Friday, April 5, 2024

Why Is SAARC Not Functioning?-Article-447

 दक्षिण एशियामा क्षेत्रिय बजार विकासमा अवरोध

कुनै पनि क्षेत्रको आर्थिक विकासमा त्यस क्षेत्रको क्षेत्रीय बजारले अति नै महत्वपूर्ण भूमिका खेलको हुन्छ। र यो कारणले गर्दा नै विश्वभरि अनेक क्षेत्रीय बजारको स्थापना भएको छ। ती क्षेत्रीय बजारहरूले आआफ्ना क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु-याएका छन्। यस्तै उद्देश्य लिएर दक्षिण एशियामा यस क्षेत्रको आर्थिक विकास गर्नका लागि डिसेम्बर ८, १९८५ मा बङ्गलादेशको राजधानी ढाकामा सार्क (SAARC– South Asian Association for Regional Cooperation) को स्थापना भएको थियो। यस सङ्गठनका सदस्य राष्ट्रहरूको रूपमा अफगानिस्तान, बङ्गलादेश, भूटान, भारत, नेपाल, पाकिस्तान, माल्दिभ्स र श्रीलङ्काजस्ता बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्रहरू छन्। नेपालको राजधानी काठमाडौंमा प्रधान कार्यालय रहेको यस सङ्गठनले आर्थिक क्षेत्रमा शून्य बराबर उपलब्धि हासिल गरेको छ। त्यस्तो किन भएको होला?

सार्कको आर्थिक उपलब्धि शून्य हुनुको कारणबारे चर्चा गर्नु पूर्व संसारमा रहेका केही क्षेत्रीय सङ्गठन वा साझा बजारबारे कुरा गरौं। अनेक राष्ट्रको आर्थिक विकासमा तिनले पु-याएका योगदानबारे चर्चा गरौं।

युरोपको क्षेत्रीय बजार युरोपियन युनियनले आर्थिक क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको छ। सदस्य राष्ट्रहरूबीच सुमधुर सम्बन्ध कायम गरेर यस क्षेत्रको आर्थिक विकासमा युरोपियन युनियनले महत्वपूर्ण योगदान पु-याएको छ। युरोपियन युनियनका राष्ट्रहरूले यस सङ्गठनबाट आर्थिक फाइदा मात्र प्राप्त गरेका छैनन्, राजनीतिक फाइदा पनि प्राप्त गरेका छन्। यस युनियनभित्रको कुनै सदस्य राष्ट्रलाई राजनीतिक सङ्कट आइपरेमा सङ्गठनका अन्य राष्ट्रहरू एकजुट भएर सहयोग गर्ने गरेका छन्। यस अर्थमा युरोपियन युनियनले सदस्य राष्ट्रहरूबीच क्षेत्रीय वा साझा बजारको काम गरेको त छ नै, राजनीतिक सङ्गठनको पनि काम गरेको छ।

१. अस्ट्रिया, २. बेल्जियम, ३. बल्गेरिया, ४. क्रोएशिया, ५. साइप्रस, ६. चेक गणतन्त्र, ७. डेनमार्क, ८. इस्टोनिया, ९. फिनल्यान्ड, १०. फ्रान्स, ११. जर्मनी, १२. ग्रीस, १३. हङ्गेरी १४. आयरल्यान्ड, १५. इटाली १६. लाटभिया, १७. लिथुआनिया, १८. लक्जेम्बर्ग, १९. माल्टा, २०. निदरल्यान्ड्स, २१. पोल्यान्ड, २२. पोर्चुगल, २३. रोमानिया, २४. स्लोभाकिया, २५. स्लोभेनिया, २६. स्पेन र २७. स्वीडेनजस्ता युरोपका राष्ट्रहरू सदस्य रहेका यो समूह (युनियन) ले आयात र निर्यातलाई सरल पार्न व्यापार बाधा (Trade barriers) कम पारेका छन् र सीमा वारपार हुने वस्तु र सेवा प्रवाह पनि सरलीकृत गरेका छन्। यस युनियनभित्रका देशहरूबीच स्वतन्त्र किसिमले व्यापार हुन्छ।

युरोपियन युनियनभित्रका सदस्य (देश) हरू धनी राष्ट्रहरूको समूहभित्र पर्दछन्। एउटा युनियन बनाउनु र त्यस युनियनको उपयोग यसका सदस्य राष्ट्रहरूको आर्थिक विकासका लागि गर्नु र त्यस्तो गरेर यो क्षेत्रको नै आर्थिक विकास गर्ने लक्ष्य राख्नुले युरोपका यी देशहरूको बौद्धिकताको स्तर माथि रहेको त प्रमाणित हुन्छ नै, कुनै पनि क्षेत्रको आर्थिक विकास गर्न त्यस क्षेत्रका राष्ट्रहरू मिलेर कार्य गर्नुको विकल्प नरहेको तथ्यको पुष्टि पनि गर्दछ। महत्वपूर्ण कुरा त के छ भने यस युनियनभित्रका राष्ट्रहरू क्षेत्रफल र जनसङ्ख्याको हिसाबले तुलनात्मकरूपले सानो भए तापनि आआप्mना आर्थिक हित संरक्षण गर्न सफल भएका छन्।

एक खास क्षेत्रको आर्थिक विकास गर्नका लागि स्थापना भएको क्षेत्रीय बजार, नाप्mटा (NAFTA– North America Free Trade Agreement), जसलाई हाल संयुक्त राज्य अमेरिका–मेक्सिको–क्यानाडा सम्झौता नामले विस्थापित गरिएको छ, ले पनि यो क्षेत्रको आर्थिक विकासका लागि ठूलो योगदान पु-याएको छ। जनसङ्ख्याको हिसाबले, तीन देशका उपभोक्तालाई जोड्दा ठूलो बजार क्षेत्र हुने भएकोले यस सम्झौताका पक्षधर राष्ट्रहरू संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानाडाले, यो साझा बजारबाट राम्रो लाभ प्राप्त गरेको देखिन्छ। यी तीन देशको समूहलाई संसारभरिकै सर्वाधिक ठूलो स्वतन्त्र बजार क्षेत्र (Free Trade Zone) को रूपमा लिने गरिन्छ।

अर्को क्षेत्रीय बजार ओपेक OPEC– Organization of the petroleum Exporting Countries) हो जसले विश्वभरिमा तेल (पेट्रोलिय पदार्थ) को उत्पादन, आपूर्ति र मूल्य निर्धारणमा महŒवपूर्ण भूमिका खेलेको छ। इरान, इराक, कुबेत, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, अल्जेरिया, अङ्गोला, कङ्गो, इक्वेटोरियल ग्युनी, गाबोन, लिब्या, नाइजेरिया र भनेजुएलाजस्ता राष्ट्रहरू, जो यस सङ्गठनका सदस्यहरू छन्, ओपेकबाट राम्रो लाभ प्राप्त गरेका छन्। यस सङ्गठन वा साझा बजारको माध्यमबाट सदस्य राष्ट्रहरूले आफ्नो हितको, धेरै हदसम्म, संरक्षण गर्न पाएका छन्। पेट्रोलियम पदार्थको उत्पादन अनियन्त्रित किसिममले ठूलो परिमाणमा भएमा मूल्यमा अत्यधिक कमी आउने र यसले गर्दा केही वा कुनै सदस्य राष्ट्रलाई मार्क पर्ने भएकोले ओपेकको केन्द्रीय प्रशासनले कति परिमाणमा तेल उत्पादन गर्ने भनी आफ्ना सदस्य राष्ट्रहरूलाई अनुरोध गर्छ र केही अवस्थामा निर्देशित पनि गर्छ। प्रत्येक सदस्य राष्ट्रले ओपेकको निर्देशन अनुसार तेलको उत्पादन, आपूर्ति र मूल्य निर्धारण गर्दछ।

जे होस, जति मात्रा होस्, यो सङ्गठन (ओपेक) ले एउटा साझा बजारको भूमिका निर्वाह गरेको छ र सदस्य राष्ट्रहरूलाई आफ्नो हित संरक्षण गर्ने अवसर प्रदान गरेको छ। ओपेकका सदस्य राष्ट्रहरू यस सङ्गठनबाट लाभान्वित नै भएका छन्।

आउनुहोस् अब सार्कको आर्थिक उपलब्धि शून्य हुनुका कारणहरू खोजौं–

यदि चीनका उपभोक्तालाई पनि सार्कमा राखेर हेर्ने हो भने सार्क संसार भरिको नै सर्वाधिक ठूलो बजार क्षेत्र हुनेछ। अर्थात् सार्कले चीनलाई आफ्नो सदस्य राष्ट्रको रूपमा नलिएर केवल चीनका उपभोक्ताहरूलाई मात्र समाविष्ट गर्ने हो भने सार्कले आर्थिक क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्नेबारे दुई मत हुन सक्तैन। अर्थात् सार्कसँग पर्याप्त अवसर छ, यदि उपयोग गर्ने हो भने। तर सार्कले यो मात्र होइन, कुनै पनि अवसर उपयोग गर्ने सम्भावना पर क्षितिजसम्म कहीं देखिंदैन। 



सार्कलाई उपलब्धिविहीन क्षेत्रीय बजार तुल्याउनमा मुख्यतः दुई राष्ट्र भारत र पाकिस्तानको भूमिका महत्वपूर्ण रहेको पाइन्छ। अर्थात् भारत र पाकिस्तानजस्ता परम्परागत शत्रू राष्ट्रले गर्दा सार्कले आफ्नो उद्देश्य अनुरूप कार्य गर्न सकेको छैन। पाकिस्तान र भारतबीच शत्रुतापूर्ण सम्बन्ध रहेसम्म सार्कले यस क्षेत्रको आर्थिक विकासमा कुनै पनि किसिमको योगदान पु¥याउन सक्तैन। यो सङ्गठन हुन र नहुनमा कुनै फरक पर्दैन। बरु यो सङ्गठनको विघटन गर्दा उपयुक्त हुन्छ। भारत र पाकिस्तानको सम्बन्ध, कुनै चमत्कार भए मात्र, राम्रो हुने देखिन्छ। नभए यो संसारमा मानव सभ्यता रहेसम्म यी दुई राष्ट्रबीच सम्बन्ध सुमधुर हुने कहीं कतै सम्भावना देखिंदैन। यो कारणले गर्दा सार्कको पनि भविष्य छैन।

सार्कलाई अर्थहीन तुल्याउन पाकिस्तान र भारतमध्ये कुन देश बढी दोषी हो भनी प्रश्न गर्ने हो भने यस प्रश्नको उत्तर हुनेछ, भारत। हुनत पाकिस्तान पनि दोषी हो तर बढी दोषी भारत हो। कसरी? भारतले आफूलाई यस क्षेत्रको शक्ति राष्ट्रको रूपमा देख्दछ। सोही अनुरूप कार्य गर्छ। दक्षिण एशियाका राष्ट्रहरूलाई आफूले चाहेको बाटोमा हिंडाउन खोज्छ। उनीहरूको गतिविधि नियन्त्रित गर्न चाहन्छ। त्यति मात्र होइन, भारत आफूले चाहे अनुसारको सरकार यस क्षेत्रमा निर्माण गर्न चाहन्छ।

भारतले गर्ने नियन्त्रणकारी कार्यको कुरा गर्दा एउटा के कुरामा प्रस्ट हुन आवश्यक छ भने भारतका नेताहरू शक्तिमा रहन र सरकारमा पुग्न भारतलाई यस क्षेत्रको नेता वा शक्ति राष्ट्रको रूपमा स्थापित गर्न खोज्छन्। भारतीय जनताको कुरा गर्ने हो भने भारतीय जनता शान्तिको पक्षधर रहेको देखिन्छ। लडाइँ–झगडादेखि पर रहन खोजेको देखिन्छ। तर भारतीय नेताहरूले बलपूर्वक आप्mनो स्वार्थका लागि भारतलाई द्वन्द्वमा अल्झाएको प्रस्ट हुन्छ। भारतको जनता होइन, नेताहरूको कारण भारतको छिमेकीहरूसँग सम्बन्ध राम्रो हुन सकेको छैन। बरु नित्य–निरन्तर खराब हुँदैछ।

पाकिस्तानको स्थिति पनि उस्तै छ। सैनिक शासकहरू पाकिस्तानको राजनीतिमा सक्रिय र शक्तिशाली रहेसम्म पाकिस्तान र भारतको सम्बन्ध सुमधुर हुने सम्भावना देखिंदैन। र भारत तथा पाकिस्तानको सम्बन्ध खराब रहेसम्म दक्षिण एशियामा कुनै पनि किसिमको साझा बजारले काम गर्न सक्तैन।

अब निष्कर्षतिर लागौं। भारत र पाकिस्तानका शासकहरू वा भनौं नेताहरूले आफ्नो फाइदाको कारण दक्षिण एशिया क्षेत्रमा कुनै पनि किसिमको साझा बजारलाई सफल हुन दिइरहेका छैनन्, र दिने पनि छैनन्। यदि दुवै देशका शासकहरूले आफ्नो महत्वाकाङ्क्षा पन्छ्याएर, आपसी कटुता समाप्त पारेर, यस क्षेत्रमा रहेको क्षेत्रीय बजारलाई राम्ररी काम गर्न दिने हो भने उनीहरूको त्यस किसिमको कार्यले दक्षिण एशियाको गरीबी उल्लेखनीय किसिमले कम हुनेछ।

भारत र पाकिस्तानका महत्वाकाङ्क्षी नेताहरूको सोच र व्यवहारले गर्दा दक्षिण एशियामा रहेको ठूलो साझा बजार (सार्क) को राम्रो उपयोग हुन सकेको छैन। यस क्षेत्रमा पर्याप्त आर्थिक विकासका अवसर भए तापनि त्यसको उपयोग हुन सकेको छैन। उल्टो यस क्षेत्रमा गरीबी बढेको छ। दक्षिण एशियामा समृद्धि नआउनुको मुख्य कारण भारत र पाकिस्तानका केही नेताहरूको हैकमवादी सोच नै हो भन्ने आधारहरू पर्याप्त छन्।

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, April 5, 2024

https://eprateekdaily.com/2024/04/05/65791/ 

No comments:

Post a Comment