Friday, December 6, 2019

Economic Importance of Gadhimai Mela-Article-255


गढीमाई मेलाः अन्तरिक पर्यटनको प्रचुर सम्भावना

मध्यतराई र खासगरी बारा, पर्सा र रौतहट जिल्लामा अहिले गढीमाई मेला होइन, गढीमाई महोत्सव चलिरहेको छ। गढीमाईमा बलियो आस्था राखेर बलि दिने भक्तहरू मात्र होइन, केवल मेला हेर्ने उद्देश्य मात्र भएका दर्शकहरू पनि हजारौंको सङ्ख्यामा अहिले बारा जिल्लाको बरियापुर गाउँस्थित गढीमाईमा प्रत्येक दिन पुगिरहेका छन्। प्रत्येक पाँच वर्षमा लाग्ने यो मेलालाई वस्तु एवं सेवाका विक्रेताहरूले पनि एक ठूलो ‘व्यापारिक अवसर’को रूपमा लिएका छन्। यो मेला अवधिभरमा कति कमाउने, कति नाफा गर्ने लेखाजोखा गरिरहेका छन्। व्यापारीहरूको लागि पनि यो एक ठूलो ‘व्यापार मेला’ हुन पुगेको छ। विभिन्न क्षेत्रमा विभिन्न किसिमका आर्थिक क्रियाकलापहरू हुनुपर्छ भन्ने दृष्टिकोणले भन्नुपर्दा पनि धार्मिक उद्देश्यका साथ गढीमाई क्षेत्रमा लाखौंको सङ्ख्यामा व्यक्तिहरू अहिले जम्मा हुनु असल कुरा हो।
    यो मेला सँगसँगै एउटा विवाद पनि चलिरहेको छ। पशु अधिकारवादीहरूले यस मेलामा पशुहरूको विभत्स किसिमले गरिने क्रुर हत्याको चर्को विरोध गरिरहेका छन् भने बलिमा विश्वास गर्नेहरूले संसारका प्रत्येक देशमा मासुको लागि ठूलो सङ्ख्यामा पशुहरूको वध हुने भएकोले बलिप्रथाबारेमा तर्क गर्नु अनावश्यक भनिरहेका छन्। हुन पनि पश्चिमी देशहरूमा मासु नै प्रमुख आहार हुने गरेको र प्रत्येक किसिमको खानामा केही न केही मात्रामा मासुको अंश रहने गरेकोले ती देशहरूमा प्रत्येक दिन भोजनका लागि नै भनेर ठूलो सङ्ख्यामा पशु, पक्षी एवं जलचरहरूको हत्या हुने गर्दछ। यस अर्थमा बलिमा विश्वास राख्नेहरूको तर्क सही देखिन्छ। तर गढीमाईको मेलामा जुन किसिमले पशुहरूको वध गरिन्छ, त्यसलाई उचित मान्न भने सकिंदैन। रोगी, निर्धो हिंड्न नसक्ने, घाइते अवस्थामा रहेका पशुहरूलाई सार्वजनिकरूपमा वध गर्नुलाई हामी चेतनाका धनी मानवप्राणी, जोसँग दया र ममता नामको भावना छ, ले कसरी उचित मान्न सक्छौं?  बालकहरू, जसका मानसिक अवस्था कमजोर हुन्छन्, ले त्यसरी विभत्स किसिमले काटमार (वध) गरेको देखेर के सोच्नेछन् होला? यस्तो दृश्य देखेर उनीहरूमा कुन किसिमको मनोविज्ञान निर्माण हुने होला? यी गम्भीर प्रश्नहरू हुन्। त्यस कारण मूल मेलास्थलदेखि केही पर एक सुरक्षित एवं स्वस्थ वधशाला भवनको निर्माण गर्नुपर्ने र त्यो वधशालामा केवल वयस्क (१६ वर्षभन्दा माथिका) व्यक्तिहरूलाई मात्र प्रवेश गर्न दिने व्यवस्था हुन अति आवश्यक छ। यस्तो गरिएमा यो मेलाको ऐतिहासिक महत्वको संरक्षण पनि गर्न सकिन्छ साथै यस मेलामा हुने काटमारलाई पनि व्यवस्थित गर्न सकिन्छ। साथै बलि दिनेहरूले पनि पशुहरूको स्वास्थ्यबारे विचार गर्नुपर्छ।
    यस मेलासँग जोडिएको विवादित विषय ‘काटमार र पशु अधिकार”लाई थाती राखेर हामी यस मेलाको आर्थिक महत्वको बारेमा चर्चा गरौं।
    आर्थिक महत्वको हिसाबले हेर्दा यो मेलाको सर्वाधिक कमजोर पक्ष हामीले यो मेला लाग्ने स्थललाई एक धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न नसक्नु हो। केवल प्रत्येक पाँच वर्षमा लागेको मेलामा लाखौंको सङ्ख्यामा भक्त र दर्शकहरू यस स्थलमा जम्मा हुन्छन्, त्यसपछि बाँकीको समयमा यो स्थान
(गढीमाई क्षेत्र) मा कुनै पनि किसिमको व्यापारिक गतिविधि वा चहलपहल हुँदैन। विभिन्न किसिमका आर्थिक कारोबार (होटल एवं लज सञ्चालन, वस्तु खरीद–बिक्री, मनोरञ्जनात्मक क्रियाकलापहरू, धार्मिक यज्ञ वा अनुष्ठान) हुँदैनन्। प्रत्येक पाँच वर्षमा मेला लाग्दा लाखौंको सङ्ख्यामा व्यक्तिहरू मेलामा आउने तर नियमित किसिमले वा प्रत्येक दिन पटक्कै नआउने भन्ने हुनै सक्तैन। यदि व्यवस्थित किसिमले गढीमाई क्षेत्रलाई एक वृहत् धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने हो भने यस क्षेत्रमा प्रत्येक दिन सयौंको सङ्ख्यामा धार्मिक पर्यटकहरू आउनेछन्। प्रत्येक दिन लाखौं रुपैयाँको व्यापारिक कारोबारहरू हुनेछन्। सयौं व्यक्तिहरूले रोजगार पाउनेछन्। यस क्षेत्रमा नयाँनयाँ रोजगारका अवसरहरू सृजना हुनेछन्। यो क्षेत्रको आर्थिक समृद्धि बढ्नेछ। तर हामीले त्यस्तो गर्न सकेका छैनौं। यस क्षेत्रलाई केवल काटमार गर्ने क्षेत्रको रूपमा मात्र विकास गर्दै लगेका छौं। जबकि यस क्षेत्रमा धार्मिक पर्यटन विस्तार गर्न सकिने अपार सम्भावनाहरू छन्। भारतको उत्तराखण्डस्थित हरिद्वारमा प्रत्येक दिन हजारौंको सङ्ख्यामा धार्मिक पर्यटकहरू जान्छन् भने गढीमाईमा पनि प्रत्येक दिन हजारौंको सङ्ख्यामा पर्यटकहरू नआउने प्रश्न नै उठ्दैन। निश्चितरूपले आउनेछन् यदि यस क्षेत्रलाई एक व्यवस्थित किसिमले धार्मिक पर्यटनस्थलको रूपमा विकास गर्ने हो भने।
    हामीसँग पर्याप्त साधन र स्रोतहरू छन्, तर हामीले तिनको व्यवस्थित किसिमले विकास एवं उपयोग गर्न सकेका छैनौं। यो भनाइको पुष्टि गर्ने ज्वलन्त उदाहरणको रूपमा गढीमाई क्षेत्रलाई नै लिन सकिन्छ। यस्तो हुनुको कारण छ। हामी प्रत्येक क्षेत्रको विकासको लागि प्रमुख जिम्मेवार पक्ष सरकारलाई देख्छौं अनि केन्द्रीय वा क्षेत्रीय सरकारको मुख ताक्छौं। तर यस किसिमका क्षेत्रहरूको विकास गर्ने प्रमुख अभिभारा स्थानीय बासिन्दाहरूको हो। उनीहरूको सक्रिय प्रयासले मात्र यस्ता क्षेत्रहरूको विकास हुन सक्छ। यस क्षेत्रको आम्दानी पनि यस क्षेत्रको विकासमा खर्च गर्नुपर्छ र यस क्षेत्रको विकासमा यस क्षेत्रका बासिन्दाहरू नै सक्रिय हुनुपर्छ। विकासको यो नै मूल मन्त्र हो।
    नेपालमा कृषियोग्य भूमि ज्यादै कम छ। हाम्रो ठूलो भूभाग हिमाल एवं पहाडले ढाकेको छ। कृषियोग्य भूमिको रूपमा रहेको तराईमा पनि जनघनत्व बढी भएकोले यहाँको क्षेत्रको ठूलो हिस्सा केवल बसोबासमा उपयोग भएको छ। गाउँ र शहरहरूको विस्तार भएर तराईमा कृषियोग्य भूमिको आकार सानो हुँदै गएको छ। तराईको उत्पादन (धान, गहुँ, मकै )ले तराईका व्यक्तिहरूलाई नै पनि खान नपुग्ने स्थिति सृजना भएको छ। र, अर्कोतिर तराईका बहुसङ्ख्यक व्यक्तिहरूको आयको स्रोत केवल कृषि नै हुन पुगेको छ। यस्तो अवस्थामा हामीले पर्यटनको विकासमा जोड दिन अति आवश्यक छ। नेपालजस्तो सानो र कम कृषियोग्य भूमि भएको राष्ट्रको लागि प्रमुख आयको स्रोत पर्यटन हुन आवश्यक छ। हामीले पर्यटनलाई अधिक महत्व दिनुको विकल्प छैन। यो कारणले पनि हामीले तराई क्षेत्रमा पर्यटनका सम्भावना बोकेका क्षेत्रहरूको खोजी एवं प्रयोग गर्न आवश्यक छ। कृषिप्रतिको अतिनिर्भरता बिस्तारै कम पार्दै लान आवश्यक छ। हामी कृषिप्रति अति नै निर्भर भएकाले हामीले बेरोजगारी समस्या झेल्नुपरेको र लाखौंको सङ्ख्यामा युवायुवतीहरू रोजगारका लागि खाडीका देशहरूमा पुग्नुपरेको छ। तर नेपालमा पर्यटन र उद्योगको विकास एवं विस्तार गरेर देशभित्र नै रोजगारका अनेकौं अवसरहरू सजिलै सृजना गर्न सकिन्छ। युवायुवतीहरूलाई रोजगारका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न सकिन्छ।
    गढीमाई यस क्षेत्रको ठूलो धार्मिकस्थल भएकोले यस क्षेत्रमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको तथ्यलाई नकार्न सकिंदैन। बरियारपुर र वरपरका बासिन्दाहरूले प्रान्तीय सरकारसँग समन्वय गरी यस क्षेत्रलाई एक व्यवस्थित किसिमको धार्मिक क्षेत्रको रूपमा विकास गर्न ढिलो गर्नुहुँदैन। यस क्षेत्रका बासिन्दाहरूले यति राम्रो व्यापारिक अवसर गुमाउनुहुँदैन। र, यो क्षेत्रलाई हरेक पाँच वर्षमा केवल एकपटक काटमार गर्ने क्षेत्रको रूपमा मात्र परिचित गराउनुहुँदैन।
    हाम्रो धार्मिक चिन्तन जति सक्रिय छ, त्यति आर्थिक चिन्तन सक्रिय छैन। आर्थिक चिन्तनको क्षेत्रमा हामी पश्चिमीहरूभन्दा सयौं वर्ष पछाडि छौं। यस्तो स्थिति भएर नै हामी ‘लुगा भएर नाङ्गो, अन्न भएर भोको र औषधि भएर बिरामी’को स्थितिमा छौं। हामीसँग पर्याप्त स्रोत र साधनहरू छन् तर हामीले तिनको उपयोग गर्न सकेका छैनौं। यो कारणले गर्दा नै हामी गरीब छौं। साधनविहीन भएर होइन, चिन्तनविहीन भएर हामी गरीब भएका हौं।
    दक्षिण एशियाली क्षेत्र आर्थिकरूपमा समृद्ध क्षेत्र हो। यस्तो भएको हुनाले नै यहाँका स्रोत र साधनहरू हात पार्न अङ्ग्रेजहरू भारतमा आजभन्दा सयौं वर्ष पहिले पसेका थिए। तर अङ्ग्रेजहरू पहिले प्रवेश गरेको क्षेत्र भने बर्मा (हाल म्यानमा) हो। बर्माभन्दा पनि राम्रो आर्थिक फाइदा भारतमा हुने भएकोले अङ्ग्रेजहरू बर्माबाट भारत आएका थिए। तर हामी, दक्षिण एशियालीहरूले आफूसँग भएका साधनहरूको पनि फाइदाजनक किसिमले उपयोग गर्न सकेका छैनौं। दक्षिण एशियालाई विश्वमा नै आर्थिकरूपमा समृद्ध क्षेत्र मानिन्छ। यहाँ वर्षभरिमा नै अनेक किसिमका बाली लाग्ने गर्छ।
    गढीमाई परिसर यस क्षेत्रको लागि ठूलो आयको स्रोत बन्न सक्छ। प्रत्येक दिन तीर्थालु एवं धर्मभीरुहरू मात्र होइन, धार्मिक पर्यटकहरू पनि हजारौंको सङ्ख्यामा आउन सक्छन्। यो स्थितिलाई एक व्यापारिक अवसरको रूपमा प्रयोग गर्ने हो भने यहाँ अनेकौं रोजगार सृजना गर्न सकिन्छ। तर त्यस्तो केही पनि नगर्ने हो भने यो स्थल केवल एक “भाकल” पूरा गर्ने तथा ‘मारकाट’ मात्र हुने स्थलको रूपमा परिचित हुनेछ। त्यस कारण गढीमाईको धार्मिक महत्व अभिवृद्धि गर्न नै पनि यस क्षेत्रको व्यवस्थित किसिमले विकास गर्नु आवश्यक छ।

विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक दैनिकमा प्रकाशित Friday, December 6, 2019

No comments:

Post a Comment