Friday, October 7, 2016

Is There Any Possibility of War Between India and Pakistan?-Article-125


के भारत-पाकिस्तान युदध होला?


विगत दुई दशकमा भारतले गरेको चमत्कारी आर्थिक प्रगतिले उसलाई धनी देशहरूको पङ्क्तिमा उभिने वातावरण तयार गरिदिएको त छ नै, एसियाको प्रमुख महाशक्ति बन्ने उसको चाहनालाई बलियो उद्देश्यमा अनुवादित गरिदिएको छ। र भारतको यो उद्देश्यले सिङ्गो एसियालाई नै युद्धको चक्रव्यूहमा पार्ने हो कि भन्ने खतरा पनि बढेर गएको छ।
   
पछिल्ला वर्षहरूमा भारतले आधुनिक एवं आणविक हतियारहरू (Nuclear Weapns) को विकास तथा भण्डारमा निकै पैसा खर्च गरेको छ, जुन भारतजस्तो धेरै गरिबहरूको बसोवास रहेको मुलुकको लागि आवश्यक छैन। भारतले अहिले एक सयभन्दा बढी स्थानहरूमा आणविक हतियार तैनाथ गरेको छ। साथै ऊसँग मध्यम दूरीका मिसाइलहरू पनि छन्। भारत अहिले आणविक युद्ध गर्ने क्षमता र मनस्थिति दुवै लिएर बसेको छ। अन्तर्राष्ट्रिय बिरादरीलाई मान्य हुने केवल एक समय सापेक्ष सही निहुको पर्खाइमा बसेको छ भारत अहिले। चढाइ गर्ने कुनै भरपर्दो निहु पाउनासाथ आफ्नो परम्परागत शत्रु पाकिस्तानलाई कुनै पनि बेला भारतले तह लगाउने योजना गरेको छ। पाकिस्तानलाई तह लगाउन भारतीय सेनाले सरकारलाई दबाब दिरहेको छ पनि। कश्मीरमा हुने सधैंको खिचलोलाई, जुन पाकिस्तानद्वारा रचिएको हो भन्ने भारत सरकारको विश्वास छ, कुनै ठूलो सैनिक कार्यवाही गरेर दीर्घकालीनरूपमा शान्त गर्ने योजना सेनाको रहेकोछ ।
   
बढ्दो सामरिक क्षमताको गर्वले गर्दा नै भारतले कश्मीरको समस्यालाई मानवीय पक्षबाट नहरेर राष्ट्रिय प्रतिष्ठाको विषय बनाएर हेरिरहेको छ। कश्मीर भारतको अभिन्न अङ्ग होभन्ने भनाइको विपक्षमा भारत कुनै अर्को तर्क सुन्न रत्ति इच्छुक छैन। कश्मीर भारतको अङ्ग होमानेर कुरा गर्ने हो भने मात्र कश्मीरको भविष्यमा कुरा गर्न सकिन्छ भन्ने भारतको अडान छ। संयुक्त राष्ट्र सङ्घ वा अन्य कुनै मध्यस्थता गर्न इच्छुक राष्ट्रले कश्मीरबारे ल्याउने कुनै पनि किसिमको समाधानको अग्र भागमा कश्मीर भारतको अभिन्न अङ्ग हो भन्ने उल्लेख हुनुपर्ने शर्त भारतले निरन्तर र दृढताका साथ राख्दै आएको छ। यो कारणले गर्दा कश्मीरका नागरिकले गर्ने मुक्ति आन्दोलनलाई पनि भारतले त्यो कश्मीरी नागरिकहरूले नगरेर पाकिस्तानले प्रशिक्षित गरेको लडाकूहरूले गरेको भन्दै आएको छ। यसरी भारत, कश्मीरको सवालमा कुनै पनि किसिमको नयाँ समाधान नखोज्ने, बरु कश्मीरभित्र सङ्घर्ष बढेर गएमा त्यसलाई शान्त पार्न पाकिस्तानलाई पाठ पढाउने मनस्थितिमा रहेको छ। कश्मीरीहरूलाई मान्य हुने समाधान भारतले नखोजेसम्म भारत कहिले पनि शान्त रहन सक्तैन भन्ने कटु सत्यलाई भारतले बुझेर पनि स्वीकार गरिहरेको छैन। भारतको यस्तो मनस्थितिले यो क्षेत्रमा अहिले युद्धको बादल मडारिन थालेको छ।
   
पाकिस्तान अहिले चीनसँग नजिकिएकोले अमेरिकालाई विश्वासमा लिएर पाकिस्तान मात्र होइन, चीनलाई समेत पनि चुनौति दिने मनस्थितिमा भारत पुगेको छ। भारतले भविष्यमा चीनलाई पनि सैनिक क्षमतामा जित्ने अभीष्ट राखेको हुनाले नै पाकिस्तानमाथि सैनिक कार्यवाही गरेर भारतले चीनलाई तर्साइरहेको छ। भारत नियन्त्रित कश्मीरको उरीस्थित सैन्य ब्यारेकमा केही दिन पहिले (१८ सेप्टेम्बर २०१६)  विद्रोहीहरूले हमला गरेर १९ जना भारतीय सैनिकको ज्यान लिएको दस दिनपछि (२९ सेप्टेम्बर २०१६) भारतले नियन्त्रण रेखा (LOC- Line of Control) बाट पाकिस्तान नियन्त्रित कश्मीरमा सैनिक कार्यवाही (Surgical Strike) गर्नुलाई त्यस कुराको सङ्केतको रूपमा लिन सकिन्छ। भारत नियन्त्रित कश्मीरको उरीमा विद्रोहीहरूले हमला गरेका थिए भने पाकिस्तान नियन्त्रित कश्मीरमा भारतीय सेनाले हमला गरेको थियो, त्यो पनि योजनाबद्ध किसिमले र पूरा तयारीका साथ गरेको थियो। सानो स्तरको सैनिक कार्यवाही भए तापनि त्यसमा भारत सरकार प्रत्यक्ष संलग्न भएको थियो।
   
अहिले हुने युद्ध महाभारतकालीन सैनिकसैनिकबीच हुने युद्धजस्तो होइन। अहिले हुने युद्ध भनेको उच्च प्रविधि प्रयोग गरेर गरिने युद्ध हो। यदि अत्याधुनिक आणविक हतियारको विकासमा भारतलाई अमेरिकाले भरपूर सहयोग गर्ने हो भने चीनलाई चुनौती दिने भारतको सपना लक्ष्यमा परिणत हुन सक्छ। चीनलाई पुरानो शत्रुको रूपमा हेर्ने भारतीय दृष्टिकोणमा कुनै पनि किसिमको परिवर्तन आएको छैन किनभने भारत शासित लद्दाखलाई चीनले अहिले पनि सानो तिब्बत (Little Tibet) मान्दछ।
   
रूस पुनः महाशक्ति हुने उद्देश्यका साथ अगाडि बढिरहेको र उसले पाकिस्तानलाई साथ दिने हो भने शक्तिसन्तुलनको हिसाबले भारतलाई सहयोग गर्नु अमेरिकाको लागि स्वेच्छा नभएर रणनीतिक बाध्यता हुन जानेछ। युक्रेनको क्रिमियालाई जितेपछि, रूसको चुलिएको महत्वाकाङ्क्षा र सिरियामा उसको बढ्दो हस्तक्षेपले गर्दा विश्व पुनः दुई शक्तिहरूमा विभाजित हुन पुगेको सहजै अनुमान गर्न सकिन्छ। अहिले विश्व पुनः रूस र अमेरिका गरी दुई शिविरमा विभाजित हुन पुगेको छ, शीतयुद्धको युगमा झैं।
   
अर्कोतिर पाकिस्तानको स्थिति पनि कमजोर छैन। पाकिस्तानले पनि आणविक हतियार विकसित गरेको छ र भारतले गर्ने कुनै पनि किसिमको सैनिक कार्यवाहीको प्रत्युत्तर दिने भन्दै आएको छ। भारतसँग कुनै पनि बेला कडा मुकाबिला हुन सक्ने अनुमान गर्दे पाकिस्तानले चीनसमक्ष सहयोगको हात अगाडि बढाएको छ। चीनले पनि सहयोग गर्ने वचन मात्र दएको छैन, सहयोग गर्न आरम्भ गरेको पनि छ। गएको सेप्टेम्बर महिनामा चीनले पाकिस्तानी सेनालाई तालिम दिएको थियो। भारतको बढ्दो सैन्य क्षमतालाई साइजमा राख्नचीनले पाकिस्तानलाई सहयोग गर्न  थालेको छ। पाकिस्तानमा लोकतन्त्र कमजोर र केन्द्रीय राजनीतिमा सेनाको पकड ज्यादै बलियो भएकोले पाकिस्तानी जनताको ध्यान राजनीतिमा कम, सेनासमर्थनमा बलियो पार्नका लागि भारत पाकिस्तानको शुभेच्छु होइन, शत्रु होभन्ने दृष्टिकोण राख्न पाकिस्तानी सेनाले बेलाबेलामा, प्रत्यक्ष वा अप्रत्यक्षरूपमा वक्तव्य वा हतियारद्वारा भारतमा प्रहार गर्छ जुन पाकिस्तानी सेनाको एउटा रणनीति हो। पाकिस्तानले पनि सुरक्षा खर्चमा निकै वृद्धि गरेको छ।
   
पाकिस्तानसँग एउटा अर्को ठूलो समस्या के छ भने उसले आफ्नो सम्पूर्ण क्षेत्रमा सुरक्षा नियन्त्रण कडा र नियमित पार्न सकेको छैन। पाकिस्तानका कतिपय क्षेत्रहरूमा सरकारको नभएर आदिवासी वा विभिन्न विद्रोही सङ्गठनहरूको नियन्त्रण छ र ती विद्रोही सङ्गठनहरूले भारत नियन्त्रित कश्मीर मात्र होइन, भारतभित्र पसेर नै पनि घातक हमला गर्ने गरेका छन्। उदाहरणका लागि, अफगानी तालिबानीहरूले पाकिस्तानको विभिन्न क्षेत्रमा कब्जा जमाएका छन्। अफगानिस्तान मात्र होइन, संसारका अन्य मुलुकहरूबाट पनि कट्टरपन्थी इस्लामिक लडाकाहरू पाकिस्तानमा आएर प्रशिक्षित हुन्छन्। अल कायदाका नेता ओसामा बीन लादेन पाकिस्तानको अबोटाबादमा बस्ने गरेको र त्यही मारिएको सबैले थाहा पाएको कुरा हो। लादेनको एउटा सैनिक कार्यवाहीमा अबोटाबादमा मृत्यु भएपछि मात्र लादेन पाकिस्तानमा रहेको भनी पाकिस्तानी सरकारले थाहा पाएको थियो। तर पाकिस्तानको यो कमजोरीलाई भारत मान्न रत्ति तयार छैन। भारत नियन्त्रित कश्मीरमा हुने कुनै पनि किसिमको सङ्घर्षलाई भारतले पाकिस्तानको साजिस’ (षड्यन्त्र) मान्दछ, त्यो सङ्घर्ष कश्मीरी वा अन्य विद्रोही सङ्गठनले गरेको प्रमाण भए तापनि।
   
अर्कोतिर पाकिस्तानको बलुचिस्तानमा भइरहेको स्वतन्त्रतासङ्घर्षलाई पाकिस्तानले भारतको उक्साहट मानेको छ र भारतले अर्को बङ्गलादेशको रूपमा बलुचिस्तानलाई पाकिस्तानबाट टुक्र्याउन खोजेको भारतीय दाउको रूपमा बुझेको छ। सन् १९७१ मा पूर्वी पाकिस्तानलाई टुक्र्याएर, भारतले बङ्गलादेशको निर्माण गरिदिएर, बनाएको घाउ पाकिस्तानले निको भएको महसुस गरेको छैन। बलुचिस्तानलाई पनि भारतले अलग पारिदिने हो कि भन्ने भयले पाकिस्तान हरदम त्रसित रहन्छ। बलुचिस्तानमा भइरहेको स्वतन्त्रता सङ्घर्षमा भारतले खुलेर सहयोग गर्नुले पाकिस्तानको शङ्काको सुई उच्च रफ्तारमा माथि पुग्नु अस्वाभाविक पनि होइन। पाकिस्तानमा हुने कुनै पनि किसिमको पृथकतावादी आन्दोनलाई सहयोग गरेर उसलाई दक्षिण एसियाको एउटा कमजोर राष्ट्रमा देख्ने रहर भारतले पालेको धेरै वर्ष भएको छ। आफ्नो कुनै पनि छिमेकीलाई चैनले बस्न नदिएको आरोपभारतले खेप्दै आएको छ पनि। श्रीलङ्का प्रकरणमा त्यो जगजाहेर नै भयो। नेपालमा गरिएको भारतीयनाकाबन्दीले त्यस तथ्यलाई थप पुष्ट गर्यो।
   
यी सबै परिस्थितिहरूले पाकिस्तान र भारतबीच कुनै पनि बेला युद्ध हुन सक्ने सूचना दिइरहेका छन्। तर भारतले पाकिस्तानप्रति लिएको रणनैतिक धैर्य’ (Strategic Restrain) र गुजराल डक्ट्राइनले काम गरेमा, भारतद्वारा पाकिस्तानमा केवल सानातिना सैन्य कार्यवाही मात्र भएमा, दक्षिण एसियाका नागरिकले युद्ध विभिषिका नहेर्नुपर्ने वातावरण सृजना हुन सक्छ। र त्यस्तै होस् पनि। त्यस्तो हुनका लागि तर भारतीयहरूमा गर्व होइन, शान्ति र संयम भाव हुन आवश्यक छ। पाकिस्तानी झन्डा जलाउने होइन, क्रोध नियन्त्रण गर्न आवश्यक छ। तर पनि अर्को एउटा  स्थितिले भने भारत र पाकिस्तानबीच कुनै पनि बेला युद्ध हुने सङ्केत दिइरहेको छ। त्यो कस्तो स्थिति हो ? त्यो स्थिति हो प्राविधिक त्रुटि। भारत र पाकिस्तानले आणविक हतियार राखे तापनि तिनको व्यवस्थापन र सञ्चालनमा दुवैले कुशलता र अनुभव प्राप्त गरिसकेका भने छैनन्। यदि पाकिस्तान वा भारतीय सेनाले गलत प्राविधिक सूचनाको भरमा अर्कोमाथि आणविक हतियार प्रहार गरेमा भने आणविक युद्ध रोक्न नसकिने स्थितिमा पुग्नेछ। भारत र पाकिस्तान दुवैको आणविकसूचना प्रविधिको भरपर्दो किसिमले परीक्षण भएको छैन। यदि यस्तो भएमा सिङ्गो एसिया नै नराम्रो गरी डरलाग्दो युद्धमा प्रवेश गर्नेछ। हजारौं होइन, लाखौं लाख नागरिकले ज्यान गुमाउनुपर्ने हुनेछ। एशियामा नै ठूलो उथलपुथल आउने छ।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, October 07, 2016

No comments:

Post a Comment