Friday, April 22, 2016

UBER: The Emergence of A New Business-Article 110

उबर: नयाँ व्यापार प्रारम्भ-

उबरको विकासले यातायात व्यवस्था सजिलो र प्रभावकारी त भएकै छ, रोजगार क्षेत्र पनि फराकिलो भएको छ। धेरै मानिसले यसबाट रोजगार पाएका छन्। उबरमा यातायात लागत (टेक्सीको तुलनामा) कम लाग्ने भएकोले यातायात सेवाको कुल मागमा पनि वृद्धि हुन पुगेको छ। परिणामस्वरूप यातायात सेवाको कुल मागमा नै वृद्धि हुन पुगेको छ, कारोबार बढेको छ।

    पश्चिमा मुलुकहरूमा र मुख्यगरी अमेरिकामा नयाँनयाँ व्यापारको विकास हुने क्रम निरन्तर चलिरहन्छ। इनस्टोर सपिंग’ (पसलभित्र गएर खरिद गर्ने), ‘बाइ अनलाई, पिकअप इन स्टोर (
अनलाइन सामान खरिद गरेर स्टोरबाट प्राप्त गर्ने), ‘अनलाई सपिंग’ (अनलाइन सामान खरिद गर्ने), ‘ड्राइभ थ्रु’ (गाडी वा कारबाट नओर्लेर, कारभित्र रहेर नै सामान खरिद गर्न सकिने वा सेवा प्राप्त गर्न सकिने) जस्ता नयाँनयाँ किसिमका व्यापार पद्धतिको जन्म एवं विकासभूमि अमेरिका नै हो। दोस्रो विश्वयुद्धपछि अमेरिकाबाहेक विश्वका अन्य मुलुकहरूमा विज्ञान, अर्थशास्त्र, व्यापार आदिको क्षेत्रमा कमै विकास भएको देखिएको छ। एसियाका मुलुकहरूमा त नभए सरह नै भयो।

    हाल प्रचलनमा रहेको उबरले जसरी यातायात सेवालाई सजिलो पारेको छ त्यसैगरी ड्राइभ थ्रुले पनि खरिद र बिक्री कार्यलाई सजिलो पारिदिएको छ। गाडीबाट नओर्लिएर सामान खरिद गर्न सकिने हुनाले खरिदकर्ताले खरिदसमय बचत गर्छ। यदि खाद्य सामग्री 
(सेन्डविच, कफी, ड्रिंक्स आदि) हो भने गाडीभित्र बसेर यात्रा गर्दै, खाद्य सामग्री उपभोग पनि गर्न सक्छ। यो व्यवस्थाद्वारा खरिदकर्ताको समयको बचत र कारोबार पनि सजिलो हुने भएकोले रेस्टुरा र बैंकहरूले, मुख्यगरी अमेरिकामा, ड्राइभ थ्रुको माध्यमबाट उपभोगकर्ताहरूलाई वस्तु वा सेवा प्रदान गरेको देख्न सकिन्छ। फर्मेसीहरूले उपभोक्तालाई औषधी बिक्री गर्न पनि ड्राइभथ्रुको निकै प्रयोग गरेको पाइन्छ।

    पश्चिमा मुलुकहरूमा ज्यादै प्रचलित रहेको ड्राइभ थ्रुको विकास यस क्षेत्रमा धेरै पहिले भएको हो। ड्राइभ थ्रुको उत्पत्तिको श्रेय पनि अमेरिकालाई जान्छ किनभने यस किसिमको व्यापारिक सेवाको अवधारणाको विकास अमेरिकी नागरिक जोर्डन मार्टिनले सन् १९३० को दशकमा गरेका थिए। त्यस बेलादेखि  अमेरिकामा ड्राइभ थ्रु प्रयोग हुँदै आएको छ। अभिलेखमा देखिए अनुसार भने सन् १९३० मा अमेरिकाको सेन्ट लुइस स्थित बैंक ग्रेन्ड नेशनल बैंक अफ सेन्ट लुइसले ग्राहकहरूलाई ड्राइभ अप टेलरबाट सेवा प्रदान गरेको देखिन्छ। सो व्यवस्था अनुसार त्यस समयमा ग्राहकहरूले गाडी भित्र बसेर नै त्यो बैंकमा रकम जम्मा गर्न सक्थे।

    अहिले मैक डोनाल्ड, केएफसी, पिजा हट, चिकफिल, ब्राम्स, पापा जोन्स पिजाजस्ता अमेरिकी फास्टफूड रेस्टुराहरूले लाखौं ग्राहकलाई ड्राइभ थ्रुको माध्यमबाट खाद्य सामग्री बिक्री गरिरहेका छन्। यसैगरी थुप्रै अमेरिकी बैंकहरूले पनि ड्राइभ थ्रुको माध्यमबाट लाखौ ग्राहकलाई बैंकिंग सेवा प्रदान गरिरहेका छन्। साथै पुस्तकालयहरूले सदस्यहरूबाट फर्काइने पुस्तक प्राप्त गर्न, फार्मेसीहरूले उपभोक्तालाई औषधि बिक्री गर्न तथा हुलाक सेवाले मेलसङ्कलन गर्न ड्राइभथ्रुको उपयोग व्यापक मात्रामा गरेको देख्न सकिन्छ।

    पूर्वमा भने नयाँनयाँ व्यापार पद्धतिको विकास हुन सकेन र अहिले पनि भइरहेको छैन। यस क्षेत्रमा नयाँनयाँ व्यापार पद्धतिको विकास गर्न जनताले पनि उद्यमीहरूलाई साथ दिएको एवं प्रोत्साहित गरेको देखिंदैन। सरकारहरू पनि विकासमुखी हुनुको साटो स्वार्थ र शक्ति केन्द्रित देखिएका छन्। पूर्वीय राष्ट्रहरू बढी समय लडाइँ, झगडा, द्वन्द्व, मनोमालिन्य उत्पादन गर्न व्यस्त रहे। अहिले पनि सो क्रम निरन्तर छ। आफ्नो अमूल्य समय रचनात्मक कार्यमा खर्च गर्न सकेनन्। बौद्धिक कार्यलाई महत्त्व दिएनन्। अफागानिस्तान, पाकिस्तान, भारत, नेपाल, श्रीलड्का, ङ्लादेश, इरान, इराक, सिरियाजस्ता राष्ट्रहरूको बढी समय द्वन्द्वमा व्यतीत भएको सहजै देख्न सकिन्छ। यी राष्ट्रहरूको ऊर्जावान् सृजनशील समय या त देशभित्रको कलह, द्वन्द्व, लडाइँ व्यवस्थापनमा खर्च भएको छ कि छिमेकीसँग युद्ध गर्नमा। चीनभारत, भारतपाकिस्तान, इरानइराक बीच विगतमा धेरै लडाइँ भयो, अहिले पनि जारी छ। अहिले पनि पाकिस्तान र भारतबीच बेलाबेला अर्थहीन युद्ध भइ नै रहन्छ। यी दुवै राष्ट्रले राष्ट्रिय आयको ज्यादै ठूलो हिस्सा केवल सीमारक्षा वा एक अर्कामाथि आक्रमण वा प्रत्याक्रमण गर्ने उद्देश्यका साथ सीमा नजिक रहेको सेना एवं सुरक्षा व्यवस्थामा खर्च गर्छन्। भारत र पाकिस्तानले केवल छिमेकीबाट हुने आक्रमणको भयको कारण जे जति खर्च गर्छन् त्यो नगरेर, शान्तिसँग बसेर, त्यो रकम नयाँनयाँ व्यापार पद्धतिे विकासमा खर्च गर्ने हो भने यस क्षेत्रमा अनेक नयाँनयाँ व्यापारिक पद्धतिको विकास हुने थियो।

    नेपालमा त झन् नयाँनयाँ व्यापारिक पद्धतिको विकास गर्ने सोचसम्मको पनि अभ्यास हुन सकेन र अहिले पनि भइरहेको छैन। उदाहरणका लागि बोल्न र विद्रोह गर्न नसक्ने बिचरा घोडा हजारौं वर्षदेखि दुब्लोपातलो शरीर लिएर, उपयुक्त भोजन नपाएरै टाँगामा जोतिंदै आएको छ, सकी नसकी भारी तान्दै आएको छ। टाँगामा जोतिएको मरियल घोडाको श्रम (शोषण) कम पार्न एवं टाँगाको गतिकुशलतामा वृद्धि गर्न न कुनै किसिमको अनुसन्धान भएको छ, न कुनै सोच विकसित भएको छ। परम्परागत किसिमले त्यही रूपमा चल्दै आएको छ। विकल्पबारे सोचिएको छैन। हामी पूर्वीयहरू आफूलाई दयावान, क्षमाशील, ज्ञानी भन्दै आफूलाई अनेक ठूलाठूला संज्ञा दिन्छौ तर घोडालगायत अनेक पशुहरूको चरम शोषण गर्नेहरूको पङ्क्तिमा अग्र स्थानमा रहन्छौं। विकसित देशहरूमा पशुहितमा पनि कानुनहरू बनेका छन्। तोकिएको अवस्थामा पशुहरूको बाँच्ने अधिकार खोस्न वा उनीहरूको शोषण गर्न पाइँदैन। अचम्म त के छ भने नेपाल वा भारतमा कुकुरको कुनै स्थान छैन, कुकुर भन्नासाथ समाजमा हेलाका साथ नाम लिएको बुझिन्छ र उसको बस्ने स्थान सडक, गल्ली वा फोहर ठाउँ हो भन्ने बुझिन्छ। कसैलाई गाली गर्दा कुकुरभनेर गाली गरिन्छ । विकसित देशहरूमा कुकुरका लागि विभिन्न किसिमका सामग्री (भोजन, औषधि, लुगा, फर्निचर) उत्पादन गरिन्छ। वस्तुउत्पादन मात्र होइन बिक्री पनि व्यवस्थित किसिमले गरिन्छ। यस्ता वस्तुहरू उत्पादन गर्ने अनेक उद्योग छन्। ती उद्योगहरूले करोडौं रुपियाँको करोबार गर्छन्। नेपाली समाजमा कुकुर वा घोडाको कस्तो स्थिति छ भन्ने कुराको यी केही प्रतिनिधि उदाहरणहरू मात्र हुन्। यो परिदृश्यमा भनौं बढी पूर्वीयहरू दयावान छन् कि पश्चिमाहरू?

    अब यो भन्न हच्किनुहुन्न कि पूर्वीयहरूको चेतना, दया र ज्ञानको स्तर पश्चिमभन्दा ज्यादै पछाडि छ। विज्ञान, साहित्य, कला, व्यापार आदि क्षेत्रहरूमा पूर्वीयहरू पश्चिमाहरूभन्दा निकै पछाडि छन्। व्यापारमा त झन् निकै पछाडि छन्। र यो कारणले गर्दा पनि यो क्षेत्रमा ज्यादै गरिबी देखिएको हो।

    ज्ञानको क्षेत्रमा पूर्वीयहरू निकै पछाडि रहेकाले नै यहाँ लामो समयसम्म शान्ति हुन नसकेको हो। निरन्तर द्वन्द्व, कलह, मतभेद र युद्ध हुने गरेको हो। यी कारणहरूले गर्दा नै यस क्षेत्रमा नयाँ नयाँ खोज एवं आविष्कार हुन सकिरहेको छैन। नयाँनयाँ व्यापारिक पद्धतिको जन्म हुन सकिरहेको छैन। हजारौं वर्ष पहिले, नेपाल वा भारतमा, चाक्लो एवं गहिरो कराहीमा छानिने जिलेबी अहिले पनि, यो अत्याधुनिक युगमा पनि, त्यही अवस्था र त्यही रूपमा जारी छ। कुनै ठूलो परिवर्तन हुन सकेको छैन। कम लागत, कम समय र कम श्रममा बढी र स्वादिलो एवं लामो समयसम्म राख्न सकिने किसिमबाट जिलेबी पकाउने सोच जन्मन सकेको छैन। आओस् पनि कसरी? नेपालीहरूको ऊर्जावान् समय कलह र झगडा गर्नमा व्यतीत हुन्छ। नेपालमा जति सामान्य जनता छ, त्यतिकै सङ्ख्यामा नेताहरू हुन थालेका छन्। राजनैतिक दलहरूको सङ्ख्या गनेर साध्य छैन। कहिले नसकिने माग र आन्दोलन छ, नेपाल नामक गरिब मुलुकमा। अनि त्यसै किसिमले कहिले नसकिने छन् अनगिन्ती मतभेदहरू। परिचयको संकट छ, जातीय संकट, क्षेत्रीय संकट छ। यी कुराहरूलाई बढाइचढाइ जनतासम्म लग्ने मेधावी एवं ओजस्वी नेताहरूको कमी छैन, नेपालमा। कमी छ भने केवल गरीबी हटाउन शान्तिपूर्वक सक्रिय एवं इमानदार प्रयास गर्ने नेताहरूको।


विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, April 22, 2016

No comments:

Post a Comment