Monday, June 11, 2018

The Formulas of Success Part 14


सुत्र १४

समस्या राम्रो गरी बुझेर मात्र समाधान खोज्नु

कतिपय व्यक्तिहरूमा समस्या आउनासाथ समाधानका लागि तत्काल सक्रिय भइ हाल्ने बानी हुन्छ। तर यस्तो नगरेर पहिले समस्याको स्वरूप, प्रकृति, तौल, महत्व आदिको राम्रो गरी अध्ययन गर्नु पर्छ। समस्याको समाधान तत्काल खोज्नु पर्ने छ भने पनि एक मिनेट भए पनि वा दस सेकेन्ट नै भए पनि त्यो समस्याको प्रकृति बुझेर त्यसको समाधानको उत्तम उपाय कुन हो भनेर घोतिलिनु पर्छ। कुनै पनि समस्या समाधनका अनेक उपाय (विकल्प) हरू हुन्छन। ती उपायहरू मध्ये जुन अति उत्तम उपाय हो त्यसको छनौट गर्नु पर्छ। प्रत्येक समस्या समाधानका विभिन्न वैकल्पिक उपायहरू लिएर आएको हुन्छ।
व्यवस्थापन जगत्मा भन्ने गरिन्छ, “निर्णय गर्नु भनेको उपलब्ध विकल्पहरू मध्ये एक उत्तम विकल्पको छनौट गर्नु हो।”

हामीले दिनभरिमा अनेक निर्णयहरू गर्नु पर्ने हुन्छ। कुन बेला कुन कार्य गर्ने भनी सोंच्नु र सोंचे अनुसारको कार्य गर्नु नै निर्णय गर्नु हो। तर यसरी निर्णय गर्दा गम्भीर प्रकृतिका निर्णयहरूमा भने निकै होस पुर्याउनु पर्छ र सोंच विचार गरेर मात्र निर्णय गर्नु पर्छ। कहिले काँहि गरिएको एउटा सानो तर त्रुटीपूर्ण निर्णयले जीवनको मार्ग नै परिवर्तन गरि दिन्छ। असल वा खराब दिशातर्फ पुर्याइ दिन्छ। 

कतिपय निर्णयको परिणाम, यदि खराब छ भने, सच्याउन सकिंदैन र त्यस्तो स्थितिमा त्यस किसिमको निर्णयप्रति पश्चाताप गर्नु बाहेक हामीसँग अर्को कुनै विकल्प हुँदैन। र पश्चाताप गर्नु पर्ने किसिमको निर्णय गर्नु वुद्धिमानी होइन।

(क) लोक कथा: विवेकी मैना

एक पटक एक ख्याति प्राप्त राजा ‘शूरसेन’ आफ्नो राज्यमा आयोजना गरिएको चर्चित मेला हेर्न कुनै एक स्थानमा पुग्छन। एक व्यक्तिले पिजरामा एउटा मैना राखेर बिक्री गर्न बसेको देख्छन। शूरसेनले त्यो मैना बिक्रेतालाई सोध्छन, “बिक्रेता, यो मैनाको मूल्य कति?”
“दस हजार रुपैँया, महाराज।” बिक्रेताले जबाफ दिन्छ।
राजाले प्रश्न गर्छन, “यो सामान्य एक चरामा त्यस्तो के विशेषता छ जसले गर्दा यसलाई प्राप्त गर्न दसहजार रुपैंया भुक्तान गर्नु परोस?”

“यो मैना खरिद गरेर घर लग्नु होस, महाराज। समय आए पछि यो मैनाले नै प्रमाणित गरि दिन्छ यसको मूल्य दस हजार रुपैंया किन राखिएको हो।” बिक्रेताले विनम्रतापूर्वक भन्छ।
बिक्रेताको कुराबाट प्रभावित भएर शूरसेनले मैना खरिद गर्छन र राजदरबार स्थित उनको शयनकक्षमा त्यो मैनालाई राखिएको पिजरा झुन्ड्याउँ छन्। त्यो मैनाको बारेमा रानीलाई सबै कुरा अबगत गराउँ छन पनि।

मैना खरिद गरेको भोलि पल्टको दिन राजा शूरसेनको लागि अशुभ हुन्छ। शत्रुहरू उनको राज्यको सीमामा प्रवेश गर्छन। शूरसेन अति बलियो र विशाल राज्यको राजा भएको हुनाले धेरै शत्रु राष्ट्रका राजाहरुको मिलोमतो र संलग्नतमा घातक आक्रमण भएको हुनाले शूरसेन राजाले लामो समय युद्ध गर्नु पर्छ।

लामो युद्धमा शुर सेनको विजय हुन्छ। त्यो लामो युद्ध अवधिभर शूर सेन घर फर्किन पाएका भने हुँदैनन र देश बाहिर बाहिर नै रहनु परेको हुन्छ। त्यसकारण घर पुगे पछि, रात्रीको समयमा, प्रफूल्लित मन सहित रानीलाई भेट्न राजा सरासर आफ्नो शयनकक्षतिर लाग्छन।
सयनकक्षमा पुगेर, त्यहाँको दृश्य देखेर, राजा अति नै क्रोधित हुन्छन। त्यो दृश्य यथार्थमा कुनै पनि पतिलाई क्रुद्ध तुल्याउने किसिमको हुन्छ। दृश्य यस्तो हुन्छ: शूरसेन कि पत्नी अर्थात रानी तिलोत्मा एक युवकको साथमा सुतेकी हुन्छिन। युवकको छातिमा हात राखेर, मस्त निद्रमा आनन्दपूर्वक सुतेकी हुन्छिन।

त्यस्तो दृश्यको अवलोकनबाट अति नै क्रुद्ध भएका राजाले आफ्नो कम्मरमा राखिएको म्यानबाट तलबार झिकेर र त्यो युवक एवं रानीको सिर छेदन गर्न अगाडि बढ्छन। तरबार झिक्दा त्यसको टुप्पोले पिजरा छुन पुग्छ र सुतेको मैना उठ्छ। मैनाले क्रोधित मुद्रामा राजालाई देख्छ।
राजातिर हेर्दै मैनाले भन्छ, “महाराज क्रोधले व्यक्तिको विवेक नष्ट गरिदिन्छ। त्यसकारण एक पटक गम्भीर भएर सोंच्नु होस, हजुरले गर्न थालेको काम उचित छ कि छैन?”
राजा झस्किन्छन। हातमा भएको तरबार भूँइमा राख्छन र पत्नी नजिक पुगेर उनलाई जागृत गराउँछन। रानी जागृत भए पछि आफूसँग सुतेको युवकतिर हेर्दै उनले भन्छिन, “बाबु, पिताजीलाई प्रणाम गर। तिम्रो पिताजी बिस वर्ष निरन्तर युद्ध गरेर फर्किनु भएको छ। र यो गएको बिस वर्षमा तिमीले तिम्रो वीर पिताजीलाई देख्न पाएनौ। अब देख्न पाएको छौ। शिघ्र उच्च स्नेह र आदर सहित पिताजीलाई प्रणाम गर।”

राजा शूरसेनले छोरालाई अंगालो हाल्छन। कुनै पनि निर्णय गर्दा गम्भीरतापूर्वक सोंच्नु पर्ने यथार्थ स्वीकार गर्छन। साथै त्यो मैना खरिद गर्न दस हजार रुपैयां भुक्तान गर्नु परेकोमा पश्चाताप होइन, अति नै हर्ष समेत महसुस गर्छन।  (श्रुतिमा आधारित)

(ख) निर्णय प्रकृयागत रुपमा गरिने कार्य

कुनै समस्या समाधानका लागि वा योजना निर्माणका लागि निर्णय गर्दा विभिन्न पक्षहरू उपर विचार गरेर मात्र निर्णय लिनु पर्छ। आवेगमा आएर, विना अध्ययन, हतारिएर निर्णय गर्नु हुँदैन। निर्णय गर्दा विभिन्न तथ्यहरू माथि विचार गर्नु पर्ने भएको हुनाले नै निर्णय लिने कार्यलाई प्रक्रिगत रूपाम गरिने कार्य भनिएको हो। अर्थात कुनै पनि समस्या समाधानका लागि निर्णय लिंदा एक पछि अर्को गरी विभिन्न कार्यहरू गर्नु पर्ने भएकोले नै निर्णय प्रक्रिया भनिएको हो।

केही अपवाद बाहेक, कुनै पनि समस्याले आफ्नो लागि समाधान पनि साथमा नै लिएर आएको हुन्छ। र यसैगरी कुनै पनि समस्या समाधानका अनेक उपायहरू हुन्छन। कुनै पनि समस्या यस्तो हुँदैन जसको लागि एउटा मात्र समाधन रहेको होस। यो मेरो जीवनको ‘भोगेको’ अनुभव हो। यसरी समाधानका विभिन्न उपाय सहित समस्या आउने हुनाले हामीले ती उपायहरू मध्ये उत्तम उपायको खोजी र प्रयोग गर्नु पर्छ। र यस प्रकार उत्तम उपायको खोजी गर्न विभिन्न कार्यहरू चरणवद्ध रूपमा गर्नु पर्ने हुन्छ।

योजना निर्माण वा समस्या समाधान का लागि निर्णय लिंदा चरणवद्ध रूपमा विभिन्न कार्यहरू गर्नु पर्छ भन्ने कुरामा व्यवस्थापन विज्ञहरू निकै जोड दिन्छन। प्रभावकारी किसिमको निर्णय लिंदा यसप्रकार विभिन्न कार्यहरू गर्नु पर्ने भनी व्यवस्थापन विज्ञहरूको मत रहेको पाइन्छ।

1.       समस्या पहिचान र विश्लेषण
2.       वैकल्पिक समाधानहरूको विकास
3.       वैकल्पिक समाधानहरूको मूल्यांकन
4.       उत्तम समाधानको छनौट
5.       उत्तम समाधानको प्रयोग
6.       अनुगमन

 निर्णय प्रक्रिया 

1.       समस्या पहिचान र विश्लेषण: निर्णय प्रक्रियाको यो पहिलो चरणमा सर्वप्रथम समस्याको पहिचान गरिन्छ। समस्या कस्तो किसिमको हो त्यसवारेमा विस्तृत रूपमा अध्ययन गरिन्छ। समस्यासँग सम्वन्धित अनेक पक्षहरूको व्यवस्थित किसिमले अध्ययन एवं अनुसन्धान गरिन्छ। समस्या अनेक किसिमका हुन्छन। कुनै समस्याको तत्काल समाधान खोज्नु पर्नै हुन्छ भने कुनै समयस्यालाई लामो समय पछि गर्ने भनी पन्छ्याउन सकिन्छ। कुनै समस्या यस्तो पनि हुन्छ जसको समाधान तत्काल खोज्नु पर्दैन र त्यो समस्याको समाधान समयले नै दिन्छ। समय आफै पनि एक ठूलो समाधानकर्ता हो। समस्याबारे एउटा लोकउक्ति ‘कुचोले बढार्नु पर्न फोहर हावाले बढारेर लग्यो’ निकै प्रचलित छ।

2.       वैकल्पिक समाधानहरूको विकास: समस्या समाधानका अनेक उपायहरू हुन्छन। अनेक उपायहरूको विकास गर्नु पर्छ। उदाहरणका लागि कुनै व्यक्तिलाई तत्काल काठमाडौबाट वीरगंज जानु पर्ने भयो भने वीरगंज पुग्न यातायातका अनेक साधनहरू उपलब्ध हुन सक्छन। जस्तै हवाइ जहाज हुन सक्छ। यसैगरी भाडाका सवारीहरू बस, टेक्सी, माइक्रोबस, कार हुन सक्छ। अथवा त्यो व्यक्तिले निजी सबारीको साधन साइकल, मोटर साइकल, कार आदि प्रयोग गर्न सक्छ। कुनै किसिमले, माथि भनिएका सबारीका साधनहरू उपलब्ध नभएको स्थितिमा उक्त व्यक्ति हिंडेर नै पनि वीरगंज पुग्न सक्छ। भन्न के खोजिएको हो भने समस्या समाधानका अनेक उपाय हुन्छन, ती उपायहरूको खोजी व्यवस्थित किसिमले गर्नु पर्छ।

3.       वैकल्पिक समाधानहरूको मूल्यांकन: समस्या समाधानका विभिन्न उपायहरूको खोजि गरि सेक पछि प्रत्येक उपायलाई लाभ एव हानी, अति प्रभावकारी एवं कम प्रभावकारी, धेरै भरपर्दो कम भरपर्दो, साधनहरूको उपयोग, प्राप्त हुने प्रतिफल आदि जस्ता कसीहरूले जाँचेर हर्नु पर्दछ। माथिको उदाहरणमा, हिंडेर वीरगंज पुग्दा र हवाइ जहाजमा वीरगंज पुग्दा प्राप्त हुने लाभ हानीको गम्भीरतापूर्वक अध्ययन गर्नु पर्छ।                                                                            वैकल्पिक उपायहरूको मूल्यांकन गर्दा, मूल्यांकन गर्न सहयोग चाहिएमा, पारिवारका सदस्य वा अन्य सम्पर्कमा रहेका व्यक्तिहरूको सहयोग लिन सकिन्छ। यस्तो समयमा सहयोग लिन हिचकिचाउनु हुँदैन। व्यवस्थापनको क्षेत्रमा एउटा भनाई निकै प्रचलित छ। त्यो के हो भने, “दुई टाउको (विचार) एक टाउको भन्दा जहिले पनि असल हुन्छ।”

4.       उत्तम समाधानको छनौट: समस्या समाधानका अनेक वैकल्पिक उपायहरूको व्यवस्थित र प्रभावकारी किसिमले मूल्यांकन गरिसके पछि, यो चरणमा उत्तम विकल्पको अर्थात उत्तम समाधानको छनौट गर्नु पर्छ। माथिको उदाहरणमा फेरि फर्कौ। मेरो लागि, काठमाडौबाट वीरगंज पुग्ने उत्तम उपाय हवाइ जहाज हुन सक्छ। मैले हवाइ जहाज चयन गर्नुको कारण के हो भने नेपालमा, र खासगरी वीरगंज काठमडौ बीच चल्ने यातायातका साधनहरूमा, ट्रक, बस, कार जस्ता सडक यातायातका सबारीका साधनहरू बढी दूर्घटनामा परेका छन्। हवाइ यातायात यो खण्ड (काठमाडौ-वीरगंज) मा निकै सुरक्षित देकिएको छ।

5.       उत्तम समाधानको प्रयोग: निर्णय प्रकियाको यो चरणमा पुगेपछि, आफूले उत्तम ठहर गरेको तरिका वा समाधानको उपाय प्रयोगमा ल्याउनु पर्छ। कुनै पनि समाधान दोषरहित नहुने भएकोले समाधानको उत्तम उपाय भनेर रोजिएको समाधान लागू गर्दा कुनै किसिमको समस्या देखिएमा त्यसबाट आत्तिनु हँदैन बरू त्यसबाट उत्पन्न भएका प्रतिकूल असरहरू कम पार्ने प्रयास गर्नु पर्छ।

6.       अनुगमन: यो निगरानीको चरण हो। यो चरणमा समस्या समाधानका लागि भनेर छनौट गरिएको उपायले कति कुशलताका साथ कार्य गरि रहेको छ भन्ने कुराको निगरानी गर्नु पर्छ। समाधान प्रयोग गर्दा कुनै किसिमको समस्या देखिएको छ भने त्यस समस्याको निराकरणका उपायहरूको खोजि ततकाल नै गर्नु पर्छ। निराकरणको तरिकाहरू तत्काल लागु पनि गरि हाल्नु पर्छ।

यस समस्या समाधानका लागि उपायहरूको खोजि गर्दा व्यवस्थित किसमले सोंच्ने एवं निर्णय लिने कार्य गर्नु पर्दछ।

निर्णय प्रक्रियाले समस्या समाधानका लागि उत्तम तरिका छान्न सहयोग गरेर आधिकत्तम लाभ र सन्तुष्टि प्राप्त गर्न सहयोग पुर्याउँछ।

(ग) नरसिम्हा राव

गणतन्त्र भारतका सफल प्रधान मन्त्रीहरू मध्ये एक मानिन्छ पी भी नरसिम्हा राव। एक पटक बी बी सीको एक समाचार समिक्षा कार्यक्रम (हिन्दी) मा एक समिक्षकले नरसिम्हा रावको बारेमा यसरी भनेका थिए, “नरसिम्हा राव एक यस्तो व्यक्ति हुन जो समस्या अगाडि आउनसाथ त्यसको समाधानका लागि तत्काल लागि परि हाल्दैनन्। पहिले समस्याको राम्रो अध्ययन र विश्लेषण गर्छन, समस्याको गहिराइमा पुग्छन। तत्काल समाधान गरि हाल्ने किसिमको समस्या छ भने मात्र त्यसको समाधान तत्काल खोज्ने पट्टि लाग्छन नत्र केवल समस्याको प्रकृति मात्र हेर्छन। समस्याको अनुगमन गर्छन। समाधान खोज्ने पट्टी हत्तारिएर लाग्दैनन। समस्याले किनारा लिन थाले पछि वा समस्याले उग्र रूप लिन थालेको संकेत पाए पछि मात्र समास्या समाधान गर्ने पट्टि लाग्छन। उनी यति कुसल छन कि उनलाई थाहा छ कतिपय समस्याले स्वयं समाधान लिएर आएका हुन्छन वा समयले नै केही समस्याहरूको समाधान दिने गर्छ। समाधान गर्नु पर्ने भनी तोकिएको व्यक्तिले समाधान गर्नु पर्देन। यस्तो प्रकृतिको समस्या समाधान गर्न हतार गर्नु हुँदैन भन्ने कुरा रावले आफ्नो राजनीति जीवनमा प्रयोग गर्दै आएका छन्। त्यसैले राजनीतिमा सफल पनि छन्।”
 
भारतको नवौं प्रम नरसिम्हा राव को जन्म तेलगु नियोगी ब्राह्मण परिवारमा हालको तेलन्गाना राज्यमा  २८ जुन १९२१ मा भएको थियो। उनको मृत्यु २३ डिसेम्बर २००४ मा दिल्लीमा, हृदयघातको कारण भएको थियो। रावको मातृ भाषा तेलगु थियो तर उनी मराठी, हिन्दी, उडिया, बंगाली, गुजराती, कनन्ड, संस्कृत, तामिल, उर्दू, अंग्रेजी, फ्रेन्च, अरबिक, स्पेनिस, जर्मन, र परसियन गरी सोर्ह भाषा बोल्थे। भारत स्वतन्त्र भएदेखि दिल्ली दरबार (प्रम पद) मा केवल हिन्दी भाषीहरूको राज थियो। राव, पहिलो गैर हिन्दी भाषी प्रम भएर यो परम्परा तोडेका थिए।

प्रम जवाहरलाल नेहरू  देखि प्रम इन्दिरा गाँधीसम्मको समयमा भारतको अर्थ व्यवस्था टाउको तल खुट्टा माथिको स्थितिमा थियो। अति नियन्त्रित एवं अनुदार समाजवादी अर्थ व्यवस्थाले भारतको अर्थ तन्त्रलाई गतिशील हुन दिएको थिएन, खुट्टा नै बाँधिदिएको थियो। देश र जनता दुबै गरिबीको मारमा परेका थिए। तर नरसिम्हा रावले भारतीय अर्थतन्त्रको उल्टो स्थितिलाई सुल्टो पारे। टाउको माथि खुट्टा तल पारे। सर्व प्रथम त उनले ‘लाइसेन्स राज’ को समाप्ति गरि दिए। उनका आर्थिक सुधारका कार्यक्रमहरू लोकप्रिय मात्र भएनन भारतले आर्थिक प्रगति गर्न आरम्भ गर्यो। नरसिम्हा रावको पालादेखि मात्र भारत “विश्व अर्थ व्यवस्था” संग आवद्ध भएको हो। खुला र उदार अर्थ तन्त्र यो देशले अंगालेको हो। रावको पालामा आर्थिक सुधारका कार्यक्रमहरू निकै भएकोले नै उनलाई “भारतीय अर्थ व्यवस्था सुधारका पिता” भन्ने गरिन्छ। उनको सम्रग प्रशासनकाल पनि सफल मान्ने गरिन्छ। राजनैतिक दल वा सिद्धान्त भन्दा देश ठूलो हुन्छ भन्ने विचारमा विश्वास राख्ने रावले भारतमा अनेक किसिमका राम्रा राम्रा कर्यहरू गरेर अति प्रसिद्धि पाए। 

समस्या समाधान गर्ने तरिका प्रभावकारी नभएमा त्यसले उल्टो थप समस्याहरू सृजना गरि दिन्छ। समस्या माथि समस्या थपिदै गएमा समाधान पत्ता लगाउन गार्हो हुन्छ। माथिको उदाहरणमा, मैल काठमाडौबाट वीरगंज हवाइ जहाजमा जाने भनी गरेको निर्णय (मानौ यदि) गलत रहेछ भने त्यसले थप समास्या सृजना गरि दिन्छ। जस्तै मसँग पैसा पर्याप्त मात्रमा छैन भने मैले कसैसँग ऋण लिनु पर्ने हुन्छ र कसैले ऋण नदिएमा मेरो वीरगंज-यात्रा असम्भव हुन पुग्छ।

If I have the belief that I can do it, I shall surely acquire the capacity to do it.  Mahatma Gandhi

No comments:

Post a Comment