श्रीकृष्ण हुनुहुन्छ, जहाँ धनुर्धर पार्थ छन्, त्यहाँ नै श्री
(अन्त्यहीन) समृद्धि, विजय, ऐश्वर्य वृद्धि, न्याय र त्यसको पालना पनि छ। यो मेरो
दृढ विचार हो।” सञ्जयको यो भनाइ सम्पूर्ण गीताको अन्तिम स्लोक हो। यो स्लोक पछि
गीता समाप्त हुन्छ। यो अन्तिम पक्तिले गीताको
सार प्रस्तुत गर्दछ। भगवान् श्रीकृष्ण सत्यको पक्षमा भएकोले विजय पनि सत्यको
पक्षमा हुने निश्चित थियो। मानव-संसारमा भएका अनेक घटनाहरू साक्षी छन्, जहिले पनि विजय
सत्यको हुन्छ भन्ने यथार्थको। नित्य विजय सत्यको नै हुन्छ र हुनेछ पनि।
सञ्जयको यो भनाइबाट पनि प्रष्ट हुन्छ भवान्ले
अर्जुनलाई न्यायको लागि युद्ध गर्न भन्नु भएको छ। तत्कालीन समाजमा व्याप्त छलकपट,
व्यवविचार, अधर्म समाप्त पार्न भन्नु भएको छ। सांसारिक मोहमा परेर विचलित हुँदै
कर्तव्य निवार्ह गर्न अर्जुन असक्षम हुनेछन् भन्ने भगवान्लाई निश्चय थियो। त्यसकारण
भगवान्ले अनेक ज्ञानपूर्ण वचनहरू भनेर, यो दुनियादारी सम्झाएर, अर्जुनलाई युद्धका
लागि तयार पार्नु भएको हो। सांसरिक मोहमा परेर अर्जुन भ्रममा परेका थिए। अन्यायको
पक्षमा उभिन पुगेका थिए। तर उनी जस्तो योद्धा जसले न्यायको पक्षमा कार्य गर्नु
थियो, ले न्यायको पक्षमा लाग्न नितान्त आवश्यक थियो।
यहाँ सर्वाधिक मनन् योग्य एक कुरा वा प्रश्न छ। के
त्यस्ता ज्ञानहरू भवगानले अर्जुनलाई प्रदान गर्नु भयो जसले गर्दा उनी आफ्नो
कर्तव्य निर्वाह गर्न स्वेच्छाले तत्पर भए?
भगवान् श्रीकृष्णले गीता मार्फत अर्जुनलाई माध्यम
बनाएर कालजयी कुराहरू र सदा सर्वदा सत्य रहने कुराहरू यो संसारलाई भन्नु भएको छ।
भगवान् स्वयंले नै गीताको बारेमा भन्नु भएको छ, “जो व्यक्तिहरूले हामी दुईका यी
धर्ममय वार्ताहरू सुन्ने, पढ्ने र मनन् गर्नेछन् तिनीहरूले मलाई अवश्य पनि
ज्ञानयज्ञले पूजा गर्नेछन्। यस्तो मेरो विचार छ। विश्वासका साथ
र इर्षारहित भएर केवल यो ज्ञान (गीतशास्त्र) को श्रवण मात्र गरे पनि त्यस्तो गर्नेहरूले
पापहरूबाट मुक्ति पाएर पून्यकर्मीहरूलाई प्राप्त हुने शुभलोक प्राप्त गर्ने
छन्।”
गीताको अध्ययन गर्नका लागि मानव समुदायलाई भगवान्
स्वयंले नै भन्नु भएको छ। भगवान्लाई भलिभाँति थाहा छ कि यो सृष्टिमा सर्वाधिक लोभी
र स्वार्थी प्राणी कुनै छ भने त्यो मनुष्य नै हो। हुन पनि मानिस जति तुच्छ, घमन्डी,
क्रोधी, पापी अर्को कुनै प्राणी नै छैन्। उदाहरणका लागि, कुनै कुकुर वा पशुलाई
खाना खान दिने हो भने उसले त्यति मात्र खान्छ जति उसलाई भोक लागेको छ। भोक मेटिए पछि, बढी भएको खाँदैन, छाडेर हिँड्छ।
तर कुनै मानिसलाइ खान दिने हो भने उसले आफूले त त्यस बखत पेट भरि खान्छ नै, पाए पछि
दुई चार दिनका लागि पुग्ने साथमा पनि लिएर जान्छ, यदि उसलाई खाना बढी दिने हो भने।
अझै, त्यो बढी मूल्यवान् सम्पत्तिको हो भने आफ्नो सात पुस्तालाई पुग्ने जति साथमा
लिएर जान्छ पनि। मानिस लोभदेखि कहिले पनि अघाउँदैन। आफ्नो लोभको अगाडि मानिसले
नैतिकता र अनैतिकता बीच भेद छुटाउन सक्तैन्। मानिसमा भएको यी घमन्ड, लोभ र क्रोध
आदिले गर्दा नै अहिले संसारमा जता ततै मतभेद, संघर्ष, युध्द आदि आदि देखिएका छन्।
हत्या, मारकाट, आदिले मानव समुदाय आक्रान्त छ। यो कटु सत्य भगवान्लाई थाहा भएको
हुनाले उहाँले मानव समुदायलाई लोभ, मोह, क्रोध, स्थार्थ, हिंसा त्यागेर शान्त भइ बस्न
भन्नु भएको हो। सबै लालसाहरूबाट विरक्तिएर सन्यासीको जीवन बिताउन भन्नु भएको हो।
गीतामा भनिएको सन्यासलाई कर्म (पवित्रता) को
रुपमा लिनु पर्दछ। अर्थात सन्यास भनेको लोभ, मोह आदिबाट पूर्ण मुक्त रहेर सदाचारी
जीवन व्यक्तित गर्नु हो। सान्यासको अर्थ जोगी बनेर मन्दिरमा गइ बस्नु भनिएको होइन।
सदाचारले नै मानव सभ्यतालाई सरल किसिमले अगाडि बढाउँछ। सदाचार नहुने हो भने
मानिसहरू एक आपसमा नै काटाकाट गरेर मर्ने छन्। सबैले सदाचारी जीवन व्यतित गरेको भए
प्रथम विश्वयुदध, दोस्रो विश्वयुद्ध एवं अन्य अनेक किसिमका डर लाग्दा युद्धहरू
हुने थिएनन्। करोडौ मानिसहरूको ज्यान जाने थिएन। प्रथम विश्वयुद्ध (जुलाई २८, १९१४
देखि नोभेम्बर ११, १९१८) मा ३ करोड ८० लाख व्यक्तिहरू युद्धबाट अति प्रभावित
(मृत्यु वा अङ्ग भङ्ग) भएका थिए भने १ करोड ७० लाख निर्दोष व्यक्तिहरूको ज्यान
गएको थियो। दोस्रो
विश्वयुद्ध (सेप्टेम्बर १, १९३९ देखि सेप्टेम्बर २, १९४५) मा ६ करोड निर्दोष
नागरिकहरूको हत्या भएको थियो। तत्कालीन विश्व जनसंख्या (सन् १९४०) को ३ प्रतिशत
नागरिकहरू यो डरलाग्दो युद्धमा हताहत भएका थिए। विश्व इतिहासमा यो युद्धलाई अति
क्रूर र डरलाग्दो मान्ने गरिन्छ। यसैगरी रवान्डामा लगभग १०० दिन मात्र (अप्रिल १७
देखि मध्य जुलाई १९९४) दुई जातीय समूहरू- हुटु र टुट्सी बीच मच्चिएको जातीय
गृहयुद्धमा अति निर्मम र क्रूर किसिमले लगभग १० लाख व्यक्तिहरूको हत्या भएको थियो।
यो संसारलाई स्वार्थी, महत्वाकाङ्क्षी, लोभी,
क्रोधी, घमन्डीहरूले कष्टकर तुल्याउने हुनाले उनीहरूमा असल चरित्र निर्माण गर्न
अर्थात सदाचारी हुनका लागि मार्ग दर्शन गराउन गीता जस्तो अति उच्च नैतिक शिक्षाको
नितान्त आवश्यकता छ। गीताका सर्वकालिक सत्य उपदेशहरूले व्यक्तिहरूलाई मोह, लोभ,
क्रोध, इर्ष्या, घमन्ड, स्वार्थ जस्ता घातक तत्वहरु त्यागेर निर्मोही, त्यागी भइ
आनन्दित जीवन बिताउन मार्ग दर्शन गराउँछ।
र अर्को खास कुरा, धेरै व्यक्तिहरूले केवल आफ्नो
स्वार्थ सिद्धिका लागि यो महान ग्रन्थलाई केवल धार्मिक शिक्षा भन्दै यसको विशालतालाई
सीमित तुल्याउन खोजेका छन्। तर गीता केवल धार्मिक शास्त्र मात्र होइन, यो नीति
शास्त्र, समाज शास्त्र, भौतिक शास्त्र र समग्रमा, यो अनेक शास्त्रहरूको एक समागम
स्थल हो। हरेक युगमा पढिने, कहिले पनि पुरानो नहुने शास्त्र हो। त्यस्तो किन हो
भने यसमा उल्लेख गरिएका मानवीय व्यवहारहरू सर्वकालिक सत्यको रुपमा स्थापित छन्।
यस्ता सत्यहरू छन् जुन सत्यहरूको असङ्ख्य व्यक्तिहरूले अर्थ लागाउँदा पनि एकै किसिमका
अर्थहरू निस्किने गर्दछन। जस्तै दुईमा दुई जोड्दा जहाँ पनि, जहिले पनि चार भए
जस्तो।
महाभारतको युग सभ्य युग थिएन। दसरथ एवं भगवान्
रामचन्द्रले राजाको रुपमा समाजमा मर्यादा कायम गरेको जस्तो महाभारतको युगमा
सामाजिक मर्यादाहरू स्थापित थिएनन्। अहङ्कार, छलकपट, घृणा, लोभ, मोह जस्ता
दुर्गुणहरू समाजमा अति व्याप्त भएर तत्कालीन समाज ज्यादै असभ्य हुन पुगेको थियो।
तत्कालीन समाजमा कुविचार उत्तिकै थियो। युवतीहरूको अपहरण गरेर उनीहरूको इच्छा
विपरित विवाह गर्ने, राजाहरू देशको सीमा विस्तार गर्न लडाइ, झगडा र दाउपेच सञ्चालनमा
सदा लीन रहने, पुरुषहरू चरित्रहीन भएर युवतीहरूलाई विवाह पूर्व नै आमा तुल्याइ
दिने, नागरिकहरू जहिले पनि राजाहरूको आदेशमा लडाइ झगडा र मारकाटमा लाग्नु पर्ने
जस्ता खराब मनोवृतिहरु समाजमा व्याप्त थिए।
निरन्तरको लडाइ झगडाहरूले राज्यको आर्थिक स्थिति
कमजोर हुने, नागरिकहरू सात्विक कार्य भन्दा पनि उपद्रव एवं हिंसापूर्ण कार्यहरूमा
व्यस्त रहने आदि जस्ता अनेक किसिमका समस्याहरू तत्कालीन समाजमा सीमाहीन किसिमले
बढेका थिए। महाभारत कालमा भएका अनेक कुविचारहरूलाई प्रस्तुत गर्न गार्हो भएकोले
यहाँ केवल एउटा प्रतिनिधि उदाहरण प्रस्तुत गर्दैछु।
उदाहरण सत्यवतीको कथाबाट प्रारम्भ गर्दैछु। कथा
निकै लामो भएकोले ज्यादै छोटकरीमा प्रस्तुत गर्दैछु। सत्यवतीको नाम मत्स्यगन्धा
पनि हो। उनको शरीरबाट माछाको गन्ध आउने हुनाले उनलाई मत्स्यगन्धा भनिएको हो।
सत्यवतीको जन्म, राजा वसु र श्राप पाएकी एक अप्सरा बीचको शारीरिक सम्पर्कबाट भएको
थियो। तर उनीहरूले सत्यवतीलाई छाडेर हिँडे। पछि सत्यवतीको लालन-पालन यमुना नदीमा
डुङ्गा चलाउने एक माझी-दुसराजले गरेका थिए। सत्यवतीले आफ्नो लालन-पालन गर्ने माझी
पितालाई अनेक कार्यहरूमा सहयोग गरेकी हुनाले नै उनको शरीरबाट पनि माछाको गन्ध आउने
गर्दथ्यो।
अति रूपवती सत्यवतीको एक दिन भ्रमणमा निस्केका
ऋषि पराशरसँग भेट हुन्छ र उनीहरू बीच शारीरिक सम्पर्क हुन्छ। त्येही शारीरिक
सम्पर्कबाट व्यास ऋषिको जन्म हुन्छ। यसरी विवाहपूर्व नै सत्यवतीले एक पुत्रलाई
जन्म दिन्छिन, जो पछि व्यास ऋषिको नामबाट प्रसिद्ध हुन्छन्। तर कथा त्यहाँ नै
समाप्त हुदैन। सत्यवती ज्यादै सुन्दर युवती भएको हुनाले उनको पछि युवकहरू लाग्ने
क्रम जारी नै रहन्छ। अर्कतिर, ऋषि पराशरले सत्यवतीलाई छाडेर गइसकेका हुन्छन्। अब, बदलिएको
परिस्थितिमा, सत्यवतीको भेट कुरुवंशीय राजा सन्तनु वा सानतनुसँग हुन्छ।
सानतनुसँगको भेटको प्रसङ्ग पनि अति रोचक छ। सत्यवतीसँगको शारीरिक सम्पर्क पछि ऋषि
पराशरले सत्यवतीलाई यति बढी सुगन्धित पारिदिएका थिए कि त्यो सुगन्ध एक योजन
(अहिलेको आठ वा नौ माइल) सम्म महसुस गर्न सकिन्थ्यो। त्यसरी सुगन्धित हुने कुनै
किसिमको क्षमता परासरले दिएर गएका थिए। त्यसरी सुगन्धित रहने सत्यवतीको विशेषताले
गर्दा नै उनलाई योजनगन्धा र गन्धवती पनि भन्ने गरिन्थ्यो। सत्यवतीको
त्येही राम्रो सुगन्धले गर्दा सानतनुलाई उनीसम्म तानेर ल्यायो। सत्यवतीको रुप
सौन्दर्यमा सानतनु यति धेरै मोहित भए कि उनले तत्काल विहे गर्न खोजे तर सत्यवतीले
उनको सन्तानलाई राजा बनाउने सर्तमा मात्र विहे गरिन जसले गर्दा रोलक्रममा युवराज
रहेका भीष्म (देवव्रत) को राजा हुने सम्भावना समाप्त हुन पुग्यो। भिष्म, राजा
सानतनुका आठौ सन्तान थिए। अर्थात सत्यवतीको प्रेममा सानतनु पग्लिनु पूर्व नै उनको
विवाह भएर आठ सन्तानहरू जन्मिसकेका थिए। सानतनुको यो पछिल्लो विवाह थियो। पिता (सानतनु)
लाई सत्वयतीको सर्त मान्न सजिलो होस भनेर नै भिष्मले आजीवन विवहा नगर्ने भिष्म
(गार्हो, कठोर) प्रतिज्ञा गरेको थिए। त्येही करणले गर्दा नै उनलाई भिष्म
भनिएको हो। उनको नाम देवव्रत हो। भिष्मले आफू राजा नहुने, आफूले केवल राजगद्दिको
रक्षा मात्र गर्ने भनी वचन दिएका थिए। प्रतीज्ञा गरेका थिए।
सानतनुको यो पछिल्लो विवाह पछि अर्थात सत्यवतीको
कोखबाट दुई छोराहरू चित्रांगद र विचित्रविर्यको जन्म हुन्छ। तर दु:खद कुरा,
सत्यवतीका दुबै छोराहरू राजा भएता पनि सन्तानहीन भएर मर्दछन्। छोराहरू नि:सन्तान
भएको र सत्यवतीको वंश तर्फबाट कोही पनि राजा नहुने सम्भावना देखेपछि अति चिन्तित
हुँदै सत्यवतीले आफ्नो वंश वृद्धिको लालस र सत्ता मोहमा परेर अति अविवेकी एवं
घृणित निर्णय लिन्छन्। सत्यवतीले आफ्नो विवाहपूर्व जन्मेको छोरा व्यास ऋषिलाई
आफ्नी बिधुवा बुहारी (विचित्रविर्यका पत्नी) हरु सँग शारीरिक सम्पर्क गरेर सन्तान
जन्माइ दिन आग्रह सहितको आदेश दिन्छिन्। तर व्यास ऋषि अति शिक्षित र मार्यादित व्यक्ति
भएकोले आफ्नै भाइ बुहारीहरूसँग सम्भोग गर्न मान्दैनन्। पछि, आमाको जिद्दिमा,
व्यासको केही जोर नचलेपछि उनले आफ्ना बिधुवा बुहारीहरुसँग यौन सम्पर्क गर्छन्। व्याससँगको
सम्भोगबाट सत्यवतीकी एउटी बुहारीबाट धृतराष्ट्र र अर्की बुहारीबाट पाण्डुको जन्म
हुन्छ। व्यासले त्यस दरबारमा तत्काल दासी भइ काम गरिरहेकी एक महिलासँग पनि सम्भोग
गर्छन र ती दासीबाट बिदुरको जन्म हुन्छ।
माथिका घटनाहरूको विश्लेषण सूक्ष्म किसिमले गरौ।
अहिलेको यो अति स्वतन्त्रता प्राप्त आधुनिक युगमा, यौनप्रति नागरिकहरू उदार रहेको अवस्थामा
पनि, जस्तो सुकै अविवेकी एवं पतित व्यक्तिले पनि आफ्नो भाईका पत्निसँग सम्भोग गर्न
नैतिकताको कारण डराएर थर थर काम्नेछ र त्यस्तो गर्ने छैन्। तर महाभारत युगमा
सत्यवतीको करकापमा परेर ऋषि व्यासले त्यस्तो कुकर्म गरेका छन्।
आफ्नो उच्च महत्वाकाङ्क्षा पूरा गर्न सत्यवतीले
पनि अनेक अमर्यादित कार्यहरू गरेकी छिन्। यसैगरी तत्कालीन समाजमा अति शिक्षित र
मर्यादित मानिएका ऋषि मुनीहरूले पनि युवतीहरू सँग शारीरिक सम्पर्क गर्ने तर विहे न
गर्ने, कुमारीहरूलाई गर्भवति तुल्याउने तर विवाह नगर्ने, छाडिदिने, श्राप दिने, उदण्डता
प्रदर्शन गर्ने, हत्या गर्ने जस्ता अनेक अपराधिक एवं अशोभनीय कार्यहरू गरेका छन्।
राजाहरू पनि विभिन्न अमर्यादित कार्यहरू गर्दै हिंडथे। सामान्य नागरिकहरू पनि अति
चरित्रवान थिएनन्।
अहिलेका केही नेता र उहिलेका केही ऋषि मुनीहरू
उस्तै उस्तै देखिएका छन्। अहिलेका केही नेताहरूले आफ्नो उच्च महत्वाकाङ्क्षा पूरा
गर्न जनतालाई भेडा बनाउने, उनीहरुको हत्या गराउने जस्ता स्वार्थी कार्यहरू
त्यसबेलाका धेरै ऋषिहरूले पनि गरेका रहेछन्। यस्तै एउटा अर्को प्रसङ्ग सन्की ऋषि
पर्शुरामको आउँछ। यी ऋषिले यिनको पिता जम्दाग्निको हत्या राजा कर्तभिर्य अर्जुनले
गरेको रिसमा यो संसारलाई युद्धद्वारा एकाइस पटक क्षत्रीय विहीन पारेका थिए। अर्थात
यो संसारबाट एकाइस पटक सम्पूर्ण क्षत्रीयहरू समाप्त पारेका थिए। ऋषि पर्शुरामले कति
जना क्षत्रीयहरूको हत्या गरेका होलान त? अनुमान गरौं।
यस किसिमका विभिन्न घटनाहरू हेर्दा र तिनको
सूक्ष्म किसिमले विश्लेषण गर्दा महाभारत युग अति नै फोहर र दुर्गन्धित भइ सकेको
प्रष्ट हुन आउँछ। त्यसकारण त्यसबेलाको त्यो समाजबाट त्यस्ता फोहरहरू समाप्त पार्न
भगवान्को उपस्थिति अत्यावश्यक हुन पुगेको थियो। भगवान् श्री कृष्णको दिव्य शिक्षा
त्यो युगले माग गरेको थियो।
महाभारतको युग र भगवान् श्रीकृष्णलाई अलग अलग
राखेर महाभारत युगको समाज र प्रमुख पात्रहरूको मनोविज्ञान एवं चरित्र विश्लेषण
गर्नु पनि उचित हुन्छ। भगवान् महाभारत युग भित्रको होइन, बरु फोहर हुन पुगेको
महाभारत युगलाई सफा पार्न भगवान यस धर्तीमा मानव रुप लिएर अवतरित हुनु भएको हो।
भौतिकवादी दृष्टिकोणले हेर्ने हो भने त्यसबेलाको पतित एवं असभ्य समाजलाई सभ्य
तुल्याउन एक युग पुरुष श्रीकृष्णको जन्म भएको हो। ती युग पुरुष यति बढी प्रतिभावान्,
बौद्धिक क्षमताले युक्त थिए कि भविष्यमा हुने अनेक घटनाहरूको अनुमान वर्तमानमा नै
लगाउन सक्थ्ये। मानिसलाई शिक्षा दिने प्रतिभा पनि उनमा उत्तिकै उम्दा थियो।
शक्तिशाली पनि त्येतिकै थिए। महात्मा गाँधी, नेल्सन मण्डेला जस्ता नेताहरूमा पनि श्रीकृष्णमा
जस्तै युग परिवर्तन गर्ने प्रतिभा थियो।
भगवान् श्रीकृष्णले के त्यस्ता शिक्षाहरू
अर्जुनलाई दिनु भयो जसले गर्दा अर्जुन युद्ध गर्न तयार भए? यो प्रश्न पटक पटक गर्न
सकिन्छ। गीताको माध्यमबाट भगवान्ले त्यस्ता त्यस्ता अनेक ज्ञानहरू अर्जुनलाई दिनु
भयो कि अर्जुनले यो संसार, यसको विशेषता र मानवीय प्रवृतिहरूलाई राम्रो गरि बुझे।
हाम्रो जीवन र समाजलाई असर पार्ने प्रत्येक, यहासम्म कि अति सूक्ष्म कुराहरूलाई
पनि सतहमा ल्याएर, तिनको चर्चा गरेर, भगवानले सरल किसिमले बुझ्न सकिने गरि प्रष्ट
पार्नु भयो। जीवन र जगत् के हो भन्ने कुरा अर्जुनले मात्र होइन, सर्वसाधारणहरुले
पनि बुझ्ने गरी प्रष्ट पारिदिनु भयो। गीतामा भगवानले मानव मनोविज्ञानको अति
सूक्ष्म किसिमले अध्ययन तथा विश्लेषण गर्नु भएको छ। यो जगत् र यसको प्रकृतिको पनि
वैज्ञानिक किसिमले व्याख्या गर्नु भएको छ।
गीताको प्रत्येक अध्यायमा समाजलाई मानव उपयोगी
तुल्याउन भगवानले व्यक्तिहरूलाई अनेक शिक्षाहरू दिनु भए झै यस अन्तिमा अध्यायमा पनि
भगवान्ले अनेक किसिमका शिक्षाहरू दिनु भएको छ। सोँच, चिन्तन, व्यवहार, प्रवृति,
इच्छा आदिलाई सात्विक तुल्याउन अनके उपयोगी कुराहरू भन्नु भएको छ। भगवान्ले यस
अध्यायको प्रत्येक श्लोकमा नै कल्याणकारी सन्देशहरू दिनु भएको छ। भगवानले भन्नु
भएको छ, “विश्वासका साथ र इर्षारहित भएर केवल यो ज्ञान (गीतशास्त्र) को श्रवण
मात्र गरे पनि त्यस्तो गर्नेहरूले अनेक पापहरूबाट मुक्ति पाएर पून्यकर्मीहरूलाई
प्राप्त हुने “शुभलोक” प्राप्त गर्दछन्।” भगवान के भन्नु हुन्छ भने कसैले गीता
केवल सुनेर पनि पुन्य प्राप्त गर्न सक्छ। यसको आशय के हो भने गीतामा उल्लेख भएका
सन्देशहरू सुनेर अवश्य पनि कुनै व्यक्तिले आफ्नो खराब स्वभाव वा लोभी तथा स्वार्थी
प्रवृतिमा परिवर्तन ल्याएर आफूलाई एक असल नागरिक तुल्याउन सक्छ। पीडाहीन जीवन
बिताउन सक्छ।
भगवान्ले भन्नु भएको छ, “जो व्यक्तिहरूले हामी
दुईका यी धर्ममय वार्ताहरू सुन्ने, पढ्ने र मनन् गर्नेछन् तिनीहरूले मलाई अवश्य
पनि ज्ञानयज्ञले पूजा गर्नेछन्। यस्तो मेरो विचार छ।” भगवान्को भनाइमा “ज्ञानयज्ञ”
भन्ने शव्द उल्लेख भएको छ। ज्ञानयज्ञ भनेको विभिन्न ज्ञानहरू प्राप्त गरेर परिपक्व
वौद्धिकता प्राप्त गर्नु र सो बौद्धिकताद्वारा भगवान एवं यो सृष्टिका विभिन्न
महत्वपूर्ण कुराहरू बुझ्नु हो। यस कुराको पृष्टि भगवान् स्वयंले यो भनेर गर्नु
भएको छ, “म जुन किसिमले विभूति सम्पन्न छु र मेरो जुन स्वरुप छ भन्ने कुरा कसैले
भक्तिद्वारा तत्वले जान्न सक्दछ। अनि जसले भक्तिद्वारा यो कुरा जान्दछ, यसरी मलाई
जानेर ऊ मेरो लिलामा प्रवेश गर्दछ, ममा विलीन हुन्छ।” भगवान् श्रीकृष्णलाई विशिष्ट
ज्ञानसहित बुझ्नु नै यो दु:खमय जीवनलाई शान्ति दिनु हो।
भगवान्ले भन्नु भएको छ, “शुद्ध बुद्धिले युक्त भइ
सात्विक धारणाद्वारा अन्त: करण आफ्नो नियन्त्रणमा गरेको, शब्द आदि विषयहरूलाई
परित्याग गरेको, द्वेषहरूलाई नष्ट पारेको, निर्जन एकान्तबासी, अल्पआहारी, वाणी र
शरीर माथि विजय प्राप्त गरेको, निरन्तर ध्यान योगमा निष्ठ भएर वैराग्य प्राप्त
गरेको, घमन्ड, काम, क्रोध र संशयलाई त्याग गरेको, ममता रहित एवं शान्त अन्त:करण
भएको पुरुष ब्रह्ममा मिल्न योग्य हुन्छ।” यस भनाइमा पनि भगवान्ले व्यक्तिहरूको
चरित्र सुधारमा जोड दिनु भएको छ। यहाँ भगवानले ब्रह्ममा मिल्न योग्य हुन्छ भन्नुको
आशय यो हो कि कुनै व्यक्तिले माथि उल्लेख गरिएको किसिमबाट आफ्नो आचरणमा सुधार
गर्ने हो भने उसको मनोविज्ञान र जीवन यति सुखयम हुन्छ कि उसले यस जीवनमा, यसै
पृथ्वीमा नै, अत्यन्त सुख भोगेर स्वर्ग प्राप्तिको अनुभव गर्दछ।
यस अध्यायमा एउट भनाइले अहिलेको समाज र खास गरी
दक्षिण एशिया र त्यसमा पनि नेपाल र भारतमा व्याप्त जातीय प्रथालाई प्रहार गरेको छ।
गीतामा भगवान्ले प्रष्ट गरी भन्नु भएको छ जातीय विभाजन परिवार वा वंशको आधारमा
नभएर व्यक्तिको कर्म वा प्रवृतिको आधारमा भएको हो। व्यक्तिहरूले कर्म आफ्नो
वौद्धिक क्षमता र सिपको आधारमा गर्छन। भगवान्ले अर्जुनलाई माध्यम बनाएर प्रष्ट गरी
भन्नु भएको छ, “हे परन्तप, ब्राह्मण, क्षत्री, वैश्य र शूद्रहरूको कर्म (कार्य)
उनीहरूको स्वभावजन्य गुणहरूका अनुसार (आधारमा) विभाजन गरिएको छ। यो विभाजन जन्मको
आधारमा गरिएको होइन।”
यो भनाईले हिन्दु धर्म कति प्रगतिशील रहेको छ
भन्ने तथ्य ऐना झै छर्लंग हुन्छ। भगवान् स्वयंले भन्नु भएको यो अमरवाणीमा विश्वास
गर्नुको कुनै विकल्प छैन्। यदि कसैले विवाद गर्दछ भने उसले केवल तर्कको लागि तर्क
गरेको हो। हिन्दु समाज जातिहीन समाज हो। मानवतावादी समाज हो। अहिंसामा विश्वास
गर्ने समाज हो। तर पछि जब व्यापार युगको प्रारम्भ भयो, व्यक्तिहरूलाई सम्पत्ति
सृजना (ठूलो परिमाणमा निजी कृषि कार्य र विभिन्न अन्न एवं विनिमय गर्न सकिने अनेक
वस्तुहरूको उत्पादनले गर्दा) र सङ्ग्रह
(मुद्राको उपयोगले) गर्न सजिलो भयो, राजा महाराजाहरूको महत्वाकाङ्क्षा एवं शक्तिमा
विस्तार भयो, जब सामन्त र जमिन्दारहरू समाजमा बलियो हैसियतका साथ देखा पर्न थाले,
जब धनीहरू वा ठूला व्यापारीहरूको समाजमा आर्थिक र सामाजिक हैसियत उच्च हुन थाल्यो
तब बीजको अङ्कुरण भएर विरुबाको रुप धारण गरी बीज सतह माथि आए झै, जातीय प्रथा पनि
समाजमा अङ्कुरित भयो। यो अङ्कुरणले विसाल वृक्षको रूप धारण गर्यो। तर अर्कोतिर, यो
अङ्कुरणले विशाल वृक्षको आकार लिँदासम्म पनि समाजले पट्क्कै पत्तो पाएन। राजा
महाराजा एवं धनीहरूले, आफ्नो आर्थिक तथा सामाजिक फाइदाहरूका लागि, व्यक्तिहरूलाई
उनीहरूको कार्य वा पेशाको आधारमा विभिन्न जातिमा विभाजित गरेको तथ्य सामान्य
जनताले बुझेन।
तर जब जातीयताको नाममा बलियाहरूले निर्धोहरूको
जातीयताको आधारमा घोर र चरम शोषण गर्न थाले तब समाजले जातीयताले समाजमा विषको काम
गरेको पत्तो पाए। विभिन्न मुलुकहरूले जात पात छुवा छुतको विरुद्धमा अनेक नियम तथा
कानूनहरू समेत पनि बनाउनु पर्यो किनभने बलियाहरूले जातीयताको आधारमा निर्धाहरूलाई
कहिले माथि उठ्न नदिने गरी शोषण गर्न थाले। अति जातीय शोषणले गर्दा नै समाजमा
कम्युनिष्टहरूको जन्म भएको हो। प्रचीन चीन र भारतमा महिलाहरू माथि शोषण र जातीय
विभेदको आधारमा भेदभाव पराकाष्टामा पुगेको थियो। चीनमा भने साँस्कृतिक क्रान्ति भए
पछि त्यसमा केही कमी आयो भने भारतमा अझै पनि कायम नै छ। तर पश्चिमी समाज अहिले
जाति विहीन छ। र यो विशेषताले गर्दा नै सामाजिक र आर्थिक प्रगति तिब्र किसिमले
भइरहेको छ।
प्रारम्भमा यी कम्युनिष्टहरू जातीय प्रथाको बिरोध
गर्न र आफ्नो असन्तुष्टि (गरिबी र शोषण) समाजलाई व्यक्त गर्न कम्युनिष्ट भए।
कम्युनिष्टको नाममा ठूला ठूला सङ्गठनहरूको स्थापना भयो। लाखौंको संख्यामा व्यक्तिहरू
ती सङ्गठनका सदस्य भए। तर पछि यी सङ्गठनका नेताहरुले उल्टो आफ्नै सङ्गठनका
सदस्यहरूको शोषण गर्ने थाले। ती नेताहरूले आफूलाई सरकारमा पुर्याउन वा शक्तिशाली
तुल्याउन सङ्गठनका सदस्य वा कार्यकर्ताहरूलाई भर्यांग बनाउन थाले। पछि जब
गरिबहरुले यो तथ्य थाहा पाए कि कम्युनिज्मले उल्टो गरिबको शोषण मात्र गरेको छ, केही टाठा बाठा
(नेता) हरूलाई मात्र फाइदा पुर्याएको छ, यो संसारबाट कम्युनिज्म पतन हुने सिलसिला
सुरु भयो। कम्युनिज्म समाप्त हुने क्रममा देश पनि टुक्रियो। सोभियत संघ एक सग्लो
राष्ट्र टुक्रिएर (डिसेम्बर २६, १९९१) एघार राष्ट्रहरूमा विभाजित भयो। रोमानियाका सेना तथा
नागरिकहरूले आफ्ना कम्युनिष्ट राष्ट्रपति निकोलाई चाउचस्कोको, क्रिसमसका दिन, डिसेम्बर
२५, १९८९ मा, हत्या गरेर देशबाट कम्युनिज्म र कम्युनिष्ट दुबै समाप्त पारे। सेनाले
गोली हानी चाउचस्कोको हत्या गर्दा उनकी पत्नी एलेना चाउचस्को पनि साथै हत्या गरेको
थियो।
कम्युनिष्ट शासन व्यवस्था रहेको पूर्वी जर्मनीले
कम्युनिष्ट शासन व्यवस्था पूर्ण परित्याग मात्र गरेन साथै प्रजातान्त्रिक शासन
व्यवस्था रहेको पश्चिम जर्मनीसँग मिल्यो। यसरी दुई अलग अलग राष्ट्रहरूमा विभाजित
रहेका पूर्वी जर्मनी र पश्चिम जर्मनी सन् १९९० मा एकिकृत भएर एउटै राष्ट्रमा परिणत
भए।
चीनका तत्कालीन राष्ट्रपति तेंग साउ पिंग (अगष्ट
२२, १९०४ – फेब्रुअरी १९, १९९७) ले चीनलाई केवल कमुनिज्मको खोल भित्र मात्र राखे
तर खोल भित्रको चीनलाई पूर्णरूपमा पूँजीवादी तुल्याए। उनले कम्युनिज्मले गरिबहरूको
शोषण बाहेक अरु केही पनि गर्दैन भन्ने व्यवहारिक किसिमले बुझे। र जनतालाई पनि
बुझाए।
कम्युनिज्म सिद्धान्तका जन्मदाता, जर्मनीका
नागरिक कार्ल मार्क्स (मे ५, १८१८ – मार्च १४, १८८३) अहिले बाँचिरहेको भए
कम्युनिज्मको चरम दुरुपयोग भएको देखेर उनी धुरु धुरु रुन्थ्ये होला। हुन त कार्ल मार्क्सले
गरीबहरूको पक्षमा र श्रम शोषणका अनेक तरिकाहरूको बारेमा भनेका थिए तर स्वार्थी
नेताहरूले कम्युनिज्मलाई केवल स्वार्थ पूर्ति गर्ने भाँडो बनाए पछि कार्ल मार्क्सको
बेइज्जती मात्र भयो।
अहिले, सन् २०१५ जुलाईमा क्युवाले संयुक्त राज्य अमेरिकामा
पाँच दसक पछि आफ्नो दूतावास खोलेको छ र अति नियन्त्रित कम्युनिज्मबाट पूँजीवाद तर्फ
अग्रसर हुने सङ्केत देखाएको छ। क्युबाले देखाएको यो परिवर्तनले, संसारमा बलियो गरी
कम्युनिज्म लागु गर्ने मात्र एक क्युवाले पनि कम्युनिज्म परित्याग गरेमा, संसारबाट
कम्युनिज्म सँधैका लागि समाप्त (कुनै पनि देशमा सरकारको रुपमा नरहेकोले) हुने जस्तो
देखिएको छ। यसरी गीताका अमर वचनहरू कम्युनिज्मका सिद्धान्तहरू भन्दा व्यवहारीक र
उपयोगी देखिएका छन्। गीताका सिद्धान्तहरू कम्युनिज्मका सिद्धान्तहरू जस्तो समयसँगै
नहराउने देखिएका छन्, समाजमा सदाका लगि स्थापित भएका छन्।
प्रसङ्गलाई पुन: जातीय प्रथा सँग जोडौ। भगवान्ले
भन्नु भएको छ, “शान्त, स्व-नियन्त्रण, तपस्या, शुद्धता, सहनशीलता, इमान्दारी,
ज्ञान, विद्वता, धर्मपरायणता यी सबै ब्राह्मण (स्वभाव) बाट उत्पन्न हुने कर्महरू
हुन। वीरता, तेजमय (शक्तिशाली), धैर्यता, चातुर्यता, युद्धकुशलता (रणभूमिबाट डराएर
नभाग्ने), दानशील, स्वाभिमानी (लोक नेतृत्वकर्ता) यी क्षत्री (स्वभाव) का कर्महरू
हुन। कृषि कार्य, गौरक्षा (पालन) व्यापार सञ्चालन आदि आदि वैश्य (स्वभाव) का
कर्महरू हुन। सबै समुदायका व्यक्तिहरूको अनेक किसिमका सेवाहरू गर्नु शूद्र (स्वभाव)
हरूको स्वभाविक कर्म हो।” यहाँ शूद्रको आशय कार्य गर्दा कुनै खास किसिमको सिप, कला
वा ज्ञानको उपयोग नगरे केवल श्रम, कोरा श्रम (शरीर) को प्रयोग गर्ने व्यक्तिहरू
भन्न खोजिएको हो। शूद्र भनेर जातीय भावले होच्चाउन भनिएको होइन। तर पछि व्यवहारमा
व्यक्तिहरूले कसैलाई होच्याउन शूद्र भने पछि यो होच्याउन भनिएको “सम्बोधन” हुन
पुग्यो। उदाहरणको रुपमा “साला” अति मर्यादित नाता हो। पत्नीको भाइलाई आदरपूर्वक
साला भन्ने गरिन्छ। तर फेरि त्येही साला सम्बोधन गालीको रुपमा प्रयोग गरिन्छ।
व्यक्तिहरूले अहिले कसैलाई गाली गर्दा खराब वचन भन्दा “साला” भन्ने गर्दछन्।
समाजले यसरी आफैले होच्याउने “शब्द” परम्पराको विकास गरेको हो।
यस प्रकार, यस युगमा मात्र होइन पहिलेका विभिन्न
युगहरूमा पनि गीता एक महान समाज उपयोगी ग्रन्थ थियो र आउने युगहरूमा पनि यो ग्रन्थ
“गुरु ग्रन्थ” रहनेछ। जबसम्म मानव सभ्यता
यो पृथ्वीमा कायम रहने छ, यो संसारबाट गीताको सान्दर्भिकता समाप्त हुने छैन्।
अझै बढ्ने छ। जुन गतिबाट भौतिकवाद र अनिश्वरवादको विकास हुनेछ त्यो गति भन्दा सयौं
गुणा बढीको गतिमा गीताको उपयोगितामा वृद्धि हुनेछ। तर गीता केवल मानव कल्याणमा
केन्द्रित रहने छ, नरसंहारमा होइन। गीताले कुनै पनि किसिमको हिंसा र हत्याको बिरोध
गर्दछ। आफ्नो विचार अरूको बिचार माथि लाद्ने कार्यको पनि बिरोध गर्दछ। गीताले
हिन्दु धर्म, अन्य धर्म मान्नेहरू माथि लाद्ने कार्यको घोर विरोध गर्दछ।
भगवान्ले अर्जुनलाई विभिन्न उपदेशहरू दिए पछि
भन्नु भएको छ, जुन यहाँ पुन: चर्चा गर्नु सान्दर्भिक पनि हुने छ, “यस किसिमले मैले
यो गोप्य भन्दा पनि महा गोप्य ज्ञान तिमीलाई सुनाएको छु। यस ज्ञान माथि विश्लेषण
सहित पूर्ण विचार गर अनि तिमीलाई जे गर्ने इच्छा लाग्छ त्येही गर।” यसरी भगवान्ले
अर्जुनलाई कुनै पनि अवस्थामा र जसरी पनि युद्ध गर भन्नु भएको छैन्। भगवान्
श्रीकृष्ण पूर्णतया शान्तिको पक्षमा हुनु हुन्थ्यो।