Friday, April 26, 2024

Nepal-Qatar Trade: Opportunity and Challenge-Article- 450

 नेपाल–कतार व्यापारः अवसर एवं चुनौती

यो आलेख तयार परिरहँदा कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणमा थिए। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा नेपाल आएका शेख तमिमको नेपालको राजकीय भ्रमणको अवधि नेपाल–कतार सम्बन्धको गहनताको तुलनामा ज्यादै छोटो थियो। मङ्गलवारदेखि बुधवार (२०८१ वैशाख ११ देखि १२)सम्मको दुई दिने भ्रमणमा उनले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गरे। त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा भेटवार्ता गरेका थिए।

नेपाल वा कतार, कुन सरकारको सक्रियतामा शेख तमिमको नेपालको भ्रमण भएको भनी समाचारहरूमा उल्लेख नभए तापनि नेपाल सरकारले उनको यो आगमनलाई अति महत्व दिएको भन्ने तथ्य प्रस्टरूपमा देखिन्छ। शेखको नेपाल भ्रमणको पहिलो दिन नेपाल सरकारले मुलुकभरि एक दिन सार्वजनिक बिदा दिएको थियो। यसरी नेपाल सरकारले सार्वजनिक बिदा दिनुले नेपाल सरकारले शेखको भ्रमणलाई उच्च महत्व दिएको थप स्पष्ट हुन्छ। साथै नेपालको सार्वजनिक जीवनमा पनि शेखको नेपाल भ्रमणले उच्च सम्मान पाएको छर्लङ्ग हुन्छ।

कुनै पनि सरकारले गर्ने कुनै पनि कार्यलाई केवल उक्त सरकारसँग सम्बद्ध दलका नेता तथा कार्यकर्ताहरूले मात्र प्रशंसा गर्ने तर विरोधी दलका नेता तथा कार्यकर्ताहरूले सरकारले गर्ने कुनै पनि कार्यको केवल विरोध मात्र गर्ने हाम्रो अनौठो एवं चतुर–चाकडी परम्परालाई छाडेर कुरा गर्ने हो भने वर्तमान सरकारले कतारका अमिर नेपाल आउने वातावरण तयार पार्नु र कतारी सरकारले शेखको नेपाल भ्रमणलाई उपलब्धिपूर्ण मान्नु वर्तमान सरकारले एक असल कार्य गरेको रूपमा हामी जनताले लिनुपर्छ। भन्नु पनि पर्छ। लेख्नुपर्छ। र त्यस्तो गर्न कन्जुस्याइँ गर्नुहुँदैन।

आर्थिक प्रगतिको दृष्टिकोणले भन्ने हो भने कतार अहिले आर्थिक विकासको प्रतिस्पर्धामा दौडिरहेको त्यस्तो घोडाको हो, जो अन्यलाई पछाडि पार्दै उक्त दौड प्रतिस्पर्धाको पहिलो पङ्क्तिमा छ। कतार अहिले छोटो अवधिमा तीव्र गतिमा आर्थिक विकास गर्ने राष्ट्रमा पर्छ। विश्वको सर्वाधिक प्रतिव्यक्ति आय हुने देशहरूमा (सन् २०२३) पहिलो, दोस्रो र तेस्रो नम्बरमा क्रमशः लक्जेम्बर्ग (४१,२८,८२०), आयरल्यान्ड (४१,०६,९९८) र स्वीट्जरल्यान्ड (४९४,८३५) पर्छन् भने कतार चौथो नम्बरमा (४८९,४१७) पर्छ। कतारको प्रतिव्यक्ति आय संसारको सर्वाधिक ठूलो अर्थतन्त्र भएको तथा एक नम्बर धनी देश अमेरिका (४७७,९५०) भन्दा अधिक रहेको छ। नेपालको प्रतिव्यक्ति आय केवल ४४,७५० रहेको छ। नेपालको तुलनामा कतार निकै धनी छ।

विश्वका सर्वाधिक तेल उत्पादन गर्ने राष्ट्रहरूको सूचीमा कतारको स्थान १५ औ रहेको पाइन्छ। पेट्रोलियम र प्राकृतिक ग्याँस कतारी अर्थव्यवस्थाको मेरुदण्ड हो। कतारी सरकारले ७० प्रतिशत आय यिनै दुई क्षेत्रबाट प्राप्त गर्छ। कतारले ठूलो परिमाणमा इन्धन निर्यात गर्छ। कतार विश्वको तेस्रो ठूलो प्राकृतिक ग्याँसको भण्डार भएको देश हो भने विश्वको दोस्रो ठूलो प्राकृतिक ग्याँस निर्यात गर्ने देश हो। 

कतारले आउने वर्षहरूमा इन्धनमा अतिनिर्भर रहेको आफ्नो अर्थव्यवस्थालाई अन्य क्षेत्रमा लग्न वा विविधीकरण गर्ने, पर्यटनतिर पनि आफ्नो ध्यान केन्द्रित गरेको छ। यसैगरी, आफ्नो राष्ट्रिय हवाई व्यवस्थालाई संसारको नै ‘हब’ वा केन्द्र बनाउने तरखरमा छ। र उपलब्धि पनि हासिल गरेको छ। अहिले कतारको दोहाबाट संसारका अनेक राष्ट्रहरू पुग्नका लागि हवाई उडान गर्न सकिन्छ। अर्थात् कतारबाट सोझै विश्वका अनेक देशहरूमा पुग्न सकिन्छ। कनेक्टिङ फ्लाइटको सहयोग लिनुपर्दैन। एक सानो राष्ट्र कतारले गरेको यो सर्वाधिक ठूलो उपलब्धि हो।

तेल र प्राकृतिक ग्याँसप्रतिको अतिनिर्भरतालाई कम पार्न कतारले अहिले पर्यटन क्षेत्रमा पनि उत्तिकै ध्यान दिएको छ। कतारलाई विश्वसामु परिचित गराउन तथा देशभित्र ठूलो सङ्ख्यामा पर्यटकहरू ल्याउन कतारले सन् २०२२ मा फिफा वल्र्ड कप २०२२ को आयोजना गरेको थियो। कतार विश्वभरि चर्चित पनि भएको थियो।

कतारसँगको सम्बन्धलाई थप सुमधुर पार्न नेपाल सरकारले विशेष पहल गरेको हो वा कतार सरकारले नै विशेष पहल गरेको हो, स्थिति जे जस्तो होस्, तर यो स्थिति नेपालको अति हितमा छ। नेपाल–कतारबीचको सुमधुर सम्बन्धले नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ। यो कुरा विश्वासका साथ भन्न सकिन्छ।

नेपाल–कतार सुमधुर सम्बन्धको फाइदा हामीले तीन क्षेत्रहरूमा लिन सक्छौं। र ती क्षेत्रहरू हुन्– पर्यटन, निर्यात तथा श्रम।

हामीले माथि नै भनिसक्यौं, कतार एक धनी देश हो। कतारीहरूको क्रयशक्ति पनि ज्यादै बलियो छ। यदि कतारीहरूलाई नेपाल आउन, नेपालमा लामो समयसम्म बस्न तथा पर्वतीय क्षेत्रहरूको भ्रमणमा जान उत्प्रेरित गर्न सक्यौं भने हामीले पर्यटनबाट राम्रो आम्दानी प्राप्त गर्न सक्छौं। प्राकृतिक मनोरम दृश्यले भरिपूर्ण देश नेपालमा आउन कतारीहरू अवश्य पनि इच्छुक एवं उत्साहित हुनेछन्। कतारमा मरुभूमिको बाहुल्यता रहेको छ भने उच्च हिमाल र अग्ला पहाडहरूको अभाव छ। कतारीहरूका लागि उच्च हिमाल र अग्ला पहाडहरू आकर्षक र प्रमुख गन्तव्य हुन सक्छन्। हामीले हाम्रो पर्यटकीय क्षेत्रको प्रचारप्रसार प्रभावकारी किसिमले कतारमा गर्न सक्यौं भने अवश्य पनि ठूलो सङ्ख्यामा कतारीहरू भ्रमणका लागि नेपाल आउनेछन्। नेपाल–कतार आर्थिक सम्बन्धले अवश्य पनि नेपालमा बेरोजगारी कम पार्नमा सघाउ पु-याउने छ।

चीन र भारत जस्ता दुई धनी छिमेकीको बीचमा रहेको हाम्रो स्थितिले गर्दा हामीले सस्तोमा औद्योगिक वस्तुहरू अनेक देशहरूलाई बिक्री गरेर राम्रो आम्दानी पाउन सक्दैनौं। हामीले नेपालमा उत्पादन गर्दा उत्पादन लागत (भारत र चीनको तुलनामा) कम पार्न सक्दैनौं। 

तर यदि हामीले मौलिक नेपाली वस्तुहरू, हस्तकलाका वस्तुहरू, जडीबुटी आदि कतारलाई बिक्री गर्ने हो भने ती वस्तुहरू कतारमा सजिलै बिक्री गर्न सक्छौं। ती वस्तुहरू हाम्रा मौलिक वस्तु भएकाले कतारी बजारहरूमा ती वस्तु बिक्री गर्दा अन्य वस्तुहरूसँग हाम्रा वस्तुहरूले प्रतिस्पर्धा गर्नुपर्दैन।

हामीले मौलिक नेपाली वस्तुहरू ठूलो परिमाणमा कतार निर्यात गर्न अनेक अध्ययन र अनुसन्धान गर्नुपर्छ। कतारी उपभोक्ताहरूको प्राथमिकता, रुचि, इच्छा आदि बुझ्नुपर्छ। कतारी उपभोक्ताहरूको खरीद व्यवहार बुझेर हामीले मौलिक नेपाली वस्तुहरू कतारतिर निर्यात गर्नुपर्छ। उच्च प्रशोधित जल पनि हामीले कतारी बजारहरूमा बिक्री गर्न सक्छौं।

हामीले अहिले कतारको श्रम बजारबाट राम्रो आम्दानी प्राप्त गर्न सकेका छैनौं। तर योजनाबद्ध किसिमले कार्य गर्ने हो भने कतारको श्रम बजारबाट राम्रो लाभ प्राप्त गर्न सक्छौं। अहिले कतारमा चार लाखभन्दा बढी नेपाली कामदार कार्यरत छन्। यति ठूलो सङ्ख्यामा नेपाली कामदारहरू कतारमा कार्यरत छन्, तर उनीहरू कम आय प्राप्त हुने क्षेत्रमा छन्। नेपालबाट कतार पुगेका लाखौं अदक्ष कामदार अहिले कतारको निर्माण क्षेत्रमा कार्यरत छन्। श्रमिकको रूपमा कार्यरत छ। अर्थात् अहिले कतारमा अदक्ष नेपाली कामदारहरूको सङ्ख्या ठूलो छ।

यदि दक्ष कामदारको रूपमा नेपालीहरूले कतारमा काम गर्न पाउने हो र ठूलो सङ्ख्यामा नेपालीहरूलाई कतारी सरकारले दक्ष कामदारको रूपमा कार्य गर्न दिने हो तथा नेपालबाट ठूलो सङ्ख्यामा दक्ष कामदारहरू कतार पठाउन हामी सफल हुने हो भने कतारको श्रम बजारबाट हामीले ठूलो लाभ प्राप्त गर्न सक्छौं। कतारको श्रम बजार हाम्रोलागि ठूलो व्यापारिक अवसर हो।

चीन र भारत हाम्रोलागि नाम मात्रका ठूला बजारहरू हुन्। सूचना र प्रविधिको क्षेत्रमा उनीहरूले गरेका अभूतपूर्व विकास र उद्योगको क्षेत्रमा रहेको उनीहरूको वर्चस्वले गर्दा यी दुई छिमेकीबाट हामीले व्यापारिक क्षेत्रमा कुनै पनि किसिमको उल्लेखनीय आर्थिक फाइदा लिन सक्दैनौं। हाम्रो सानो बजारले उनीहरूको ठूलो बजारसँग प्रतिस्पर्धा गर्न सक्दैन।

नेपाल–कतार सुमधुर सम्बन्धको उपयोग हामीले नेपालको आर्थिक विकासमा गर्न सक्छौं। यदि हामीले यस विषयलाई महत्व दिने हो भने।





विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, April 26, 2024

https://eprateekdaily.com/2024/04/26/66703/ 

No comments:

Post a Comment