Friday, September 20, 2019

Economic Development is Impossible Without Unity-Article-244


के विभाजित मनस्थितिले आर्थिक विकास होला?

सन् २०११ मा सिरियामा प्रारम्भ भएको गृहयुद्धले अहिलेसम्म ५ लाखभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको छ। यो गृहयुद्धमा केवल सरकार पक्ष (सुरक्षाकर्मी) र सरकार विरोधीहरू मात्र होइन, सर्वसाधारणपनि ठूलो सङ्ख्यामा मारिएको छ। बालबालिकाहरूलाई समेत यो अति रक्तपातपूर्ण युद्धले छोडेको छैन। निरन्तर चलेको यस भयानक गृहयुद्धले १२ हजारभन्दा बढी बालबालिकाहरूको ज्यान लिइसकेको छ। निरन्तर असुरक्षाबाट त्रसित भएर ६० लाखभन्दा बढी सिरियाली विश्वका अनेक मुलुकमा पुगेका छन् र त्यहाँ शरणार्थी जीवन बाँच्न बाध्य भएका छन्। बहुसङ्ख्यक सिरियाली देशभित्र अहिले भय र त्रासको वातावरणमा बाँचिरहेका छन्। यो युद्ध रोकिएको छैन। रोकिने सम्भावना पनि देखिंदैन। आजको मितिसम्म पनि चलिरहेको छ। सिरियाली गृहयुद्ध शक्तिशाली राष्ट्रहरूका लागि मसल देखाउने अवसर भएको छ किनभने उनीहरू पनि परोक्षरूपमा यस गृहयुद्धमा संलग्न छन्। सिरियाली गृहयुद्धमा अनेक राष्ट्र परोक्ष तर सक्रिय रूपले लागेकाले यो गृहयुद्ध रोकिने सम्भावना देखिंदैन, कमसे कम एक दुई वर्षभित्र। युद्ध विभीषिकाको भय र त्रासले हरफल सिरियालीहरूलाई सताइरहेको हुन्छ।
    सन् २०१४ मा यमनमा प्रारम्भ भएको गृहयुद्धले पनि हजारौ व्यक्तिको ज्यान लिसकेको छ। अहिलेसम्म जारी यस गृहयुद्धमा हजारौंले ज्यान गुमाइसकेका छन्। यसैगरी गृहयुद्धको कारण सृजित अनिकालले गर्दा ५० हजारभन्दा बढी मानिस आउँदा वर्षहरूमा मर्ने खतरा बढेर गएको छ। यमनको गृहयुद्धको पनि आप्mनै किसिमको व्यथा छ। यमनको गृहयुद्ध यस देशको भूमिमा लडिए तापनि यो युद्ध यथार्थमा इरान र साउदी अरेबिया बीचको युद्ध हो। यी दुई राष्ट्र नै परोक्ष रूपमा, तर यमनको भूमिमा युद्धरत छन्। बाहिरबाट यमनी सरकार र सरकार विरोधी ‘हुथी’ हरू युद्ध मैदानमा देखिए तापनि यस युद्धमा द्वन्द्वरत पक्ष भने इरान र साउदी अरेबिया हुन पुगका छन् किनभने साउदी अरेबियाले यमनको सरकारलाई अस्त्रशस्त्रसहित सहयोग गरिरहेको छ भने त्यस्तै किसिमले हुथीहरूलाई इरानले सहयोग गरिरहेको छ। यी दुई पक्षबीच भएको युद्ध स्थितिलाई अवसरको रूपमा लिएर आफ्नो प्रभाव यमनका अनेक स्थानमा विस्तार गर्न कट्टर धार्मिक सङ्गठनहरू- अल काइदा र इस्लामिक स्टेट लागिपरेका छन्। र यिनीहरूले पनि यमनलाई झनै अशान्त बनाएका छन्। स्थिति अहिले यस्तो छ कि यमनको केही स्थानमा अल काइदा र इस्लामिक सङ्गठनको नियन्त्रण छ भने केही स्थानमा हुथीहरूको। यमन सरकारले देशभरि नियन्त्रण कायम गर्न सकेको छैन। यमनको गृहयुद्ध पनि बहुपक्षीय हुन पुगेकोले निकट भविष्यमा यो युद्ध रोकिने सम्भावना देखिंदैन। अर्कोतिर युद्ध र त्यसको प्रभाव (महामारी, भोकमरी आदि) ले हजारौको ज्यान जाने क्रम जारी छ। पर्यवेक्षकहरू भन्छन्–यमनको मानवीय सङ्कट १०० वर्ष यता देखिएको विशाल मानवीय सङ्कट हो। बहुपक्षीय द्वन्द्वको चपेटमा परेका यमनका नागरिकहरू त्रासपूर्ण वातावरणमा बाँच्न बाध्य छन्।
    यसैगरी सोमालियामा सन् १९८१ तिर प्रारम्भ भएको गृहयुद्ध अहिलेसम्म रोकिएको छैन र अनवरत चलेको गृहयुद्धमा ५ लाखभन्दा बढी मानिसको हत्या भइसकेको छ। स्थिति अहिले यस्तो छ कि सोमालियाभरि सरकारको नियन्त्रण छैन। सोमियालियाका विभिन्न स्थान विद्रोहीहरूको नियन्त्रणमा छ। मुलुकभित्र अनवरत चलेको गृहयुद्धबाट दिक्दार सोमालीहरू विश्वका अनेक देशमा शरण लिन पुगेका छन्। देशमा बसेका भय र त्रासको वातावरणमा बाँच्न अभिशप्त छन्।
    सुडान, नाइजेरिया, लिबिया आदिमा पनि दीर्घकालीन शान्ति देखिएको छैन। नाइजेरियामा केही पर्ष पहिले (April 2014 मा) एकैपटक ३०० छात्राहरूको अपहरण एक कट्टर धार्मिक सङ्गठन बोको हरामले गरेको थियो। त्यस अपहरणमा परेकामध्ये केही छात्रा बोको हरामको कब्जाबाट मुक्त हुन सफल भए तापनि धेरै छात्रा आजको मितिसम्म बोको हरामको कब्जामा छन्। बोको हरामले ती छात्राहरूको यौन शोषण गरेको खबर सुन्नमा आएको छ।
    सन् १९७८ देखि आरम्भ भएको आशान्तिले अफगानीहरूलाई अहिलेसम्म छाडेको छैन। अफगानिस्तानको गृहयुद्धले लाखौ अफगानी मात्र होइन, सुरक्षार्थ खटेका हजारौ विदेशी सुरक्षाकर्मी एवं कर्मचारीहरूको पनि ज्यान लिएको छ। यसैगरी काम गर्न अफगानिस्तान पुगेका एकदमै निर्दोष विदेशी नागरिकहरू पनि त्यहाँको गृहयुद्धको चपेटमा परेर सयौंको सङ्ख्यामा मारिएका छन्। अफगानिस्तान अहिले संसारकै सर्वाधिक असुरक्षित स्थान हुन पुगेको छ। कुन बेला कसको ज्यान जाने हो भन्न सकिने अवस्था छैन। चरम असुरक्षा छ। भय छ। एक किसिमको ठूलो त्रासले घेरिएको पर्खालभित्र बाँच्न अफगानीहरू विवश छन्। के अफगानिस्तानले एउटा स्वतन्त्र मुलुकको अस्तित्व कायम राख्न सक्ला? यो प्रश्नले अफगानीहरू मात्र होइन, गैरअफगानीहरूलाई पनि त्यतिकै आशङ्कित बनाएको छ।
    वि.स. २०५२ देखि २०६२ सालसम्म माओवादीहरूले मचाएको हिंसापूर्ण सङ्घर्षलाई छाडेर कुरा गर्ने हो भने नेपालमा निरन्तर एक किसिमको शान्ति देखिएको छ। नेपालले रवान्डामा जस्तो डरलाग्दो नरसंहार देख्नुपरेन। सन् १९९४ मा भएको र केवल १०० दिन मात्र चलेको रवान्डाली गृहयुद्धमा करीब १० लाख मानिसको हत्या भएको थियो। नेपाल त तुलनात्मक किसिमले एकदम शान्त छ। नेपालीहरूले गरेको स्वतन्त्रताको उपभोग विश्वका अरू विकसित मुलुकका नागरिकभन्दा एक रत्ति पनि कम छैन  एउटा सामान्य नागरिकले हवाईजहाजभित्रै सहयात्रीका रूपमा रहेका बहालवाला मन्त्रीलाई गाली गर्छ। मन्त्रीको कारणले गर्दा उडान एक घण्टा ढिलो भएकोमा ती सहयात्रीले सार्वजनिकरूपमा (सबैले सुन्नेगरी) मान्त्रीको बेइज्जत गर्छन्। मन्त्री चुपचाप देखिन्छन्। कुनै प्रतिक्रिया देखाउँदैनन्। मन्त्रीले भद्रता प्रदर्शन गर्छन्। नेपालमा भएको यो हालैको घटनामा एक सामान्य नागरिकले यसरी स्वतन्त्रताको प्रयोग गर्नु पाउनु ठूलो कुरा हो। तर अर्को किसिमले हवाईजहाजजस्तो, सुरक्षाको कारणले, अति संवेदनशनील स्थानमा कुनै व्यक्तिले कसैलाई (संयोग त्यहाँ मन्त्रीमाथि दुव्र्यवहारमात्र भयो) हातपात गर्न खोज्नु राम्रो कुरा हो? यस्तो कार्य के अनुशासनभित्र पर्छ? विधिको शासनमा विधिद्वारा समस्या समाधान गरिन्छ, भीड सृजना गरेर होइन। मन्त्रीलाई बेइज्जती गर्न खोज्ने ती सहयात्रीलाई भोलि कसैले त्यसैगरी भीड सृजना गरेर हातपात गर्न खोजे के त्यो राम्रो होला?  अनियमितता र अन्यायको समाधान अनियमितता र अन्याय गरेर हुँदैन। विधिको पालना सबैले गर्नुपर्छ तर भीडद्वारा होइन, कानूनसम्मत ढङ्गबाट समस्या समाधान गर्नुपर्छ। तर आजभोलि नेपालमा भीड सृजना गरेर समस्याको समाधान गर्न खोजिंदै छ। यो परिपाटीले देशलाई अस्थिरतातिर लैजान्छ। मन्त्रीलाई एक सामान्य नागरिकले गाली बेइज्जत गरेको देखेर हामीलाई खुशी लाग्न सक्छ तर त्यो खुशी क्षणिक हो। कसरी र किन? यो आफैले सोच्ने कुरा हो।
    नेपालमा शान्ति र स्थिरता भएपनि हामीले तीव्र गतिमा आर्थिक प्रगति गर्नु नसक्नुको तीन कारण छन्– हामीमा व्याप्त घोर निराश, आशङ्का र उद्दण्डता।
    अहिले नेपाली समाज घोर निराशाको भुमरीमा परेको छ। प्रत्येक व्यक्तिमा चरम निराशा छ। हरेकले आफूलाई असुरक्षित देखिरहेको छ। घोर निराशाले व्यक्तिहरूलाई आशाको खोजीमा विदेशतिर (रोजगारका लागि) डोर्याइरहेको छ। आफ्नो समाजमा देखिएको निराशाबाट दिक्दार भएका नेपालीहरू विदेशतिर लागिरहेका छन्, त्यहाँ पुगेर जोखिमपूर्ण काम गर्नुपरे तापनि, ज्यानै गुमाउनु परे तापनि। हरेक नेपालीले स्वदेशसा आफ्नो भविष्य सुरक्षित देखिरहेको छैन। यस्तो घोर निराशामा देशको आर्थिक विकास सम्भव छ? घोर निराशाले व्यक्तिलाई स्वदेशको विकास गर्न उत्प्रेरित गर्दैन।
    नेपाली समाज अहिले अनेक टुक्रामा विभाजित छ। पहाडिया, मधेसिया गरेर विभाजित छ। खस, बाहुन, जनजाति, आदिवासी गरेर विभाजित छ। दलित र उच्च जाति गरेर विभाजित छ। एउटा वर्ग (जाति) लाई अर्को वर्गले शङ्काको घेरामा राखेर हेर्छ। एउटा वर्गले आफ्नो दुःखको कारण अर्को वर्गलाई देख्छ। आपसमा, एक अर्कामाथि विश्वास छैन। यदि विश्वास हुँदो हो त जातीय सङ्गठन किन खोल्नुपथ्र्यो? यसरी विभाजित मनस्थितिमा बाँचिरहेको समाजको आर्थिक विकास कदापि हुन सक्दैन। विकसित मुलुकको आर्थिक विकासको इतिहासले यही भन्छ।
    नेपालमा पूर्ण प्रजातन्त्र आइसके तापनि, मुलुकले उदार वा बजार अर्थ नीति अवलम्बन गरिसके तापनि हामीले तीव्र गतिमा आर्थिक विकास गर्न नसक्नुको कारण हाम्रो समाजमा देखिएको अनुशासनहीनता पनि हो। हामीमा अनुशासनको कमी छ। यसको ताजा उदाहरण विमानमा सवार मन्त्रीलाई एक व्यक्तिले गाली–बेइज्जती गर्नु हो। मन्त्री दोषी भए तापनि मन्त्रीलाई उक्त दोषको लागि सजाय भीडले दिने होइन। सजाय दिने निकाय देशको प्रचलित कानून हो, प्रशासन हो। दोषीहरूलाई यसैगरी भीडले दण्डित गर्न थाले भने भोलि देशको स्थिति के होला?  नागरिकको सुरक्षाको ग्यारन्टी कसले लेला? निर्दोषलाई पनि भीडले दोषी ठहर गरेर सजाय दिन सक्छ, उसको ज्यान नै पनि लिन सक्छ। यस्तो सर्वथा सम्भव छ।
    कुनै व्यक्तिले सडकमा छाडेको कुखुरालाई कुनै सवारीचालकले गाडी चलाउने क्रममा किचेर मारिदिंदा कुखुरा धनीले सडक नै जाम गरेको, सवारी अवरुद्ध गरेको वा यस्तै प्रकृतिको घटनमा यातायात अवरुद्ध गरेको घटना हामीले जति पनि देखेका छौं। यस किसिमका कार्य अनुशानहीनताका उदाहरण हुन्। जबकि समाजमा अनुशासन नभएसम्म देशको आर्थिक विकास हुन सक्दैन। यसको उदाहरण हाम्रो छिमेकी मुलुकमा नै देख्न सकिन्छ। चीनले तीव्र आर्थिक विकास गर्न सक्नुको कारण त्यहाँको कठोर अनुशासन पनि हो। अनुशासनले चीनलाई धनी तुल्याएको हो। हाम्रो समाजमा अहिले अनुशासनहीनता व्याप्त छ। हामी भीड सृजना गरेर, कुटपीट गरेर, गाली–बेइज्जती गरेर, समस्याको समाधान खोज्छौ। विधिको शासनको उपहास गर्छौं। के यस्तो तरिकाले देशको आर्थिक विकास हुन सक्छ?
    देश स्रोत र साधनले धनी भए तापनि हामीमा चरम निराशा, आशङ्का र उद्दण्डता रहेसम्म मुलुको तीव्र गतिमा आर्थिक विकास सम्भव देखिंदैन। 

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, September 20, 20120

No comments:

Post a Comment