चौधौं अध्यायको
व्याख्या
यस अध्यायमा मुख्य गरी तिन विषयहरू- प्रकृति
(उत्पत्ति), प्रवृत्ति र सत्कर्ममा प्रकाश पारिएको छ। उत्पत्तिमा योनी र बीजको
कस्तो महत्व छ एवं प्रवृतिको निर्माण व्यक्ति गर्भमा हुँदा कसरी हुन्छ त्यसबारे
भनिएको छ। जन्मको अवस्थामा नै वा गर्भमा हुँदा नै व्यक्तिको खास किसिमको प्रवृतिको
निर्माण भइसकेको हुन्छ। तर विचार, अवधारणा, दृष्टिकोण, विश्वास, निष्ठा, सिद्धान्त
आदि जस्ता मानसिक क्रियाहरूको निर्माण व्यक्तिको जन्म पछि ऊ हुर्केको समाजसँगको अन्तरक्रियाबाट
हुने भएकोले प्रवृत्ति र विचारको यी दुईको अलग अलग अर्थ रहेको छ। जन्मजात निर्माण
भएको प्रवृत्ति एवं सामाजिक बनावटसँगको अन्तरक्रियाबाट उत्पन्न भएको विचार जे
जस्तो भएता पनि सत्कर्ममा लाग्न गीताका सन्देशहरूले मानव समाजलाई प्रेरित गर्दछन्।
यो अध्यायमा पनि विभिन्न किसिमका प्रवृत्तिहरू बारे बर्णनन् गरेर, तिनीहरूका
प्रकृतिहरू कस्ता किसिमका छन् त्यसबारे मानव समुदायलाई अवगत गराएर असल स्वभाव
निर्माण गर्न यस अध्यायमा भनिएको छ।
हरेक प्राणी (वनस्पति समेत) को उत्पत्ति बारे
भगवान् अर्जुनलाई भन्नु हुन्छ, “हे भारत, मेरो महत् ब्रह्मरुप प्रकृति (योनी)
गर्भ राख्ने स्थान हो। म त्यसमा गर्भ राख्दछु। मैले यस्तो गर्नाले समस्त प्राणीहरूको
उत्पत्ति हुन्छ। हे कौन्तेय, सम्पूर्ण प्राणीहरू जो शरीर धारण गरेर योनीहरूद्वार
उत्पन्न हुन्छन् तिनीहरुको माता महद् योनी (प्रकृति) हुन र म बीजदाता पिता हुँ।”
भगवान् श्रीकृणले अर्जुनलाई प्राणीहरूको
उत्पत्तिबारे दिनु भएको शिक्षामा यहाँ एउटा कुरा ज्यादै गहन र चिन्तनीय हुन पुगेको
छ। यहाँ भगवान्ले समस्त प्राणीहरूको उत्पत्ति आफूले कुनै चमत्कारी शक्तिबाट गरेको
नभनेर आफ्नो प्राकृतिक रुपबाट गरेको भन्नु भएको छ। भगवान्को यो भनाई अति नै
प्रगतिशील, वैज्ञानिक एवं सर्वकालिक सत्यको रुपमा रहेको छ। यो भनाई रुढी वा
परम्परावादी छैन्। सर्वकालिक वैज्ञानिक छ। हुन पनि समस्त जीवहरूको जन्मदाता यो
प्रकृति नै हो।
प्रवृत्तिहरू तीन किसिमका छन्। र यी प्रवृत्तिहरूले
नै मानवीय व्यवहार (स्वभाव) निर्धारण गर्दछन्। मोटामोटी रुपमा असल, मध्ययम र खराब
गरी प्रवृतिलाई यसरी तिन किसिमबाट विभाजन गरिएको छ। यिनै तिन किसिमका प्रवृतिहरूलाई
गीताम सत्गुण, रजगुण र तमगुण भनिएको छ।
भगवान् अर्जुनलाई प्रवृत्ति वा गुणहरू बारे यसरी
भन्नु हुन्छ, “हे
महाबाहो, प्रकृतिबाट उत्पन्न भएको सत्, रज र तम यी तिन गुणहरूले शरीर धारण गरेको
आत्मालाई बाँध्छन्। हे निष्पाप, सत् गुण अरु दुई गुणहरू भन्दा पवित्र र प्रकाशित
गर्ने तथा सबै किसिमका पापकर्महरुबाट मनिसलाई अलग राख्ने किसिमको छ। म प्राणीहरुमा
सद् गुण स्थापित गरेर उनीहरूमा सुख र ज्ञानतिर लगाब पैदा गराउँछु।”
भगवान्को भनाइमा यहाँ एउटा अति नै उल्लेखनीय कुरा
छ। भगवान् भन्नु हुन्छ, “प्रकृतिबाट उत्पन्न भएको सत्, रज र तम यी तिन गुणहरूले
शरीर धारण गरेको आत्मालाई बाँधछन्।” यहाँ भगवानले व्यक्तिमा गुण वा प्रकृति अथवा
प्रवृत्तिहरूको निर्माण व्यक्तिको आफ्नो यत्नद्वारा नभइ जन्मजात, प्रकृतिद्वारा
उत्पन्न हुने भन्नु भएको छ। र गुणहरूले नै कर्ता भएर शरीरलाई खास खास किसिमका
कार्यहरू गर्न लगाउँछन। ती कार्यहरूको साक्षी बस्ने कार्य मात्र आत्माले गर्दछ।
आत्माले शरीरलाई सञ्चालन गर्ने एक ऊर्जाको कार्य गर्दछ। गीताको यो भनाई अति नै
भौतिकवादी छ। भौतिकवादीहरूले पनि आत्मालाई कहिले नष्ट नहुने एक ऊर्जाको रुपमा
लिन्छन। र सबैको वस्तुहरूको सञ्चालक ऊर्जा हो। ऊर्जाको गति बाहेक अर्को कुनै गुण
हुँदैन। त्यस अर्थमा ऊर्जा निर्गुण। अर्कोतिर आत्मालाई पनि निर्गुण भनिएको छ।
एक व्यक्तिमा सत्, रज र तम गरी तिनै गुणहरू रहेका
हुन्छन्। कुनै व्यक्तीले आफू भित्र रहेको कुन गुणलाई व्यवाहरिक जीवनमा ज्यादै
क्रियाशील बनाउँछ भन्ने कुरा त्यस व्यक्तिको मूल प्रवृति र उसले अन्तरक्रिया गर्ने
समाजको वौद्धिक स्तरमा भरपर्दछ। यसरी गीताले यहाँ मानव मनोविज्ञान एवं मानव
व्यवहार विज्ञानको कुरा गरेको छ। यस किसिमका उदाहरणहरूबाट पनि गीता केवल एक
धार्मिक ग्रन्थ मात्र होइन भन्ने कुराको बलियो गरि पुष्टि हुन आउँछ।
गीताको ज्ञानले कहिले पनि, कुनै पनि कारणबाट,
कुनै पनि किसिमले, कुनै पनि अवस्थामा, कुनै पनि प्रयोजनका लागि मानव समुदाय वा
कुनै पनि अन्य प्राणीको हत्या गर्न भन्दैन। हत्या, हिंसा गर्न लगाउँदैन। लुटपाट,
अपहरण गर्न प्रेरित गर्दैन। आफ्नो व्यक्तिगत स्वार्थका लागि निर्दोष र निर्धो
पशुहरूको “बलि” दिन भन्दैन। हिन्दु धर्म कुनै अन्य धर्मावलम्बीमा बलपूर्वक लाद्नका
लागि कसैको हत्या गर्न भन्दैन। गीताले चेतना एवं सत् ज्ञान द्वारा मानव समुदायलाई
सत्कर्म गर्न प्रेरित गर्दछ। यदि कसैले गीताको ज्ञानले कुनै पनि किसिमबाट हत्या
गर्न प्रेरित गरेको भन्दछ भने ऊ ढोंगी हो, असल चरित्र भएको व्यक्ति होइन। ऊ स्वयं
हत्यारा हो।
कसैले यो पनि भन्न सक्छ कि गीता, जुन भगवान्
श्रीकृष्ण र अर्जुन बीच गीति सम्वाद हो, रणभूमिमा उपस्थित अर्जुनलाई युद्ध गर्न
शारीरिक एवं मनोवैज्ञानिक रुपमा तयार पार्नका लागि भनिएका सारगर्भित सन्देशहरूको केवल
एक सङ्ग्रह हो। गीतामा भगवान्ले अर्जुनलाई शत्रुहरूको हत्या गरेर विजय प्राप्त
गर्न प्रष्ट किसिमले भन्नु भएको हो, उक्साउनु भएको हो। यस्तो भन्नेहरूले के बुझ्न
आश्वयक छ भने गीताको माध्यमद्वारा भगवान्ले अर्जुनलाई अनेक ज्ञानहरू दिनु भएको हो तर
युद्ध गर्न बाध्य पार्नु भएको भने होइन। युद्ध गर्न आवश्यक छ कि छैन् भन्ने कुराको
निर्णय लिन अर्जुनलाई बौद्धिक तर्कहरू दिनु भएको हो। तर युद्ध गर्न वा नगर्न,
त्यसबारेमा निर्णय लिन भगवान्ले अर्जुनलाई पूर्णतया स्वत्न्त्र छाडिदिनु भएको
थियो। ज्यादै गहन विषयहरू बुझ्न गार्हो हुने वा भगवान्को विराट् वा विश्वरुप थाहा
पाउन अर्जुनलाई कठिनाइ हुने हुनाले नै भगवानले अर्जुनलाई दिव्य दृष्टि (विशेष
किसिमको ज्ञान वा दृष्टिकोण) दिनु भएको हो। त्यो दिव्य दृष्टि पाएर नै अर्जुनले
भगवान्को विश्वरुप दर्शन गरेका थिए, वा संसारलाई विषेश किसिमले बुझेका थिए। हुन
पनि यो संसार र यसको चरित्र बुझ्न सजिलो छैन। केवल मानवीय ज्ञानले मात्र यो
संसारको चरित्रलाई बुझ्न सकिँदैन। यो संसारको चरित्र मानव ज्ञानले मात्र बुझ्न
सकिँदैन। मानव ज्ञानको एक सीमा छ। जसरी हाम्रो मानव आँखाले एक सूक्ष्म जीवलाई
देख्न सक्तैन र त्यस जीवलाई हेर्न “माइक्रोस्कोप” चाहिन्छ त्यसै गरी यो संसारलाई
बुझ्न र यसको सही किसिमले व्याख्या गर्न दिव्य ज्ञानको आवश्यकता पर्दछ केवल हाम्रो
साधारण ज्ञानले बुझ्न सक्तैन।
रजो र तमो गुणहरू बारे भगवान् भन्नु हुन्छ, “हे
कौन्तेय, रजोगुणलाई रागात्म वा विषयहरू प्रति इच्छा वा आसक्तिबाट उत्पन्न हुने
बुझ। रजोगुणले कर्मको आसक्तिद्वारा प्राणीहरूलाई बाँधछ, त्यस किसिमको व्यवहार
गर्ने प्रवृत्ति उत्पन्न गराउँछ। तर हे भारत, तमोगुणले सम्पूर्ण देहधारीहरूलाई
मोहित गर्दछ किनभने तमोगुण अज्ञानबाट उत्पन्न भएको हुन्छ भन्ने बुझ। तमोगुणले
प्राणीहरूमा प्रमाद, आलस्य र निद्रा आदि उत्पन्न गराउँछ।”
एक व्यक्तिको व्यवहार वा प्रवृत्ति वा गुण कसरी
परिवर्तन हुन्छ अथवा एक व्यक्तिले आफूमा कसरी सत्गुणको विकास गर्न सक्छ भन्ने बारे
भगवान्ले अर्जुनलाई यसरी भन्नु भएको छ, “हे भारत, रजोगुण र तमोगुणलाई पराजित गरेर
सत् गुणले जन्म लिन्छ। रजगुण र सत् गुणलाई पराजित गरेर तमो गुणले जन्म लिन्छ।
यसैगरी तमगुण र सत् गुणलाई पराजित गरेर रजोगुणले जन्म लिन्छ। हे भरतर्षभ, लोभ,
कर्म-फलको उद्देश्यद्वारा कार्य गर्ने इच्छा, भोगको इच्छाबाट उत्पन्न अशान्ति,
विषयभोगको अभिलाषा, यी सबै प्रवृति रजोगुण बढेपछि उत्पन्न हुन्छन। हे कुरुनन्दन,
तमोगुण बढेमा अज्ञानता, निष्कृयता, प्रमाद, भ्रम
जस्ता प्रवृतिहरु उत्पन्न हुन्छन।”
मानव समुदायलाई असल कार्य गर्न उत्प्रेरित गर्ने
अभिप्रायले अर्जुनलाई माध्यम बनाएर भगवान् भन्नु हुन्छ, “जब देहधारी सत् गुण बढेको
स्थितिमा मृत्युमा प्राप्त हुन्छ तब उसले उत्तम कार्य गर्नेहरूले बास गर्ने दिव्यलोकमा
बास पाउँछ। जसको मृत्यु रगोगुण बढेको अवस्थामा हुन्छ उसले कर्ममा आशक्ति
राख्ने मनुष्य रुपमा जन्म लिन्छ र यसैगरी जसको मृत्यु तमोगुण बढेको
अवस्थामा हुन्छ उसले पशुरुपमा जन्म लिन्छ। पण्डितहरूको भनाइ अनुसार सात्विक
कर्मको सुखमय सात्विक फल हुन्छ, राजसी कर्मको राजसी दु:खमय कर्मफल र तामसी कर्मको
अज्ञानमय कर्मफल हुन्छ।”
भगवान्को भनाइमा यहाँ मनन गर्ने एउटा कुरा छ।
भगवान् श्रीकृष्णले दिव्यलोक, मनुष्यलोक र पशुरुप भन्नु भएको छ। यो भनाइको आशय
भौतिकवादी दृष्टिकोण अनुसार नै हेर्ने हो भने असल कार्य गर्ने व्यक्तिले जीवनभर
सन्तुष्टिको अनुभव त गर्छन नै मृत्युको समयमा पनि कुनै किसिमको पीडा वा पश्चातको
अनुभव गर्दैन। र यो अनुभव नै उसको लागि उत्तम
हुन्छ। यो पृथ्वीमा नै उसले कथित स्वर्गको अनुभूति गर्छ। असल कार्यहरू पनि गरेको
छैन र खराब कार्यहरू पनि गरेको छैन भने त्यस्तो व्यक्तिले जीवनमा कुनै ठूलो
सन्तुष्टिको अनुभव गर्दैन तर उसलाई मृत्युको समयमा कुनै भय वा चिंताले सताउँदैन
पनि। र यसरी समान्य कार्य गरेको व्यक्तिको मनोविज्ञान समान्य रहन्छ। मनोविज्ञान
सामान्य हुनु यसै कथित लोकमा मनुष्य योनीमा, वा लोभ मोहको संसारमा फर्किनु हो।
जीवनभर अपराध र कुकर्म गर्ने व्यक्तिले जीवनभर डर, त्रास, असन्तुष्टि, ग्लनीको
अनुभव त गर्छ नै मृत्युको समयमा ठूलो मानसिक पीडा, दु:ख आदिको अनुभव समेत पनि गर्छ।
त्यस्तो गर्ने व्यक्तिले यस किसिमको अनुभव गर्नु नै ऊ कथित नर्कमा गएको सरह हो।
तसर्थ भौतिकवादी दृष्टिकोणले हेर्दा व्यक्तिले आफ्नो कर्म अनुसारको फल यस पृथ्वीमा नै प्राप्त गर्दछ।
जीवनकालमा नै मानसिक पीडा वा सन्तुष्टिका साथ अनुभव गर्दछ।
भगवान् भन्नु हुन्छ, “सत् गुणबाट ज्ञान,
रजोगुणबाट लोभ, तमोगुणबाट लालसा, घमण्ड र अज्ञानता उत्पन्न हुन्छ।
सात्विक आचरण गर्ने व्यक्तिहरू माथि (स्वर्गलोकमा) जान्छन्, राजसी आचरण गर्नेहरू
मध्य (मनुष्य) लोकमा नै रहन्छन् तथा तामसी आचरण गर्नेहरू तल्लो लोक (नर्क) मा
जान्छन्। जब द्रष्टा (व्यक्ति) ले गुणहरूको अतिरिक्त अन्य कुनै कुराहरूलाई कर्ताको
रुपमा देख्दैन र गुणहरू देखि धेरै पर रहेको आत्मालई जान्दछ त्यसबेला उसले मोक्ष
प्राप्त गर्दछ, मेरो स्वरुप प्राप्त गर्दछ। देहधारीले देहबाट उत्पन्न भएका यी
तिनै गुणहरूलाई उलङ्घन गरेर जन्म, मृत्यु, वृद्धा अवस्था र दु:ख-कष्टबाट मुक्त भई
यसै जीवनमा जीवन अमृत प्राप्त गर्दछ, मोक्ष प्राप्त गर्दछ। हे पाण्डव, जुन
व्यक्तिले सत्व (प्रकाश), रज (लगाव) र तम (भ्रम) गुणहरूको
उपस्थितिलाई न त घृणा गर्दछ न तिनीहरूको अनुपस्थितिमा तिनीहरू प्रति आशक्ति नै
राख्दछ र जो व्यक्ति ती गुणहरूका क्रियाहरूमा उदासीन हुन्छ एवं ती गुणहरूले आफ्ना
प्रवृति अनुसार कार्य गरिरहेका छन् भन्ने मानेर विचलित हुँदैन र स्थिर रहन्छ त्यो
व्यक्ति गुणातीत हो। यसैगरी सुख दु:खलाई समान सम्झिने, आफूलाई केवल एक
पिण्ड (थुप्रो) मान्ने, माटो, सुन र पथ्थरलाई एउटै देख्ने बुद्धिमान/ निन्दा र स्तुतिलाई
समान मान्ने, मित्र र शत्रुलाई समान ठान्ने, देहधारण र साथै अरु कार्यहरू समेत
परित्याग गर्ने व्यक्ति पनि गुणातीत नै हो।”
भगवान्दवारा दिइएका माथिका उपदेशहरूको सारांश झिक्दा
के प्रष्ट हुन्छ भने सांसरिक कार्यहरू यदि कसलै त्याग र मोहरहित भावनाद्वारा गरेको
छ भने उसले मोक्ष (पूर्ण सन्तुष्टि) प्राप्त गर्दछ। र त्यो सन्तुष्टि आफ्नो
जीवनकालमा नै पाउँछ। भगवान् स्वयंले नै आफ्ना उपदेशहरूलाई संक्षेप पार्दै भन्नु
भएको छ, “जो व्यक्तिले श्यामसुन्दर आकार मलाई अनन्य भक्तियोगले भज्दछ त्यो व्यक्ति
यी तिन गुणहरु (सत्, रज, तम) लाई उलङ्घन गर्दै ब्रह्मलाई अनुभव गर्न सक्षम हुन्छ।”
भगवानको यो भनाइ, “जो व्यक्तिले श्यामसन्दुर आकार
मलाई अनन्य भक्तियोगले भज्दछ” को आशय कुनै व्यक्तिले सत्य र न्याय माथि हरपल
निष्ठा राखेर भगवानको निरन्तर स्मरण गर्ने भन्ने हो। भगवानले त्यस्तो नै भन्नु
भएको हो। यसै गरी तिन गुणहरूलाई उलङ्घन गरेको छ को आशय के हो भने कसैले सामान्य
मानीवय गुणहरू माथि विजय प्राप्त गरी अति उत्तम आचरण राखेको। र ब्रह्मलाई अनुभव
गर्न सक्षम हुन्छ को आशय के हो भने त्यस्तो अनुभव गर्ने व्यक्तिले जीवनकाल भरी सन्तुष्टि एवं मृत्युको समयमा
सन्तोष प्राप्त गर्दछ भन्ने हो।
No comments:
Post a Comment