Friday, April 12, 2019

Special Characteristics of American Economy: Mass Production-Article -242


अमेरिका अर्थ व्यवस्थाको विशेषता: बृहत् मात्रामा उत्पादन

अमेरिका यस्तो देश हो जहाँ कुनै पनि अमेरिकावासीले केवल एक घण्टाको परिश्रमिक (आय) ले दुई छाक पुग्ने खानेकुरा सजिलै खरीद गर्न सक्छ र बाँकी ७ घण्टाको परिश्रमिकलाई अन्य खर्च (स्वास्थ्य, सुरक्षा, शिक्षा, आवास, मनोरञ्जन आदि) मा उपयोग गर्न सक्छ। अमेरिकाको सङ्घीय सरकारले न्यूनतम पारिश्रमिक प्रतिघण्टा ७ डलर २५ सेन्ट तोकेको छ। कुनैपनि रोजगारदाताले यो तोकिएको पारिश्रमिकभन्दा कम दिन पाउँदैन। तर बढी जति पनि दिन ऊ स्वतन्त्र रहन्छ। अर्थात् प्रतिदिन ८ घण्टे कार्य समयको केवल १२.५ प्रतिशत आम्दानीले कुनै पनि व्यक्तिले एक दिनका लागि आवश्यक पर्ने सामान्य खाद्य पदार्थ सजिलै खरीद गर्न सक्छ।
    यो त भयो न्यूनत्तम आम्दानी गर्ने व्यक्तिको बजेट। न्यूनतम आम्दानी गर्ने व्यक्तिहरूको सङ्ख्या तुलनात्मकरूपमा कम छ र न्यूनतमभन्दा बढी आम्दानी गर्नेहरूको सङ्ख्या ठूलो छ। र यसरी न्यूनतमभन्दा बढी आम्दानी गर्नेहरूले जीवन निर्वाहका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री एवं सेवा खरीद गरेर पनि बचत गर्न सक्छन्।
    कुनै व्यक्तिले केवल एक घण्टाको आम्दानीले मात्र पनि दुई छाकका लागि आवश्यक खाद्य सामग्री खरिद गर्न सक्ने स्थिति अमेरिकाले कसरी प्राप्त गर्यो? अमेरिकी मुद्रा, डलरको क्रय (विनिमय) शक्ति के कति कारणले यति बलियो भयो? अमेरिकी मुद्राको सर्वाधिक सानो एकाइ (एक डलर) ले पनि बलियो विनिमय क्षमता (एक डलरमा पनि विभिन्न वस्तुहरू खरिद गर्न पाउने स्थिति) कसरी प्राप्त गर्यो? अमेरिकी अर्थतन्त्रको कुन विशेषताले अमेरिकामा जीवन निर्वाह लागत यति सस्तो भयो? यी प्रश्न सर्वाधिक महत्वपूर्ण छन्। यी प्रश्नको उत्तरले अमेरिका कसरी विश्वमा सर्वाधिक धनी राष्ट्र बन्न पुग्यो भन्ने प्रश्नको त उत्तर दिन्छ नै, साथै विकासशील राष्ट्रलाई कसरी तीव्र गतिमा आर्थिक विकास गर्न सकिन्छ भन्ने मार्ग दर्शन पनि गराउँछ।
    अमेरिकाले उपरोक्त स्थिति प्राप्त गर्न सक्नु वा विश्वको नै सर्वाधिक धनी राष्ट्र हुन सक्नुमा अमरिकाले गर्ने बृहत् उत्पादनले ठूलो भूमिका खेलेको छ। अमेरिकी अर्थ व्यवस्थाको प्रमुख विषेशताहरूमध्ये एक होअमेरिकाले कुनै पनि वस्तु बृहत् मात्रामा उत्पादन गर्नु वा गर्ने क्षमता राख्नु। अमेरिकाले विभिन्न सामग्री ठूलो परिणाममा उत्पादन गर्छ, खासगरी खाद्यान्न ज्यादै नै ठूलो परिमाणमा उत्पादन गर्छ। यस कारणले अमेरिकाले मुलुकभरि तुलनात्मकरूपमा सस्तोमा खाद्यान्न वा खाद्य पदार्थ बिक्री गर्न सकेको हो।
    उत्पादन लागत कम पार्न अमरिकाले कुनै पनि वस्तु ठूलो परिमाणमा उत्पादन गर्छ। यसैगरी विभिन्न किसिमका औजार, उपकारण, सूचना प्रविधिको प्रयोग गरेर जतिसक्दो वितरण र बिक्री लागत कम पार्ने प्रयास पनि गर्दछ। अमेरिकामा कतिपय स्थानमा बिक्रेताविहीन बिक्री भइरहेको देख्न सकिन्छ। अर्थात् बिक्री कार्य बिक्री मेशिन  (Vending Machine) ले गरिरहेको हुन्छ र त्यस्ता बिक्रीमेशिनहरूले बिक्री लागत घटाएर उपभोक्तालाई सस्तोमा वस्तु प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ। बिक्री लागत कम पार्ने यो एउटा सानो उदाहरणमात्र हो। बिक्री लागत कम पार्न गरिएका यस्ता थुप्रै प्रयास सजिलै गरी हेर्न सकिन्छ।
    बृहत् मात्रामा उत्पादन गर्न सकेको हुनाले नै अमेरिकी उत्पादकहरूले विभिन्न किसिमका लागत नियन्त्रण गरेर सस्तो मूल्यमा अनेक उपभोग्य सामग्री बजारमा ल्याउन सक्षम भएका छन्। उत्पादन प्रणालीमा अमेरिकी उत्पादकहरूले ठूलो मात्रामा औजार, उपकरण, मेशिन, प्रविधि एवं आधुनिक सूचना प्रणाली (Modern Information Technology) उपयोग गर्छन् र यी सुविधाहरूले सस्तोमा उत्पादन र बिक्री गर्न सहयोग पु¥याउँछन्। कृषिमा आधुनिक मेशिन, औजार आदिको ठूलो परिमाणमा प्रयोग हुन्छ। कृषि बाली ठूलो परिणाममा उत्पादन गर्न सकेको हुनाले अमरिकाले देशभित्र खाद्यान्नको मूल्य सस्तो पारेर उपभोक्ताहरूलाई उपलब्ध गराउन सक्षम भएको हो। अमेरिकाले ओट (नोर्थ डकोटा), बार्ली (मोनटाना), चामल (आर्कान्सा), सोरघम (क्यान्सस), कटन (टेक्सास), डुरम गहुँ र स्प्रिंग गहुँ (नोर्थ डकोटा), विन्टर गहुँ (क्यान्सस), पराल (टेक्सास), भटमास (आएवा), मकै (आएवा) जस्ता कृषि उत्पादनहरू ठूलो परिणाममा उत्पादन गर्छ। र राष्ट्रिय उपभोगका लागि राखेर बाँकी उत्पादन ठूलो परिमाणमा निर्यात पनि गर्छ। उपभोग्य वस्तु ठूलो परिमाणमा उत्पादन गर्न सकेको हुनाले अमरिकालाई The World's Bread Basketअर्थात संसारको खाद्य भण्डारपनि भन्ने गरिन्छ ।
    तीव्र गतिमा आर्थिक विकास गर्न सफल भएको चीन (Nominal GDP: $12.01 trillion, GDP (PPP): $23.15 trillion) ले विश्वको ठूलो अर्थ व्यवस्था हुने दौडमा कुनै समयमा विश्वका दोस्रो, तेस्रो ठूलो अर्थ व्यवस्था रहेका जापान र जर्मनीलाई उछिनिसकेको छ र अहिले दोस्रो स्थानमा छ। केही दशक पहिलेसम्म पनि विश्वको ठूलो अर्थ व्यवस्था हुने दौडमा चीन निकै पछाडि थियो, आठौं, दसौं स्थानमा थियो। चीनले तीव्र गतिमा आर्थिक विकास गरे तापनि यो दौडमा अमेरिका (Nominal GDP: $19.39 trillion, GDP (PPP): $19.39 trillion) लाई उछिन्न सकेको छैन। र अमेरिकालाई उछिनेर चीन विश्वको पहिलो ठूलो अर्थ व्यवस्था हुने सम्भावना टाढा टाढासम्म देखिंदैन। अमेरिका जस्तो चीनले उत्पादनकुशलता प्राप्त गरे तापनि चीनको सामाजिक अवस्था र राष्ट्रिय आय वितरण अहिले पनि दुई ठूला चुनौतीको रूपमा रहेको छ । यस्तै स्थिति भारतको पनि छ। भारतको थप समस्या अझै के पनि छ भने भारतले अमेरिकाजस्तो कृषिमा व्यापकमात्रामा आधुनिक मेशिन एवं उपकारणहरू र उन्नत प्रविधिको प्रयोग गर्न सकेको छैन। कृषिको सन्दर्भमा, र अमरिकाको तुलनामा, भारत एकातिर भौगोलिकरूपमा सानो छ भने अर्कोतिर भारतमा भूखण्डीकरण (कृषियोग्य भूमि सानोसानो टुक्रमा विभाजित) समस्याले भीमरूप धारण गरेको छ। बहुसङ्ख्यक भारतीयहरूको आयको प्रमुख स्रोत कृषि नै भएकोले कृषियोग्य भूमि सानासाना टुक्रामा विभाजित छ।
    हुनत अमेरिकालाई बृहत् मात्रामा उत्पादन गर्न यहाँ उपलब्ध भूमिको प्रचुरताले पनि सघाएको छ। तर भूमिको प्रचुरता मात्र बृहत् उत्पादनको आधार भन्दै यो भनाइलाई नै पूर्व शर्तको रूपमा मान्ने हो भने रूस (१७.१ मिलियन स्क्वाएर किलोमिटर), ब्रजील (८.५१ मिलियन स्क्वाएर किलोमिटर), अर्जेन्टिना (२.७८ मिलियन स्क्वाएर किलोमिटर), कजाख्स्तान (२.७२ मिलियन स्क्वाएर किलोमिटर), अल्जेरिया (२. ३८ मिलियन स्क्वाएर किलोमिटर) जस्ता भूभागका आधारमा ठूला मुलुकहरू विश्वका ठूला अर्थ व्यवस्थाको दौडमा रहन्थे। तर यिनीहरू यो दौडमा पछाडि छन्। अर्कोतिर तुलनात्मकरूपमा साना देशहरूजापान, जर्मनी, फ्रान्स, बेलायत अगाडि छन्। यस्तो किन भएको होला ? उत्तर सजिलो छकुनै पनि मुलुकलाई धनी बनाउन त्यहाँ बसोवास गर्ने नागरिकहरूको चेतनाको स्तरले ठूलो प्रभाव पारेको हुन्छ। र चेतनाको स्तरमा अमेरिकीहरू अग्र स्थानमा छन्। र अग्रगमन गर्न हरपल तत्पर रहन्छन्।
    अग्रगमन गर्ने आम अमेरिकी मनोविज्ञानले नै अमरिकालाई ठूलो परिमाणमा उत्पादन गरेर उत्पादन लागत नियन्त्र गर्न सघाएको छ।
    अमेरिकामा नयाँ वस्तु (जस्तै चालक रहित कार) को विकास गर्न अनुसन्धानमा लाखौं, करोडौं डलर खर्च गरिन्छ। साथै ती वस्तु कसरी उपभोक्ताहरूलाई सस्तोमा उपलब्ध गराउन सकिन्छ भनेर गम्भीरतापूर्वक विचारसमेत गरिन्छ। अनेक किसिमका अध्ययनअनुसन्धान गरिन्छ। अनावश्यक लागत नियन्त्रण गर्ने उपायको खोजी पनि गरिन्छ।
    उपभोग्य वस्तु सस्तो पारेर सस्तोमा बिक्री गर्ने कार्यलाई अमेरिकी उत्पादकहरूले प्रमुख उद्देश्यको रूपमा लिएका हुन्छन्। आम (अन्य मुलुकका) उत्पादकभन्दा अमेरिकी उत्पादकहरूको मुनाफामनोविज्ञान निकै भिन्न छ। अमेरिकी उत्पादक एवं बिक्रेता (खुला भण्डार) थोरै मुनाफामा तर बढी परिमाणमा बिक्री गरेर अधिक लाभ प्राप्त गर्नमा विश्वास गर्छन् भने बाँकी उत्पादक र खासगरी दक्षिण एशियाली उत्पादकहरू बढी मुनाफा राखेर छोटो समयमा बढी लाभ प्राप्त गर्ने कुरामा विश्वास गर्छन्। यसै कारणले गर्दा दक्षिण  एशियालीहरू बृहत् उत्पदान गरेर सस्तोमा वस्तु उत्पादन गर्नु  आवश्यक ठान्दैनन्।
    अमेरिकी उत्पादक र बिक्रेताहरूले ग्राहकको क्रयशक्तिलाई ध्यानमा राखेर वस्तु एवं सेवाको मूल्य निर्धारण गरेका हुन्छन् वा त्यस्तो गर्ने प्रयास गर्छन्।

विश्वराज अधिकारी
प्रतीक दैनिकाम प्रकाशित Friday, April 12, 2019

No comments:

Post a Comment