आधुनिक
अर्थव्यवस्थमा आर्थिक कारोबारको महत्व ज्यादै उच्च हुन्छ। आर्थिक कारोबार
रोकिनु भनेको मान्छेको लागि सास रोकिनु जस्तै हो। त्यस कारण बन्द, हडताल, चक्काजामजस्ता घटनाबाट आर्थिक कारोबारलाई मुक्त राख्नुपर्छ, आर्थिक कारोबारलाई खोलाजस्तो निरन्तर
बग्न दिनुपर्छ।
यहाँ घातक महामारीमा पनि आर्थिक क्रियाकलाप
रोकिन दिनुहुन्न भन्न खोजिएको हो, कोरोना सङ्कटमा पनि आर्थिक कारोबारलाई निरन्तरता
दिनुपर्छ भन्न खोजिएको हो। सुरक्षाका विभिन्न उपाय अवलम्बन गरेर भएपनि नागरिकको
आर्थिक जीवन चलायमान राख्नुपर्छ। अहिलेको यो अति व्यापारिक युगमा आर्थिक
क्रियाकलापलाई कुनै पनि किसिमको बाधाबाट रोकिन दिनुहुन्न। एक हप्ता मात्र पनि
व्यापार रोकिंदा मानिसहरू भोकभोकै मर्ने स्थिति उत्पन्न हुन सक्छ। यस्तो स्थिति
विगतमा देखिएको हो र भविष्यमा पनि देखिन सक्छ।
बहुसङ्ख्यक
व्यक्ति कृषि पेशाबाट विमुख हुँदै गएको वर्तमान परिस्थितिमा जीविकाका लागि अहिले
केवल व्यापार नै प्रमुख आय क्षेत्र हुन पुगेको छ। अर्थात् बाँच्नका लागि प्रत्येक
व्यक्ति कुनै वस्तु या श्रम बेच्न बाध्य छ। तर कृषि युगमा यस्तो थिएन। प्रत्येक
व्यक्तिले र खासगरी गाउँहरूमा, आफूलाई आवश्यक पर्ने लगभग सम्पूर्ण वस्तु उत्पादन गरेको स्थिति थियो।
तर अहिले ग्रामीण जीवन पनि शहरी जीवनमा रूपान्तरित हुँदै गएको र कृषि परित्यक्त
पेशा बन्दै गएकोले प्रत्येक व्यक्ति, खासगरी कम आय गर्ने व्यक्ति श्रम बजारमा श्रम बिक्री गर्न बाध्य छ।
श्रम बिक्री गरेर जीवन गुजारा गर्नुबाहेक विकल्प छैन। यस्तो परिवर्तित परिस्थितिमा
श्रम बिक्री गर्न पाउने स्थितिबाट कसैलाई पनि वञ्चित गर्नु भनेको उसको जीवन
सङ्कटमा पार्नु हो। उसको लागि भोकभोकै मर्ने स्थिति सृजना गरिदिनु हो। त्यस कारण
कुनै शहर वा गाउँलाई ‘लकडाउन’ गर्नुभन्दा पहिले सयौंचोटि त्यसको दुष्परिणामबारे
सोच्नुपर्छ। तर सरकारले त्यस्तो सोचेको देखिएन। सरकार केवल लकडाउन गरेर आफ्नो दायित्व पूरा भएको सोचमा सीमित
रहेको देखियो। कोरोनाले भोलि मर्ने तर भोकले अहिले मर्ने स्थिति देखियो।
नेपालमा अहिले कोरोना सङ्क्रमितहरूको सङ्ख्या
बढ्दो स्थितिमा छ। नेपाल मात्र होइन, दक्षिण एशियामा नै कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दो स्थितिमा छ।
गएको केही समय पहिले मात्र नेपालमा ११० महिला र ५१९ पुरुषमा कोरोना सङ्क्रमण
देखिएको छ। नयाँ थपिएको यो सङ्ख्यालाई पनि समावेश गरेर भन्ने हो भने नेपालमा
अहिलेसम्म कोरोनाबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या १० हजार ७ सय २८ हुन पुगेको छ।
यसैगरी, कोरोनाको लहर फैलिएदेखि अहिलेसम्म
मृत्यु हुनेहरूको सङ्ख्या २४ पुगेको छ।
नेपालमा जुन किसिमले कोरोना सङ्क्रमितहरूको
सङ्ख्या वृद्धि भइरहेको छ, त्यसलाई अति डरलाग्दो वा ज्यादै असामान्य मान्न सकिंदैन। अन्य
मुलुकको तुलनामा यो सामान्य स्थिति हो। र सुरक्षाका थप तरीका अवलम्बन गरेर कोराना
सङ्क्रमणको वृद्धिमा अङ्कुश लगाउन सकिन्छ।
कोरोना सङ्क्रमणको विस्तार रोक्न एवं
मानवजीवन सरल एवं सुरक्षित पार्न लकडाउन मात्र एक अन्तिम एवं प्रभावकारी उपाय हो
भन्ने तर्क मान्न सकिंदैन। लकडाउनले मात्र यस सङ्कटको प्रभावकारी समाधान दिन सक्तैन।
तर केन्द्रीय एवं प्रान्तीय सरकारहरूले लकडाउनलाई मात्र प्रभावकारी उपायको रूपमा
हेरिरहेका छन् र लकडाउन रामबाणको रूपमा प्रयोग गरिरहेका छन्। लकडाउनका अन्य विकल्प
खोजिरहेका छैनन्। विभिन्न राष्ट्रले लकडाउनका विकल्प खोजेर राष्ट्रिय व्यापार, व्यवसाय सञ्चालन गरेका छन्। व्यक्तिको
आर्थिक जीवन अवरुद्ध हुन दिएका छैनन्।
व्यापार, व्यवसाय अवरुद्ध हुनेगरी लकडाउनलाई मात्र प्रभावकारी उपायको रूपमा
प्रयोग गर्ने हो भने दैनिक श्रम बेचेर गुजारा चलाउने गरीबहरूको जीवन मात्र सङ्कटमा
पर्नेछैन, देश सञ्चालन गर्न आवश्यक आम्दानी (करको
रूपमा प्राप्त) मा पनि ठूलो ह्रास आउनेछ। र देश नै टाट पल्टिने स्थिति उत्पन्न हुन
सक्नेछ। कर तिर्नेहरूले आम्दानी नगरे कसरी कर तिर्ने? र बजार लकडाउनले गर्दा बन्द भएमा
व्यापारी एवं विक्रेताहरूले कसरी वस्तु एवं सेवा बिक्री गर्ने? यी प्रश्नहरूको जवाफ खोज्न सरकार असफल
भएको देखियो।
कोरोना सङ्क्रमण कम पार्ने सन्दर्भमा लकडाउन
एकमात्र प्रभावकारी उपाय देखेर सरकारले कडाइका साथ लकडाउन पालना गर्न लगायो तर
लकडाउनले गर्दा गरीबहरूको जीवन कतिसम्म कष्टकर हुन पुग्यो, त्यसतर्फ सरकारले पटक्कै ध्यान दिएन।
कोरोना सङ्कटको समाधान खोज्ने सन्दर्भमा सरकारले अवलम्बन गरेका उपाय (लकडाउन, यातायात बन्द, आवागमन बन्द, सम्पर्क बन्द) प्रभावकारी देखिएन।
कोरोना अति सङ्क्रमित देशहरू अमेरिका, ब्राजील, स्पेन, इटाली, बेलायत आदिले कोरोना विस्तार रोक्न
लगाएका अनेकौं प्रतिबन्ध बिस्तारै खुकुलो पार्दैछन्। कुनै पनि राष्ट्रका लागि
त्यहाँका नागरिकको आर्थिक जीवन चलायमान राख्न व्यापारको महत्व कति हुन्छ भन्ने यथार्थलाई उनीहरूले
राम्ररी बुझेका छन्। हुनत कोरोनाको लहर फैलिएदेखि वा कोरोनाको कहर देखिनेबित्तिकै
र त्यसपछि अथवा हालसम्म अमेरिकामा लकडाउन पूर्णरूपमा अभ्यास गरिएन। कोरोना
सङ्क्रमितहरूको सङ्ख्या उच्च हुँदै गएको स्थितिमा पनि अमेरिकामा बैंक, अस्पताल, सरकारी कार्यालय, केही व्यापारिक प्रतिष्ठान सञ्चालित नै रहे, बन्द भएनन्। यहाँसम्म कि
रेस्टुराँहरूले पनि ‘टेक आउट’, ‘कैरी आउट’, ‘ड्राइभ
थ्रु’, ‘अनलाइन अर्डर’ जस्ता तरीका अवलम्बन
गरेर व्यापार चलाइरहे। मानव सम्पर्क जारी राखे। अहिले कोरोना सङ्कट जारी रहेको
अवस्थामा पनि बैंक, व्यापारिक
केन्द्र, सैलुन, रेस्टुराँ, ग्याँस
स्टेशन, ग्रोसरी स्टोर आदि पूर्ववत् सञ्चालित छन्। जन जीवन पूर्ववत् सामान्य
भइरहेको छ। सुरक्षाको भरपर्दो तरीका प्रयोग गरेर व्यक्तिहरू सामान्य जीवनमा
फर्केका छन्। बसहरू चलेका छन्। निजी एवं सार्वजनिक गाडीहरू सडकमा पूर्ववत्
दौडिरहेका छन्। लाग्छ जीवन पहिलेकै अवस्थमा फर्किसक्यो। कलेजहरूले पनि भौतिकरूपमैं
कक्षा सञ्चालन गर्ने तयारी गरिरहेका छन्।
कुनै पनि बहानामा व्यापार–व्यवसाय अवरुद्ध
हुन दिनुहुँदैन। सङ्कट (महामारी, युद्ध, प्राकृतिक
विपत्ति आदि) को समयमा पनि व्यापार, व्यवसाय कुन किसिमले सञ्चालन गर्न सकिन्छ, त्यसतर्फ गम्भीरतापूर्वक विचार पुर्याउनुपर्छ। व्यापार, व्यवसाय आधुनिक युगमा सास जत्तिकै महत्वपूर्ण
छ। सास रोकिए मान्छेको मृत्यु हुन्छ भने व्यापार रोकिए राष्ट्रको अस्तित्व सङ्कटमा
पर्न सक्छ। यो तथ्यमा नीति निर्माता एवं सम्बन्धित पक्षले ध्यान दिनु आवश्यक छ।
व्यापार व्यवसाय नियमितरूपमा, विना कुनै रूकावट सञ्चालन हुनुको
आर्थिक महत्व मात्र छैन, मनोवैज्ञानिक र सामाजिक महत्व पनि छ। व्यापारले मानिसलाई जोड्छ।
सामाजिक दूरी कम पारेर मानिस–मानिसबीच सद्भाव उत्पन्न गराउँछ। मानिसमा निराशा
उत्पन्न हुन दिंदैन। मानिसलाई आशावादी बनाउँछ। मानिसलाई हिंसक हुन दिंदैन। एकाकीपन
समाप्त पारेर मानिसमा उत्साह जाग्रत गराउँछ। यो लकडाउनको कारणले गर्दा नेपालमा यौन
हिंसा (बलात्कार,
कुटपीट, बेइज्जती) बढेर, मानिसहरूले आत्महत्या गरेको तथ्य एवं
तथ्याङ्क हाम्रोसामु प्रस्ट छ। त्यस कारण हामीले लकडाउनलाई मात्र रामबाण
मान्नुहुँदैन। सुरक्षाका अनेक भरपर्दा उपाय अवलम्बन गरेर, भौतिक दूरी कायम गरेर, धेरै व्यक्ति एकै ठाउँमा उपस्थित हुन
नदिएर व्यापार, व्यवसाय पूर्ववत् सञ्चालन गर्न नितान्त
आवश्यक छ।
योजनाविहीन लकडाउनले व्यक्तिको मात्र होइन, राष्ट्रिय गरीबीमा वृद्धि गरेर देशलाई
कङ्गाल बनाउन सक्छ। यसतरर सम्बन्धित सबै सजग हुन आवश्यक छ।
विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक
दैनिकमा प्रकाशित: Friday, June 26, 2020