Friday, September 27, 2019

Modi Got A Hero's Welcome in US: Why? -245

मोदीको अमेरिकामा स्वागत: बजार राजनीति

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले अमेरिका भ्रमणमा छन्। मोदीको कट्टर हिन्दूवादी राजनीति मन पराउने अमेरिकामा बसेका भारतीयहरूले मोदीको भव्य स्वागत गरिरहेका छन् भने अमेरिकी प्रशासनले पनि मोदीको मन खोलेर स्वागत गरिरहेको छ। यसरी उनले दोहरो स्वागत पाइरहेका छन्। अमेरिकामा ३२ लाखभन्दा बढी भारतीयको बसोवास छ। र अमेरिकाको कुल जनसङ्ख्यामा भारतीयहरूको उपस्थिति एक प्रतिशतजति छ।
    गएको आइतवार (September 22, 2019)  मोदीको स्वागतार्थ अमेरिकामा बसोवास गरिरहेका भारतीयहरूले अमेरिकाका ठूला शहरमध्ये एक, ह्युस्टनमा एउटा विशाल समारोहको आयोजना गरेका थिए। उक्त समारोहमा ५० हजारभन्दा बढी प्रवासी भारतीय सहभागी भएको अनुमान गरिएको थियो। मोदीको स्वागतार्थ आयोजना गरिएको त्यो समारोह चर्चाको चुलीमा किन रह्यो भने त्यो समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि उपस्थित भएका थिए। उक्त समारोहमा विशाल जन–उपस्थितिमा ट्रम्पले मोदीको निकै प्रशंसा पनि गरेका थिए। प्रतित्योत्तरमा मोदीले पनि ट्रम्पको निकै प्रशंसा गरे। मोदीले ट्रम्पलाई आत्मीयताको धनी भनेका थिए। साथै अमेरिकामा हुने आगामी राष्ट्रपति चुनाव (सन् २०२०) मा ट्रम्प विजयी हुने उद्घोष पनि गरेका थिए।
    मोदी र भारतलाई खुशी पार्न मात्र ट्रम्पले मोदीको प्रशंसा गरेका थिएनन्। अमेरिकामा बसोवास गर्ने भारतीलाई पनि खुशी पार्न मोदीको प्रशंसा गरेका थिए। ट्रम्पले अमेरिकामा बसोवास गर्ने भारतीयको प्रशंसा यसरी गरेका थिए– “भारतीय मूलका अमेरिकीले देशको संस्कृति र मूल्य मान्यतालाई सुदृढ पारेका छन् । तपाईंहरूलाई अमेरिकी नागरिकको रूपमा पाएर हामी गौरवान्वित छौं।” ट्रम्पको यो भनाइले धेरै भारतीयलाई प्रफुल्ल पारेको थियो। अमेरिकामा बसोवास गर्ने विभिन्न धनी समुदायमध्ये भारतीय पनि एक हो। अमेरिकामा बसोवास गर्ने हजारौं भारतीयले विभिन्न अमेरिकी शहरमा साना–ठूला गरी अनेकौं व्यापार सञ्चालन गरेका छन्। र राम्रो आय आर्जन पनि गरेका छन्।
    स्मरण रहोस, एक दशक पहिले मोदीले अमेरिका प्रवेश गर्न नपाउने भनिएको थियो। तर अहिले मोदी अमेरिकामा प्रिय पाहुना हुन पुगेका छन्। राजनीतिमा न कोही सर्वकालीन मित्र न कोही सर्वकालीन शत्रु हुन्छ। यो जाने बुझेको कुरा हो।
    ह्युस्टनको एउटा स्टेडियममा मोदीको दुर्लभ एवं भव्य स्वागत भइरहँदा उक्त स्टेडियम बाहिर मोदीको कडा विरोध नभएको भने होइन। मोदीको ‘मानवाधिकार रेकर्ड’ राम्रो छैन भन्नेहरू धेरै छन्। मोदी गुजरातको मुख्यमन्त्री हुँदा, अल्पसङ्ख्यक (मुस्लिम समुदाय) प्रति उनले अन्याय गरेको आरोप छ। हालै कश्मीरप्रति उनको नीतिले गर्दा पनि उनले निकै आलोचना खेपिरहेका छन्। केही समय पहिले मोदीको सरकारले धारा ३७० निलम्बन गरेर कश्मीरले पाएको विशेष अधिकार खोसेको थियो। तर पनि मोदी अमेरिकामा लोकप्रियता बटुलिरहेका छन्। किन होला?
    अमेरिकामा मोदीले किन यस्तो भव्य स्वागत पाइरहेका छन्? राष्ट्रपति ट्रम्पले किन मोदीलाई यति महत्व दिइरहेका छन्? यी प्रश्नहरू भित्र अनेक तथ्य लुकेका छन्।
    राजनीतिक विश्लेषकहरू भन्छन्– “आगामी राष्ट्रपति चुनावमा आफ्नो पक्षमा भोट बटुल्न, अमरिकामा बसोवास गरिरहेका भारतीय मूलका अमेरिकीलाई ट्रम्प खुशी पार्न चाहन्छन् । उनीहरू खुशी भएमा भोट दिनेछन्। यस्तो अपेक्षा ट्रम्पको रहेको छ। मोदीको प्रशंसा गरेमा अमेरिकामा बसोवास गरिरहेका मोदी समर्थकहरूले भोट दिनेछन् भन्नेमा राष्ट्रपति ट्रम्प विश्वस्त छन्।” अहले अमरिकामा बसोवास गर्ने भारतीयहरू माझ मोदीको लोकप्रियता बढेको छ भन्नेहरू पनि छन्।
    आगामी चुनावमा अमेरिकामा बसोवास गरिरहेका भारतीय समुदायबाट राम्रो सहयोग पाउनमात्र ट्रम्पले मोदी एवं भारतीय सरकारको प्रशंसा गरेका होइनन्। त्यसरी प्रशंसा गर्नुको प्रमुख कारण भने नितान्त फरक छ। ट्रम्प त्यस्ता अमेरिकी नेता हुन् जसले, जहिले पनि, जहाँ पनि, जे जस्तो अवस्थामा पनि, राष्ट्रिय व्यापारलाई महत्व दिने गर्छन्। यो उनको चुनावी रणनीति पनि हो। उनको कार्यकालमा ‘राम्रो अवस्था’ मा रहेको अमेरिकी अर्थतन्त्रमा उनी कुनै पनि किसिमको प्रतिकूल प्रभाव नपरोस् भन्ने चाहन्छन्। यो कारणले गर्दा पनि, वा व्यापारको कारणले गर्दा पनि, ट्रम्प भारतसँग ज्यादै सुमधुर सम्बन्ध राख्न चाहन्छन्। हुन पनि, जीई, पेप्सीको, पिजाहट, वालमार्ट, फिजर, सिस्को, क्याटापिलर, अमेजन, माइक्रोसफ्ट, मैकडोनाल्ड, आइबिएम, कोकाकोला, गुगल, अमेरिकन एक्सप्रेस, सिटीग्रुपजस्ता पचासौं अमेरिकी कम्पनीहरूले अहिले भारतमा व्यापार गरिरेहका छन्। एशियाको दोस्रो ठूलो अर्थतन्त्र भारतलाई, अमेरिकी प्रशासनले एउटा बलियो व्यापारिक साझेदारको रूपमा हेर्दछ। भारतसँग राम्रो सम्बन्ध रहेमा अमेरिकी निर्यातकर्ताहरूले भारतमा राम्रो बजार पाउने अनुमान अमेरिकी प्रशासनको छ। बजारको हिसाबले पनि, चीनपछि भारत एशियाको सर्वाधिक ठूलो बजार हो। बजार राजनीतिले गर्दा नै मोदीले अमेरिकामा यस्तो स्तरको स्वागत पाएका हुन्। भारत एउटा उदीयमान बजार हो। यो बजारबाट निकै लाभ पाउन सकिन्छ भन्ने अनुमान अमेरिकी सरकारमात्र होइन, अमेरिकी व्यापारीहरूको पनि रहेको छ। चीनको पनि रहेको छ।
    दक्षिण एशियाली राजनीतिका दुई प्रमुख खेलाडीहरू भारत र पाकिस्तानबीच कुनै पनि किसिमको तनाव नहोस्। यी दुई राष्ट्र शान्तमात्र भएर बसिदिने हो भने दक्षिण एशिया अमेरिकाको लागि राम्रो बजार हुन सक्छ। यस्तो विश्वास ट्रम्प प्रशासनको रहेको छ। यस्तो अवस्थमा पाकिस्तान र भारत दुवैलाई खुशी राखेर, यो क्षेत्रलाई स्थिर पारेर, यो क्षेत्रबाट अमेरिका आर्थिक फाइदा लिन चाहन्छ। ट्रम्प प्रशासनले जति आत्मीयताका साथ मोदीको स्वागत गर्यो त्यस्तै आत्मीयताका साथ इमरान खानको पनि स्वागत गरेमा कुनै पनि किसिमको अचम्म हुनेछैन।
    आर्थिकरूपमा बलियो हुँदै गएको स्थितिले भारतलाई विश्व रङ्गमञ्चमा एक प्रमुख पात्रको रूपमा स्थापित गर्दै लगिरहेको छ। आर्थिकरूपमा बलियो हुनु नै रणनीतिकरूपमा बलियो हुनु हो। वर्तमान वैश्य युगले यही भन्छ।
    यो व्यापारको युग हो। कुनैपनि कुरा चल्दा सर्वप्रथम व्यापार नै आइपुग्छ। कुनै समय चीनले छिमेकी नेपाललाई भारतभन्दा बढी महत्व दिने गथ्र्यो। तर अहिलो यो वैश्य युगमा समय फेरिएको छ। अहिले व्यापारको कारण चीनले तुलनात्मकरूपमा भारतलाई बढी र नेपाललाई कम महत्व दिने गर्छ। मननीय कुरा त के छ भने भारत–चीनबीच सन् १९६२ मा युद्ध भइसकेको छ। र अहिलेसम्म भारत र चीनबीच रहेको सीमा–विवाद समाधान भएको छैन। भारतले ‘एक चीन नीति’ मान्दैन। तिब्बती धार्मिक नेता दलाई लामालाई भारतले शरण दिएको छ। भारतले एक चीन नीति नमान्नु, दलाई लामालाई भारतमा शरण दिनु, भारतसँग सीमा विवाद रहनुजस्ता विषयलाई थाती राखेर चीनले अहिले केवल व्यापारमा ध्यान केन्द्रित गरेको छ। र यस्ता विवादहरूलाई अहिले पन्छ्याएर भारतबाट कति बढी आर्थिक फाइदा लिन सकिन्छ भन्नेतर्फ चीनले ध्यान केन्द्रित गरेको छ। राजनीतिभन्दा व्यापारमा बढी ध्यान केन्द्रित गर्ने मामिलामा चीन भारतभन्दा निकै अगाडि छ। कश्मीरको सन्दर्भमा, दक्षिण एशियाको व्यापार नराम्ररी प्रभावित हुन सक्ने खतरा देख्दादेख्दै पनि मोदी सरकारले धारा ३७० निलम्बन गर्यो। अर्कोतिर धारा ३७० निलम्बन गरेर भारत राजनीतिकरूपमा निकै बलियो भएको तथा पाकिस्तानलाई मात्र होइन, एशियाको राजनीतिलाई समेत चुनौती दिन सक्ने सङ्केत मोदी सरकारले विश्व समक्ष दिंदा पनि चीन चुप लागेर बस्यो। अनावश्यक राजनीतिक विवादमा पर्न चाहेन। चीनले कश्मीर मामिलालाई टाढा राखेर भारत–चीन व्यापार सम्बन्धलाई अत्यधिक महत्व दियो।
    राजनीतिकरूपमा बलियो हुनका लागि आर्थिकरूपमा बलियो हुन आवश्यक छ। नेपालले त झन् यो कुरा अति गम्भीरताका साथ बुझ्न आवश्यक छ। नेपाललाई राजनीतिकरूपमा बलियो बनाउन आर्थिकरूपमा बलियो हुनु आवश्यक छ।
    अमेरिका आर्थिकरूपमा बलियो भएको हुनाले नै अहिले विश्वको राजनैतिक महाशक्ति हुन पुगेको हो। अमेरिकाले राजनीतिभन्दा अर्थतन्त्रलाई बढी महत्व दिन्छ। अर्थतन्त्र बलियो भएमा अरू समस्या बिस्तारै समाधान हुँदै जान्छ भन्ने कुरामा अमेरिकालाई बलियो विश्वास छ। अमेरिकाको यस्तो विश्वासको बीच मोदीले अमेरिकामा, अहिले, यति ठूलो र न्यानो स्वागत पाउनुलाई आश्चर्यको रूपमा लिन सकिंदैन । न मोदीको लोकप्रियताको विस्तार तीव्र गतिमा भएको मान्न सकिन्छ।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, September 27, 2019

Friday, September 20, 2019

Economic Development is Impossible Without Unity-Article-244


के विभाजित मनस्थितिले आर्थिक विकास होला?

सन् २०११ मा सिरियामा प्रारम्भ भएको गृहयुद्धले अहिलेसम्म ५ लाखभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको छ। यो गृहयुद्धमा केवल सरकार पक्ष (सुरक्षाकर्मी) र सरकार विरोधीहरू मात्र होइन, सर्वसाधारणपनि ठूलो सङ्ख्यामा मारिएको छ। बालबालिकाहरूलाई समेत यो अति रक्तपातपूर्ण युद्धले छोडेको छैन। निरन्तर चलेको यस भयानक गृहयुद्धले १२ हजारभन्दा बढी बालबालिकाहरूको ज्यान लिइसकेको छ। निरन्तर असुरक्षाबाट त्रसित भएर ६० लाखभन्दा बढी सिरियाली विश्वका अनेक मुलुकमा पुगेका छन् र त्यहाँ शरणार्थी जीवन बाँच्न बाध्य भएका छन्। बहुसङ्ख्यक सिरियाली देशभित्र अहिले भय र त्रासको वातावरणमा बाँचिरहेका छन्। यो युद्ध रोकिएको छैन। रोकिने सम्भावना पनि देखिंदैन। आजको मितिसम्म पनि चलिरहेको छ। सिरियाली गृहयुद्ध शक्तिशाली राष्ट्रहरूका लागि मसल देखाउने अवसर भएको छ किनभने उनीहरू पनि परोक्षरूपमा यस गृहयुद्धमा संलग्न छन्। सिरियाली गृहयुद्धमा अनेक राष्ट्र परोक्ष तर सक्रिय रूपले लागेकाले यो गृहयुद्ध रोकिने सम्भावना देखिंदैन, कमसे कम एक दुई वर्षभित्र। युद्ध विभीषिकाको भय र त्रासले हरफल सिरियालीहरूलाई सताइरहेको हुन्छ।
    सन् २०१४ मा यमनमा प्रारम्भ भएको गृहयुद्धले पनि हजारौ व्यक्तिको ज्यान लिसकेको छ। अहिलेसम्म जारी यस गृहयुद्धमा हजारौंले ज्यान गुमाइसकेका छन्। यसैगरी गृहयुद्धको कारण सृजित अनिकालले गर्दा ५० हजारभन्दा बढी मानिस आउँदा वर्षहरूमा मर्ने खतरा बढेर गएको छ। यमनको गृहयुद्धको पनि आप्mनै किसिमको व्यथा छ। यमनको गृहयुद्ध यस देशको भूमिमा लडिए तापनि यो युद्ध यथार्थमा इरान र साउदी अरेबिया बीचको युद्ध हो। यी दुई राष्ट्र नै परोक्ष रूपमा, तर यमनको भूमिमा युद्धरत छन्। बाहिरबाट यमनी सरकार र सरकार विरोधी ‘हुथी’ हरू युद्ध मैदानमा देखिए तापनि यस युद्धमा द्वन्द्वरत पक्ष भने इरान र साउदी अरेबिया हुन पुगका छन् किनभने साउदी अरेबियाले यमनको सरकारलाई अस्त्रशस्त्रसहित सहयोग गरिरहेको छ भने त्यस्तै किसिमले हुथीहरूलाई इरानले सहयोग गरिरहेको छ। यी दुई पक्षबीच भएको युद्ध स्थितिलाई अवसरको रूपमा लिएर आफ्नो प्रभाव यमनका अनेक स्थानमा विस्तार गर्न कट्टर धार्मिक सङ्गठनहरू- अल काइदा र इस्लामिक स्टेट लागिपरेका छन्। र यिनीहरूले पनि यमनलाई झनै अशान्त बनाएका छन्। स्थिति अहिले यस्तो छ कि यमनको केही स्थानमा अल काइदा र इस्लामिक सङ्गठनको नियन्त्रण छ भने केही स्थानमा हुथीहरूको। यमन सरकारले देशभरि नियन्त्रण कायम गर्न सकेको छैन। यमनको गृहयुद्ध पनि बहुपक्षीय हुन पुगेकोले निकट भविष्यमा यो युद्ध रोकिने सम्भावना देखिंदैन। अर्कोतिर युद्ध र त्यसको प्रभाव (महामारी, भोकमरी आदि) ले हजारौको ज्यान जाने क्रम जारी छ। पर्यवेक्षकहरू भन्छन्–यमनको मानवीय सङ्कट १०० वर्ष यता देखिएको विशाल मानवीय सङ्कट हो। बहुपक्षीय द्वन्द्वको चपेटमा परेका यमनका नागरिकहरू त्रासपूर्ण वातावरणमा बाँच्न बाध्य छन्।
    यसैगरी सोमालियामा सन् १९८१ तिर प्रारम्भ भएको गृहयुद्ध अहिलेसम्म रोकिएको छैन र अनवरत चलेको गृहयुद्धमा ५ लाखभन्दा बढी मानिसको हत्या भइसकेको छ। स्थिति अहिले यस्तो छ कि सोमालियाभरि सरकारको नियन्त्रण छैन। सोमियालियाका विभिन्न स्थान विद्रोहीहरूको नियन्त्रणमा छ। मुलुकभित्र अनवरत चलेको गृहयुद्धबाट दिक्दार सोमालीहरू विश्वका अनेक देशमा शरण लिन पुगेका छन्। देशमा बसेका भय र त्रासको वातावरणमा बाँच्न अभिशप्त छन्।
    सुडान, नाइजेरिया, लिबिया आदिमा पनि दीर्घकालीन शान्ति देखिएको छैन। नाइजेरियामा केही पर्ष पहिले (April 2014 मा) एकैपटक ३०० छात्राहरूको अपहरण एक कट्टर धार्मिक सङ्गठन बोको हरामले गरेको थियो। त्यस अपहरणमा परेकामध्ये केही छात्रा बोको हरामको कब्जाबाट मुक्त हुन सफल भए तापनि धेरै छात्रा आजको मितिसम्म बोको हरामको कब्जामा छन्। बोको हरामले ती छात्राहरूको यौन शोषण गरेको खबर सुन्नमा आएको छ।
    सन् १९७८ देखि आरम्भ भएको आशान्तिले अफगानीहरूलाई अहिलेसम्म छाडेको छैन। अफगानिस्तानको गृहयुद्धले लाखौ अफगानी मात्र होइन, सुरक्षार्थ खटेका हजारौ विदेशी सुरक्षाकर्मी एवं कर्मचारीहरूको पनि ज्यान लिएको छ। यसैगरी काम गर्न अफगानिस्तान पुगेका एकदमै निर्दोष विदेशी नागरिकहरू पनि त्यहाँको गृहयुद्धको चपेटमा परेर सयौंको सङ्ख्यामा मारिएका छन्। अफगानिस्तान अहिले संसारकै सर्वाधिक असुरक्षित स्थान हुन पुगेको छ। कुन बेला कसको ज्यान जाने हो भन्न सकिने अवस्था छैन। चरम असुरक्षा छ। भय छ। एक किसिमको ठूलो त्रासले घेरिएको पर्खालभित्र बाँच्न अफगानीहरू विवश छन्। के अफगानिस्तानले एउटा स्वतन्त्र मुलुकको अस्तित्व कायम राख्न सक्ला? यो प्रश्नले अफगानीहरू मात्र होइन, गैरअफगानीहरूलाई पनि त्यतिकै आशङ्कित बनाएको छ।
    वि.स. २०५२ देखि २०६२ सालसम्म माओवादीहरूले मचाएको हिंसापूर्ण सङ्घर्षलाई छाडेर कुरा गर्ने हो भने नेपालमा निरन्तर एक किसिमको शान्ति देखिएको छ। नेपालले रवान्डामा जस्तो डरलाग्दो नरसंहार देख्नुपरेन। सन् १९९४ मा भएको र केवल १०० दिन मात्र चलेको रवान्डाली गृहयुद्धमा करीब १० लाख मानिसको हत्या भएको थियो। नेपाल त तुलनात्मक किसिमले एकदम शान्त छ। नेपालीहरूले गरेको स्वतन्त्रताको उपभोग विश्वका अरू विकसित मुलुकका नागरिकभन्दा एक रत्ति पनि कम छैन  एउटा सामान्य नागरिकले हवाईजहाजभित्रै सहयात्रीका रूपमा रहेका बहालवाला मन्त्रीलाई गाली गर्छ। मन्त्रीको कारणले गर्दा उडान एक घण्टा ढिलो भएकोमा ती सहयात्रीले सार्वजनिकरूपमा (सबैले सुन्नेगरी) मान्त्रीको बेइज्जत गर्छन्। मन्त्री चुपचाप देखिन्छन्। कुनै प्रतिक्रिया देखाउँदैनन्। मन्त्रीले भद्रता प्रदर्शन गर्छन्। नेपालमा भएको यो हालैको घटनामा एक सामान्य नागरिकले यसरी स्वतन्त्रताको प्रयोग गर्नु पाउनु ठूलो कुरा हो। तर अर्को किसिमले हवाईजहाजजस्तो, सुरक्षाको कारणले, अति संवेदनशनील स्थानमा कुनै व्यक्तिले कसैलाई (संयोग त्यहाँ मन्त्रीमाथि दुव्र्यवहारमात्र भयो) हातपात गर्न खोज्नु राम्रो कुरा हो? यस्तो कार्य के अनुशासनभित्र पर्छ? विधिको शासनमा विधिद्वारा समस्या समाधान गरिन्छ, भीड सृजना गरेर होइन। मन्त्रीलाई बेइज्जती गर्न खोज्ने ती सहयात्रीलाई भोलि कसैले त्यसैगरी भीड सृजना गरेर हातपात गर्न खोजे के त्यो राम्रो होला?  अनियमितता र अन्यायको समाधान अनियमितता र अन्याय गरेर हुँदैन। विधिको पालना सबैले गर्नुपर्छ तर भीडद्वारा होइन, कानूनसम्मत ढङ्गबाट समस्या समाधान गर्नुपर्छ। तर आजभोलि नेपालमा भीड सृजना गरेर समस्याको समाधान गर्न खोजिंदै छ। यो परिपाटीले देशलाई अस्थिरतातिर लैजान्छ। मन्त्रीलाई एक सामान्य नागरिकले गाली बेइज्जत गरेको देखेर हामीलाई खुशी लाग्न सक्छ तर त्यो खुशी क्षणिक हो। कसरी र किन? यो आफैले सोच्ने कुरा हो।
    नेपालमा शान्ति र स्थिरता भएपनि हामीले तीव्र गतिमा आर्थिक प्रगति गर्नु नसक्नुको तीन कारण छन्– हामीमा व्याप्त घोर निराश, आशङ्का र उद्दण्डता।
    अहिले नेपाली समाज घोर निराशाको भुमरीमा परेको छ। प्रत्येक व्यक्तिमा चरम निराशा छ। हरेकले आफूलाई असुरक्षित देखिरहेको छ। घोर निराशाले व्यक्तिहरूलाई आशाको खोजीमा विदेशतिर (रोजगारका लागि) डोर्याइरहेको छ। आफ्नो समाजमा देखिएको निराशाबाट दिक्दार भएका नेपालीहरू विदेशतिर लागिरहेका छन्, त्यहाँ पुगेर जोखिमपूर्ण काम गर्नुपरे तापनि, ज्यानै गुमाउनु परे तापनि। हरेक नेपालीले स्वदेशसा आफ्नो भविष्य सुरक्षित देखिरहेको छैन। यस्तो घोर निराशामा देशको आर्थिक विकास सम्भव छ? घोर निराशाले व्यक्तिलाई स्वदेशको विकास गर्न उत्प्रेरित गर्दैन।
    नेपाली समाज अहिले अनेक टुक्रामा विभाजित छ। पहाडिया, मधेसिया गरेर विभाजित छ। खस, बाहुन, जनजाति, आदिवासी गरेर विभाजित छ। दलित र उच्च जाति गरेर विभाजित छ। एउटा वर्ग (जाति) लाई अर्को वर्गले शङ्काको घेरामा राखेर हेर्छ। एउटा वर्गले आफ्नो दुःखको कारण अर्को वर्गलाई देख्छ। आपसमा, एक अर्कामाथि विश्वास छैन। यदि विश्वास हुँदो हो त जातीय सङ्गठन किन खोल्नुपथ्र्यो? यसरी विभाजित मनस्थितिमा बाँचिरहेको समाजको आर्थिक विकास कदापि हुन सक्दैन। विकसित मुलुकको आर्थिक विकासको इतिहासले यही भन्छ।
    नेपालमा पूर्ण प्रजातन्त्र आइसके तापनि, मुलुकले उदार वा बजार अर्थ नीति अवलम्बन गरिसके तापनि हामीले तीव्र गतिमा आर्थिक विकास गर्न नसक्नुको कारण हाम्रो समाजमा देखिएको अनुशासनहीनता पनि हो। हामीमा अनुशासनको कमी छ। यसको ताजा उदाहरण विमानमा सवार मन्त्रीलाई एक व्यक्तिले गाली–बेइज्जती गर्नु हो। मन्त्री दोषी भए तापनि मन्त्रीलाई उक्त दोषको लागि सजाय भीडले दिने होइन। सजाय दिने निकाय देशको प्रचलित कानून हो, प्रशासन हो। दोषीहरूलाई यसैगरी भीडले दण्डित गर्न थाले भने भोलि देशको स्थिति के होला?  नागरिकको सुरक्षाको ग्यारन्टी कसले लेला? निर्दोषलाई पनि भीडले दोषी ठहर गरेर सजाय दिन सक्छ, उसको ज्यान नै पनि लिन सक्छ। यस्तो सर्वथा सम्भव छ।
    कुनै व्यक्तिले सडकमा छाडेको कुखुरालाई कुनै सवारीचालकले गाडी चलाउने क्रममा किचेर मारिदिंदा कुखुरा धनीले सडक नै जाम गरेको, सवारी अवरुद्ध गरेको वा यस्तै प्रकृतिको घटनमा यातायात अवरुद्ध गरेको घटना हामीले जति पनि देखेका छौं। यस किसिमका कार्य अनुशानहीनताका उदाहरण हुन्। जबकि समाजमा अनुशासन नभएसम्म देशको आर्थिक विकास हुन सक्दैन। यसको उदाहरण हाम्रो छिमेकी मुलुकमा नै देख्न सकिन्छ। चीनले तीव्र आर्थिक विकास गर्न सक्नुको कारण त्यहाँको कठोर अनुशासन पनि हो। अनुशासनले चीनलाई धनी तुल्याएको हो। हाम्रो समाजमा अहिले अनुशासनहीनता व्याप्त छ। हामी भीड सृजना गरेर, कुटपीट गरेर, गाली–बेइज्जती गरेर, समस्याको समाधान खोज्छौ। विधिको शासनको उपहास गर्छौं। के यस्तो तरिकाले देशको आर्थिक विकास हुन सक्छ?
    देश स्रोत र साधनले धनी भए तापनि हामीमा चरम निराशा, आशङ्का र उद्दण्डता रहेसम्म मुलुको तीव्र गतिमा आर्थिक विकास सम्भव देखिंदैन। 

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, September 20, 20120

Friday, September 13, 2019

Nepalese Economy: Are We That Poor? Article-243

चीनबाट सहयोग: के हामी त्यति गरीब छौ?

गरीब हुनु र गरीब छु भन्ने मनोविज्ञान हुनु पृथक–पृथक कुरा हो। आम्दानी बढ्दै जाने, धन–सम्पत्ति आर्जन हुँदै जाने क्रममा व्यक्तिले गरीबीबाट छुटकारा पाउन सक्छ। व्यक्ति धनी हुन सक्छ। तर म गरीब छु भन्ने मनोविज्ञानले व्यक्ति गरीब नरहे तापनि म गरीब छु भन्ने सोंचबाट व्यक्तिलाई बाहिर आउन दिंदैन। व्यक्तिले, आफूले धनी भएको स्थितिमा पनि, आफूलाई गरीब नै देख्छ। त्यसकारण गरीब हुनुभन्दा ‘गरीब छु’ भन्ने मनोविज्ञानले मानिसलाई निकै सताउँछ। व्यक्तिमा आत्मविश्वास विकसित हुन दिंदैन। गरीब छु भन्ने मनोविज्ञान घातक हो। अहिले हामी, हाम्रा नेतालगायत हाम्रो समाज घातक मनोविज्ञानको शिकार हुन पुगेको छ। हामीलाई ‘हामी गरीब छौं’ भन्ने मनोविज्ञानले भूतजस्तो पछ्याएको छ। जबकि नेपालको आर्थिक स्थिति, केही वर्ष यता, खासगरी नेपालीहरूले अन्तर्राष्ट्रिय श्रम बजारमा प्रवेश गरेपछि, अपेक्षा गरिएभन्दा राम्रो भएको छ। फुसको झोपडी हुनेहरूसँग अहिले पक्की घर छ। तर पनि हामीलाई ‘हामी गरीब छौ’ भन्ने मनोविज्ञानले छाडेको छैन। सताएको सतायै छ। यस्तै सताएको परिदृश्य चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणमा देखियो। वाङ यी नेपालको भ्रमणमा गत आइतवार (भाद्र २२, २०७६) काठमाडौ ओर्लेका थिए।
    धनी राष्ट्रका पदाधिकारी वा नेताहरू नेपाल भ्रमणमा आउँदा नेपालका सरकारी पदाधिकारी (प्रधानमन्त्री, मन्त्री, सचिवआदि) हरूले उनीहरू समक्ष बिन्तीभावमा आर्थिक सहयोगको याचना गर्छन्। मागको सूची तयार पार्छन्। सहयोगका लागि हात पर्साछन्। र हात थाप्ने क्रममा आफ्नै आर्थिक हैसियतले गर्न सक्ने कुरा पनि ‘गरिदेऊ’ भनेर याचना गर्न पुग्छन्। यस्ता सामान्य कुरा (सडक वा भवन निर्माण) त आफ्नै आर्थिक हैसियतले निर्माण गर्न सकिन्छ भन्ने कुरा बिर्सिदिन्छन्। राष्ट्रिय प्रतिष्ठामा आँच पुर्याउँछन।
    हामी आर्थिकरूपले भन्दा मानसिक रूपले बढी गरीब छौं। चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणमा पनि हामीले हाम्रो मानसिक दरिद्रता प्रस्तुत गर्यौ
    वाड यीको हालै नेपाल भ्रमणको क्रममा पनि नेपाली पदाधिकारीहरूले सहयोगको माग गर्दै हात पसारे। यीले सहयोगस्वरूप नेपाललाई आपत्कालीन अवस्थाको तयारी गर्न ५ हजार थान पाल दिने, चिनियाँ भाषा पढाउन नेपालमा चिनियाँ नागरिक पठाउने तथा मनाङमा एउटा अस्पताल निर्माण (करीब ३५ करोड नेपाली रुपियाँको लागतमा) गरिदिने वाचा गरे। अचम्म त यस कुरामा हुन्छ कि मन्त्री वाङ यीले नेपाललाई यी सहयोगहरू दिने कुरा नेपाल–चीन संयन्त्र बैठकमा घोषणा गरेका थिए र संयन्त्र बैठक कुनै सामान्य बैठक थिएन, विदेशमन्त्रीस्तरीय थियो र त्यस बैठकमा वाङ यीलगायत नेपालका उच्च पदाधिकारीहरू (विदेशमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत लीलामणि पोखरेल, परराष्ट्र सचिव शङ्कर वैरागी, नेपाली मन्त्रालयमा चीन मामिला हेर्ने सहसचिव काली पोखरेल आदि) को सहभागिता थियो।
    चीनले नेपाललाई ती कुराहरूको सहयोग गर्ने घोषणा गरेपछि आम नेपालीको मनमा सहजरूपमा केही प्रश्नहरू उठ्छ– के हामी नेपालीले आफ्नै खर्चमा पाँच हजार थान पाल खरीद गर्न सक्तैनौं?  के हामी चिनियाँ नागरिकलाई पारिश्रमिक दिएर नेपालमा चीनी भाषा सिक्न सक्दैनौं?  अनि के हामी ३५ करोड रुपियाँको लागतमा मनाङमा एउटा अस्पताल निर्माण गर्न सक्तैनौं? के हामी यति गरीब छौं कि यी कामहरू गर्न पनि हामीलाई विदेशी सहयोग चाहिन्छ?
    नेपाल सरकारले कुनै धनी नेपाली व्यापारीलाई अनुरोध गर्ने हो भने उक्त व्यापारीले पाँच हजार थान पाल खरीद गरिदिन सक्छ। यदि उसले खरिद गरिदिंदैन र विदेशबाट सहयोगको याचना गर्नु उचित हो भन्ने ठान्दछ भने उक्त व्यापारीलाई राष्ट्रिय प्रतिष्ठाभन्दा सम्पत्ति मोह अति प्यारो रहेछ भन्ने ठहर्छ।
    यसैगरी नेपालीहरूले चिनियाँ नागरिकलाई पारिश्रमिक दिएर सहजै नेपालमा चिनियाँ भाषा सिक्न सक्छन्। यति सानो खर्चको लागि पनि हामीले सहयोगको अपेक्षा गर्नुहुँदैन र यदि त्यस किसिमको सहयोग नमागेर नै प्राप्त भएको हो भने पनि त्यस किसिमको सहयोग स्वीकार गर्नुहुँदैन। यदि चिनियाँ सरकारले अनौपचारिकरूपमा (मन्त्रीस्तरीय बैठकमा नभएर) त्यस किसिमको सहयोग गर्छु भन्छ भने त्यो पृथक कुरा हो। तर पनि आत्मनिर्भर हुनका लागि ‘कसैको गुन भित्र रहनु’ राष्ट्रिय स्वाभिमानको लागि उपयुक्त हुँदैन।
    अस्पताल निर्माण (मनाङमा) का लागि पनि नेपालले सरकारीस्तरमा सहयोगको अपेक्षा गर्नु उचित होइन। त्यति सानो रकम (लगभग रु ३५ करोड) नेपाल स्वयं व्यवस्था गर्न सक्छ र सरकारसँग त्यति रकम जुट्न सक्तैन भने ‘राष्ट्रिय ऋण पत्र’ बिक्री गरेर त्यति वा त्योभन्दा पनि बढी रकम जनस्तरबाट सङ्कलन गर्न सक्छ। यति सानो रकम (अस्तपताल निर्माण) को लागि पनि सरकारले चिनियाँ सहयोगको अपेक्षा गर्नु उचित हुँदैन। यस किसिमको सहयोगको अपेक्षाले राष्ट्रिय स्वाभिमानमा आँच पर्याउँछ।
    गरीब हुनु र गरीब छु भन्ने मनोविज्ञान हर घडी मनमा हुनु पृथक–पृथक कुरा हो। उही कुरा दोहोर्यान चाहन्छु। हामी अहिले गरीब छौं भन्ने मनोविज्ञानले निकै घाइते भएका छौं। स्थिति त्यस्तो छैन, अर्थात् हामी त्यति गरीब छैनौं। देश र विदेशमा रहेका नेपालीहरूको सञ्चय (सम्पत्ति) को सरकार वा नेपालका पदाधिकारीहरूले व्यवस्थित किसिमले उपयोग गर्न हो भने नेपालमा ठूला–ठूला योजना सम्पन्न गर्ने रकम स्वदेशमा नै उठ्न सक्छ। विदेशी वा दातृ संस्थाहरूको अगाडि हात पसार्नुपर्दैन। नेपालमा प्रशस्त साधन र स्रोत छ। खाँचो छ भने केवल दृढ इच्छा शक्तिको, प्रभावकारी योजनाहरूको र इमानदार नेतृत्वको। नेपाल अब गरीब छैन। वर्तमानको गरीबी, हाम्रो अज्ञानताले गर्दा देखिएको हो। लडाइँ–झगडामा बढी, विकासप्रति कम चाहनाले गर्दा देखिएको हो।
    हुन त चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण नेपाल केन्द्रित थिएन। उनी पहिले पाकिस्तान पुगेका थिए। त्यसपछि नेपाल आएका थिए। केहीले चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणलाई निकट भविष्यमा चीनका राष्ट्रपति सी जिनपिङबाट हुने नेपाल भ्रमणको तयारी सम्बन्धी चासोको रूपमा पनि लिएका छन्। आफ्नो राष्ट्रपतिको नेपाल भ्रमणका लागि नेपालमा के कस्तो तयारी गरिएको छ भनी बुझ्न वा राष्ट्रपतिको भ्रमणलाई उच्च महत्व दिन पनि चीनका विदेशमन्त्रीबाट नेपालको भ्रमण भएको हुन सक्छ। जे जस्तो उद्देश्यका साथ चीनका विदेशमन्त्रीको नेपाल भ्रमण भए तापनि यो भ्रमणले, चीनले नेपाललाई निकै महत्व दिन्छ भन्ने कुरा प्रस्ट पारेको छ। इन्डो–चाइना सम्बन्धमा नेपालको भूमिका महत्वपूर्ण छ भन्ने कुरा चीनले स्वीकार गर्नु हो। यो नेपालको लागि राजनैतिक उपलब्धि हो। यो राजनैतिक उपलब्धिलाई नेपालले आर्थिक अवसरको रूपमा लिनुपर्छ। आर्थिक अवसरको रूपमा उपयोग गर्दा नेपालले, नेपाल–चीन सम्बन्धलाई चीनबाट आर्थिक सहयोग लिने राम्रो अवसरको रूपमा लिनु उचित हुँदैन। आर्थिक सहयोगका लागि हामीले यसरी हात पसार्ने काम अब बन्द गर्नुपर्छ। बरू नेपाल–चीन सुमधुर सम्बन्धलाई नेपालको व्यापारको विकासमा उपयोग गर्नुपर्छ। अर्थात् नेपालले चीनतर्फ के कस्ता सामग्री निर्यात गर्न सक्छ, ती सामग्री पत्ता लगाउनुपर्छ। यसैगरी नेपालको आर्थिक विकासको मेरुदण्ड पर्यटन बन्दै गइरहेको परिप्रेक्ष्यमा नेपालमा कसरी चिनियाँ पर्यटक ठूलो सङ्ख्यामा भित्र्याउन सकिन्छ, त्यसबारे गम्भीरतापूर्वक सोंच्नुपर्छ। चिनियाँ पर्यटकहरूलाई नेपाल आउन प्रेरित गर्न के कस्ता सुविधा (भीसा व्यवस्था, होटल, पथ प्रदर्शन) दिन सकिन्छ त्यसतर्फ सोंच्नुपर्छ।
    नेपालको चीनसँग सम्बन्ध, अबको युगमा, व्यापारमा केन्द्रित हुनुपर्छ, चीनसँग आर्थिक सहयोग, ऋण, अनुदान माग्ने विषयमा होइन। यथार्थमा नेपालले कुनैपनि राष्ट्रसँग आर्थिक सहयोग माग्नु, अनुदान–ऋण लिनु नेपालको दीर्घकालीन हितका लागि उपयुक्त हुँदैन। नेपालले भारत र चीनसँग आर्थिक सहयोग, ऋण लिने कार्य बन्द गर्नुपर्छ। हालै भारतले निर्माण गरिदिएको पाइप लाइन, जसले नेपालमा पेट्रोलियम पदार्थ आयात गर्न सजिलो र किफायती हुने विश्वास गरिएको छ, नेपालले आफ्नो भूभागमा आफ्नै खर्चले निर्माण गरेको भए उपयुक्त हुन्थ्यो। नेपाल सरकारले जनतासँग ऋण लिएर (जनतालाई ऋणपत्र बिक्री गरेर) आफ्नो देशभित्र हुने निर्माण कार्यमा खर्च गर्नुपर्छ, विदेशी ऋण वा सहयोग लिएर गर्नुभन्दा।
    विभिन्न देशबाट अमेरिका आउँदा, बसाइँ सर्नेहरूसँग न ठूलो धन–सम्पत्ति थियो, न पैसाको थुप्रो नै। युरोपबाट बसाइँ सरेर अमेरिका आउनेहरूसँग केवल विकास गर्ने बलियो इच्छाशक्ति थियो। त्यही इच्छाशक्तिलाई पूँजीको रूपमा प्रयोग गरेर युरोपबाट अमेरिका बसाइँ सरेर आउनेहरूले अमेरिकाको भरपूर विकास गरे। विकास पनि यति धेरै गरे कि आज अमेरिका विश्वकै एक नम्बर धनी राष्ट्र हुन पुगेको छ। अमेरिकालाई कसैको पनि आर्थिक सहयोग चाहिंदैन बरु अन्य मुलुकहरूलाई नै अमेरिकाको सहयोग चाहिन्छ। त्यसकारण विकास गर्नका लागि धन, सम्पत्ति होइन, इच्छाशक्ति चाहिन्छ। हामी पनि, हामीभित्र विकासप्रति इच्छा शक्ति बलियो पारौं। पाल, पर्दा, रूमाल, तन्नाजस्ता सामानका लागि पनि सहयोग पाउन विदेशीहरू सामु हात पसार्ने काम बन्द गरौं।
    हामी गरीब छैनौं भन्ने कुरा हरदम मनन गरौं। आफ्नो स्रोत–साधनको विकास गरौं। परनिर्भरता त्याग गरौं। र सबभन्दा पहिले हामी गरीब छौं भन्ने हाम्रो मनोविज्ञानलाई तत्काल फालौं। र यो अभ्यास आम नेपालीभन्दा पनि नेताहरूले बढी गर्न आवश्यक छ। कुनै देशले प्लास्टिकको झोला दिंदा पनि फलानो देशले गज्जब सहयोग गर्यो भनी महसूस गर्न अब नेताहरूले बन्द गर्नुपर्छ। सहयोगले स्वावलम्बी होइन, परावलम्बी बनाउँछ भन्ने यथार्थ नबिर्सौं। हामीसँग पर्याप्त स्रोत–साधन छ।

विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक दैनिकमा प्रकाशित Friday, September 13, 2019

Friday, September 6, 2019

Interview With Neelam Karki Niharika on Yogmaya-A Novel

(विश्वदर्पण-ब्लगका लागि नीलम कार्की निहारिकासँग  विश्वराज अधिकारीद्वारा  लिइएको अन्तर्वाता प्रस्तुत छ। निहारिकाको कृति 'योगमाय' मा केन्द्रित भएर उक्त अन्तर्वाता लिइएको हो।)


निलम कार्की निहारिकासँग अन्तर्वाता

१.योगमाया कस्को र कस्तो कथा हो? छोटकरीमा।
-मुलत: योगमाया ब्यक्ति  कथा हो| उनिसंग जोडिएको समाज र समयको कथा हो|

२.योगमाया लेख्न के कुराले तपाइँलाई प्रेरित गर्यो? उपन्यास लेख्ने विषय वस्तु योगमायाको कथालाई नै किन रोज्नु भयो?
- मेरो गुरु दाहाल यज्ञ निधीले दिनु भएको अभिभारा थियो योगमाया लेखन| उत्तरदायित्व बहन गर्दै जाने क्रममा अध्ययन गर्दै जादा योगमाया बाचेको जीबन, उहाले समाज परिबर्तन को निम्ति उठाउनु आवाजले अझ प्रेरित गर्दै लग्यो|

३.उपन्यासमा ‘यकिन’, ‘नजरिया’, ‘सन्नाटा’ जस्ता शब्दहरूको प्रयोग भएको छ? तर योगमायाको कथा सयौं वर्ष पुरानो हो। किन यस्तो भएको होला? पेज १३४, १६०
- योगमाया लामो समय भारतमा बसेकी थिईन| त्यस कारण मैले यस्ता केहि  सब्द खोजेर प्रयोगमा लिएर आएकी| जिबन्त होस् भनि|

४.कतै कतै उपन्यासका पात्रहरू बीच कुरा हुँदा ती पात्रहरू बीचको कुराकानी स्वभाविक नलागेर उपान्यासकारले बोलेको जस्तो लाग्छ। त्यस्तो तपाइँलाई पनि लागेको छ?
-हुन् सक्छ| तर सके सम्म सर्जक हाबी नहु भनि प्रयास गरेकी हु| तर म चुकेको हुन् सक्छ|

५.कतै कतै घटना, परिस्थिति, परिवेश बयान गर्दा ती बयानहरू लामो लामो हुन गएको देखिन्छ। के तिनलाई लाम्रो पार्न आवश्यक थियो? पेज ५३८
- योगमाया लेखि रहदा उनि मात्र लेखिएर पूर्ण हुन् सक्दैन| अरुणमा समाधि लिने बाकि ६७ र जेल परेका पात्रहरु पनि महत्वपूर्ण हुन्| ति अनुयायी समेटिनु अति नै  जरुरि हुन्छ भन्ने लग्यो | हो , त्यो  समय समाजमा ,ति पात्र समेटिदा समग्रता आउँछ भन्ने लाग्यो|

६. बयान वा विवरण छोटो भएको भए किताबको मोटाइ पनि कम हुन्थ्यो। मोटाइ कम हुने बितिक्कै यसको मूल्य पनि कम हुन्थ्यो। मूल्य कम (अहिलेको मूल्य रू ५९५।-) भएको भए कमजोर आय हुने पाठकहरूले पनि सहजै किनेर पढ्न सक्थ्ये। पाठकहरूको यो भनाई तपाइँलाई सही हो जस्तो लाग्छ?
- मुल्य कम भए धेरैको पहुँच हुने कुरामा सत्यता छ| तर मैले समेट्न खोजेको कुरा कम पृष्टमा अबस्य आउन सक्ने थिएँन| अति पात्र जसले जिबन दिनु भयो उहाहरु अटनु हुने थिएँन, पुस्तकले मैले खोजे जस्तो पूर्णता पाउने थिएँन| त्यो दुख मेरो हृदयमा रही रहने थियो|

७. यस उपन्यासमा विभिन्न स्थानमा योगमायाले श्लोक बोलेक देखिन्छ। के ती श्लोक (कवित) हरू योगमाया-लिखित हुन वा उपन्यासकारका हुन? योगमायाका हुन भने ती कहाँबाट सङ्कलन गर्नु भयो?
-ति हजुर  बाणी हुन्| योगमाया कै हुन्| सर्ब उहाका अनुयायीले लिपी बद्द्द गर्नु भएको हो|

८.रत्नमान, टेकबहादुर, गोविन्द उपाध्याय, रत्नबहादुर, गन्जबहादुर, डम्बरबहादुर, सूर्यबहादुर, नीरकुमारी, यदुकुमारी  जस्ता अनेक नाम यस उपन्यासमा छन्। यी व्यक्तिहरू यथार्थ व्यक्तिहरू हुन वा तपाइँका कल्पनाका पात्रहरु हुन?
-सम्पर्ण पात्रहरु यथार्थ हो|

९.योगमाया निकै प्रगतिशील (जातपात, छुवाछुत नमान्ने) देखिएकी छन्। एक सय वर्ष पहिले कुनै व्यक्ति त्येती प्रगतिशील हुनु सम्भभ थियो? यदि उनी प्रगतिशील थिन भने त्यो कुराको पुष्टि कसरी गर्नु भयो? वा योगमाय प्रगतिशील होलिन भन्ने तपाइँलाई केवल लागेको मात्र हो?
- उहाका कदम| उहाले श्री ३ समक्ष् राख्नु भएको भिक्षा पत्र आफै बोल्छ|

१०. सासु-बोहारी, बोहारी-आमाजु, देउरानी-जेठानी नेपालका यस्ता सम्बन्ध हुन जुन यो आधुनिक युगमा पनि सुमधुर हुन सकेका छैन। तर यस उपन्यासमा योगमाय र उनकी भाइ-बोहारी (गंगा न्यौपाने) बीच अति नै घनिष्ठ सम्बन्ध रहेको दर्शाइएको छ। के त्यो सत्य हो वा तपाइँको अनुमान?
-यो सत्य हो| बुहारी  गंगाले योगदान अति उच्च छ| गंगा  र छोरी दुखुना  साथै समाधिमा पनि जानु भएको हो| बुहारी आमाजूको सम्बद्धको एक राम्रो उदाहरन  पनि हो|

११. कतिपय घटनाको मिति नै तोकेर लेख्नु भएको छ। के ती मितिहरू सत्य हुन? जस्तै गन्जबहादुरको मुत्यु आदि। पेज नम्बर ३१३।
- हो सत्य हो| पुर्ब लिखित मितिलाई उहाकै परिवारको सदस्य संग  क्रश चेक गरेर नै उल्लेख गरेकी हु|

१२. कतिपय पाठकहरूले योगमाया र केही व्यक्तिहरूले मात्र आत्म हत्या गरेको अनुमान गरेका छन। के साँच्चिकै त्यस दिन ६४ वा सो भन्दा बढी व्यक्तिहरूले आत्म हत्या गरेका हुन?
-जल समाधि थियो त्यो| बुझाई आफनो आफनो हो|

१३. तपाइँलाई कस्तो लाग्छ, योगमाया यथार्थ कथा हो वा लोक कथा?
-यथार्थ| सत्ताले मेटाउन खोज्दा पनि लोकले बचाई राखेको हुदा लोक कथा भन्न खोजिएको होला|

१४.योगमाया एक बिद्रोही स्वभावको वा लहडमा हिंड्ने व्यक्ति जस्तो लाग्दैन? उनमा एक असल नेतामा हुनु पर्ने गुणहरूको सर्वथा अभाव भए जस्तो लाग्दैन?
-जसको नेतृत्वमा भोजपुर बात् कथ्मदै सम्म श्री ३ समक्ष् माग राख्न मानिस ओईरो लागेका थिए, समाजमा बिकृति को बिरोधमा उत्रिएका थिएँ। जेल नेल भोग्न तयार थिए, ज्यान अर्पण गरेका थिए। उहाँमा कसरि - असल नेतामा हुनु पर्ने गुणको  अभाव भयो?

१५. त्यस बेला नेपालमा सकारात्मक परिवर्तनको शुरुवात भइसकेको थियो। तैपनि, केवल उनको (योगमायाको) कुरा राणा प्रमले नसुनिदिएको झोकमा आफू लगाएत अन्य थुप्रैलाई मृत्युको मुखमा पुर्याउने योगमायाको निर्णय सही थियो? योगमायाले अन्यलाई पनि आत्म हत्या गर्न उत्प्रेरित गरे जस्तो लाग्दैन?
-सुनिएको थिएँन| पटक पटक झुकाउने काम भएको थियो| समाज सासन उही थियो|

१६.‘योगमाया’ निलम कार्की निहारिकाको मात्र नभएर नेपालको नै एक उच्च बौद्धिक सम्पत्ति हो। यो एक अति नै महत्वपूर्ण र सर्वकालीन ऐतिहासिक उपन्यास हो। यस्तो भन्ने पाठकहरू थुप्रै छन। के तपाइँलाई यो कुरा हो जस्तो लाग्छ?
-नेपालका ईतिहासविद्हरुले समेत ऐतिहासिक उपन्यास लेख्नको ईतिहास यहा बाट सुरु हुनु पर्छ भनि कैयन तर्क समेत पेस गर्नु भएको छ| मैले लेखे अब यसको स्थान निर्धारणले मेरो होइन| अनि अब योगमाया उपन्यास मेरो मात्र होइन|

१७.यस उपन्यासमा वर्णित घटनाहरूको अध्यन गर्दा तपाइँले यो उपान्या लेख्न निकै अध्ययन र अनुसन्धान गर्नु भएको, विभिन्न स्थानहरूको भ्रमण पनि गर्नु भएको र परिश्रम पनि उत्तिकै गर्नु भएको जस्तो लाग्छ। त्यस्तो हो?
-हो निकै कठिन भयो | अहिले समझदा आफै लाई अचम्म पनि लाग्छ|

१८.तपाइँ एक सफल साहित्यकार हो। साहित्यमा आउने प्रेरणा कसरी पाउनु भयो?
-आमाबाट|
१९.लेखन क्षेत्रमा लागेका हरूलाई ‘योगमाया’ जस्तो अमरकृति लेख्न के गर्नु पर्छ भनी भन्नु परे के भन्नु हुन्छ?
-निकै मिहिनेत| लगन|

२०.तपाइँको कृति योगमायाले मदन पुरस्कार प्राप्त गर्यो। मदन पुरस्कारका लागि यो कृति रोज्नुको कारण के होला?
-त्यो त् निर्णयक ले जवाफ दिन सकने प्रश्न हो जस्तो लाग्यो|

२१.योगमाया मार्फत तपाइँ पाठकहरूलाई के सन्देश दिन चाहनु हुन्छ?
-त्यो समय परिस्थितिमा त योगमायाले समाज परिबर्तन को निम्ति कदम चलेकी थिईन| हामि ले त्यो नेतुत्व गर्न नसकेता पनि, घर परिवार र आफ्ना लागि मात्र भए पनि अत्यचार बिरुद्दमा पहली कदम उठाउ| ब्यक्तिले न्याय पाउदा, समाजले न्याय पाउछ|