Friday, June 19, 2020

Strong Economy Small Nation's Big Strength-Article- 282


छिमेकीसँग खराब सम्बन्ध: आर्थिक विकासको अवसर

हाम्रो राष्ट्रियता आर्थिक विकाससँग सम्बन्धित छ। आर्थिक स्वावलम्बनसँग सम्बन्धित छ। तर हामीले राष्ट्रियताको संरक्षण र सुदृढीकरण भारतलाई गाली गर्नमा मात्र देख्यौं। भारतको ‘बाबुडम’ (भारतका केही त्यस्ता व्यक्तिहरूको समूह जसको सोच नेपाललाई उपनिवेशजस्तो देख्नु र कालान्तरमा सिक्किमझैं भारतमा विलय गराउने रहेको छ) लाई गाली गरेर मात्र हामीले राष्ट्रियता सुदृढ हुने अवसर रहेको निष्कर्ष झिक्यौ। राष्ट्रियता सबल पार्न सक्ने यो निरर्थक धारणाले न विगतमा काम ग–यो, न भविष्यमा नै काम गर्नेछ।
    एकातिर आर्थिकरूपमा भारतप्रति निर्भरता बढाउँदै जाने, ठूलो परिमाणमा भारतबाट आयात गरेर भारतको संरक्षित बजारमा रूपान्तरित हुँदै जाने, अर्कोतिर भारतले हेप्यो भनेर भारतलाई गाली गर्ने। हाम्रो यस्तो व्यवहारले हाम्रो राष्ट्रियता सुदृढ हुन सक्तैन। यस किसिमको राष्ट्रियता केवल फोस्रो राष्ट्रियता हो। ओठे राष्ट्रियता हो। गएको सत्तरी वर्षमा हामीले आचरण एवं व्यवहारद्वारा राष्ट्रियताको विकासको लागि ठोस प्रयास गरेको देखिंदैन। राष्ट्रियता सुदृढीकरण बोली होइन, व्यवहारद्वारा हुन्छ। कठोर परिश्रमद्वारा हुन्छ। आर्थिक विकासद्वारा हुन्छ।
    जबसम्म हामी आफूलाई आर्थिकरूपमा इजरायलजस्तो सक्षम पार्दैनौं, हाम्रो राष्ट्रियताको संवद्र्धन हुन सक्दैन र सर्वकालीनरूपमा भारतसँग हेपिइरहन्छौं। भारतले जहिले पनि हामीलाई आर्थिक नाकाबन्दी लगाइदिन्छु भनेर तर्साइरहन्छ। हामीलाई हाम्रो आर्थिक हैसियतको ऐना देखाइरहन्छ। हामी त्यो ऐना हेरिरहने छौं र ऐनालाई गाली गर्ने काम मात्र गर्नैछौं।
    हामीले राष्ट्रियता सुदृढीकरणका लागि जहिले पनि सरकारलाई जिम्मेवार ठानेर आफू पन्छिएर बसेका छौं। अर्थात् राष्ट्रियता संवद्र्धनका लागि जनस्तरमा कार्य हुन सकेको छैन। प्रत्येक गाउँ वा शहरलाई हामीले एक देशको रूपमा लिएर त्यसलाई आर्थिकरूपमा सक्षम पार्ने कहिले प्रयास गरेनौं। आफूलाई आवश्यक पर्ने वस्तु, मुख्यगरी कृषिजन्य वस्तु, आफैंले उत्पादन गर्ने, विभिन्न किसिमका विकास एवं निर्माणका लागि आवश्यक पर्ने खर्चका लागि आफैंले आम्दानी गर्ने, स्थानीयस्तरमा रोजगार सृजना गर्ने, जनशक्ति उपयोगका लागि स्थानीय स्तरमा नयाँ–नयाँ नीति तथा कार्यक्रमहरू ल्याउने काम हामीले कहिले गरेनौं। विकसित देशहरूमा राजनीति आर्थिक विकासका लागि हुन्छ तर हामीले राजनीति केवल पद, पैसा, शक्ति प्राप्त गर्नमा लागि ग–यौं। यस्तो गरेर पनि राष्ट्रियता संवद्र्धन हुन सक्छ? अनि कमजोर आर्थिक अवस्थाले राष्ट्रियताको संरक्षण हुन सक्छ?
    हाम्रो राष्ट्रियता, इजरायलको आर्थिक विकाससँग गाँसिएको राष्ट्रियताझैं हुनुपर्छ। संसारमा सम्भवतः इजरायल मात्र यस्तो देश हुनुपर्छ, जो चारैतिरबाट शत्रुहरू (इजरायलको भाषामा) बाट घेरिएको छ। चारैतिर रहेका इजरायलका निकटतम छिमेकीहरू निरन्तर ऊमाथि सांघातिक हमला गरिरहन्छन्। निकटतम छिमेकी देश मात्र होइन, विद्रोही सङ्गठनहरूले पनि इजरायलमाथि सैन्य कार्यबाही गर्ने उचित अवसर पर्खेर बसिरहेका हुन्छन्। अवसर पाउनासाथ सैन्य कार्यबाही गर्छन्। तर अचम्म! यति हुँदाहुँदै पनि इजरायलले अभूतपूर्व आर्थिक विकास गरेको छ। निरन्तर अशान्तिबीच इजरायलले यति ठूलो आर्थिक प्रगति गरेको छ, यदि पूर्ण शान्तिको स्थिति प्राप्त गरेको भए कति ठूलो आर्थिक प्रगति गर्दो हो? आज त्यही अभूतपूर्व आर्थिक विकास इजरायलको लागि सुरक्षा कवच भएको छ। इजरायलको निकट छिमेकी राष्ट्रहरूसँग लाभदायक व्यापारिक सम्बन्ध पनि छैन। आर्थिकरूपमा (राष्ट्रिय उत्पादनमा) इजरायल आफैं आत्मनिर्भर छ।
    इजरायलका छिमेकीहरू सिरिया, इजिप्ट, जोर्डन र लेबनान आदिले कहिले ऊसँग मित्रवत् व्यवहार गरेनन्। इरानले इजरायललाई देशको रूपमा मान्यता त दिएको छैन नै, विश्व मानचित्रमा इजरायल देश नै छैन भन्छ। इरानले इजरायललाई ‘साइजमा राख्न’ लेबनानमा एउटा सैन्य सङ्गठन ‘हेज्बुल्लाह’ नै स्थापना गरेको छ र यो सैन्य सङ्गठनको उद्देश्य इजरायलमाथि बेलाबेलामा हमला गर्नु हो। यसैगरी ‘हमास’ प्यालेस्टाइन भूमिमा रहेको गाजास्थित यस्तो विद्रोही सङ्गठन हो, जसको उद्देश्य नै बेलाबेलामा इजरायलमाथि सैन्य कार्यबाही गरेर उसलाई कमजोर तुल्याउनु हो।
    सन् १९४७–४८ देखि हालसम्म इजरायलले विभिन्न राष्ट्रसँग दर्जनौं युद्ध गरिसकेको छ। लेबनान, जोर्डन, सिरिया, इजिप्ट आदिसँग प्रत्यक्ष युद्ध गरेको छ भने साउदी अरेबिया, मोरक्को, इराक, अल्जेरिया, इरान, क्युबा आदिसँग अप्रत्यक्ष युद्ध गरेको छ। यति हुँदाहुँदै पनि इजरायलको आर्थिक स्थिति कमजोर छैन, बलियो छ। नेपालसहित अनेक देशका नागरिक काम गर्न इजरायल पुग्ने गर्छन्।
    इजरायलको प्रतिव्यक्ति आय ४२ हजार ८ सय २३ डलर (GDP Per capita, nominal, 2019) रहेको छ। जबकि आर्थिक महाशक्ति हुने तरखरमा रहेको भारतको प्रतिव्यक्ति आय २ हजार ३ सय ३८ डलर (GDP Per capita, nominal, 2020 estimate) रहेको छ। इजरायल पश्चिमी युरोपका धनी राष्ट्रहरूझैं धनी छ। इजरायलले कट डाइमन्ड, प्रशोधित पेट्रोलियम, फर्मास्यूटिकल्स, मेशिन एवं औजार, औषधीय उपकरण, कम्प्युटर हार्डवेयर र सफ्टवेयर, कृषि वस्तु, केमिकल्स, टेक्सटाइल, एपारल्स ठूलो परिमाणमा निर्यात गर्छ। इजरायलले ठूलो परिमाणमा विभिन्न वस्तुहरू अमेरिका, बेलायत, हड्ढङ, चीन, बेल्जियम आदिलाई निर्यात गर्दछ। यसैगरी, इजरायलले अमेरिका, चीन, स्वीट्जरल्यान्ड, जर्मनी, बेलायत, बेल्जियम, नेदरल्यान्ड्स, टर्की, इटाली आदिबाट आयात गर्छ। इजरायलको निकटका छिमेकी राष्ट्रहरूसँग खासै व्यापार छैन। तर पनि इजरायलले छिमेकी जोर्डनसँग राम्रो सम्बन्ध कायम गरेर (सन् १९९४ मा भएको इजरायल र जोर्डन शान्ति सम्झौताद्वारा) अरबजगत्मा आफ्नो व्यापार वृद्धि गर्ने प्रयास गरेको छ।
    इजरायलको बल भनेकै राष्ट्रिय आर्थिक विकास एवं उसको आर्थिक आत्मनिर्भरता हो। यदि इजरायल आर्थिकरूपमा बलियो नभएको भए उसको निकटका छिमेकीहरूले विश्व मानचित्रबाट इजरायललाई उहिल्यै हटाइसकेका हुन्थे। तर इजरायल आर्थिकरूपमा यति बलियो छ कि उसले अत्याधुनिक हतियार विकास गरेको छ र ती हतियारको प्रयोग गरेर आफ्नो राष्ट्रियता जोगाउन सकेको छ। अहिले इजरायलसँग अत्याधुनिक हतियार मात्र होइन, विशेष उन्नत र अति सुरक्षित बङ्करहरू पनि छन्, जुन शत्रुहरूले प्रहार गर्दा रक्षाकवच बन्न पुग्छन्। अहिले धेरै कम राष्ट्रसँग पेट्रियाट मिसाइल छ। त्यो पेट्रियाट मिसाइल इजरायलसँग पनि छ। पेट्रियाट मिसाइलले शत्रु पक्षको मिसाइल उड्नासाथ थाहा पाउँछ र त्यो मिसाइललाई हावामैं नष्ट गरिदिन सक्छ।
    राष्ट्र सानो हुँदैमा हेपिएर बस्नुपर्छ भन्ने हुँदैन। आर्थिकरूपमा सक्षम भएमा साना राष्ट्रले पनि ठूला राष्ट्रलाई तह लगाउन सक्छन्। यस कुराको ज्वलन्त प्रमाणका रूपमा इजरायललाई लिन सकिन्छ। भौगोलिकरूपमा सानो भएर पनि, आर्थिकरूपमा बलियो भएपछि ठूलो राष्ट्रसँग समानताको व्यवहार खोज्न बाध्य पार्न सकिन्छ।
    नेपाल भारतसँग नजीक र चीनसँग टाढा हुन आवश्यक छैन। यसैगरी, न चीनको नजीक र भारतसँग टाढा हुन आवश्यक छ। नेपाललाई यी दुवै राष्ट्रबाट समानताको व्यवहार चाहिएको छ। ठूलो दाजु र सानो भाइको सम्बन्ध होइन, साथी–साथीको सम्बन्ध चाहिएको छ। नेपालले निकटका छिमेकी राष्ट्रसँग, खासगरी भारतसँग मित्रवत् व्यवहार पाउन नेपाल स्वयम् आर्थिकरूपमा आत्मनिर्भर हुन आवश्यक छ, इजरायलझैं। नेपाल आर्थिकरूपमा कमजोर भइरहेसम्म भारतीय बाबुडमले चीलले सिनोमाथि आँखा गाडेझैं गाडिरहनेछ, भारतीय आमजनताले नेपालसँग मित्रवत् व्यवहार राख्न खोजे पनि।
    आर्थिकरूपमा आत्मनिर्भर हुनका लागि हामीले सर्वप्रथम राष्ट्रिय उत्पादनमा तीव्र अभिवृद्धि गर्न आवश्यक छ। कृषिमा जोड दिन आवश्यक छ। कृषि उत्पाद वृद्धि गर्न आवश्यक छ। खेर गइरहेको भूमि र श्रमको उपयोग गर्न ध्यान दिन आवश्यक छ। कृषि उत्पादनमा वृद्धि गर्न स्थानीयको सहभागिता एवं सक्रियतामा गाउँ एवं नगरस्तरमा पनि अनेक योजना निर्माण हुन आवश्यक छ। यसैगरी, हामीले प्रत्येक गाउँ र नगरलाई एक सङ्गठित बजारको रूपमा विकास गर्न आवश्यक छ। स्थानीय खपतका लागि स्थानीय बजारहरूबाट कृषिजन्य वस्तु बिक्री गर्न आवश्यक छ। अर्थात् हरेक गाउँ एवं नगरलाई एक व्यापारिक केन्द्रको रूपमा विकास गर्न आवश्यक छ र यस्तो गरेर राष्ट्रिय आयमा वृद्धि गर्न आवश्यक छ।
    यसैगरी, हामीले प्रत्येक गाउँमा के कस्तो पर्यटन केन्द्र विकास गर्न सकिन्छ, त्यसतर्फ पनि सोच्न आवश्यक छ। पर्यटनको माध्यमबाट गरीब परिवारसम्म आय पु–याउन सकिन्छ।
    हाम्रा आवश्यकताका वस्तु एवं सेवा उत्पादन गर्ने उद्योग स्थापनामा जोड दिन आवश्यक छ। यस्ता र यस किसिमका कार्यहरू नागरिकस्तरमा गरेर हामीले हाम्रो राष्ट्रियता सबल तुल्याउन सक्छौं।
    आर्थिक विकासका लागि सरकार वा राज्यलाई मात्र जिम्मेवार ठानेर हामीले पन्छिने बाटो खोज्ने हो र राष्ट्रको आर्थिक विकासमा आफ्नो (प्रत्येक व्यक्तिको) भूमिका नदेख्ने हो भने हामी आर्थिकरूपमा आत्मनिर्भर हुन सक्नेछैनौं र पुस्तौं छिमेकीहरूको थिचोमिचोमा रहिरहन बाध्य हुनेछौं।
    आजको मितिमा हामीले यो विषयलाई गम्भीरतापूर्वक लिन आवश्यक छ, हाम्रो राजनीतिक विचारधारा फरक–फरक भएपनि, हामी बिच जतिसुकै मत–मतान्तर भएपनि।

विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक दैनिकमा प्रकाशित Friday, June 19, 2020

No comments:

Post a Comment