Friday, October 25, 2019

Causes of Slow Pace Economic Development in Nepal -Article-249


अस्थिर राजनीति र कमजोर सरकार: आर्थिक विकासको बाधक

नेपालको आर्थिक विकास कछुवा चालमा हुनुका अनेक कारणमध्ये एक यो मुलुकले स्थिर र बलियो सरकार नपाउनु पनि हो। र राजनीति अस्थिर हुनु पनि हो। जसरी भएपनि सत्तामा पुग्ने र राष्ट्र सेवाभन्दा सुविधा उपभोगलाई राजनीतिक लक्ष्य बनाउने प्रवृत्ति नेताहरूमा भएकोले नेपालले बलियो र स्थिर सरकार पाउन सकेको छैन। एउटा राजनीतिक दल सत्तामा पुगेको छ भने अर्को राजनीतिक दललाई त्यो स्थिति सह्य र पाच्य हुन सक्तैन र त्यो अर्को दल सत्तामा भएको दललाई सत्ताच्युत गर्ने उद्योगमा निरन्तर लागिरहन्छ। अर्को दलले इमानदार एवं रचनात्मक कार्य गर्ने विपक्षीको भूमिका निर्वाह गर्न सक्तैन। आश्चर्य! सबै दल सत्ता प्राप्तिको दौड संलग्न रहेको पाइन्छ। यसरी आर्थिक विकासको मुद्दा गौण हुन पुगेको छ। यस्तो स्थितिमा कसरी आर्थिक विकासको गति तीव्र हुन सक्छ?
   ४६- ४७ सालमा भएको राजनैतिक परिवर्तनपछि बनेका सरकारहरू कति दिनसम्म टिके र निर्वाचित  प्रधानमन्त्रीहरूले कति लामो अवधि काम गर्न पाए भन्ने कुराको मूल्याङ्कन गर्ने हो भने नेपालको राजनीति जहिले पनि अस्थिर रहेको, कुनै पनि सरकारले लामो अवधिसम्म काम गर्न नपाएको तथा छिटोछिटो प्रधानमन्त्रीहरू फेरिएको प्रस्ट हुन्छ। नेपालको राजनीति अस्थिर भएको कारणले नै साधन र स्रोतको पर्याप्तता भए तापनि आर्थिक विकास तीव्र गतिमा हुन सकिरहेको छैन। आर्थिक विकासको गति अति नै सुस्त हुन पुगेको छ। प्रश्न उठ्छ राष्ट्रिय राजनीतिलाई कहिलेसम्म अस्थिर पार्ने?
    ०४६–४७ को राजनैतिक परिवर्तन पछि नेपालले प्रजातन्त्रको अभ्यास गर्ने थालेपछि, निर्वाचित प्रधानमन्त्रीमध्ये सबै भन्दा लामो अवधि गिरिजाप्रसाद कोइरालाले प्रम भएर काम गरेको पाइन्छ। २६ मे १९९१ मा पहिलोपटक प्रम निर्वाचित भएका गिरिजाप्रसाद कोइरालाले १२८४ दिन प्रम भएर कार्य गर्न पाएका थिए। तापनि उनले पूर्ण कार्यकाल (पाँच वर्ष) प्रम भएर काम गर्न पाएको देखिंदैन। कोइराला पछि ३० नोभेम्बर १९९४ मा मनमोहन अधिकारी प्रधानमन्त्री भए। अधिकारीले केवल २८६ दिन प्रम भएर काम गर्न पाए। १२ सेप्टेमबर १९९५ मा मनमोहन अधिकारीलाई विस्थापति गरेर शेरबहादुर देउवाले प्रम पद हात पारे। सत्ताको दौडमा जहिले पनि अग्र पङ्क्तिमा रहने देउवा, चारपटक नेपालको प्रम भए। नेपालको राजनीतिलाई अस्थिर पार्न अहम् भूमिका निर्वाह गर्ने देउवाले दुई वर्ष पनि प्रम हुन नपाएको देखिन्छ। तेस्रोपटक देउवा प्रम हुँदा उनले २४३ दिन मात्र प्रम भएर काम गरेको देखिन्छ। देउवा जहिलेपनि सत्ता प्राप्तिको दौडमा सक्रिय भएर लागेको देखिन्छ।
    सत्ता प्राप्तिका लागि आफ्नै पार्टी फुटाउन पनि पछि नपर्ने, सत्तामा निरन्तर रहिरहन चाहने, हैकमवादमा विश्वास गर्ने र राष्ट्रिय आर्थिक विकासको मुद्दालाई कम, केवल आफ्नो हितलाई सर्वाधिक महत्व दिने गिरिजाप्रसाद कोइराला पाँच पटक नेपालका प्रम भए। गिरिजाप्रसाद कोइरला २८ मे २००८ मा पाँचौपटक प्रम हुँदा उनले केवल ८२ दिन मात्र प्रम भएर काम गर्न पाएको देखिन्छ। नेपालको राजनीतिलाई अस्थिर पार्न गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण भूमिका रहेको पाइन्छ। नेपालको राजनीतिलाई स्थिर पार्न उनले कुनैपनि किसिमको ठोस प्रयास गरेनन्। देशको लागि कुनै ठूलो त्याग गरेनन्। उल्टो शक्ति र सत्ता प्राप्तिलाई जीवनको मूल उद्देश्य ठाने।
    सत्ता प्राप्तिको दौडमा अरूलाई उछिन्दै कम्युनिस्ट नेताहरू पनि अग्र पङ्क्तिमा गएको देखिन्छ। कम्युनिस्टहरूमा सत्ता–लालसा झनै अधिक रहको पाइन्छ। हजारौको ज्यान जानेगरी खुनी सङ्घर्ष गरेर भएपनि कम्युनिस्टहरूले सत्ता हस्तगत गरेको ताजा इतिहास छ। २०५२ सालदेखि माओवादीहरूले प्रारम्भ गरेको रक्तपातपूर्ण सङ्घर्षमा १७ हजार नेपालीको ज्यान गएको थियो। र त्यो रक्तपातपूर्ण सङ्घर्षको उपलब्धि थियो –केही नेताहरू सत्तामा पुग्नु। नेपालको राजनीतिलाई अस्थिर पार्न कम्युनिस्ट नेताहरूको ठूलो हात छ।
    छोटो अवधिका लागि नै भएपनि पुष्पकमल दाहाल दुईपटक प्रम भएर प्रम हुने रहर पूरा भएको देखिन्छ। दाहाल १८ मे २००८ मा र ४ अगस्त २०१६ मा गरी दुईपटक प्रम भएको पाइन्छ। यसैगरी २०४ दिन मात्र भएपनि प्रम भएर झलनाथ खनालले प्रम हुने आफ्नो सपना पूरा गरेको देखिन्छ। यिनको प्रम हुने सपना एक वर्षसम्म पनि कायम हुन सकेन। २९ अगस्त २०११ मा प्रम हुन पुगेका बाबुराम भट्टराईले झलनाथ खनाललाई प्रम पदबाट विस्थापित गरेका थिए। गिरिजा प्रसाद कोइरालालाई छाडेर कुरा गर्ने हो भने ज्यादै छोटो अवधिका लागि (२०४ दिन मात्र पनि) कोही नेपालको प्रम भएको इतिहास छ भने त्यो हो झलनाथ खनालको प्रधानमन्त्रित्व काल।
    २०४६–४७ सालको राजनैतिक परिवर्तनपछि हालसम्म नेपालमा २५ जना प्रधानमन्त्री नियुक्त भएको देखिन्छ तर कुनै एक प्रमले पनि पाँच वर्षे कार्यकाल पूरा गरेको देखिंदैन। औसतमा हेर्ने हो भने प्रत्येक प्रमले १.२ वर्ष काम गरेको पाइन्छ। कृष्णप्रसाद भट्टराई, लोकेन्द्रब चन्द, सूर्यबहादुर थापा, माधवकुमार नेपाल, खिलराज रेग्मी, सुशील कोइराला, केपीशर्मा ओलीलगायत अनेक व्यक्ति प्रम भए तर कसैले प्रम भएर लाम्रो अवधि काम गर्न पाएको देखिंदैन। उल्टो के देखिन्छ भने एकै व्यक्ति पटकपटक प्रम भएको तर छोटो अवधिको लागिमात्र। वर्तमान प्रम केपी शर्मा ओली पनि दोस्रोपटक प्रम भएका हुन्। उनी १२ अक्टोबर २०१५ मा पहिलो पटक प्रम नियुक्त भएका थिए। प्रम हुने लालसा ओलीमा पनि भरपूर रहेको देखिन्छ।
    कुनै पनि राष्ट्रको आर्थिक विकासका लागि स्थिर राजनीति तथा बलियो र स्थिर सरकार पूर्व शर्त हो। स्थिर सरकारको अभावमा राष्ट्रको तीव्र विकास सम्भव छैन।
    कुनै पनि सरकारले देशको आर्थिक विकासका लागि विभिन्न नीति तथा कार्यक्रम निर्माण गरेको हुन्छ। ती नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न एवं कार्यान्वयनबाट आएको परिणामको मूल्याङ्कन गर्न लामो अवधि चाहिन्छ। अर्थात् नीति तथा कार्यक्रम निर्माण गर्ने सरकारले ती नीति तथा कार्यक्रमकार्यान्वयन गर्न लामो समयावधि अपेक्षा गर्दछ । लामो अवधि पाएमात्र उसले प्रभावकारी कार्य गर्न सक्छ । जसले कार्य गरेको हुन्छ असल प्रतिफलको तीव्र अपेक्षा पनि उसैमा बढी हुन्छ।
    तर नेपालको स्थित ठीकविपरीत छ। एकातिर राष्ट्रिय राजनीति अस्थिर छ भने अर्कोतिर सरकार कमजोर छ र स्थिर पनि छैन। छोटो–छोटो अवधिमा प्रम फेरिनुले नेपालको राजनीति झनै अस्थिर हुन पुगेको छ। यस्तो स्थिति कहिलेसम्म कायम राख्ने? अनि कसरी आर्थिक विकास गर्ने?
    नेताहरूले मात्र नेपालको राजनीतिलाई अस्थिर पारेको एवं सरकारको आयु छोट्याएको भने होइन। यी कार्य गर्नमा जनताको पनि हात छ। जनताले नेपालको राजनीतिलाई स्थिरता दिने नेताहरूको चयन गर्न सकेको छैन। जनताले कुनै वाद, कुनै नेताको पछि नलागेर, इमानदार नेताहरूको चयन गर्ने संस्कृतिको विकासमा जोड दिइरहेको छैन। जनता पनि आप्mनो व्यक्तिगत स्वार्थमा लिप्त छ। जनता व्यक्तिगत स्वार्थमा लिप्त भएमा कसरी हुन सक्छ आर्थिक विकास?
    मुलुकहरूको आर्थिक विकासको इतिहास हेर्ने हो भने स्थिरताले विभिन्न मुलुकलाई आर्थिक विकासको पथमा तीव्र गतिमा दौडिन सहयोग गरेको प्रमाण सजिलै भेट्न सकिन्छ। जर्मनी, फ्रान्स, संयुक्त अधिराज्य, अमेरिकाजस्ता धनी राष्ट्रहरूले राजनैतिक स्थिरताको कारणले नै यति धेरै आर्थिक प्रगति गर्न सकेका हुन्। अमेरिकाले अभूतपूर्व किसिमले आर्थिक विकास गर्नुको कारण यो मुलुकको राजनीति स्थिर हुनु हो। अमरिकामा पनि वर्षैपिच्छे राष्ट्रपति परिवर्तन हुने भएको भए के यो मुलुक विश्वको एक नम्बर आर्थिक महाशक्ति हुने थियो?
    पछिल्लो समयमा चीनले, मुलुकमा विद्यमान राजनैतिक स्थिरताको कारणले नै यति धेरै आर्थिक विकास गर्न सकेको छ। राजनैतिक स्थिरता र बलियो सरकार, यी बलियो जगमा उभिएर नै चीनले विशाल आर्थिक प्रगति गर्न सकेको हो।
    साधन र स्रोतले सम्पन्न भए तापनि धेरै अफ्रिकी राष्ट्रहरू गरीब हुनुको मुख्य कारण त्यहाँ व्याप्त राजनैतिक अस्थिरता नै हो। तेल, सुन, वन पैदावार आदिले सम्पन्न विभिन्न अफ्रिकी मुलुकहरू दरिद्रताको सीमा रेखा पार गर्ने अवस्थामा छन्, कारण त्यहाँ राजनैतिक अस्थिरता व्याप्त छ।
    तर हामीले के तथ्य राम्ररी बुझ्न आवश्यक छ भने राजनैतिक स्थिरता जनताको सक्रिय योगदान र इच्छाशक्तिले आउने हो, नेताहरूको प्रयासले होइन। ताजा उदाहरण अफगानिस्तान छ। अफगानिस्तान, जहाँ जनता (तालिबानी लगायत अन्य लडाकू सङ्गठन र तिनका समर्थकहरू) नै राजनीतिलाई अस्थिर पार्न सक्रियरूपमा लागेको छ।

विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक दैनिकमा प्रकाशित: Friday, October 25, 2019

No comments:

Post a Comment