Wikipedia

Search results

Friday, March 27, 2015

Geeta Chapter 17


भागवत गीता अध्याय १७
(श्रद्धा त्रय विभाग योग)

अर्जुन उवाच
ये शास्त्रविधिमुत्सृज्य यजन्ते श्रद्धयान्विता:।
तेषां निष्ठा तु का कृष्ण सत्त्वमाहो रजस्तम:।।१।।

अर्जुनले बिन्ति गरे
(हे कृष्ण, जसले शास्त्रको विधिलाई अवलम्वन नगरेर केवल श्रद्धायुक्त भइ भजन गर्दछन् भने त्यस्ताहरुको निष्ठा वा स्थिति कस्तो हुन्छ? तिनीहरु सात्विक, राजसी वा तामसी कस्तो हुन्छन्?)

श्रीभगवानुवाच
त्रिविधा भवति श्रद्धा देहिनां सा स्वभावजा।
सात्त्विकी राजसी चैव तामसी चेति तां शृणु।।२।।

भगवान श्रीकृष्णले आज्ञा गर्नु भयो
(प्रत्येक व्यक्ति प्राकितिक विश्वास-श्रद्धाका साथ जन्म लिएको जुन्छ। त्यो प्राकृतिक विश्वासलाई सात्विक, राजसिक र तामसिक गरी तीन वर्गमा विभाजित गरिएको छ। तिनलाई तिमी अब सुन)

सत्त्वाSनुरुपा सर्वस्य श्रद्धा भवति भारत।
श्रद्धामयोSयं पुरुषो यो यच्छ्द्ध: स एव स:।।३।।

(हे भारत, सबैको सद्धा आ-आफ्नो अन्त:करण-स्वभावको अनुरुप हुने गर्दछ। त्यक्ति उसको श्रद्धाद्वारा जानिन्छ। कुनै व्यक्तिले जस्तो कुरामा श्रद्धा राख्दछ उसको चित्त पनि त्यस्तै किसिमको हुन्छ।)

यजन्ते सात्त्विका देवान् यक्षरक्षांसि राजसा:।
प्रेतान् भूतगणांश्चान्ये यजन्ते तामसा जना:।।४।।

(सात्विक गुण भएका व्यक्तिहरु देवताहरुको पूजा गर्दछन्। राजसिक गुण भएका व्यक्तिहरुले यक्ष र राक्षसहरुको पूजा गर्छन। अन्य जो तामसिक गुण भएका व्यक्तिहरु छन् उनीहरुले भने भूत र प्रेतहरुको पूजा गर्दछन्।)

अशास्त्रविहितं घोरं तप्यन्ते ये तपो जना:।
दम्भाहंकारसंयुक्ता: कामरागबलान्विता:।।५।।

कर्षयन्त: शरीरस्थं भूतग्राममचेतस:।
मां चैवान्त:शरीरस्थं तान् विद्ध्यासुरनिश्र्चयान्।।६।।
५-६
(जो व्यक्तिहरु घमण्ड र अहंकारको वसिभूत भएर केवल काम एवं आशक्तिको बलमा कठिन तपस्या त गर्छन तर शास्त्रको विरुद्ध भएर गर्दछन् र आफ्नो शरीरमा रहेको पञ्चमहाभूतको समूहलाई एवं अन्त:करण रहेको मलाई कष्टदिन्छन्, त्यस्ता व्यक्तिहरुलाई अज्ञानी एवं आसुरी प्रवृतिको जान।)

आहारस्वत्वपि सर्वस्य त्रिविधो भवति प्रिय:।
यज्ञस्तपस्तथा दानं तेषां भेदमिमं शृणु।।७।।

(जसरी तीन किसिमाका आहारहरु सबैलाई प्रिय हुन्छन् त्यसैगरी यज्ञ, तपस्या र दान पनि तीन किसिमका हुन्छन्। तीनीहरुको फरकलाई यसप्रकार थाहा पाऊ।)

आयु:सत्त्वलारोग्यसुखप्रीतिविवर्धना:।
रस्या: स्निग्धा: स्थिरा हृद्या आहारा: सात्त्विकप्रिया:।।८।।

कट्वम्ललवणात्युष्णतीक्ष्णरुक्षविदाहिन:।
आहारा राजसस्येष्टा दु:खशोकामयप्रदा:।।९।।

यातयामं गतरसं पूति पर्युषितं च यत्।
उच्छिष्टमपि चामेध्यं भोजनं तामसप्रियम्।।१०।।

८-१०
(आयु, उत्साह, बल, आरोग्य, सुख तथा प्रीति बढाउने रसिलो, चिल्लो, पौष्टिक र हृदयलाई आनन्द दिने आहारहरु सात्विक व्यक्तिहरुलाई प्रिय हुन्छ। तितो, अमिलो, नून बढी, बढी तातो, तेज, रुखो, पोल्ने एवं दु:ख, शोक र रोगहरु उत्पन्न गराउने आहारहरु राजसिक व्यक्तिहरुलाई प्रिय हुन्छ। यसैगरी जुन राम्रोगरी पाकेको छैन, रसिलो छैन, दुर्गन्धले भरिएको छ, बासी, जूठो र अपवित्र पनि छ त्यस्ता आहारहरु तामसी व्यक्तिहरुलाई प्रिय हुन्छ।)

अफलाकाङ्क्षिभिर्यज्ञो विधिदिष्टो य इज्यते।
यष्टव्यमेवेति मन: समाधाय स सात्त्विक:।।११।।

(यज्ञको अनुष्ठान गर्नु कर्तव्यको पालना गर्नु हो भन्ने ठानेर मनलाई एकत्रित गरी फलको कामना नराखेर व्यक्तिहरुद्वारा गरिने यज्ञ सात्विक हो।)

अभिसन्धाय तु फलं दम्भार्थमपि चैव यत्।
इज्यते भरतश्रेष्ठ तं यज्ञं विद्धि राजसम्।।१२।।

(हे भरतश्रेष्ठ, तर, दम्भले युक्त भइ एवं फलको उद्देश्य राखी गरिने यज्ञ राजसिक हो।)

विधिहीनमसृरष्टान्नं मन्त्रहीनमदक्षिणाम्।
श्रद्धाविरहितं यज्ञं तामसं परिचक्षते।।१३।।

(शास्त्रीय विधिहरुको पालना नगरिएको, अन्न दान नगरिएको, मन्त्रको प्रयोग नभएको, दक्षिणा नदिइएको र श्रद्धाबिहीन भइ गरिने यज्ञ पण्डितहरुको मतमा तामसी हो।)

देवद्विजगुरुप्राज्ञपूजनं शौचमार्जवम्।
ब्रह्मचर्यमहिंसा च शारीरं तप उच्चते।।१४।।

(शुद्धता, सरलता, ब्रह्मचर्य र अहिंसाद्वारा देवता, ब्राह्मण, गुरु र विद्वानहरुको गरिने पूजा शारीरिक तप हो)

अनुद्वेगकरं वाक्यं सत्यं प्रियहितं च यत्।
स्वाध्यायाभ्यसनं चैव वाङ्मयं तप उच्यते।।१५।।
(उद्वेग उत्पन्न नगर्ने, सत्यले भरिएका, शिष्ट तथा हितकारी वचनका साथै वैदिक पाठको अभ्यास  नै वाचिक तप हुन्।)

मन: प्रसाद: सौम्यत्वं मौनमात्मविनिग्रह:।
भावसंशुद्धिरित्येतत् तपो मानसमच्यते।।१६।।

(प्रशन्न मन, शान्तभाव, मौनधारण, संयमित चित्त र व्यवहारमा निष्कपटता, यीनीहरु मानसिक तप हुन।)

श्रद्धा परया तप्तं तपस्तत् त्रिविधं नरै:।
अफलाकाङ्क्षिभिर्युक्तै: सात्त्विकं परिचक्षते।।१७।।

(निष्कामी व्यक्तिहरुद्वारा फल प्राप्तिको उद्देश्य नराखि श्रद्धापूर्वक एकाग्र चित्तले गरिएका यी तिनै प्रकारका तपहरुलाई सात्विक तप भन्ने गरिन्छ।)

सत्कारमानपूजार्थं तपो दम्भेन चैव यत्।
क्रियते तदिह प्रोक्तं राजसं चलमध्रुवम्।।१८।।

(जुन तप सत्कार, मान प्रतिष्ठा एवं पूजाको लागि घमण्डले गरिएको हुन्छ त्यसलाई अनित्य एवं अनिश्चित राजसिक तप भन्ने गरिन्छ।)

मूढग्राहेणाSSत्मनो यत् पीडया क्रियते तप:।
परस्योत्सादनाSर्थं वा तत्तामसमुदाहृतम्।।१९।।

(जुन तप मूर्खतापूर्वक आफू स्वयंले नै पनि कष्ट उठाउने तथा अरुको विनाश गर्ने उद्देश्यले गरिएको छ भने त्यस्तो तपलाई तामस भन्ने गरिन्छ।)

दातव्यमिति यद्दानं दीयतेSनुपकारिणे।
देशे काले च पात्रे च यद्दानं सात्त्विकं स्मृतम्।।२०।।

(बदलमा कुनै लाभ प्राप्त गर्ने उद्देश्य नराखेर दान दिनु कर्तव्य हो भन्ने भाव राखि उपयुक्त-दानपाउन योग्य व्यक्तिलाई उचित समय-पुन्यकाल र उचित स्थान-तीर्थस्थलमा दिइने दान सात्विक दान हो।)

यत्तु प्रत्युपकारार्थं फलमुद्दिश्य वा पुन:।
दीयते च परिक्लिष्टं तद्दानं राजसं स्मृतम्।।२१।।

(तर पछि पश्चाताप गर्ने/अनिक्षाका साथ वा बदलमा केही प्राप्त गर्ने उद्देश्य राखेर अथवा केही फल पाउने आशाका साथ गरिएको दान राजसिक दान हो।)

अदेशकाले यद्दानमपात्रेभ्यश्च दीयते।
असत्कृतमवज्ञातं तत्तामसमुदाहृतम्।।२२।।

(जुन दान अयोग्य समय र स्थान-परिस्थितिमा कुपात्रलाई अनादर एवं अवेज्ञापूर्वक गरिन्छ त्यस्तो दानलाई तामस दान भन्ने गरिन्छ।)

ऊँ तत्सदिति निर्देशो ब्रह्मणस्त्रिविध: स्मृत:।

ब्राह्मणास्तेन वेदाश्च यज्ञाश्च विहिता: पुरा।।२३।।


(ब्रह्मको तीन किसमको निर्दैशक नाम रहेको छ। ओम तत् र सत्। ओम, तत् र सत् द्वारा नै आदिकालमा  ब्रह्मण-पुरोहितहरु, वेदहरु र यज्ञहरु निर्मित भएका हुन।)

तस्माद् ऊँ इत्युदाहृत्य यज्ञदानतप:क्रिया:।
प्रवर्तन्ते विधानोक्ता: सततं बह्मवादिनाम्।।२४।।

(प्रभुमा प्राप्त हुनका लागि यो कारणले गर्दा नै ब्रह्मवादीहरुको शास्त्रयुक्त यज्ञ, दान र तप-तपस्याका कार्यहरु सँधै ओम उच्चारण गरेर प्रारम्भ हुन्छ।)

तदित्यनभिसन्धाय फलं यज्ञतप:क्रिया:।
दानक्रियाश्र्च विविधा: क्रियन्ते मोक्षकाङ्क्षिभि:।।२५।।

(मोक्ष चाहनेहरु कर्मफलको इच्छा नराखी तत् सत् शब्दको उच्चारण गरेर अनेक किसिमका यज्ञ, दान, तप आदि कार्यहरु गर्दछन्।)

सद्भावे साधुभावे च सदित्येतत् प्रयुज्यते।
प्रशस्ते कर्माणि तथा सच्छब्द: पार्थ युज्यते।।२६।।

(हे पार्थ, ब्रह्मत्व र ब्रह्मवादित्वमा सत् को प्रयोग हुन्छ। यसै किसिमले अशल कर्म गर्दा पनि सत् शब्दको प्रयोग गरिन्छ।)

यज्ञे तपसि दाने च स्थिति: सदिति चोच्यते।
कर्म चैव तदर्थीयं सदित्येवाभिधीयेते।।२७।।

(यज्ञ, दान र तप तथा यी कार्यहरु गर्नका लागि निश्चित स्थानहरुमा पनि पनि सत् शब्दको प्रयोग हुन्छ। परमेश्वरका लागि गरिएका कार्यहरुलाई नै सत् भनिएको हो।)

अश्रद्धा हुतं दत्तं तपस्तप्तं कृतं च यत्।
असदित्युच्यते पार्थ न च तत्प्रेत्य नो इह।।२८।।

(हे पार्थ, श्रद्धहीन भएर गरिएको हवन, दिइएको दान र गरिएको तपस्या वा गरिएको जुनसुकै कर्म त्यो असत् हो। असत् कर्मले न त यस लोकमा न त मरेपछि नै लाभ प्राप्त हुन्छ।)

सत्रौं अध्यायको व्याख्या

यस अध्यायको प्रारम्भ नै अर्जुनको प्रश्नबाट भएको छ। अर्जुनले श्रीकृष्णसँग प्रश्न गरेका छन्, “हे कृष्ण, जसले शास्त्रको विधिलाई अवलम्वन नगरेर केवल श्रद्धायुक्त भइ भजन गर्दछन् भने त्यस्ताहरूको निष्ठा वा स्थिति कस्तो हुन्छ? तिनीहरू सात्विक, राजसी वा तामसी कस्तो हुन्छन्?” अर्जुनको यस प्रश्नको उत्तर दिंदै भगवान् श्रीकृष्णले भन्नु  भएको छ कि व्यक्तिको प्रवृति वा स्वभाव जस्तो हुन्छ उसले व्यवहार पनि त्यसै प्रकारको गर्छ। जस्तो किसिमको कर्म गरेको छ फल पनि उसले त्यस्तै पाउँछ। व्यक्तिले गर्ने दान, तप, यज्ञ, पूजा, अर्चना, भजन आदि पनि उसको प्रवृति अनुसार नै हुन्छ भनी भगवानले प्रष्ट पार्नु भएको  छ। सात्विक, राजसी र तामसी गरी मानिसमा तिन किसिमका प्रवृतिहरू हुन्छन्। जसको प्रवृति जुन किसिको हुन्छ उसको निष्ठा, विश्वास, व्यवहार, तप, ज्ञान, चिन्तन पनि त्यसै किसिमको हुन्छ।

अहिलेको आधुनिक व्यवहार मनोविज्ञान (Behavior Psychology) ले पनि मानिसहरूले आफ्नो स्वभाव अनुरुप फरक फरक व्यवहार गर्दछन् भनी विश्वास गर्दछ। र यो पनि विश्वास गर्दछ कि मानिसमा भएका खराब प्रवृति वा स्वभावहरू (Behavior) व्यवहार-सुधार प्रविधि (Behavior-Modifying Techniques) हरूद्वारा हटाउन सकिन्छ। 

भगवान्ले गीताको माध्यमद्वारा मानव समुदायलाई के शिक्षा दिनु भएको छ भने मानिसमा अनेक किसिमका प्रवृतिहरू भएता पनि मानिसले जहिले पनि आफूमा राम्रो प्रवृतिको विकास गर्ने अनवरत प्रयत्न गर्नु पर्दछ। असल स्वभावको प्रदर्शन गर्नका लागि नित्य पूजा, अर्चना, कठोर तपस्या (बर्त, यात्रा, समाधि) आदि गर्नु पर्दछ भन्ने होइन केवल असल स्वभावद्वारा, कसैको कुभलो नगरेर, छलकपट नगरेर, न ठगेर पनि असल स्वभाव निर्माण गर्न सकिन्छ। आफ्नो जीवनलाई मानव उपयोगी र यो जगत्को लागि नै लाभकारी तुल्याउन सकिन्छ।

भगवान्ले भन्नु भएको छ, “सबैको श्रद्धा आ-आफ्नो अन्त:करण (स्वभाव) को अनुरुप हुने गर्दछ। त्यक्ति उसको श्रद्धाद्वारा जानिन्छ। कुनै व्यक्तिले जस्तो कुरामा श्रद्धा राख्दछ उसको चित्त पनि त्यस्तै किसिमको हुन्छ। सात्विक गुण भएका व्यक्तिहरू देवताहरूको पूजा गर्दछन्राजसिक गुण भएका व्यक्तिहरूले यक्ष र राक्षसहरूको पूजा गर्छन। अन्य जो तामसिक गुण भएका व्यक्तिहरू छन् उनीहरूले भने भूत र प्रेतहरूको पूजा गर्दछन्। जो व्यक्तिहरू घमण्ड र अहङ्कारको वसिभूत भएर केवल काम एवं आसक्तिको बलमा कठिन तपस्या त गर्छन तर शास्त्रको विरुद्ध भएर गर्दछन् र आफ्नो शरीरमा रहेको पञ्चमहाभूतको समूहलाई एवं अन्त:करणमा रहेको मलाई कष्टदिन्छ, त्यस्ता व्यक्तिहरूलाई अज्ञानी एवं आसुरी प्रवृतिको जान।”

सात्विक गुण भएका व्यक्तिहरूले देवताको पूजा गर्छनको आशय के हो भने सात्विक गुण भएका व्यक्तिहरूले सत्यमा विश्वास गर्छन, असल संस्कृति एवं परम्पराहरूमा विश्वास गर्छन्। यहाँ देवतालाई प्रतिकात्मक रुपमा सत्य, निष्पक्ष भनिएको छ। यसैगरी राजसिक गुण भएका व्यक्तिहरूले यक्ष र राक्षसको पूजा गर्छनको आशय के हो भने राजसिक प्रवृति भएका व्यक्तिहरूले ज्ञान र सत्यमा होइन, शक्ति र सम्पत्तिमा विश्वास गर्छन। यी कुराहरूलाई नै आफ्नो जीवनको प्रमुख उद्देश्य बनाउँछन्। यहाँ राक्षसलाई प्रतिकात्मक रुपमा लोभ, लालसा, शक्ति, अहङ्कार भनी प्रस्तुत गरिएको हो। तामसिक गुण भएका व्यक्तिहरूले भूत, प्रेतको पूजा गर्छन् भनी उल्लेख गर्नुको आशय के हो भने तामसिक गुण भएका व्यक्तिहरू असल संस्कारहीन, अमर्यादित, असभ्य व्यवहार गर्ने हुन्छन्। अज्ञानता, अशिक्षा, क्रूर व्यवहार आदिलाई प्रतिकात्मक रुपमा तामसी भनी उल्लेख गरिएको हो। अशिक्षा, अज्ञानता, कुसंस्कार आदिले गर्दा व्यक्तिहरू तामसी प्रवृतिका हुन पुगेका हुन्छन्। यी तत्वहरुले व्यक्तिहरूलाई तामसी प्रवृतिको बनाउँछन्। 

यस अध्यायमा सर्वाधिक उल्लेखनीय कुरा के छ भने आफ्नो स्वभावलाई सात्विक तुल्याउनका लागि खान पिनलाई पनि सात्विक बनाउनु पर्ने भनी प्रष्ट गरिएको तथ्य। भगवान् श्रीकृष्ण स्वयंले नै भन्नु भएको छ, “जसरी तिन किसिमाका आहारहरू सबैलाई प्रिय हुन्छन् त्यसैगरी यज्ञ, तपस्या र दान पनि तीन किसिमका हुन्छन्। तीनीहरूको फरकलाई यसप्रकार थाहा पाऊ। आयु, उत्साह, बल, आरोग्य, सुख तथा प्रीति बढाउने रसिलो, चिल्लो, पौष्टिक र हृदयलाई आनन्द दिने आहारहरू सात्विक व्यक्तिहरूलाई प्रिय हुन्छतितो, अमिलो, नुन बढी, बढी तातो, तेज, रुखो, पोल्ने एवं दु:ख, शोक र रोगहरू उत्पन्न गराउने आहारहरू राजसिक व्यक्तिहरूलाई प्रिय हुन्छयसैगरी जुन राम्रोगरी पाकेको छैन, रसिलो छैन, दुर्गन्धले भरिएको छ, बासी, जुठो र अपवित्र पनि छ, त्यस्ता आहारहरू तामसी व्यक्तिहरूलाई प्रिय हुन्छ।

यहाँ मननीय कुरा के छ भने गीताको युगमा पनि मानिसले गर्ने भोजनलाई बौद्धिकता, आरोग्यता एवं उत्तेजना, विवेकहीनता, तथा अपराध मनोवृतिसँग जोडिएको छ। भोजनले व्यक्तिहरूलाई बौद्धिक तुल्याउने, स्वस्थ्य राख्ने एवं अविवेकी तुल्याएर अनेक किसिमका कुकर्म तथा अपराधहरू गर्न प्रेरित समेत गर्ने भनी विश्वास गरिएको छ। यसै गरी भोजनलाई सात्विक, राजसी र तामसी गरी तीन वर्गमा विभाजन समेत पनि गरिएको छ। सात्विक भोजनले व्यक्तिलाई स्वस्थ्य राखेर आरोग्यता प्रदान गर्ने, ज्ञान बुद्धि बढाउने गर्दछ। राजसी भोजनले उत्तेजना र दुस्साहस  बढाउने गर्दछ। तामसी भोजनले असल ज्ञानको क्षय गर्ने तथा दुष्कर्म गर्न लगाउने गर्दछ। गीतामा भोजनबारे यसरी भनिएको छ।

नशालु पदार्थहरू, अनेक किसिमका मदिराहरू, लागु औषधिहरू खाएर व्यक्तिहरूले अनेक किसिमका ठूला अपराधहरू गरेको, हत्या हिंसामा लागेको हामीले देखिरहेका नै छौ।  यस किसिमका खाद्य वस्तुहरूले ज्ञान, विवेक नाश पार्ने कार्य गर्दछन्। व्यक्तिहरूलाई असामाजिक कार्यहरु गर्न उत्प्रेरित गर्छन्। मानिसले सात्विक भोजन मात्र गर्ने हो, आचार व्यवहार स्वच्छ मात्र राख्ने हो भने पनि समाजमा ठूलो स्तरमा अपराध नियन्त्रण हुन सक्छ। त्यकारण भोजनले नै मानिसलाई सदाचारी एवं बेविचारी तुल्याउँछ। भोजनसँग मानव बौद्धिकताको प्रत्यक्ष सम्बन्ध गांसिएको छ। गीताले मानव समुदायलाई सदाचारी तुल्याएर यो पृथ्वी निर्धा, असहाय, गरिब, रोगीहरूले पनि बस्नयोग्य तुल्याउने लक्ष्य राखेको हुनाले भोजनमा अत्यधिक महत्व दिएको हो। भोजनको बारेमा भगवान् स्वयंले सर्वकालिक सत्य वचन भन्नु भएको छ जुन अहिलेको भौतिकवादी आयुर्विज्ञान (Modern Medical Science) ले पनि काट्न सक्तैन र मान्नु पर्दछ। यस प्रकार गीताका सन्देशहरू कति प्रगतिशील एवं वैज्ञानिक रहेछन् भन्ने तथ्य आदरणीय पाठक, जसले यो पुस्तक पढिरहनु भएको छ स्वयं नै लगाउन सक्नु हुन्छ। आध्यात्मवादी होइन, भौतिकवादी भएर पनै पनि चिन्तन एवं मनन गर्न सक्नु हुन्छ।

एक अर्को प्रसङ्ग पनि उल्लेख गरौ। भोजनले मानिसको स्वास्थ्य मात्र होइन, बौद्धिकतामा समेत प्रत्यक्ष असर पार्दछ भन्ने कुरा अहिलेको यो अति भौतिकवादी युगका पाश्यचात्य पोषणविद् ( Nutritionist) हरू समेतले पनि विश्वास गर्दछन्। तिक्ष्ण बुध्दि असल स्वास्थ्यका लागि कस्तो भोजना पौष्टिक एवं हितकारी हुन्छ भनी जिज्ञासुहरूलाई सल्लाह दिन्छन। विभिन्न रोगहरूको रोकथाम एवं उपचार केवल औषधिहरूबाट मात्र होइन, खान पिनबाट पनि खोज्न भन्छन्। पोषणविद्हरूको सल्लाह कुनै आध्यायमिक सल्लाह होइन, पूर्णतया भौतिकवादी हो। र पोषणविद्का सल्लाहहरू अनिश्वरवादीहरूले पनि मान्नु पर्दछ। यसरी गीताले भौतिकवादीहरू समेतले पनि मान्ने सल्लाहहरू दिएपछि गीताका सन्देशहरू केवल आध्यात्मिक चिन्तनहरू मात्र हुन भनेर कसरी मान्ने? अनि यो केवल ब्राह्मणहरूले मात्र पढ्न ग्रन्थ कसरी भयो? यदि कुनै व्यक्तिले अर्को व्यक्तिलाई गीता न पढ्नु त्यो केवल पण्डित वा ब्राह्मणहरूको अर्काको बुध्दि भुटेर आफ्नो स्वार्थ सिद्धि गराउने केवल एक प्रपंचको भाँडो हो भनी सल्लाह दिन्छ भने त्यो व्यक्तिले पहिलो व्यक्तिलाई एक महान् साहित्य पढ्नबाट वञ्चित गराएको अपराध खेप्नु पर्ने हुन्छ। कि हुँदैन? यो कार्य त कसैलाई यो मह न खानु यो त केवल चीनी पानीको घोल मात्र हो भनी सुद्ध मह खानदेखि वञ्चित गर्नु गरे जस्तो हो। कि होइन? तर कसैलाई (उसको विचारको विरुद्ध) गीता पढ्न बाध्य पार्नु पनि निन्दनीय कार्य हो।  गीता जिज्ञास एवं श्रद्धाद्वारा मात्र पढ्नु उपयुक्त हुन्छ।

फेरि पुरानै प्रसङ्गमा फर्कौ। हुन पनि जो व्यक्तिहरू अशिक्षित छन्, अज्ञानी छन् र असल संस्कार पाएका छैनन् उनीहरू तामसी नै हुन। उनीहरूले शस्वभाविक रुपमा सडे, गलेको, काँचो, दुर्गन्धित कुराहरू खान्छन्। उचित शिक्षा र ज्ञानको अभावमा उनीहरूले त्यस्तो गर्छन। अहिले पनि संसारका विभिन्न स्थानहरूमा मानिसहरुले तामसी जीवन बिताइ रहेको देख्न सकिन्छ। जंगली जीवन बिताउने, अशिक्षित, अल्पवुदधिका, स्वास्थ्य सुविधाहरुबाट वञ्चित रहेका एवं अन्य आदिवासीहरूलाई तामसी प्रवृतिका व्यक्तिहरूको रुपमा लिन सकिन्छ।  

यज्ञहरूका बारेमा पनि भगवान्ले विभिन्न विधिहरू बताउनु भएको छ। यहाँ, यज्ञहरू भन्नाले जीवन निर्वाहका लागि गरिने विभिन्न कर्महरूलाई बुझ्नु पर्ने हुन्छ। यज्ञहरू भन्नाले त्यस बेलाको समाजका लागि गरिने ठूला ठूला लोक कल्याणका कार्यहरू पनि हुन सक्छन्। खोज, अनुसन्धान (Research), वा प्रयोग पनि हुन सक्छन्। अथवा ठूला ठूला, वहुसंख्यक व्यक्तिहरूको सहभागितामा भएका, सामाजिक, धार्मिक कार्यहरू पनि हुन सक्छन्।

समाज गतिशील छ। हुन त यो पृथ्वीमा हरेक वस्तु नै पनि गतिशील छ। पृथ्वी आफै, स्वयं पनि गतिशील छ, स्थिर छैन्। त्यसकारण समाजमा अहिले प्रचलित रहेका चलनहरू भोलिका दिनहरूमा नहुन सक्छन। भोलि कुनै अत्यन्तै नया वस्तु वा सेवाको अविष्कार हुन सक्छ, नया प्रचलनहरू देखापर्न सक्छन्। उदाहरणका लागि सभ्यता विकासको क्रममा फलामका मेसिन, यन्त्र र उपकरणहरूको विकास नभएको बेला मानिसहरूले सबारीका लागि घोडा वा घोडा जोतिएको रथ प्रयोग गर्थ्ये। तर अहिले ठूला र उच्च प्रविधिहरूले युक्त मेसिनहरूको आविष्कारले गर्दा सवारीका लागि मानिसहरू मोटर कार मात्र होइन हवाइ जहाज समेत प्रयोग गरिरहेका छन्। अब त, के सम्म सुनिएको छ भने केही वर्ष पछि नै चालक आवश्यक नपर्ने कार बजारमा आउँदै छन। कारलाई मानवीय श्रमले होइन मेसीनले संचालन गर्नेछ।

यहाँ भन्ने के खोजिएको हो भने पाँच सय वर्ष पछिको पुस्तालाई रथ भनेको के हो भने पछि उनीहरूले अनभिज्ञता जाहेर गर्नेछन्। त्यसै गरी अहिलेको समाजले पनि यज्ञ भनेको हो भनी थाहा नपाउन सक्छ। त्यसकारण यज्ञ, तप आदिलाई जीवन निर्वाहका लागि गरिने असल एवं उपयोगी कार्यहरुको रुपमा लिन सकिन्छ। 

यज्ञ, तप, दान, धर्म आदिको बारेमा भगवान्ले भन्नु भएको छ, “यज्ञको अनुष्ठान गर्नु कर्तव्यको पालना गर्नु हो भन्ने ठानेर मनलाई एकत्रित गरी फलको कामना नराखेर व्यक्तिहरूद्वारा गरिने यज्ञ सात्विक यज्ञ हो। तर, दम्भले युक्त भइ एवं फलको उद्देश्य राखी गरिने यज्ञ राजसिक यज्ञ हो। शास्त्रीय विधिहरूको पालना नगरिएको, अन्न दान नगरिएको, मन्त्रको प्रयोग नभएको, दक्षिणा नदिइएको र श्रद्धाविहीन भइ गरिने यज्ञ पण्डितहरूको मतमा तामसी यज्ञ हो। शुद्धता, सरलता, ब्रह्मचर्य र अहिंसाद्वारा देवता, ब्राह्मण, गुरु र विद्वानहरूको गरिने पूजाहरु शारीरिक तपहरू हुन। उद्वेग उत्पन्न नगर्ने, सत्यले भरिएका, शिष्ट तथा हितकारी वचनका साथै वैदिक पाठको अभ्यास  नै वाचिक तप हुन। प्रशन्न मन, शान्त भाव, मौनधारण, संयमित चित्त र व्यवहारमा निष्कपटता, यीनीहरू मानसिक तप हुन। निष्कामी व्यक्तिहरुद्वारा फल प्राप्तिको उद्देश्य नराखि श्रद्धापूर्वक एकाग्र चित्तले गरिएका यी तिनै प्रकारका तपहरूलाई सात्विक तप भन्ने गरिन्छ। जुन तप सत्कार, मान प्रतिष्ठा एवं पूजाको लागि घमण्डले गरिएको हुन्छ त्यसलाई अनित्य एवं अनिश्चित राजसिक तप भन्ने गरिन्छ। जुन तप मूर्खतापूर्वक आफू स्वयंले नै पनि कष्ट उठाउने तथा अरुको विनाश गर्ने उद्देश्यले गरिएको छ भने त्यस्तो तपलाई तामस तप भन्ने गरिन्छ। बदलमा कुनै लाभ प्राप्त गर्ने उद्देश्य नराखेर दान दिनु कर्तव्य हो भन्ने भाव राखि उपयुक्त (दानपाउन योग्य) व्यक्तिलाई उचित समय (पुन्यकाल) र उचित स्थान (तीर्थस्थल) मा दिइने दान सात्विक दान हो। तर पछि पश्चाताप गर्ने/अनिक्षाका साथ वा बदलमा केही प्राप्त गर्ने उद्देश्य राखेर अथवा केही फल पाउने आशाका साथ गरिएको दान राजसिक दान हो। जुन दान अयोग्य समय र स्थान (पिरस्थिति) मा कुपात्रलाई अनादर एवं अवज्ञापूर्वक गरिन्छ त्यस्तो दानलाई तामस दान भन्ने गरिन्छ।”

भगवान् श्रीकृष्णले भन्नु भएको छ, “मोक्ष चाहनेहरू कर्मफलको इच्छा नराखी तत् सत् शब्दको उच्चारण गरेर अनेक किसिमका यज्ञ, दान, तप आदि कार्यहरू गर्दछन्।” मोक्षको अनेक अर्थहरू लाग्न सक्छन्। गीताको हुवहु अर्थ अनुसार यो पथ्वीमा कुनै पनि किसिम (मानिस, पशु, पंक्षी, जलचर) को योनीमा जन्म न लिनु र जन्म मृत्युको चक्रबाट बाहिर भएर स्वर्ग प्राप्त गर्नु वा ब्रह्ममा लीन हुनु मोक्ष प्राप्त गर्नु हो। आध्यात्म चिन्तनले यो पृथ्वीमा रहेको संसारलाई अनेक दु:खहरूले भरिएको मान्दछ। जन्मदेखि मृत्युसम्म प्राणीहरूले अनेक किसिमका दु:ख, पीडा, भय, चिन्ता, छटपटि बेहोर्नु पर्ने विश्वास गर्दछ। यो पृथ्वीका प्राणीहरूले बाँच्नका लागि अनेक संघर्षहरू गर्नुपर्दछ। रोग, शोक, वृद्धा अवस्थाको सामना गर्नु पर्दछ। यस्ता अनेक समस्याहरूले यस पृथ्वीका प्राणीहरू युक्त भएकोले नै यो संसारलाई अति दु:खमय मानिएको छ। र प्रत्येक पल मृत्युको भयमा बाँच्नु परेता पनि अनके किसिमका मोहहरूमा मानिसहरू पर्ने हुनाले मानिसहरू यस लोकमा भ्रममा बाँचद्छन् भनी भनिएको हो।

त्यसकारण भगवान्ले भन्नु भएको छ, “मोक्ष चाहनेहरू कर्मफलको इच्छा नराखी तत्, सत् शब्दको उच्चारण गरेर अनेक किसिमका यज्ञ, दान, तप आदि कार्यहरू गर्दछन्। ब्रह्मत्व र ब्रह्मवादित्वमा सत् को प्रयोग हुन्छ। यसै किसिमले असल कर्म गर्दा पनि सत् शब्दको प्रयोग गरिन्छ। यज्ञ, दान र तप तथा यी कार्यहरू गर्नका लागि निश्चित स्थानहरूमा पनि सत् शब्दको प्रयोग हुन्छ। परमेश्वरका लागि गरिएका कार्यहरुलाई नै सत् भनिएको हो। श्रद्धाहीन भएर गरिएको हवन, दिइएको दान र गरिएको तपस्या वा गरिएको जुनसुकै कर्म, ती सबै असत् हुन। असत् कर्मले न त यस लोकमा न त मरेपछि नै लाभ प्राप्त हुन्छ।”

यस अध्यायमा तत् र सत् को बारेमा यस प्रकार भनिएको छ, “ब्रह्मको तीन किसमको निर्दैशक नाम रहेको छ। ओम, तत् र सत्। ओम, तत् र सत् द्वारा नै आदिकालमा ब्राह्मण (पुरोहित) हरू, वेदहरू र यज्ञहरू निर्मित भएका हुन।”

यस अध्यायका विभिन्न श्लोकहरूमा वर्णित कुराहरूको शार संक्षेप के हो भने यस पृथ्वीको प्रत्येक व्यक्तिले मानव समुदाय एवं लोक कल्याणका कार्यहरू अनिवार्य रुपमा गर्नु पर्दछ। कुनै पनि कार्य गर्दा त्यसबाट केही पाउने लोभ नराखी केवल यो मेरो कर्तव्य हो भन्ने भावले गर्नु पर्दछ। यसरी निस्वार्थी भइ कार्यहरू गरेमा व्यक्तिले पूर्ण सन्तुष्टि प्राप्त गर्दछ र उसको जीवन सुखमय हुन पुग्दछ।


सत्रौं अध्याय समाप्त

No comments:

Post a Comment