Friday, May 5, 2023

American Marketing Concept-Article-411

 अमेरिकी व्यापार अवधारणा

अमेरिकी व्यापार अवधारणा विश्व–प्रचलित व्यापार अवधारणाभन्दा निकै पृथक छ। मुख्यगरी दक्षिण एशियामा प्रचलित अवधारणाभन्दा त झनै बढी पृथक छ। भारतजस्तो ठूलो र स्वतन्त्र (चीनको तुलनामा) बजार भएको देशका व्यापारीहरूले पनि अमेरिकी व्यापार अवधारणाको नजीक रहेर काम गर्न खोजेको देखिंदैन। परम्परागतरूपमा रहेर काम गरेको देखिन्छ। कसरी?

अमेरिकी बजार अवधारणाले ग्राहकलाई केन्द्रमा राखेर उत्पादन, वितरण र बिक्री कार्यहरू गर्दछ। ग्राहकलाई सर्वोपरी ठान्दछ। ग्राहकको आम्दानी कम भएमा, ग्राहकको क्रय शक्ति प्रतिकूल भएमा त्यसको असर आफ्नो व्यापारमा पर्ने विषयलाई अमेरिकी उत्पादक एवं बिक्रेताहरूले गम्भीरतापूर्वक लिने गर्छन्। कसरी गम्भीरतापूर्वक लिन्छन्, आउनुहोस् त्यसबारे चर्चा गरौं।

अमेरिकी उत्पादक एवं बिक्रेताहरूले वस्तु बिक्री गर्दा कम मुनाफा राखेर वा वस्तुको मूल्य प्रतिस्पर्धीहरूभन्दा सस्तो पारेर दीर्घकालमा राम्रो मुनाफा आर्जन गर्ने लक्ष्य राखेका हुन्छन् र सोही अनुसार कार्य गर्छन्। अल्पकालमैं अत्यधिक मुनाफा आर्जन गरेर (महँगोमा वस्तु बिक्री गरेर) धेरै कमाउने लक्ष्य राख्दैनन्। उपभोक्ता एवं ग्राहकहरूलाई सस्तोमा वस्तु उपलब्ध गराउन वा भनौं आफूले बिक्री गर्ने वस्तु वा सेवाको मूल्य कम पार्न (जसले गर्दा बहुसङ्ख्यक उपभोक्ताले खरीद गरोस्) उत्पादक एवं बिक्रेताहरूले हरसम्भव प्रयास गर्दछन्। अनेक उपाय खोजी गर्छन्। अनेक लागत कटौति पनि गर्छन्। र उपभोक्ताहरूलाई सस्तोमा वस्तु एवं सेवा उपलब्ध गराउँछन्।

भारत, नेपाल, पाकिस्तान आदिको बजारमा भने उल्टो हुन्छ। उत्पादक एवं बिक्रेताहरूले अल्पकालमैं ठूलो मुनाफा आर्जन गर्ने उद्देश्य लिएका हुन्छन्। यसका लागि वस्तु महँगोमा बिक्री गर्छन्। आफूले बिक्री गर्ने वस्तु वा सेवाको मूल्य कसरी कम पार्न सकिन्छ त्यसबारे पटक्कै ध्यान दिंदैनन्। आफूले बिक्री गर्ने वस्तु वा सेवाको मूल्य बढी भएमा त्यसले खरीदकर्ताको क्रयशक्ति कमजोर पार्ने विषयलाई पटक्कै महत्व दिंदैनन्। आज व्यापार आरम्भ गर्यो, भोलि नै करोडपति हुने लक्ष्य बहुसङ्ख्यक व्यापारीहरूले राखेका हुन्छन्। र व्यापारीहरूको त्यो लक्ष्यको शिकार उपभोक्ताहरू र खासगरी कमजोर आम्दानी भएका क्रेताहरू हुन पुग्छन्।

अमेरिकामा त्यस्ता अनेक खुद्रा भण्डार छन्, जसले उपभोक्ताहरूलाई सस्तोमा वस्तु उपलब्ध गराएर दीर्घकालमा धेरै मुनाफा आर्जन गर्ने उद्देश्य राखेका हुन्छन्। वा सस्तोमा तर ठूलो परिमाणमा बिक्री गरेर दीर्घकालमा धेरै मुनाफा आर्जन गर्न उद्देश्य राखेका हुन्छन्। ती खुद्रा भण्डारहरूले सस्तोमा उपभोक्ताहरूलाई वस्तु उपलब्ध गराउन कहाँकहाँ र कसरी अनेक खर्च कटौति गर्न सकिन्छ त्यस उपर पर्याप्त ध्यान दिएका हुन्छन्। आफूहरूलाई सस्तोमा सामग्री उपलब्ध गराउने उत्पादकहरूको खोजी गर्छन्। आपूर्ति व्यवस्था (Supply chain) लाई सस्तो पार्ने प्रयास गर्छन्। खुद्रा भण्डारहरूले उत्पादक, आपूर्तिकर्ताहरूसँग सहकार्य गरेर आफूले बिक्री गर्ने वस्तुको मूल्य काम पार्ने प्रयास गर्छन्। ग्राहकहरूलाई सस्तोमा वस्तु उपलब्ध गराउने लक्ष्य लिएका खुद्रा भण्डारका रूपमा वालमार्ट, डलर ट्री, डलर जेनेरल, कस्टको, केमार्ट, अल्डी आदिलाई लिन सकिन्छ। यी खुद्रा भण्डारहरूले कसरी सस्तोमा खरीद गरेर सस्तोमा बिक्री गर्न सकिन्छ भन्ने उपाय पत्ता लगाउन आफ्नो व्यवस्थापन समूहमा विज्ञहरू समाविष्ट गरेका हुन्छन्। ती विज्ञहरूको प्रमुख कार्य उपभोक्ताहरूलाई सस्तोमा वस्तु उपलब्ध गराउन सकिने वा आफूले बिक्री गर्ने वस्तुको मूल्य कम पार्न सकिने उपायहरूको खोजी गर्नु हो। अमेरिकी कम्पनी मेक डोनाल्ड, जसले संसारमैं सर्वाधिक ठूलो शृङ्खलाको मेकडोनाल्ड रेस्टुरा, सञ्चालन गरेको छ, मेक डोनाल्डले सस्तोमा तयारी खाना उपभोक्ताहरूलाई उपलब्ध गराउने आफ्नो व्यापारिक उद्देश्य नै बनाएको छ। मेक डोनाल्डले भन्छ, ‘We serve delicious food, people feel good about eating, with convenient locations and hours and affordable prices.’  क्रेता वा उपभोक्ताहरूलाई हरपल सन्तुष्ट राख्ने प्रयास गर्नु अमेरिकी व्यापार अवधारणको अर्का महत्वपूर्ण विशेषता हो। ‘आवश्यक भएर एवं इच्छा लागेर मात्र ग्राहकहरूले सामग्री खरीद गर्छन्’ भन्ने सोचलाई व्यापारिक संस्कारको रूपमा लिएर अमेरिकी कम्पनीहरूले कार्य गर्दछन्। खरीद गरेको सामान यदि खरीदकर्तालाई आवश्यक भएन वा उक्त सामान उसलाई मन परेन वा उसले त्यो सामान राख्ने इच्छा गर्दैन भने यस्तो अवस्थामा उसले त्यो सामान बिक्रेतालाई तत्काल वा केही समयपछि फिर्ता गर्न सक्छ। यहाँ, त्यसरी खरीद गरिएको सामान फिर्ता गर्ने कार्यलाई महत्वका साथ वर्णन गर्न खोजेको होइन, बिक्रेताले पनि सहर्ष बिक्री गरिएको सामान फिर्ता लिन्छ, भन्ने कुरालाई महत्वका साथ वर्णन गर्न खोजिएको हो। बिक्रेताले ग्राहकको रुचि अनुसार त्यो समानको सट्टा अर्को सामान ग्राहकलाई दिन्छ वा पैसा नै फिर्ता गर्छ। तर ‘हामी बिक्री गरिसकेको समान फिर्ता लिन्नौं’ भनेर कहिले पनि भन्दैन। फिर्ता गरिएको सामानको मूल्य बिक्रेताहरूले ग्राहकलाई भुक्तान गरेको सहजै देख्न सकिन्छ।

अमेरिकाका ठूलाठूला खुद्रा भण्डारहरू जस्तै वालमार्ट, टारगेट, जे सी पेनी, बेस्ट बाइ आदिले, ग्राहकहरूले खरीद गरेका सामान फिर्ता गर्न ल्याएमा त्यसलाई स्वीकार गरेर सोको मूल्य नै पनि फिर्ता गर्न आफ्नो भण्डारभित्र ‘ग्राहक सेवा केन्द्र’ स्थापना एवं सञ्चालन गरेका हुन्छन्। ग्राहक सेवा केन्द्रको कार्य नै ग्राहकहरूले फिर्ता गर्ने सामग्री बुझ्नु, उनीहरूलाई पैसा फिर्ता गर्नु एवं ग्राहकहरूले माग गर्ने अनेक सेवा उपलब्ध गराउनु हो। सदा ग्राहकलाई खुशी राख्ने प्रयास गर्नु हो।

 हरेकपटक नयाँनयाँ ग्राहकहरू खोजी गर्नु ज्यादै महँगो हुन्छ, भएकै ग्राहकलाई खुशी राख्न लाग्ने खर्चभन्दा’, यो  सोचलाई पनि अमेरिकी व्यापार अवधारणाले उच्च महत्व दिएको छ। यो कारणले गर्दा आफूसँग भएका ग्राहकलाई कसरी सन्तुष्ट राख्ने र उनीहरू जहिले पनि आफ्नै पसलमा आउने अवस्था सृजना कसरी गर्नेजस्ता विषयलाई अधिक महत्व दिएर खुद्रा व्यापारीहरूले ‘ग्राहक सम्बन्ध व्यवस्थापन (Customer relations management) लाई उच्च महत्व दिएका हुन्छन्।

क्रेताको सन्तुष्टि नै बिक्रीको मुख्य आधार हो भन्ने कुरालाई अमेरिकी व्यापार अवधारणाले मूल मन्त्रको रूपमा जपेको हुन्छ। सस्तोमा स्तरीय वस्तु एवं सेवाहरू उपलब्ध गराउने, भनेको समयमा उपलब्ध गराउने र भनेको स्थानमा उपलब्ध गराउने र यस्ता कार्यहरू गरेर अमेरिकी व्यापार अवधारणाले क्रेता वा उपभोक्ताहरूलाई सन्तुष्ट राख्ने प्रयास गर्दछ। निरन्तर सन्तुष्ट राख्ने प्रयास गर्दछ।

दक्षिण एशियाका व्यापारीहरूले ग्राहकको सन्तुष्टिलाई केन्द्रमा राखेको पाइँदैन । बरु उल्टो उनीहरू, आफूले बिक्री गर्ने वस्तु वा सेवाको मूल्य बढी पारेर, अल्पकालमा नै, ठूलो मुनाफा हात पारेर, अल्पकालमा नै अरबपति हुन खोजेको देखिन्छ। मुनाफाको सम्बन्धमा दक्षिण एशियाका व्यापारीहरूमा व्यापार कुशलता र धैर्यताको ठूलो अभाव रहेको पाइन्छ। यो कारणले गर्दा पनि दक्षिण एशियामा व्यापारको विकास तीव्र गतिमा नभएको हुन सक्छ, अर्थ व्यवस्थाहरू खुला र उदार भए तापनि।




विश्वराज अधिकारी

akoutilya@gmai.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, May 5, 2023

https://eprateekdaily.com/2023/05/04/50631/

1 comment: