Friday, May 29, 2020

Unregulated Open Border Causing Economic Development Slow-Article-279


खुला सीमाना आर्थिक विकासको बाधक

नेपालको आर्थिक विकास सुस्त हुनुको अनेक कारणहरू छन। ती अनेक कारणहरू मध्ये एक नेपालको भारतसँगको सीमाना खुला, अनियन्त्रित र अव्यवस्थित हुनु हो। र यो कारण अति नै महत्वपूर्ण प्रकृतिको छ।
सम्भवत: संसारभरिमा, नेपाल मात्र एक यस्तो देश हो जसको सीमाना कुनै छिमेकी देश (भारत) सँग पूर्ण रुपमा खुला छ। नेपालबाट छिमेकी देश भारतमा जान भीसा त परको कुरा हो पासपोर्टसम्म पनि चाहिंदैन। पासपोर्ट मात्र होइन कुनै किसिमको परिचय पत्र पनि चाहिँदैन। छिमेकी देशमा कतिदिन सम्म बस्यो? के काम गर्यो? के प्रयोजनका लागि गएको थियो? यस्ता कुनै पनि किसिमको अभिलेख राखिंदैन। यस्तै स्थिति भारतबाट नेपाल आउने सन्दर्भमा पनि छ। आर्थात भारतबाट नेपाल प्रवेश गर्नेहरूले नेपाल सरकारबाट भीसा लिनु पर्दैन। पासपोर्ट लिनु पर्दैन। यति मात्र होइन, कुनै पनि किसिमको परिचय पत्र समेत देखाउनु पर्दैन। के कति कारणले नेपाल पसेको हो, कहिले सम्म बस्ने हो, आदि पनि खुलाउन पर्दैन। यस्तो पनि अनौठो किसिमको व्यवस्था हुन्छ? यस्तो अनौठो किसिमको व्यवस्था संसारको अन्य कुनै मुलुकमा छैन। केवल नेपाल र भारत बीच मात्र छ।
खुला सीमाना भएको कारणले गर्दा १ अरब ३८ करोड जनसंख्या भएको भारतलाई अनियन्त्रित र अव्यवस्थित रुपमा नेपालीहरूको आफ्नो देशमा प्रवेशले आर्थिक रुपमा ठूलो असर पर्दैन तर केवल ३ करोड जनसंख्या भएको नेपालमा अनियन्त्रित र अव्यवस्थित किसिमकले आफ्नो देशमा भारतीयहरूको प्रवेशले ठूलो नकारात्मक आर्थिक असर पार्छ। यो असर यस्तो हुन्छ, जस्तो कि हात्ति र खरायोलाई एउटै थालमा खान दिइएको होस। हात्ति र खरायोलाई एउटै भाँडोमा खान दिए भने स्थिति कस्तो हुन्छ पाठकहरूले आफैले थाहा पाउनु पर्ने कुरा हो। कसले कत्ति खान पाउँछ र को भोको हुन पुग्छ आफैले बुझ्ने कुरा हो।
यो आलेखमा नेपालको आर्थिक विकास सुस्त हुनुमा कसरी नेपाल र भारत बीचको अनियन्त्रित एवं अव्यवस्थित खुला सीमाना महत्वपूर्ण कारण हुन पुगेको छ त्यसबारे चर्चा गरिने छ। दृश्य र अदृश्य तथ्यहरूको खोजी गरिने छ। र प्रस्तुत गरिने छ।  
भारत अहिले विप्रेषण (Remittance) ल्याउने राष्ट्रहरूमा विश्वमा नै पहिलो रहेको छ। संसारका अनेक राष्ट्रमा छरिएर रहेका भारतीय श्रमिकहरुले आफू रोगजार रहेको देशबाट ठूलो मात्रमा विप्रेषण स्वदेश (भारत) पठाउँछन। तर विप्रेषण पठाउने राष्ट्रहरूको श्रेणीमा भारतको स्थान पाँचौ छ। विप्रेषण सर्वाधिक पठाउने राष्ट्रहरूमा एक, दुई, तिन र चार नम्बरमा क्रमश: मलेशिया, अमेरिका, कतार र जापान रहेका छन। अर्थात भारतले विदेशबाट कमाएर ल्याएको आयको ठूलो हिस्सा स्वदेशमा राख्न सकेको छ। यसैगरी भारतमा अनेक किसिमका जनशक्ति भएकोले उसले अनेक देशबाट कमाएर, आय भित्र्याउने क्षमता प्राप्त गरेको छ। तर नेपालको स्थिति पृथक छ। नेपालले जति (विदेशबाट आय आर्जन गरेर) विप्रेषण विश्वका अनेक मुलुकहरूबाट प्राप्त गर्दछ त्यसको कैयौ गुणा बढी विप्रेषण भारत पठाउँछ। नेपालले ठूलो परिमाणमा विप्रेषण भारत पठाउनुको प्रमुख कारण हो नेपालको श्रम बजारमा ठूलो संख्यामा भारतीय श्रमिहरूको उपस्थिति। र नेपालको श्रम बजारमा भारतीय श्रमिकहरूको ठूलो संख्यामा उपस्थिति हुनुको कारण नेपालमा कुसल वा आवश्यक जन शक्तिको अभाव हो। हामीले सजिलो र अज्ञानताले गर्दा मुलुक (नेपाल) लाई चहिने अनेक किसिमका जनशक्ति नेपालमा उत्पादन गरेनौ र गरिरहेका पनि छैनौ। र आवश्यक जन शक्तिको लागि भारतीय श्रमिकहरूलाई उपयोग गरि रह्यौ, अहिले पनि गरि रहेका छौ। अर्थात आफूले विदेशबाट कमाएर ल्याएको विप्रेषण वा गार्यहस्थ उत्पादनको ठूलो भाग भारत पठाइनै रह्यो, अहिले पनि पठाइ रहेका छौ। भारतीय श्रमिकहरू अनियन्त्रित र अव्यवस्थित किसिमले नेपाली श्रम बजारमा प्रवेश गर्न सक्ने स्थिति नेपाल-भारत बीचको खुला सीमानाले गर्दा उत्पन्न पनि हो।    
भारतको श्रम बजारमा नेपाली श्रमिकहरूको उपस्थिति पनि ठूलो संख्यामा छ। र यो स्थिति पनि अनियन्त्रित र अव्यवस्थित खुला सीमानाले गर्दा भएको हो। तर यहाँ बुझ्नु पर्ने महत्वपूर्ण तथ्य के छ भने भारतीय श्रम बजारमा अकुसल नेपाली श्रमिकहरूको उपस्थिति रहने भएकोले उनीहरूले राम्रो आम्दानी प्राप्त गर्न सक्तैनन र विप्रेषण पनि ठूलो परिमाणमा पठाउन सक्तैनन। तर भारतीय श्रमिकहरूले सक्छन। यसरी खुला सीमानाको कारणले गर्दा नेपाली श्रमिकहरू भन्दा भारतीय श्रमिकहरू बढी लाभ प्राप्त गरि रहेका छन। अर्थात खुला सीमानाको बढी फाइद भारतले उठाइ रहेको छ भने नेपाल ठगिएको छ।
खुला सीमाना भएको  कारणले गर्दा नेपालको पश्चिमी क्षेत्र जस्तै बाँके, बर्दिया, कैलाली, कन्चनपुर, दार्चुला, बैतडी, आछाम, सल्यान, प्युठान, रोल्पा, दांग, रुकुम, मुगु आदिबाट नेपाली श्रमिकहरू ठूलो संख्यामा भारत कामको खोजीमा जान्छन। नेपालको केही पूर्वी क्षेत्रवाट पनि यस्तो हुन्छ। यस्तो किन भएको होला? यस्तो किन भएको हो भने मान्छेले जहिले पनि उपलब्ध विकल्पहरू मध्ये सजिलो विकल्प रोज्छ र त्यसरी रोज्नु स्वभाविक पनि हो। अर्थात नेपाली (श्रमिक) हरूले आफ्नो स्थानीय स्रोत र साधनको खोजी र उपयोग गर्नुको साटो भारतीय श्रम बजारमा पस्नु सजिलो ठान्छन, त्यो विकल्प रोज्छन र भारतीय श्रम बजारमा प्रवेश गर्छन। र अर्कोतिर खुला सीमानाले गर्दा नेपालीहरु भारतीय श्रम बजारमा प्रवेश गर्ने सहज स्थिति पहिले देखि विद्यमान रहेको छ। यो कारणले गर्दा पचासौं वर्षदेखि, खास गरी, पश्चिम नेपालका व्यक्तिहरूले आफ्नो स्थानीय स्रोत र साधनहरूको उपयोग गर्नुको सट्टा रोजगारका लागि भारतीय श्रम बजार रोजिरहेका छन। अर्कोतिर नेपालमा नै पर्याप्त मात्रमा जल, जमिन, जंगल, जडीबुटी, जनशक्ति, जनावर, जराजुरी तथा उपयुक्त जलवायु (अष्ट ज) भएता पनि त्यसको उपयोग हुन सकेको छैन। अष्ट ज (थप जानकारीका लागि https://astajardcnepal.org/ हेर्नु होला) लाई भरपर्दो स्रोतहरूको रुपमा उपयोग गर्न सकिएको छैन। हामीले उल्टो भारतप्रतिको आर्थिक निर्भरता बढाएर लगेका छौ। यसरी निर्भरता वृद्धि हुनुमा सरकार भन्दा हामी जनता नै बढी दोषी छौ। हामी अनजानमा भारतलाई आर्थिक रुपमा सबल तुल्याइ रहेका छौ। यसै गरी रोजगारीका लागि भारतीय सेनामा भर्ना भएर रणनैतिक हिसाबले बलियो हुन हामीले भारतलाई सहयोग पुर्याइ रहेका छौ पनि। हाम्रो गरिबी साधन र स्रोतको कमीको उपज होइन, अज्ञानताको उपज हो। र यो अकाट्य सत्य हो। प्रमाणित यथार्थ पनि हो।
भारत सङ्गको खुला सीमानाले गर्दा नेपालका सीमाना नजिकका शहरहरू- विराटनगर, जनकपुर, भैरहवा, नेपालगंज, राजविराज आदिको आर्थिक उन्नति हुन कठिन भयो। उदाहरणका लागि वीरगञ्जको आर्थिक विकास तिब्र गतिमा हुन सकेन जबकी आर्थिक विकासका लागि चहिने पूर्वाधारहरू अन्य सहरको तुलनाम वीरञ्जमा अझ बढी पर्याप्त मात्रामा थियो, र अहिले पनि छ। भारतीय शहर रक्सौल नजिक भएकोले यातायात (रेल र समुन्द्री मार्गबाट समान ल्याउन) को सुविधा वीरगञ्जले राम्रो प्राप्त गरेको छ। कच्चा पदार्थ प्राप्त गर्न र उत्पादित समाग्री देश भित्र वा बाहिर पठाउन वीरगञ्जलाई सजिलो छ। वीरगञ्जको जलवायु अनुकूल छ। वीरगञ्जले उद्योग र व्यापारको लगि चाहिने जन शक्ति सजिलै प्राप्त गर्न सक्छ। इन्धन वीरगञ्जलाई सजिलै प्राप्त हुन सक्छ। तर यति हुँदा हुँदै पनि वीरगञ्जको तिब्र आर्थिक विकास किन हुन सकेन? वीरगञ्जको तुलनामा किन काठमाडौको आर्थिक विकास तिब्र गतिमा भयो? जबकी काठमाडौ, रक्सौल (व्यापार बिन्दू) देखि धेरै पर छ। उत्तर सरल छ। ग्रेटर वीरगञ्ज, भारतीय बजारहरूबाट ज्यादै नजिक भएकोले यस सहर वरपरका क्रेताहरूलाई वीरगञ्जमा उत्पादि सामान खरिद गर्नु भन्दा रक्सौलमा सामान खरिद गर्नु सस्तो भएकोले उनीहरूले वीरञ्जमा उत्पादित सामाग्रीहरू खरिद गर्नुको सट्टा भारतीय सामानहरू खरिद गरे, अहिले पनि गरि रहेका छन। र वीरगञ्ज वरिपरिका क्रेताहरूलाई त्यस्तो गर्न खुला सीमानाले सजिलो पारिदियो। काठमाडौको स्थिति भने फरक भयो किनभने काठमाडौका क्रेताहरू काठमाडौमा उत्पादित सामाग्रीहरू खरिद गर्न बाध्य भए किनभने काठमाडौबाट भारतीय बजारहरू नजिक छैनन्।
नेपाली अर्थतन्त्रको विश्लेषण शूक्ष्म किसिमले गर्ने हो भने खुला सीमानाको कारणले गर्दा नेपालका भारतीय सीमा नजिक रहेका शहरहरूको आर्थिक विकास हुन सकेन र अहिले पनि हुन सकिरहेको छैन भन्ने तथ्य प्रष्ट हुन आउँछ। यो विचार भारतप्रतिको नकारात्मक धारणले उत्पन्न भएको होइन। यो धारणा नेपालको आर्थिक स्थितिको यथार्थ विश्लेषणबाट उत्पन्न भएको हो। गहिरो अध्ययन र अनुसन्धानबाट उत्पन्न भएको हो। जहिलेसम्म नेपाल र भारत बीच अव्यवस्थित र अनियन्त्रित खुला सीमाना रही रहन्छ तबसम्म नेपालको आर्थिक विकास तिब्र गतिमा हुन सक्तैन बरू भारतप्रतिको आर्थिक निर्भरता बढेर जान्छ।
भारतसङ्गको खुला सीमानाले गर्दा आर्थिक विकासका ठूला ठूला औसरहरू मधेस-तराईले गुमाइ रहेको छ। यो क्षेत्र तुलनात्मक रुपमा गरिब हुँदै पनि गएको छ। यो क्षेत्रवाट युवाहरू ठूलो संख्यामा रोजगारका लागि अहिले खाडीका देशहरूमा प्रवेश गर्नुले पनि यस कुराको पुष्टि हुन्छ। कुनै बेला तराइ-मधेसलाई अन्नको भण्डार मान्ने गरिन्थ्यो। यहाँको समतल भूमिले अन्न उत्पादनमा ‘रेकर्ड’ कायम गरेको थियो। सरल जीवन यापनका लागि पहाडबाट मानिसहरू तराइ-मधेस झर्थे। अहिले स्थिति यस्तो छ कि तराइ-मधेसका व्यक्तिहरू रोजगारका लागि तराइबाट बाहिर (नेपालका पहाडी सहरहरू लगायत खाडी मुलुकहरू) पुगि रहेका छन।
ठूलो रूख मुनी साना बिरुवाहरू उम्रिन र हुर्किन सक्तैन। यो यथार्थ अर्थतन्त्रमा पनि लागू हुन्छ। भारत जस्तो विशाल अर्थतन्त्रको छायामा, खुला सीमानाको कारणले गर्दा, नेपाल जस्तो सानो अर्थ तन्त्रले विकास गर्न सक्तैन। नेपाल-भारत बीचको सीमानालाई जहिले सम्म व्यवस्थित र नियन्त्रित गरिंदैन, जहिले सम्म बिना पासपोर्ट एवं भिस भारतीयहरू लाई नेपालमा प्रवेश गर्न दिइन्छ, नेपालको आर्थिक विकास तिब्र गतिमा हुन असम्भव नै छ।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Wednesday, May 27, 2020    

Thursday, May 28, 2020

Story Book Tamasuk' s Review


कथा सङ्ग्रह तमसुकको समीक्षा


कृतिको नाम: तमसुक

कृतिकार: पदम विश्वकर्मा

समीक्षक: विश्वराज अधिकारी

नेपाली साहित्य क्षेत्रमा पदम विश्वकर्मा एक सुपरिचित नाम हो। प्रवासमा रहेर पनि उनी नेपाली साहित्यको सेवामा लागेका छन्। निरन्तर क्रियाशील छन्।
यस समीक्षामा पदम विश्वकर्मा द्वारा लिखित कथासङ्ग्रह ‘तमसुक’ को विस्तृत चर्चा गरिएको छ। कथा सङ्ग्रह तमसुक बि सं २०७६ वैशाषमा प्रकाशित भएको थियो र यो कृतिको प्रकाशन शिखा बुक्स काठमाडौ, नेपालले गरेको थियो। जम्मा २२७ पृष्ठको यस सङ्ग्रहमा २३ कथाहरू समाविष्ठ छन्।
कथा सङ्ग्रह ‘तमसुक’ को पहिलो कथा हो, ‘मिठाइमा भुलेको जिन्दगी’। यो कथा एक सामाजिक कथा जस्तो देखिएता पनि यस कथाको विवरणले यो कथा एक यौन कथा रहेको पुष्टि गर्दछ। माध्यमिक स्तरको शिक्षा पनि पूरा नगरेको एक नव युवक सङ्ग एक विवाहित प्रौढ महिलाले प्रेम गरेको, ती महिलाले आफ्नो सन्तानहरू समेत त्यागेर त्यो नवयुवक सङ्ग विवाहनै गरेको तथा ती महिलाले प्रेममा आफ्नो जीवन नै उत्सर्ग गरेको स्थितिलाई यो कथाले रोचक किसिमले प्रस्तुत गरेको छ। ती प्रौढ महिला नवयुवक किस्नेसँग विवाह गर्ने मनस्थितिमा के कति कारणले पुगिन भन्ने कुरा यो कथाले भनेको छैन। तर ती प्रौढ महिलाको मनोविज्ञान (कथामा उल्लेख भए अनुसार) अध्ययन गर्दा उनको अति यौन आकांक्षाले ती महिलालाई पुन: विवाह गर्न प्रेरित गरेको अनुमान गर्न सकिन्छ। ती महिलाले आफ्ना पति (पूर्व) बाट यौन सन्तुष्टि पाउन नसकेको भान हुन आउँछ। यौन सन्तुष्टि पनि जीवनको एक प्रमुख पक्ष हो भन्ने सन्देश यो कथाले दिन्छ। र यो विषय नै यो कथाको सार हो। हुन त यो कथाको तेस्रो प्रमुख पात्र, किस्नेकी आमाले भने आफ्नो यौन आकांक्षा दबाएर, विधुवा अवस्थमा बसेर, जीवनसङ्ग सम्झौता गरेको देखिन्छ। किस्नेकी आमाको उपस्थितिलाई पनि यो कथमा महत्वपूर्ण मान्ने हो भने कथाकारले दुई महिला, किस्ने की आमा र किस्ने की पौढ पत्नी- ममता बीच तुलना गरेझै लाग्छ। एउटी महिला- किस्नेकी आमाले विधुवा अवस्थमा बसेर, यौन आकांक्षा दबाएर जीवन सँग सम्झौता गरेकी छिन भने अर्की महिलाले अतृप्त यौन आकांक्षा पूरा गर्न जीवनसँग बिद्रोह अर्को विवाह गरेको पाइन्छ। यस्तो तुलना कथाकारले गरेको पाइन्छ। कथाकारले गरेको यो एक कुसल मनोविज्ञान विश्लेषण हो।
“अधुरो सपना” यस सङ्ग्रहको दोस्रो कथा हो। यो कथाले आम नेपाललीको वर्तमान मनोविज्ञानलाई प्रतिनिधित्व गरेको पाइन्छ। वर्तमान नेपाली समाजमा विदेश पस्ने र प्रशस्त पैसा कमाएर आरामको जीवन बिताउने चाहनले यति तलसम्म जरा गाडेको छ कि अहिले नेपालीहरू जुनसुकै किसिमबाट पनि विदेश पस्न लालायित रहेको पाइन्छ। पचासौ लाख रुपैंया गैर कानूनी रुपमा मानव-तस्करहरूलाई भुक्तान गरेर काठमाडौबाट दिल्ली पुगेर, रुस हुदै दक्षिण अमेरिकाका बिभिन्न देशहरू पुग्दै मेक्सिकोबाट गैर कानूनी रुपमा अमेरिका पुग्ने नेपालीहरूको सङ्ख्या पनि कम छैन। र यसरी अमेरिका पस्दा जीवनलाई उच्च जोखिममा राख्ने, ज्याननै पनि गुमाउने नेपालीहरूको संख्या पनि कम छैन। यो कथाले प्रवासिएका नेपालीहरूको यस्तो मनोविज्ञानको चर्चा गरेको छ।
ज्यादै सुखलाई पनि मानिसले पचाउन सक्तैन भन्ने सन्देश पनि यो कथाले दिन्छ।
यस सङ्ग्रहको एक राम्रो कथाको रुपमा यस कथालाई लिन सकिन्छ। तर यस कथामा कथा स्वभाविक रुपमा नभइ कथाकारनको निर्देशनमा अगाडि बढेको पाइन्छ। अर्थात कथाको माग अनुसार नभइ कथाकारको निर्देशन अनुसार यस कथाका पात्रहरूले कार्य गरेको पाइन्छ। यो तथ्यलाई यस कथाको कमजोर पक्षको रुपमा लिन सकिन्छ।
कथा लेख्दा कथाको सङ्गठनमा कथाकारले उत्तिकै ध्यान दिनु पर्छ। यस्तो नभएमा कथा कमजोर हुन पुग्छ। यस ‘अधुरो सपना’ नामक कथामा मुख्य पात्र रामको छ बटी दिदी रहेको भनिएको छ तर पुन: अर्को प्रसङ्गमा राम जेठो छोरा रहेको भनिएको छ। तर रामका भाइहरू पनि रहेको भन्ने कतै उल्लेख छैन। जसले गर्दा राम केवल एक छोरा रहेको भान पारिएको छ।  
यस संग्रहको तेस्रो कथा ‘बाई बाई अस्मिता’ पनि आफैमा रोचक छ। यो कथाले एक यस्तो कमजोर पात्रको मनोदसाको बयान गर्छ जसले आफ्नो इच्छा विपरित, आमाबाबुको दबाबमा रहेर दोस्रो युवतीसँग विवाह गर्छ तर प्रेम गरेको पहिलो युवतीसँग विवाह गर्दैनन। अर्कोतिर आफ्नी ती प्रेमिकालाई बिर्सन पनि सक्तैन र उनलाई अर्को देश पुगेको अवस्थामा भेट्न पुग्छ पनि। यस कथाको अर्को पात्र अस्मिता, अर्थात विनयकी प्रेमिका यदि दरो र आँटिलो छन् कि विनयालाई भेट्न वीरगञ्जबाट काठमाडौ एक्लै पुग्छिन र विनयको डेरामा नै रात बिताउँ छिन। विनयको केवल एक कोठे डेरामा (जहाँ उनको भाइ पनि साथै बसेको हुन्छ र अस्मिता पुगेको रात विनयको भाइ अन्त कतै नगएर त्येही डेरामा नै बस्छ) अस्तिताले रात बिताउँ छिन। अस्मितालाई पर पुरुष (विहे नभएको अवस्थाको विनय) सँग रात बिताउन डर लाग्दैन। साथै पर पुरुषको भाइको उपस्थिति पनि डराउने कारण बन्दैन। यस कथाको मुल पात्रको रुपमा रहेकी अस्मिता यथार्थमा नै निकै आँटिलो देखिएकी छिन। एक कमजोर मनोदसाको युवकले दरो निर्णय गर्न नसक्ता उसको जीवनमा कति सम्म ठूलो परिवर्तन आउन सक्छ वा यस्तो गल्ति हुन सक्छ जुन सच्याउन सकिंदैन भन्ने कुरालाई यो कथाले सशक्त किसिमले पेश गरेको छ।
“शुषुप्त यौन” यस सङ्ग्रहको चौथो कथा हो। सामान्य भाषा र शैली प्रयोग गरेर लेखिएको तर एक उत्कृष्ट कथा हो, यो। प्रत्येक व्यक्तिमा यौन आकांक्षा प्रकृति प्रदत्त गुण हो। व्यक्ति विकलाङ्ग भएता पनि उसमा यौन भावना एक सक्षम व्यक्ति सरह नै हुन्छ। विकलाङ्गहरूमा दवित रुपमा भएता पनि, यौन आकांक्षा हरपल जागृत अवस्थामा रहेको हुन्छ। तर अफसोंच! उसको त्यो विकलाङ्गता गर्दा उसलाई आफ्नो यौन आकांक्षा पूरा गर्न कठिन हुन्छ। केही विकलाङ्गहरूले यौन आकांक्षा पूरा गर्न सकेता पनि धेरैले पूरा गर्न सक्तैनन र त्यो यौन कुन्ठाले उसको ज्यान पनि जान सक्छ, पिल्सिएर। यस्तै कथा यो आख्यानले बोलेको छ। एक विकलाङ्ग नवयुवक ‘किरण’ को यौन मनोविज्ञानलाई कथाकारले अति नै शूक्ष्म दृष्टिले हेरेका छन यस कथामा। यस कथा मार्फत कथाकार शूक्ष्म कुरा (विकलाङ्गको यौन कुन्ठा) हेर्न र त्यसको विश्लेषण गर्न सफल भएका छन। हुन त यौनमा अनेक किसिमका कथाहरू लेखिएका छन, तर यो कथा भने फरक शैलीमा लेखिएको छ। र भिन्न किसिमले प्रस्तुत गरिएको छ। 
यस कथाको पाँचौ कथा ‘तमसुक’ आम शोषित, पीडित नेपालीहरूको कथा हो। यो कथालाई प्रतिनिधि कथा बनाएर कथाकारले यस कथा सङ्ग्रहको नाम पनि ‘तमसुक’ राखेको हुनु पर्छ। गाउँ, घरमा त्यस्ता धनी साहु महाजनहरू, जो गरिबको पसिना र रगतमा आफ्नो मुनाफा देख्छन, अहिले पनि प्रशस्त छन। यिनीहरूले गाउँ घरमा समृद्धि ल्याउन होइन उल्टो गरिबी वृद्धि गर्नमा महत्वपूर्ण भूमिका खेलेका छन। गरिबहरूलाई कंगाल, घरवार विहीन तुल्याएका छन। यस किसिमका साहुहरूद्वारा सताइएको एक अत्यन्तै गरिब हर्केको नियतिलाई कथा तमसुकले समेटेको छ। यस कथामा बेइमान साहुहरूले गरिब र निमुखाहरुलाई गर्ने चरम शोषण देखाइएको छ।
यो कथा सलल बगेको छ। यस कथाका पात्रहरूले पनि स्वभाविक रुपमा कार्य गरेको पाइन्छ। तर कथाको अन्त्यमा भने यो कथाले नाटकीय मोड लिन्छ र त्यो नाटकीय मोडले कथालाई हल्का पारि दिन्छ। कथाका मूल पात्र हर्केका दुई छोराहरू- रामे र पुन्टेले थुप्रै पैसा अप्रत्यासित ल्याउँ छन र ऋणमा डुबेका पितालाई ऋणबाट मुक्त पार्छन। कपटपूर्ण ढंगबाट बढाइको साहुको ऋण उक्त साहुलाई भुक्तान गरेर ऋण-बन्दी मात र पितालाई मुक्त पार्छन। तर ती दुई नवयुवकहरू – रामे र पुन्टले कहाँबाट र कसरी त्येति धेरै पैसा ल्याउँ छन कथाले भन्दैन र उनीहरूले चोरी गरेर, लुटेर वा त्यस्तै कुनै अपराध गरेर त्येती धेरै पैसा ल्याएको पाठकले अनुमान गर्नु पर्ने हुन्छ। अर्थात कथाले अनुमान गर्ने बाटो खुलाइ दिन्छ। र यसले गर्दा यस कथाका पात्रहरूले एउटा अपराधको अन्त्य गर्न अर्को अपराध गरेको हो कि भन्ने भान पर्छ। कथाकारले यो पक्षमा ध्यान दिएको भए हुन्थ्यो। कथालाई अलि सन्तुलित पारेर, यो कथा छिटै नसमाप्त पारेको भए हुन्थ्यो।  
आइका’ यस सङ्ग्रहको छैठो कथा हो। यो कथा पढ्दा कथा सामान्य लागेता पनि यो कथा समान्य भने छैन। कथा विशिष्ठ छ। कथाले मानव चरित्रलाई ओजपूर्ण किसिमले विश्लेषण गरेको छ। विश्लेषण के गरेको छ भने कुनै पनि व्यक्ति एकै समयमा दुई संसारमा बाँच्छ। मानिस, कल्पनाको र यथार्थको गरी दुई संसारमा बाँचिरहेको हुन्छ। कल्पनाको संसारमा व्यक्तिले आफूलाई कहिले कहाँ, कहिले कहाँ, पुगेको कहिले के गरेको, आदि आदि देख्छ। र सत्य के हो भने जो सुकै (व्यक्ति) पनि एकै साथ कल्पनाको र यथार्थको संसारमा भने अवश्य बाँचेको हुन्छ। यसैगरी, कल्पनाको संसारमा बाँचेर जीवनमा आनन्द उठाउने एक युवकको स्थितिलाई यो कथाले वर्णनन् गरेको छ।
सातौ कथा पनि रोचक छ। यो कथाले आजभोलि व्यक्तिहरूले फेसबुकको कसरी दुरुपयोग गरि रहेका छन भन्ने कुरा दर्शाएको छ। यो कथामा एक प्रौढ व्यक्तिले एक नव युवतीको यौन शोषण गरेको विवरण छ र शोषण गर्न सजिलो पारिदिने माध्यम फेसबुक बनेको छ। केवल फेसबुकमा कुराकानी भएको भरमा मात्र कसै उपर विश्वास गर्न हुँदैन भनी यो कथाले बलियो गरी सन्देश दिएको छ। साथै, आजभोलि नेपालमा, अमेरिका पस्ने बहुसंख्यक व्यक्तिहरूको एक आम सपना हुन पुगेको छ र यो सपना पूरा गर्न युवा, युवतीहरू जे जस्ता जोखिमहरु लिन पनि तयार छन भन्ने कुरा पनि यो कथाले बलियो गरी दर्शाएको छ। यो कथा अति नै समसामयिक छ र खास गरी युवापिढीले पढ्न आवश्यक छ।  
एक अति रोचक स्थितिको बयान गरेको छ यस सङ्ग्रहको आठौ कथा ‘अङ्गुरको रस’ ले। यो कथा पनि एक विशिष्ठ कथा हो। जीवन र जगत्लाई यी कथाकारले कतिसम्म शूक्ष्म किसिमले हेरकेका रहेछन भन्ने कुराको पुष्टि यस कथाले गर्दछ। कथाकार केवल एक अवलोकनकर्ता मात्र होइन रहेछन, अन्वेषक पनि रहेछन, यो कथाको प्रस्तुतिले यस्तै भन्छ। कथाकारले यो कथाको माध्यमबाट ‘धार्मिक प्रवृति’ र ‘धर्म-वृति’ दुई पृथक पृथक कुरा हो भन्ने रहस्य उद्घाटन गरेका छन्।
कथाकार पदम विश्वकर्मासङ्ग अनेक जीवनका अनेक अनुभवहरू छ। कतै उनले कथाको खोजि गरेको पनि पाइन्छ भने कतै उनले एक सामान्य परिस्थितिलाई विशेष किसिमले अवलोकन गरेर कथाको रुप दिएको पाइन्छ। यस किसिमबाट, पदम विश्वकर्मा, कथा लेखनको प्रारम्भमा नै एक राम्रो कथा सिल्पी बनेका छन।
यस सङ्ग्रहको नवौं कथा ‘द लास्ट मैन एट द होटेल’ प्रस्तुतिको दृष्टिकोणले एक कमजोर कथा हो। सामाजिक कथा जस्तो देखिएता पनि यो एक यौन कथा हो तर कथामा यौन पक्षलाई फितलो किसिमले प्रस्तुत गरिएको छ। कथाको मूल पात्र राजीव हो वा अर्को पात्र वन्दना हो छुट्याउन कठिन त छ नै, साथै राजीवबाट वन्दनाले यौन आकांक्षा पूरा गर्न खोजेको हो वा राजीवप्रति प्रेम दर्शाउन खोजेको हो बुझ्न कठिन हुन्छ वा परिएको छ। यदि यौन आकांक्षा पूरा गर्न खोजेको हो भने वन्दनालाई राजीव बाहेक अन्य पुरुषहरू पनि उपलब्ध हुन सक्थ्ये। यो कथा एक सशक्त यौन कथा हुन सक्थ्यो तर कथाकारले त्येता पट्टी ध्यान न दिए जस्तो देखियो। भविष्यमा कथाकारले यस्तो कमजोरी तर्फ ध्यान दिनु पर्ने देखिन्छ।
यस सङ्ग्रहको दसौं कथा रहेको छ, ‘खाडीबसाइको मूल्य’ जुन एक सामाजिक कथाझै प्रतीत हुन्छ तर कथाको विषयवस्तुले यो यौन कथा रहेको संकेत गर्छ। त्यसकारण यो यौन कथा पनि हो, सामाजिक कथा पनि हो।
यस कथामा उठान् गरिएको विषय वस्तु पुरानै भएता पनि यसले नेपाली समाजलाई अहिलेसम्म पनि पिरोलीरहेको छ। स्वदेशमा रोजगारी नपाएर नेपाली युवाहरू मुख्यत: खाडीका देशमाहरूमा जानु पर्ने वाध्यता एकातिर छ भने अर्कोतिर रोजगारीका लागि खाडी पुगेका युवाहरूका पत्नी जो स्वदेशमा रहेका छन उनीहरूले कुण्ठित यौन जीवन बिताउनु पर्ने समस्या छ। र यो समस्याले गर्दा नेपालमा रहेका केही पत्नीहरूले पर पुरुष सँग यौन सम्पर्क गर्नु परेको वा दोस्रो विवाह गर्नु पर्ने जटिल स्थिति सृजना भएको छ। यो स्थितिलाई कथाले सशक्त किसिमले उठाएको छ। प्रख्यात अमेरिकी मनोविज्ञानविद् अब्राहम मज्लो भन्छन, ‘यौन पनि व्यक्तिहरूको निद्रा, भोजन, आराम जस्तै आधारभूत आवश्यकता हो। यो आवश्यकता पूर्ति नहुँदा व्यक्ति कुण्डित हुन पुग्छ।’ त्यसकारण परदेसिएका पत्नीहरूले पर पुरुषसँग यौन सम्बन्ध राख्नु अपराध होइन, यस्तो विचार राख्नेहरू पनि धेरै छन। अर्कोतिर स्वदेशमा रोजगार नभएर युवाहरू विदेश जानु नै पर्ने वाध्यता छ। यो जटिल विषय यस कथाको आधारभूमि बन्न पुगेको छ। सामाजिक समस्यालाई बलियो गरि उठाउने श्रेयता यो कथाले पाएको छ।
एघारौं कथा ‘कुलतले भत्काएको घर’ एक समाजिक कथा हो। यो कथामा, नेपालमा रहेका भुटानी शरणार्थीहरूको समस्या सहित अनेक विभिन्न समस्याहरूको चर्चा गरिएको छ। नेपालबाट अमेरिका आइपुगेका भुटानी शरणार्थीहरूले अमेरिका बसाइको क्रममा भोग्नु पर्ने अनेक समस्याहरू पनि देखाइएको छ। अमेरिका आए पछि जीवन सरल हुन्छ भन्ने आम धारणा सही होइन पनि भन्न खोजिएको छ। तर यस कथाको मूल विषय भने कुलतमा फंसेको व्यक्तिले आफ्नो मात्र होइन परिवारको भविष्य समेत पनि खराब पार्छ भन्ने रहेको छ। यस कथाको मूल पात्र लक्मीकान्तको जीवन पनि कुलतले गर्दा बरबाद भएको छ। अमेरिकामा बस्ने सबै नेपाली (भुटानी शरणार्थी सहित) हरूको जीवन सरल छैन भन्ने कुरा यो कथाले कुशलतापूर्वक चित्रित गरेको छ। यो एक औसत कथा हो। यस कथमा पात्रहरूको मनोविज्ञानको विश्लेषण भन्दा पनि कथाकारले कथाका पात्रहरूले जे गरेका छन त्येही लेख्ने प्रयास गरेका छन्। कथा लेखनको यो एक राम्रो शैली हो।
अति समृद्धिले दु:ख ल्याउन सक्छ। दु:खी जीवन भित्र सुख पनि हुन सक्छ। यस विचारको प्रमाण पेश गर्दै कथाकार, यो कथा मार्फत भन्छन- कथाका मूल पात्र लक्ष्मीकान्त बरु गरिबीको अवस्थामा नेपालमा बाँचेका त थिए तर अमेरिका आएर, अति समृद्धिले गर्दा मरे। आर्थिक समृद्धि नै उनको मृत्युको कारण बन्यो।
बार्हौ कथा ‘पीडामय दामपत्य जीवन’ यस सङ्ग्रहको एक सामाजिक कथा हो र यसले एक ग्रामिण परिवेसलाई प्रतिनिधित्व गरेको छ। शीलवान भन्दा पनि धनवानसँग छोरीको विवाह गराएर सन्तानको भविष्य सुरक्षित देख्ने आमाबाबुले आफ्नो सन्तान (छोरी) को भविष्य बरवाद गरेको स्थितिलाई यो कथाले प्रभावकारी किसिमल चित्रित गरेको छ। हाम्रो समाज लोभी समाज हो। आफूले कठोर परिश्रम गरेर धन आर्जन गर्नु भन्दा पनि धन कसरी अप्रत्यासित रुपमा हात पार्न सकिन्छ भन्ने हाम्रो सामाजिक मनोविज्ञान पनि हाम्रो पछौटेपनको कारण हो। हामी कर्म भन्दा भाग्यमा विश्वास गर्छौ जुन गलत हो। यस्तो सन्देश पनि यो कथाले दिन्छ। साथै गाउँघरमा पुरुषहरुले गर्ने महिला शोषणका मुद्दाहरू पनि यो कथाले उठाएको छ। यो कथा गाउँघरमा देखिने सामान्य कथा हो र यो कथमा कथा-शिल्प कमजोर रुपले प्रस्तुत भएको छ।   
“पनाको देशमा कष्टकर जीवन” यस सङ्ग्रहको तेर्हौ कथा हो र अत्यन्तै उपयोगी कथा हो। यस्ता कथाहरू खुब लेखिनु पर्छ। नेपालको कष्टकर जीवन, अभावयुक्त जीवन, सङ्घर्षमय जीवन भन्दा अमरिकासको सुविधायुक्त जीवन अत्यन्त सुन्दर हो। आम नेपालीमा व्याप्त यो भावना पूर्णतया गलत हो। अमेरिकाको सुविधयुक्त जीवन पाउन सङ्घर्षको एउटा विशाल पहाड नै फोड्नु पर्छ भने अनेक ठूल ठूला त्यागहरू पनि गर्नु पर्छ। र ती त्यागहरू यस्ता हुन्छन जसको पूर्ति यो जीवनकाल भरिमा गर्न सकिंदैन। आफ्नो माटो, आफ्नो समाज, परम्परा, संस्कृति आदि सबै स्वदेशमा छाडेर विदेशमा नितान्त एक्लो, निरस जीवन बिताउनु पर्छ, अमेरिकामा। यो स्वयं यो समीक्षकले अनुभव गरेको तथ्य हो।
यो कथामा पनि कथाकारले प्रश्न गरेका छन्- नेपालमा कष्टकर जीवन बिताएर बाँच्न पाएको स्थिति ठिक वा अमेरिकामा आएर सुविधायुक्त जीवन बाँच्न पाउँला भन्ने आशमा दियोको छेउमा पुगेर पुतलीझै डढेर मर्नु उचित। डीभी परेर अमेरिका आएका यस कथाका मूल पात्र वशन्त सवारी दुर्घटनामा परेर मरेका छन। उनी यदि नेपालमा भइदिएको भए जोखिमयुक्त जीवन बाँच्नु नपरेर, बाँचेका हुन्थे। यसरी नै, अमेरिका आएका वशन्तकी श्रीमती निशाको जीवन पनि अमेरिकामा अति नै कष्टकर हुन पुगेको छ। उनी नेपालमा भइदिएको भए त्यस्तो हुने थिएन।
यथार्थ के हो भने स्वयं अमेरिकीहरूले पनि यस्तो आर्थिक समृद्धि पाउन जीवनका अनेक सुखहरू र शान्ति समेत पनि गुमाएका छन्। अमेरिकीहरूको जीवन पनि सुखमया छैन, बाहिरबाट देखिए जस्तो। अमेरिकीहरूले अनेक सामाजिक समस्याहरू भोगिरहेका छन्। यस्तै सन्देश यो कथाले अविष्मरणीय गरी पाठकहरूलाई दिएको छ।
यस सङ्ग्रहको चौधौं कथाको रुपमा रहेको छ ‘हुनेवाला ज्वाइँ’ कथा। यो कथाको खास विशेषता के छ भने यस कथाका घटनाहरू नाटकीय किसिमले अगाडि बढ्छन। र यो कथा, यथार्थ भन्दा पनि कथाकारको कल्पना हो कि जस्तो लाग्छ किनभने कथाका पात्रहरू आफ्नो स्वभाविक प्रवृति अनुसार सञ्चालित नभएर कथाकारको निर्देशन अनुसार सञ्चालित भएको पाइन्छ। कथाकारले पात्रहरूलाई यसो गर, उसो गर भनेको र पात्रहरूले पनि त्यसै अनुसार गरेको पाइन्छ। फरकधारका कथाकारहरूले भने कथाका पात्रहरूले जे गरेका हुन्छन, उनीहरू (कथाकारहरू) ले केवल त्येही कुरा प्रस्तुत गर्छन र आफू केवल एक प्रस्तोता मात्र बनिदिन्छन। कथा त्यस किसिमबाट पनि लेखिएको पाइन्छ।
यस कथामा नेपालका एक युवक र अमेरिकामा बस्ने एक नेपाली युवतीको प्रेम र बिछोड प्रस्तुत गरिएको छ। र त्यो बिछोड ती युवा युवतीका लोभी पिताहरूको कारणले गर्दा भएको छ। कथाको मूल सन्देश भने लोभले गर्दा मानिसले तुच्छ काम पनि गर्न पुग्छ भन्ने रहेको छ। यो कथा आफैमा रोचक पनि छ।  
यस कथा सङ्ग्रहको पन्ध्रौं कथा ‘किड्स डैड’ अमेरिकी पात्रहरूको जीवनमा आधारित कथा हो। कथामा वर्णनन् गरिए अनुसार ‘किड्स डैडको आसय हो,  ऊ मेरो बच्चाको पिता हो तर ऊ मेरो पति भने होइन। यस किसिमको जीवन पद्धति अमेरिकी जीवनको विशेषता हो। पतिलाई पारपाचुके दिएर ‘ब्वाइ फ्रेन्ड’ सङ्ग बस्नु र पहिलो ब्याइ फ्रेन्डसँग कुरा नमिले दोस्रो ब्याइ फ्रेन्डसँग बस्नु अमेरिकी जीवनमा सामान्य कुरा हो। पतिको मृत्यु भएमा महिलाले तुरुन्त विहे गर्नु पनि सामान्य कुरा हो, अमेरिकी जीवनमा। यस कथाको मुल पात्र तानिया पनि एक स्वतन्त्र महिला हुन जसको पूर्व पति पनि सम्पर्कमा छ र बस्न पनि आफ्नो ब्याइ फ्रेन्डसँग बसिरहेकी छिन। यो कथाको मूल आशय के हो त्यो बुझन गार्हो छ र मूल आशय या त कथाकारलाई थाहा होला वा पाठकहरू स्वयंले पत्ता लगाउनु पर्ने हुन्छ। एक समीक्षकको आँखामा भने यो कथाले अमेरिकी महिलाहरूको स्वतन्त्र एवं निर्भिक जीवन देखाउन खोजेको छ। र यस किसिमको जीवन महिलाहरूको लागि विश्वका अन्य मुलुकमा नरहेको देखाउन खोज्नु पनि हो।  
यस सङ्ग्रहको सोर्हौ कथा ‘कर्णेलको छोरा’ आम लाहुरेहरूको प्रतिनिधि कथा हो। ब्रिटिस-गोर्खामा भर्ना भएर आर्थिक जीवन सरल पार्ने सपना देख्ने पिताहरूका नेपालमा रहेका सन्तानहरूले कसरी उज्यालो त्यागेर स्वेच्छाले अँध्यारो रोज्छन र आफ्नो सुनौलो जीवन बरबाद पार्छन भन्ने स्थिति यो कथामा देखाइएको छ।
लाहुरेहरूको सामाजिक जीवनमा पहिलो पुस्ता (जो सेनामा भर्ना भएको हो) ले कठोर परिश्रम र ठूलो सङ्घर्ष गरेर आफ्नो जीवन सफल र सार्थक तुल्याउँदै परिवारमा खुसी ल्याउन खोज्छ भने दोस्रो पुस्ता (लाहुरेका सन्तानहरू) ले आफ्नो पिताको त्यो परिश्रम र सङ्घर्षलाई बुझिदिंदैन। पिताकोको आम्दानीलाई खराब कुराहरू (चुरोट, रक्सी, गाँजा, लागू पदार्थ खान) मा प्रयोग गर्छ भन्ने कुरा कथाकारले यो कथामा प्रभावकारी किसिमले देखाउन खोजेका छन्।
आफू (मातापिता) ले राम्रो आम्दानी गरेर सन्तानलाई सुसंस्कृत तुल्याउन सकिंदैन बरू निर्धनतामा रहेर नै पनि आफूले राम्रो संस्कृति दिएर सन्तानलाई सुसंस्कृत तुल्याउन सकिन्छ भन्ने सन्देश पनि यो कथाले दिएको छ। 
रक्सीमा डुबेको जीवन’ यो सङ्ग्रहको सत्रौं कथा हो। भुटानबाट निर्वासित भएर नेपाल पसेका अनि नेपालबाट अमेरिका आउन पुगेका भुटानी-नेपालीहरूका अमेरिकी जीवनका अनेक दु:खान्त कथाहरू मध्ये एक कथालाई ‘रक्सीमा डुबेको जीवन’ ले समेटेको छ। कथाको मूल पात्र आकास, जो नेपालबाट भुटानी शर्णाथीको रुपमा अमेरिका आएको छ, ले अमेरिका जस्तो सम्भावनाले भरिएको देशमा आएर पनि आफ्नो जीवन रक्सीको कुलतमा परेर बर्बाद गरेको छ। जीवन समाप्त पारेको छ। यो स्थितिलाई यो कथाले मार्मिक किसिमले देखाएको छ। तर आकास अमेरिका आएर कसरी रक्सीको कुलतमा पर्न जान्छ भन्ने कुरा यो कथाले नभनेको हुनाले (यो) कथा विशेष कथा हुने सामाग्री हुँदा हुँदै पनि एक सामान्य वा औसत कथा हुन पुग्छ। कथाकारले यस्तो विषयमा ध्यान दिनु पर्ने देखिन्छ।
अठारौं कथाको रुपमा ‘जोन, जसिका र जेकब’ रहेको छ। र यो कथाले स्वतन्त्र, स्वछन्द एवं उन्मुक्त अमेरिकी जीवनको बयान प्रभावकारी किसिमले गरेको छ।
अमेरिकीहरू समाजिक नियमका लागि होइन आफ्नो रहर र इच्छाका लागि बाँच्ने गर्छन। सामाजिक नियमको घेरा भित्र रहेर होइन आफ्नो चहनाद्वारा निर्देशित भएर बाँच्न चाहन्छन। अमेरिकी जीवनका अनेक सामाजिक समस्याहरू त छन तर अमेरिकी जीवनमाथि कसैको (समाज, परम्परा, धर्म, संस्कृति) अंकुस छैन। हरेक अमेरिकन आफ्नो इच्छा अनुसार बाँच्न स्वतन्त्र छ र उसको त्यो स्वतन्त्रता माथि न त समाज र न त परिवारले नै चियो चर्चा वा टिका टिप्पणी वा आलोचना गर्छ। यस्तै कुराहरूलाई यो कथाले सन्देशको रुपमा प्रस्तुत गरेको छ।
‘दुर्घटित सपना’ यस सङ्ग्रहको उनाइसौं कथा हो। नेपालबाट अमेरिका पढ्न आउनेहरूका लगि अमेरिकामा पढ्न सजिलो छैन। मुख्य गरी आर्थिक समस्याले गर्दा नेपालबाट अमरिका पढ्न आएका नेपाली युवाहरूमा विचलन ल्याइ दिन्छ। कतिपयको अमेरिका बसाइ गैर कानूनी हुन पुग्छ। कतिपयले पैसाको समस्याले गर्दा अध्ययन गर्न सक्तैनन। गैर कानुनी रुपमा काम गर्न थाल्छन। कतिपयमा घोर निरासा उत्पन्न भएर सडकमा मगन्ते हुन पुग्छन भने कतिले आत्म हत्या समेत गरेका छन्। यी तथ्यहरूलाई यो कथाले बयान गरेको छ। यो कथा सत्य घटनाहरूको वरिपरि घुम्दछ।
माओवादीले आरम्भ गरेको अति रक्तपातपूर्ण हिंसाले गर्दा देशको शिक्षा क्षेत्र तहस नहस भएको र त्यसले गर्दा चरम निराशामा डुबेका युवाहरू स्वेच्छाले नभइ बाध्यतावस अमेरिका आएका तथ्य पनि यो कथाले दर्शाएको छ। कथा सुन्दर, सन्देशमूलक छ।
अन्य देशमा पुगेर नेपाली प्रतिभाहरू पीडित एवं कुण्डित हुनु भन्दा स्वदेशमा नै रहेर कुनै रचनात्मक कार्यमा लाग्नु बेस भन्ने सन्देश पनि यो कथाले दिएको छ। यो कथाको विषय वस्तु नौलो भने होइन।
यस सङ्ग्रहको बिसौं कथा ‘तथाकथित बुद्धिजीबीको सोंच’ मा नेपालमा जातीय एवं छुवाछुत भावले समाजमा कतिसम्म जरा गाडेको छ भन्ने कुरा अति नै प्रभावकारी किसिमले दर्शाइएको छ। यो कथालाई यस सङ्ग्रहको सुन्दर कथाको रुपमा लिन सकिन्छ। यस कथामा मूल रुपमा दुई तथ्यहरू प्रस्तुत गरिएको छ। पहिलो तथ्य, नेपालमा आफूलाई शिक्षित एवं बुद्धिजीवी भन्ने केही व्यक्तिहरू अहिले पनि जातीय विभेद ल्याउने कार्यमा सक्रिय छन्। जातीय सद्भाव-व्यवहार उनीहरूद्वारा प्रस्तुत गरिने केवल एक नाटक हो। ढोंग मात्र हो। दोस्रो, अमेरिका, ग्रेट ब्रिटेन, क्यानाडा, जर्मनी, फ्रान्स जस्ता विकसित मुलुकहरू, जहाँ जातीय भेदभाव छैन, मा बस्ने केही नेपालीहरू जातीय विभेद कार्यमा दृश्य र अदृश्य किसमले र सक्रिय रुपले पनि, लागेका छन तर त्यो कार्यलाई ढाकछोप गर्न सफल पनि भएका छन। तर आफ्नो त्यो ढोंगप्रति उनीहरूमा रत्ति पनि पश्चातभाव छैन।
जातीय विभेद-भावना रोग नेपालीहरूको लागि एक अत्यन्तै गम्भीर रोगको रुपमा रहेको छ। र यो रोगबाट अहिले पनि धेरै नेपालीहरू पीडित छन। यो भावनाबाट पीडित रोगीहरूले सयौंको ज्यान केवल जातीय द्वेषको कारणले लिएका छन्।  यो कथा यसै तथ्यको वरिपरि घुम्दछ।
यस सङ्ग्रहको एकाइसौं कथा ‘जेम्स होम र सेन्चुरी ट्वान्टी फस्ट’ अन्य कथाहरू भन्दा नितान्त पृथक किसिमको रहेको छ किनभने यो कथाको आधारभूमि कथाकारको कल्पना नभएर यथार्थ घटना रहेको छ। यस कथाको विषय-वस्तु अमरिकाको कोलोराडो राज्यको अरोरा सहर स्थित एक चलचित्र घरमा भएको एक विभत्स गोली-काण्ड रहेको छ। यस घटनामा, सिनेमा हेर्न आएको एक युवक, जसको नाम जेम्स होम  रहेको छ, ले हल भित्र, निरुउद्देश्य, अन्धाधुन्ध किसिमले (अत्याधुनिक बन्दुक प्रयोग गरी) गोली चलाउँदा, चलचित्र घर भित्र, चलचित्र हेरिरहेका २६ जना (विकीपेडियामा १२ जना लेखिएको छ) को ज्यान गएको छ। यो घटना जुलाई २०, २०१२ मा घटेको थियो।  होम, एक मानसिक रोगी थिए र त्यो आधारमा उनलाई सजाएँमा केही सहुलियत दिनु पर्छ भन्नेहरू पनि थुप्रै थिए।
अति नै ठूलो, विभत्स, जघन्य अपराध गरेको हुनाले जेम्स होमले कहिले जेलबाट नछुट्न सक्ने गरि आजीवन कारावासको सजाएँ पाए। उनले १२ ओटा जन्म कैद तथा थप ३ हजार ३ सय १८ वर्षको करारागार सजाए पाएका थिए जुन कुरा विकिपेडियामा उल्लेख छ।
‘गन भाएलेन्स’ अमेरिकाका लागि एक गम्भीर समयस्या रहेको छ। बिना कुनै उद्देश्य पनि, अमेरिकामा गोली हान्ने घटना घटित हुन्छ किनभने यहाँ बन्दुक राख्न सजिलो छ, धेरै किसिमका कानूनी झन्झट छैन। कतियप व्यक्तिहरू के भन्छन भने बन्दुक आफूसँग राख्न पाउनु अमेरिकीहरुको स्वतन्त्र अधिकार हो, भने केही भन्छन बन्दुक राख्न सजिलो भएको हुनाले नै अमेरिकामा गोलीबारीको घटना बढी हुने गरेको हो। यस्ता विषयहरूलाई प्रस्तुत गर्नु नै यस कथाको उद्देश्य रहेको छ।
यो कथामा कथाकारले केवल एक घटनाको विवरण मात्र पेश गरेको पाइन्छ। कथामा उनको आफ्नो कथा शिल्पको प्रयोग भएको पाइँदैन। तर कथा शिल्प प्रयोग गर्न पाउने औसर भने कथाकार सँग पर्याप्त मात्रमा थियो किनभने यो कथा हो, कथामा कल्पना प्रयोग गर्न पाइने छुट हुन्छ। तर पनि, कथाकारले यस कथा मार्फत अमेरिकाको एक गम्भीर समस्या प्रस्तुत गरेका छन जुन अमेरिका बाहिरका पाठकहरूका लागि जानकारीमूलक हुन सक्छ।
कथा ‘प्रतिज्ञा’ यस सङ्ग्रहको बाइसौं कथा हो। यो एक प्रेम कथा हो। साथै सुखान्त कथा पनि हो। यो कथाका प्रमुख पात्र द्वय विमला र प्रतीकले प्रेम गर्छन। प्रेम पश्चात विवाह पनि गर्छन। अर्थात एकले अर्कोलाई धोखा न दिएर विवाह गर्छन, विवाह गर्ने प्रतिज्ञा पूरा गर्छन। यो कथाको मूल सन्देश भनेको सबै कथाहरू केवल दु:खान्त एवं समस्याको दस्तावेज मात्र हुँदैनन। केही कथा सुखान्त एवं समाधान दिने किसिमका पनि हुन्छन। सुखद हुन्छन। यो एक सामान्य कथाको।
‘छायाँको भुत’ कथा यस सङ्ग्रहको अन्तिम कथाको रुपमा रहेको छ। यो कथा एक किसिमले संस्मरण जस्तो लाग्छ। यस कथामा मानिसले कुनै वस्तुको यथार्थ रुप देख्न नपाए पछि त्यसको अनेक अर्थ (विभिन्न रुप रहेको अनुमान) लगाउँछ भन्ने कुरा देखाउन खोजिएको छ।
हुन पनि, कुनै पनि व्यक्तिले भुत देखेको हुँदैन तर भूतको अनेक रुप रहेको कल्पना गर्छ। भूतसंग अनेक शक्ति रहेको कल्पना गर्छ। भुत यथार्थमा न भएता पनि भुत रहेको अनेक अनुमान एवं कल्पना गर्छ किनभने उसले भुतको बारेमा सुनेको हुन्छ तर देखेको भने हुँदैन।
यस कथामा, कथाको विश्लेषण गर्दा, कथाका मूल पात्रको पिता निकै निर्दयी एवं स्वार्थी देखिएका छन। समाजमा त्यस्ता धेरै माता पिता पनि छन जो सन्तानको लागि स्वार्थी छन। सन्तानसँग स्वार्थी व्यवहार गर्छन। यो कथाले माता पिता जति सबै असल हुन्छन भन्ने परम्परागत मान्यता न राख्न पनि पाठकहरूलाई आग्रह गरेको छ। 
यस सङ्ग्रमा समाविष्ठ कथाहरू लामा लामा छैनन। पढ्दा पट्यार लाग्दैन। कथाहरूले अनेक विषय र क्षेत्रहरू समेटेकाले कथाहरू रोचक छन। विषयप्रधान छन्।
विश्वकर्माका कथाहरू पढ्दा यिनले जीवनमा निकै संघर्ष गरेको पाइन्छ। र संघर्षको क्रममा उनले संगालेका अनुभवहरुले नै कथाको रुप लिएको अनुभव गर्न सकिन्छ।
विश्वकर्माका कथाका पात्रहरू अति सामान्य छन। ती पात्रहरूले सामान्य जीवनका प्रतिनिधित्व गरेका छन्। त्यसकारण उनको यो संग्रह आम नेपालीको प्रतिनिधि कथा हुन पुगेको छ।
व्यक्तिगत रुपमा पनि विश्वकर्मा एक अति नै भद्र व्यक्ति हुन। सबैको भलो चिताउने मनोविज्ञानले उनको एक खास किसिमको व्यक्तित्व निर्माण गरेको छ। सरल र मृदु भाषी पदम विश्वकर्मासँगको छोटो समयको सम्पर्कमा पनि, कोही पनि व्यक्ति, उनीबाट प्रभावित हुन पुग्छ।  यस्तो कुरा पनि कृति समीक्षा गर्दा उल्लेख गर्नु पर्ने देखिन्छ। कतिपय कृतिकारका कृतिहरू आदर्शले भरिएको हुन्छ तर उनीहरूको व्यवहार भने विपरित हुन्छ। अनेक किसिमका शुभ लाभमा लागेका हुन्छन।
विश्वकर्माका कथाहरूमा भाषागत त्रुटी एवं कथ्य शैलीको कतै कतै अभाव देखिन्छ। यसै गरी, कतै कथाको सङ्गठनाम ध्यान दिन नसकेको देखिन्छ। उदाहरणको लागि पृष्ठ २०२, कथा ‘तथाकथित बुद्धिजीवीको सोंच’ मा, पहिलो पाराग्राफमा यसरी भनिएको छ, ‘प्रतीक समाजसेवाको क्षेत्रमा निकै योगदान गर्दै आएको व्यक्ति थियो। ऊ साहित्यिक क्षेत्रमा पनि निकै कहलिएको छ।’ यहाँ एउटै स्थिति (एउटै काल) को बयान गर्न दुई कालहरू- भूत र वर्तमान, प्रयोग गरिएको छ। यसले गर्दा कथाको सङ्गठन फितलो हुन पुगेको छ। कथाकारले यस तर्फ ध्यान दिनु पर्ने देखिन्छ। हुन त कथाकार स्वयंले भनेका छन् ‘कथा विधामा यो मेरो पहिलो प्रयास हो। पहिलो कृतिमा अनेक गल्ती तथा कमजोरी पनि हुन सक्छन। मेरा गल्ती, कमजोरीहरूलाई औंल्याउँदै रचनात्मक सुझाब दिई मलाई यस यात्रामा प्रोत्साहन दिनुहुनेछ भन्ने विश्वास मैले मेरा आदरणीय पाठकहरूबाट गरेको छु।’
कथाकारको उपरोक्त भनाइबाट उनी खुला हृद्यको भएको र आफ्ना कमजोरीहरू स्वीकार्न तयार रहेको ज्ञात हुन आउँछ। साहित्यकारहरूमा यस किसिमको विशेषता हुन राम्रो कुरा हो।
यस्तो भन्नु विश्वकर्माको भद्रता हो। कथाकारको सफलताको म हार्दिक कामना गर्दछु।

(c) Bishwa Raj Adhikari

Friday, May 22, 2020

Nepalese Govt Not Serious About Workers Trapped Abroad-Article-278


विदेशमा अलपत्र परेका नेपाली श्रमिकबारे सरकार के भन्छ?

नेपालको जनशक्तिको ठूलो भाग अहिले स्वदेशमा होइन, विदेशमा कार्यरत छ। यो कुनै नौलो कुरा होइन, सबैलाई ज्ञात भएको कुरा हो। नेपालको अर्थतन्त्र विप्रेषण (Remittance )मुखी रहेको कुरा पनि पुरानै हो। नौलो कुरा के छ भने रोजगारका लागि विदेश पुगेका र अहिले कोभिड–१९ को महामारीले गर्दा अलपत्र परेका नेपाली श्रमिकहरूको स्थितिबारे सरकार पूर्णरूपमा उदासीन छ। विदेशमा उनीहरू कुन अवस्थामा छन् भन्ने कुरासम्म सरकारले जान्न खोजेको छैन । देशलाई ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गर्न सहयोग पुर्याउने एवं राष्ट्रिय आयमा उल्लेखनीय योगदान पुर्याउनेप्रति यो सरकार संवेदनशील हुन सकेको छैन। सरकार किन यसरी संवेदनहीन भएको होला?
    नेपालका लाखौं परिवारको घर खर्च अहिले वैदेशिक रोजगारबाट प्राप्त आयले चलेको छ। अतिविपन्न परिवारका लागि आयको स्रोत पनि अहिले वैदेशिक रोजगार नै भएको छ। यसरी राष्ट्रिय अर्थतन्त्रलाई दरो गरी उभ्याउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रवासी नेपाली श्रमिकप्रति नेपाल सरकार किन यति संवेदनहीन भएको होला? चासो र चिन्ताको विषय भएको छ।
    सरकारलाई राम्ररी थाहा छ, नेपालका बजार, काठमाडौं होस् वा वीरगंज अथवा विराटनगर वा यस्तै अन्य शहर गुलजार बनाउन विदेशबाट कमाएर ल्याइएको पैसाले ठूलो योगदान पुर्याएको छ। गाडी चलाउन इन्धनले काम गरेझैं गरेको छ। रोजगारका लागि विदेश पुगेकाहरूको राष्ट्रिय अर्थतन्त्रको विकासमा यति ठूलो योगदान हुँदाहुँदै पनि उनीहरूप्रति सरकार किन यति गैरजिम्मेवार भएर प्रस्तुत भएको होला? सरोकारवालाहरू जान्न व्यग्र छन्, चिन्तित छन्।
    यस्तो चिन्ता किन व्यक्त गरिएको हो भने हालै नेपाल सरकारले सार्वजनिक गरेको ‘आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रम’मा विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरूलाई नेपाल ल्याउनेबारे सरकारले कुनै ठोस सोच वा योजना अगाडि सारेको छैन। उनीहरूलाई नेपाल ल्याउन के कस्तो योजना वा नीति छ, त्यो उल्लेख गरेको छैन। विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरूको स्थितिप्रति नेपाल सरकार दुःखित छ भन्ने कुरा प्रस्तुत नीति तथा कार्यक्रममा कतै देखिएको छैन।
    मानौं सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा विदेशमा रहेका नेपाली श्रमिकबारे उल्लेख छैन तर पनि स्थिति सामान्य हुनासाथ सरकारले विदेशमा अड्किएका श्रमिकहरूलाई नेपाल ल्याउला र, त्यस किसिमको योजना सरकारसँग छ। तर स्वदेश फर्कने ती श्रमिकहरूको रोजगारको व्यवस्थाका लागि सरकारले के गरेको छ त? यो अत्यन्तै महŒवपूर्ण कुरा, सो नीति तथा कार्यक्रममा कहीं, कतै उल्लेख गरिएको छैन। किन होला?
    विश्व परिस्थितिमा आएको अचानक एवं अनौठो परिवर्तनले गर्दा विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरूलाई पुनस्र्थापन गराउने दायित्व सरकारको हो। यो दायित्वबाट सरकार उन्मुक्त हुन सक्तैन। सरकारले अभिभावकको दायित्व निर्वाह गर्नुपर्छ। तर नीति तथा कार्यक्रममा सरकारले उक्त दायित्व निर्वाह गरेको देखिएको छैन। त्यस्तो महसूस गर्न सक्ने स्थिति पनि छैन।
    कोभिड–१९ को महामारीको कारणले गर्दा रोजगार गुमाएर स्वदेश फर्केका वा फर्कने नेपालीहरूलाई स्वदेशमा रोजगार उपलब्ध गराउने विषय सामान्य होइन, अत्यन्तै महत्वपूर्ण एवं विशिष्ट हो। विश्वका अनेक मुलुकका वैज्ञानिकहरू कोरोना भाइरसको खोप विकासमा पूर्ण सक्रियता एवं गम्भीरतापूर्वक लागे तापनि यो भाइरसको जटिल प्रकृतिले गर्दा आउने छ महीनासम्म खोप विकास हुने सम्भावना देखिएको छैन। त्यस्तो खोपको विकास गर्न महीनौं लाग्न सक्छ। यस्ता कुरा त्यस क्षेत्रका विज्ञहरूले भनिरहेका छन्। त्यस कारण अन्तर्राष्ट्रिय श्रम बजार नेपाली श्रमिकहरूका लागि लामो समयसम्म प्रतिकूल हुन सक्छ। नेपाली श्रमिकहरूको अन्तर्राष्ट्रिय बजारमा पहुँच लामो समयका लागि अवरुद्ध हुन सक्छ। यसरी यो स्थितिले गर्दा अन्तर्राष्ट्रिय श्रम बजारबाट विस्थापित नेपाली श्रमिकलाई राष्ट्रिय श्रम बजारमा पुनस्र्थापित गराउनु सर्वाधिक महत्वपूर्ण एवं गम्भीर विषय हुन पुगेको छ। तर अचम्म! यति गम्भीर विषयप्रति सङ्घीय सरकार अनभिज्ञझैं प्रतीत भएको छ। किन होला? यो समस्याको गुरुत्वको ज्ञान नभएर वा बेवास्ता नै गरेको हो?
    अन्तर्राष्ट्रिय श्रम बजारमा विस्थापित भएका वा हुने नेपाली श्रमिकहरूलाई राष्ट्रिय श्रम बजारमा पुनस्र्थापित गराउने जिम्मेवारी सङ्घीय सरकारको मात्र होइन, प्रान्तीय सरकारको पनि हो। प्रान्तीय सरकार पनि यो जटिल विषयप्रति गम्भीर हुन आवश्यक छ। केवल राजनीति गर्न वा केही सीमित  व्यक्तिलाई शक्ति (सरकार) मा पुर्याउन सङ्घीय सरकारको स्थापना वा अभ्यास गरिएको होइन। मूलतः आर्थिक विकासका लागि केन्द्रको मात्र मुख नताकेर स्थानीयस्तरमा पनि विकास एवं निर्माणका कार्य सम्पन्न गर्नका लागि प्रान्तीय सकारको  स्थापना एवं अभ्यास गरिएको हो। यो उत्तरदायित्व प्रान्तीय सरकारले वहन गर्नुपर्छ। प्रान्तीय सरकारले आफ्नो भूमिका बोध गर्नुपर्छ।
    यसैगरी, स्थानीय सरकारले पनि अन्तर्राष्ट्रिय श्रम बजारमा रोजगार गुमाएकाहरूलाई गाउँ एवं नगर तहमा रोजगार उपलब्ध गराउने जिम्मेवारी लिनुपर्छ। स्थानीय सरकारहरूले पनि यस विषयलाई गम्भीरतापूर्वक लिन आवश्यक छ। पन्छिन हुँदैन। विदेशमा रोजगार गुमाएकाहरूलाई स्वदेशमा नै रोजगार उपलब्ध गराउन स्थानीय सरकारहरूले विभिन्न किसिमका योजना तथा कार्यक्रम ल्याउन आवश्यक छ, त्यो पनि तत्काल। विदेशी श्रम बजारमा पहुँच अवरुद्ध हुनासाथ लाखौं नेपालीको मासिक आम्दानी अनियमित मात्र होइन, लामो समयका लागि रोकिन सक्छ। यो समस्या दीर्घकालीन हुन सक्छ।
    विदेशी श्रम बजारबाट विस्थापित नेपाली श्रमिकहरूलाई राष्ट्रिय श्रम बजारमा पुनस्र्थापित गराउन सङ्घीय, प्रान्तीय एवं स्थानीय सरकारहरूले दीर्घकालीन एवं अल्पकालीन योजना तथा कार्यक्रम ल्याउन सक्छन्। त्यस्ता योजना तथा कार्यक्रमहरू यी सरकारहरूले तत्काल ल्याउनु पर्यो। अन्तर्राष्ट्रिय श्रम बजारमा रोगजार गुमाएका नेपालीलाई राष्ट्रिय श्रम बजारमा रोजगार उपलब्ध गराउनु आर्थिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण विषय हो।
    विभिन्न किसिमका योजना तथा कार्यक्रम विकसित गरेर विदेशमा कार्यरत नेपालीहरूलाई स्वदेशमा रोजगार उपलब्ध गराउन सकिन्छ।
    कोभिड–१९ ले विश्व बजारलाई तहसनहस पारिरहेको वर्तमान स्थितिमा पर्यटन, उद्योग, सेवा, व्यवसायजस्ता आय एवं रोजगारका क्षेत्र लाभदायक वा उत्पादक हुन सक्तैनन्। यस्तो स्थितिमा कृषि नै भरपर्दो हुन सक्छ। जे जस्तो भएपनि स्थानीयस्तरमा उत्पादन गरेर दुई छाक खाने समस्या टार्न कृषि क्षेत्र नै भरपर्दो देखिएको छ। त्यस कारण तीनै तहका सरकारहरूले कृषि उत्पादन वृद्धि गर्नेतिर ध्यान दिन र कृषि उत्पादन बढाउन ठोस नीति तथा कार्यक्रम ल्याउन आवश्यक छ। दैनिक आवश्यकता पूरा गरेर जीवन निर्वाह मात्र भएपनि सो गर्न सकिने स्थिति ल्याउन कृषिमा ध्यान दिन आवश्यक छ।
    सरकारले हालै प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘अन्तर्राष्ट्रिय श्रम बजार सङ्कुचित भई रोजगारको अवसर गुम्ने जोखिमलाई स्वदेशमैं रोजगार सृजना, आत्मनिर्भर अर्थतन्त्रको विकास र राष्ट्रिय क्षमता वृद्धिको अवसरमा रूपान्तरित गर्ने’ भनिएको छ। यसैगरी, वर्तमान सरकारले अघि सारेको सदुपयोगको सिद्धान्त अन्तर्गत नेपालको सबै बाँझो जमीन खेर जान नदिने र कृषियोग्य भूमिको पूर्ण उपयोग गरी सघन खेती प्रणालीमा कृषि उत्पादन गर्ने नीति कार्यान्वयनमा ल्याइनेछ’ पनि भनिएको छ। साथै ‘स्थानीय तहमार्फत् बाँझो रहेको सार्वजनिक जग्गामा करार खेती गर्न प्रोत्साहित गरिनेछ’ पनि भनिएको छ।
    माथि उल्लेख गरिएका व्यवस्था विदेशमा रोजगार गुमाएका वा गुमाउन सक्नेहरूका लागि गरिएको विशेष व्यवस्थाको रूपमा लिन सकिंदैन। तर जे जस्तो भएपनि यी व्यवस्थालाई उपयोग गरेर केही फाइदा भने उठाउन सकिन्छ। अन्तर्राष्ट्रिय श्रम बजारमा रोजगार गुमाएर स्वदेश फर्केकाहरूलाई स्थानीयस्तरमा सरकारी, सामुदायिक वा सार्वजनिक जमीन करारमा उपलब्ध गराएर उत्पादन कार्यमा संलग्न गराउन सकिन्छ। उनीहरूको श्रम र सीप (विदेशमा सिकेका) उपयोग गर्न सकिन्छ। र यस्तो व्यवस्था गरेर राष्ट्रिय उत्पादनमा अभिवृद्धि गर्न सकिन्छ। तर उपरोक्त किसिमका जग्गाहरू उपलब्ध गराउँदा भने कम शुल्कमा उपलब्ध गराउनुपर्छ। यस किसिमको सोच वा योजना नौलो भएकोले पछि मात्र शुल्क वृद्धि गर्ने लक्ष्य राख्नुपर्छ। अहिलेको लागि भने अतिविपन्न परिवारसँग अति न्यूनतम शुल्क मात्र लिनुपर्छ। विदेशमा रोजगार गुमाएर स्वदेश फर्केकालाई समूहगत खेती वा सहकारी अवधारणा अनुसार खेती गर्न प्रोत्साहित गर्नुपर्छ। र यसरी सामूहिक खेती कामको प्रारम्भ गर्दा तरकारी, फलफूल, साग आदि परीक्षण उत्पादनको रूपमा अभ्यास गर्न सकिन्छ।
    नौलो र जटिल समस्या अप्रत्याशितरूपमा आयो भनेर पिरोलिनुहुँदैन। समस्या समाधान गर्न छाडेर आलोचना गर्नेतिर पनि लाग्नुहुँदैन। सबैले मिलेर यस किसिमका समस्याको समाधान खोज्नुपर्छ। समस्याको समाधान खोज्नुपर्छ, समस्या देखेर त्यसबाट डराएर भाग्नुहुँदैन। यो ज्ञानको युग हो। ज्ञानको प्रयोग गरेर हामी जटिल समस्यासमेत समाधान गर्न सक्षम हुन सक्छौं। अरूले त्यस्तो गरे भने हामीले किन गर्न सक्तैनौं?

विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक दैनिकमा प्रकाशित Friday, May 22, 2020

Friday, May 15, 2020

Methods to Control Price Increase in Nepal- Article-277

मूल्यवृद्धि नियन्त्रणका उपाय

नेपालमा मूल्यवृद्धि एउटा स्थायी समस्याको रूपमा रहँदै आएको छ। मूल्यवृद्धिलाई केवल सरकारको समस्या हो भन्दै मूल्य नियन्त्रणका लागि निजी क्षेत्रले पनि ध्यान न दिएको वा मूल्य नियन्त्रण गर्ने जिम्मेवारी वहन गरेको देखिंदैन। नेपालमा मूल्यवृद्धि ६ देखि ७ प्रतिशतसम्म भएको पाइएको छ। मूल्यवृद्धिको, माथि उल्लेख गरिएको वृद्धि प्रतिशत सरकारले दिएको जानकारी अनुसार हो। तर अनौपचारिक स्रोतले दिएको जानकारीलाई पनि आधार मान्ने हो भने केही वस्तु वा सेवामा २५ प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएको पाइन्छ। 
 मूल्यवृद्धिको कारण नै नेपालमा कम आय भएका व्यक्तिको जीवननिर्वाह कष्टकर हुन पुगेको छ। कम आय भएका व्यक्तिले आफ्नो सीमित आम्दानीले केवल दैनिक आवश्यकताका वस्तु मात्र खरीद गर्न सकेका छन्। नेपालमा कम आय भएका व्यक्तिका लागि गैरआवश्यक (पूर्ण वा अर्ध विलासी) वस्तु खरीद गर्नु सपनाको कुरा हुन पुगेको छ। शहरी एवं अर्ध–शहरी क्षेत्रमा कम आय भएका व्यक्तिको आम्दानीको लगभग ४० प्रतिशत केवल आवास (घर भाडा तिर्न) मा खर्च हुन्छ भने लगभग ६० प्रतिशत दैनिक आवश्यकताका वस्तु एवं सेवा खरीद गर्न खर्च हुन्छ। जति आम्दानी हुन्छ, त्यसभन्दा बढी खर्च भएर बचतको स्थिति छैन।
 नेपालमा मूल्यवृद्धि गम्भीर समस्या भएको हुनाले नै बहुसङ्ख्यक (कम आम्दानी भएका) व्यक्तिहरूले बचत गर्न सकेका छैनन् भने जीवननिर्वाह लागत (Living costs) ज्यादै उच्च भएको हुनाले रोजगारका लागि बहुसङ्ख्यक नेपाली अन्तर्राष्ट्रिय श्रम बजारमा प्रवेश गर्न (विदेश पलायन हुन) बाध्य भएका छन्। कुल जनसङ्ख्याको तुलनामा विश्वमा नै अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालीहरूको ठूलो सङ्ख्यामा उपस्थिति छ। नेपालको कुल गार्हस्थ्य उत्पादनमा विप्रेषणको हिस्सा लगभग ३० प्रतिशत रहेको पाइन्छ। यो तथ्याङ्कबाट पनि प्रस्ट हुन्छ कि हाम्रो आर्थिक निर्भरता विप्रेषणमा कति छ। हाम्रो अर्थतन्त्र झन्झन् विप्रेषणमुखी हुँदै गएको छ । टोङ्गा, हाइटीपछि, विश्वमा नै नेपाल तेस्रो धेरै (कुल गार्हस्थ्य उत्पादनको तुलनामा) विप्रेषण भित्र्याउने राष्ट्र (सन् २०१९ को अनुमान) हुन पुगेको छ । एक अनौपचारिक तथ्याङ्क अनुसार नेपालको लगभग ३० प्रतिशत जनसङ्ख्या रोजगार वा आर्थिक सहजताका लागि मुलुकबाहिर छ। अर्थात् १ करोडभन्दा बढी नेपाली रोजगार वा सरल जीवन निर्वाहका लागि अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया मात्र होइन, अफ्रिका, दक्षिण अमेरिका, मध्यपूर्वका विभिन्न मुलुकमा पुगेका छन्। नेपालको श्रमशक्तिको ठूलो हिस्सा विदेशमा हुनु मुलुकको दीर्घकालीन आर्थिक हितका लागि राम्रो होइन। यो स्थितिले कालान्तरमा राष्ट्रिय उत्पादनमा ह्रास ल्याउँछ। यो स्थितिले मूल्यवृद्धिलाई, आगोमा घ्यू छर्केझै गरी, झनै चर्को पार्छ। देश आर्थिकरूपमा खोक्रो हुँदै जान्छ।
 मूल्यवृद्धि समाधान नै नहुने समस्या भने होइन। अनेक उपाय अवलम्बन गरेर मूल्यवृद्धि नियन्त्रण गर्न सकिन्छ । मूल्यवृद्धि नियन्त्रण गरेर कमजोर आय भएका व्यक्ति एवं परिवारको आर्थिक जीवन सहज एवं सरल पार्न सकिन्छ। अमेरिका, क्यानडा एवं युरोपका धनी राष्ट्रहरूले निरन्तर अनेक उपाय अवलम्बन गरेर मूल्यवृद्धि नियन्त्रण गर्न सफल भएका छन्। कमजोर आय भएका आफ्ना नागरिकलाई मूल्यवृद्धिको मारबाट जोगाउन सफल भएका छन्।
नेपालमा यस्ता तरीका प्रयोग गरेर मूल्यवृद्धि नियन्त्रण गर्न सकिन्छ–
 बिचौलिया कटौती– नेपालमा उत्पादित वस्तुहरू उत्पादकबाट उपभोक्तासम्म पुग्दा वितरण मार्गमा बिचौलिया (मध्यस्थकर्ता) हरूको उपस्थिति ठूलो सङ्ख्यामा भइसकेको हुन्छ। यी बिचौलियाहरूले उत्पादकबाट सामान खरीद गर्दा सामानको मूल्य कम दिन्छन् र त्यसमा आफ्नो मुनाफाको उच्च प्रतिशत जोडेर अर्को बिचौलियालाई वा उपभोक्तालाई बिक्री गर्छन्। यसरी बिचौलियाहरूले वितरण मार्गमा प्रवेश गरेर वस्तुको मूल्य चर्को पार्ने कार्य गर्दछन्। यदि वितरण मार्गलाई छोटो पार्न सक्ने हो, उत्पादकले सोझै उपभोक्तालाई बिक्री गर्न सक्ने स्थिति सृजना गर्ने हो भने हामीले अनेक वस्तुको मूल्य कम पार्न सक्छौं, मूल्यवृद्धि नियन्त्रण गर्न सक्छौं। खुद्रा विक्रेता, पहिलो थोक विक्रेता, दोस्रो थोक विक्रेता, तेस्रो थोक विक्रेता, एजेन्ट, डिस्ट्रिब्युटर्स, मुख्य सप्लायर, अधिकृत विक्रेताजस्ता बिचौलियाहरूको उपस्थिति वितरण मार्गमा कम पार्ने हो भने वस्तुको मूल्य कम पार्न सकिन्छ। कमजोर आय भएका व्यक्तिलाई आर्थिक राहत दिन सकिन्छ। मूल्यवृद्धि नियन्त्रण गर्न सकिन्छ।
उत्पादनमा यन्त्र र उपकरणको प्रयोग– खाना पकाउने, लुगा धुने, घर सफा गर्ने सामान्य कामदेखि अनेक ठूला–ठूला औद्योगिक वस्तु उत्पादन गर्ने कार्यमा स्वचालित मेशिन प्रयोग गर्न सकिन्छ। उत्पादन व्यवस्थामा कोरा मानवीय श्रम प्रयोग कम पार्दै स्वचालित मेशिन एवं उपकरणको प्रयोग व्यापक गरेर उत्पादन लागत कम पार्न सकिन्छ। उत्पादन लागत कम पारेर वस्तुको मूल्य कम पार्न सकिन्छ। तर हाम्रो उत्पादन व्यवस्था अहिले पनि परम्परागत छ। अनेक वस्तु उत्पादन गर्न अहिले पनि हामी कोरा श्रम प्रयोग गर्छौं, जसले गर्दा उत्पादन लागत उच्च हुन पुग्छ। अनेक किसिमका उपकरण एवं मेशिनहरूद्वारा महँगो कोरा श्रम विस्थापित गर्न सकेका छैनौं। कृषि एवं औद्योगिक उत्पादनको क्षेत्रमा मेशिन एवं उपकरणको भारी मात्रामा उपयोग गर्न सकिएको छैन। यदि यस्तो गर्न सकिने हो भने आकाशिने मूल्यवृद्धिलाई नियन्त्रणभित्र राख्न सकिन्छ।
प्रतिस्पर्धा वृद्धि– राष्ट्रिय होस् वा क्षेत्रीय एवं स्थानीय, हाम्रो कुनै पनि बजार प्रतिस्पर्धापूर्ण हुन सकेको छैन। वस्तु वा सेवाको उत्पादन एवं वितरणमा केवल केही व्यक्तिको नियन्त्रण छ। ती नियन्त्रणकारीहरूले जुन मूल्य निर्धारण गर्छन्, बजारमा त्यही मूल्य कायम हुन्छ। यसरी बजारमा केही सीमित व्यक्तिको एक किसिमले पूर्ण नियन्त्रण छ र उनीहरूको इच्छा अनुसार वस्तु एवं सेवाको मूल्य निर्धारण हुन पुग्दछ। बजारमा माग एवं आपूर्तिको अन्तरक्रियाद्वारा नभएर केही सीमित आपूर्तिकर्ता एवं उत्पादक वा विक्रेताहरूको इच्छाद्वारा वस्तु एवं सेवाको मूल्य निर्धारण हुन्छ र उनीहरूले सानै कालमा धेरै आम्दानी गर्ने उद्देश्यका साथ मुनाफाको अंश बढी राखेर मूल्य निर्धारण गर्छन्, जसले गर्दा बजारमा मूल्यवृद्धिको स्थिति उत्पन्न हुन्छ। राष्ट्रिय अर्थतन्त्रलाई प्रतिस्पर्धापूर्ण तुल्याउने हो, बजारमा उत्पादक, आपूर्तिकर्ता एवं विक्रेताहरूको सङ्ख्यामा भारी वृद्धि गर्ने हो भने बाजरमा विक्रेताहरूबीच बिक्रीका लागि तीव्र प्रतिस्पर्धा भएर मूल्यवृद्धिमा कमी ल्याउन सकिन्छ। अहिलेको जस्तो मूल्यवृद्धिको समस्या कम पार्न सकिन्छ । उदार एवं बजार अर्थनीतिद्वारा बजारमा आपूर्तिकर्ताहरूमाझ तीव्र प्रतिस्पर्धा गराउन सकिन्छ।
प्रयासमा वृद्धि– नेपालका उत्पादक, आपूर्तिकर्ता एवं विक्रेताहरू यति परम्परागत छन् कि उत्पादन, बिक्री एवं वितरण लागत कम पार्नु आफ्नो दायित्व हो भन्ने कुरा बोध गर्दैनन्। उल्टो मूल्यवृद्धि गरेर बढी मुनाफा गर्न सकिन्छ भन्ने कुरामा सार्है विश्वास गर्छन्। अनेक लागत कम पार्दै, मूल्य कम पारेर दीर्घकालसम्म मुनाफा हात पार्ने कुरामा विश्वास गर्दैनन् । अर्थात् छोटो समयका लागि व्यापारजगत्मा आएको ठानेर अल्पकालमा ठूलो मुनाफा हात पार्ने दाउमा रहन्छन्। यो कारणले गर्दा पनि नेपालमा मूल्यवृद्धिजस्तो गम्भीर समस्यामा कमी ल्याउन सकिएको छैन। हरेक वर्ष महँगी बढेको बढ्यै छ, कमी आउँदैन। उल्टो आकाशिएको मूल्यवृद्धिको मारबाट जोगिन नेपाली युवापीढी विदेश भास्सिनेक्रम झन्झन् बढेर गएको छ।
 विदेशमा उत्पादक, आपूर्तिकर्ता एवं विक्रेताहरूले लागत कम पार्न विभिन्न किसिमका ठोस प्रयास गर्छन्। लागत कम पार्दै, आफूले बिक्री गर्ने वस्तु वा सेवाको मूल्य प्रतिस्पर्धीहरूको भन्दा कम पारेर प्रतिस्पर्धीहरूलाई जित्ने प्रयास गर्छन्। यसरी बजारमा आफ्नो वर्चस्व कायम गर्ने प्रयास गर्छन्। विदेशमा मूल्य कम पार्नुलाई विक्रेताहरूले ‘बिक्री रणनीति’को रूपमा प्रयोग गर्छन् भने नेपालमा मूल्य चर्को पार्नुलाई ‘बिक्री रणनीति’ को रूपमा लिइन्छ र वस्तुको मूल्य कम पार्ने प्रयास कहिले पनि गरिंदैन। यो स्थिति नेपाली उपभोक्ताहरूको लागि ठूलो समस्या हो। अब मूल्य कम पार्ने ठोस प्रयास चौतर्फीरूपमा हुनुपर्छ।
उत्पादन वृद्धि– उत्पादनमा व्यापक वृद्धि गरेर पनि मूल्यवृद्धिमाथि अङ्कुश लगाउन सकिन्छ। तर दुःखद कुरा के छ भने हाम्रो राष्ट्रिय उत्पादन बढ्न सकेको छैन, उल्टो हामी झन्झन् भारतको संरक्षित बजारमा परिणत हुँदै गएका छौं। प्रत्येक वर्ष हामीले भारतबाट ठूलो परिमाणमा आयात गर्छौं। कुल आयातको लगभग ६० प्रतिशत भारतबाट हुने गरेको छ। अचम्म! हामीले भारतबाट ऊर्जा (कुकिङ ग्यास, डिजेल, पेट्रोल, बिजुली), मोटर, मेशिनरी, औजार मात्र आयात गर्दैनौं, तरकारी, फलफूल, सागपात जस्ता सामान्य कृषि वस्तु पनि आयात गर्छौं। तेल, दाल, चामल आदि पनि आयात गर्छौं। हाम्रो कृषि उत्पादन पनि अपेक्षाकृत वृद्धि हुन सकेको छैन। कृषि उत्पादन वृद्धि गर्ने विषय जनस्तरमा गम्भीरतापूर्वक लिन सकिएको छैन र केवल सरकारलाई दोषी देखाएर पन्छिदै आएका छौं। हिमाली र पहाडी भूभागको व्यापक प्रयोग गरेर कृषि उत्पादनमा अति नै वृद्धि गर्न सक्छौं।
साना व्यापारलाई सहयोग– साना व्यापार सञ्चालनमा सरकार एवं जनस्तरबाट सहयोग गरेर, साना व्यापार स्थापना सजिलो पारिदिएर, साना व्यापारीहरूलाई सहयोग सुझाव दिएर, समस्या परेको खण्डमा समाधानका उपाय बताइदिएर साना व्यापारीको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरिदिने हो भने उनीहरूबीच मूल्य कम गर्न प्रतिस्पर्धा भएर उपभोक्ताहरूले सस्तोमा वस्तु एवं सेवा प्राप्त गर्ने वातावरण सिर्जना हुन्छ। साना व्यापारीको सङ्ख्यामा जति वृद्धि भयो, त्यही अनुसार वस्तु बिक्री गर्न उनीहरूबीच प्रतिस्पर्धा हुन्छ र उपभोक्ताहरूले सस्तोमा वस्तु खरीद गर्न पाउने वातावरण सिर्जना हुन्छ।
सरकारले मात्र होइन, अब निजी क्षेत्रलगायत जनस्तरबाट पनि बढ्दो मूल्यमा अङ्कुश लगाउने उपायको खोजी हुुनु आवश्यक छ।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, May 15, 2020