Friday, November 1, 2019

Book Review-Chhoriko Aankha By Sharda Poudyal 'Nisha'


शारदा पौडेल: अनुभवको धनी कथाकार

पुस्तक समीक्षा

कृति: छोरीका आँखा

विधा: लघुकथा सङ्ग्रह

कथाकार: शारदा पौडले ‘निशा’

समीक्षक: विश्वराज अधिकारी

शारदा पौडेलका लघुकथाहरूमा प्रचुर मात्रामा विविधता पाइन्छ। र यो विविधताले गर्दा कथाहरू आकर्षक र रुचिकर हुन पुगेका छन्। कथाहरूले अनेक विषय समेट्नु यो संग्रहको अर्को विशेषता हुन पुगेको छ।

यस कथा सङ्ग्रहमा समाविष्ट कथाहरूको छोटो परिचय यस प्रकार छ। 

“आमा र मम्मी” कथामा कुनै व्यक्ति कत्तिसम्म दोहरो चरित्रको हुन सक्छ भन्ने कुरा दर्शाइएको छ। कथा “शिवलिङ्ग” मा धर्मको नाममा हुने अमार्यदित कार्यहरूबारे भनिएको छ। अनेक कष्ट, पीडा, यातना सहेर विदेशको रोजगारीमा जानु भन्दा स्वदेशमा काम गर्नु उत्तम हो भन्ने आशय कथा बकेर्नुको रहेको छ। “जिज्ञासा” कथामा आधुनिकताले मानिसमा ल्याएको अति सम्पत्ति मोह  देखाइएको छ। कथा “अस्तित्वबोध” मा सौता ल्याइ दिएको पतिको आश गरेर बस्नु भन्दा आफ्नो आत्म विश्वास प्रयोग गरेर आफैले रोजगारी गरी आत्म निर्भर भएको राम्रो हुन्छ भनिएको छ। “पुकार” कथामा सन्तानहरूमा माया हराउँदै गएको देखाइएको छ। “लोग्ने” कथामा पतिले पत्नीलाई गरेको दानवीय शोषणको चित्रण छ। “सम्बोधन” कथामा बाबुले छोरीसँग गरेको झूठो ब्यवहार देखाइएको छ। सम्वोधन कथा यस सङ्ग्रहको अति उत्तम कथा हो।

यस सङ्ग्रहको एक कथा “नवपीता” यौन कथा हो तर यसलाई बडो कुसलतापूर्वक यौन भन्दा बाहिर लगेर दयामा रुपान्तरित गरिएको छ। यो पनि एक उत्कृष्ट मनोवैज्ञानिक कथा हो।

कथा “आत्मस्वीकृति” मा पत्नीहरूको भूमिका घर गृहस्थीमा ठूलो हुन्छ जुन कुरा प्राय: पुरुषहरूलाई बोध हुँदैन भनिएको छ। यो यथार्थ कुरा पनि हो। पत्नीको भूमिकालाई एक पुरुषले परिस्थिवस बुझेको घटना रोचक ढङ्गबाट यस कथामा प्रस्तुत गरिएको छ। १२ औ कथा “चिसो हावा” मा दोस्रो पत्नी ल्याउने पतिलाई कानूनले दिएको सजाए दर्शाइएको छ। “मारा बुद्धि” कथामा पत्नीलाई अति माया गरेर पाएको दु:ख देखाइएको छ। कथा “त्येति पनि थाहा छैन?” मा हाम्रो परम्परावादी समाजमा सासुले बुहारीलाई दिने दु:खको बयान छ। कथा “अप्रिय पर्खाइ” मा बाबुआमाले सन्तान विदेश गएको कुरा गर्व गर्दै छर- छिमेकलाई सुनाउँछन तर पछि  विदेशीएका सन्तानहरूले आफूहरूलाई नहेरे पछि त्यसरी गर्व गरेकोमा कसरी पश्चाताप गर्छन भन्ने यथार्थ प्रभावकारी किसिमले दर्शाइएको छ। कथा “अर्ती” ले सासुहरू दोहरो मापदण्डको हुनु हुँदैन भन्ने अर्ती दिएको छ।

कथा “मानव अधिकार दिवस” मा मान्छेको व्यवहार र वचन बिच हुने ठूलो भिन्नतालाई प्रभावकारी किसिमले प्रस्तुत गरिएको छ। कथा “धरातल” मा आधुनिकताले सन्तानहरूमा ल्याउने विचलन दर्शाइएको छ। “महत्व” कथामा ‘समय र परिस्थिति’ ले मानिसमा ल्याइ दिने ठूलो परिवर्तन दर्शाइएको छ। कथा  “दाइजो” मा एक अति नै लोभी पिताले छोराको बिहेमा नर्लज्य भएर दाइजो लिएको स्थिति दर्शाइएको छ। कथा “कर्तव्यबोध” ले व्यक्तिहरूमा आउँदै गरेको सकारात्मक सोंच बारे दर्शाइएको छ। “गणतन्त्रको घाम” कथामा सोझा जनतालाई बाठा नेताहरूले कसरी ठग्न सक्छन बारेको रोचक चर्चा छ। सोझा नागरिकहरू नेताबाट कसरी शोषित, पीडित भएका छन भन्ने छोटो तर सत्य किसिमले अवलोकन गराइएको छ। “सम्बन्ध” कथाले व्यक्तिहरूमा हुने लोभी प्रवृतमाथि प्रकाश पारेको छ। “सोंच” कथामा कर्तव्यपरायण पत्नीमाथि तुच्छ सोंच भएका पतिले गरेको अनावश्यक संका देखाइएको छ। कथा “झोलीको देवता” मा मामामा धार्मिक जडता र भान्जामा रहेको घमण्ड दर्शाइएको छ। कथा “नवसंस्कृति” ले महिलाहरूमा हुने गहना-मोहलाई बेजोड किसमले प्रस्तुत गरेको छ। यो कथा निकै रोचक पनि छ। कथा “अप्रिल फुल” मा ठट्यौली गर्दा कसैको जीवनमा पर्न जाने खराब एवं दर्दनाक असर देखाइएको छ। कथा “सञ्जय दृष्टि” मा नेपाली समाजमा ढोंग बढ्दै गएकोमा कथाकार ज्यादै चिंतित भएको देखिएको छ। कथा “स्वतन्त्रता” मा छोरीलाई मर्यादित हुन आमाले दिएको शिक्षा छ। कथा “दृष्टिकोण” मा नेपाली समाजमा, केही व्यक्तिहरूमा हुने, निम्न स्तरका सोंचहरूको चर्चा छ। कथा “झट्केलो बाउ” मा, एक पिताले, जो झट्केलो हुन, छोरीमाथि गर्न खोजेको व्यविचार प्रस्तुत गरिएको छ। कथा “प्रमाण” मा सन्तान नहुनुमा पतिको कमजोरी भएता पनि पत्नीले त्यो कमजोरीको जिम्मेवारी अनावश्यक किसिमले बोक्नु परेको दर्शाइएको छ। कथा “प्राथमिकता” मा छोराले आमालाई अर्ति दिएको पाइन्छ। 

कथा “सालिकको मन” मा राजनैतिक व्यंग छ। कथा “व्रत” मा स्वार्थी पत्नीहरूले इमान्दार पतिलाई कसरी शोषण गर्न सक्छन भन्ने कुरा प्रभावकारी किसिमले प्रस्तुत गरिएको छ। कथा “परिधि र केन्द्र” मा अति यौन लालसाले व्यक्तिलाई पतन तर्फ लग्छ भनिएको छ। कथा “असार पन्द्र” मा राजनीति र नेतामाथि कडा व्यङ्ग गरिएको छ।

कथा “धर्ती बन छोरी” यस कृतिको बेजोड कथा हो। यस कथामा छोरा र छोरी विच कसरी विभेद हुन्छ भन्ने कुरालाई अति शुक्ष्म किसिमले हेरिएको छ। यो विभेदको भावना हाम्रो समाजको अन्तर मनमा लुकेर बसेको छ जुन बाहिर आउन कठिन छ। कथा “उपहार” मा एक पुरुष एक महिलाप्रति कसरी स्वभाविक किसिमले आकर्षित हुन्छ भन्ने तथ्य दर्शाइएको छ। कथा “लत” धार्मिक रंगमा रंगिएका महिलाहरूको आडम्बरको प्रभावकारी बयान हो। कथा “कस्तुरी” एक बेइमान पतिको कथा हो। कथा “पसिनाको धार” मा रोजगारीका लागि विदेशीएकी पत्नीसँग स्वदेशमा बस्ने पतिले गरेको धोखा उल्लेख छ। कथा “नाजवाफ” मा एक बोहारीले आफ्नो सासु र आमा बीच गर्ने तुच्छ विभेद दर्शाइएको छ। कथा “माग” मा, समान परिस्थितमा, कोही कति लोभी र कोही कति उदार भइ दिन्छ भन्ने कुराको चित्रण दुई पृथक मनोविज्ञानको तुलना गरेर देखाइएको छ। कथा “गहना” मा तिजमा बढ्दै गएको गहना प्रदर्शनलाई एक महिलले नै आलोचना गरेर त्यसमा उनले परिवर्तन ल्याउन खोजेको देखाइएको छ। कथा “मन्त्रीज्यू” मा नेताहरू कसरी आफ्नो हितको विकासमा गरिरहेका छन् भन्ने कुराको चर्चा छ।

कथा “अठोट” एक अति उत्तम कथा हो। एक नव बिधुवा युवतीले आफ्ना साना नानीहरू छाडेर अर्को विवाह गर्न नमानेको र स्वयं आमाबाबुले विवाह गर भन्दा पनि नगरेको स्थिति यस कथामा सन्तुलित किसिमले दर्शाइएको छ। कथा “अभिशाप” मा जसलाई हेला गरिएको हुन्छ उसले फेला पनि पार्न सक्छ भन्ने यथार्थ दर्शाइएको छ। कथा “आस्था” मा माओवादीहरूले भनेका जनयुद्ध कालमा माओवादी नेताहरूले आफ्ना कार्यकर्ताहरूको दिमाग कसरी भुटेका थिए भन्ने एक रोचक प्रस्तुति छ। “मानसिकता” कथामा इन्टेरनेटले गर्दा ‘प्रेम-मजाक’ गर्न ज्यादै सरल भएको यथार्थ उल्लेख छ। कथा “नमिठो हाँसो” मा परदेशी (स्पेनिस) पात्रलाई कथाको विषय बनाइएको छ। आफूमा पीडा पर्दा अरूको पीडामा हाँस्नसकेझै हाँस्न नसकिने यथार्थ यो कथामा दर्शाइएको छ। यो कथालाइ अझै सशक्त तुल्याउन सकिन्थ्यो तर सकिएको छैन।
 
कथा “लाहुरे” मा स्वेशमा नै कुनै रोजगार गरेर बस्ने तर विदेश बस्न अति लालायित हुने युवकसँग बिहे नगर्ने भनी एक युवतीले लिएको अठोट देखाइएको छ। कथा “विद्यार्थी” मा गल्ती गरेपछि विद्यार्थीहरूमा आएको अपराधवोधबारे उल्लेख गरिएको छ। कथा “चाल” मा जागिर नपाएर एक पतिको मनोविज्ञानमा आएको ह्रास देखाइएको छ। यो कथाले एक बेरोजगार युवाको मनोविज्ञानको विश्लेषण गर्न खोजेको छ भने पत्नीहरूलाई पतिसँग छुट्टिएर समस्याको समाधान खोज्नु भन्दा उक्त समस्याको वैकल्पिक समाधान खोज्न भनेको छ।

कथा “परदेशमा” विदेशी भूमिका देखिएको घटनाको एक मार्मिक विवरण हो। यो कथा यथार्थ हो जस्तो लाग्छ। एउटा सोझो र इमान्दार नेपालीलाई अर्को दुष्ट प्रवृतिको नेपालीले विदेशमा कसरी ठग्छ भन्ने यथार्थ यस कथामा अति नै मार्मिक किसिमले दर्शाएको छ। वहुसंख्यक नेपालीहरु अहिले गलत बाटो रोजेर भए पनि धन कमाउन तल्लिन रहेको यस कथाले छर्लङ्ग पारेको छ।
कथा “फरक” यस संग्रहको उत्कृष्ट कथाहरू मध्ये एक हो। हामीहरू कतिसम्म ‘हिप्पोक्रेसी’ मा विश्वास गर्छौ भन्ने कुरा यो कथाले बलियो गरी दर्शाएको छ। “कलमलाई चुनौति” एक यस्तो कथा हो जसले दुई विपरित मनोविज्ञानका व्यक्तिहरूको मनोभावको तुलना गरेको छ तर सम्पत्ति भन्दा बौद्धिक कार्यमा लाग्नेको पक्षमा कथाले बोलेको छ।

कथा “डरको साम्राज्य” पनि एक उत्कृष्ट कथा हो। एक संकालू महिलाको विक्षिप्त मनोविज्ञान कस्तो हुन्छ भन्ने कुरा यो कथाले प्रभावकारी किसिमले बयान गरेको छ। कथा “खाली कोठाहरू”  विदेश बसेको नेपालीको कथा हो। विदेशमा एउटा नेपालीले अर्को नेपालीलाई आफ्नै नातेदार भए पनि सहयोग गर्दैनन भन्ने यथार्थको अति राम्रो चित्रण छ, यो कथामा।

कथा “अनुराग”, यो कथा सङ्ग्रहको उत्कृष्ट रचना हो। यो एक अब्बल यौन कथा हो। यो कथाले पुरुषहरूमा हुने तिब्र यौन आकांक्षा देखाएको छ। साथै केही पुरुषहरूले त्त्यस किसिमको यौन आकांक्षा रोक्न नसकेर पशुतुल्य व्यवहार गर्न तत्पर हुने रहस्य समेत यो कथामा उद्घाटन गरिएको छ। कथा “प्रपञ्च” मूल रुपमा बोक्सीको कथा भएता पनि यो एक यौन कथा हो। एक चालबाज पुरुष जो पेशाले पण्डित पनि हुन्छ उसले एक महिलाको यौन शोषण गर्नका लागि ती महिलालाई बोक्सी हुन् भन्दै हिंड्छ। साथै बोक्सीप्रति समाजमा रहेको भ्रम पनि यो कथाले निवारण गर्न खोजेको छ।
कथा “महादेव” मा विदेशमा काम गर्ने एक नेपाली महिलाको दारूण कथा उल्लेख छ। यो कथालाई छिटै समाप्त गर्न कथाकारलाई हतार भएको देखिएको छ। एउटा बेग र वहाबमा गइ रहेको कथा अचानक समाप्त हुन्छ। कथाको पाठक अल्मलिन्छ र कथाको निचोड झिक्न सक्तैन। यस तर्फ कथाकारले ध्यान दिनु पर्ने देखिन्छ। कथाको बहाबलाई राम्रो निरन्तरता दिनु प्रभावकारी मानिन्छ।
कथा “छोरीको आँखा” मा एक सात वर्षीय बालिकाले गरेको अति गहिरा चिन्तनहरू उल्लेख गरिएको छ। ती चिन्तनहरू कथाको पात्रको नभएर कथाकारको कल्पनता त होइन भन्ने जिज्ञासा पाठकको मनमा स्वभाविक किसिमले उठ्छ। यो एक मनोवैज्ञानिक कथा पनि हो। यो कथाले छोरा र छोरीमा नेपाली समाजले गर्ने विभेद रोचक किसिमले प्रदर्शित गरिएको छ। यो कथाको नाम छोरीको आँखा न राखेर छोरीको प्रश्न वा छोरीको दृष्टिकोण राख्दा उत्तम हुन्थ्यो कि?

कथा “आफन्तको खोजी” पनि एक बेजोड कथा हो, यथार्थ कथा हो। विदेशमा बस्ने नेपालीहरू कतिसम्म स्वार्थी हुन्छन भन्ने यथार्थ यो कथाले प्रभावकारी किसिमले देखाएको छ। विदेशको सामाजिक परिवेश र नेपाली समाजिक परिवेशमा कति सम्मको अन्तर हुन्छ भन्ने कुरा पनि यो कथाले बोलेको छ। कथा “बूढो वृक्ष” पनि एक यौन कथा हो। यो कथालाई पनि उत्कष्ट कथा मान्नु पर्छ। मानिसमा उमेरले परिवर्तन ल्याइ दिएर, वृद्ध तुल्याइ दिए पनि उसको यौन भावनामा कमी आएको हुँदैन। योन एक प्राकृतिजन्य स्वभाव हो। यौन भावना महिलाहरूले सहजै व्यक्त गर्न सक्तैनन तर पुरुषहरूले सहजै गर्न सक्छन। यो कथाले यस किसिमका मनोविज्ञान विश्लेषणहरू गरेको पाइन्छ। यो कथाको नाम पनि कथाको आशय अनुसार राखेको भए राम्रो हुने थियो।
कथा “हे दैव!” मा सासुले बुहारीलाई छोरी सरहको व्यवहार गर्दा पनि बुहारीले सासुलाई हेर्ने परम्परागत दृष्टिकोणको कारणले गर्दा सासुलाई राम्रो व्यवहार नगरेको कथा छ। कथा “लिफ्टको मूल्य” मा एक युवक चोरले एक युवतीको मोटरसाइलमा लिफ्ट मागेर उक्त युवतीको सामान, पैसा चोरेको कथा छ। यो कथा सामान्य कथा हो र यस सङ्ग्रहको अन्तिम कथा पनि।
यस किसिमका विभिन्न कथाहरू यस कथा सङ्ग्रहमा संकलित छन्।

निष्कर्ष:
लघुकथा सङ्ग्रह “छोरीका आँखा” पढे पछि कथाकार शारदा पौडेल ‘निशा’ लाई जे देख्यो त्यो लेख्ने कथाकार भन्नु पर्ने हुन्छ। अर्थात उनले समाजमा जे देखेकी छन्, सोही लेखेकी छन्। कथाका विषयहरू यथार्थका धरातलमे उभिएका छन्, कोरा कल्पनाको भन्दा। यसैगरी कथाकारले कथाका पात्रहरूलाई यसो गर, उसो गर भनेर निर्दैशित गरेको पाइँदैन। पात्रहरूले जे गरेका छन् सोही कथाकारका आख्यान हुन पुगेका छन। यो खुबी कथाकारको अब्बल लेखकीय दक्षता हो। कथा सङ्ग्रहले जीवन र जगत्को विभिन्न पक्षहरूलाई छोएको तर कथाको मुख्य आधार भने सामाजिक व्यवहारहरू नै रहेका छन्।

यो आधुनिक अति भौतिकवादी युगमा व्यक्तिहरू कसरी चरम किसिमले स्थार्थी हुँदै गएका छन भन्ने यथार्थ यस कथा सङ्ग्रहमा मार्मिक किसिमले प्रस्तुत गरिएको छ। कथाहरूका आधारभूमि भने सामाजिक समस्याहरू नै बनेका छन्। कथाकारले यस संग्रहमा आफ्नो वौद्धिकता पाठकहरूका ज्ञानमाथि लाद्नुको सट्टा समाजको यथार्थ चित्रण गरेको पाइन्छ। अर्थात जे देखेको हो त्येही लेखेको। यसरी कथाकार सामाजिक घटनाहरू पाठक समक्ष ल्याइ दिन केवल एक माध्यम बनेको देखिएको छ। कथाकारको विशेषतालाई लेखकीय असल गुणको रुपमा लिन पर्छ।
यसैगरी यो कथा संग्रहमा परम्परागत रूपमा हुँदै आएको सासु र बोहारी बिचको मनोवैज्ञानिक युद्ध पनि प्रभावकारी किसिमले देखाइएको छ। समाज विस्तारै सुधारोन्मुख छ भन्ने पनि चर्चा छ।

सुझाव: कथाहरूमा नम्बर वा क्र्म राम्रो गरि लेखिएको छैन। कथाहरूमा कतै सन्तुलन नमिलेको देखिन्छ जस्तै ग्रामिण जीवन तर सहरी रहन सहनको कुरा गरिएको छ। कथा आत्मस्वीकृतिमा त्यस्तो असन्तुलन  देखिन्छ। कथाहरूमा भाषागत त्रुटीहरू पनि छन्। जस्तै भएपछिलाई “ भएसी’ भनिएको छ। कथाकारले भाषागत त्रुटीमा ध्यान दिनु पर्ने देखिन्छ। कथाकारले आफ्नो लेखाइमा त्यस्तो प्रयोग गर्न मिल्दैन। तर कथाको कुनै पात्रले बोलेको छ भने “भएसी” भन्दा फरक पर्दैन। कथाहरूको शिर्षक राख्दा कथाको सारांश झल्किने गरी शिर्षक राखिएको भए आझै प्रभावकारी हुने थियो। यस्तो गरिएमा कथाले पाठकको ध्यान छिट्टै तान्ने गर्दछ। साथै पाठकहरूलाई पढेका कथाहरू चिरकालसम्म स्मरणमा राख्न सजिलो हुन्छ।
भौतिक वस्तुहरूको लालसाले मानिसहरूमा नैतिकता नामको वस्तु हराँउदै गएको तथा मानिस हृदयहीन हुँदै गएको यथार्थलाई रोचक किसिमले प्रस्तुत गर्नुलाई यो कथा सङ्ग्रहको विशेषताको रुपमा लिन सकिन्छ।

समाजलाई सही दिशातर्फ डोर्याउनु पर्छ भन्ने चेत कथाकारमा बलियो गरी रहेको पाइन्छ।
शारदा पौडेलका कथाहरू कल्पनामा होइन, यथार्थमा आधारित छन्। भोगाइमा आधारित छन। देश देशावर घुमेको र अनेक किसिका जीवन संग साक्षात्कार गरेरकोले  उनीसँग जीवन भोगाइएका एक ठूलो दस्तावेज नै छ र त्येही भोगाइहरूले कथाका रुप लिएका छन्। आकारमा छोटा तर अर्थको परिधि भन्दा धेरै बाहिर पुगेका उनका कथाहरूले पाठकहरूलाई तत्काल छुन्छन।
कथाहरू विविधताले भरिएका छन्। कथाहरू पढ्दै जाँदै पाठकले एक राम्रो अनुभव सङ्गालेको अनुभूत गर्छ। कथाकार शारदा पौडललाई शुभ कामना।

(C) विश्वराज अधिकारी



No comments:

Post a Comment