https://www.facebook.com/ilovenepalglobalmovement/videos/vb.354843988041004/486199308238804/?type=3&theater&__mref=message
Friday, April 29, 2016
My Interview With Nepal Canada Television
https://www.facebook.com/ilovenepalglobalmovement/videos/vb.354843988041004/486199308238804/?type=3&theater&__mref=message
After Returning From Toronto-Article-111
टोरन्टोबाट फर्केपछि
केही दिन पहिले मैले
गरेको टोरन्टोको भ्रमण जानकारीको हिसाबले धेरै नै महत्वपूर्ण रह्यो। त्यहाँ पुगेर,
क्यानाडा देखेर बुझेर मैले एउटा निष्कर्ष झिंके- आर्थिक अवस्था मात्र होइन, ज्ञान,
विज्ञान, समझ र संस्कृतिको क्षेत्रमा पनि दक्षिण एशियाका राष्ट्रहरू अमेरिका,
क्यानाडा, जर्मनी, फ्रान्स जस्ता विकसित राष्ट्रहरुभन्दा धेरै पछाडि रहेछन्।
अमेरिका, क्यानाडा,
जर्मनी, फ्रान्स, ब्रिटेन जस्ता धनी मुलुकहरूमा जीवनलाई सरल पार्ने उपायहरूको खोजी
गरिन्छ, तिनलाई व्यवहारमा लागु गरिन्छ अनि जीवन यापनलाई सरल तुल्याइन्छ। तर दक्षिण
एशियाका मुलुकहरू जस्तै नेपाल, भारत, पाकिस्तान, बङ्गादेश आदिमा ठीक विपरित हुन्छ।
यी मुलुकहरूमा जीवनलाई जटिल तुल्याउने उपायहरूको खोजी हुन्छ। तिनलाई व्यवहारमा
लागु गरिन्छ। अनि जीवनलाई कष्टकर तुल्याइन्छ। माथि उल्लेख गरिएका धनी राष्ट्रहरू
प्रणाली (systems) हरुले चलेका छन्। यी राष्ट्रहरुले प्रणालीलाई
महत्व दिन्छन र जीवन यापनका प्रत्येक कार्यहरू प्रणाली द्वारा सम्पादन गर्छन्। तर
दक्षिण एशियाका राष्ट्रहरूमा नियम कानूनको पालना त उचित किसिमले हुँदैन प्रणालीको
पालना त झन के हुनु? उदाहरणका लागि विकसित देशहरूमा हवाइ जहाज, बस, रेल चढ्दा वा
रेष्टुरेन्ट भित्र पस्दा ग्राहकहरूलाई पंक्तिवद्ध हुन कसैले भन्नु नै पर्दैन।
स्वत: उनीहरू पक्तिवद्ध हुन्छन्। त्यसरी पंक्तिवद्ध हुन उनीहरूलाई प्रचलित
प्रणालीले निर्देशित गर्दछ। र प्रत्येक व्यकतिले निर्देशनको पालना गर्दछ। तर मैले
स्वयं अनुभव गरेको कुरा हो- भारतमा रेल चढ्दा ढोकामा भएको भीडमा थिचिएर कतिपटक मेरो
सर्ट च्यातिएको छ। एकपटक कोलकाताबाट रेलब चढेर रक्सौल आउँदा हावरा स्टेसनमा स्वयं
रेलभित्र पस्न नसकेर, कुल्लीलाई पैसा दिएर, उसको बलको सहरामा रेलको
कम्पार्टमेन्टमा पस्न सफल भएको थिएँ। कुल्लीले बलपूर्वक मलाई रेल भित्र नपसाएको भए
मेरो यात्रा स्थगित हुन्थ्यो। त्यो बखत त्यस्तो किन भयो? किन भयो भने रेल चढ्ने
कुनै राम्रो प्रणाली नै थिएन, त्यहाँ। प्रणाली बनाएर त्यसको पालना मानव हितमा
गर्नुपर्छ भन्ने सोंचको विकास भएको थिएन। यस्तै स्थिति थियो बस र ट्राम चढ्दा पनि।
तर यो घटना चार दशक पहिलेको हो।
दक्षिण एशिया वा
विकासशील राष्ट्रहरूमा नागरिकहरूले आफ्नो वहुमूल्य शक्ति, श्रृजनशील ऊर्जा र औसरको
उपयोग केवल कलह, द्वन्द र संघर्षमा बिताउँछन्। तिनलाई विकास र निर्माणमा खर्च
गर्दैन्। विकास र निर्माणको कार्य केवल सरकारले गर्ने हो भनेर जिम्मेबारीबाट
पन्छिन्छन्। हामी पूर्वीयहरूको मनोविज्ञान कस्तो छ भने आफ्नो घरभित्रको फोहर सडकमा
फालेपछि घर सफा भएको मान्ने। तर विकसित
देशका नागरिकहरूले भने त्यसरी सोंचदैन। आफ्नो घरको फोहर सडकमा फालेपछि त्यो पुन:
आफ्नो घर भित्र आइ पुग्छ त्यसकारण त्यो
फोहरको दीर्घकालिन व्यवस्थापन गर्नु पर्छ
भनी सोंच्छन्। यो सत्य कुरा हो। सन्दा अप्रिय लागे पनि।
दक्षिण एशियाका
राष्ट्रहरुमा नागरिकहरु बीच कलह हुनका लागि मुद्दाहरूको कुनै पनि बेला कमी
रहँदैन्। कुनै पनि बेला, कुनै एउटा मुद्दा उचालेर नाकरिकहरू बीच संघर्ष गराउन
सकिन्छ। झगडा, लडाइ, र युद्ध नै गराउन सकिन्छ। स्वार्थी नेताहरु यस्तो गराउने
मौकाको ताकमा बसेका हुन्छन्। जातीयता, क्षेत्रीयता, साम्प्रदायिकता, भाषा, भेष,
विश्वास, धर्म, संस्कृति आदिमा विभिन्न काल्पनिक मुद्दाहरू निर्माण गरेर जुनबेला
पनि नागरिकहरू बीच कलह गराउन सकिन्छ। र त्यस्तो भइरहेको छ पनि।
तर व्यापार, सरल जीवन
एवं अन्वेषणका लागि विश्वमा नै दोस्रो नम्बरमा पर्ने क्यानाडाको सर्वाधिक ठूलो सहर
टोरन्टोमा भने स्थिति फरक देख्न पाइन्छ। करिब ५२ लाख जन आवादी भएको यो सहर एउटा
सानो संसार जस्तो नै छ। एउटा अर्को विश्व जस्तो छ। शान्त छ, स्थिर छ। यो सहरमा
संसारका लगभग सबै देशका नागरिकहरुको बसोबास रहेको देख्न सकिन्छ। सडकहरूमा चाइनिज,
भारतीय, पाकिस्तानी, नेपाली, अफगानीहरू हिँडेको देख्न सकिन्छ। यसैगरी अफ्रिका एवं
पूर्वीय युरोपका विभिन्न राष्ट्रका नागरिकहरूलाई देख्न सकिन्छ। सबै आफ्नो भाषा
बोलिरहेका हुन्छन। आफ्नै धर्म र संस्कृति अनुसारको पहिरन लगाएका हुन्छन। सबैलाई आ-आफ्नो
धर्म अनुसारको पूजापाठ गर्न र पहिरन लगाउन स्वतन्त्रता छ। यो विशेषताले गर्दा नै
टोरन्टोका सडक वा मलहरुमा खुट्टादेखि टाउको सम्म कपडाले छोपेको एवं आँखा पनि
जालिदार कपडाले ढाकेको महिलाहरू देख्न सकिन्छ भने केवल हाफपैन्ट र टिसर्ट लगाएका
महिलाहरू पनि देख्न सकिन्छ। त्यसकारण टोरन्टोलाई दोस्रो संयुक्त राष्ट्रसंघ भन्ने
गरिएको होला। अनेक देशका नागरिकहरूको बसोबास भएता पनि सबै मिलेर, शान्तिसँग बसेका
छन्। संसारभरिका नागरिकहरू यस टोरन्टो सहरमा बसेर उनीहरुले घरभित्र आफ्नो धर्म र संस्कृतिको
पालना गरेता पनि समग्रमा भने सबै टोरन्टोबासीहरू “क्यानेडियन संस्कृतिमा” घुलमिल
भएका छन्, विलय भएका छन्। न त यहाँ जातीय कलह छ, न त खलबलिएको सामाजिक सद्भाव। न त
धर्मको नाममा विवाद। न त क्षेत्रीय विवाद। सबै केवल आ-आफ्नो उन्नति प्रगतिमा
केन्द्रित छन्। सरल र शान्तिपूर्वक जीवनयापनमा समर्पित छन्।
तर हाम्रो सानो देश
नेपालमा भने भए भरका मुद्दाहरु छन्। सम्पूर्ण जनता जातीयता, साम्प्रदायिकता,
क्षेत्रीयता आदि आदिको को आधारमा विभाजित छ। सामाजिक सद्भाव खल्बलिएको छ। नेपाली
समाज दुध फाटे झै फाटेको छ। एउटा जातीय समूहले अर्को जातीय समूहलाई शोषकको रुपमा
देख्छ र आफ्नो गरिबी, शोषणको र पछैउटेपन जिम्मेवार पनि उसैलाई मान्छ। तथाकथिक
जातीय समूहहरूले पनि समस्याको समाधान विचार आदान प्रदान र छलफलमा देख्दैनन्।
समाधान केलव द्वन्द र संघर्षमा देख्नछन्।
जुन स्थान वा सहर
जति बढी समावेसी हुन्छ, त्यहाँ शान्ति हुन्छ। त्यहाँ सोही अनुसार वा तिब्र गतिमा
विकास पनि हुने रहेछ। यो तथ्यको प्रमाण मैले आफ्नै आँखाले टोरन्टो सहरमा देखें।
एक अर्को रोचक
प्रशंग। टोरन्टो सहरको भ्रमणको क्रममा मैल उबर (एक किसिमको टेक्सी) प्रयोग गर्दा
सवारीको चालक लगभग प्रत्येक पटक पाकिस्तानी (नागरिक) पाएँ। यस्तो संयोग हो वा
टोरन्टोमा पाकिस्तानीहरूले बढीमा मात्रा उबर चालउँछन्, म यकिनका साथ भन्न सक्तिन। यात्राको
क्रममा, हेमखेम बढेको हुनाले, एक पटक एक पाकिस्तानी सबारी चालकसँग मैले प्रश्न
गरे- नेपाल, भारत, पाकिस्तान यस्ता मुलुकहरू हुन जहाँ प्रकृतिले सबै किसिमका
स्रोतहरू दिएको छ। यो क्षेत्र धनी भएको हुनाले नै अंग्रेजहरू यहाँको स्रोतमा कब्जा
जमाउन आएका थिए। यूरोप र पर्सियाका लुटेराहरू धन सम्मप्त्ति लुट्न भनेर नै यो
क्षेत्रमा आउने गर्थ्ये। त्यैपनि दक्षिण एशियाका नागरिकहरू किन विदेशतिर लाग्छन्?
तिमीले किन आफ्नो देश (पाकिस्तान) छाड्यौ? ती पाकिस्तानी चालकले भने “सर, हाम्रो
तिर (पाकिस्तानमा) सबै थोक छ, केवल शान्ति छैन। र त्यो आशान्ति पनि हामी आफैले
ल्याएका हौ।
A statue (above) and a welcome sign board (below) in a Toronto's street.
A statue (above) and a welcome sign board (below) in a Toronto's street.
विश्वराज
अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, April 29, 2019
Friday, April 22, 2016
UBER: The Emergence of A New Business-Article 110
उबर: नयाँ व्यापार प्रारम्भ- २
उबरको विकासले यातायात
व्यवस्था सजिलो र प्रभावकारी त भएकै छ, रोजगार क्षेत्र पनि फराकिलो भएको छ। धेरै मानिसले यसबाट रोजगार पाएका
छन्। उबरमा यातायात लागत (टेक्सीको तुलनामा) कम लाग्ने भएकोले यातायात सेवाको कुल
मागमा पनि वृद्धि हुन पुगेको छ। परिणामस्वरूप यातायात सेवाको कुल मागमा नै वृद्धि
हुन पुगेको छ, कारोबार बढेको छ।
पश्चिमा मुलुकहरूमा र मुख्यगरी अमेरिकामा नयाँनयाँ व्यापारको विकास हुने क्रम निरन्तर चलिरहन्छ। ‘इनस्टोर सपिंग’ (पसलभित्र गएर खरिद गर्ने), ‘बाइ अनलाई, पिकअप इन स्टोर’ (अनलाइन सामान खरिद गरेर स्टोरबाट प्राप्त गर्ने), ‘अनलाई सपिंग’ (अनलाइन सामान खरिद गर्ने), ‘ड्राइभ थ्रु’ (गाडी वा कारबाट नओर्लेर, कारभित्र रहेर नै सामान खरिद गर्न सकिने वा सेवा प्राप्त गर्न सकिने) जस्ता नयाँनयाँ किसिमका व्यापार पद्धतिको जन्म एवं विकासभूमि अमेरिका नै हो। दोस्रो विश्वयुद्धपछि अमेरिकाबाहेक विश्वका अन्य मुलुकहरूमा विज्ञान, अर्थशास्त्र, व्यापार आदिको क्षेत्रमा कमै विकास भएको देखिएको छ। एसियाका मुलुकहरूमा त नभए सरह नै भयो।
हाल प्रचलनमा रहेको उबरले जसरी यातायात सेवालाई सजिलो पारेको छ त्यसैगरी ड्राइभ थ्रुले पनि खरिद र बिक्री कार्यलाई सजिलो पारिदिएको छ। गाडीबाट नओर्लिएर सामान खरिद गर्न सकिने हुनाले खरिदकर्ताले खरिद–समय बचत गर्छ। यदि खाद्य सामग्री (सेन्डविच, कफी, ड्रिंक्स आदि) हो भने गाडीभित्र बसेर यात्रा गर्दै, खाद्य सामग्री उपभोग पनि गर्न सक्छ। यो व्यवस्थाद्वारा खरिदकर्ताको समयको बचत र कारोबार पनि सजिलो हुने भएकोले रेस्टुरा र बैंकहरूले, मुख्यगरी अमेरिकामा, ड्राइभ थ्रुको माध्यमबाट उपभोगकर्ताहरूलाई वस्तु वा सेवा प्रदान गरेको देख्न सकिन्छ। फर्मेसीहरूले उपभोक्तालाई औषधी बिक्री गर्न पनि ड्राइभथ्रुको निकै प्रयोग गरेको पाइन्छ।
पश्चिमा मुलुकहरूमा ज्यादै प्रचलित रहेको ड्राइभ थ्रुको विकास यस क्षेत्रमा धेरै पहिले भएको हो। ड्राइभ थ्रुको उत्पत्तिको श्रेय पनि अमेरिकालाई जान्छ किनभने यस किसिमको व्यापारिक सेवाको अवधारणाको विकास अमेरिकी नागरिक जोर्डन मार्टिनले सन् १९३० को दशकमा गरेका थिए। त्यस बेलादेखि अमेरिकामा ड्राइभ थ्रु प्रयोग हुँदै आएको छ। अभिलेखमा देखिए अनुसार भने सन् १९३० मा अमेरिकाको सेन्ट लुइस स्थित बैंक ‘ग्रेन्ड नेशनल बैंक अफ सेन्ट लुइस’ ले ग्राहकहरूलाई ‘ड्राइभ अप टेलर’ बाट सेवा प्रदान गरेको देखिन्छ। सो व्यवस्था अनुसार त्यस समयमा ग्राहकहरूले गाडी भित्र बसेर नै त्यो बैंकमा रकम जम्मा गर्न सक्थे।
अहिले मैक डोनाल्ड, केएफसी, पिजा हट, चिक–फिल–ए, ब्राम्स, पापा जोन्स पिजाजस्ता अमेरिकी फास्टफूड रेस्टुराहरूले लाखौं ग्राहकलाई ड्राइभ थ्रुको माध्यमबाट खाद्य सामग्री बिक्री गरिरहेका छन्। यसैगरी थुप्रै अमेरिकी बैंकहरूले पनि ड्राइभ थ्रुको माध्यमबाट लाखौ ग्राहकलाई बैंकिंग सेवा प्रदान गरिरहेका छन्। साथै पुस्तकालयहरूले सदस्यहरूबाट फर्काइने पुस्तक प्राप्त गर्न, फार्मेसीहरूले उपभोक्तालाई औषधि बिक्री गर्न तथा हुलाक सेवाले ‘मेल’ सङ्कलन गर्न ड्राइभथ्रुको उपयोग व्यापक मात्रामा गरेको देख्न सकिन्छ।
पूर्वमा भने नयाँनयाँ व्यापार पद्धतिको विकास हुन सकेन र अहिले पनि भइरहेको छैन। यस क्षेत्रमा नयाँनयाँ व्यापार पद्धतिको विकास गर्न जनताले पनि उद्यमीहरूलाई साथ दिएको एवं प्रोत्साहित गरेको देखिंदैन। सरकारहरू पनि विकासमुखी हुनुको साटो स्वार्थ र शक्ति केन्द्रित देखिएका छन्। पूर्वीय राष्ट्रहरू बढी समय लडाइँ, झगडा, द्वन्द्व, मनोमालिन्य उत्पादन गर्न व्यस्त रहे। अहिले पनि सो क्रम निरन्तर छ। आफ्नो अमूल्य समय रचनात्मक कार्यमा खर्च गर्न सकेनन्। बौद्धिक कार्यलाई महत्त्व दिएनन्। अफागानिस्तान, पाकिस्तान, भारत, नेपाल, श्रीलड्का, बङ्लादेश, इरान, इराक, सिरियाजस्ता राष्ट्रहरूको बढी समय द्वन्द्वमा व्यतीत भएको सहजै देख्न सकिन्छ। यी राष्ट्रहरूको ऊर्जावान् सृजनशील समय या त देशभित्रको कलह, द्वन्द्व, लडाइँ व्यवस्थापनमा खर्च भएको छ कि छिमेकीसँग युद्ध गर्नमा। चीन–भारत, भारत–पाकिस्तान, इरान–इराक बीच विगतमा धेरै लडाइँ भयो, अहिले पनि जारी छ। अहिले पनि पाकिस्तान र भारतबीच बेलाबेला अर्थहीन युद्ध भइ नै रहन्छ। यी दुवै राष्ट्रले राष्ट्रिय आयको ज्यादै ठूलो हिस्सा केवल सीमारक्षा वा एक अर्कामाथि आक्रमण वा प्रत्याक्रमण गर्ने उद्देश्यका साथ सीमा नजिक रहेको सेना एवं सुरक्षा व्यवस्थामा खर्च गर्छन्। भारत र पाकिस्तानले केवल छिमेकीबाट हुने आक्रमणको भयको कारण जे जति खर्च गर्छन् त्यो नगरेर, शान्तिसँग बसेर, त्यो रकम नयाँनयाँ व्यापार पद्धतिे विकासमा खर्च गर्ने हो भने यस क्षेत्रमा अनेक नयाँनयाँ व्यापारिक पद्धतिको विकास हुने थियो।
नेपालमा त झन् नयाँनयाँ व्यापारिक पद्धतिको विकास गर्ने सोचसम्मको पनि अभ्यास हुन सकेन र अहिले पनि भइरहेको छैन। उदाहरणका लागि बोल्न र विद्रोह गर्न नसक्ने बिचरा घोडा हजारौं वर्षदेखि दुब्लो–पातलो शरीर लिएर, उपयुक्त भोजन नपाएरै टाँगामा जोतिंदै आएको छ, सकी नसकी भारी तान्दै आएको छ। टाँगामा जोतिएको मरियल घोडाको श्रम (शोषण) कम पार्न एवं टाँगाको गति–कुशलतामा वृद्धि गर्न न कुनै किसिमको अनुसन्धान भएको छ, न कुनै सोच विकसित भएको छ। परम्परागत किसिमले त्यही रूपमा चल्दै आएको छ। विकल्पबारे सोचिएको छैन। हामी पूर्वीयहरू आफूलाई दयावान, क्षमाशील, ज्ञानी भन्दै आफूलाई अनेक ठूला–ठूला संज्ञा दिन्छौ तर घोडालगायत अनेक पशुहरूको चरम शोषण गर्नेहरूको पङ्क्तिमा अग्र स्थानमा रहन्छौं। विकसित देशहरूमा पशुहितमा पनि कानुनहरू बनेका छन्। तोकिएको अवस्थामा पशुहरूको बाँच्ने अधिकार खोस्न वा उनीहरूको शोषण गर्न पाइँदैन। अचम्म त के छ भने नेपाल वा भारतमा कुकुरको कुनै स्थान छैन, कुकुर भन्नासाथ समाजमा हेलाका साथ नाम लिएको बुझिन्छ र उसको बस्ने स्थान सडक, गल्ली वा फोहर ठाउँ हो भन्ने बुझिन्छ। कसैलाई गाली गर्दा ‘कुकुर’ भनेर गाली गरिन्छ । विकसित देशहरूमा कुकुरका लागि विभिन्न किसिमका सामग्री (भोजन, औषधि, लुगा, फर्निचर) उत्पादन गरिन्छ। वस्तु–उत्पादन मात्र होइन बिक्री पनि व्यवस्थित किसिमले गरिन्छ। यस्ता वस्तुहरू उत्पादन गर्ने अनेक उद्योग छन्। ती उद्योगहरूले करोडौं रुपियाँको करोबार गर्छन्। नेपाली समाजमा कुकुर वा घोडाको कस्तो स्थिति छ भन्ने कुराको यी केही प्रतिनिधि उदाहरणहरू मात्र हुन्। यो परिदृश्यमा भनौं बढी पूर्वीयहरू दयावान छन् कि पश्चिमाहरू?
अब यो भन्न हच्किनुहुन्न कि पूर्वीयहरूको चेतना, दया र ज्ञानको स्तर पश्चिमभन्दा ज्यादै पछाडि छ। विज्ञान, साहित्य, कला, व्यापार आदि क्षेत्रहरूमा पूर्वीयहरू पश्चिमाहरूभन्दा निकै पछाडि छन्। व्यापारमा त झन् निकै पछाडि छन्। र यो कारणले गर्दा पनि यो क्षेत्रमा ज्यादै गरिबी देखिएको हो।
ज्ञानको क्षेत्रमा पूर्वीयहरू निकै पछाडि रहेकाले नै यहाँ लामो समयसम्म शान्ति हुन नसकेको हो। निरन्तर द्वन्द्व, कलह, मतभेद र युद्ध हुने गरेको हो। यी कारणहरूले गर्दा नै यस क्षेत्रमा नयाँ नयाँ खोज एवं आविष्कार हुन सकिरहेको छैन। नयाँनयाँ व्यापारिक पद्धतिको जन्म हुन सकिरहेको छैन। हजारौं वर्ष पहिले, नेपाल वा भारतमा, चाक्लो एवं गहिरो कराहीमा छानिने जिलेबी अहिले पनि, यो अत्याधुनिक युगमा पनि, त्यही अवस्था र त्यही रूपमा जारी छ। कुनै ठूलो परिवर्तन हुन सकेको छैन। कम लागत, कम समय र कम श्रममा बढी र स्वादिलो एवं लामो समयसम्म राख्न सकिने किसिमबाट जिलेबी पकाउने सोच जन्मन सकेको छैन। आओस् पनि कसरी? नेपालीहरूको ऊर्जावान् समय कलह र झगडा गर्नमा व्यतीत हुन्छ। नेपालमा जति सामान्य जनता छ, त्यतिकै सङ्ख्यामा नेताहरू हुन थालेका छन्। राजनैतिक दलहरूको सङ्ख्या गनेर साध्य छैन। कहिले नसकिने माग र आन्दोलन छ, नेपाल नामक गरिब मुलुकमा। अनि त्यसै किसिमले कहिले नसकिने छन् अनगिन्ती मतभेदहरू। परिचयको संकट छ, जातीय संकट, क्षेत्रीय संकट छ। यी कुराहरूलाई बढाइचढाइ जनतासम्म लग्ने मेधावी एवं ओजस्वी नेताहरूको कमी छैन, नेपालमा। कमी छ भने केवल गरीबी हटाउन शान्तिपूर्वक सक्रिय एवं इमानदार प्रयास गर्ने नेताहरूको।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा
प्रकाशित Friday, April 22, 2016
Friday, April 15, 2016
UBER: The Emergence of a A New Business-Article-109
उबर: नया ब्यापार प्रारम्भ
संयुक्त राज्य अमेरिका
संसारभरिमै केवल एक मात्र यस्तो देश हो जहाँ नयाँ नयाँ किसिमका व्यापारहरूको विकास
गर्न सरकारले नै व्यापारी एवं उद्यमीहरूलाई प्रोत्साहित गर्दछ र नयाँ नयाँ किसिमका
व्यापारहरूको विकास हुन्छ पनि। विभिन्न किसिमका प्रशासनिक झन्झटहरू कम पारेर जन
उपयोगी एवं थप आर्थिक स्रोतहरू सृजना गर्ने, व्यापारिक वातावरण सृजना गर्ने कार्य सरकारले नै गर्दछ। उदार र बजार
अर्थतन्त्रको अभ्यास जनहितमा गरेर जनता र देश दुवैलाई धनी बनाउने उद्देश्य राख्दछ।
निष्कर्षमा भन्ने हो भने पूँजीवादको अभ्यास देशवासी र देशको हितमा अति लाभदायक
किसिमले गर्दछ।
पूँजीवादी आर्थिक सिद्धान्त अवलम्बन गरेर राष्ट्रिय अर्थव्यवस्थालाई उदार र बजारमुखी बनाएको कारण नै अमेरिकामा स्काइप, युटुब, फेसबूक, भाइबर, अमेजन, इबेजस्ता अत्याआधुनिक जनोपयोगी व्यापार पद्धति विकास भएको हो। यी आधुनिक व्यापारिक पद्धतिहरूले जनताको जीवन सरल मात्र पारेका छैनन्, रोजगार सृजना गरेर, जनताको आयमा वृद्धि गरेर, जनता र राष्ट्रलाई धनी तुल्याउन ठोस योगदान पुर्याएका छन्। तर अमेरिकामा हुने विभिन्न नयाँनयाँ किसिमका व्यापार पद्धतिहरूको विकासको श्रेय सरकारलाई मात्र छैन, यहाँको जनतालाई पनि छ किनभने व्यापरिक जगतमा हुने नयाँनयाँ व्यापारिक पद्धतिहरूको जनताले स्वागत गर्दछ, अनेक किसिमका बाधा–व्यवधान पुर्याएर उद्यमी एवं सरकार दुवैलालई हतोत्साहित पार्ने प्रयास गर्दैन। जनताले त त्यस किसिमबाट भएका नयाँनयाँ व्यापारिक पद्धतिहरूको विकास एवं प्रयोगमा सक्रिय भाग लिएर उद्यमीहरूको हौसला बढाउने कार्यसमेत गर्दछ। यस किसिमका नयाँनयाँ व्यापार पद्धतिहरूको विकासले विभिन्न किसिमका रोजगारको अवसर सृजना गरेर जनताको जीवनमा सकारात्मक असर पर्ने कुरा नागरिकहरूलाई राम्ररी थाहा छ।
अमेरिकामा विकसित विभिन्न नयाँ नयाँ व्यापारिक पद्धतिहरूमध्ये एउटा ‘उबर’ पनि हो, जुन अहिले निकै चर्चामा छ र प्रयोगमा पनि छ। उबर (UBER) एउटा यस्तो व्यापारिक संस्था हो जसले इन्टरनेटको माध्यमबाट खास किसिमको सफ्टवेयर प्रयोग गरेर यातायात सुविधा प्रदानकर्ता र यातायात सुविधा प्रयोगकर्ता दुवैबीच सेतुको कार्य गर्दछ। अर्थात् यी दुई पक्षबीच सम्पर्क गराउने कार्य गर्दछ।
सामान्य किसिमले भन्नुपर्दा उबर भनेको एउटा यातायात (टेक्सी) सेवा प्रदायक संस्था हो, तर यो एउटा माध्यमको रूपमा रहेर मात्र कार्य गर्दछ। न यसले टेक्सी चालकझैं यात्रुलाई गन्तव्यमा पुर्याउने कार्य गर्दछ, न यात्रु खोज्ने कार्य गर्दछ। न योसँग ठूलो सङ्ख्यामा कार नै छ। यो एउटा सम्पर्क सूत्र मात्र हो। यस अर्थमा यो परम्परागत टेक्सीभन्दा पूर्णतया भिन्न किसिमको छ।
उबर केवल माध्यम हो, जसले यातायात सेवा प्रदान गर्ने व्यक्ति र यातायात सेवा उपभोग गर्ने व्यक्तिबीच इन्टरनेटको माध्यमद्वारा संसारको कुनै पनि क्षेत्रमा रहेका यी दुई पक्षबीच सम्पर्क, टेलिफोनको प्रयगद्वारा सजिलै गराउँछ। उबर, अर्थात् ‘अमेरिकी बहुराष्ट्रिय अनलाइन यातायात सञ्जाल कम्पनी’ को हेडक्वाटर क्यालिफोर्निया राज्यको सान फ्रान्सिसको शहरमा छ। र यहाँबाट उबरले, ‘उबर मोबाइल एप्लिकेसन’ (Uber Mobile Application) को विकास, बजार व्यवस्थापन तथा सञ्चालन गर्दछ। अप्रिल १२, २०१६ सम्म उबरको सेवा ६० मुलुकको ४०४ शहरहरूमा उपलब्ध भइसकेको थियो।
उबरको स्थापना ‘उबरक्याब’ (UberCab) नामबाट ट्राभिस केलेनिक तथा गेरेट क्याम्पबाट सन् २००९ मा भएको थियो। र यसको ‘एप्लिकेसन’ सन् २०१२ मा बजारमा ल्याइएको थियो। उबरको अन्तराष्ट्रियकरण भने सन् २०१४ देखि भएको हो। उबरको प्रयोग अहिले संसारका विभिन्न शहरहरू जस्तै पेरिस, टोरन्टो, लन्डन, सिडनी, सिंगापुर, जोहानेसबर्ग, केप टाउन, सिउल, तिजुआना, बेइजिङ, बेंगलोर, नयाँ दिल्ली, हैदराबाद, चेन्नई, मुम्बई, कोची, पुने, वार्सा, मोन्ट्रिएल, कोपेनहेगेन, लागोस, नैरोबी, लाहोर, इस्लामाबाद, अबुजामा भइरहेको छ। अमेरिकाका विभिन्न शहरहरूमा उबर सेवा सजिलै उपलब्ध छ नै।
उबर प्रयोगमा हुने सहजताले गर्दा यसको प्रयोगमा निकै व्यापकता आएको छ। छोटो समयमा यसले निकै लोकप्रियता पाएको छ। यो लोकप्रियताले गर्दा परम्परागतरूपमा यातायात सेवा प्रदान गर्दै आएका कैव (Cab) वा टेक्सीका धनीहरू मारमा परेका छन्। परम्परागत रूपमा सञ्चालित टेक्सीका मालिकहरूले उबरसँग प्रतिस्पर्धा गर्नुपरेको छ भने उबरले उनीहरूको आम्दानी पनि कम पारिदिएको छ। उबर प्रयोगमा आउनुभन्दा पहिले छोटो दूरीको प्रभावकारी यातायात व्यवस्थामा केवल टेक्सी (धनी) हरूको एकाधिपत्य थियो। तर उबरको जन्मले उनीहरूको त्यो एकाधिपत्य समाप्त भएको छ र प्रयोगकर्ताहरू पनि टेक्सीभन्दा निकै सस्तो र सजिलो भएकोले टेक्सी बिर्सेर उबरतिर आकर्षित भएका छन्।
संसारको जुनसुकै शहर, जहाँ उबरको सञ्जाल (Network) फैलिएको छ वा त्यो शहर उबरद्वारा जोडिएको छ, त्यहाँ उपभोक्ताले यातायात सेवा सजिलै प्राप्त गर्न सक्छ भने यातायात सेवा दिन खोज्ने जुनसुकै व्यक्तिले आफ्नो निजी कार वा वाहनद्वारा सेवा प्रदान गर्न सक्छ। उबरको सबैभन्दा ठूलो विषेशता के हो भने कुनै पनि व्यक्तिले, कुनै पनि शहरमा रहेर आफ्नो निजी सवारी साधनद्वारा यातायात सेवा प्रदान गर्न अर्थात् यातायात सेवा बिक्री गर्न सक्छ। यस अर्थमा कुनै व्यक्तिसँग निजी सवारी साधन (कार, ट्रक, जिप, भ्यान) छ भने उसले आफ्नो मुख्य जागिरको अलावा उक्त सवारी साधन प्रयोग गरेर थप आय सृजना गर्न सक्तछ।
उबरको माध्यमद्वारा सवारी सेवा उपलब्ध गराउने पक्षले ‘उबर एकाउन्ट’ खोल्नुपर्छ। यसै एकाउन्टमा उबर प्रयोगकर्ताले, यातायात सेवा उपलब्ध गराउनेले पाउनुपर्ने ‘भाडा’ जम्मा गरिदिन्छ। भाडा जम्मा गर्ने कार्य स्वचालित हुन्छ। स्वचालितरूपमा कसरी हुन्छ भने उबर सेवा चाहने व्यक्तिले उबर एकाउन्टमा ‘लग इन’ हुने बित्तिकै उबरले उसको एकाउन्टमा सम्पर्क गर्छ र यातायात सेवा प्राप्त गरिसकेपछि कति भाडा भयो त्यो प्रयोगकर्ताको खातामा चार्ज गर्छ।
यातायात सेवा प्रयोगकर्ता वा उबर सेवा उपभोगकर्ताले पनि ‘उबर एकाउन्ट’ खोल्नुपर्दछ। प्रयोगकर्ताको उबर एकाउन्टबाट नै उसले तिर्नुपर्ने भाडा, सेवा उपलब्ध गराउनेको उबर एकाउन्टमा जम्मा हुन्छ। यसैगरी उबर प्रयोगकर्ताले यातायात सेवा प्रदान गर्ने व्यक्तिलाई आफ्नो क्रेडिट कार्ड प्रयोग गरेर ‘उबर’को माध्यमद्वारा भुक्तान गर्छ। उबरको माध्यमद्वारा यातायात सेवा उपभोग गर्न भने इन्टरनेट सेवा सहितको मोबाइल हुनु आवश्यक छ वा यो पूर्व शर्त पनि हो। किनभने सेलफोनद्वारा नै आफू नजिक रहेको उबरमा आबद्ध सवारीचालकलाई बोलाउनुपर्ने हुन्छ।
परम्परागत टेक्सीभन्दा उबर किन सजिलो र प्रभावकारी छ भने सवारी साधनलाई फोनद्वारा आफूले खोजेको स्थानमा जुन बेला पनि बोलाउन सकिन्छ र सोही अनुसार आफू नजिक रहेको सवारी साधन, सेवा प्रदान गर्न आइपुग्छ। उबर–सञ्जालमा कुन सवारी, कुन स्थानमा छ भन्ने कुरा प्रस्टसँग ‘उबर एप्लिकेसन’ को माध्यमबाट आफ्नो मोबाइल फोनमा देख्न सकिन्छ।
उबरको अर्को ठूलो विशेषता हो–प्रयोगकर्ता र सेवा उपलब्ध गराउने व्यक्ति (सवारी चालक) दुवै पक्षलाई एक अर्कोको नामलगायत अन्य विवरण थाहा हुन्छ, किनभने यी दुवै पक्षको विवरण उबरको एकाउन्ट वा एप्लिकेसनमा स्पष्ट देखिन्छ। विवरणहरू इलेक्ट्रोनिकली रेकर्डेड हुन्छन्। यसले गर्दा उबर ज्यादै सुरक्षित हुन पुगेको छ। ठगी, चोरी, वा लुटपाटको डर हुँदैन। यसैगरी सवारी चालक र सेवा उपभोगकर्ताले एक अर्काको व्यवहारको मुल्याङ्कन (Ratting) गर्ने हुनाले दुवै पक्ष एक अर्काप्रति राम्रो व्यवहार देखाउन बाध्य हुन्छन्।
उबर प्रयोग गर्दा नगदको कारोबार गर्नुपर्दैन, किनभने भुक्तानी पाउने र भुक्तानी गर्ने दुवै काम उबरको माध्यमद्वारा हुन्छ। भुक्तान गर्नेले क्रेडिट कार्डबाट सेवाशुल्क वा भाडा भुक्तान गर्छ भने सेवा प्रदान गर्नेले पाउने पैसा उसको उबर एकाउन्टमा जम्मा हुन्छ, जुन उसले आफूले चाहेको माध्यमबाट उबर एकाउन्टबाट प्राप्त गर्छ । क्रमश:
विश्वराज अधिकारी
प्रतीक दैनिककमा
प्रकाशित Friday,
April 15, 2016
Friday, April 8, 2016
Over Dependent on India:Main Hurdle of Economic Development-Article-108
भारतमाथि अति निर्भरता: आर्थिक विकासको वाधक
भारतमाथि अति निर्भरता कम नपारेसम्म नेपालको आर्थिक विकास सम्भव छैन। १. आयातका लागि नेपाल भारतप्रति अति निर्भर त छ नै, २ भारत बाहेक अन्य मुलुकहरूबाट समुद्री मार्ग भएर नेपाल आउने विभिन्न सामग्रीहरूको लागि पनि नेपाल भारतमाथि पूर्ण निर्भर छ। हिन्द महासागरको फाइदा नेपालले पटक्कै उठाउन सकेको छैन। यी दुई समस्याबाहेक एउटा अर्को पनि थप समस्या छ र त्यो हो नेपाल र भारतबीच लामो एवं अनियन्त्रित सिमाना। यो अनियन्त्रित सिमानाको सदुपयोग होइन, बढी मात्रामा दुरुपयोग भएको छ। कालोबजारी, तस्करी एवं अपराध कर्म गरेर कानुनी कारबाईबाट जोगिन यी दुवै देशका नागरिकले यो अनियन्त्रित खुला सिमानाको व्यापक दुरुपयोग गरेका छन्। अर्कोतिर यो अनियन्त्रित खुला सिमानाले भावनात्मक आनन्दबाहेक नेपाललाई केही पनि दिन सकेको छैन। नेपाल र भारत जतिको अव्यवस्थित र अनियन्त्रित खुला सिमाना संसारमा विरलै देख्न पाइन्छ।
नेपाल र भारतबीच अनियन्त्रित सिमानाले नेपालको आर्थिक विकासमा ज्यादै नकारात्मक असर पारेको छ। नेपालको तराईलाई त अझै विकासको हिसाबले, क्रमिकरूपमा ऋणात्मक दिशामा जाने किसिमले असर पारेको छ। तराईमा व्यापारिक गतिविधिमा र्हास आउनु, यस क्षेत्रका उद्योगहरू क्रमश: बन्द हुँदै जानु र विभिन्न उद्योगहरूको स्थापना पोखरा एवं काठमाडौंमा केन्द्रित हुनु यस तथ्यको प्रमाण हो। अर्कोतिर विडम्बना के छ भने तराईका केही नेताहरू, भारतसँग खुला सिमाना कायम रहनुपर्दछ, यसलाई नियन्त्रित गर्नुहुँदैन, यसले हाम्रो ‘बेटी–रोटी’ सम्बन्धलाई परिपोषित गरेको छ भन्ने तर्क अगाडि सार्छन्। यी तर्कहरूले नेपालको राजनीतिमा महत्त्वपूर्ण स्थान पाइ रहेसम्म नेपालको र खासगरी तराईको आर्थिक विकास सम्भव छैन। उल्टो तराईमा रहेका उद्योगहरू पहाडतिर सर्नेछन्। तराईका व्यवस्थित शहरहरू– वीरगंज, विराटनगर र शहरोन्मुख गाउँहरू जो पहिलेदेखि नै अति मधेसी–राजनीतिले गर्दा आर्थिक मन्दीको मारमा परेका छन्, झन्झन् गरिब भएर जानेछन्।
भारतमाथि अति निर्भरताले गर्दा नेपालमा उपलब्ध हुने वस्तुहरूको मूल्य पनि आकाशिएको छ। जस्तै पेट्रोलियम पदार्थ, खाद्यान्न, निर्माण सामग्री, मोटर, कार, इन्जिनियरिंग सामग्री, औषधि एवं स्वास्थ्य उपकरण आदि। भारत बाहेकको तेस्रो मुलुकहरूबाट विभिन्न सामग्री आयात गर्दा पारवहन मात्र होइन, गोदामसमेतको लागि पनि भारतको मुख ताक्नुपर्ने स्थिति छ।
पेट्रोलियम पदार्थको लागि पनि नेपालले भारतको जुन स्थानबाट पेट्रोलियम आयात गर्ने हो त्यहाँबाट पाइप ओछ्याएर अमलेखगंजसम्म मात्र पनि ल्याउने हो भने अहिलेको भन्दा धेरै सस्तोमा उपभोक्तालाई पेट्रोलियम पदार्थ उपलब्ध गराउन सकिन्छ।
भारतमाथि अति निर्भरताको इतिहास प्रचीन छ। राणाकालीन नेपालमा यातायात र व्यापारको लागि भारतमाथि पूर्ण निर्भर रहने स्थिति थियो। नेपालका विभिन्न स्थानमा पुग्न भारतको भूमि र यातायातका साधन प्रयोग गर्नुपर्ने बाध्यता थियो। यहाँसम्म कि वीरगंजदेखि ज्यादै नजिक रहेको गौर पुग्न पनि रक्सौल र बैरगनिया पुग्नुपर्ने जटिलता थियो। यो जटिलताले यात्रा लम्बिने मात्र होइन, महँगो पनि हुने गर्थ्यो। भारतको भूमि प्रयोग नगरेर नेपालीहरू युरोप, अमेरिका, अफ्रिका जानु त्यस बखत सपनाको कुरा थियो।
यसरी भारतमाथि अति निर्भरताले गर्दा नेपालीहरूले वस्तु एवं सेवाहरूको मूल्य बढी तिर्नुपर्ने स्थिति मात्र छैन, आम नेपालीको कार्यकुशलता (work efficiency) मा पनि र्हास आएको छ। भारतको निगाहको कारण ऊर्जा आपूर्तिमा उत्पन्न हुने अनियमितताले गर्दा नेपालीहरूको कार्यकुशलतामा र्हास आउनु स्वाभाविक पनि हो।
तर दुर्भाग्यको कुरा १ भारतमाथि अति निर्भरता अहिले पनि कायम छ, यसलाई कम पार्ने प्रयास गरिएको छैन। यो निर्भरता कायम राख्नुलाई नेताहरू भारतसँग राम्रो, विश्वासिलो र सदीयौं पुरानो सम्बन्धको रूपमा अथ्र्याउँछन्। तर त्यस्तो गर्नुमा उनीहरूलाई फाइदा छ भन्ने रहस्य जनताले बुझेको भने छैन। त्यस्तो गरेर उनीहरूलाई नेपालको राजनीतिमा आफ्नो शक्ति विस्तार गर्न र त्यसलाई निरन्तरता दिन ज्यादै सजिलो भएको छ। भारतको नजिक भएर नेताहरूलाई शक्ति प्राप्त गर्न र सत्ता–रथ आरोहण गर्न अति सजिलो र सुगम भएको छ। भारतमाथि अति निर्भरताले भने नेपाली जनता गरिबीको खाडलबाट बाहिर आउन सकिरहेको छैन । सामान्य रोजगारको लागि पनि नेपाल जनता ज्यानको च्याखे थापेर खाडीका मुलुकहरूमा जान बाध्य छ।
ओली–सरकार वा स्वयं प्रधानमन्त्री केपी ओली भारतमाथि नेपालको अति निर्भरता कम पार्न वा हटाउन केही मात्रामा भए पनि क्रियाशील भएको देखिएको छ। भारतमाथि अति निर्भरता कम पार्न ओलीले खेलेको भूमिकाको प्रशंसा हुनुपर्दछ। ओलीभन्दा पूर्वका उच्च प्रशासक, राष्ट्रप्रमुख वा उच्च नेता, कसैले पनि भारतमाथि नेपालको अति निर्भरता कम पार्ने आँट गरेको देखिएको थिएन। उल्टो भारतलाई रिझाउन अनेक नौटङ्की गरेको देखिएको थियो। त्यो नौटङ्की गिरिजाप्रसाद कोइराला, सूर्य बहादुर थापा वा पुष्पकमल दाहालले नै गरेका किन न हुन्?
भारतमाथि अति निर्भरता कम पार्न ठोसरूपमा केही गरेको तथ्यको पुष्टि प्रधानमन्त्री केपी ओलीले हालै गरेको चीन–भ्रमणको समयमा विभिन्न सम्झौता एवं समझदारीपत्रहरूमा हस्ताक्षर हुनुले गर्दछ। ओलीले चीन पुगेर दस बुँदे सम्झौता गरे। अनि पन्द्र बुँदे संयुक्त विज्ञप्ति पनि जारि गरे। ओलीको चीन भ्रमणको समयमा भएको पारवहन र यातायात सम्झौताले अब नेपाल चीनको भूमि हुँदै प्रशान्त महासागरसम्म पुग्न पाउने स्थितिको सुनिश्चितता भएको छ। नेपाल–चीनबीच सञ्चालन हुने रेलसेवाले नेपालमा व्यापारिक गतिविधिहरू ह्वात्तै अगाडि बढ्नेछ। नेपाल समृद्धितर्फ अग्रसर हुनेछ। तर सर्वाधिक महत्त्वको कुरा के हो भने चीनसँग भएका समझदारी एवं सम्झौताहरूले नेपालले अहिलेसम्म भारतको काँधमा चढेर मात्र ‘नेपाल एक सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो’ भन्नुपर्ने बाध्यात्मक स्थितिको अन्त भएको छ। दाजुको भूमिकामा बसेको वा बलपूर्वक बस्न खोजेको भारतले नेपाललाई ‘मसँग सोधेर मात्र कुनै कुराको निर्णय गर’ भन्ने स्थिति अब समाप्त भएको छ। हालै नेपालले संविधान जारी गर्दा भारतले के कस्तो वक्तव्य दिएको थियो र उसले के गर्यो, जगजाहेर छ। नेपालले जारिगरेको संविधानको भारतले अहिलेसम्म स्वागत गरेको छैन।
चीनसँग भएका विभिन्न समझदारी एवं सम्झौता नेपालका लागि राजनैतिक महत्त्वका त छन् नै, आर्थिक महत्त्वका पनि छन्। अझै बढी आर्थिक महत्त्वका छन्। आर्थिक महत्त्वका यस अर्थमा छन् कि यिनले भारतमाथि अति निर्भरतालाई क्रमिकरूपमा कम पार्दै नेपालमा वस्तु एवं सेवाहरूको मूल्य कम पार्न सक्रिय भूमिका खेल्नेछ।
भारतसँग नेपालको सम्बन्ध भावनात्मक महत्त्वको छ भने चीनसँग रणनीतिक महत्त्वको छ, आर्थिक महत्त्वको छ। यो तथ्य नेपालका नेताहरूले पनि प्रस्टगरी बुझ्न आवश्यक छ र भारतलाई पनि बुझाउन आवश्यक छ।
तर भावनात्मक सम्बन्धको पनि आफ्नै किसिमको महत्त्व हुन्छ। यो तथ्यलाई पनि नेपालका नेताहरू एवं जनताले बिर्सिनुहुँदैन। नेपालीहरू पितृलाई पिण्ड दिन वा श्राद्ध गर्न चीनको तिब्बत, बेजिंग वा संघाई जाँदैनन्, भारतको गया, हरिद्वार वा केदारनाथ जान्छन्। यो सर्वकालिक कटु सत्य हो।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा
प्रकाशित Friday, April 8, 2016
Saturday, April 2, 2016
A Crime Never Goes Unpunished-Article-107
काराजिकको नियति:पाप
धुरीबाट कराउँछ
कुनै पनि अपराध
भएपछि त्यो अपराधको लागि कुनै व्यक्ति वा पक्ष अनिवार्य रुपमा जिम्मेवार हुनु
पर्दछ र अपराध कर्म गरेवापत अपराध गर्ने व्यक्तिले अनिवार्य रुपमा सजाएँको भागेदार
हुनु पर्दछ। र त्यसै गरी उक्त अपराध कर्मको लागि उसले उचित सजाए पाउनु पर्दछ पनि।
अर्थात अपराध गर्ने व्यक्ति वा पक्षले न्यायिक समाजमा उन्मुक्ति पाउँदैन र उन्मुक्ति पाएको देखिएको छैन पनि। प्राकृतिक
कारण बाहेक कुनै व्यक्ति, संस्था वा राजनैतिक दलबाट ठूलो संख्यामा व्यक्तिहरूको हत्या
हुनु ठूलो एवं अक्षम्य अपराध हो। हत्यामा प्रत्यक्ष सहभागी हुनु, हत्या हुने
किसिमको आदेश दिनु, हत्या हुने वातावरण तयार पार्नु र साथै आफ्नो नियन्त्रणमा
रहेको शक्तिलाई नियन्त्रित गर्न नसकेर त्यस शक्ति दवारा हत्या हुनु, यी सबै अपराध
कर्महरू हुन, अपराध कर्म गर्नेहरूले उन्मुक्ति पाउन जस्तो सुकै जिकिर गरेता पनि।
राजनैतिक परिवर्तन ल्याउनका लागि जनताको हितमा आन्दोन गर्ने पक्ष र विरोधी पक्ष,
जुनबाट पनि ठूलो संख्यामा हताहति हुनु वा हताहति हुने वातावरण सृजना हुनु समेत पनि
अपराध कर्म नै हो। त्यसकारण कुनै पनि कारणबाट, कुनै पनि नाम दिएर, कसैले पनि, ठूलो
संख्यामा हताहति गर्न निश्चित रुपमा नै पाउँदैन।
यस्तै किसिमको आम
हत्या गरेकोमा अहिले सजाएको भागेदार भएका छन्, रादोवान काराजिक। हजारौ
व्यक्तिहरूको हत्या हुने अवस्था सृजना गरेको एवं आफ्नो मातहतमा रहेका
व्यक्तिहरूलाई आम हत्यामा संलग्न हुन आदेश दिएर अप्रत्यक्ष रुपमा हत्यामा संलग्न
भएको अपराध गरे वापत ७० वर्षीय पूर्व बोस्नियाली सर्व नेता काराजिकलाई निदरलैण्डको
द हेग स्थित राष्ट्रसंघीय ट्राव्युनल (Tribunal) का न्यायधीशले हालै (मार्च २०१६) चालिस वर्षको
कारावास सजाए सुनाएका छन्।
काराजिकले आफ्नो
राजनैतिक महत्वाकांक्षा पूरा गर्नका लागि जातिवादी राष्ट्रवादको नारा उचालेर सन्
१९९२-९५ को बोस्नियाली युद्धमा लगभग आठ हजार जति मुस्लिमहरूको हत्या हुने अवस्था
सृजना गरेका थिए। यसैगरी उनको अप्रत्यक्ष नेतृत्वमा हजारौं क्रोएट्सहरूको पनि
ज्यान गएको थियो। मुस्लिम र क्रोएट्हरू गरेर सारायावो सहरमा १२ हजार भन्दा बढी व्यक्तिहरूको
“जातीय सफाया” काराजिकको इशारमा नै भएको थियो। सन् १९९२-९५ भएको बोस्नियाली
युद्धमा एक लाख भन्दा बढी व्यक्तिहरूको ज्यान गएको थियो। २२ लाख व्यक्तिहरू
विस्थापित भएका थिए भने लगभग २० हजार महिलाहरू क्रुर किसिमबाट बलत्कारको शिकार
भएका थिए।
हत्या गर्दा
काराजिकले आफूलाई कुनै शक्तिले दण्डित गर्न सक्ने छ भनी सोंचेका थिएनन्। त्यसकारण
उनी जातीय सफायामा निर्धक्क भएर संलग्न भए। उग्र राष्ट्रवादको नाममा हजारौ निर्दोष
नागरिकहरूको हत्यामा सक्रिए रहे। एक किसिमको मनोमानी गरे। तर पछि उनलाई आफ्नो
करतुतको छानबिन हुने र आफू अपराधी ठहर हुने भयले सताउन थाले। एक दिन काराजिक आफू
बसेको स्थानबाट एकाएक गाएब भए।
तर पाप धुरी बाट
कराउँछ भन्ने तथ्य चरितार्थ भयो। काराजिक पक्राउ परे। १३ वर्षपछि अर्थात २१ जुलाई
२००८ मा काराजिक गिरफ्तार हुँदा उनी बेलग्रेडमा नाम र रुप दुबै परिवर्तन गरेर एक
आरोग्यकर्ताको कार्य गरिरहेको अवस्थमा फेला परे। उनलाई “युद्ध अपराध अदालत” मा उपस्थित
हुन निदरलैण्ड्स पुर्याइयो। काराजिक पक्राउ पर्दा उनलाई परिचित व्यक्तिले पनि
पहिचान गर्न नसक्ने गरी लामो दारी पालेको र ठूलो चस्मा लगाएको- भेष बदलेको
अवस्थामा देखियो। जे होस पाप धूरीबाट कराउँछ भन्ने तथ्य असत्य साबित भएन, काराजिक
पक्राउ परे, उनले सजाए पाए। काराजिको महत्वांकाक्षाको सिकार हुने, ज्यान गुमाउनेका
प्रिय एवं आफन्तहरूले सन्तोषको अनुभूति गरे।
काराजिकको
थिए र के अपराध गरे?
काराजिकको थिए र के
अपराध गरे भन्ने बारे विस्तृतमा लेख्ने हो भने अर्को थप दुई चार लेख तयार हुन्छ।
त्यसकारण छोटकरीमा के हो भने, पूर्व युगोस्लाभिया, जो एक कम्युनिष्ट राष्ट्र थियो,
टुक्रिएर अनेक राष्ट्रहरूमा परिणत भए पछि युगोस्लाभिया भित्रको क्षेत्र बोस्निया-
हर्जगोवनाले सन् १९९२ मा एक स्वतन्त्र राष्ट्रको मान्यता पायो। त्यसरी मान्यता
पाउने बित्तिकै बोसनियाको सर्व नेताको
रुपमा काराजिकको उदय भएको थियो। काराजिक बोस्निया-हर्जगोविनाको राष्ट्रपति
निर्वाचित पनि भए। बोस्निया-हर्जगोविनाले स्वतन्त्र राष्ट्रको मान्यता पाएको दुई
वर्ष नबित्दै काराजिकले त्यसलाई “सर्बियन
रिपब्लिक अफ बोस्निया हर्जगोविना” को नामबाट नया देशको सृजना गरिएको घोषणा गरे। र
त्यस नया देशको नाम पुन: परिवर्तन गरेर “रिपब्लिक सर्पस्का” राखे र साथै आफूलाई
त्यस राष्टको प्रमुख पनि घोषणा गरे। त्यहाँको राजनीतिमा केवल बोस्नियाली सर्वहरूको
शक्ति बढाउन खोजे। राजनीतिमा आउनु पूर्व उनी एको मनोचिकित्सक थिए। काराजिक शक्तिमा
रहेको बेला बोस्निया-हर्जगोविना भित्र रहेका अल्प संख्यक मुस्लिम र क्रोएटहरूको
जातीय सफाया हुने वातावरण उनले सृजना गरेका थिए। काराजिकले बोस्नियाली सर्वहरूको
पक्ष लिएर मुस्लिम र क्रोएट्समाथि अत्याचार गरेका थिए। यही नै उनको मुख्य अपराध
थियो। मुख्य रुपमा, सन् १९९५ मा सर्वेनिचामा भएको आम हत्या (massacre ) वा जातिय सफाया (genocide), जसमा हजारौ अल्प संख्यक मुस्लिमहरूको हत्या
भएको थियो, ले काराजिकलाई तानेर युद्ध अपराध अदालतसम्म पुर्यायो। उनी माथि युद्ध
अपराध एवं जातिय सफाया गरेको अभियोग लगाइयो।
रादोवान काराजिकको
सन्दर्भलाई नेपालको राजनीति सँग जोडौ। नेपालमा पनि नेताहरूले आफ्नो महत्वकांक्षा पूरा गर्न जनताको उपयोग गरेका
छन्। पटक पटक गरेका छन्। हजारौ व्यक्तिहरूलाई उत्प्रेरित गरेर, हतियार बोक्न
लगाएर, उनीहरूलाई हत्यामा संलग्न हुन निर्देशन दिएका छन्। नेताहरूको इशारा वा
निर्दैशन पाएर नै नेपालीहरूले अस्त्र शस्त्र बोकेर, एक आपसमा नै युद्ध गरेर,
हजारौको ज्यान लिएका छन्। आफ्नै देशवासी उपर भाला, बन्चरो, कुखुरी आदि प्रहार
गरेका छन्। गोली बर्साएका छन्। नेताहरूको महत्वाकांक्षाको कारण नै माओवादी खुनी
संघर्षमा परेर करिब १७ हजार नेपालीहरूको ज्यान गयो। दुई पटक भएको मधेश आन्दोलनले पनि
सयौ नेपालीहरूको ज्यान लियो।
तर यसरी हत्या हुने
वातावरण सृजना गर्ने नेताहरूले के सजाएबाट उन्मुक्ति पाउने छन्? नेपालमा
दण्डहीनताको स्थिति सँधै रहने छ, यसैगरी?
सयौं, हजारौं
व्यक्तिहरूको हत्या हुने अपराध गरे बापत कुनै एक पक्ष (विद्रोही वा सरकार,
आन्दोलनकारी वा सरकार) ले उक्त हत्याको जिम्मेवारी त लिनै पर्छ किनभने यी दुई
पक्षहरू मध्ये एउटा त अवश्य रुपमा पनि दोषी त हुन्छ नै। कुनै पनि अपराध कर्म दोषी वा अपराधकर्ता रहित
हुँदैन। त्यसकारण कुनै एक पक्षलाई दोषी त ठहर गर्न पर्छ नै। यस्तो नगरेमा नेता वा
सरकारबाट निर्दोष नागरिकहरू मारिने क्रम जारिनै रहनेछ, कहिले पनि टुट्ने छैन्। यो
तथ्यलाई महसुस गरेर नै पश्चिमी राष्ट्रहरूले “न्यायिक अदालत”, “युद्ध अपराध
अदालत”, अन्तरार्ष्ट्रिय न्यायिक अदालत” आदिको व्यवस्था गरेका हुन। कुनै देशको
सरकार वा जनता अपराधीलाई सजाए दिन कमजोर, असक्षम, वा पक्षपाति भएमा यस्ता
अदालतहरूले अपराधीहरूलाई सजाए दिन्छन। यही व्यवस्था अनुरुप नै रादोवान काराजिकले
चालिस वर्षको कारावास सजाए पाएका हुन।
यो महाभारतको युग
होइन। महाभारतको युगमा मात्र राजा, महाराजा, सेनापति आदिले आफ्नो नितान्त
व्यक्तिगत महत्वाकांक्षा पूरा गर्न, आफूलाई शक्तिसाली प्रदर्शित गर्न, राज्यको
सीमा विस्तार गर्न, अनावश्यक रुपमा
जनतालाई रणभूमिमा धकेल्ने काम गर्थ्ये। लाखौ जनताको ज्यानलाई तुच्छ र आफ्नो
महत्वाकांक्षालाई महान देख्ने गर्थ्ये। महाभारत वा प्रथम र दोस्रो विश्वयुद्धमा
किन हजरौ निर्दोष सिपाही वा सेनाहरूको हत्या भयो? आउने पीढीले यसबारे अझै गहन
मूल्यांकन गर्नछ।
यो युगको जनता
दुर्योधन जस्तो घमण्डि नेता (तत्कालीन राजा) को पछाडि लागेर उसको महत्वाकांक्षा
पूरा गर्न ज्यान दिन तयार छैन। यो युगको जनता शान्तिसँग बस्न चाहन्छ। तर अफसोच
केही देशहरूमा भने अहिले पनि नेताहरूले जनतालाई आफ्नो महत्वाकांक्षाको घोडा बनाइ
रहेका छन्। जतनता पनि राजिखुसी घोडा बनेको छ। नेपालीहरू पनि नेताहरूको घोडा बन्न
सदैव तयार नै देखिएका छन्।
तर यो सिलासिला एक
दिन अवश्य टुटने छ। यो सिलसिला तब टुटने छ जब नेता वा सरकारले अपराध कर्म गरे बापत
सजाए पाउने सिलसिला सुरु हुनेछ, काराजिकले पाए झैं। नेपालका नेताहरूका लागि पनि
“पाप धूरिबाट कराउँछ भन्ने यथार्थ चरितार्थ हुनेछ।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Saturday, April 02, 2016