Thursday, March 25, 2021

Interview With Teertha Adhikari

 तीर्थराजसँग विश्वदर्पणले लिएको अन्तर्वाता 

नेपालमा लामो समयसम्म सरकारी सेवामा रहेर सेवानिवृत हुनु भएका तिर्थराज अधिकारी हाल ओहाओ, अमेरिकामा हुनु हुन्छ। नेपालमा हुँदा उहाँले विभिन्न कृतिहरूको लेखन एवं प्रकाशन गर्नु भएको पाइन्छ। १. जूनकिरी-कविता सङ्ग्रह २०५३, २. ऐना-कविता सङ्ग्रह २०५७, ३. तीन लय तेर्ह गीत-गीति सङ्ग्रह २०६०, ४. झटारो-मुक्तक सङ्ग्रग २०७०, ५. यो कस्को हात-कविता सङ्ग्रह २०७०, ६. बिरिमफुल-मुक्तक सङ्ग्रह सन् २०१६  उहाँका प्रकाशित कृतिहरू हुन्।

तीर्थराज अधिकारी, साहित्यमा एक सुपरिचित नाम भएता पनि मुक्तक-साहित्यमा भने उहाँको नाम विशेष किसिमले लिने गरिन्छ। उहाँलाई “मुक्तक मणि” भन्ने गरिन्छ। मुक्तक लेखनमा उहाँको महत्वपूर्ण योगदान छ। अधिकारीका मुक्तकहरू पाठकहरूबाट अति नै रुचाइएका छन।

प्रस्तुत छ विश्वदर्पण ब्लगका लागि विश्वराज अधिकारीले तीर्थराज अधिकारीसङ्ग लिएको अन्तरवार्ता 

 

1.      साहित्य के हो? मुक्तक र कविता बिच के अन्तर छ? साहित्यमा कविको दायित्व विषयमा प्रकाश पारिदिनु हुन।

कुनै लेखन वा पङ्तिहरुबाट जिन्दगीलाई स्पर्स हुनुनै साहित्य हो। साहित्यलाई हामीले पानी जस्तै निर्मल बनाउनु पर्दछ,जस्तो पानी जस्ले पिउँछ उसैको तृष्णा मेटिन्छ ,त्यस्तै साहित्य पनि जसले पढ्यो उसैको जीवन बोल्नु पर्दछ। यदि कुनै साहित्यकार आफ्नो भाषाको आग्रह गर्दछ भने ऊ आफ्नो सारा स्मृति तथा संस्कारको आग्रह गर्दछ,स्वतन्त्र राष्ट्रको आफ्नो भाषामा विशुद्ध अस्मिता बाँचेको हुन्छ।
   भनिन्छ,मानव चेतनाको वाणीनै साहित्य हो,आधुनिकता समय सापेक्ष माग हो। साहित्य विशिष्ट मानसिकताको उपज हो। साहित्यमा नवीनता आउन भाषामा विचलन आउँछ। साहित्य मनोरञ्जनको लागि पढिन्छ भने शास्त्र ज्ञानको लागि। साहित्यले हार्दिकता दिन्छ भने शास्त्रले बौधिकता । कवि केवल आफ्नो लडाईँ मात्र लड्दैन,नत आफ्नै मात्र कथा ब्यथाको लेखा जोखा गर्दछ। कवि त बिउँझन्छ,हिँड्छ हर घडी हर पल नगिच वा टाढा हर मौसम,हरेक संबन्धको भाग र गुणाको साथ ,इतिहासको फैसला र फासलाको साथ। साहित्यकार आफ्नो भूमिकाबाट कदापि विचलित हुँदैन। अब रह्यो कुरा कविता र मुक्तकको सम्वन्ध। मुक्तक काव्य कविताको एक शूक्ष्म रुप हो जसमा प्रबन्धकीयता हुँदैन। यो आफैं स्वतन्त्र रहन्छ। अर्थात मुक्तक काव्यको त्यो विधा हो जसमा कुनै कथानकको पूर्वापर संवन्ध रहँदैन, स्वपूर्ण हुन्छ।

 

2.      मुक्तक लेखनको कुनै सिद्धान्त छ?

मुक्तक चार पदको रचनाहो,जसको पहिलो ,दोश्रो र चौथो पद तुकान्त र तेश्रो पद अतुकान्त हुन्छ। मुक्तकको केन्द्रबिन्दु अन्तिम दुई पंक्तिमा रहन्छ। मुक्तक यस्तो रचना हो जसले आफ्नो अर्थ आँफै लगाउँछ। अन्य कुनै पनि सहयोगी साधनको भर पर्नु पर्दैन। यो देख्नमा सानो ,मर्मपर्शी र चोटिलो हुन्छ। त्यसैले मुक्तकलाई तिखो र प्रहारिलो भन्ने गरिन्छ।
मुक्तकका चारै पङ्क्ति पढेपछि यस्को अर्थ लगाइरहनु पर्दैन,आँफै प्रष्ट भैहाल्छ। प्रथम पङ्क्तिले विषय प्रवर्तन (भाव विचारोद्घाटन), द्वितीय पङ्क्ति प्रवर्तित वा उद्घाटितले भाव विचारको सम्बर्धन गर्दछ भने तेश्रो पङ्क्तिले एउटा सोपान तयार गर्दछ र चौथो पङ्क्ति पुरा मुक्तकको प्राण बन्दछ। यही चौथो पङ्क्तिलाई प्राण दिन अरु तिनवटा पङ्क्तिले तयारी गरेका हुन्छन्।जस्तै-
न रोएर मुक्तक बन्दो रहेछ
न धोएर मुक्तक बन्दो रहेछ
बाँधेर होइन भित्री मनलाई
फोएर मुक्तक बन्दो रहेछ।

 

 3. यहाँलाई मन परेको क्षेत्र कुन हो? अर्थात कविता वा मुक्तक?

मुक्तकको उत्तमता र अनुत्तमता फेला पार्न बुद्धिको प्रयोजन खासै रहँदैन। एउटा सुन्दर मुक्तक पाठक वा श्रोताको मनोवेग उत्तेजित पार्न प्रयाप्त हुन्छ। यसले पाठकको उच्छवासित जीवनमा एउटा नयाँ अंग स्थापित गरिदिन्छ। जीवनलाई उन्नत बनाउँछ। उत्कृष्ट तथा अलौकिक आनन्द सित परिचित गराउँछ। कुनै पनि मुक्तकको शिष्टता,सरलता र मारक क्षमताले पाठकलाई सहज बनाउँछ। एक सानो मुक्तकमा पूर्ण भाव समाहित हुन्छ। गुम्फित हुन्छ। र अभिव्यक्तिको शैली पनि अति प्रभावपूर्ण हुन्छ। यसैले गर्दा कुनै साहित्य संमेलन वा साँस्कृतिक प्रदर्शन हुँदा आरम्भमानै कुनै आकर्षक मुक्तक वाचन गरेर सुरुवात गर्ने प्रचलन रहेको थियो जस्ले गर्दा आमन्त्रित महानुभावहरुको ध्यान आकर्षण गरोस। यिनै कारणले गर्दा म स्वयम पनि मुक्तक विधा सित आकर्षित भएको हुँ।

 

 4. मुक्तकलाई परिभाषित गर्नु पर्दा के भन्नु पर्ने हुन्छ?

शब्द र अर्थको बिचको भावनै मुक्तक हो।” प्रबन्ध काव्य एक वनस्थली हो भने मुक्तक एक फूल गुच्छा भनिन्छ। मुक्तक काव्यको यस्तो बिधान छ जस्मा कुनै कथाको पूर्बापर सम्बन्ध हुँदैन,प्रत्येक बनावट आँफै पूर्णत स्वतन्त्र र सम्पूर्ण अर्थ दिन सक्ने हुन्छ। वास्तविक मुक्तकमा जीवनको कुनै रुप वा प्रकृतिको कुनै पक्ष विशेषको चित्रमात्र उपस्थित हुन्छ। कुनै मार्मिक दृश्य वा अनुभूतिलाई सफलता पूर्वक प्रस्तुत गरिएको रचनालाई मुक्तक भनिन्छ। कौशलता पूर्वक सृजन गरिएको स्वयंमा पूर्ण, अपेक्षकृत लघु रचनालाई मुक्तक भनिएको छ। ”मुक्तकंश्लोक एबैकश्चमत्कारक्षमःसताम्”, अर्थात चमत्कार पूर्ण क्षमता राख्ने एउटा श्लोकलाई मुक्तक भनिन्छ।

 नेपालको मुक्तक जगत् अहिले सुरक्षित हातमा पुगेको छ। गंभीर र संप्रेषण युक्त मुक्तकहरु आउन थलेका छन्। पुरानो वर्जना (पावन्दी) तोडेर नयाँ आयम थपिएका छन्। यो पुस्ताले मुक्तकको सृजनामा बुद्धिको भन्दा हृदयलाई बढी महत्व दिएका छन्। नेपाली मुक्तक संहिताबध्द नहुँदा सम्म सबै प्रकारका छोटा छोटा कविता पनि मुक्तक भनिए। तर हाल नेपाल मुक्तक प्रतिष्ठान स्थपना भएर सबै मुक्तकको बनाबटमा पनि संहितीकरण भैसकेको छ।
 मुक्तकका विशिष्ट गुणहरुः-

(१)-काव्यको एक लघु परिक्षेत्र हो।

(२)-साहित्यमा काव्यको एक विशिष्ट विधा हो। यस्को विशिष्टता यस्कै पूर्णतामा हुन्छ।

(३) “मच धातुमा “कन प्रत्यय लागेर मुक्तक शब्दको ब्युत्पत्ति भएको हो।

(४) मुक्तकलाई चोइटा, टुक्रा,झुल्का,उद्वेग,ठून्का,चुड्का,छिर्का,झड्का,केस्रा ,मट्याङ्ग्रा आदि नामले पनि पुकारिन्छ।

(५)-जुन वाक्यांश पढ्दा पाठकको अन्तस्करणमा रस-सलिला प्रभाहित हुन्छ त्यही मुक्तक हो।

(६)-जव एक पद अर्को पद संग मुक्त रहन्छ अनि मुक्तक हुन्छ।

 

5. मुक्तक लेख्नका लागि अन्य साहित्य (पुस्तकहरू) पनि पढ्नु पर्छ कि केवल अनुभव मात्र प्रस्तुत गरे हुन्छ?

निरन्तर साधनारत हुँदा लेखनमा परिपक्कता विकसित हुन्छ।  आफ्नो वरपरको जीवनबाट प्रेरणा लिनु अति आवश्यक छ। जीवनमा अध्यायन,विचार विमर्श,अनुभव र यात्रा मुक्तक वा कविता रचनाका महत्वपूर्ण सामाग्री हुन्। जतिजति अध्यायनको दायरा फराकिलो बनाउन सक्यो उतिनै लेखनमा प्रवीणता निखरित हुँदैजान्छ।

 

 6. मुक्तक किन बढी अर्ति उपदेशतिर केन्द्रित रेहको पाइन्छ?

कुनै पनि कविको आत्माभिब्यक्ति चाहे त्यो मुक्तक होस वा कविता,सृजन र प्रकृति फरक हुन सक्छ,आकार फरक हुन सक्छ,प्रस्तुति फरक हुन सक्छ,पहुँच र प्रभाव फरक हुन सक्छ तर आफ्नो परिवेशको प्रभाव साहित्यमा परेकै हुन्छ। आफ्नो जीवन सम्वन्धित भोगाइनै मुक्तक रचनाको सामाग्री हुन सक्छ। आन्तरिक प्रेरणा,स्व विचार,अनुभव,आरोह अबरोह, दुःख तथा निराशाको झलक मुक्तकमा प्रतिबिम्बित हुन्छनै। युवा पिँढीका रचनामा अनुराग, वयस्कका रचनामा लहर र प्रौढहरुको रचनामा यथार्थ झल्किएको हुन्छ। सीर्जना आन्तरिक अनुभूतिको अभिव्यक्त रुप हो।

 

 7. मुक्तकलाई ब्यंग भन्न सकिन्छ?

  भनिन्छ “व्यङ्ग्य मानव सहानुभूतिबाट उत्पन्न  हुन्छ र यसले मानिसको जीवनलाई उत्तम बनाउने उद्देश्य राखेको हुन्छ”। व्यङ्ग सार्थक र परिपक्क हुनु जरुरी  छ। गहन मानवीय संवेदना,विसंगति ,विडम्वनाले निम्त्याएको खाडलबाट उम्रिएको विषय हो, व्यङ्ग। तसर्थ मुक्तकमा व्यङ्ग समावेश हुँदा संवेदनशीलता, विसंगति प्रति असन्तोष र फलदायी परिवर्तनको अपेक्षा गर्न सकिन्छ। सबै मुक्तकहरु व्यङ्ग्यात्मक हुन्छन् भन्ने सोचाई भ्रममात्र हो।

 

 8. आजभोलि मुक्तक भन्दा लघुकथा लोकप्रिय भएको हो?

  विशेषत, बाल मनोभवना आकर्षित हुने एउटा माध्यम लघुकथा पनि हो। हुनत रामायण तथा महाभारत ग्रन्थ पनि लघुकथाहरुको संग्रह हो भन्ने प्रसङ्ग पनि उठ्न थालेको छ। पौराणिक कथा वा आख्यानले बाल मस्तिष्कलाई सहजै प्रभाव पार्दछ। यसको अतिरिक्त वर्तमान कम्प्यूटर युगमा लामा तथा भद्दा सामाग्री भन्दा छोटा र मिठा लघुकथाहरु प्रासंगिक बन्दै गइरहेका छन्। अर्कोतर्फ साहित्यमा प्रबन्ध काव्य वा लामा आकारका कविता भन्दा मुक्तक बिधाले ठाउँ लिंदै आएको छ। वर्तमान समयमा मुक्तकको महत्व बढ्दै गएको भान हुन्छ। मुक्तक यस्तो बिधा हो, कवि सम्मेलन, फेसबुक, कुनै सभा सम्मेलन,बनभोज,पार्टी अत्रतत्र मुक्तकको वर्चस्व बढ्दो छ। कुनै सभामा श्रोतालाई आकर्षित गर्न चोटिला मुक्तकको प्रयोग गरिन्छ। सफलतापूर्वक सृर्जना गरिएको मुक्तकले श्रोताको मनमस्तिष्कमा एउटा उच्छवास पैदा गर्दछ । तुलनात्मक रुपमा हेर्दा मुक्तक र लघुकथाले समाजमा आआफ्नो प्रतिष्ठा कायम गर्दै आएको आभास पाउन सकिन्छ।

 

9. मुक्तक पढ्ने कुनै खास समूह छ जस्तै, उमेर, शिक्षा, मनोविज्ञान?

मुक्तक यस्तो काव्य विधा हो जुन विश्वभरमानै सर्वाधिक लोकप्रिय भएको छ। मुक्तक लेखनमा आदर्श,उपदेश,मायाप्रिति,अनुराग,दर्शन आदि विषय समेटिने हुँदा सवै उमेर समुहका पाठकहरु मुक्तकसङ्ग जोडिएको महसुस हुन्छ। मुक्तकको वर्चस्व सर्वत्र देख्न सकिन्छ।

 

10. लघुकथा भन्दा मुक्तक कम लेखिने गरेको हो?

  वास्तविक कुरा गर्दा लघुकथा मइक्रोस्कोपिक दृष्टिको उपज हो। यो कथाको छोटो अंश होइन,कथानै छोटो हो। वर्मान विश्वको विद्यूतीय रफ्तारले अनुत्पादक क्षेत्रमा अधिक समय खर्चगर्ने धेरैको मनसाय हराउँदै गएको भेटिन्छ। यसै परिप्रेक्षमा लघुकथाको पठनपाठन लोकप्रिय हुन पुगेको ठान्दछु। यस्तै मुक्तक पनि कविताको सूक्ष्म रुप हुनु ,अभिव्यक्तिमा प्रभावकारिता र चोटिलो तथा प्रहारिलो प्रकृतिको हुँदा युवा वर्गमा फराकिलो आयतन स्थापित गरेको छ। खास गरेर भन्दा मैले वास्तविक मापन त गरेको छैन तैपनि मुक्तक लेखनमा शिथिलता आएजस्तो लाग्दैन।

 

11. अनुभव र लेखन दुबै किसिमले अग्र पङ्कतिमा रहनु भएको आधारमा साहित्य साधनारत नयाँ पिढीलाई केही भन्न चाहनु हुन्छ?

  एउटा साहित्यकार वैचारिक रुपबाट प्रतिवध्द हुनै पर्दछ।वैचारिक प्रतिवध्दताले लेखकीय स्वतन्त्रतामा कुनै आँच आउँदैन। यदि कुनै साहित्यकार आफ्नो भूमिकाको पालना गर्दछ भने उसको विचार सबै सभ्य समाजको लागि सहज रुपमा ग्राह्य हुन जान्छ। अन्यथा लेखकीय स्वतन्त्रतामा प्रतिघात उत्पन्न हुने सम्भावना बढेर जान सक्दछ। साहित्यकारले सामाजिक न्याय,आस्था ,विस्वास एवं दर्शनको हस्तान्तरण गर्दै आएको हुन्छ। ऊ कहिल्यै पनि आफ्नो भूमिकावाट चिप्लिएको हुदैन। यसकै निरन्तरता स्वरुप वर्तमान समयका साहित्यकारहरु समाज र राष्ट्रको सच्चा पहरेदार बनेर सुदृढ समाज निर्माणमा समर्पित हुन सकेका देखिन्छन्।
साहित्यमा पहुँच र प्रभाब दुई कुराको ठूलो महत्व रहेको हुन्छ। सानो संख्यमा रहेका भाग्यमानी साहित्यकारहरुलाई छाडेर अधिकांश साहित्यकारहरुको भावना र विचार पाठक समक्ष पुग्न सकेका हुदैनन्। थोरैले मात्र सरकारी तथा संचार माध्यमको मलजल पाएका हुन्छन्। सबैले समान रुपमा सहुलियत पाउन नसके पनि केवल हौसला मात्र पाए पनि, रोयल्टी र सरकारी सहायता नभए पनि आप्नो कटिवध्दता हराउने थिएन। बजार खोज्दै हिड्नु पर्ने अबस्था आउने थिएन। आफ्ना सृजना बाकसमा बन्द गरेर राख्न मन लाग्ने थिएन।

हाम्रो समाजमा प्रबुध्ध पाठकको एउटा जमात तयार भैरहेको अबस्था छ। शब्दहरु खतराको मापदण्डबाट छुटकारा पाइरहेछन्। यस घडीमा प्रत्येक शब्दबाट स्वर निस्कनु पर्दछ। कविता सत्य र सुन्दरताको बयान हो।
साहित्य आन्तरिक अनुभूति र संवेदनाको अभिव्यक्त रुप हो। मान्छेका आन्तरिक भावहरु समान हुन्छनन्प्रकट गर्ने, महसुस गर्ने र सोच्ने तरिका फरक भए पनि घृणा, मोह,प्रेम र वात्सल्यता जस्ता भाव मानव जातिमा समान रुपमा पाइन्छ। तसर्थ साहित्यको मूल भाव पनि समान छन्। हाम्रा भावनाहरु पनि समान छन्।

 

12. यहाँको चर्चित मुक्तक सङ्ग्रह ‘बिरिमफुल’ को माध्यमबाट कुनै खास किसिमको सन्देश दिने उद्देश्य राख्नु भएको छ?

  कविको संवेदनशीलता पाठकको संवेदनशीलता भन्दा केही अगाडि हुनु पर्दछ। साहित्य अभिब्यक्त मात्र हुँदैन यो संप्रेषित पनि हुन्छ। जहिलेसम्म साहित्य पाठक वर्गसम्म पुग्दैन तबसम्म अधुरो रहन्छ। पाठक वर्गले सहज अनुभूत गर्न सक्ने साहित्यनै खास साहित्य हो। कविले केवल कविताको लागि मात्र लेख्नु हुँदैन। कविता समाजको लागि लेखिनु पर्दछ। मानवताको लागि लेखिनु पर्दछ। समाज भित्र प्रिय कविता संकलन गर्नु पर्दैन,आँफै संकलित हुन्छ। कहिले कहिँ आँफैले बनाएको घर बाहिरबाट हेर्न जरुरत पर्दछ। त्यस्तै कहिले कहिँ साहित्यिक जगत्लाई गैह्र साहित्यिक आँखाले हेर्न जरुरत हुन्छ। अन्याय, भेदभाव र कुरीतिको विरुध्द लेखिएको साहित्य जनप्रिय हुन्छ।

 

13. मुक्तक नेपालको मौलिक विधा हो वा ऊर्दूमा लेखिने शेर वा गजलको नेपाली रुप हो?

 मुक्तक शब्दको शुरुवात संस्कृत भाषाबाट भएको हो। यद्यपि रुबाई शैली भने फारसी, अरवी, हिन्दी हुँदै नेपालीमा अवतरण गरेको हो। नेपालीमा मुक्तकको शुरुवात १८३९ साल तिर शक्तिबल्लभ अर्यालले गरेको भन्ने देखिन्छ। त्यसपछि मोतिराम भट्टको नाम आउँछ। नेपाली साहित्यकाशमा २०३० साल पछि मुक्तक रचनामा निकैनै प्रचुरता आएको देखिन्छ। यस अबधिमा कृष्ण प्रसाद पराजुली,भूपि शेरचन,हरि भक्त कटुवाल,यादव खरेल, ज्ञान उदास,ज्ञानु वाकर पौडेल,तीर्थ श्रेष्ठ,सरु भक्त आदि कविहरु सकृय रहे। साँच्चै भन्दा मुक्तकको श्रीबृद्धिमा अग्रिम कलम चलाउनेहरुमा लेखनाथ पौडेल, केदारमान व्यथित,बालकृष्ण सम,लक्ष्मी प्रसाद देबकोटा,भीम दर्शन रोका, सिद्धि चरण श्रेष्ठ,माधव घिमिरे,रत्न शम्शेर थापा,टेक बहादुर नवीन आदि हुन।

मुक्तकको,परिचय,प्रकार,प्रवृत्ति र प्राप्तिको विषयमा व्यापक जानकारी गराउने माथि उल्लेखित नामहरुको अतिरिक्त मात्सुओ वासोले जापानमा हाइकुको विकास गरेको पाइन्छ। संस्कृत साहित्यमा भर्तृहरि र अमरुक (सातौँ ,आठौ शताब्दी) ले विकास गरेको पाइन्छ। यसैगरी फारसीका विद्वान उमर खैयाम (११रौ शताब्दी का) ले विकास गरेको पाइन्छ। ब्रिटिश लेखक फिट्जजेराल्डले १८रौ शताब्दीमा खैयामका रुबाईहरू (मुक्तकहरु) अंग्रेजीमा अनुवाद गरेर मुक्तकलाई विश्व प्रशिध्द बनाए। भरतमा हरिवंश राय वच्चन-कृत “खैयामकी मधुशाला” प्रशिद्ध तथा लोकप्रिय भएको छ। मैथिली शरण गुप्ताले पनि खैयामको रुबाईको अनुवाद गरेका छन्।

त्यस्तै नेपालमा पनि तीर्थराज अधिकारी द्वारा लिखित “झटारो” नामक मुक्तक संग्रहको विद्वान् एवं शिक्षा विद् श्री भोजराज नेउपानेले अङ्ग्रेजी अनुवाद गर्नु भएर लेखकलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउनु भएको हो। यसको फलस्वरुप मुक्तककार अधिकारीले “मुक्तक मणि” उपाधि प्राप्त गर्नु भयो।

केही तथ्यगत जानकारी

(क) पहिलो पुस्तकाकार मुक्तक संग्रह “चोइटा” (२०१६ साल) हो र यसका लेखक टेकबहादुर नवीन हुन।
(
ख) पहिलो अंग्रेजीमा अनुदित मुक्तक संग्रह “झटारो” हो र यसका लेखक तीर्थराज अधिकारी हुने भने अनुवादक भोजराज नेउपाने हुन।

तीर्थराज अधिकारी


No comments:

Post a Comment