Friday, August 25, 2023

Importance of Multiphases Economic Development-Article 420

 सर्वपक्षीय आर्थिक विकास आवश्यक

आर्थिक विकास व्यवस्थित एवं सन्तुलित हुनुपर्दछ। अर्को शब्दमा भन्ने हो भने आर्थिक विकास सर्वपक्षीय वा बहुपक्षीय हुनुपर्दछ। कुनै एक वा दुई पक्षमा भएको विकासले उन्नति होइन विनाश ल्याउने गर्दछ। हाम्रो देशमा अहिले त्यही भइरहेको छ। केही क्षेत्रको विकास भइरहेको छ तर बहुपक्षीय विकास हुन सकिरहेको छैन। यो कारणले गर्दा अनेक किसिमका समस्य उत्पन्न भइरहेका छन्। हाम्रो जीवन सरल र स्वस्थ हुनुको सट्टा जटिल र अस्वस्थकर भइरहेको छ। कसरी?

अहिले हामीले अन्तर्राष्ट्रिय श्रम बजारमा श्रम बिक्री गरेर राम्रो आय आर्जन गरिरहेका छौं। अहिले निम्न आय भएका व्यक्तिहरूको आम्दानीमा पनि वृद्धि भएको छ। उनीहरू पनि मोटरसाइकल खरीद गर्न सक्ने स्थितिमा पुगेका छन्। मध्यम आय भएका व्यक्तिहरूको आम्दानी पनि वृद्धि भएर उनीहरू कार खरीद गर्ने स्थितिमा पुगेका छन्। यसरी जनताको आर्थिक स्थिति, तुलनात्मकरूपमा, पहिलेको भन्दा राम्रो भएर मोटरसाइकल, कार आदिको माग बढेको छ। यसका प्रयोगकर्ताहरूको सङ्ख्या पनि ज्यादै उच्च हुन पुगेको छ। तर अर्कोतिर जुन अनुपातमा जनताको आय वृद्धि भएर मोटरसाइकल र कारहरूको माग वृद्धि भइरहेको छ, प्रयोगकर्ताहरूको सङ्ख्या वृद्धि भइरहेको छ, सोही अनुपातमा सडकको चौडाइ र लम्बाइ एवं सङ्ख्यामा वृद्धि भइरहेको छैन। यसरी भएकै सडकमा सवारीका साधनहरूको चाप अत्यधिक वृद्धि भइरहेको छ। यसले गर्दा सवारीका साधनहरू गुड्न अवरोध मात्र होइन, मानिसहरूको आवागमनमा समेत अवरोध उत्पन्न भएको छ। सवारी दुर्घटनाको सङ्ख्यामा वृद्धि भएको छ। सवारी दुर्घटनामा ज्यान जानेहरूको सङ्ख्या बढेको छ। यस्तो हुनुको मूल कारण सर्वपक्षीय विकास नहुनु हो। जसरी मानिसको आम्दानीमा वृद्धि भइरहेको छ, सवारी साधनहरूको प्रयोगकर्ताहरूको सङ्ख्या वृद्धि भइरहेको छ, त्यसैगरी सडकको चौडाइ, लम्बाइ र सङ्ख्या वृद्धि भएको भए यस्तो स्थिति आउने थिएन। सर्वपक्षीय विकास भएको भए यस्तो हुने थिएन।

अहिले देशमा रेमिट्यान्स राम्रो परिमाणमा भित्रिइरहेको छ। स्वदेशभित्र सञ्चालित व्यापारबाट पनि नेपालीहरूले राम्रो आम्दानी हात पारिरहेका छन्। यसको राम्रो असर वाणिज्य बैंकहरूमा परिरहेको छ। बैंकहरू ठूलो परिमाणमा जनताबाट निक्षेप सङ्कलन गर्न सफल भएका छन्। वाणिज्य बैंकहरू निजी क्षेत्रलाई ठूलो रकम (ऋण) दिन सक्षम भएका छन्।

निजी क्षेत्र (व्यक्ति वा संस्था) हरूले अहिले ठूलो रकम वाणिज्य बैंकबाट ऋण लिएर ठूल्ठूला एवं अग्ला भवन निर्माण गरिरहेका छन्। अपार्टमेन्ट, पसल एवं होटलको रूपमा ती भवनहरूको प्रयोग भइरहेको छ। तर अर्कोतिर ठूला–ठूला भवनहरूले, ठूलो सङ्ख्यामा त्यहाँ मानिसको बसोवासले गर्दा खानेपानी र प्रयोग गर्ने पानी ठूलो परिमाणमा माग गरिरहेका छन्। त्यही अनुपातमा ती ठूला भवनहरूले ठूलो परिमाणमा फोहर फालिरहेका छन्। उता नगर प्रशासनसँग माग हुने नयाँ पानीको परिमाण कसरी आपूर्ति गर्ने, प्रयोग भएको पानी र फोहर कसरी फाल्ने भन्ने कुनै योजना छैन। यो कारणले गर्दा काठमाडौं, वीरगंज जस्ता ठूलो शहरहरू नराम्ररी फोहर हुने क्रम जारी छ। अस्वस्थकर हुने क्रम जारी छ। शहरहरूमा भीड बढेको छ। बाटाहरू यात्रुहरूले भरिएका छन्।

बैंकहरूबाट ऋण पाएर अग्ला–अग्ला भवन बनाउन व्यक्तिहरूलाई सजिलो भए जस्तै ती भवनहरूले गर्ने दुवै किसिमको पानीको मागको सरल आपूर्ति ती भवनहरूले फाल्ने फोहरको उचित व्यवस्थापन योजनाबद्ध किसिमले भएको भए त्यस्तो हुने थिएन। अग्ला–अग्ला घरहरूको निर्माण त भयो तर ती घरहरूले गर्ने फोहरको व्यवस्थापन कसरी गर्ने त्यसबारे पहिले नै सोचिएन।

अहिले जनताको आयमा वृद्धि भएर लगानीकर्ताहरूको सङ्ख्यामा पनि वृद्धि भएको छ। लगानीकर्ताहरू ठूला–ठूला अस्पताल स्थापना गर्न सक्षम भएका छन्। स्वास्थ्य संस्था एवं अस्पतालहरूको सङ्ख्यामा व्यापक वृद्धि भएको छ। अति महँगा स्वास्थ्य उपकरण र औजार खरीद गर्न अस्पतालहरू सक्षम भएका छन्। तर ती स्वास्थ्य उपकरण र औजारहरूले निष्कासित फोहर फाल्ने उचित व्यवस्था छैन। कति अस्पतालसँग फोहर फाल्ने उचित किसिमको व्यवस्था छ? ती अस्पतालहरूले गर्ने डरलाग्दा हानिकारक विसर्जनहरू कहाँ पुगिरहेका छन्? अपरेशन गरेर काटिएका शरीरका अङ्गहरू (हात, खुट्टा) कहाँ फाल्ने? हामीसँग कुनै योजना छैन।

अस्पतालहरू सञ्चालनमा आउनुपूर्व त्यस अस्पतालले गर्ने अति हानिकारक विसर्जन कसरी व्यवस्थापन गर्ने उक्त अस्पतालसँग वा नगर प्रशासनसँग उचित योजना हुनुपर्दछ। अर्थात् अस्पतालको सङ्ख्या वृद्धि हुने मात्र होइन, अस्पतालले गर्ने फोहर फाल्ने संस्थाको सङ्ख्या पनि वृद्धि हुनुपर्दछ।

अहिले भारतको जनसङ्ख्या १ अर्ब ४० करोड जति छ। कल्पना गरौं, रातारात भारतको आर्थिक स्थिति चमत्कारी किसिमले राम्रो भयो। भारतमा प्रत्येक व्यक्तिले एक एक कार खरीद गरेर प्रयोग गर्न सक्ने स्थिति भयो। अब भनौं, ती सबै कारहरू एकैपटक भारतका सडकहरूमा आएपछि सवारीका साधनहरू सजिलै चल्नेछन् वा अवरुद्ध हुनेछन्? यहाँ भन्न के खोजेको हो भने जसरी जनताको आयमा वृद्धि हुन्छ, त्यसैगरी उनीहरूले माग गर्ने अनेक सेवा एवं सुविधामा पनि वृद्धि हुनुपर्छ। विकास सर्वपक्षीय हुनुपर्छ। भारतको उदाहरणमा, कारको सङ्ख्या वृद्धि भएर मात्र हुँदैन, सडकहरूको चौडाइ, लम्बाइ र सङ्ख्या पनि वृद्धि हुनुपर्छ।

जनताको आम्दनी मात्र बढेर हुँदैन। अर्थात् एउटा पक्षको मात्र विकास भएर हुँदैन। जुन अनुपातमा जनताको आम्दानी वृद्धि हुन्छ सोही अनुपातमा सम्बन्धित सेवा र सुविधाको पनि विकास हुनुपर्दछ। जस्तै त्यो बढेको आम्दानीले गर्दा जनताले अनेक किसिमका वस्तु एवं सेवा प्रयोग गर्दा उत्पन्न हुने फोहर आदिको व्यवस्थापनमा पनि ध्यान दिनुपर्छ।

उपभोक्ताहरूको आय वृद्धि भएर उनीहरूले शुद्ध पानी खरीद गरेर पिउन थाले। प्लास्टिकको बोतलका पानीहरूको माग ठूलो मात्रामा हुन थाल्यो। अब, जसरी प्लास्टिकको बोतलमा रहेको पानीको माग वृद्धि हुन थाल्यो, त्यसैगरी प्लास्टिकका खाली बोतलहरू कसरी विसर्जन गर्ने भनी नगर प्रशासनले सोच्नुपर्दछ। योजना हुनुपर्छ। प्लास्टिकको खाली बोतल विसर्जन गर्ने ठोस योजना निर्माण गर्नुपर्दछ।

अर्थात् जनताको आम्दानीमा वृद्धि भएर ठूलो परिमाणमा प्लास्टिकको बोतलको पानीको माग हुनासाथ सम्बन्धित सेवा (प्लास्टिकको खाली बोतल विसर्जन गर्ने कारखानाहरू) को सङ्ख्यामा वृद्धि हुनुपर्छ। यसरी विकास सन्तुलित, व्यवस्थित र सर्वपक्षीय हुनुपर्दछ। माथिको उदाहरणमा यदि बोतल विसर्जन गर्ने उचित व्यवस्था गरिएको छैन भने सडक र आँगनमा बोतलको थुप्रो देखा पर्न थाल्छ।

नेपालमा अहिले बहुपक्षीय आर्थिक विकास हुन सकिरहेको छैन। केही सीमित पक्षको मात्र विकास भइरहेको छ। जनताको आम्दानीमा तुलनात्मक वृद्धि त भएको छ, तर सँगसँगै अनेक सुविधा र सेवा प्रदायक संस्थाहरूको सङ्ख्यामा वृद्धि हुन सकिरहेको छैन। यो अति ठूलो चिन्ताको विषय हो। यसले विकास होइन विनाश ल्याउँछ। क्षणिक सुख त दिन्छ तर दीर्घकालीन दुःख ल्याउँछ।

Bishwa Raj Adhikari

akoutilya@gmail.com

Published in Prateeddaily on Friday, August 25, 2023

https://eprateekdaily.com/2023/08/24/55776/

Monday, August 21, 2023

Bad Economic Impacts of Neo Modernism-Article-419

 उत्तर आधुनिकताको दुःखद आर्थिक पक्ष

अहिलेको यो युगलाई उत्तर आधुनिक युग भन्ने गरिएको छ। यो युग कहिलेदेखि प्रारम्भ भयो, भन्न कठिन छ। तर अनुमान भने लगाउन सकिन्छ। जबदेखि मानव जीवनलाई ‘इन्टरनेट’ ले अति प्रभाव पा¥यो, व्यक्तिहरू घरमा हुन् वा कार्यालयमा, बढी समय सोसल मेडियामा अति व्यस्त हुन थाले, त्यो समयदेखि उत्तर आधुनिक युग प्रारम्भ भएको मान्न सकिन्छ। सन् २००० को हाराहारीदेखि उत्तर आधुनिक युग सतहमा आएको भनी एक किसिमको धारणा निर्माण गर्न सकिन्छ। हुनत यो धारणा कहिलेदेखि प्रारम्भ भयो भन्ने विषय वा प्रश्नले अझै धेरै बहस र प्रमाणहरू माग गर्दछ। भविष्यमा यसबारे अझै गहन चिन्तन र मनन हुने नै छ।

उत्तर आधुनिकताको प्रभाव जति सामाजिक जीवनमा परेको छ त्योभन्दा बढी आर्थिक जीवनमा परेको छ। सकारात्मकभन्दा नकारात्मक प्रभाव बढी परेको छ। उत्तर आधुनिकताले हाम्रो जीवनमा अनेक परिवर्तन ल्यायो। र ल्याउने क्रम अझै जारी छ। तर चिन्ताको विषय के छ भने उत्तर आधुनिकताले हाम्रो जीवनमा सकारात्मक भन्दा नकारात्मक परिवर्तनहरू बढी ल्याइरहेको छ। सुखदभन्दा अति दुःखद परिवर्तनहरू ल्याइरहेको छ। अझै ठूलो चिन्ताको विषय के छ भने ती दुःखद र नकारात्मक परिवर्तनलाई हामी सहर्ष स्वीकार गरिरहेका छौं। अर्को किसिमले भन्ने हो भने हामी ती दुःखद एवं नकारात्मक परिवर्तनको पछाडि दौडिरहेका छौं। अज्ञानताले होइन, पूर्ण ज्ञानका साथ।

यस आलेखमा अहिले चलिरहेको उत्तर आधुनिकताले हाम्रो आर्थिक जीवनमा ल्याएको केवल केही दुःखद पक्षको मात्र चर्चा गर्ने प्रयास गरिएको छ।

केही दशक पहिलेसम्म पनि उत्पादकहरूले त्यही वस्तु वा सेवा उत्पादन गर्दथे जुन उपभोक्ताहरूको माग अर्थात आवश्यकता अनुसारको हुन्थ्यो। उपभोक्ताले माग गरेका वस्तु एवं सेवा मात्र उत्पादन हुन्थ्यो। तर अहिले बजारमा त्यस्ता वस्तुहरूको उत्पादन बढी मात्रामा भइरहेको छ जुन उपभोक्ताहरूको माग अनुसारको छैन। त्यस्तो हो भने कस्ता वस्तुहरू अहिले बजारमा बढी उत्पादन भइरहेका छन्?

अहिले त्यस्ता वस्तु एवं सेवाहरूको उत्पादन अत्यधिक भइरहेको छ, जुन उत्पादन गर्दा उत्पादक एवं बिक्रेताहरूलाई बढी फाइदा भइरहेको छ। अर्को शब्दमा भन्ने हो भने अहिले उत्पादकहरूलाई जुन वस्तु उत्पादन गर्दा बढी मुनाफा हुन्छ त्यस्ता वस्तुको उत्पादन भइरहेको छ, ती वस्तुहरू उपभोक्तालाई आवश्यक नभए पनि। अहिलेको बजारलाई पूर्णरूपले मुनाफाले निर्देशित गरिरहेको छ।

एकातिर बजारबाट नैतिकता र मानवता हराउँदै गएको छ भने अर्कोतिर मुनाफाको वर्चस्व बढ्दै गएको छ। हाम्रो समाज अहिले मानवता केन्द्रित होइन, मुनाफा केन्द्रित भएको छ। मुनाफाको वरिपरि सम्पूर्ण सामाजिक गतिविधि घुमिरहेको छ। 

दिनभरिमा उपलब्ध समय (बिहान ओछ्यानबाट उठेदेखि राति ओछ्यानमा नजाँदासम्म) को ठूलो भाग अहिले हामी मोबाइल (सेलफोन) मा खर्च गरिरहेका छौं। हाम्रो जीवन अहिले मोबाइल आश्रित हुन पुगेको छ। अहिले प्रायः सबैको हातमा मोबाइल छ, सबैको छातीमा फोक्सो भएजस्तो । जसरी फोक्सो नभए हामी बाँच्न सक्तैनौं त्यसैगरी मोबाइल नभए बाँच्न नसक्ने स्थितिमा पुगेका छौं। तर सोंचौं! के मोबाइल हाम्रो आवश्यकताको वस्तु हो? यो आवश्कताको वस्तु होइन। यसको अनुपस्थितिमा पनि मानव जीवन चलेको थियो। मानव जीवन रोकिएको थिएन।

क्यामराको उत्पादन बन्द गराउने, क्यालेन्डरको उत्पादन बन्द वा कम गराउने, रेडियोको उत्पाउन बन्द गराउने, घडीको उत्पादन बन्द गराउने, पत्रपत्रिकाहरूको प्रकाशन कम वा बन्द गराउने, किताबहरूको प्रकाशन कम गराउने, मानव सम्बन्ध साँघुरो बनाउने यस्ता अनेक (कु)कार्य गर्ने मोबाइल के हाम्रो आवश्यकताको वस्तु हो? यो हाम्रो आवश्यकताको वस्तुभन्दा उत्पादक र बिक्रेताहरूको लागि अति मुनाफा दिलाउने वस्तु हो। उत्पादकहरूले मुनाफाका लागि मोबाइल बजारमा ल्याएका हुन्।

सामान्य वस्तुको उत्पादन र बिक्री भन्दा मोबाइलको बिक्री र उत्पादनबाट उत्पादक र बिक्रेता दुवैले अत्यधिक मुनाफा आर्जन गरिरहेका छन्। उत्पादक र बिक्रेता, मोबाइलको उत्पादनले गर्दा, ठूलो मुनाफा हात पार्ने, अत्यधिक धन आर्जन गर्ने स्थितिमा पुगेका छन्। साथै मोबाइलको अत्यधिक उत्पादनले केही सीमित व्यक्ति (उत्पादक) हरू ज्यादै धनी हुने स्थिति सृजना भएको छ। अर्थात् राष्ट्रिय आय वितरण कार्य असन्तुलित हुन सघाउ पुगेको छ।

घडी, रेडियो आदिका उत्पादक, बिक्रेता, मरम्मतकर्ता सबैको रोजगार हरण गर्ने मोबाइलले मानव सभ्यतालाई लाभभन्दा बढी हानि पु¥याइरहेको छ। अहिले बालबलिकाहरू पनि आफ्ना दौंतरीहरूसँग खेल्नुका साटो मोबाइलमा अनेक भिडियो हेर्न रुचाउँछन्। उनीहरूको ‘भौतिक खेल’ स्थल अहिले मोबाइल हुन पुगेको छ। उनीहरूको उपलब्ध समयको ठूलो भाग मोबाइलमा अनेक भिडियो हेर्न खर्च भइरहेको छ। तर बालबालिकाहरूको शारीरिक र मानसिक विकासका लागि मोबाइलको भिडियो भन्दा भौतिक क्रीडा आवश्यक हुन्छ।

मानव सभ्यतालाई प्रतिकूल प्रभाव पार्ने भए तापनि मोबाइलको उत्पादन र बिक्रीमा कमी आएको छैन। किन होला? उत्तर अति सरल छ। मोबाइल उत्पादन गर्दा बिक्रेता र उत्पादकलाई बढी मुनाफा भइरहेको छ। अन्य वस्तुको स्वीकार्यता भन्दा मोबाइलको स्वीकार्यता अत्यधिक छ। चश्मा लगाउन कसैलाई मन नपर्न सक्छ तर मोबाइल राख्नु वा हुनु सबैलाई मन पर्ने स्थिति छ।

मोबाइलको मात्र एउटा उदाहरणले यो चलिरहेको उत्तर आधुनिक युगमा त्यस्ता वस्तुहरूमात्र ठूलो सङ्ख्यामा बजारमा आउँछन् जुन उत्पादन गर्दा उत्पादक र बिक्रेतालाई ठूलो मुनाफा हात परोस् भन्ने तथ्यलाई टडकारोरूपमा पुष्टि गर्दछ। 

उत्तर आधुनिक युगमा हाम्रो जीवनलाई मानवताभन्दा बढी मुनाफाले निर्देशित गरिरहेको छ। यो विषयमाथि नै चर्चा गरिसकिएको छ। यो विषयलाई पुनः एक अर्को तथ्यसँग जोडेर हेरौं।

अहिले बजारमा त्यस्ता तरकारीमात्र देखा पर्दछन् जुन उत्पादन गर्दा उत्पादकलाई बढी मुनाफा होस्। त्यो तरकारी खाएर उपभोक्ताको स्वास्थ्यलाई फाइदा हुन्छ कि हुँदैन भन्ने विषयले महत्व पाउँदैन। त्यो तरकारी बिक्री गरेर उत्पादक तथा बिक्रेतालाई कति आर्थिक फाइदा हुन्छ वा हुनेछ भन्ने विषयले महत्व पाइरहेको छ। परिणाम, अहिले उपभोक्ताको स्वास्थ्यलाई हितकर हुने भन्दा पनि उत्पादक र बिक्रेतालाई हितकर (मुनाफा) हुने तरकारीहरूको उत्पादन एवं बिक्री भइरहेको छ।

यो उत्तर आधुनिक युगले धेरै जग्गा लिएर थोरै फल्ने (उत्पादकलाई कम नाफा हुने), तर उपभोक्ताको स्वास्थ्यको लागि हितकर हुने तरकारी उत्पादन गरिरहेको छैन। बरु थोरै जग्गा लिएर धेरै फल्ने (उत्पादकलाई अति नाफा हुने) तर उपभोक्ताको स्वास्थ्यको लागि अहितकर हुने तरकारी उत्पादन भइरहेको छ। स्मरण होस्, अहिले तरकारीका उत्पादकहरूले तरकारीको परिमाण, रंग, स्वाद, स्वरूप आफूले खोजे अनुसारको परिवर्तन ल्याउन ठूलो मात्रामा विषादि, प्रविधि आदि प्रयोग गरिरहेका छन्। अर्थात् कम लगानी गरेर ठूलो मुनाफा हात पार्न कृषकहरूबाट ठूलो मात्रामा विषादि प्रयोग भइरहेको छ।

तरकारी उत्पादनमा प्रयोग हुने विषादि आज खायो भोलि नै स्वास्थ्यमा कुअसर नदेखिने तर वर्षौंपछि देखिने भएकोले त्यस बेला उपभोक्ताको स्वास्थ्य स्थिति कस्तो हुने हो, सोचनीय विषय हुन पुगेको छ।

यो उत्तर आधुनिक युगमा हामी मानव सभ्यता विकासतर्फ अग्रसर छौं कि विनाशतर्फ? यो विषयमा बहस गर्न अब ढिलो गर्नुहुँदैन।






विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, August 18, 2023

https://eprateekdaily.com/2023/08/18/55385/