Monday, June 11, 2018

The Formulas of Success Part 5


सुत्र ५

सफल व्यक्तिहरूको जीवनीको अध्ययन


सफल व्यक्तिहरू कडा परिश्रम गरेर सफल भएका हुन्छन। साहित्य, विज्ञान, व्यापार, प्रशासन, राजनीति, समाजसेवा आदि जस्ता क्षेत्रहरूमा सफल भएका व्यक्तिहरूले सफल हुनका लागि त्यस क्षेत्रमा ठूलो समय लगानी गरेका हुन्छन। ठूलो त्याग गरेका हुन्छन।
सफल व्यक्तिहरूको जीवनी अध्ययन गर्नाले आफ्नै मनोविज्ञानले नै पनि सफल हुन प्रेरणा प्राप्त गर्छ। सफल व्यक्तिहरूको जीवनीले कुनै पनि व्यक्तिलाई सफलता प्राप्त गर्न प्रेरित गर्छ।

बैठक वा सुत्ने कोठामा महान् व्यक्तिहरूको तस्वीर किन झुन्ड्याइएको हुन्छ?

बैठक वा सुत्ने कोठाहरूको भित्तामा विभिन्न महान व्यक्तिहरूको तस्बीर झुन्ड्याउने चलन नया होइन। तर यो चलन केवल घरको सौन्दर्य वृदधि गर्नका लागि मात्र चलेको होइन। घरमा बस्ने एवं त्यस घरमा आउने पाहुनाहरू समेत पनि ती महान् व्यक्तिहरूका तस्वीर एक पटक वा पटक पटक देखेर असल वा महान् होउन वा महान हुन ती तस्वीरहरूले प्रेरित गरोस भन्ने उद्देश्यका साथ त्यस्ता तस्वीहरू झुन्ड्याएका हुन। हुन पनि पटक पटक ती तस्वीरहरू हेर्दा हेर्ने व्यक्तिहरू ती तस्वीमा देखाइएका व्यक्तिहरूको व्यक्तित्वबाट प्रभावित हुन्छन।
एउटै तस्वीर पटक पटक देख्दा त्यो तस्वीरले व्यक्तिको स्मरण-भण्डारमा स्थान बनाउँछ। अर्थात त्यो तस्वीर व्यक्तिको स्मरणमा हरफल ताजा रहेन्छ। महान व्यक्तिहरूको तस्वीर घरको कोठा वा बैठकमा झन्ड्याउनाले व्यक्तिलाई सफल हुन प्रेरित गर्छ।  
आउनु होस, केही सफल व्यक्तिहरूको जीवनी अध्ययन गरौ।

केही सफल व्यक्तिहरूको परिचय

(क) मदर टेरेसाको जीवनी

विश्वका सफल व्यक्तिहरू मध्ये एक मदर टेरेसाले आफ्नो जीवन केवल गरिब र दु:खीहरूको सेवामा समर्पित गरेकी थिइन। युरोपको अल्बानियामा सन १९१० मा जन्म लिएकी टेरेसाले भारतको कोलकातालाई आफ्नो सेवा-कर्मभूमि बनाएकी थिन्। जीवनको ठूलो भाग भारतमा बिताएकी थिन। मानव सेवाका लागि भारत पुगे पछि उनी भारतबाट कहिले फर्किनन। सन १९९७ मा ८७ वर्षको उमेरमा उनको कोलकातामा नै निधन भएको थयो। कत्रो ठूलो त्याग!
टेरेसाले सन् १९२८ मा, १८ वर्षको ज्यादै कलिलो उमेरमा आफ्नो घर सदाका लागि परित्याग गरेर मानव सेवाको कठिन यात्रा प्रारम्भ गरेकी थिन। अल्बानियाबाट मानव-सेवा लक्ष्य पूरा गर्न आयरलैण्ड पुगेकी थिन। टेरेसा केवल आठ वर्षको हुँदा उनको पिता निकोलको मृत्यु भएको थियो। सन् १९२९ मा अर्थात १९ वर्षको उमेरमा टेरेसा भारत पुगेको थिइन र दार्जलिंगबाट ‘सेवा कर्म’ को थालनी गरेकी थिइन। भारत आए पछि टेरेसा, आफ्नो घर अल्बानिया कहिले फर्किनन्। त्यसपछि आफ्नी आमा र दिदीसँग उनको कहिले पनि भेट भएन। मानव सेवाका लागि मदर टेरेसाले गरेको त्यागको कथा लामो छ। दारूण छ।

सन् १९७९ मा नोवल शान्ति पुरस्कार पाएकी टेरेसाले ठूलो विश्व प्रसिद्धि पाएकी थिन। तर यो विश्व-प्रसिध्दि उनको कठोर परिश्रम र दीन दु:खीप्रतिको अगाध प्रेमले गर्दा प्राप्त भएको थियो। कोलकातका केही हिन्दु समूहरूले उनलाई अहिले पनि भगवान् को रूपमा पूजा गर्छन्। भारतमा कार्य गर्नका लागि उनले भारतीय नागरिकता स्वीकार गरेर भारतीय भएकी थिन। गरिबहरूमा पनि अति गरिब टेरेसाको नजरमा ज्यादै नजिक थिए, ज्यादै प्रिय थिए। उनले निर्धन, बेघरबार, पीडीत शोषित, अन्धा, अपांग, यचआइभी पीडित प्रेम र दया नपाएका र साथै समाजबाट तिरष्कृतहरूको सेवा गरिन।
टेरेसाले गरेको नि:स्वार्थ सेवाको उच्च मूल्यांकन गर्दै भारत सरकाऱले उनलाई सन् १९६२ मा ‘पद्मश्री’ र सन् १९६९ मा ‘जवाहरलाई नेहरू एवार्ड फोर इन्टरनेशनल अन्डरस्टेण्डिंग’ सम्मान दियो। यसैगरी सन् १९८० भारतकै उच्च नागरिक सम्मान ‘भारत रत्न’ प्रदान गर्यो। यति मात्र होइन, आफ्नो देश त्यागेर भारतीय भूमि बसेर दीन दु:खीहरूको निस्वार्थ सेवा गरेको कार्यको प्रशंसा गर्दै तथा टेरेसाको १०० औ जन्म दिन मनाउन भारत सरकारले सन् २०१० मदर टेरेसाको चित्र अंकित रू ५ को सिक्का नै निष्कासन गर्यो। सन, २०१० मा उक्त मुद्रा भारत सरकारद्वारा एक कार्यक्रममा सार्वजनिक गरिएको थियो। उक्त कार्यक्रममा तत्कालीन अर्थमन्त्री प्रणव मुखर्जीले ‘मदर टेरेसा’ को चित्र अंकित रू पाँचको पहिलो सिक्का तत्कालीन भारतीय राष्ट्रपति प्रतिभा पाटिललाई दिएका थिए।

भारत सरकारले गरिबको सेवालाई नै आफ्नो जीवनको प्रमुख उद्देश्य बनाउने टेरेसाको सयौं जन्मदिन मनाउन रू पाँचको नै सिक्का निस्कासन गर्नुको कारण टेरेसाले कोलकाताबाट दीन दु:खीको सेवा कार्य आरम्भ गर्दा उनीसँग केवल रू पाँच मात्र थियो।
विश्वको आधुनिक इतिहासमा मदर मदर टेरेसालाई महा मानव मान्ने गरिन्छ।

(ख) बिल गेट्सको जीवनी

सफलता र सफल व्यक्तिहरूको चर्चा गर्दा यदि बिल गेट्सको चर्चा नगर्ने हो भने त्यो चर्चा वा सफलता उपर लेखिएको निबन्ध अधुरो हुन जानेछ।
बिल गेट्स सफल मात्र होइन एक अति नै दयालु एवं भद्र व्यक्ति पनि हुन्। गेट्स संसारका सर्वाधिक धनीहरू मध्ये एक हुन। मार्च ६, २०१८ मा प्रकाशित एक समाचार अनुसार त्यस अवधि (मार्च ६, २०१८) सम्ममा बिल गेट्सको नाम विश्वका सर्वाधिक धनीहरूको नाममको सूचीमा दुई नम्बरमा थियो। एक नम्बरमा भने अमेजन डटकमका कार्यकारी अधिकारी एवं विकासकर्ता  जेफ बेजोस थिए।
यसैगरी विश्वका अति प्रभावशाली व्यक्तिहरू मध्ये एक हुन, बिल गेट्स। नया व्यवासायको विकास गर्ने एक अति नै ख्याति आर्जन गरेक उद्यमी पनि हुन। अनि समाजिक सेवामा आफ्नो निजि कोषबाट नै अत्यधिक खर्च  गर्ने (दान दिने) मध्ये पनि एक हुन। गेट्सले अर्का अमेरिकी धनाठ्यहरू वारेन वफे र ‘फेसबुक’ का संस्थापक मार्क जुकरवर्गसँगको सहकार्यमा एउटा अर्को पनि सामजसेवी संस्था ‘द गिभिंग प्लेज’ (The Giving Pledge) को स्थापना गरेक छन्। 

 आफ्नो सफलताद्वारा उनले अनेक सन्देशहरू एकै साथ दिएका छन्, बिल गेट्सले। उनले दिएको पहिलो र महत्वपूर्ण सन्देश त के छ भने आफूले चाहेको क्षेत्रमा उपलब्धि हासिल गर्न उच्च शिक्षा हासिल गर्नु पर्छ भन्ने छैन्। सामान्य शिक्षा हासिल गरेर पनि आफ्नो क्षेत्रमा सफल हुन सकिन्छ, जीवनलाइ सुखमय तुल्याउन सकिन्छ। तर सफल हुनका लागि उदेश्यप्रति अडिग रहेर निरन्तर क्रियाशील भने अवश्य रहनु पर्छ। अर्थात बिल गेट्सको सफलताको कथाले के भन्छ भने ‘सफलता र उच्च शिक्षा बीच घनिष्ट सम्बन्ध छैन।” 

संयुक्त राज्य अमेरिकाको वासिंग्टन राज्यको सियाटल सहरमा अक्टोबर २८, १९५५ मा बिल गेट्सको जन्म भएको थियो। बिल गेट्सको परिवार मध्यम वर्गीय थियो। उनको परिवारले बिल गेट्सले उच्च शिक्षा हासिल गरोस भन्ने चाहन्थ्यो। सोही अनुरूप उनी कानून अध्यय गर्ने भन्ने सोंच लिएर सन् १९७३ को फलमा हारभर्ड विश्व विद्याल (मासाच्युसेट्स, अमेरिका) मा भर्ना भए। तर उच्च शिक्षाले गेट्सलाई आकर्षित गर्न सकेन। उनले सन् १९७५ मा विश्व विद्यालयको अध्ययन छाडे (Dropped out of college) अनि कम्युटरको संसारमा केही गर्ने आफ्नो उद्देश्य साकार पार्न अर्थात माइक्रोसफ्ट (Microsoft) को कार्यलाई अगडि बढाउन हाइ स्कूल (Lakeside School, Seattle ) मा अध्यनरत रहँदाका साथी पौल एलेनको सम्पर्कमा आए। पौल एलेनसँग मिलेर व्यापार आरम्भ गरे। गेट्सले सन् १९७३ मा हाई-स्कूल शिक्षा (१२ कक्ष) पूरा गरेका थिए।  तर विश्व विद्यालयको अध्यन भने पूरा गरेनन्।

सामाजिक सेवाको क्षेत्रमा पनि बिल गेट्स उत्तिकै सक्रिय छन्। सन् १९९४ मा आफ्नी पत्नी मेलिन्डासँग मिलेर गेट्सले ‘विलियम यच गेट्स फाउन्डेसन’ को स्थापना गरेका थिए। पछि, सन् २००० मा  उनले ‘बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन’ को स्थापना गर्न २८ बिलियन डलर आफ्नो निजी कोषबाट दिएका थिए। विलियम यच गेट्स फाउन्डेसन नै बिल एण्ड मिलिन्डा गेट्स फाउन्डेसनमा रूपतान्तरण भएको थियो। गेट्स फाउन्डेसनमा बढी समय दिन वा समाजसेवामा बढी संलग्न रहन उनले सन् २००० मा माइक्रोसप्टको कार्यकारी अधिकृत (Chief Executive Officer) बाट राजिनामा गरेका थिए। त्यसपछि उनले बढी समय समाज सेवामा दिन थाले। माइक्रोसफ्टको कार्यालयमा उनले पूरा दिन कार्य जुन २७, २००८ का दिन गरेका थिए। माइक्रोसफ्टमा अहिले उनी सक्रियतापूर्वक लागेका छैनन।

बिल गेट्स र मिलिन्डा गेट्सको सक्रियतामा स्थापान भएको बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको प्रधान कार्यालय सियाटलमा रहेको छ। ३८ बिलियन अमेरिकी डरल सम्पत्ति रहेको यो संस्थालाई अमेरिकाको मात्र होइन विश्वमा नै निजी क्षेत्रको सर्वाधिक ठूलो समाजसेवी संस्था मानिएको छ। यो संस्थाले संसारभरि नै कार्य गर्द्छ। १४ सय जति कर्मचारी रहेको यस संस्थासँग डिसेम्बर ३१, २०१४ मा ४४.३ बिलियन डलर सम्पत्ति थियो। यो संस्थाले मुख्य गरी, संक्रमण रोगहरू, यचआइभी (HIV), गरिबी निवारण तथा स्वास्थ्य र शिक्षाको क्षेत्रमा कार्य गर्दछ। समाज सेवा गर्ने बलियो इच्छा शक्ति छ भने समाज सेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउन सकिन्छ भन्ने प्रमाण पनि गेट्सले दिए।
गेट्सले १५ वर्षको उमेरमा नै व्यापार गर्न आरम्भ गरिसकेका थिए। सन् १९७० मा उनले आफ्नो स्कूले साथी पौल एलेनसँग मिलेर सियाटलमा यातायात व्यवस्था अनुगमन गर्ने “ टार्फ-ओ-डेटा” नामक एक सफ्टवेयरको विकास गरेका थिए। उक्त सफ्टवेयरबाट ती दुबै जनालाई २० हजार डलर आम्दानी भएको थियो। यसरी १५ वर्षको उमेरमा नै गेट्सले सानोतिनो व्यापार गरिसकेका थिए। बिल गेट्सलाई कम्युटरको क्षेत्रमा कार्य गर्न स्कूले जीवनदेखि नै अति नै रुचि थियो। ठूलो सपना थियो। 

स्कूले जीवनमा उनी स्कूलमा घण्टौ कम्युटर चलाएर बस्थे। कम्युटरको दुनियामा कुनै ठूलो उपलब्धि हासिल गर्ने वा केही उल्लेख्य कार्य गर्ने आफ्नो सकार पार्न उनले पौल एलेनसँग मिलेर सन् १९७५ मा ‘माइक्रोसफ्ट’ को स्थापना गरे। सन् १९७९ मा, अर्थात पाँच वर्षको अवधिमा मात्र पनि माइक्रोसफ्टसँग २.५ मिलियन डलर बराबर सम्पत्ति भइसकेको थियो। सफलताको सिखर चुम्न थालिसकेको थियो। बिल गेट्स त्यस कम्पनी (माइक्रोसफ्ट) प्रमुख भइ सकेका थिए। उनी माइक्रोसफ्टको प्रमुख हुँदा उनको मेर केवल २३ वर्षको थियो। २३ वर्षको उमेरमा नै बिल गेट्स लाखपति भइसेकका थिए। यति कम उमेरमा केवल आफ्नो आर्जन (पैत्रिक सम्पत्ति होइन) बाट व्यक्तिहरू लखपति भएको कम सुन्न पाइन्छ। यसैगरी यति कम उमेरमा विश्वविख्यात भएको कमै देख्न पाइन्छ।

माइक्रोसफ्टले मुख्य गरी कम्युटर सफ्टवेयरहरू निर्माण गर्दछ। माइक्रोसफ्टले कम्युटरको संसारमा नया क्रान्ति नै ल्यायो। यसलाई आधुनिक युगको ठूलो प्राविधिक आविष्कार मान्ने गरिन्छ। माइक्रोसफ्ट वर्ड, एक्सेल, पावर प्वाइन्ट आदि विश्व विख्यात सफ्ट वेयर मान्ने गरिन्छ।
पौल एलेनको सहयोगमा बिल गेट्सद्वारा स्थापित विश्व विख्यात ‘माइक्रोसफ्ट कारपोरेसन’ अहिले सार्वजनिक संस्था भएको छ। सन् २०१७ मा यसको आय $८९. ९५ बिलियन थियो। सोही अवधिमा सञ्चालन नाफा $ २२.२७, खुदा नाफा $२१.२०, कुल सम्पत्ति $२४१.०८ र कुल इक्युटी $७२.३९ बिलियन थियो। (सन् २०१७ मा) १ लाख २४ हजार कर्मचारीहरू त्यस संस्थामा कार्यरत थिए।
बाल्यकालदेखि नै अध्यय गर्न अति नै रूचाउने प्रकृतिका थिए, बिल गेट्स। प्रतिस्पर्धा गर्नु र काम गर्दा जोखिम लिनु गेट्सको अति नै रूचिको विषय थियो। १२, १३ वर्षको उमेरमा नै विभिन्न पुस्तकहरूको अति अध्यन गर्ने उनको बानी देखेर उनका आमाबाबु अति चिन्तित हुन पुग्थ्ये र छोरा एक्लो (Loner) स्वभावको  हुने हो कि भनी दु:खी पनि हुन पुग्थ्ये। विल गेट्स अध्ययनशील छन् र नियमित रूपमा विभिन्न पुस्तकहरूको अध्यन अहिले पनि गर्छन।

आफू पनि सृजनशील हुन र सृजनशील व्यक्तिहरूलाई आफ्नो वरिपरि राख्नु बिल गेट्सको अर्को विशेषता हो। यस अर्थमा उनी एक द्रष्टा पनि हुन। उनीउपर लेखिएका अनेक बाइयोग्राफी एवं आलेखहरूको अध्ययन गर्दा गेट्स दृढ निश्चयी, आक्रामक एवं उत्साही पनि देखिन्छन्। हाइस्कूल समाप्त गरेर सैट (SAT: Socialistic Aptitude Test) परिक्षा दिंदा उनले १६०० पूर्णाकमा १५९० अंक ल्याएका थिए।  

विश्व विख्यात बिल गेट्सले सफलताका सुत्रहरू भनेर दस अभ्यास वा कार्यहरू प्रस्तुत गरेका छन्। ती अभ्यासहरू यस प्रकार छन्:

१ ऊर्जावान् हुनु (Have energy)
२) खराब अनुभूतिबाट प्रभावित हुनु (Have a bad influence)
३) कडा परिश्रम गर्नु (Work hard)।
४) आफ्नो भविष्य निर्माण गर्नु (Create the future)
५) आफ्नो कार्यवाट आनन्दित रहनु (Enjoy what you do)
६) खेल्नु (Play bridge)
७) सल्लाह लिनु (Ask for advice)
८) असल व्यक्तहरूसँग सँघत गर्नु (Pick good people)
९) ढिला सुस्ती नगर्नु वा लगनशील रहनु (Don’t procrastinate)
१०) हाँसो वा मजाक गर्नु (Have sense of humor)। 

बिल गेट्सको सफलताको कथाले सफल हुन चाहने व्यक्तिहरूलाई जीवनमा सफल हुनका लागि मेहनती, लगनशील, परिश्रमी, जोखिम बहनकर्ता एवं धैर्य धारक हुन प्रेरित गर्द्छ।

(ग) चिनुआ अचिबीको जीवनी

कलम बाहक र विचारका धनी चिनुआ अचिबी अफ्रिकी महादेशका मुलुकहरूमा मात्र प्रख्यात भएनन्, संसार भरि नै प्रख्यात भए। नाइजेरियन नागरिक अचिबीलाई आज पनि ‘अफ्रिकी उपन्यासको पिता’ मान्ने गरिन्छ। सम्पूर्ण अफ्रिकाको नै एक बौद्धिक सम्पत्ति मान्ने गरिन्छ।
अचिबीको पहिलो उपन्यास ‘थिंग्स फल एपार्ट’ (Things Fall Apart) जुन सन् १९५८ मा प्रकाशित भएको थियो र जसले उनलाई विश्वभरि नै परिचित एवं चर्चित गरायो, अहिले पनि संसारभरिका विभिन्न विद्यालयहरूमा पढाउने गरिन्छ। अति नै प्रभावशाली मानिएको उक्त उपन्यास विश्वका पचास भन्दा बढी भाषाहरूमा प्रकाशित छन र यस उपन्यासको २ करोड भन्दा बढी प्रतिहरू बिक्री भइ सकेको छन्।

अचिबीले बुकर इन्टरनेशनल प्राइज (सन् २००७), डोरोथी एण्ड लिलिएन गिश प्राइज (२०१०) गरी अनेकौ पुरस्काहरू प्राप्त गरेका थिए। विश्वका अनेकौ विश्व विद्यालयहरूले उनलाइ अनेक मानार्थ उपाधि (Degree) हरू प्रदान गरेका थिए।

स्कूलको एक सामान्य शिक्षक-पुत्र अचिबीको जन्म नाइजेरियाको ओगोडीको इग्बो सहरमा नोभेम्बर १६, १९३० मा भएको थियो। पछिल्लो समयमा संयुक्त राज्य अमेरिकामा बसोबास गरि रहेका अचिबीको मृत्यु ८२ वर्षको उमेरमा मसेचुसेट्सको बोस्टन सहरमा मार्च २१, २०१३ मा भएको थियो। उनले नाइजेरिया लगायत संयुक्त राज्य अमेरिकाका विभिन्न ख्याति प्राप्त विश्व विद्यालयहरूमा अध्यापन गरेका थिए।

उनको उपन्यास थिंग्स फल अपार्टले आफ्नो समयमा चर्चाको शिखर नै छोएको थियो। त्यस उपन्यासमा उनले १९ सौं सप्ताब्धिको अफ्रिकीको महादेश र खास गरी नाइजेरियाली आदिवासीको स्थितिको बयान प्रभावशाली किसिमले गरेका छन्। त्यस समयमा अफ्रिकी मुलुकहरूले दासत्ववाट मुक्ति पाइ रहेका थिए, अर्थात बेलायत, फ्रान्स र अन्य युरोपेली मुलुकको उपनिवेश हुनु बाट उन्मुक्ति पाइ रहेका थिए। उक्त पुस्तकमा पश्चिमबाट गएका मिसिनरीहरूले नाइजेरियाली आदिवासीहरूको धर्म, संस्कृति, परम्परा र भाषामा कसरी आक्रमण गरे भन्ने कुरा छोटकरीमा तर ओजपूर्ण एवं निष्पक्ष किसिमले देखाइएको छ। 

उपनिवेश खडा गर्दा मिसिनरीहरू हातमा बाइबल लिएर अफ्रिकी महादेशमा पसेका थिए तर उनीहरूको उद्देश्य अफ्रिकाका विभिन्न मुलुकहरूमा केवल धर्म प्रचार गर्नु मात्र थिएन, ती देशहरूमा उपनिवेश पनि खडा गर्नु थियो। आफ्नो विचार लादेर अफ्रिकीहरूलाई दास तुल्याउनु थियो। परम्परागत रूपमा, आफ्नो धर्म (प्राकृतिक) र संस्कृति जोगाएर बसेका अफ्रिकीहरूको जीवनमा मिसिनरीहरूले ठूलो परिवर्तन ल्याइ दिएका थिए। अर्थात ठूलो जमात क्रस्चियन भएका थिए। पछि सम्पूर्ण अफ्रिका नै धर्मको कारणले मतद्वारा विभाजित मात्र भएन, जातिय हिंसामा पनि फंस्यो। अहिले पनि अफ्रिकाका विभिन्न मुलुकहरूमा जातीय झगडा हुन्छ र खासगरी क्रिस्चियन र इस्लामहरू बीच त हिंसात्मक झगडा भइनै रहन्छ।  हजारौ मारिन्छन पनि।

अचिबीले ख्याति भने सजिलै प्राप्त गरेका होइन। उनको संघर्षको कथा लामो छ। सन् १९९० मा, नाइजेरियमा भएको एक कार दुर्घटनामा परेर उनी लकबाको शिकार हुन पुगेका थिए। त्यसपछि उनको जीवन केवल एक ह्विलचेयरमा सीमित हुन पुगेको थियो। र त्यो ह्विलचेयरले उनको जीवनको अन्तिमकालसम्म पनि उनलाई पछ्याउने छाडेन।
कार दुर्घटना पछि अचिबी संयुक्त राज्य अमेरिका आए। न्युयोर्क सिटीको दक्षिणमा रहेको बार्ड कलेजमा अध्यापन प्रारम्भ गरे। त्यस कलेजमा उनले १५ वर्ष अध्यापन गरे।
सन २००९ मा रोह्ड आइलैण्ड (Rhode Island) को प्रोभिडेन्स स्थित ब्राउन युनिभर्सिटीमा अध्यापन गर्न पुगेका थिए।

मेडिसिन पढ्नका लागि छात्रवृति पाएका अचाबीले मेडिसिन पढ्न छाडेर अंग्रजी साहित्य-अध्ययन रोजेका थिए। खासगरी धर्म र संस्कृतिको अध्ययनले उनलाई निकै आकृष्ट गर्यो। अफ्रिकीहरूको भाषा र संस्कृतिमा भएको पश्चिमी आक्रमणले अचाबीलाई डाक्टर होइन एक सचेत नागरिक हुन उत्प्रेरित गर्यो। ग्रजुएसन गरेपछि उनले नाइजेरियन ब्रोडकास्टिंग सर्भिसमा काम गर्न शुरू गरे। सन् १९६७ मा नाइजेरियन कवि क्रिस्टोफर ओकिग्वो सँगको सहकार्यमा उनले इनुगुमा एक प्रकाशन गृहको स्थापना गरेका थिए।

 सन् १९६७ मा नाइजेरियामा भएको गृह युद्धताका उनी ‘बाएफ्रा’ (Biafra) को पक्षमा उभिए। उक्त गृह युद्ध बाएफ्रालाई नाइजेरियाबाट अलग पार्नका लागि भएको थियो। बाएफ्रा नाइजेरियाबाट अलग पनि भयो, साथै बाएफ्रा गणराज्य (Republic of Biafra) को रूपमा एक स्वतन्त्र राष्ट्रको रुपमा स्थापित पनि भयो। तर उक्त बाएफ्राको अस्तित्व केवल केही वर्ष (मे १९६७ देखि जेनुअरी १९७०) सम्म मात्र कायम रहन सक्यो। पछि बाएफ्रा नाइजेरियामा मिल्न आयो। नाइजेरियाले कठोर नाकाबन्दी गरेपछि २० लाख बाइफ्राका नागरिकहरूको मृत्यु केवल भोकमरीबाट भएको थियो। तर बाइफ्रा स्वतन्त्र हुनजेलसम्म अचाबीले आफ्नो नया राष्ट्रको एक राजदूत बनेर कार्य गरे। बाइफ्राको विलय नाइजेरियामा भए पछि, घुसखोरी, सत्ता लोलुपतालाई नजिकबाट देखे पछि, राजनीतिबाट उनलाई वितृष्णा उत्पन्न भयो र त्येही वितृष्णले उनलाई संयुक्त राज्य अमेरिका जान प्रेरित गर्यो। केही वर्ष अमेरिका बसे पछि उनी पुन: नाइजेरिया फर्के। तर नाइजेरियामा भएको एक कार दुर्घटनाले उनलाई अमेरिका आउन बाध्य पार्यो। सन् १९९० मा उनी अमेरिका आए पछि नाइजेरिया फर्केनन र अमेरिकामा नै उनको जीवनलिला सदाका लागि समाप्त भयो।

अचम्म त के छ भने नाइजेरियामा रहँदा नाइजेरियालीहरूको भाषा र संस्कृतिमा मिसनरी र खास गरी अंग्रेजहरूले अतिक्रमण गरे, नाइजेरियालीहरूको मौलिकता नष्ट पारे, भाषा नष्ट पारे भन्ने चिनुआ अचिबीले आफ्नो लेखनमा अंग्रेजी भाषा नै छनौट गरे। उनका कृतिहरू अंग्रेजी भाषामा लेखिएका छन्। यसबारे अचिबीलाई प्रश्न गर्दा अफ्रिकाका वहुसंख्यक व्यक्तिहरूले अंग्रेजी भाषा बोल्ने हुँदा आफ्नो सन्देश वहुसंख्यक व्यक्तिहरू सम्म पुर्याउन आफूले अंग्रेजी भाषामा लेख्ने गरेको भनेका थिए।
जे जस्तो होस, लेखनमा अचिबीले निष्पक्षतामा जोड दिएका र उनका कृतिहरू निष्पक्ष भएकोले नै उनले त्यति ठूलो ख्याति पाए। निष्पक्षताले नै उनलाई सफल हुनमा सहयोग पुर्यायो। तर सफल हुनका लागि उनले गरेको निरन्तरको प्रयासले भने निर्णायक भूमिका निर्वाह गरेको थियो। 

(घ) क्षेत्राप्रताप अधिकारीको जीवनी

खलासीबाट मन्त्रीसम्म हुने क्षेत्राप्रताप अधिकारीको जीवनी यस्तो छ।
राजा महेन्द्र (११ जुन १९२० - ३१ जनवरी १९७२) आफ्नो शासनकाल (१३ मार्च १९५५ – ३१ जनवरी १९७२) मा जति विवादमा परे उनका छोरा राजा बीरेन्द्र ( २९ डिसेम्बर १९४४ – १ जुन २००१) आफ्नो शासन काल (३१ जनवरी १९७२ – १ जुन २००१) मा त्यति नै विवाद मुक्त रहे। विवाद मुक्त र परम्परागत रूपमा रहि आएको राज्यको शासकीय अधिकार राज दरबारबाट जनतामा हस्तान्तरण गर्ने राजाको रूपमा बीरेन्द्र शाह देश विदेशमा ज्यादै नै लोकप्रिय भए। र त्यो लोकप्रियताले उनलाई सफल राजाको रूपमा स्थापित गरायो।

एक अति रक्तपात पूर्ण षडयन्त्रकारी दूर्घटना (राज दरबार हत्या काण्ड: १ जुन २००१) मा उनको वंशको नै विनास हुँदा सम्पूर्ण नेपाल रोएको थियो। उनको शव यात्रामा नागरिकहरू वाध्यताले होइन, स्वेच्छाले पशुपति आर्यघाट, काठमाडौ पुगेका थिए, बलिन्द्र आंशु झारेर रोएका थिए। राजा बीरेन्द्रको मृत्युमा हजारौले (क्रिया कर्म गराए झै) केस मुण्डन गराएक थिए। केस मुण्डन गराउनेमा यो लेखक एवं निजको परिचित नेपलको स्वास्थ्य क्षेत्रमा कार्यरत एक अमेरिकन डाक्टर पनि थिए।

राजा बीरेन्द्रको लोकप्रियताको मूल्यांकन गर्दा उनी एक सफल राजा हुन भन्न कुनै किसिमको संकोच मान्नु पर्ने देखिदैन। तथ्यहरू द्वारा प्रमाणित नेपालका एक सफल राजा हुन बीरेन्द्र। तर एउटा टिप्पणी भने गर्न सकिन्छ। उनी एक वंश परम्पराको आधारमा राजा भएका थिए। राजा (राज्यको सर्वोच्च पद प्राप्त गर्नमा) हुनमा उनको आफ्नो कुनै व्यक्तिगत योगदान भने थिएन। वा सफल हुनका लागि उनले कुनै ठूलो वा कठोर संघर्ष गर्नु परेको थिएन। यसैगरी उनको शासन कालको अन्तिम घणीमा भएको उनको हत्याले गर्दा पनि जन जनको आँशु उनको लागि ठूलो ठूलो मात्रामा बगेको थियो।

राजा बीरेन्द्रको प्रशङ्ग यहाँ दुई सन्दर्भहरूलाई जोड्नका लागि उठाइएको हो। पहिलो उनी सफल हुनमा उनको अन्य कुनै ठूलो योगदान त थिएन तर पनि उनको भद्र स्वभावले उनलाई सफल पार्नमा महत्वपूर्ण भूमिका खेलकेको थयो। आर्थात कुनै पनि व्यक्ति सफल हुनका लागि भद्र हुन आवश्यक छ भन्ने कुरा राजा बीरेन्द्रको जीवनीले दिन्छ। दोस्रो, साझा बसको खलासी हुँदै नेपालको मन्त्रीसम्म हुन पुगेका साहित्यकार क्षेत्रप्रताप अधिकारीले राजा बीरेन्द्र जस्तो बिरासतमा सर्वोच्च पद प्राप्त गरेका थिएनन। उनले जे जति गरे केवल स्यवंले संघर्षद्वारा गरेका थिए। उनले आफैले माटो खने, त्यो मोटो पुर्दै सडक बनाए, त्यो सडकमा आफ्नो दृढ लक्ष्य रुपि गाडी चलाए। त्येही गाडीमा चढेर प्रतिस्पर्धा गरे। प्रतिस्पर्धा गरेर सफल भए पनि। यो कारणले पनि क्षेत्रप्रताप अधिकारीको सफलताको कथा सुन्न र सुनाउन योग्य छ।

क्षेत्रप्रताप अधिकारीको सफलताको कथा कालजयी त छ नै साथै सफल हुन इच्छा राख्नेहरूका लागि प्रेरणाको स्रोत पनि हुन पुगेको छ। उनको वारेमा लेखिएका अनेक आलेखहरू पढि रहँदा उनमा रूसी साहित्यकार मैक्सिम गोर्कीको झल्को देखिन (स्मरण हुन) आउँछ।

हाइ स्कूल समाप्त पारेर जव विश्व विद्यालयमा अध्यन गर्न गोर्की अर्को सहर पुग्न हिंडे उनीसँग यात्राका लागि खल्तिमा  पट्टकै पैसा थिएन। उनी यात्राका लागि रेलमा सबार हुँदा रेलको भाडा तिर्न नसकेर त्यसै रेलको इन्जनमा कोइला हाल्ने काममा नियुक्त भए। गोर्कीको सफलताको संघर्ष यात्रा निकै लामो छ। एक प्रशङगमा गोर्कीले भनेक थिए, “विश्व विद्यालय पढ्न हिंडेको म, विश्व विद्यालको शिक्षा पाउन त सकिन तर विश्व विद्यालय पुग्ने मैले गरेको यात्रामा जे जति अनुभवहरू संगाले त्यो अनुभव कुनै पनि विश्व विद्यालयमा प्राप्त गरिने शिक्षा भन्दा कम थिएन।“ पछि त्यो यात्राका अनुभवहरू संगालेर उनले सन् १९२३ मा “मेरो विश्व विद्यालय” नामक पुस्तक लेखे।
गोर्की झै उच्च शिक्षा हासिल गर्न हिंडेका क्षेत्रप्रताप अधिकारीले उच्च शिक्षा त हासिल गर्न सकेनन (उनका बारेमा लेखिएका आलेखहरूमा केवल यसयलसी पास गरेको भनिएको छ) तर उच्च शिक्षा भन्दा पनि माथिल्लो दर्जाको शिक्षा (ख्याति र लोक्रप्रियता) पाए। 
  
नारायणगोपालको स्वरमा गायिएको “म त लालीगुराँस भएछु”, र “मलाई छाडी मेरो छायाँ कतै झरेछ” जस्ता कालजयी गीतका गीतकार, एवं साहित्यकार क्षेत्रप्रताप अधिकारीको जन्म एक अति नै सामान्य परिवारमा अप्रिल १४, १९४३ मा ज्यामरुक बयपानी, मिर्लुंग-४, तनहु नेपालमा भएको थियो। कतै लमजुङको मिर्लङ गाउँ विकास समिति मध्येको एउटा भयापानी भन्ज्याङ पनि भनिएको छ।  
क्षेत्रप्रताप अधिकारीका पिता लाहुरे भएर मुग्लान (भारत) को कुनै शहरमा पुगेको थिए, जिबिकाको बाटो खोज्न। आमा घरमा एक्ली थिन। यस्तो अवस्थामा हातमा एक पैसा (खर्च गर्ने रकम) पनि नभए पनि उज्यालो समात्न (भविष्य निर्माण गर्न) घरबाट काठमाडौ हिंडेका थिए, क्षेत्रप्रताप अधिकारी। काठमाडौमा उनको लागि पहिले देखिनै बनीबनाउ न कुनै जागरि थियो, न त घर नै। न त परिवार नै। जे गर्नु थियो उनले एक्लैले गर्नु थियो।

अधिकारीले काठमाडौमा जीवन गुजरा गर्न जे जे काम गरे, कठोर परिश्रमलाई सम्मान गर्दै कुनै पनि कार्यालाई सानो नभनेर स्वीकार्ने गरे, संघर्षको खोलामा बग्दै रहे त्यो अति नै अनुकरणीय छ। काठमाडौ आएको सुरूको दिनमा अधिकारी जुद्ध्योदय हाइस्कूलको रात्री कक्षामा अध्ययन गर्दै अनि विहान र दिउँसो महाकवि देवकोटोको मृत्युशोकमा उनैले लेखेका एक पाने कविता आफैले स्वर हालेर बेच्थे। नौरथाभरि शोभ भगवतीमा आएका भक्तजनहरूलाई त्येही एक पाने कविता गाएर बेच्थे। दिउँसोको समयमा रानीपोखरीमा त्येही कविता गाउँदै, सुनाउँदै, बिक्री गर्थे। त्यो बिक्रीबाट उनलाई केही आम्दानी हुन थाल्यो। लगभग एक सय पचास रूपैया नै आम्दानी भयो, त्यो एक पाने कविता बेचेर। यो रकम त्यसबेलाको लागि राम्रो आम्दानी थियो। त्यो आम्दानीलाई अहिलेको लागि एक लाख रुपैया भने पनि हुन्छ।

क्षेत्रप्रताप अधिकारी २०१४ सालमा काठमाडौ उपत्यका पसेका थिए। जीवनका अन्तिम दिनहरू पनि उनको काठमाडौमा नै बित्यो।

संघर्षको समयमा अधिकारीले अनेक कार्यहरू गरे। काठमाडौ स्थित घरेलु शिल्पकलामा उनले माटोको भाँडा बनाउने (कुमाल) को तालिम लिए। बाटो बनाउने एक कम्पनीको कार्यालयमा काम गर्न उनी हेटौडा पुगे। हेटौडाको त्यस कार्यालयमा स्टोरकिपर भएर कार्य गरे। काठमाडौ उपत्यकामा चल्ने साझाबस (स्थापना: मार्च १६, १९६२) मा अधिकारीले खलासी भएर कार्य गरे। चालकलाई सहयोग गर्न बसको ढोका ढक ढक्याउँदा, सिटी बजाउँदा उनलाई केवल कर्म गर्नु पर्छ, सफल हुन कठोर परिश्रम गर्नु पर्छ भन्ने कटु सत्य मात्र हेक्का रह्यो। काम सानो वा ठूलो हुन्छ भन्ने समाजिका मान्यता प्रति कुनै विश्वास रहेन।

अधिकारीले साझा प्रकाशनमा पनि जागिर खाए। सोही साझा प्रकाशनको महाप्रवन्धक एवं अध्यक्ष पनि भए। पञ्चायतकालमा, सन् १९८७ देखि १९९०, शिक्षा सहायक मन्त्री भएर कार्य गरे। 
नारायणगोपाल लगायत बच्चु कैलाश, रामकृष्ण ढकाल, योगेश्वर अमात्य, सत्यराज आचार्य, कुन्ती मोक्तान, स्वरूपराज आचार्य आदिले पनि अधिकारीका गीतहरूलाई आफ्ना स्वर प्रदान गरेका छन्।
अविचलित लक्ष्य लिएर कठोर परिश्रम गर्दै अगाडि बढ्ने हो भने आफूले प्राप्त गर्न खोजेको लक्ष्य अवश्य पनि प्राप्त गर्न सकिन्छ भन्ने कुरा आफ्ना कार्यहरूद्वारा प्रमाणित गरेर अधिकारीले देखाइ दिए। सफलता प्राप्त गर्न कल्पना होइन, कठोर परिश्रम गर्नु पर्छ, कुनै पनि किसिमको कार्य गर्न संकोच मान्नु हुँदैन भन्ने कुरा प्रमाणित गरेर देखाइ दिए। यदि कठोर परिश्रम गर्ने हो, कुनै पनि कामलाई सानो ठूलो नभन्ने हो भने कुनै पनि व्यक्यि खलासीबाट मन्त्रीसम्म हुन्छ सक्छ, क्षेत्रप्रताप अधिकारी झै। अधिकारीको जीवनीले यही भन्छ। साथै यो पनि भन्छ,”प्रत्येक बादलमा चाँदनीको घेरा हुन्छ।”

(ङ) मुक्ति उपाध्यायको जीवनी

व्यक्ति स्वयं माटो हो, बीज हो एवं हावापानी  हो। र कृषक पनि व्यक्ति स्वयं नै हो। व्यक्तिले आफूलाई राम्रो गरी जोत खन गरेर, आफूलाई उब्जाउ बनाउने हो भने आफूमा नै सर्वोकृष्ट बाली लगाउन सक्छ। उन्नत बाली (परिणाम) पाउन सक्छ। अर्थात सम्पूर्ण सम्भावनाहरू व्यक्ति स्वयंमा नै हुन्छ। व्यक्ति स्वयंले आफूभित्र रहेका असंख्य अनेक सम्भावनाहरूको पहिचान गर्न सक्नु पर्छ। र ती सम्भावनाहरूको उपयोग गर्न सक्नु पर्छ। हरेक व्यक्ति क्षमतावान् हुन्छ। व्यक्तिले आफ्नो वौद्धिक क्षमताद्वारा आफूभित्र रहेका सम्भावनाहरूको खोजी, पहिचान, विश्लेषण र उपयोग गर्न सक्नु पर्छ।
माथिका विवरणहरूको प्रत्यक्ष उदहारण हुन मुक्ति उपाध्याय। उपाध्यायले पनि आफू भित्र रहेका अनेक सम्भावनाहरूको खोजी, विश्लेषण र प्रयोग गरे। जनकपुर अंचलको धनुषा जिल्ला स्थित बनरझुला गाउँको एक साधारण परिवारमा जन्म लिएका उपाध्यायले त्यही सामान्य गाउँ, बनरझुलाबाट सफलताका लागि अविरल संघर्ष-यात्रा आरम्भ गरे। उनको संघर्ष यात्रामा काठमाडौ गन्तव्य पनि आयो जहाँ पुगेर उनले त्रिभुवन विश्वविद्यालयबाट सन् १९७४ मा ‘क्लास टप’ गर्दै अर्थशास्त्रमा स्नातकोत्तर (MA) गरे।

अध्ययन पश्चात, उनको सफलता-आकांक्षाले उनलाई आफ्नो अध्ययनसंग मिल्दो पेशा गर्न निर्देशित गर्यो। परिणामस्वरूप उनी काठमाडौ स्थित नेपाल राष्ट्र बैंकमा सन् 1977 मा अनुसन्धान अधिकृत पदमा जागिरे भए। त्यसबेला नेपालमा राम्रो पद प्राप्त गर्न व्यक्तिले दरवारको नजिक हुनु वा ‘ठूलाबडा’ को कृपा प्राप्त गर्नु पर्थ्यो। खास कुरा (सोर्स, फोर्स, भनसुन) हरूको अभावमा एक सामान्य व्यक्तिले ‘प्रगति’ गर्नु भनेको त्यस बेलाको नेपालमा फलामको चिउरा चपाउनु  जस्तो हुन्थ्यो। तर उपाध्यायले आफ्नो सफलता-आकांक्षालाई आफ्नै परिश्रम र आत्म विश्वासको जगमा खडा गरे। फलामको चिउरा चपाए।

ज्ञानको भोकले उनलाई काठमाडौ भित्र मात्र सीमित रहन दिएन। शिक्षाप्रतिको उच्च आकांक्षाले उनलाई थाइलैण्डको राजधानी बैंकक पुर्यायो। बैंकक स्थित थम्मसाट युनिभर्सिटी” (Thammasat University) बाट सन् 1983 मा अर्थशास्त्रमा ‘मास्टर’ गरे। उपाध्यायले आफ्नो वौद्धिक क्षमताको परिचय दिएर त्यस युनिभर्सिटीका धेरै प्रोफेसरहरूलाई प्रभावित पारेका थिए। थम्मसाट युनिभर्सिटीलाई एशिया कै एक महत्वपूर्ण युनिभर्सिटी मान्ने गरिन्छ।

मुक्ति उपाध्यायको सफलताको कथा यत्तिकैमा समाप्त हुँदैन। अर्थशास्त्र प्रतिको गहिरो रूचिले उनलाई उच्च अध्ययनका लागि संयुक्त राज्य अमेरिका जान उत्प्रेरित गर्यो। अमेरिकाको मेरिलैण्ड राज्यको बाल्टिमोर स्थित जोहन्स हपकिन्स विश्वविद्यालबाट सन् १९९५ मा उपाध्यायले पियचडी गरे। अनुसन्धानको लागि प्रख्यात जोहन्स हपकिन्स विश्वविद्यालय अमेरिकाको पुरानो एवं प्रतिष्ठित विश्वविद्यालयहरू मध्ये एक हो। 

पियचडी गरे पछि उपाध्याय प्रध्यापन पेशमा लागे। प्रोफेसर भए। हाल उपाध्याय इलिन्वाए राज्यको चार्लस्टन स्थित ‘इस्टर्न इलिन्वाए युनिभर्सिटी’ मा अर्थशास्त्र प्रध्यापन गर्छन। उनले प्रध्यापन गरेको दुई दशक भन्दा बढी भइ सकेको छ। विश्वभरमा ‘उत्पादकत्व’ कसरी बढान सकिन्छ (The areas of total productivity growth and its determinant globally) भन्ने विषयमा उपाध्यायको गहिरो अभिरूचि छ।

हालै उपाध्यायले गरिबी र असमानताको क्षेत्रमा, मुख्य गरी नेपालमा, निकै अध्ययन र अनुसन्धान गरेका छन्। आम्दानी, शिक्षा र स्वास्थ्यको क्षेत्रमा देखिएको विभेद (असमानता) लाई गहन किसिमले अध्ययन गरेका छन्।

मुक्ति प्रसाद उपाध्याय आफैमा सफलताको एक अनुकरणीय कथा हुन। सफलताका प्रतीक हुन। अटुट आत्मविश्वासका साथ कठोर परिश्रमद्वारा कठिन भन्दा कठिन लक्ष्य पनि पुरा गर्न सकिन्छ र जीवनमा सफल हुन सकिन्छ भन्ने भनाइ उपाध्याले सफलताका लागि आफूले अटुट संघर्ष गरेर देखाइ दिए। लक्षित सफलता प्राप्त गरेर देखाइ दिए। उनी, सफलता ज्यादै नजिकबाट हेर्ने एक कुसल “सफलता-दृष्टा” हुन। उपाध्यायले अमेरिकामा दिक्षित गरेका विद्यार्थीहरूका शब्दहरू सापट्टी लिएर भन्ने हो भने, ‘उपाध्याय मेरा जीवनकालमा भेटिएका प्रोफेसरहरू मध्ये एक उत्कृष्ट प्रोफेसर हुन।’
उपाध्यायको बारेमा केही अन्य विद्यार्थीहरूले दिएका प्रतिक्रियाहरू जस्ताको त्यस्तै राखेको छु।

‘Probably one of the smart people I’ve ever met period.’
‘An excellent professor.’
One of the best teachers at EIU.’

सफलता न त केवल रहर गरेर पाइन्छ नत यसलाई कल्पनाद्वारा प्राप्त गर्न सकिन्छ। न त सफलता कसैले दिएर प्राप्त हुने कुनै सुन वा चाँदीको गहना जस्तो हो, प्राप्त गरेर तत्काल लगाउन सकिने। सफलता केवल र मात्र परिश्रम र संघर्षद्वारा प्राप्त गर्न सकिन्छ। धैर्यद्वारा प्राप्त गर्न सकिन्छ। सफलता प्राप्तिको लडाइमा व्यक्ति नितान्त एक्लो हुन्छ। अन्य लडाइ जस्तो सफलता प्राप्तिको लडाइमा, साथमा न त हतियार, न त सेनाको लस्कर न त सेनापति नै हुन्छ। हुन्छ भने केवल एकल व्यक्ति र उसको दृढ विचार साथमा सफलताको भोक। सफलता प्राप्तिको लडाइ व्यक्तिले एक्लैले लड्ने लडाइ हो। लामो लडाइ हो।

एक विकासशील देशको, एक सामान्य गाउँको एक सामान्य परिवारमा जन्मेर विश्वकै एक महाशक्ति राष्ट्रको प्राज्ञिक क्षेत्रमा स्थापित हुन सक्षम एवं सफल उपाध्याय जीवनमा सफल हुन इच्छुक व्यक्तिहरूका लागि प्रेरणाको स्रोत हुन सक्ने छन भन्ने मेरो बलियो विश्वास छ।
उनको सफलताको कथा धेरैलाई उपयोगी हुने मैले विश्वास लिएको छु। यही विश्वासका साथ सफलताप्रतिको उनको दृष्टिकोण एक अन्तर्वाताको माध्यम द्वारा यस पुस्तकमा प्रस्तुत पनि गरेको छु।

I have learned that success is to be measured, not so much by the position one has reached in life, as by the obstacles which he has overcome while trying to succeed.
                                                                                    Booker T. Washington

No comments:

Post a Comment