Friday, March 26, 2021

Nepal-Bangladesh Trade Relations: Nepal Will Benefit More-Article- 320

 बङ्गलादेश नेपालको लागि लाभदायक बजार

चीन र भारतपछि नेपालको सबैभन्दा नजीकको छिमेकी देश बङ्गलादेश हो। बङ्गलादेशसँग सिमाना नजोडिएको भए पनि यो देश नेपालको निकट छिमेकी हुन पुगेको छ। भौगोलिकरूपमा बङ्गलादेश भूटानभन्दा पनि नेपालबाट नजीक छ। बङ्गलादेशको सिमाना नेपालसँग जोडिएको भए वा नेपालले आफ्नै जलमार्ग प्रयोग गरेर बङ्गलादेशसम्म पुग्न सक्ने स्थिति भएको भए बङ्गलादेश नेपालको लागि एउटा भरपर्दो बजार हुन सक्थ्यो। तर बङ्गलादेशसम्म पुग्न नेपालको लागि सीमा जटिलता (भारतको भूमि प्रयोग गरेर जानुपर्ने) भएकोले यो मुलुक नेपालको लागि भरपर्दो एवं लाभदायक बजार हुन सकेको छैन। नेपालले बङ्गलादेशसम्म पुग्न भारतको भरपर्नु पर्ने र बेलाबेलामा भारत र नेपालबीच कटुता उत्पन्न हुने भएकोले बङ्गलादेश नेपालको लागि लाभदायक बजार हुन सकेको छैन। यस किसिमको खास स्थितिमा नेपालको बङ्गलादेशसँगको व्यापारिक सम्बन्ध भारतले नेपाललाई गर्ने व्यवहारमा निर्भर हुन पुगेको छ। तर नेपालले बङ्गलादेशसँग व्पापारिक साझेदारी गरेर ठूलो लाभ प्राप्त गर्ने सुनौलो अवसर पनि छ।

नेपाल–बङ्गलादेश व्यापारिक सम्बन्धका विभिन्न आयाम छन्। बङ्गलादेशको सांस्कृतिक प्रकृति खास किसिमको छ। यो देशको बहुसङ्ख्यक व्यक्तिको धर्म पाकिस्तानसँग (इस्लाम) मिले तापनि संस्कृति भने हिन्दू संस्कृतिसँग मिल्न आउँछ। यो कारणले पनि बङ्गलादेश नेपालको लागि एउटा राम्रो व्यापारिक साझेदार हुन सक्छ। बङ्गलादेशका बहुसङ्ख्यक व्यक्ति नेपालमा पर्यटकको रूपमा आउन सक्छन्। नेपालको पर्यटन क्षेत्रले बङ्गलादेशबाट राम्रो आम्दानी प्राप्त गर्न सक्छ। त्यसकारण नेपालले बङ्गलादेशसँगको व्यापारको सन्दर्भमा पर्यटनमा खास जोड दिनु लाभदायक देखिन्छ।

धार्मिक सहिष्णुता बङ्गलादेशमा पाकिस्तानभन्दा बढी छ। तालिबान, अलकायदाजस्ता कट्टर धार्मिक सङ्गठनको प्रभाव पाकिस्तानको तुलनामा बङ्गलादेशमा ज्यादै कम छ। धार्मिक सहिष्णुताले बङ्गलादेशलाई स्थिर बजार बन्न विशेष सहयोग पु–याएको छ।

बङ्गलादेश नेपालको लगि महत्वपूर्ण बजार हुन सक्नुका अनेक कारण छन्। बङ्गलादेश आर्थिकरूपमा उदीयमान बजार हो। बजार विनिमय दरको आधारमा बङ्गलादेश विश्वको ३९ औं ठूलो अर्थतन्त्र हो भने क्रय शक्तिको आधारमा विश्वको २९ औं ठूलो अर्थतन्त्र हो। तीव्ररूपमा आर्थिक प्रगति गर्ने मुलुकहरूमध्ये एकको पहिचान बनाएको बङ्गलादेश भारतपछि दक्षिण एशियाको दोस्रो ठूलो अर्थतन्त्र हो। यो मुलुक विश्वको ११ औं उदयीमान बजार हो। दक्षिण एशियामा भारत पछि यो देशसँग मात्र सर्वाधिक विदेशी–विनिमय सञ्चिति (foreign-exchange reserve) छ। यसैगरी विप्रेषण (Remittance) भिœयाउने राष्ट्रहरूको सूचीमा यसको स्थान विश्वमैं आठौं रहेको छ। यो मुलुकले सन् २०१९ मा १७.५ बिलियन डलर विप्रेषण भिœयाएको थियो। युरोपियन युनियन, संयुक्त राज्य अमेरिका, जापान, भारत, अस्ट्रेलिया, चीन एवं आसियान राष्ट्रहरूसँग महत्वपूर्ण व्यापारिक साझेदार रहेको बङ्गलादेशले कपडा (त्भहतष्भिक) उत्पादनमा विश्वमा नै ख्याति आर्जन गरेको छ। यसले ठूलो परिमाणमा तयारी पोशाक उत्पादन एवं निर्यात गर्दछ। यसबाहेक फर्मास्युटिकल्स, सिपबिल्डिङ, स्टील, विद्युतीय उपकारण, ऊर्जा, निर्माण सामग्री उत्पादन आदि क्षेत्रमा पनि बङ्गलादेश निकै अगाडि छ। खुला र उदार अर्थतन्त्रद्वारा मात्र देशको आर्थिक विकास तीव्र गतिमा हुन्छ भन्ने अवधारणमा बलियो विश्वास राख्ने बङ्गलादेश आफैंमा दक्षिण एशियाको बलियो बजार हुन पुगेको छ।

हालै (२०७९ चैत ९–१० गते) नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको बङ्गलादेशको दुई दिवसीय राजकीय भ्रमण एवं यो भ्रमणलाई बङ्गलादेशले दिएको उच्च महत्वले नेपाल–बङ्गलादेशबीच थप व्यापार विस्तार हुने सम्भावनालाई उच्च बल प्रदान गरेको छ। नेपाल एवं बङ्गलादेशका उच्च पदाधिकारीहरूबीच नेपाल–बङ्गलादेश व्यापार विस्तारबारे भएका विभिन्न छलफलहरूले बङ्गलादेश नेपालसँग असल समझदारी कायम गरी व्यापार गर्न इच्छुक रहेको देखिएको छ। साथै नेपालसँगको व्यापारलाई बङ्गलादेशले उच्च महत्व दिएको अनुभव गरिएको छ। राष्ट्रपति भण्डारी एवं नेपाली प्रतिनिधिमण्डललाई बङ्गलादेशले उच्च महत्व दिएको थियो। राष्ट्रपति भण्डारी र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमीदबीच भेटवार्ता एव छलफलसमेत भएको थियो।

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमीदको मैत्रीपूर्ण निमन्त्रणमा बङ्गलादेश पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागत गर्न ढाकास्थित सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वयं राष्ट्रपति हमीद पुगेका थिए। राष्ट्रपतिका साथै विदेशमन्त्री, राज्यमन्त्री एवं अन्य केही मन्त्री पनि भण्डारीको स्वागतार्थ विमानस्थल पुगेका थिए। नेपालका राष्ट्रपतिको स्वागतार्थ विमान स्थलमा बङ्गलादेशका राष्ट्र प्रमुखलगायत अन्य उच्च अधिकारीहरूको उपस्थितिले बङ्गलादेशले नेपाललाई उच्च महत्व दिएको तथ्य पुष्टि हुन आएको छ। नेपालले बङ्गलादेशबाट पाएको यो स्नेह, सम्मान एवं महत्वलाई व्यापार विकासमा उपयोग गर्नुपर्छ। नेपाल–बङ्गलादेश व्यापार विकासका नयाँनयाँ तरीकाहरू हामीले खोजी गर्नुपर्छ। र यस्तो गर्न आवश्यक छ। नेपालले व्यापारका लागि भारत र चीनमाथिको अति निर्भरता घटाउन बङ्गलादेशसँग तीव्र गतिमा व्यापार बढाउन आवश्यक छ।

राष्ट्रपति भण्डारीको बङ्गलादेशको राजकीय भ्रमणको अवसरमा नेपाल र बङ्गलादेशबीच निम्न चार क्षेत्रमा सहकार्य गर्ने भनी एक समझदारीपत्रमा हस्तारक्षर भएको छ। समझदारीहरू यस प्रकार छन् ः

१ पर्यटन विकासका लागि दुवै राष्ट्रले सहकार्य गर्ने,

२ सन् २०२२ देखि २०२५ सम्म दुवै देशले संस्कृति आदानप्रदानमा सहकार्य गर्ने,

३ स्यानेटरी र फाइटो स्यानेटरी क्षेत्रमा दुवै राष्ट्रले सहकार्य गर्ने, तथा

४ थप रेल रूट (बङ्गलादेशको रोहनपुरदेखि भारत पश्चिम बङ्गालको सिंहबादसम्म) र ट्रान्जिट रूटका लागि सहकार्य गर्ने।

बङ्गलादेशसँग विभिन्न क्षेत्रमा व्यापार विस्तार गर्ने भनिए पनि अहिलेका लागि भने हामीले मुख्यगरी पर्यटन र निर्यातमा विशेष जोड दिनु आवश्यक छ। बङ्गलादेशले अहिले निर्यात, मुख्यगरी तयारी पोशाकबाट राम्रो आम्दानी प्राप्त गरिरहेको छ। यसैगरी विदेशमा काम गर्ने यस देशका नागरिकहरूले राम्रो आम्दानी गरेर ठूलो परिमाणमा विप्रेषण (Remittance)) स्वदेश पठाइरहेका छन्। यी दुई क्षेत्रको राम्रो आम्दानीले गर्दा अहिले बङ्गलादेशीहरूको आम्दानी बढेको, माग बढेको छ र साथै क्रय शक्ति पनि बढेको छ। बङ्गलादेशीहरूको यो स्थितिले उनीहरूलाई पर्यटनमा अधिक खर्च गर्न सहयोग पु–याएको छ। बङ्गलादेश नेपालको नजीक रहेको र नेपाल र बङ्गलादेशबीच सम्बन्ध अति नै सौहार्दपूर्ण रहेकोले ठूलो सङ्ख्यामा बङ्गलादेशीहरू नेपाल भ्रमणमा आउने उच्च सम्भावना छ। नेपालले आफ्नो पर्यटन नीति र नियम सरल पारेर बङ्गलादेशीहरूलाई नेपाल आउन आकर्षित गर्नुपर्छ र यो कार्यको थालनी छिटै गर्नु उपयुक्त हुन्छ। नेपाल पहाडी मुलुक भएको, प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको र हिमाली दृश्यको थप आकर्षणबाट सज्जित रहेकोले यहाँ बङ्गलादेशी पर्यटकहरू ठूलो सङ्ख्यामा आउने छन्। नेपाल उनीहरूका लागि नौलो, सस्तो र सुरक्षित गन्तव्य हुनेछ। सरकारले मात्र होइन, निजी क्षेत्रले पनि यसतर्फ चाFसो लिन आवश्यक छ।

निर्याततर्फ भने नेपालले बङ्गलादेशमा मौलिक नेपाली वस्तुहरू निर्यात गर्नु लाभदायक देखिन्छ। धातुले बनेका सामानहरू, जडीबुटी, मौलिक तयारी पोशाक, काष्टकलाका सामग्री, दृश्य चित्र, ऊनी कपडा, ढाकाका पोशाक आदि जस्ता मौलिक नेपाली उत्पादनहरू नेपालले बङ्गलादेश निर्यात गर्नु लाभदायक हुन्छ।

बङ्गलादेशको नेपालप्रतिको उदार दृष्टिकोण एवं सदाशयताको नेपालले व्यापारिक क्षेत्रमा व्यापक उपयोग गर्न आवश्यक छ। व्यापार विविधीकरणका लागि पनि यस्तो गर्नु आवश्यक छ। बङ्गलादेशसँगको व्यापार विस्तार भएमा आयातका लागि भारतप्रतिको अति निर्भरता पनि कम भएर जानेछ।

दक्षिण एशियाको दोस्रो आर्थिक महाशक्ति बङ्गलादेशसँग नेपालले आर्थिक सम्बन्ध विस्तार गर्नु नेपालको लागि आर्थिक मात्र होइन, बौद्धिकरूपमा पनि लाभदायक हुनेछ। यी दुई राष्ट्रबीच राम्रो व्यापारिक साझेदारी भएमा नेपालका व्यापारीहरूले व्यापारका अनेकौं तरीका बङ्गाली व्यापारीहरूबाट सिक्ने अवसर पनि पाउने छन्। हुन पनि बङ्गलादेशले छोटो अवधिमा, आफ्नो स्थापनाकालको केवल ५० वर्षको समयमा चमत्कारी आर्थिक प्रगति गरेको छ। र यस्तो प्रगति यसले नरम नीति र छिमेकी राष्ट्रहरूप्रति सम्मानपूर्वक दृष्टिकोणले गर्दा प्राप्त गरेको हो।बङ्गलादेशको छिमेकी राष्ट्रहरूसँग ठूलो समस्या छैन, भारत र पाकिस्तानझैं। यसैगरी बङ्गलादेशी समाज धर्ममा अति कट्टर पनि छैन, अफगानीहरू भएझैं। बङ्गलादेश मूलतः व्यापारी राष्ट्र हो। यी कारणहरूले गर्दा पनि नेपालले बङ्गलादेशसँग व्यापार गर्नु निकै लाभदायक हुने देखिन्छ।

Bishwa Raj Adhikari

akoutilya@gmail.com

Published in Prateekdaily on Friday, March 26, 2021




Thursday, March 25, 2021

Interview With Teertha Adhikari

 तीर्थराजसँग विश्वदर्पणले लिएको अन्तर्वाता 

नेपालमा लामो समयसम्म सरकारी सेवामा रहेर सेवानिवृत हुनु भएका तिर्थराज अधिकारी हाल ओहाओ, अमेरिकामा हुनु हुन्छ। नेपालमा हुँदा उहाँले विभिन्न कृतिहरूको लेखन एवं प्रकाशन गर्नु भएको पाइन्छ। १. जूनकिरी-कविता सङ्ग्रह २०५३, २. ऐना-कविता सङ्ग्रह २०५७, ३. तीन लय तेर्ह गीत-गीति सङ्ग्रह २०६०, ४. झटारो-मुक्तक सङ्ग्रग २०७०, ५. यो कस्को हात-कविता सङ्ग्रह २०७०, ६. बिरिमफुल-मुक्तक सङ्ग्रह सन् २०१६  उहाँका प्रकाशित कृतिहरू हुन्।

तीर्थराज अधिकारी, साहित्यमा एक सुपरिचित नाम भएता पनि मुक्तक-साहित्यमा भने उहाँको नाम विशेष किसिमले लिने गरिन्छ। उहाँलाई “मुक्तक मणि” भन्ने गरिन्छ। मुक्तक लेखनमा उहाँको महत्वपूर्ण योगदान छ। अधिकारीका मुक्तकहरू पाठकहरूबाट अति नै रुचाइएका छन।

प्रस्तुत छ विश्वदर्पण ब्लगका लागि विश्वराज अधिकारीले तीर्थराज अधिकारीसङ्ग लिएको अन्तरवार्ता 

 

1.      साहित्य के हो? मुक्तक र कविता बिच के अन्तर छ? साहित्यमा कविको दायित्व विषयमा प्रकाश पारिदिनु हुन।

कुनै लेखन वा पङ्तिहरुबाट जिन्दगीलाई स्पर्स हुनुनै साहित्य हो। साहित्यलाई हामीले पानी जस्तै निर्मल बनाउनु पर्दछ,जस्तो पानी जस्ले पिउँछ उसैको तृष्णा मेटिन्छ ,त्यस्तै साहित्य पनि जसले पढ्यो उसैको जीवन बोल्नु पर्दछ। यदि कुनै साहित्यकार आफ्नो भाषाको आग्रह गर्दछ भने ऊ आफ्नो सारा स्मृति तथा संस्कारको आग्रह गर्दछ,स्वतन्त्र राष्ट्रको आफ्नो भाषामा विशुद्ध अस्मिता बाँचेको हुन्छ।
   भनिन्छ,मानव चेतनाको वाणीनै साहित्य हो,आधुनिकता समय सापेक्ष माग हो। साहित्य विशिष्ट मानसिकताको उपज हो। साहित्यमा नवीनता आउन भाषामा विचलन आउँछ। साहित्य मनोरञ्जनको लागि पढिन्छ भने शास्त्र ज्ञानको लागि। साहित्यले हार्दिकता दिन्छ भने शास्त्रले बौधिकता । कवि केवल आफ्नो लडाईँ मात्र लड्दैन,नत आफ्नै मात्र कथा ब्यथाको लेखा जोखा गर्दछ। कवि त बिउँझन्छ,हिँड्छ हर घडी हर पल नगिच वा टाढा हर मौसम,हरेक संबन्धको भाग र गुणाको साथ ,इतिहासको फैसला र फासलाको साथ। साहित्यकार आफ्नो भूमिकाबाट कदापि विचलित हुँदैन। अब रह्यो कुरा कविता र मुक्तकको सम्वन्ध। मुक्तक काव्य कविताको एक शूक्ष्म रुप हो जसमा प्रबन्धकीयता हुँदैन। यो आफैं स्वतन्त्र रहन्छ। अर्थात मुक्तक काव्यको त्यो विधा हो जसमा कुनै कथानकको पूर्वापर संवन्ध रहँदैन, स्वपूर्ण हुन्छ।

 

2.      मुक्तक लेखनको कुनै सिद्धान्त छ?

मुक्तक चार पदको रचनाहो,जसको पहिलो ,दोश्रो र चौथो पद तुकान्त र तेश्रो पद अतुकान्त हुन्छ। मुक्तकको केन्द्रबिन्दु अन्तिम दुई पंक्तिमा रहन्छ। मुक्तक यस्तो रचना हो जसले आफ्नो अर्थ आँफै लगाउँछ। अन्य कुनै पनि सहयोगी साधनको भर पर्नु पर्दैन। यो देख्नमा सानो ,मर्मपर्शी र चोटिलो हुन्छ। त्यसैले मुक्तकलाई तिखो र प्रहारिलो भन्ने गरिन्छ।
मुक्तकका चारै पङ्क्ति पढेपछि यस्को अर्थ लगाइरहनु पर्दैन,आँफै प्रष्ट भैहाल्छ। प्रथम पङ्क्तिले विषय प्रवर्तन (भाव विचारोद्घाटन), द्वितीय पङ्क्ति प्रवर्तित वा उद्घाटितले भाव विचारको सम्बर्धन गर्दछ भने तेश्रो पङ्क्तिले एउटा सोपान तयार गर्दछ र चौथो पङ्क्ति पुरा मुक्तकको प्राण बन्दछ। यही चौथो पङ्क्तिलाई प्राण दिन अरु तिनवटा पङ्क्तिले तयारी गरेका हुन्छन्।जस्तै-
न रोएर मुक्तक बन्दो रहेछ
न धोएर मुक्तक बन्दो रहेछ
बाँधेर होइन भित्री मनलाई
फोएर मुक्तक बन्दो रहेछ।

 

 3. यहाँलाई मन परेको क्षेत्र कुन हो? अर्थात कविता वा मुक्तक?

मुक्तकको उत्तमता र अनुत्तमता फेला पार्न बुद्धिको प्रयोजन खासै रहँदैन। एउटा सुन्दर मुक्तक पाठक वा श्रोताको मनोवेग उत्तेजित पार्न प्रयाप्त हुन्छ। यसले पाठकको उच्छवासित जीवनमा एउटा नयाँ अंग स्थापित गरिदिन्छ। जीवनलाई उन्नत बनाउँछ। उत्कृष्ट तथा अलौकिक आनन्द सित परिचित गराउँछ। कुनै पनि मुक्तकको शिष्टता,सरलता र मारक क्षमताले पाठकलाई सहज बनाउँछ। एक सानो मुक्तकमा पूर्ण भाव समाहित हुन्छ। गुम्फित हुन्छ। र अभिव्यक्तिको शैली पनि अति प्रभावपूर्ण हुन्छ। यसैले गर्दा कुनै साहित्य संमेलन वा साँस्कृतिक प्रदर्शन हुँदा आरम्भमानै कुनै आकर्षक मुक्तक वाचन गरेर सुरुवात गर्ने प्रचलन रहेको थियो जस्ले गर्दा आमन्त्रित महानुभावहरुको ध्यान आकर्षण गरोस। यिनै कारणले गर्दा म स्वयम पनि मुक्तक विधा सित आकर्षित भएको हुँ।

 

 4. मुक्तकलाई परिभाषित गर्नु पर्दा के भन्नु पर्ने हुन्छ?

शब्द र अर्थको बिचको भावनै मुक्तक हो।” प्रबन्ध काव्य एक वनस्थली हो भने मुक्तक एक फूल गुच्छा भनिन्छ। मुक्तक काव्यको यस्तो बिधान छ जस्मा कुनै कथाको पूर्बापर सम्बन्ध हुँदैन,प्रत्येक बनावट आँफै पूर्णत स्वतन्त्र र सम्पूर्ण अर्थ दिन सक्ने हुन्छ। वास्तविक मुक्तकमा जीवनको कुनै रुप वा प्रकृतिको कुनै पक्ष विशेषको चित्रमात्र उपस्थित हुन्छ। कुनै मार्मिक दृश्य वा अनुभूतिलाई सफलता पूर्वक प्रस्तुत गरिएको रचनालाई मुक्तक भनिन्छ। कौशलता पूर्वक सृजन गरिएको स्वयंमा पूर्ण, अपेक्षकृत लघु रचनालाई मुक्तक भनिएको छ। ”मुक्तकंश्लोक एबैकश्चमत्कारक्षमःसताम्”, अर्थात चमत्कार पूर्ण क्षमता राख्ने एउटा श्लोकलाई मुक्तक भनिन्छ।

 नेपालको मुक्तक जगत् अहिले सुरक्षित हातमा पुगेको छ। गंभीर र संप्रेषण युक्त मुक्तकहरु आउन थलेका छन्। पुरानो वर्जना (पावन्दी) तोडेर नयाँ आयम थपिएका छन्। यो पुस्ताले मुक्तकको सृजनामा बुद्धिको भन्दा हृदयलाई बढी महत्व दिएका छन्। नेपाली मुक्तक संहिताबध्द नहुँदा सम्म सबै प्रकारका छोटा छोटा कविता पनि मुक्तक भनिए। तर हाल नेपाल मुक्तक प्रतिष्ठान स्थपना भएर सबै मुक्तकको बनाबटमा पनि संहितीकरण भैसकेको छ।
 मुक्तकका विशिष्ट गुणहरुः-

(१)-काव्यको एक लघु परिक्षेत्र हो।

(२)-साहित्यमा काव्यको एक विशिष्ट विधा हो। यस्को विशिष्टता यस्कै पूर्णतामा हुन्छ।

(३) “मच धातुमा “कन प्रत्यय लागेर मुक्तक शब्दको ब्युत्पत्ति भएको हो।

(४) मुक्तकलाई चोइटा, टुक्रा,झुल्का,उद्वेग,ठून्का,चुड्का,छिर्का,झड्का,केस्रा ,मट्याङ्ग्रा आदि नामले पनि पुकारिन्छ।

(५)-जुन वाक्यांश पढ्दा पाठकको अन्तस्करणमा रस-सलिला प्रभाहित हुन्छ त्यही मुक्तक हो।

(६)-जव एक पद अर्को पद संग मुक्त रहन्छ अनि मुक्तक हुन्छ।

 

5. मुक्तक लेख्नका लागि अन्य साहित्य (पुस्तकहरू) पनि पढ्नु पर्छ कि केवल अनुभव मात्र प्रस्तुत गरे हुन्छ?

निरन्तर साधनारत हुँदा लेखनमा परिपक्कता विकसित हुन्छ।  आफ्नो वरपरको जीवनबाट प्रेरणा लिनु अति आवश्यक छ। जीवनमा अध्यायन,विचार विमर्श,अनुभव र यात्रा मुक्तक वा कविता रचनाका महत्वपूर्ण सामाग्री हुन्। जतिजति अध्यायनको दायरा फराकिलो बनाउन सक्यो उतिनै लेखनमा प्रवीणता निखरित हुँदैजान्छ।

 

 6. मुक्तक किन बढी अर्ति उपदेशतिर केन्द्रित रेहको पाइन्छ?

कुनै पनि कविको आत्माभिब्यक्ति चाहे त्यो मुक्तक होस वा कविता,सृजन र प्रकृति फरक हुन सक्छ,आकार फरक हुन सक्छ,प्रस्तुति फरक हुन सक्छ,पहुँच र प्रभाव फरक हुन सक्छ तर आफ्नो परिवेशको प्रभाव साहित्यमा परेकै हुन्छ। आफ्नो जीवन सम्वन्धित भोगाइनै मुक्तक रचनाको सामाग्री हुन सक्छ। आन्तरिक प्रेरणा,स्व विचार,अनुभव,आरोह अबरोह, दुःख तथा निराशाको झलक मुक्तकमा प्रतिबिम्बित हुन्छनै। युवा पिँढीका रचनामा अनुराग, वयस्कका रचनामा लहर र प्रौढहरुको रचनामा यथार्थ झल्किएको हुन्छ। सीर्जना आन्तरिक अनुभूतिको अभिव्यक्त रुप हो।

 

 7. मुक्तकलाई ब्यंग भन्न सकिन्छ?

  भनिन्छ “व्यङ्ग्य मानव सहानुभूतिबाट उत्पन्न  हुन्छ र यसले मानिसको जीवनलाई उत्तम बनाउने उद्देश्य राखेको हुन्छ”। व्यङ्ग सार्थक र परिपक्क हुनु जरुरी  छ। गहन मानवीय संवेदना,विसंगति ,विडम्वनाले निम्त्याएको खाडलबाट उम्रिएको विषय हो, व्यङ्ग। तसर्थ मुक्तकमा व्यङ्ग समावेश हुँदा संवेदनशीलता, विसंगति प्रति असन्तोष र फलदायी परिवर्तनको अपेक्षा गर्न सकिन्छ। सबै मुक्तकहरु व्यङ्ग्यात्मक हुन्छन् भन्ने सोचाई भ्रममात्र हो।

 

 8. आजभोलि मुक्तक भन्दा लघुकथा लोकप्रिय भएको हो?

  विशेषत, बाल मनोभवना आकर्षित हुने एउटा माध्यम लघुकथा पनि हो। हुनत रामायण तथा महाभारत ग्रन्थ पनि लघुकथाहरुको संग्रह हो भन्ने प्रसङ्ग पनि उठ्न थालेको छ। पौराणिक कथा वा आख्यानले बाल मस्तिष्कलाई सहजै प्रभाव पार्दछ। यसको अतिरिक्त वर्तमान कम्प्यूटर युगमा लामा तथा भद्दा सामाग्री भन्दा छोटा र मिठा लघुकथाहरु प्रासंगिक बन्दै गइरहेका छन्। अर्कोतर्फ साहित्यमा प्रबन्ध काव्य वा लामा आकारका कविता भन्दा मुक्तक बिधाले ठाउँ लिंदै आएको छ। वर्तमान समयमा मुक्तकको महत्व बढ्दै गएको भान हुन्छ। मुक्तक यस्तो बिधा हो, कवि सम्मेलन, फेसबुक, कुनै सभा सम्मेलन,बनभोज,पार्टी अत्रतत्र मुक्तकको वर्चस्व बढ्दो छ। कुनै सभामा श्रोतालाई आकर्षित गर्न चोटिला मुक्तकको प्रयोग गरिन्छ। सफलतापूर्वक सृर्जना गरिएको मुक्तकले श्रोताको मनमस्तिष्कमा एउटा उच्छवास पैदा गर्दछ । तुलनात्मक रुपमा हेर्दा मुक्तक र लघुकथाले समाजमा आआफ्नो प्रतिष्ठा कायम गर्दै आएको आभास पाउन सकिन्छ।

 

9. मुक्तक पढ्ने कुनै खास समूह छ जस्तै, उमेर, शिक्षा, मनोविज्ञान?

मुक्तक यस्तो काव्य विधा हो जुन विश्वभरमानै सर्वाधिक लोकप्रिय भएको छ। मुक्तक लेखनमा आदर्श,उपदेश,मायाप्रिति,अनुराग,दर्शन आदि विषय समेटिने हुँदा सवै उमेर समुहका पाठकहरु मुक्तकसङ्ग जोडिएको महसुस हुन्छ। मुक्तकको वर्चस्व सर्वत्र देख्न सकिन्छ।

 

10. लघुकथा भन्दा मुक्तक कम लेखिने गरेको हो?

  वास्तविक कुरा गर्दा लघुकथा मइक्रोस्कोपिक दृष्टिको उपज हो। यो कथाको छोटो अंश होइन,कथानै छोटो हो। वर्मान विश्वको विद्यूतीय रफ्तारले अनुत्पादक क्षेत्रमा अधिक समय खर्चगर्ने धेरैको मनसाय हराउँदै गएको भेटिन्छ। यसै परिप्रेक्षमा लघुकथाको पठनपाठन लोकप्रिय हुन पुगेको ठान्दछु। यस्तै मुक्तक पनि कविताको सूक्ष्म रुप हुनु ,अभिव्यक्तिमा प्रभावकारिता र चोटिलो तथा प्रहारिलो प्रकृतिको हुँदा युवा वर्गमा फराकिलो आयतन स्थापित गरेको छ। खास गरेर भन्दा मैले वास्तविक मापन त गरेको छैन तैपनि मुक्तक लेखनमा शिथिलता आएजस्तो लाग्दैन।

 

11. अनुभव र लेखन दुबै किसिमले अग्र पङ्कतिमा रहनु भएको आधारमा साहित्य साधनारत नयाँ पिढीलाई केही भन्न चाहनु हुन्छ?

  एउटा साहित्यकार वैचारिक रुपबाट प्रतिवध्द हुनै पर्दछ।वैचारिक प्रतिवध्दताले लेखकीय स्वतन्त्रतामा कुनै आँच आउँदैन। यदि कुनै साहित्यकार आफ्नो भूमिकाको पालना गर्दछ भने उसको विचार सबै सभ्य समाजको लागि सहज रुपमा ग्राह्य हुन जान्छ। अन्यथा लेखकीय स्वतन्त्रतामा प्रतिघात उत्पन्न हुने सम्भावना बढेर जान सक्दछ। साहित्यकारले सामाजिक न्याय,आस्था ,विस्वास एवं दर्शनको हस्तान्तरण गर्दै आएको हुन्छ। ऊ कहिल्यै पनि आफ्नो भूमिकावाट चिप्लिएको हुदैन। यसकै निरन्तरता स्वरुप वर्तमान समयका साहित्यकारहरु समाज र राष्ट्रको सच्चा पहरेदार बनेर सुदृढ समाज निर्माणमा समर्पित हुन सकेका देखिन्छन्।
साहित्यमा पहुँच र प्रभाब दुई कुराको ठूलो महत्व रहेको हुन्छ। सानो संख्यमा रहेका भाग्यमानी साहित्यकारहरुलाई छाडेर अधिकांश साहित्यकारहरुको भावना र विचार पाठक समक्ष पुग्न सकेका हुदैनन्। थोरैले मात्र सरकारी तथा संचार माध्यमको मलजल पाएका हुन्छन्। सबैले समान रुपमा सहुलियत पाउन नसके पनि केवल हौसला मात्र पाए पनि, रोयल्टी र सरकारी सहायता नभए पनि आप्नो कटिवध्दता हराउने थिएन। बजार खोज्दै हिड्नु पर्ने अबस्था आउने थिएन। आफ्ना सृजना बाकसमा बन्द गरेर राख्न मन लाग्ने थिएन।

हाम्रो समाजमा प्रबुध्ध पाठकको एउटा जमात तयार भैरहेको अबस्था छ। शब्दहरु खतराको मापदण्डबाट छुटकारा पाइरहेछन्। यस घडीमा प्रत्येक शब्दबाट स्वर निस्कनु पर्दछ। कविता सत्य र सुन्दरताको बयान हो।
साहित्य आन्तरिक अनुभूति र संवेदनाको अभिव्यक्त रुप हो। मान्छेका आन्तरिक भावहरु समान हुन्छनन्प्रकट गर्ने, महसुस गर्ने र सोच्ने तरिका फरक भए पनि घृणा, मोह,प्रेम र वात्सल्यता जस्ता भाव मानव जातिमा समान रुपमा पाइन्छ। तसर्थ साहित्यको मूल भाव पनि समान छन्। हाम्रा भावनाहरु पनि समान छन्।

 

12. यहाँको चर्चित मुक्तक सङ्ग्रह ‘बिरिमफुल’ को माध्यमबाट कुनै खास किसिमको सन्देश दिने उद्देश्य राख्नु भएको छ?

  कविको संवेदनशीलता पाठकको संवेदनशीलता भन्दा केही अगाडि हुनु पर्दछ। साहित्य अभिब्यक्त मात्र हुँदैन यो संप्रेषित पनि हुन्छ। जहिलेसम्म साहित्य पाठक वर्गसम्म पुग्दैन तबसम्म अधुरो रहन्छ। पाठक वर्गले सहज अनुभूत गर्न सक्ने साहित्यनै खास साहित्य हो। कविले केवल कविताको लागि मात्र लेख्नु हुँदैन। कविता समाजको लागि लेखिनु पर्दछ। मानवताको लागि लेखिनु पर्दछ। समाज भित्र प्रिय कविता संकलन गर्नु पर्दैन,आँफै संकलित हुन्छ। कहिले कहिँ आँफैले बनाएको घर बाहिरबाट हेर्न जरुरत पर्दछ। त्यस्तै कहिले कहिँ साहित्यिक जगत्लाई गैह्र साहित्यिक आँखाले हेर्न जरुरत हुन्छ। अन्याय, भेदभाव र कुरीतिको विरुध्द लेखिएको साहित्य जनप्रिय हुन्छ।

 

13. मुक्तक नेपालको मौलिक विधा हो वा ऊर्दूमा लेखिने शेर वा गजलको नेपाली रुप हो?

 मुक्तक शब्दको शुरुवात संस्कृत भाषाबाट भएको हो। यद्यपि रुबाई शैली भने फारसी, अरवी, हिन्दी हुँदै नेपालीमा अवतरण गरेको हो। नेपालीमा मुक्तकको शुरुवात १८३९ साल तिर शक्तिबल्लभ अर्यालले गरेको भन्ने देखिन्छ। त्यसपछि मोतिराम भट्टको नाम आउँछ। नेपाली साहित्यकाशमा २०३० साल पछि मुक्तक रचनामा निकैनै प्रचुरता आएको देखिन्छ। यस अबधिमा कृष्ण प्रसाद पराजुली,भूपि शेरचन,हरि भक्त कटुवाल,यादव खरेल, ज्ञान उदास,ज्ञानु वाकर पौडेल,तीर्थ श्रेष्ठ,सरु भक्त आदि कविहरु सकृय रहे। साँच्चै भन्दा मुक्तकको श्रीबृद्धिमा अग्रिम कलम चलाउनेहरुमा लेखनाथ पौडेल, केदारमान व्यथित,बालकृष्ण सम,लक्ष्मी प्रसाद देबकोटा,भीम दर्शन रोका, सिद्धि चरण श्रेष्ठ,माधव घिमिरे,रत्न शम्शेर थापा,टेक बहादुर नवीन आदि हुन।

मुक्तकको,परिचय,प्रकार,प्रवृत्ति र प्राप्तिको विषयमा व्यापक जानकारी गराउने माथि उल्लेखित नामहरुको अतिरिक्त मात्सुओ वासोले जापानमा हाइकुको विकास गरेको पाइन्छ। संस्कृत साहित्यमा भर्तृहरि र अमरुक (सातौँ ,आठौ शताब्दी) ले विकास गरेको पाइन्छ। यसैगरी फारसीका विद्वान उमर खैयाम (११रौ शताब्दी का) ले विकास गरेको पाइन्छ। ब्रिटिश लेखक फिट्जजेराल्डले १८रौ शताब्दीमा खैयामका रुबाईहरू (मुक्तकहरु) अंग्रेजीमा अनुवाद गरेर मुक्तकलाई विश्व प्रशिध्द बनाए। भरतमा हरिवंश राय वच्चन-कृत “खैयामकी मधुशाला” प्रशिद्ध तथा लोकप्रिय भएको छ। मैथिली शरण गुप्ताले पनि खैयामको रुबाईको अनुवाद गरेका छन्।

त्यस्तै नेपालमा पनि तीर्थराज अधिकारी द्वारा लिखित “झटारो” नामक मुक्तक संग्रहको विद्वान् एवं शिक्षा विद् श्री भोजराज नेउपानेले अङ्ग्रेजी अनुवाद गर्नु भएर लेखकलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउनु भएको हो। यसको फलस्वरुप मुक्तककार अधिकारीले “मुक्तक मणि” उपाधि प्राप्त गर्नु भयो।

केही तथ्यगत जानकारी

(क) पहिलो पुस्तकाकार मुक्तक संग्रह “चोइटा” (२०१६ साल) हो र यसका लेखक टेकबहादुर नवीन हुन।
(
ख) पहिलो अंग्रेजीमा अनुदित मुक्तक संग्रह “झटारो” हो र यसका लेखक तीर्थराज अधिकारी हुने भने अनुवादक भोजराज नेउपाने हुन।

तीर्थराज अधिकारी


Friday, March 19, 2021

South Asian Market Over Shadowed by Indo-China Relations-Article- 319

 चीन, भारत र पाकिस्तानको कालो छायामा दक्षिण एशिया बृहत् बजार

अहिले विश्वको कूल जनसंख्या ७ अरब ८० करोड रहेको छ।

अहिले भारतको जनसंख्या लगभग १ अरब ३८ करोड रहेको छ भने चीनको जनसंख्या लगभग १ अरब ४४ करोड रहेको छ। चीन र भारतको जनसंख्यालाई मात्र जोड्ने हो भने २ अरब ८२ करोड हुन आउँछ।

विश्वको कूल जनसंख्याको ३६ प्रतिशतको बसोबास केवल चीन र भारतमा मात्र छ। यो हिसाबले चीन र भारतको संयुक्त स्थितिलाई विश्वको सर्वाधिक ठूलो बजार मान्न सकिन्छ। यो बजार आर्थिक रुपमा अति लाभदायक हुन सक्छ। तर हुन सकेको छैन। भारत र चीन बिच रहेको अति कटुताको कारण, प्रर्याप्त सम्भावनाहरू भएता पनि यो क्षेत्र एक समृद्ध बजार बन्न सकेको छैन। आर्थिक सबलताको कुरा गर्ने हो भने चीन विश्वको दोस्रो ठूलो आर्थिक महाशक्ति हो भने भारत विश्वको तेस्रो ठूलो आर्थिक महाशक्ति हुने दौडमा छ। 

यसै गरी चीनलाई न जोडेर केवल दक्षिण एशियाको मात्र जनसंख्याको स्थिति हेर्ने हो भने पनि यो क्षेत्रमा करिब २ अरब व्यक्तिहरूको बसोबास रहेको पाइन्छछ। दक्षिण एशिया पनि एक महत्वपूर्ण व्यापारिक बजारको रुपमा देखिन्छ। हुन पनि दक्षिण एशियामा विश्वको चारखण्ड मध्ये एक खण्ड जनसंख्याको बसोबास छ। बसोबासको यो स्थितिले दक्षिण एशिया पनि एक महत्वपूर्ण बजारको रुपमा देखा पर्नु पर्थ्यो। तर अचम्म! भारत र चीनको संयुक्त क्षेत्रीय स्थिति वा दक्षिण एशिया, एक धनी व्यापारिक बजारको रुपमा देखा पर्न सकेको छैन। यस्तै स्थिति रहेको र एक अर्काको छिमेरकी बनेर बसेका युरोपका केही देशहरू जनसंख्याको हिसाबले दक्षिण एशिया भन्दा निकै सानो भएता पनि विश्वको धनी बजार बन्न सफल भएका छन। युरोपका देशहरू मिलेर बनेको ‘युरोपियन युनियन’ विश्वको धनी बजारहरू मध्ये एक हुन पुगेको छ। विश्वका ठूला अर्थ  व्यवस्थाको रुपमा हेर्दा अमेरिका पछि युरोपियन युनियन विश्वको दोस्रो ठूलो अर्थ व्यवस्था हुन आउँछ।

भारत र चीनको संयुक्त स्थिति वा दक्षिण एशिया किन आर्थिक हिसाबले ठूलो र सबल बजार बन्न सकेन? यी क्षेत्रहरूमा विश्व जनसंख्याको ठूलो भाग बस्ने भएता पनि यी क्षेत्रहरू किन धनी बजार बन्न सकेनन? यो एक महत्वपूर्ण प्रश्न हुन आएको छ। र यो प्रश्नको उत्तर खोज्नु आवश्यक  छ। र यो क्षेत्रलाई बलियो बजार हुन नदिने जिम्मेवार पक्षहरूको पहिचान गरी उनीहरूको त्यस्तो व्यवहार जनतालाई अवगत गराउन आवश्यक छ। यो क्षेत्र विश्वको धनी बजार हुन सक्ने सम्भावना भएता पनि यो क्षेत्रका राजनीतिले त्यस्तो हुन नदिएको रहस्य यस क्षेत्रको गरिब जनतालाई अवगत गराउन आवश्यक छ।

यो क्षेत्रलाई गरिब बजारमा रुपान्तरण गर्नमा ती पक्षहरू जिम्मेवार रहेकोले यो क्षेत्रमा गरिबी नघट्नुको लागि उनीहरूलाई जिम्मेवार तुल्याउनु आवश्यक छ।।

दक्षिण एशिया क्षेत्रलाई एक धनी बजार हुन नदिनमा भारत र पाकिस्तान बिचको कटुतापूर्ण राजनीतिक सम्बन्धले महत्वपूर्ण भूमिका खेलेको छ। पाकिस्तान र भारत, बिभाजनकाल देखि नै एक अर्काको शत्रु रहँदै आएका छन। यी दुई राष्ट्रहरूले सम्बन्ध सुमधुर पारेर यस क्षेत्रलाई एउटा सबल बजार बनाउनुको साटो एक अर्कासँग युद्ध गर्नमा नै समय खर्च गरे, र अहिले पनि अविरल रुपमा खर्च गरि रहेका छन। यी दुबै राष्ट्रहरूमा ठूलो संख्यामा गरिबहरूको बसोबास भएता पनि यी दुबै राष्ट्रहरूले सुरक्षामा ठूलो रकम खर्च गरि रहेका छन।  

भारतले प्रत्येक वर्ष आफ्नो संघीय बजेटको लगभग १६ प्रतिशत रकम सुरक्षामा खर्च गर्छ। यसैगरी कूल गार्यहस्थ उत्पादनको २.१ प्रतिशत (सन् २०२०-२१) रकम सुरक्षामा खर्च गर्छ। भारतले प्रत्येक वर्ष सुरक्षामा औसरतमा ९ प्रतिशतले वृद्धि गर्दै लगेको देखिन्छ। अर्थात भारतले आफ्नो परम्परागत शत्रु पाकिस्तानलाई केवल तर्साउन (शैन्य बल देखाएर) ठूलो रकम खर्च गरि रहेको छ। भारतले पाकिस्तान र चीनसँग जोडिएको आफ्नो भूमिमा करोडौ रुपैंया खर्च गरेर ठूलो संख्यामा शेना तैनाथ गरेको छ। पाकिस्तानलाई तर्साउन सुरक्षामा खर्च गर्ने रकम यदि भारतले यस क्षेत्रको बजारको विकासमा गर्ने हो अथवा आफ्नै देशको गरिबी कम गर्नमा गर्ने हो भने यो क्षेत्रमा उल्लेखनीय किसिमले गरिबी घट्ने थियो।

पाकिस्तानको स्थिति पनि भारतको जस्तै छ। पाकिस्तानले पनि सुरक्षामा ठूलो रकम खर्च गरि रहेको छ। र पाकिस्तानले सुरक्षामा गर्ने ठूलो खर्च भारतले आफूमाथि गर्ने कुनै पनि शैन्य कार्यवाहीको जवाफ तुरुन्त दिनका लागि खर्च गरेको सहजै अनुमान लगाउन सकिन्छ। पाकिस्तानले आफ्नो कूल बजेटको लगभग १८ प्रतिशत रकम (सन् २०२०-२१) सुरक्षामा खर्च गर्छ। पाकिस्तानले आफ्नो कूल गार्यहस्थ उत्पादनको लगभग ३ प्रतिशत सुरक्षमा खर्च गर्छ। पाकिस्तानको सशस्त्र शैन्यवल विश्वको छैठो ठूलो शैन्यवल हो भने भारतको सशस्त्र शैन्यवल विश्वको दोस्रो ठूलो (पहिलो चीन) शैन्य वल हो। पाकिस्तान र भारत दुबैले सुरक्षामा ठूलो रकम खर्च गरि रहेका छन। तर यी दुबै राष्ट्रहरूले एक समझदारी कायम गरी यो क्षेत्रमा दीर्घकालीन शान्ति स्थापना गर्ने हो भने यी दुबै राष्ट्रहरूले शैन्य बलमा खर्च गर्ने रकम यस क्षेत्रको अर्थिका विकासमा सदुपयोग हुने थियो।

दक्षिण एशिया र यसको छिमेकी चीन सम्मलित यो भूखण्डको राजनीतिक स्थिति विचित्रको छ। चीनको भारतसँगको सम्बन्ध कटुतापूर्ण छ। यी दुई राष्ट्रहरू बिच साना ठूला गरी अनेकौ पटक युद्धहरू पनि भइसकेका छन्। केही महिना पहिले मात्र भारतको गलबानमा यी दुई राष्ट्रहरू बीच अति क्रुर मुठभेड भएको थियो। यी दुई राष्ट्रहरू बीच सम्बन्ध सुमधुर हुने सम्भावना परसम्म पनि देखिंदैन। यी दुई राष्ट्रहरू बीच युद्ध हुँदा दुबै देशका जनतालाई बेफाइदा भएता पनि नेताहरूलाई राजनीतिक फाइदा (सत्तामा दीर्घकालसम्मको पकड) हुने भएकोले यी दुई देशका नेताहरू जाना जाना, उद्देश्यपूर्वक एक अर्कासँग लडन तयार रहन्छन। दुई देश बिच बेला बेलामा हुने युद्धले आफू (दुबै देशका नेता) हरूलाई राजनीतिक फाइदा हुने भएकोले दुबै देशका नेताहरू यस क्षेत्रमा शान्ति स्थपना नहोस, निरन्तर युद्ध होस भन्ने चाहन्छन। यो कारणले गर्दा पनि भारत र चीन बिच एक किसिमले निरन्तर युद्ध भइरहेको छ।

पाकिस्तान र भारत बीचको सम्बन्ध त झन पानी बाराबारको छ। दुबै एक अर्कोको शत्रुको रुपमा रहेको देखिन्छन। यस्तो हुनमा दुई देशका सामान्य जनता होइन, दुई देशका नेताहरु जिम्मेवार देखिन्छन। यी दुई देश बिच सम्बन्ध राम्रो भएमा आफ्नो राजनीतिक भविष्य असुरक्षित र यदि सम्बन्ध कटुतापूर्ण भएमा सुरक्षित हुने भएकोले यी दुबै देशका केही नेताहरू भारत र पाकिस्तान बिच निरन्तर कटुता होस, निरन्तर साना ठूला युद्ध होस भन्ने चाहन्छन। यो कारणले गर्दा यो क्षेत्रमा शान्ति स्थपाना हुन सकिरहेको छैन। यो क्षेत्रको गरिबी कम हुन सकिरहेको छैन।

भारतलाई पाकिस्तानको शत्रु देखार पाकिस्तानका केही नेताहरुले राजनीतिक फाइदा लिइरहेका छन भने पाकिस्तानलाई भारतको शत्रु देखाएर भारतका केही नेताहरूले राजनीतिक फाइदा लिइरहेका छन। चुनावमा विजय हासिल गरिरहेका छन। सरकार निर्माण गर्न सफल भएका छन। यो कारणले गर्दा पनि यी दुबै देशका नेताहरूले यो क्षेत्रमा शान्ति स्थापित होस, यो क्षेत्र एक बलियो व्यापारिक बजारको रुपमा स्थापित होस भन्ने चाहिरहेका छैनन। यो क्षेत्रमा उनीहरू जहिले पनि उथल पुथल भएको हेर्न चाहन्छन। र यो कारणले गर्दा पनि निरन्तर र प्रत्येक दिन वाक-युद्धमा लीन रहन्छन। तर दुबै देशका जनता भने एक आपसमा समझदारी कायम गरेर शान्तीपूर्वक बस्न चाहन्छ। 

एक समृद्ध बजार हुन सक्ने सम्भावना बोकेको दक्षिण एशिया उल्टो अनेक राजनीतिक दाउपें खेलिने युद्ध मैदान हुन पुगेको छ। पाकिस्तानको क्रियाकलाप भारतसँग हुने साना ठूला युद्धहरूमा मात्र सीमित छैन। पाकिस्तानले अफगानिस्तानको तालिबानहरूलाई सहयोग गरेर अफगानीस्थानलाई पनि अस्थिर पारि रहेको छ। अफगानीस्तान स्थिर भएमा यस देशमा भारतको प्रभाव बढ्ने भयले पाकिस्तानले जहिले पनि अफगानीस्थानलाई अस्थिर भएको देख्न चाहन्छ। अफगानीस्थानको गृहयुद्द समाप्त हुने सम्भावना पनि टाढा टाढा सम्म देखिंदैन। यो देश अझै दसकौं सम्म अशान्त रहने देखिन्छ। यस्तो स्थितिमा कसरी दक्षिण एशिया एक समृद्ध बजार हुन सक्छ? कसरी यो क्षेत्रको गरिबी कम हुन सक्छ?

चीन र भारत बिचको कटुतापूर्ण सम्बन्धको कालो छायाले नेपालको राजनीतिलाई पनि अति नै प्रतिकूल किसिमले असर पारेको छ। यहाँसम्म की नेपालमा स्थापना हुने सरकारको आयु यी दुई राष्ट्रहरूको क्रियाकलापमा भर पर्ने स्थितिमा पुगेकोछ। चीन र भारत बिचको कटुतापूर्ण सम्बन्धले नेपालमा आर्थिक समृद्धि विस्तार गर्न गार्हो हुने देखिएको छ। यी दुबै राष्ट्रहरू नेपालको आर्थिक विकासमा बाधक बन्न सक्छन्

चीन, पाकिस्तान र भारत, यी तिनै पक्षहरू मिलेर यस क्षेत्रमा शान्ति स्थापना गर्न कटिवद्ध हुने हुन भने यो क्षेत्राम शान्ति स्थापना भएर यो क्षेत्र एक बलियो आर्थिक बजारको रुपमा स्थापित हुन सक्छ। तर युद्धमा फाइदा देख्ने स्वार्थी एवं चतुर नेताहरुले यो क्षेत्रमा शान्ति स्थापना भएको हेर्न चाहेका छैनन्। उनीहरूको क्रियाकलाप अनेक निहुँ खोजेर दक्षिण एशियाका राष्ट्रहरू बिच युद्ध गराउनमा नै केन्द्रित रहेको देखिन्छ। यस्तो स्थितिमा दक्षिण एशिया एक बलियो आर्थिक बजार बन्न कठिन छ। यो क्षेत्रबाट गरिबी अन्त्य हुन असम्भव छ।

चीन, भारत र पाकिस्तानको कालो छायामा दक्षिण एशिया परेको हुनाले यो क्षेत्र एक बृहत् बजार हुन सक्ने सम्भावन यो स्थितिमा भने देखिंदैन। 

Bishwa Raj Adhikari

akoutilya@gmail.com