Friday, May 26, 2023

Neomodernism: Capitalism and Communism-Article 414

पूँजीवादलाई हेर्ने नवउदारवादी दृष्टिकोण र कम्युनिज्म

पूँजीवादलाई प्रजातन्त्रवादीहरूले फरक–फरक समयमा फरक–फरक किसिमले हेरे र त्यसै अनुसार पूँजीवादको परिभाषा पनि फरक–फरक किसिमले दिए। सामन्ती वा कृषि युग, औद्योगिक युग र सूचना–सञ्जाल युग गरी यी तीन युगमा पूँजीवादलाई हेर्ने उनीहरूको दृष्टिकोण अति नै फरक थियो। पूँजीवादलाई हेर्ने दृष्टिकोण सबै कालमा एकै किसिमको थिएन। तर कम्युनिस्टहरूले पूँजीवादलाई सदा एकै किसिमले हेरे। पूँजीवादलाई सधैं आफ्नो शत्रु देखे। आफ्ना समर्थकहरूलाई पनि पूँजीवाद गरीबहरूको शोषण गर्न शोषकहरूले प्रयोग गर्ने निर्मम हतियार हो भनी बताए, विश्वास गर्न लगाए।

कम्युनिस्टहरूले पूँजीवादलाई सधैं वा जुनसुकै कालमा पनि शत्रु किन देखे? यो प्रश्नको उत्तर सरल पनि छ र कठिन पनि। सरल यस कारण कि कम्युनिस्टहरू र मुख्यतः उनका नेताहरूले व्यक्तिगत स्वार्थ र जहिले पनि राज्य–सत्ता आफ्नो नियन्त्रणमा राख्न पूँजीवादलाई नराम्रो भने। पूँजीवादलाई गरीबको ठूलो शत्रुको रूपमा प्रस्तुत गरे, प्रचार गरे।

कम्युनिस्टहरूले मतदाता वा गरीबहरूलाई के कस्ता कुरा भनेर पूँजीवाद उनीहरूको हितमा छैन भनी विश्वास गर्न लगाए भन्ने प्रश्नको उत्तर दिन सजिलो छैन किनभने पूँजीवाद गरीबहरूको हितामा छैन भनी विश्वास गर्न लगाउन कम्युनिस्ट नेताहरूले अनेक रणनीति प्रयोग गरे जुन सामान्य जनताले बुझ्न कठिन छ, सजिलै बुझ्नै नसकिने खालको।

सामन्ती कालमा आय र रोजगारको मुख्य स्रोत कृषि थियो, भूमि मात्र थियो। यो कालमा सामन्तहरूसँग मात्र धेरै जग्गा हुन्थ्यो। अति गरीबहरूसँग जोत्नका लागि भूमिको एक टुक्रा पनि हुन्थेन। अति गरीबको हातमा एक टुक्रा जमीन हुने स्थिति सामन्तहरूले हुन पनि दिन्थेनन्। त्यस्तो भएमा सामन्तहरूलाई कृषि कार्यमा कृषि मजदूरको अभाव हुन्छ भन्ने कुरा राम्ररी थाहा थियो। अर्कोतिर आफूसँग कृषिका लागि एक टुक्रा जमीन नहुँदा, उत्पादन गर्न सक्ने स्थिति नभएर, अति गरीबहरू सामन्त (धनी किसान वा जमीनदार) को भूमिमा मजदूरी गर्न बाध्य हुन्थे। यसरी सामान्तहरूले अति गरीबहरू नित्य अति गरीब हुने स्थिति सृजना गरेर उनीहरूको चरम शोषण गर्दथे। उनीहरूलाई बलियो आर्थिक स्थितिमा कहिले पनि पुग्न दिन्थेनन्।

त्यस युगमा यसरी सामन्तहरूद्वारा अति गरीबहरूको चरम शोषण हुन्थ्यो। र चरम शोषण गर्ने माध्यम पूँजी अर्थात् जमीन हुन्थ्यो। अति असमान जमीन–वितरण (केही व्यक्तिहरूको हातमा कृषियोग्य जमीनको ठूलो हिस्सा हुनु) ले शोषण कार्य सजिलो थियो। हो, यो कालमा, कम्युनिस्टहरूले भने अनुसार पूँजीद्वारा श्रम (गरीबहरू) शोषण हुन्थ्यो । चरम शोषण हुन्थ्यो।

औद्योगिक युगमा पनि पूँजीद्वारा श्रम (मजदूर) को शोषण हुने कार्य कायम नै रह्यो। तर यो युगमा, सामन्तीकालझैं पूँजीपति (जमीनदार) हरूले ठूलो मात्रामा श्रम शोषण गर्न सकेनन्, सक्दैनथे पनि। उत्पादन प्रणालीमा मजदूरहरूको भूमिका पनि महत्वपूर्ण हुने भएकोले उद्योगपति वा पूँजीपतिहरू मजदूरहरूलाई न्यायोचित ज्याला दिन बाध्य भए। अर्कोतिर, कृषि युगझैं एउटा मजदूरले काम गर्दिनँ भन्दा अर्को मजदूर ल्याउन, उसलाई काममा लगाउन सजिलो थिएन। कृषि मजदूरहरूको तुलनामा औद्योगिक मजदूर अनेक सीपले युक्त थिए। उनीहरूको विकल्पमा कृषि मजदूरझैं, अर्को मजदूर पाउन सजिलो थिएन। औद्योगिक मजदूरहरूसँग विशेष सीप हुँदा, एकातिर उनीहरूको महत्व वृद्धि भएको थियो भने कृषियुगमा झैं जमीनदारको निगाहमा बाँच्नुपर्ने स्थितिको अन्त्य भएको थियो।

अहिले यो पछिल्लो स्थितिमा, हामी सूचना–सञ्जाल युगमा बाँचिरहेका छौं। सूचना–सञ्जाल युग नव उदारवादी युग हो। यो युगले भूमिको महत्व कम पारिदिएको छ। उद्योगको अति महत्वलाई पनि कम पारिदिएको छ। अहिले बजारमा, ज्ञान र प्रविधिको वर्चस्व रहेको यस युगमा एक सामान्य व्यक्ति पनि ज्ञान, सीप प्रयोग गरेर सहजै रोजगार पाउन सक्छ। त्यति मात्र होइन, उसको ज्ञान व्यापारिक जगत्मा सफल भएमा, करोडौं कमाउन सक्छ। लघुकालमा नै अर्बपति, खर्बपति हुन सक्छ, एलेन मस्क, जेफ बेजोज, बिल गेट्स जस्तै। अहिले पूँजीपतिहरूले अनेक रणनीति प्रयोग गरेर, छलकपट गरेर, अत्याचार गरेर, मजदूरको चरम शोषण गरेर, सदा धनी हुन सक्ने स्थिति नै छैन। तर यसको अर्थ यो होइन कि पूँजीपतिहरूले मजदूरको शोषण गर्दैनन्। शोषण गर्छन् तर सामन्ती र औद्योगिक युगजस्तो होइन। एउटा उदाहरण हेरौं– कुनै एक कम्पनी (करपोरेशन) का संस्थापक (Promoters) हरूले सो कम्पनी सञ्चालन गर्न ठूलो पूँजी सङ्कलन गर्नुपर्छ। र सो पूँजी सङ्कलन गर्न बजारमा ‘शेयर’ वा स्टक बिक्री गर्नुपर्ने हुन्छ।

कुनै पनि कम्पनीको एउटा होस् वा हजारवटा, जुन सङ्ख्यामा पनि, शेयर खरीद गर्ने व्यक्ति सो कम्पनीको मालिक हुन्छ। कानूनले नै उसलाई मालिक हो भनी परिभाषित गर्छ। यसरी केवल एक वा दुई शेयर खरीद गरेर कुनै एक व्यक्ति कुनै एक कम्पनीको मालिक हुन्छ। उक्त कम्पनीको सञ्चालकसमेत हुन पाउँछ। कम्पनीले प्राप्त गर्ने आम्दानीको हिस्सेदार हुन्छ। कम्पनीबाट अति सानो रकम प्राप्त गरे तापनि, कम्पनीले गर्ने आम्दानीमा उसको पनि हिस्सा हुने स्थिति हुन्छ। 

नव उदारवादी युगले कुनै एक व्यक्तिलाई अर्ब–खर्बपति हुने स्थिति सृजना गरिदिन्छ भने  अर्कोतिर मजदूरको चरम (श्रम) शोषण हुने स्थिति पनि हुन दिंदैन। नव उदारवादी युगको यो नै ठूलो विशेषता हो। तर नव उदारवादी युगको यो विशेषतालाई कम्युनिस्टहरूले बुझेका छैनन् । ज्यादै कमले बुझेका छन् तर नबुझेको अभिनय गरिरहेका छन्।

अहिले पनि पूँजीले श्रमको शोषण गर्छ भन्ने पुरानो गीत कम्युनिस्टहरूले बेसुरमा गाइरहेका छन्। जनतालाई ठगि नै रहेका छन्। यही गीत गाएर, नेपालको सन्दर्भमा, चुनावमा विजयी भइ नै रहेका छन्, सत्तामा पुगिरहेका छन्। यो नाटक मञ्चन गरेर कम्युनिस्टहरू मन्त्री, प्रधानमन्त्री हुने क्रम जारी छ, रोकिएको छैन। र रोकिने स्थिति पनि छैन।

यो नव उदारवादी युगमा पूँजीले श्रमको चरम शोषण गर्छ भन्नु अति झूट बोल्नु हो भन्ने कुरा कम्युनिस्टका ठालू नेताहरूलाई राम्ररी थाहा छ। तर यो झूट नबोली उनीहरू चुनावमा विजयी हुन सक्तैनन्स मन्त्री, प्रधानमन्त्री हुन सक्तैनन्। यो कारणले गर्दा पनि उनीहरू लाज, शरम पचाएर भूm बोलिरहेका छन् र नित्य बोलिरहने छन्।

कम्युनिस्ट नेताहरू, नेपालको सन्दर्भमा, देश र जनताको सेवा गरेर होइन, यही झूट बोलेर शक्ति र सत्तामा पुगिरहेका छन्। तर अफसोच! जनता नेताहरूको यो झूट ठम्याउन सकिरहेको छैन। नेताहरूले ठूलो भ्रम सृजना गरेको हुनाले सामान्य जनता यो झूट बुझ्न र परम्परागत सोचमा परिवर्तन ल्याउन सकिरहेको छैन।

पूँजीले श्रमको चरण शोषण गर्छ, गरीबहरूलाई झनै गरीब पार्छ भन्ने झूट बोलेर नै, छोटो समयमैं (विस २०५२–२०६३) पुष्पकमल दहाल नेपालको राजनीतिमा अति सफल भए। कैयौंपटक प्रधानमन्त्री भए। आफन्तहरूलाई ठूलो पदमा पुर्याउन सफल भए। नेपालको राजनीतिलाई आफूले चाहेको दिशामा, आफूलाई फाइदा हुने दिशामा डोर्याउन अहिले पनि सफल देखिएका छन्।

पूँजीवादले श्रमको चरम शोषण गर्छ। गरीबको अहित गर्छ भन्ने झूट बोलेर कम्युनिस्टहरूले नेपालको राजनीतिलाई वर्षौंदेखि प्रभावित पारिरहेका छन्। यस कार्यमा दहाल सर्वाधिक सफल छन्।

कम्युनिस्टका अन्य नेता पनि पुष्पकमलले झैं झूट बोलेर ठूला–ठूला पदमा पुगेका छन्। चार पुस्तालाई पुग्ने धन कमाउन सफल भएका छन्। जनता भने यस आसमा बसेको छ कि कम्युनिस्टहरूले नै हाम्रो गरीबी बुझेकाले उनीहरू सत्तामा आए गरीबी समाप्त पार्नेछन्–जनताले पालेको यस्तो विश्वास अहिले नै टुट्ने स्थिति छैन। जनताको यो विश्वासले कम्युनिस्ट नेताहरू सत्ता र शक्तिमा पुग्ने क्रम पनि सोही अनुसार जारी नै रहने छ।

हाम्रो देशमा कम्युनिस्टहरूले यसरी बोल्ने झूटको आयु निकै लामो छ। नेपालमा अति गरीबी रहेसम्म कम्युनिस्टहरूले बोल्ने यो झूट चिरञ्जीवी रहिरहने छ। नव उदारवादले कुनै असर पार्न सक्ने छैन।

  विश्वराज अधिकारी

    akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, May 26, 2023

https://eprateekdaily.com/2023/05/26/51519/

 

 

Friday, May 19, 2023

Fake Bhutani Refugee Issue and Its Impact on Nation's Economy-Article-413

 नक्कली भुटानी शरणार्थी र अर्थतन्त्रमा यसको प्रभाव

नक्कली भुटानी शरणार्थी समस्या राजनीतिक प्रकृतिको रहेको र यसले राष्ट्रिय राजनीतिलाई मात्र प्रभावित गर्ने जस्तो देखिए पनि, यो अति जटिल प्रकृतिको मुद्दा भएकोले यसले राष्ट्रको अर्थतन्त्रलाई पनि प्रभावित गर्ने देखिन्छ र गर्ने पनि छ। यो जटिल मुद्दा अन्तर्राष्ट्रियजगत् र खासगरी अमेरिकाको सरोकारको विषयसमेत हुन पुगेकोले यो मुद्दाले अन्तर्राष्ट्रिय समुदायले नेपाललाई हेर्ने दृष्टिकोणमा निश्चितरूपमा परिवर्तन आउनेछ। खासगरी नेपालसँग आर्थिक कारोबार गर्दा अन्तर्राष्ट्रिय समुदायले नेपाललाई अबदेखि शङ्काको अति बलियो घेरामा राखेर हेर्नेछ, सजिलै विश्वास गर्नेछैन।

यो मुद्दाले नेपाललाई एक अति भ्रष्टाचारी राष्ट्रको रूपमा विश्वसामु परिचित गराएको छ। अन्तर्राष्ट्रिय वित्तीय संस्था र दातृ राष्ट्रहरूले नेपाललाई आर्थिक ऋण, अनुदान, सहयोग आदि उपलब्ध गराउँदा अब दशचोटि सोच्नेछन्। ज्यादै गम्भीर भएर र अति नै छानबीन गरेर कुनै आर्थिक सहयोग उपलब्ध गराउनेछन्। यो नेपाल र नेपालीहरूको लागि ठूलो लज्जाको विषय हो। त्यस कारण देशले नै लज्जाबोध गर्ने यो विषयलाई त्यतिकै सामसुम हुन दिनुहुँदैन। यस मुद्दाको गम्भीर र निष्पक्ष किसिमले अनुसन्धान हुनुपर्छ। र यो मुद्दामा आरोपितहरू दोषी ठहर भएमा उनीहरूलाई नेपालको कानूनबमोजिम कारबाई गर्नुपर्छ। कुनै मन्त्री वा प्रधानमन्त्री दोषी ठहर हुँदाको अवस्थामा सत्ता र शक्ति प्रयोग गरेर जोगिन खोजे उनीहरूलाई जोगिन दिनुहुँदैन। र यसका लागि राज्यका संयन्त्रहरूभन्दा बढी नागरिक समाज सचेत हुन जरुरी छ। अहिले राज्य निरीह भएको र राज्यका कार्यपालिका, न्यायपालिक र विधायिका भ्रष्ट नेताहरूको नियन्त्रणमा रहेकाले नागरिक समाज थप सचेत हुन जरुरी छ।

नेपालमा यसभन्दा पहिले पनि अनेक भ्रष्टाचारकाण्ड भएका छन्। नेताहरूले शक्ति र सत्ताको आडमा अनेक जघन्य अपराध गरेका थुप्रै उदाहरण छन्। तर नक्कली भुटानी शरणार्थी मुद्दा, जस अन्तर्गत नेपालीहरूलाई राज्यविहीन पारेर नक्कली शरणार्थी बनाउने कार्य भएको छ, त्यो आफैंमा अक्षम्य र महाअपराध हुन पुगेको छ। आफ्नो राज्य हुँदाहुँदै, व्यक्तिलाई राज्यविहीन पार्नु महाअपराध हो। राज्य भएको व्यक्तिलाई शरणार्थी बनाउनु महाअपराध हो। यस्तो महअपराध गर्नेहरूलाई दण्डित नगर्ने हो भने देशको न्याय प्रणाली र शासन व्यवस्थाबाट जनताको विश्वास समाप्त हुनेछ। देशमा अराजकता बढ्नेछ । राज्य भएको व्यक्तिलाई राज्यविहीन बनाउनेहरूले गरेको अपराध सामान्य होइन ।

नक्कली शरणार्थी बनाउनेहरूले कानून अनुसार सजाय पाउनेछन् वा छैनन्, त्यस उपर छलफल गर्नुपूर्व नेपालको वर्तमान राजनीतिक स्थिति, नेताहरूको द्वैध चरित्र र राजनीतिक दलहरूमाथि जनताको पूर्ण अविश्वास सम्बन्धमा विचार पुर्याउन आवश्यक छ।

नेपालका राजनीतिक दलहरूको अहिलेको चरित्र अति नै अनौठो किसिमको छ। खासगरी परम्परागत दलहरू नेपाली काङ्ग्रेस, एमाले, माओवादी केन्द्र आदिको चरित्र अनौठो मात्र होइन, लज्जास्पद किसिमको छ, घिनलाग्दो छ। व्यक्तिगत र दलगत स्वार्थ छ भने यी दलहरूले एकअर्काको खुट्टा तान्ने गर्छन्। घोर आलोचना गर्छन्। पानी बार्छन्। तर सामूहिक स्वार्थ छ भने यी दलहरू एकअर्कासँग पानी र चिनीजस्तो गरेर मिल्छन्। देश र जनताका लागि होइन, यी दलहरूका लागि फाइदा हुने किसिमको विधेयक पास गर्नुपर्यो, सरकार बनाउनुपर्यो, शक्ति प्राप्त गर्नुपर्यो, नियुक्ति र पदहरू बाँड्नुपर्यो, भ्रष्टाचार गर्नुपर्यो भने यी दलहरू पानी र चिनीजस्तो नछुट्टिनेगरी मिल्छन्। कुन दलको नीति तथा कार्यक्रम के हो, सिद्धान्त र विचार के हो, कार्य पद्धति के हो छुट्याउनसमेत कठिन हुन्छ। यी सबै दल एउटै अनुहारका हुन पुग्छन्।

यी दल र यिनका नेताहरूले बनाएको विशेष किसिमको राष्ट्रिय परिस्थितिमा नक्कली शरणार्थी बनाउने अपराधीहरूले सजाय पाउँछन् भनी आशा गर्ने ठाउँ अति नै कम छ। नक्कली भुटानी शरणार्थी मुद्दाले सबै ठूला राजनीतिक दल र खासगरी एमाले, नेका र माओवादी केन्द्रलाई समान किसिमले प्रभावित गर्ने र यी दलका ठूला नेताहरूसमेत पनि यो मुद्दामा तानिने स्थिति रहेकाले यी दलहरूले नक्कली भुटानी शरणार्थी मुद्दाका दोषीविरुद्ध कारबाई गर्लान् भनी विश्वास त धेरै परको कुरा, आशा पनि गर्न सकिंदैन।

राष्ट्रको पहिचान र विश्वसनीयतामा आँच पुर्याउने यो मुद्दाका दोषीहरू पत्ता लगाउने, दोषीहरूलाई दण्ड दिने र अब आइन्दा यस्तो जघन्य अपराध हुन नदिनेतर्फ सचेत हुन सामान्य जनता र नागरिक समाजका अभियन्ताहरूले पहल गर्न आवश्यक छ। दलहरूले यो मुद्दा ढाकछोप गर्ने प्रयास गर्नेछन्। ढाकछोप गर्न पद र शक्तिको व्यापक दुरुपयोग गर्नेछन्। यी दलका नेताहरूका विगतका कार्यहरूले यस कुराको पुष्टि गर्छ।

न कुशल शासन, न कुशल नेतृत्व दिन सक्ने यी नेताहरूले जनतालाई नागरिकता त्यागेर शरणार्थी बन्न तयार हुने स्थितिमा पुर्याएका छन्। देश, शासन र नेताहरूबाट जनता यति बढी निराश हुन पुगेको छ कि ऊ आफ्नो देश त्यागेर शरणार्थी हुन तयार भएको छ। जनताको यस्तो चरम निराशा, नेपालको लागि इतिहासमैं पहिलोपटक देखिएको छ। यो गणतन्त्रले ल्याएको उपहार हो। यस विषयमा नेताहरू गम्भीर हुनुपर्ने हो तर भएका छैनन् र हुने पनि छैनन्। शक्ति र सत्ताका लागि जे पनि गर्न तयार रहने यी नेताहरूबाट त्यस्तो अपेक्षा पनि गर्न सकिंदैन। यी नेताहरूले राज्य शक्ति र राज्य सत्ताको चरम दुरुपयोग गरिरहेका छन्। शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहालबाट शक्ति र सत्ताको चरम दुरुपयोग भइरहेको छ।

नक्कली भुटानी शरणार्थी मुद्दाका दोषीहरूलाई कारबाई यी दलहरूले गर्लान् भनी आशा गर्ने ठाउँ नरहेकोले जनताले नै ठोस भूमिका खेल्न आवश्यक छ। खासगरी नागरिक समाजका अगुवाहरूले सरकार, दल र उपल्ला नेताहरूलाई यस मुद्दाका दोषीहरूविरुद्ध कारबाई गर्न दबाब दिन आवश्यक छ। यस मुद्दाका दोषीहरूलाई कारबाई गर्न यी नेताहरूलाई बाध्य पार्न नागरिक समाजका अभियन्ताहरूले शान्तिपूर्ण विरोध गर्न, प्रदर्शन गर्न, आमसभा गर्न आवश्यक छ। यस्ता कार्य गरेर दोषीहरूविरुद्ध कारबाई गर्न बाध्य पार्न अति आवश्यक छ। यी नेताहरूलाई उनीहरूको स्वेच्छामा छाड्ने हो भने दोषीहरूलाई कारबाई गर्नेछैनन् भन्ने कुरा निश्चित छ।

यो मुद्दाले नेपालको गरीबीसँग पनि सरोकार राख्छ। नेता, सरकार, मन्त्री र प्रधानमन्त्री नै पनि गम्भीर प्रकृतिको अपराध (देशको नागरिक बिक्री गर्ने) कार्यमा लागेको देशमा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले पनि लगानी गर्न चाहँदैनन्। लगानीकर्ताहरूले आफ्नो पूँजी सुरक्षित र सुशासन भएको मुलुकमा लगानी गर्न खोज्छन्। सुरक्षा र सुशासन भएका युरोपका देशहरूमा जुन अनुपातमा अन्तर्राष्ट्रिय लगानी भएको छ, त्यसको तुलनामा अफ्रिकाका भ्रष्टाचारमा लिप्त र सुशासन नभएका देशहरूमा ज्यादै कम भएको छ। कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय लगानीकर्ताले अहिले सुडान, इथियोपिया, सोमालियाजस्ता सुशासन नभएको र अति भ्रष्टाचारले आक्रान्त देशमा लगानी गर्नेछैन। यी र यस्ता अनेक कारणले गर्दा नक्कली भुटानी शरणार्थी मुद्दाका दोषीहरूले सजाय नपाउने हो र नेपालमा सुशासन नरहेको सन्देश अन्तर्राष्ट्रिय समुदायमा जाने हो भने अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले लगानी गर्नेछैनन्। र यसबाट नेपालको आर्थिक स्थिति निश्चितरूपमा प्रभावित हुनेछ।

अन्तर्राष्ट्रियजगत्मा नेपालको पहिचान असल तुल्याउन भ्रष्ट नेताहरूलाई नेपालको राजनीतिबाट सदाका लागि बिदा गर्न आवश्यक छ। यी दुई/चार नेताहरू को हुन् भन्ने कुरा जगजाहेर छ।

जनता जस्तो छ, त्यसै अनुसार नेताहरू उत्पादन हुने भएकाले सर्वप्रथम त हामीले हाम्रो समाजलाई नै सही दिशामा रूपान्तरण गर्न आवश्यक छ। सम्पूर्ण समाजलाई भ्रष्टाचारविरोधी बनाउन आवश्यक छ । सम्पूर्ण समाजलाई असल नेताहरूलाई चुनावमा विजयी गराउने मनस्थितिमा पुर्याउन आवश्यक छ। माटो राम्रो भए मात्र बाली सप्रन्छ। भ्रष्ट समाजबाट असल नेता कहिले उत्पादन हुन सक्दैन। यस तथ्यलाई मनन गर्न अति आवश्यक छ।

नक्कली भुटानी शरणार्थी मुद्दाको जरा हाम्रो समाजको भित्री तहसम्म फैलिएको छ। र समाज सुधार भने समाजले नै गर्ने हो। हामीले नै गर्ने हो।











विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, May 19, 2023

https://eprateekdaily.com/2023/05/18/51217/

Friday, May 12, 2023

Hopelessness in Public Hurting Nepali Economy-Article-412

 घोर निराशा : आर्थिक विकासको बाधक

अरू सबै कुरा रित्तिएर नेपालसँग अहिले केवल श्रम मात्र छ। र त्यही श्रम नेपालले अन्तर्राष्ट्रिय बजारमा बिक्री गरेर दुई छाकको जोहो गरिरहेको छ। २०६३ सालमा भएको राजनीतिक परिवर्तन र उक्त परिवर्तनले ल्याएको गणतन्त्रले नेपाललाई लगभग रित्तो नै पारिसक्यो। बिक्री गर्नका लागि नेपालसँग अहिले श्रम बाहेक केही छैन। नेपालको राजनीतिक र अर्थ व्यवस्था दुई–चार राजनीतिक दलहरूको हातमा रहेको स्थितिले नेपाललाई आर्थिकरूपमा टाट पल्टिने स्थितिमा पुर्याइसकेको छ। नेपालको अर्थतन्त्र बूढो गोरुजस्तो कहिले उठ्न नसक्ने गरी थच्किन्छ भन्न सकिने स्थिति छ। ठूलो अनिश्चितता छ।

कुनै समय नेपाल भित्रै कृषि औजार, जुट, छाला, कन्फेसक्नशरी, चिनी, धान चामल, तोरी, कपडा, मोजा, स्टिलका भाँडा, हस्तकलाका सामग्री, चिया, कागज, सलाई, साबुन आदि आदि ठूलो परिमाणामा उत्पादन हुन्थ्यो। चामल त नेपालको आन्तरिक उपभोगभन्दा बढी भएर विदेश निर्यात गर्नुपथ्र्यो। त्यस्तो स्थितिमा रहेको नेपाल अहिले केवल श्रम मात्र उत्पादन गर्न सक्ने स्थितिमा पुगेको छ। देशलाई कसले पुर्यायो यो स्थितिमा? यस प्रश्नको उत्तर गणतन्त्रवादीहरूले दिनुपर्छ किनभने पञ्चायत व्यवस्थाले देशको आर्थिक विकास गरेन भनेर उनीहरूले पञ्चायत मात्र होइन, संवैधानिक राजतन्त्रसमेत फालेका थिए। व्यवस्था परिवर्तन गर्न भनेर नै १७ हजार नेपालीको ज्यान जाने स्थिति सृजना गरेका थिए। ती गणतन्त्रवादीहरूले अहिले के गर्दैछन् र कस्ताकस्ता भ्रष्टाचार काण्डमा मुछिएका छन् भन्ने कुरा जगजाहेर छ।

हरेक दिन सयौंको सङ्ख्यामा नेपाली श्रम बिक्री गर्ने अन्तर्राष्ट्रिय बजारतर्फ लागिरहेका छन्। श्रम बजारमा नेपालीहरू प्रवेश गरिरहेको अवस्था हेर्दा नेपाल छाड्ने नेपालीहरूलाई तीन समूहमा विभाजित गर्न सकिन्छ।

पहिलो समूहमा त्यस्ता नेपाली पर्छन् जोसँग सीप र शिक्षा दुवै छ। र उनीहरूले विदेशमा आफ्नो सीप र शिक्षा (डिग्री) बिक्री गरेर स्वदेशभन्दा सहज र स्तरीय जीवन बाँच्न सक्छन्। नेपालले साधन र स्रोत खर्च गरेर तयार पारेको यस्तो जनशक्ति राष्ट्रको भू–राजनीतिक कारणले अर्को देशको लागि काम गर्नुपर्ने स्थिति छ। कस्तो विडम्बना!  आफ्नो लगानीमा तयार पारेको जनशक्ति आफ्नै राष्ट्र निर्माणमा उपयोग हुन सकिरहेको छैन। राष्ट्रलाई कति ठूलो घाटा भइरहेको छ। यस्तो जनशक्ति विदेशमा नै सदाका लागि बस्दा राष्ट्रलाई झन् कत्रो घाटा हुन्छ?

अध्ययनका लागि विदेश जाने। अध्ययन समाप्त गरेर विदेशमा नै स्थायी बसोवास गर्ने। यस्तो गर्ने नेपाली दोस्रो समूहमा पर्दछन्। यस्ता नेपालीहरूले अवसर पाएमा छोटै समयमा धेरै कमाएर विलासी जीवन बिताउन सक्छन्। नेपालबाट अमेरिका आएर गुगल, टिकटक, एमेजन, एप्पलजस्ता धनी एवं प्रख्यात कम्पनीहरूमा काम गर्ने नेपालीको सङ्ख्या पनि कम छैन। 

विदेश पुगेर कोरा श्रम बिक्री गर्ने नेपाली तेस्रो समूहमा पर्दछन्। केवल लेखपढ गर्न जान्ने वा सामान्य शिक्षा प्राप्त गरेका नेपालीहरू अहिले ठूलो सङ्ख्यामा खाडी मुलुकहरू, मलेशिया, इजराइललगायत युरोपका अनेक गरीब राष्ट्रमा समेत पुगिरहेका छन्। केवल सामान्य श्रम बिक्री गर्ने समूहमा पर्ने यी व्यक्तिहरूको आम्दानी त्यति राम्रो नभए तापनि नेपालमा आर्जन हुनेभन्दा बढी हुन्छ र एक्लो बसेको हुनाले केही बचत पनि हुन्छ। कोरा श्रम बिक्री गर्न विदेश पुगेका युवा पनि विदेशमा लामो  बसिरहेका छन्।

यस लेखमा भने दुई महत्वपूर्ण विषय उठान गर्न खोजिएको छ। पहिलो विषय हो नेपालका केही नेताहरूले सृजना गरेको राष्ट्रिय अवस्था र त्यो अवस्थाले सृजना गरेको चरम निराशा। अनि त्यो चरम निराशाले नेपालको अर्थतन्त्रमा पारेको कुप्रभाव।

अहिले नेपालमा चरम निराशा व्याप्त छ। युवा पीढी त झनै निराशाको खाडलमा डुबेको छ। नेपालमा केही गर्न सकिंदैन। दुई चार पैसा कमाएर सरल जीवन बिताउन विदेश नै जानुपर्छ भन्ने मनोविज्ञानले नेपाली युवाहरूलाई सताएको छ। अर्थात् यो देश (नेपाल) मा केही गर्न सकिन्छ भन्ने आशा नेपाली युवाले गुमाइसकेको छ। उच्च शिक्षा प्राप्त गरेका हुन् वा सामान्य शिक्षा, सबै किसिमका युवामा नेपालमा अब केही गर्न सकिंदैन भन्ने मनोविज्ञानले बलियो गरी जरो गाडेको छ। यति मात्र होइन, अभिभावकहरू पनि यो मनोविज्ञानको शिकार भएका छन्। मात्र १२ कक्षाको अध्ययन समाप्त गरेका छोराछोरीलाई विदेश (पढ्न) पठाउन आतुर देखिएका छन्। यसरी युवा मात्र होइन, उनका अभिभावकलाई पनि नेपालमा आफ्ना सन्तानको भविष्य सुरक्षित छैन, सुखी छैन भन्ने लागेर विदेश जाने भूत चढेको छ। युवा र तिनका अभिभावकमा पनि चरम निराशा उत्पन्न हुनु र नेपालमा अब केही गर्न सकिंदैन भन्ने लाग्नु ज्यादै डरलाग्दो स्थिति हो। यो स्थितिले देश आर्थिकरूपमा मात्र बर्बाद हुँदैन, भोलिका दिनमा नेपाल, देशको रूपमा रहन सक्छ कि सक्तैन भन्ने डर पनि सृजना गर्दछ। देशमा आफ्नो भविष्यलाई लिएर, त्यहाँका नागरिकमा चरम निराशा व्याप्त हुनु अति डरलाग्दो स्थिति हो। यो स्थितिलाई सामान्यरूपमा लिने भूल कसैले पनि गर्नुहुँदैन।

यस लेखमा उठान गर्न खोजिएको दोस्रो विषय हो–जनशक्ति क्षय। युवाहरू ठूलो सङ्ख्यामा विदेश गएमा हामीले जनशक्तिको ठूलो क्षय बेहोर्नुपर्नेछ। अहिले जुन किसिम र सङ्ख्यामा नेपाली युवाहरू शिक्षा, रोजगार र राम्रो आम्दानीका लागि विदेश गइरहेको छन् र त्यो स्थिति भविष्यमा पनि जारि रहेमा, केही वर्षभित्रै नेपालमा जनशक्तिको ठूलो अभाव हुनेछ। देशभित्र सामान्य काम गर्न पनि जनशक्तिको ठूलो अभाव हुनेछ। गाउँ–घरतिर त कृषि जनशक्तिको ठूलो अभाव अहिले नै महसूस भइसकेको छ। शहरतिर उद्योग र व्यापारको तीव्रगतिमा विकास भएको भए, शहरमा पनि जनशक्तिको ठूलो अभाव अनुभव हुन्थ्यो। नेपालका शहरहरूमा अहिले उत्पादनको स्थिति दयनीय छ। भएका उद्योग बन्द छन्। सरकारी स्तरमा सञ्चालित उद्योगहरू (जनकपुर चुरोट कारखाना, वीरगंज चिनी कारखाना, कृषि औजार कारखाना आदि) समेत बन्द छन्। गोरखापत्र संस्थान, नेताहरूलाई आफ्नो विचार र स्वार्थ सम्प्रेषण गर्न सजिलो माध्यम बन्ने भएकोले नै यो संस्थान अहिलेसम्म जीवित छ। 

देशमा रोजगार उपलब्ध नहुनु, बाध्य भएर रोजगारका लागि विदेश जानुपर्ने स्थिति हुनु, देश आर्थिकरूपले निरन्तर कमजोर हुँदै जानु अति गम्भीर विषय त हो नै, तर यसभन्दा अति गम्भीर विषय देशमा चरम निराशा व्याप्त हुनु हो।

नेपालमा अहिले चरम निराशा व्याप्त छ। खासगरी युवाहरूमा चरम निराशा व्याप्त छ। स्वदेश (नेपाल) मा बसेर नै केही गर्न सक्ने, अर्को शब्दमा, आर्थिक रूपमा सक्षम र शिक्षा एवं सीपले युक्त युवाहरूले पनि नेपाल छाडिरहेका छन्। किन? नेपालभन्दा स्थिरता र सुख विदेशमा देखिरहेका छन्। किन? आफ्नो भविष्य विदेशमा सुरक्षित हुने विश्वास लिएर विदेशतिर पलायन भइरहेका छन्। किन?

गरीब एवं साधन तथा स्रोतको अभाव भएर, स्वदेशमा केही गर्न नसकिने स्थिति देखेर विदेश पलायन हुनु एक किसिमले सही हो। तर आर्थिकरूपमा सक्षम र शिक्षा र सीपले युक्त युवाहरूसमेत विदेशतिर पलायन हुने स्थिति ठीक होइन। यो डरलाग्दो स्थिति हो। यो स्थितिले नेपाली युवामा चरम निराशा व्याप्त छ भन्ने अनुमान, बलियोगरी, सत्य हो भन्ने पुष्टि हुन्छ।

नेपालमा धेरै कुरा छ। नेपाल साधन र स्रोतले धनी राष्ट्र हो। नेपाललाई बर्बाद पारेको वर्तमानको राजनीतिले हो। केही नेताको स्वार्थी प्रवृत्तिले हो। र यी स्वार्थी नेताहरूलाई चुनावमा पुनःपुनः विजयी गराउने मतदाताहरूको अज्ञानताले हो। केही मतदाताको स्वार्थले हो।

नेपालमा राजनीतिक परिवर्तन हुनासाथ, स्वार्थी नेताहरूको गतिविधिमा अङ्कुश लाग्नासाथ, इमानदार नेताहरूको उदय हुनासाथ, वर्तमान नेपालको संविधानमा संशोधन हुनासाथ, वर्तमान चुनाव पद्धतिमा परिवर्तन हुनासाथ, नेपालमा आर्थिक विकासको युगको सूत्रपात हुनेछ। आर्थिक विकासको युग फर्किनेछ।

नेपालको वर्तमान राजनीतिले हामीलाई अहिले सुनको कटौरा लिएर भिक्षा माग्ने स्थितिमा पुर्याएको छ। हामीसँग सुनको कटौरा (स्रोत एवं साधन) त छ, तर हामी भीख मागिरहेका छौं। हाम्रो त्यस सुनको कटौराको हामीले उपयोग गर्न सकेका छैनौं।

नेतृत्व परिवर्तन हुनासाथ, राजनीतिमा इमानदार नेताहरूको प्रवेश हुनासाथ, हामी त्यो सुनको कटौरा प्रयोग गर्ने स्थितिमा पुग्नेछौं। अवश्य पुग्नेछौं।

हामी यो घोर निराशाको स्थितिबाट बाहिर आउनेछौं, आउनुपर्छ, आशावादी हुनुपर्छ ।

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, May 12, 2023

https://eprateekdaily.com/2023/05/11/50933/ 

Friday, May 5, 2023

American Marketing Concept-Article-411

 अमेरिकी व्यापार अवधारणा

अमेरिकी व्यापार अवधारणा विश्व–प्रचलित व्यापार अवधारणाभन्दा निकै पृथक छ। मुख्यगरी दक्षिण एशियामा प्रचलित अवधारणाभन्दा त झनै बढी पृथक छ। भारतजस्तो ठूलो र स्वतन्त्र (चीनको तुलनामा) बजार भएको देशका व्यापारीहरूले पनि अमेरिकी व्यापार अवधारणाको नजीक रहेर काम गर्न खोजेको देखिंदैन। परम्परागतरूपमा रहेर काम गरेको देखिन्छ। कसरी?

अमेरिकी बजार अवधारणाले ग्राहकलाई केन्द्रमा राखेर उत्पादन, वितरण र बिक्री कार्यहरू गर्दछ। ग्राहकलाई सर्वोपरी ठान्दछ। ग्राहकको आम्दानी कम भएमा, ग्राहकको क्रय शक्ति प्रतिकूल भएमा त्यसको असर आफ्नो व्यापारमा पर्ने विषयलाई अमेरिकी उत्पादक एवं बिक्रेताहरूले गम्भीरतापूर्वक लिने गर्छन्। कसरी गम्भीरतापूर्वक लिन्छन्, आउनुहोस् त्यसबारे चर्चा गरौं।

अमेरिकी उत्पादक एवं बिक्रेताहरूले वस्तु बिक्री गर्दा कम मुनाफा राखेर वा वस्तुको मूल्य प्रतिस्पर्धीहरूभन्दा सस्तो पारेर दीर्घकालमा राम्रो मुनाफा आर्जन गर्ने लक्ष्य राखेका हुन्छन् र सोही अनुसार कार्य गर्छन्। अल्पकालमैं अत्यधिक मुनाफा आर्जन गरेर (महँगोमा वस्तु बिक्री गरेर) धेरै कमाउने लक्ष्य राख्दैनन्। उपभोक्ता एवं ग्राहकहरूलाई सस्तोमा वस्तु उपलब्ध गराउन वा भनौं आफूले बिक्री गर्ने वस्तु वा सेवाको मूल्य कम पार्न (जसले गर्दा बहुसङ्ख्यक उपभोक्ताले खरीद गरोस्) उत्पादक एवं बिक्रेताहरूले हरसम्भव प्रयास गर्दछन्। अनेक उपाय खोजी गर्छन्। अनेक लागत कटौति पनि गर्छन्। र उपभोक्ताहरूलाई सस्तोमा वस्तु एवं सेवा उपलब्ध गराउँछन्।

भारत, नेपाल, पाकिस्तान आदिको बजारमा भने उल्टो हुन्छ। उत्पादक एवं बिक्रेताहरूले अल्पकालमैं ठूलो मुनाफा आर्जन गर्ने उद्देश्य लिएका हुन्छन्। यसका लागि वस्तु महँगोमा बिक्री गर्छन्। आफूले बिक्री गर्ने वस्तु वा सेवाको मूल्य कसरी कम पार्न सकिन्छ त्यसबारे पटक्कै ध्यान दिंदैनन्। आफूले बिक्री गर्ने वस्तु वा सेवाको मूल्य बढी भएमा त्यसले खरीदकर्ताको क्रयशक्ति कमजोर पार्ने विषयलाई पटक्कै महत्व दिंदैनन्। आज व्यापार आरम्भ गर्यो, भोलि नै करोडपति हुने लक्ष्य बहुसङ्ख्यक व्यापारीहरूले राखेका हुन्छन्। र व्यापारीहरूको त्यो लक्ष्यको शिकार उपभोक्ताहरू र खासगरी कमजोर आम्दानी भएका क्रेताहरू हुन पुग्छन्।

अमेरिकामा त्यस्ता अनेक खुद्रा भण्डार छन्, जसले उपभोक्ताहरूलाई सस्तोमा वस्तु उपलब्ध गराएर दीर्घकालमा धेरै मुनाफा आर्जन गर्ने उद्देश्य राखेका हुन्छन्। वा सस्तोमा तर ठूलो परिमाणमा बिक्री गरेर दीर्घकालमा धेरै मुनाफा आर्जन गर्न उद्देश्य राखेका हुन्छन्। ती खुद्रा भण्डारहरूले सस्तोमा उपभोक्ताहरूलाई वस्तु उपलब्ध गराउन कहाँकहाँ र कसरी अनेक खर्च कटौति गर्न सकिन्छ त्यस उपर पर्याप्त ध्यान दिएका हुन्छन्। आफूहरूलाई सस्तोमा सामग्री उपलब्ध गराउने उत्पादकहरूको खोजी गर्छन्। आपूर्ति व्यवस्था (Supply chain) लाई सस्तो पार्ने प्रयास गर्छन्। खुद्रा भण्डारहरूले उत्पादक, आपूर्तिकर्ताहरूसँग सहकार्य गरेर आफूले बिक्री गर्ने वस्तुको मूल्य काम पार्ने प्रयास गर्छन्। ग्राहकहरूलाई सस्तोमा वस्तु उपलब्ध गराउने लक्ष्य लिएका खुद्रा भण्डारका रूपमा वालमार्ट, डलर ट्री, डलर जेनेरल, कस्टको, केमार्ट, अल्डी आदिलाई लिन सकिन्छ। यी खुद्रा भण्डारहरूले कसरी सस्तोमा खरीद गरेर सस्तोमा बिक्री गर्न सकिन्छ भन्ने उपाय पत्ता लगाउन आफ्नो व्यवस्थापन समूहमा विज्ञहरू समाविष्ट गरेका हुन्छन्। ती विज्ञहरूको प्रमुख कार्य उपभोक्ताहरूलाई सस्तोमा वस्तु उपलब्ध गराउन सकिने वा आफूले बिक्री गर्ने वस्तुको मूल्य कम पार्न सकिने उपायहरूको खोजी गर्नु हो। अमेरिकी कम्पनी मेक डोनाल्ड, जसले संसारमैं सर्वाधिक ठूलो शृङ्खलाको मेकडोनाल्ड रेस्टुरा, सञ्चालन गरेको छ, मेक डोनाल्डले सस्तोमा तयारी खाना उपभोक्ताहरूलाई उपलब्ध गराउने आफ्नो व्यापारिक उद्देश्य नै बनाएको छ। मेक डोनाल्डले भन्छ, ‘We serve delicious food, people feel good about eating, with convenient locations and hours and affordable prices.’  क्रेता वा उपभोक्ताहरूलाई हरपल सन्तुष्ट राख्ने प्रयास गर्नु अमेरिकी व्यापार अवधारणको अर्का महत्वपूर्ण विशेषता हो। ‘आवश्यक भएर एवं इच्छा लागेर मात्र ग्राहकहरूले सामग्री खरीद गर्छन्’ भन्ने सोचलाई व्यापारिक संस्कारको रूपमा लिएर अमेरिकी कम्पनीहरूले कार्य गर्दछन्। खरीद गरेको सामान यदि खरीदकर्तालाई आवश्यक भएन वा उक्त सामान उसलाई मन परेन वा उसले त्यो सामान राख्ने इच्छा गर्दैन भने यस्तो अवस्थामा उसले त्यो सामान बिक्रेतालाई तत्काल वा केही समयपछि फिर्ता गर्न सक्छ। यहाँ, त्यसरी खरीद गरिएको सामान फिर्ता गर्ने कार्यलाई महत्वका साथ वर्णन गर्न खोजेको होइन, बिक्रेताले पनि सहर्ष बिक्री गरिएको सामान फिर्ता लिन्छ, भन्ने कुरालाई महत्वका साथ वर्णन गर्न खोजिएको हो। बिक्रेताले ग्राहकको रुचि अनुसार त्यो समानको सट्टा अर्को सामान ग्राहकलाई दिन्छ वा पैसा नै फिर्ता गर्छ। तर ‘हामी बिक्री गरिसकेको समान फिर्ता लिन्नौं’ भनेर कहिले पनि भन्दैन। फिर्ता गरिएको सामानको मूल्य बिक्रेताहरूले ग्राहकलाई भुक्तान गरेको सहजै देख्न सकिन्छ।

अमेरिकाका ठूलाठूला खुद्रा भण्डारहरू जस्तै वालमार्ट, टारगेट, जे सी पेनी, बेस्ट बाइ आदिले, ग्राहकहरूले खरीद गरेका सामान फिर्ता गर्न ल्याएमा त्यसलाई स्वीकार गरेर सोको मूल्य नै पनि फिर्ता गर्न आफ्नो भण्डारभित्र ‘ग्राहक सेवा केन्द्र’ स्थापना एवं सञ्चालन गरेका हुन्छन्। ग्राहक सेवा केन्द्रको कार्य नै ग्राहकहरूले फिर्ता गर्ने सामग्री बुझ्नु, उनीहरूलाई पैसा फिर्ता गर्नु एवं ग्राहकहरूले माग गर्ने अनेक सेवा उपलब्ध गराउनु हो। सदा ग्राहकलाई खुशी राख्ने प्रयास गर्नु हो।

 हरेकपटक नयाँनयाँ ग्राहकहरू खोजी गर्नु ज्यादै महँगो हुन्छ, भएकै ग्राहकलाई खुशी राख्न लाग्ने खर्चभन्दा’, यो  सोचलाई पनि अमेरिकी व्यापार अवधारणाले उच्च महत्व दिएको छ। यो कारणले गर्दा आफूसँग भएका ग्राहकलाई कसरी सन्तुष्ट राख्ने र उनीहरू जहिले पनि आफ्नै पसलमा आउने अवस्था सृजना कसरी गर्नेजस्ता विषयलाई अधिक महत्व दिएर खुद्रा व्यापारीहरूले ‘ग्राहक सम्बन्ध व्यवस्थापन (Customer relations management) लाई उच्च महत्व दिएका हुन्छन्।

क्रेताको सन्तुष्टि नै बिक्रीको मुख्य आधार हो भन्ने कुरालाई अमेरिकी व्यापार अवधारणाले मूल मन्त्रको रूपमा जपेको हुन्छ। सस्तोमा स्तरीय वस्तु एवं सेवाहरू उपलब्ध गराउने, भनेको समयमा उपलब्ध गराउने र भनेको स्थानमा उपलब्ध गराउने र यस्ता कार्यहरू गरेर अमेरिकी व्यापार अवधारणाले क्रेता वा उपभोक्ताहरूलाई सन्तुष्ट राख्ने प्रयास गर्दछ। निरन्तर सन्तुष्ट राख्ने प्रयास गर्दछ।

दक्षिण एशियाका व्यापारीहरूले ग्राहकको सन्तुष्टिलाई केन्द्रमा राखेको पाइँदैन । बरु उल्टो उनीहरू, आफूले बिक्री गर्ने वस्तु वा सेवाको मूल्य बढी पारेर, अल्पकालमा नै, ठूलो मुनाफा हात पारेर, अल्पकालमा नै अरबपति हुन खोजेको देखिन्छ। मुनाफाको सम्बन्धमा दक्षिण एशियाका व्यापारीहरूमा व्यापार कुशलता र धैर्यताको ठूलो अभाव रहेको पाइन्छ। यो कारणले गर्दा पनि दक्षिण एशियामा व्यापारको विकास तीव्र गतिमा नभएको हुन सक्छ, अर्थ व्यवस्थाहरू खुला र उदार भए तापनि।




विश्वराज अधिकारी

akoutilya@gmai.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, May 5, 2023

https://eprateekdaily.com/2023/05/04/50631/